काठमाडौँमा फ्रान्सेली वातावरणमा काम गर्दाका तिता-मिठा अनुभव
ए बा-बा ! भाषा भनेको बोलीचालीको माध्यम मात्र होइन, यो हाम्रो स्मृति, हाम्रो पुर्खौली सभ्यताको आधारभूत आख्यानहरू, ज्ञानविज्ञान, कलाकौशल साहित्यको जरो एवं विरासत हो । जरो बलियो भएन भने रुखले हाँगा फैलाउन सक्दैन, विरासत भावी पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिएन भने आफ्नो मौलिक पहिचान नै लुप्त हुनेछ ।
आफ्नो जीवनको अधिकांश अध्ययन र कार्यखण्ड फ्रान्सेली सामाजिक, शैक्षिक , सांस्कृतिक र व्यावसायिक तथा गत करिब दुई दशकदेखि फ्रान्सेली दाम्पत्य वातावरण बिताएकी मैले फ्रान्सेलीहरुलाई भित्री र बाहिरी दुवै दृष्टिकोणबाट जान्ने र बुझ्न मौका पाएँ । यस प्रस्तुतिको आशय दोहोरो छ :
– नेपाल अवस्थित एक बहुराष्ट्रिय एवं बहुसांस्कृतिक संस्थामा काम गर्दाका मेरो व्यक्तिगत र आत्मगत वृत्तान्त
– फ्रान्सेली र नेपालीहरूको भाषिक र सांस्कृतिक पहिचानप्रतिको दृष्टिकोण भिन्नता बारे मेरो विचार-धारणा

सन् १९७६ मा पेरिसको सर्बन (Sorbonne) विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातकोत्तरका साथसाथै आलिआस फ्रान्सेज (Alliance Française) को मुख्यालयबाट फ्रान्सेली पठन-पाठन प्रशिक्षण प्राप्त गरी नेपाल आगमनको एक हप्ताभित्रै मैले फ्रान्सेली सांस्कृतिक केन्द्रमा काम गर्न थालें । सन् २००२ मा केन्द्र पूर्णबाट अर्ध फ्रान्सेली सरकारी स्वामित्व संरचना आलिआन्स फ्रान्सेजमा परिणत भएपछि पनि मेरो कार्यसेवा जारी नै रह्यो । समग्रमा नेपालमा फ्रान्सेली भाषा र संस्कृति प्रवर्धनमा समर्पित २३ कार्यकालको क्रममा मैले शिक्षक, लाइब्रेनियन, शिक्षण एवं सांस्कृतिक अधिकारी, सांस्कृतिक प्रमुख र उपनिर्देशकजस्ता विभिन्न पदीय जिम्मेदारी निभाएँ ।
लक्ष्मणरेखा नाग्दै – एकतर्फ स्थानीय तवरमा नियुक्त फ्रान्सेली सहकर्मीको प्रारम्भिक सौतेनी व्यवहार भने अर्कोतर्फ फ्रान्सबाटै सिधा नियुक्त अधिकारीहरू र आगन्तुक विशिस्ट पाहुना र प्रतिनिधिहरूबाट विश्वास र सराहना । एक ख्याल राख्नुपर्ने कुरो – मैले आफ्नो कार्यकाल सुरू गरेको सत्तरीको दशकको मध्यतिरको संसार आजभन्दा धेरै नै बेग्लै थियो । फ्रान्स अझै पनि आफ्नो ‘त्रन्त ग्लोरिय ‘/गौरवशाली तीस’ (दोस्रो विश्व युद्धपछिका उँभोलाग्दो तीन दशक) चरणमा थियो र फ्रान्सेलीहरू अन्य पश्चिमाहरू जस्तै आफूलाई एक्लो बृहस्पति ठानी आफ्ना राजनैतिक, सामाजिक पद्धति, मूल्यमान्यता र जीवनशैली मानवमात्रकै लागि सर्वोपरी एवं सर्वव्यापी मान्दथे।

मलाई के थाहा, त्यो प्रस्तावित शिक्षकको जागिरमा त्यतिबेलासम्म काठमाडौंमा पर्यटकका रूपमा आई यहीँ बसोबास गर्न इच्छुक फ्रान्सेली नागरिकहरूलाई मात्र स्थानीय करारमा भर्ती गरिन्थ्यो भनेर ? नेपालमा बस्न र काम गर्न यी आगन्तुक फ्रान्सेलीको यो एक मात्र वैधानिक सम्भावना थियो। तसर्थ केन्द्रमा ३ तहका कर्मचारी थिए- अतिउच्च तलब खाने फ्रान्सेली परराष्ट्र मन्त्रालयबाट सोझै मनोनित अधिकारीहरू, नेपाली जीवन स्तरको दाँजोमा निकै उच्च पारिश्रमिक पाउने स्थानीय करारमा भर्ती भएका फ्रान्सेली शिक्षकहरुको र स्थानीय स्तरको तलब खाने सामान्य वा सेवक पदमा नेपालीहरु। म पर्न गएँ न भेँडा न बाख्रा – फ्रान्सका प्रतिष्ठित शैक्षिक संस्थानहरुबाटै उचित शिक्षा प्राप्त गरी फ्रान्सेली शिक्षकहरूले आफ्नै लागि मात्र आरक्षित मानेको पदमा मनोनित नेपाली ! मेरा शिक्षक सहकर्मीहरूबाट मप्रति विस्मात लाग्दो जातिवादले रंगिएको दुस्मनी, अयोग्यताको दोषारोपण र कलंकित पार्ने प्रतिक्रिया काम गर्न थालेका दिनहरूबाटै सुरु भयो ।
‘नेपालीहरू यहाँ सेवा कर्मचारी हुन्, जाऊ हामीलाई ट्याक्सी खोजेर ल्याऊ ।’, ‘नेपाली चोरहरू हुन्छन् र तपाईँले के के हाम्रो चोर्नुभयो तपाईँको झोला हेरौँ त !”, “हाम्रो मुखबाट गाँस खोस्न आएकी !” ती दिनहरूका मेरो शिक्षक सहकर्मीहरूका तिता वाचाहरू अहिले चालीस वर्षपछि पनि याद छन् । मेरो शिक्षा, मेरो उच्चारण, मेरो शैक्षिक एवं व्यवसाहिक योग्यतालाई तुच्छाउने, व्यवस्थापनको विरूद्ध कार्यालयको राजनीतिमा संलग्न गरी मेरो बदनाम गर्ने प्रयास गरियो ।
फ्रान्समा बसोबास र शिक्षाको क्रममा साढे चार वर्ष बस्दा फ्रान्सेलीहरूको विदेशीहरूप्रतिको उदार व्यवहार देखेकी एवं कुनै उल्लेखनीय जातिवाद समस्या भोग्नु नपरेको हुनाले मेरा सहकर्मीहरूको आचरणले मन दुख्नु, अत्याचार भएको अनुभूतिभन्दा बढी मलाई आश्चर्यचकित बनाएको सम्झना छ । यसबाहेक नेपाली भाषा, संस्कृति र पहिचानमा गर्व गर्ने परिवारमा हुर्के बढेकी, आफ्नो क्षमतामा विश्वास, विद्यार्थीहरूको माया र मेरा हाकिमहरूको सराहनाले यो असहज वातावरण खप्न अप्ठ्यारो भएन । यसबाहेक फ्रान्सेली गुरुहरूको मलाई एक तगारोको रूपमा देख्ने यो कटु मनोवृत्ति म केही हदसम्म बुझ्थेँ पनि । मलाई दुःख लागेको कुरा अर्को थियो- हामी नेपालीले विदेशीहरूलाई चाहिनेभन्दा बढी आदर र भाव दिन्छौं। उनीहरूको मुख ताक्ने, चापलूसी, खुसामद गर्ने र उनीहरूसित आफ्नै नेपालीको अपमान र आलोचना गर्नेजस्ता प्रवृत्ति हामीले देखाउँथ्यौं र आत्महीनबोधता देखाएर निकै हदसम्म आफैंले नै आफूलाई हेप्ने बाटो खोलिदिन्छौँ । यस्ता प्रवृति हाम्रा मानिसमा अहिले पनि केही हदसम्म विद्यमान नै छ । फ्रान्सेली सभ्यता एकदम ठिक उल्टो छ- यसबारे म तल व्याख्या गर्नेछु ।
केन्द्रको दायरा बढ्नुका साथसाथै मेरा कार्य जिम्मेदरी र पद पनि बढे साथै अधिकांश फ्रान्सेली सहकर्मीहरूको माया र सद्भाव कमाउँदै गए पनि आफ्नो कार्यकालको अन्तसम्म केही निश्चित फ्रान्सेली सहकर्मीले मलाई आँखाको कसिंगरका रूपमा देखी उत्पीडित गर्ने क्रम जारी नै राखे । तर मेरो कार्यकाल दौरानमै केन्द्रमा विध्यमान जातीय लक्ष्मण रेखा नाग्दै मैले ‘खोलेको’ पदहरूमा योग्य नेपालीहरूले काम गर्न थाले । बाटो मैले खोलिदिएकाले तिनीहरूलाई यस किसिमको असहज व्यवहार सहनु परेन ।
सराहना, अनुग्रह र कदर
रमाइलो कुरा त के भयो भने फ्रान्सेली शिक्षादीक्षा पाएको मेरो त्यही पृष्ठभूमि केन्द्रको व्यवस्थापनले लाभकारी र उपयोगी देख्यो । नेपालको राजनैतिक र सांस्कृतिक पारिवारिक पृष्ठभूमिबाट आएकी म केन्द्रको लागि नेपाली सांस्कृतिक क्षेत्रहरू सम्पर्क स्थापना गर्ने र दरो पार्ने माध्यम हुनपुगेँ । यसैकारण मेरो कार्य अवधिमा फरक फरक पदीय एवं गैरपदीय जिम्मेदारी मेरा काँघमा आइपुगे ।
मैले काम गर्न सुरू गर्दा फ्रान्सेली सांस्कृतिक केन्द्र दुई-तीन भाषा कक्षा, सानो पुस्तकालय र अंग्रेजी उपशीर्षक (सबटाइटल) भएका फ्रान्सेली चलचित्र देखाउँने दीर्घामा मात्र सिमित थियो । VHS वा VCD पूर्व दिनहरूमा विदेशी सिनेमा हेर्न इच्छुक माझ यो क्रियाकलाप लोकप्रिय थियो । हाम्रा फ्रान्सेली भाषा कक्षाहरु पनि लोकप्रिय थिए । कस्ता विद्यार्थी आउँछन् भन्ने एक नियमित प्रश्न हामीलाई गरिन्थ्यो । विद्यार्थीहरू अक्सर भर्भराउँदा युवा र अधिकांश पुरुष देखेर फ्रान्सेलीहरु आश्चर्यचकितका साथ खुसी पनि हुन्थे । उनीहरूको लागि टाठाबाठा जाँगरिला नेपाली युवाको फ्रान्सेली भाषाप्रतिको आकर्षण एकदमै सकारात्मक संकेत थियो । फ्रान्समा त्यस्ता भाषा कक्षाले अक्सर पाका वा अवकाशप्राप्त व्यक्तिहरू र त्यसमा पनि अधिकतया महिलाहरूलाई आकर्षित गर्दछन् । केन्द्रका विद्यार्थीहरूमा, युवाबाहेक सेना (फ्रान्समा स्टाफ कलेज तालिमका लागि) र प्रहरी (इन्टरपोल सेवाको लागि), विदेश मन्त्रालयका अधिकारीहरू (कूटनीतिक नियोगहरूका लागि), प्रवासी विदेशीहरू, पर्यटन कर्मचारीहरू बाहेक विवाह पर्खिरहेका सुकिला-मुखिला वर्गका तरुनी केटीहरू र उनीहरूसित परिचय गर्न इच्छुक ठिटाहरू हुन्थे । यी पछिल्ला दुई समूहको तल्माल हेर्दा र पछि विवाह भोज निम्ता पनि पाउँदा हामीलाई निकै रमाइलो लाग्दथ्यो ।
सन् १९८३ मा केन्द्रको नेपालसित राम्ररी परिचित र नेपालीसित घुलमिल गर्न सक्ने क्रियाशील निर्देशकको नियुक्ति भयो । उनको ९ वर्षे कार्यकालमा केन्द्रको शिक्षा र संस्कृतिक क्रियाकलापको दायरामा बढ्दै जानुका साथसाथ मेरा कार्य जिम्मेद्वारीहरू र पद पनि बढ्दै गए । शिक्षण प्रमुखको रूपमा मेरो उल्लेखित योगदान सम्बन्धित नेपाली निकायसित फ्रान्सेली भाषा माध्यमिक र उच्च माध्यमिक पाठ्यक्रममा वैकल्पिक विषयवस्तुको रूपमा समावेश सम्झौता र इच्छुक नेपाली विद्यालयहरूमा अध्यापन व्यवस्थापन रह्यो । यसरी फ्रान्सेली भाषाको पढाइ केन्द्रको साँघुरो दिर्घामा मात्र सिमित नरहेर विद्यालय स्तरको पठनपाठन विषयवस्तु हुनगयो ।
यसबाहेक, फ्रान्सेली केन्द्रमा मेरो कार्यपत्रमा उल्लेखित नभएको २ अरु जिम्मेदारी पनि वहन गर्न पुगेँ । यीमध्ये प्रथम थियो- फ्रान्सेली नाट्यसाहित्यको नेपाली रूपान्तरण र प्रस्तुति । मेरा त्यसको समयका निर्देशकको मनसाय र मेरो पनि लेखनमा रूचि हुनाले म स्वत: यसतर्फ तानिए । यो केन्द्र र म दुवैलाई लाभदायक थियो । केन्द्रको लागि काठमाण्डौंका फ्रान्सबाट कार्यक्रमहरू ल्याई सीमित दर्शक सामु प्रस्तुत गर्नुभन्दा नेपाली कलाकारहरू सितै काम गरी कम खर्चमा फ्रान्सेली संस्कृतिको स्थानीय जनमानससम्म प्रचार प्रसार हुने । मेरो लागि आर्थिक लाभ नभए पनि आफ्नो रुचिको काम, नेपाली सांस्कृतिक क्षेत्रमा संलग्नता, नयाँ प्रतिभाहरूलाई प्रकाशमा ल्याउन सहयोग र साथ -साथ केही हदसम्म आफ्नो पहिचान स्थापना पनि हुने ! हाम्रो यो जमर्को मेरा निर्देशक र मैले चिताएको भन्दा बढी नै सफल हुन पुग्यो । मेरो पहिलो नेपाली रूपान्तर प्रयास १७ औँ शताब्दीका फ्रान्सका सुप्रख्यात नाटककार मोलिएर (Molière) को हास्यनाटक ‘Les Fourberies de Scapin’ ‘ चतुरेको दाउपेच’ थियो । सो नाटक हामीले राष्ट्रिय नाचघरसँग मिलेर प्रस्तुत गर्यौँ । नाटकको निर्देशक २३ वर्षको प्रतिभाशाली युवा सुनिल पोखरेल थिए । कलिलो उमेरका सुनिल भाइ संसारकै अग्रणी नाटक प्रशिक्षण संस्थानहरू मध्येको नयाँ दिल्लीको नेशनल स्कूल अफ ड्रामाबाट प्रशिक्षित नाट्यकर्मी हुनुहुन्थ्यो । महिनौसम्म राष्ट्रिय नाचघरमा प्रस्तुत यो हास्य नाटकले ठूलो लोकप्रियता कमायो र पछि टेलिशृंखलाको रूपमा नेपाल टेलिभिजन मार्फत झनै व्यापकरूपमा नेपालभरि मनोरञ्जन प्रदान गर्यो । सुनिल पोखरेलको “आरोहण शनिबार” र फ्रान्सेली केन्द्रको सांस्कृतिक सहकार्य करिब १० वर्ष जारी रह्यो। उहाँको उत्कृष्ट नाटक मण्डलीसित सहकार्य गर्न पाउँदा हामीलाई के खोज्छस् कानो आँखा भनेझैँ र उहाँहरूको लागि पनि केन्द्रमा अवस्थित सानो रंगमञ्च आफ्नो प्रतिभा देखाउने पायक मञ्च । मैले आरोहण शनिबारको लागि मोलिएर( Molière), जेन पल सार्त्र ( Jean-Paul Sartre), आल्बेर काम्यू (Albert Camus), जँनआनुई (Jean Anouilh), झुल रोम्याँ (Jules Romain) का फ्रान्सेली कालजयी कृतिहरूका साथ (Alexandre Vampilov) अलेक्सन्द्र भाम्पिलभको रुसी नाटक पनि नेपालीमा रुपान्तर गरे । यीमध्ये ‘विना चिहानको मृत्यु’, ‘जेठो छोरो’ जस्ता केही नाटक टेलिभिजनमा टेलिश्रृङ्खलाको रूपमा देखाइयो र मेरा ४ अनूदित कृतिहरू प्रकाशित पनि भए । नियमित नाटक प्रदर्शन र आरोहण शनिबारका क्रियाकलापको लोकप्रियताका कारण फ्रान्सेली केन्द्र दर्शक एवं धेरै वरिष्ठ एवं कनिष्ठ कलाकार, लेखक, कवि, पत्रकार, नागरिक अगुवाहरु, विद्यार्थीहरू र प्रतिभाशाली यूवाहरुको लागि काठमाण्डौंको एक लोकप्रिय संस्कृतिक केन्द्रबिन्दु हुनपुग्यो। तर यहाँ पनि मलाई दुख लाग्दो एउटो कुरो के थियो भने- नेपालमा प्रतिभाशाली, सक्रिय र कल्पनाशील युवा प्रतिभाको कमी छैन । तर यस्ता प्रतिभाहरूलाई हौसला, सहयोग समर्थन गर्न सरकारी इकाईहरूको अगाडि सर्दैन थिए । सुनिल पोखरेलजस्तो प्रतिभाशाली निर्देशकले पनि आफ्नो गुणस्तरीय कला प्रस्तुतिको लागि हाम्रो केन्द्रजस्तो सानो विदेशी संस्थासित सहकार्य गर्नुपरेको बाध्यता एक किसिमले नेपालकै लागि लाजमर्दो थियो ।
१९८३ देखि म सांस्कृतिक उपनिर्देशकको पदमा नियुक्ति भएँ । यस थप नयाँ जिम्मेदारीले मेरो कार्यभार निकै विस्तृत हुनु पुग्यो- नाटक निर्माण समायोजनदेखि नेपाल टेलिभिजनको सह-उत्पादन, फ्रान्सबाट आमन्त्रित र स्थानीय सांस्कृतिक कार्यक्रम आयोजनादेखि लिएर पुस्तक प्रकाशन, जनसंपर्क गर्ने काम गर्थेँ ।
मेरो अनुवाद अभियानले एक अर्को पनि जिम्मेदारी थप्यो- फ्रान्सेली राजदूतावासले मलाई फ्रान्स नेपाल सम्बन्धको एक विश्वासिलो कडीको रूपमा देख्न थाल्यो र मैले दुई देश बिचको केही महत्त्वपूर्ण अन्तरक्रिया र उपल्लो स्तरको आदानप्रदानमा दोभाषे र सहयोगी हुने मौका पाएँ । गोपनीयतामा काम गर्नुपर्ने फ्रान्सेली औपचारिक मन्त्री वा सांसद स्तरीय प्रतिनिधिमण्डलहरूको राष्ट्राध्यक्ष वा नेपाली समकक्षीहरूसित शिष्टाचार भेटघाटमा होस् वा १९८९ को वीरेन्द्र अस्पतालको नेपाल सेना र फ्रान्सेली सेनाको ठेकेदारी सट्टापट्टामा वार्ता वा १९८९ मा इन्टरपोलको १०औं एसियाली क्षेत्रीय गोष्ठीमा म फ्रान्सेली पक्षबाट समावेश हुने मौका पाएँ ।
संसदीय आदानप्रदानका क्रममा सन् १९९१ को प्रजातान्त्रिक आम निर्वाचनमा फ्रान्सेली पर्यवेक्षक प्रतिनिधिमण्डलसित मैले काम गरेँ र १९९३ मा नेपाली संसद्को नेपाल फ्रान्स मैत्री समूहको फ्रान्स भ्रमण दौरान फ्रान्सेली सरकारले मलाई अनुवादक-संयोजकको रूपमा फ्रान्समा आमन्त्रण गरेको थियो । यी मेरा कार्यको कदर गरी फ्रान्सेली संसद् (Assemblée Nationale)ले नै काठमाडौँमा १९९२ मा शल्यक्रिया दौरान एलेर्जीको प्राणघातक समस्या उत्पन्न भएपछि मलाई पेरिसको प्रख्यात सैनिक अस्पताल भाल द ग्रास ( Val de Grâce) मा पुनः शल्यक्रिया र उपचार व्यवस्ता मिलाइदियो । साथै सन् २००२ को अन्ततिर मैले जागिरबाट राजीनामा दिँदा, राजदुतावासको आग्रहमा फ्रान्सेली सरकारले नेपालमा फ्रान्सेली भाषा र संस्कृति सम्वर्धनमा मेरो योगदानबापत सन् २००३ मा फ्रान्सको प्राज्ञिक क्षेत्रको प्रतिष्ठित पदक Ordre des Palmes Académiques ले विभुषित गरेर सम्मानजनक विदाई गर्यो ।
भाषिक र सांस्कृतिक पहिचान- मैले फ्रान्सेलीहरूबाट सिकेको निचोड
एक बहुसांस्कृतिक कार्य वातावरणमा सामाजिक, जातीय, सांस्कृतिक मतभेदहरू नहुने भन्ने त हुँदैन । एउटा संस्कृतिको अवगुण अर्को संस्कृतिले गुणको रुपमा देख्न सक्छ । फ्रान्सेलीहरूका गुण-अवगुणको बारेमा त ठेली पुस्तककै लेख्न सकिन्छ। द्विराष्ट्रिय भाषिक र सांस्कृतिक क्षेत्रमा काम गरेकी र यी दुवै आधारभूत किसिमले पहिचानसितै सम्बन्धित हुनाले यही विषयवस्तुमा मेरा केही विचार व्यक्त गर्दछु ।
कुचिकारदेखि राष्ट्राध्यक्षसम्मको आ-आफ्नो क्षेत्रको सक्षम जानकार र पूर्ण तवरले जिमेदारीका साथ अधिकार सम्पन्न फ्रान्सेलीहरू चरम व्यक्तिवादी हुन्छन् भन्ने त सबैलाई थाहा भएकै कुरो हो । यसैकारण एक सामान्य कर्मचारीले पनि राष्ट्रपतिसित आँखामा आँखा जुघाएर निर्धक्क कुरा गर्न हिच्किचाउँदैन । व्यक्तिवादीका साथसाथै फ्रान्सेलीहरू सामूहिकरूपमा आफ्नो भाषा, संस्कृति, जीवनशैली, मौलिकता र पहिचानमा अति नै गर्व गर्ने देशभक्त हुन्छन् । मेरो लागि यो उनीहरूको मलाई सबैभन्दा अनुकरणीय पक्ष हो ।
अब आफ्नै देशबासी नेपालीहरूलाई हेरौँ त ! मैले माथि उल्लेख गरेको विदेशीकोको मुख ताक्ने, चाप्लुसी गर्ने र आफ्नै भाषा, संस्कृतिलाई अपहेलना गर्ने हामी नेपालीहरूको त्यसको ठिक उल्टो ! देशबासीका यस्ता प्रवृति देख्दा अति नै दुःख लाग्छ । मेरा आफन्तमा नै आफ्ना छोराछोरीसित अंग्रेजीमा मात्र कुरा गर्ने, उनीहरूलाई नेपाली आउँदैन भनेर गर्व गरेको देख्छु, मन दुख्छ ! हामी किन आफ्ना केटाकेटीलाई अस्वाभाविक बोक्रा मात्र खैरो भित्री गुदी भने सेतो नरिवल तुल्य विचित्रको सांस्कृतिक प्राणी बनाइराखेका छौँ ? प्राथमिक शिक्षा नेपालमा बाहेक, मेरो बाँकी शिक्षा विदेशमै रही-बसी रूसी र फ्रान्सेली शैक्षिक संस्थाहरूमा र हालमा आएर जीवनयापन पनि अधिकांश समययापन पश्चिमा संसारमै भए पनि पनि खोइ त विदेशीले मलाई नेपाली नै ठान्छन्, नेपालीकै रूपमा देख्छन्, उनका नजरमा मेरो विशेषता, मेरो नेपाली पहिचानमै रहेको छ ! हो ! मेरा अभिवावाकहरूले आफ्नो नेपाली पहिचानको आदर गर्न र सोमा गौरव गर्न सिकाएकोले नै , अध्ययन काम र बसाइको दौरान मेरो जीवनको लामो अन्तराल एसिया, युरोप र अफ्रिकाका निकै देशहरूका विदेशीसित निर्धक्क व्यवहार गर्न सकेकी हुँ ।
ए बा-बा ! भाषा भनेको बोलीचालीको माध्यम मात्र होइन, यो हाम्रो स्मृति, हाम्रो पुर्खौली सभ्यताको आधारभूत आख्यानहरू, ज्ञानविज्ञान, कलाकौशल साहित्यको जरो एवं विरासत हो । जरो बलियो भएन भने रुखले हाँगा फैलाउन सक्दैन, विरासत भावी पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिएन भने आफ्नो मौलिक पहिचान नै लुप्त हुनेछ । आफ्नै सांस्कृतिक जरोलाई यसरी किन कमजोर हामी पारिरहेका छौँ ?
मेरो युवावस्थाको पश्चिमाहरूको एकध्रुवीय हलिमुहाली थियो, २१ शताब्दीको सुरुवातदेखि पूर्वी एसियाली सशक्तिकरणका साथ समकालीन विश्व बहुध्रुवीय भइसकेको छ। १८ देखि २०औं शताब्दीसम्म विद्यमान पश्चिमा कथित श्रेष्ठता र सर्वव्यापिकता ( universalism) अस्ताउँदै छ । यसरी गएर पश्चिमी सभ्यता, भाषा, संस्कृति, मौलिक पहिचानको मुद्दा विश्वव्यापी रूपमा सशक्त हुँदै गएको उनले नै सन्तोष शाहले आफ्नो नेपाली मौलिक पकवान विरासत प्रदर्शन गरी पश्चिमाहरूको मन जित्न सफल भए वा अमेरिकी उपराष्ट्रपतिले आफ्नो अफ्रो-एसिया-अमेरिकी परिचान चुनावी लाभमा परिणत गर्न सफल भइन् ।
तसर्थ, हजारौँ वर्षीय सभ्यता बोकेको आजको पुनःउदयमान एसिया विश्वमञ्चमा आफ्नो गुमाएको प्रमुखस्थानमा लम्की रहेको बेलामा हामीले आफ्नो भाषा, संस्कृति, पहिचानलाई कदापि अवहेलना गर्नुहुन्न । भोलिको उन्नत एसियाका नागरिक हाम्रा छोराछोरीले आफ्नो मौलिक पहिचानमा बलियो तवरले स्थापित नभएकोले नै ‘न घरका न घाटका भयौं” भनेर हामी उनका अभिभावकहरूलाई सपार्ने छन् । मैले यहाँ अंग्रेजीलाई बेवास्ता गर्नु भनेको होइन । अंग्रेजी अन्तर्राष्ट्रिय आदानप्रदान, उच्च अध्ययन र वैज्ञानिक खोजीको भाषा हो र अझै केही दशकसम्म रहनेछ, तसर्थ राम्ररी जान्न अनिवार्य छ । अनुकूल छ भने संसारको दोस्रो महाशक्ति हुनलागेको चीनको, केही दशकमै अमेरिकाको बहुसंख्यकको भाषा हुने स्पेनिस वा शालिनताको प्रतीक मानिने फ्रान्सेली पनि सिक्नुहोस्, मिल्छ यी सबै सभ्यता, संस्कृति बारे ज्ञान बटुल्नुस् तर आमाको काखमा सिकेको मातृभाषा, परिवार र समाजबाट प्राप्त संस्कार-संस्कृतिले प्रदान गरेको मौलिक पहिचान तपाईंको आत्मबलको मजबूत जगको रूपमा रही रहोस् । पुस्तकमा सिकेको अंग्रेजी वा अन्य भाषा, बाहिरी संसारसँग व्यवहार गर्ने ‘पैतृक भाषा’ रहोस् ! यसरी स्थानीय र विश्वव्यापी दुवै संसारमा तपाईँ वा तपाईंका छोराछोरी ‘घर न घाटका’ होइनन् कि ‘घरका पनि घाटका पनि’ हुनेछन् । दुई हातमा बाजी !