आफ्नो देश छोडेपछि देशमा हुँदा भोगेका धेरै कुराहरू बिर्सनु पर्ने बाध्यता हुन्छ । तिनै बिर्सनै पर्ने धेरै कुराहरूसँगै सम्झिनै पर्ने कतिपय कुराहरू पनि अहिले बिर्सिएको छु । अनि बिर्सनै पर्ने कतिपय कुराहरू चाहेर पनि बिर्सन सकेको छैन। जिन्दगीको कालखण्डमा कुनै बेला झन्डै २ वर्ष आफ्नै जिल्लाको सदरमुकाम कुस्मा बजार बस्ने अवसर जुरेको थियो । त्योबेलाको कुस्माको बसाइले मलाई धेरै कुरा सिकाएको छ। आफन्त, आफन्तजस्ताहरू, जिन्दगी, प्रेम, बिछोड, मान्छे, समय, पैसा र यावत अनि सबैभन्दा ठूलो कुरा त आफूले आफैँलाई चिन्न सक्ने पनि त बनाएको छ ।
कुस्मा बसाइमै हो जीवनको एउटा कालखण्ड समाजका गन्नेमान्ने व्यक्तिदेखि सरकारी हाकिम, पत्रकार व्यापारीहरूसँग चिनजान हुँदै सेनिमालय, पुस्तकालय, मदिरालय हुँदै यदाकदा होटलको बन्दकोठामा हुने रङ्गीन रातहरूको अनुभव पनि भोगेको थिएँ तर आजसम्म मलाई केही कुराको लत बसेन भनेर गर्व गर्नैलाग्दा सम्झन्छु, मलाई कुस्माले नराम्ररी म:म (ममचा) को लत बसाइदिएको छ ।

एक समय म:मको डल्लो मुखभित्र नपसेको दिन हुँदैन थियो । कहिले खाजा म:म, कहिले खानै म:म । कहिले रहरमा म:म, कहिले बाध्यतामा म:म ।कुस्मामा धेरैजसो सरकारी कार्यलयहरु बडागाउँतिर भएको हुनाले मेरो प्रायःजसो उतैतिर काम पर्ने गर्थ्यो । प्रायः त्यतै खाजा खाने समय हुन्थो । बडगाउँतिर अस्पताल छेउछाउमा ससाना रेस्टुरेन्ट भित्र पाइने म:म अल्लि पल्त्तिर चौतारीनेर पाइने ठेला, टपरी र म:म सम्झन्छु अनि हठात् मेरो मस्तिष्कमा एउटा धुमिल आकृति सल्बलाउँछ । जो मेरो हातको टपरीबाट सिन्कोले घोचेर एउटा डल्लो म:म उठाउँछ र अटाई नअटाई मुखभित्र कोचेर एउटा हातले मेरो पाखुरीमा प्याट्ट हिर्काउँछ । खुसीको उन्माद मुस्कान मुस्कुराउँछ । म उसले निलेको म:मको डल्लोमा आफ्नो जीवनको तृप्तता महसुस गर्छु ।

नारायण शर्मा (युएई)

म:म खाइसकेर आफ्नो कोठा नपुगुन्जेलसम्म त्यही आकृति मेरो एकातिर पाखुरीमा झुन्डिएर जीवनका विविध रङहरू बोलिरहन्छ, म चुपचाप सुनि मात्र रहन्छु र त्यसैलाई आफ्नो संसार ठान्दिन्छु । जब म म:म सम्झन्छु, म:मसँगै जोडिएर आउने त्यो आकृतिलाई कहिल्यै भुल्न सक्दिनँ चाहेर पनि । त्यही आकृति जो आफ्ना हातका औँलाहरू मेरा हातका औँलाहरूमा कैँची बनाएर खप्टिन्छ र हुलाक कार्यलय अगाडिको डिल हुँदै बडागाउचौरको खेल मैदानको डिलमा पुग्छ । त्यही डिलमा बसेर तल सुसाउँदै बगेको कालीगण्डकीको बाहाब नियाल्दै केही समय त्यही व्यतित गर्छन् । मानौँ कि ती हातहरू युगौँदेखि यसरी नै जोडिएका छन् र युगौँसम्म यसरी नै जोडिरहने छन् ।

यहाँको म:म मेरो बेस्ट म:म हो, मेरो मात्रै हैन मेरो मस्तिष्कमा सल्बलाइरहने त्यो धुमिल आकृतिको पनि । म:म भनेको त बफ नै खानुपर्छ, बुझ्यौ ?’ मैले भनिनसक्दै ऊ बोल्छ, ‘हैन, आज बफ-चिकेन खानुपर्छ !’

उसैले भनेझैँ मेरो हातको टपरीबाट एउटा म:मको डल्लो टिपेर ऊ खान्छ । उसको हातको टपरीबाट एउटा म:मको डल्लो टिपेर म खान्छु । अलिकति विश्वास, अलिकति समर्पण र अलि धेरै प्रेम मिसाएर बफ-चिकेन म:म खाँदै गर्दा म उसका अनुहारभरि सन्तुष्टिका रेखाहरू पढ्न सक्छु र त्यसैलाई आफ्नो सर्वश्व मान्दिन्छु ।

समयक्रमसँगै जसरी बडागाउँचौरको त्यो मैदानमा ससस्त्र प्रहरीले कब्जा जमायो त्यसरी नै त्यो सम्बन्ध पनि तहसनहस भयो । अरु कसैले कब्जा गर्यो परन्तु त्यो बडागाउँचौर खेलमैदानलाई अहिले प्रहरीले भरिभराउ र झकिझकाउ बनाएर सजाएकोछ त्यसरी नै उसको जीवन पनि हराभरा भएर सजिएको होला भनेर मनले मात्रा कल्पना गर्न सकिन्छ । तर उसको जीवन अहिले कस्तो भएको होला, कहाँ होला भनेर खोजी गर्ने साहस आउँदैन ।

यदि सरकारले चाहेमा त्यो खेल मैदान त फेरि पनि फिर्ता आउँला । तर मेरो जिन्दगीमा नयाँ भएर त्यो सम्बन्ध, तिनै मान्छे, त्यही साथ र त्यही परिवेश अब कहिल्यै कसैले चाहेर फर्किने छैन , न त पहिलेजस्तै गरी न त नयाँ भएर नै । र पनि मेरो मस्तिष्कमा सिमेन्टेड एउटा अजर मैदान त आज पनि छँदै छ जसलाई कुनै प्रहरी, सेना त के सरकारले पनि खोस्न सक्दैन। अचेल अक्सर त्यही ठाउँमा पुग्छु र तिनै जोडी पैतलाहरूको पदचाप पछ्याउँछु, यी आँखाहरूबाट ओझेल नपरुन्जेल ।

अँ साँच्ची, म त म:म पो सम्झँदै थिएँ । म:मले के-के सम्झाइदियो के-के । कुस्मा छोडेको पनि दसकौँ भैसकेको छ यताको पिज्जा, बर्गर र केएफसीले म:मको स्वाद मेटाउन सकेन, सक्दैन । उसो त ठुला तारे होटेलमा बनेका महँगा खानाका परिकार नखाएको पनि हैन तर पनि कुस्माको म:मको स्वाद कहाँ पाउनु । हाल यहाँ पनि नेपाली नामका टन्नै म:म रेस्टुरेन्टहरू नभएका पनि हैनन्, एक त पायक पर्दैन, दोस्रो समय मिल्दैन र तेस्रो कुस्माको जस्तो स्वाद कहाँ पाइन्छ र यहाँ ! यसकारण पनि धेरै भो म:म नखाएको । नेपाल छँदाका धेरै कुरा भुलिए, कैयौँ मान्छे बिर्सिए तर आज कोही एक मान्छेसँगै कुस्माको म:म खुब सम्झिरहेछु । अझ नढाँटी भनौँ, मलाई म:म सिक् भएको छ ।