निन्द्राले चाँडै छाडे पनि म के के सोच्दै सुनसान कोठामा एक्लै पल्टी रहेँ, अघिल्लो साँझ चन्द्रगढीबाट प्लेन ढिलो उडेकोले अबेर मात्र आइपुगेर सुतेकी थिएँ |

थाकेर होला ! झ्यालबाट भित्र उज्यालो चिहाउन आइसक्दा पनि उठ्न मनै लागेन ! काठमाडौँको अन्य ठाउँहरूजस्तै त्यहाँ पनि वरिपरि खुब कुकुर भुकेको सुनिन्थ्यो तर सवारी साधनको हल्ला भने सुनिनँ | म भैँसेपाटी नक्खु डोल ठूलो भाइको घरमा थिएँ, भाइले किनेपछि पहिलोपल्ट त्यस घरमा पुगेकीले साँझ अँध्यारोमा त्यो नौलो ठाउँको भूलोग र वरिपरिका दृश्यहरूसित परिचय गर्न पाइनँ, मञ्जु बहिनीले पकाई राखेको खाना मात्र कुखुराले चारो टिपे जसरी हतार टिपी खाएर ओछ्यान पसेकी थिएँ |

बिस्तरामा पल्टिएरै बाहिर यस्तो होला, उस्तो होला ? भनी मनमनै कल्पना गरिरहेँ, तर, म उपत्यका बाहिर मात्र बढी बस्ने भएर हो कि ! काठमाडौँ मलाई कल्पनामा मात्र रमाइलो लाग्छ, यथार्थमा जुनसुकै कोणबाट हेर्दा पनि रमाइलो लाग्दैन | प्लेनबाट तल ओर्लंदै गर्दा नै देख्न थालिन्छ, बाकुलोगरी जताततै छरिएका ईंटाजस्ता अव्यवस्थित घरहरू | त्यसरी बिना कुनै सिस्टम जथाभाबी बनेका घरहरूले गर्दा उपत्यका कुरूप मात्र होइन सासै थुन्ने, भीडभाड, धुवाँधूलो अनि प्रदुषण र सवारीसाधनहरूको हल्ला बढी भएको सहरजस्तो देखिन्छ | लाग्छ उपत्यका वरिपरिका सुन्दर डाँडा पाखाहरूले कहिल्यै उज्यालिन पाउने छैनन् | उनीहरू जहिल्यै अहिलेको आधुनिक बेहुलीझैँ मुस्कुराउँदै मण्डपमा बस्ने होइन उहिलेका नयाँ बेहुलीलेझै घुम्टोभित्र लाज मानेर हलचल नगरी उपत्यकाको दूषित धूँवा धुलोले बाह्रैमास डम्म ढाकिएर बस्नु पर्नेछ | कति माया लाग्दो प्रकृतिको अदृश्य पीडा हरे …?

अझ बागमती, बिष्णुमति र नक्खु खोलामा झरिरहने नमिठो गन्दे ढलहरू देख्दा कागती निचारेभन्दा सारो मन निचारिन्छ | “यस्तो पनि राजधानी ? काठमाडौँभन्दा त झापा नै राम्रो” | केही वर्ष पहिले काठमाडौँ आउँदा मेरी आमा यसो भन्नु हुन्थ्यो, हाल सालैको राजधानी देख्दा झन् के भन्नु हुन्छ होला आमा ? सोची रहेथेँ ! तलबाट मञ्जुले दिदी उठ्नु भो ? कफी बनाऊँ ? भनेर बोलाइन् | म जहिले मन तातो पानी पहिले पिउने गर्छु
बिहान उठेर त्यसैले मञ्जुलाई कफी नबनाउन अनुरोध गर्दै उठेर बाथरुम पसेँ | टोइलेट गरेर घ्वार्र …फ्लस गरेँ अनि बल्ल पो सोच्न भ्याएँ मैले भर्खरै फ्लस गरेको फोहोर कुन खोलामा झर्दो होला ? भनेर !

जानु काम्बाङ्ग लिम्बु (युके)

मैले फ्लस गरेको टोइलेटको रित्तो भाँडोमा भने एकछिन रित्तो बस्दा म उसलाई सजाय दिन्छु जतिकै हतार फेरि अर्कोपल्टको लागि पानी भरिन थाल्दैथ्यो | ब्रश गरेँ मुख धोएँ अनि सुकिलो टावलले मुख पुछ्दै ऐनामा हेर्दा आफ्नै अनुहार बागमतीजस्तै कुरूप लाग्यो | म मान्छे कति स्वार्थी मेरो आफ्नो स्वार्थ पूर्तिको लागि खोला नाला र वातावरणले दूषित हुनु परिरहेछ | हे पृथ्वी माता मलाई क्षमा गर्नुस ?

पानी पिएर एकछिन बैठक कोठामा बसेँ, भाइले नयाँ किनेको घर सारै राम्रो लाग्यो | पानी पिएर तल माथि एक पल्ट सर्लक्क घुमेँ | चलचित्रमा देखाइने धनिमनिका घरजस्तो बान्की परेको रुपैलो लाग्यो, टाढाबाट हेर्दा सहर अव्यवस्थित देखिए पनि घर भित्र त व्यवस्थित ढङ्गले सबै सुविधायुक्त बनेका हुँदा रैछन् | मैले आकाशमाथिबाट हेर्दा उपत्यकामा जथाभाबी पोखिएजस्तो देखिने दुई घर त भाइको र मेरो पनि पर्छन् अरूलाई मात्र के भन्नु ?

भाइ पनि त्यहीँ थियो, ऊ मभन्दा एकदिन अघि बेल्जियम उड्दै थियो | मेरो भाइ मभन्दा दई वर्षले मात्र सानो तर प्रगति उन्नति भने दोब्बर छ उसको | मेरो संस्मरणको एक मुख्य पात्र उसलाई सुन्दर घर किनेकोमा अनेक बधाई दिएँ | उनीहरू सबै परिवार बेल्जियममै बसोबास गर्छन् उतै पनि घर किनेका छन् | यहाँ बुहारीको भाइ बिक्रम र मञ्जु बहिनी बस्छन्, उनीहरू श्रीमान श्रीमती हुन् र नाताले मञ्जु फुपूकी छोरी पर्छिन् |

इन्डिया, बङ्गलादेश र पाकिस्तान आदिको राजधानी कस्ता छन् कुन्नि तर अन्य देशका राजधानी त साँच्चै मनै लोभ्याउने हुन्छन् | त्यहाँ प्रधानमन्त्री इन्डिया सवारी हुँदा झापाका यात्रुले प्लेन कुरेर रात पार्नु पर्दैन । जे पनि सिस्टमले चल्छ | आकाश सफा निलो रातमा टिलिलिलि … तारा टल्कनछ्न् |

जताततै हरियाली बस्तीभन्दा ज्यादा भूभागमा बनजङ्गल | फोहोर व्यवस्थापन एकदम उत्कृष्ट | हुन त त्यहाँका जनता नै सचेत छन्, सुन्तला, बदाम खाएर बोक्रा गाडीको झ्यालबाट हुर्याउँदैनन् | बाटोको छेउचाऊ मैला फ़ाल्दैनन्, जथाभाबी थुक्दैनन् | यसो भनिरहँदा मैले मेरो देश र देश बासीलाई गाली गरेको भने हुँदै होइन ? बरु देशको चिन्त्ता उर्लिएको चाहिँ हो मेरो मनमा | पठाकवर्गलाई यसरी चबुझिदिन हुन अनुरोध गर्दछु | अर्काको सभ्य देशमा बसेर आफ्नो देशलाई गाली गरिरहेका हुन्छन् नेपालीहरूले भनेर कर्ण साक्यज्युको किताबमा पढेकी थिएँ, म त देशमै छु र जे देखिरहेकी छु त्यै मात्र भनिरहेकी छु |

उठेर खाजापानी खाइसकेपछि म र ठूलो भाइ पठाओको ट्याक्सी बोलाएर कपनतिर आफन्त भेट्न हुइँकियौँ, हुइँकियौँ पनि के भन्नु गयौँ ! काठमाडौँमा बाटो खाली भएपो हुइँकिनु ? मन त्यसै बिरक्तिएको बेला ट्याक्सीले उस्तै भित्र-भित्र भागेर हिँडेको अपराधीझैँ खोलाको किनारै किनार सफा सम्पन्न घरहरूले फ्लस गरी झारेको नमिठो ढलको गन्ध सुगाउँदै कपन पुर्यायो | विशेष गरेर हामी बाबाहरूको काका हाम्रो बाजे लालबहादुर काम्बाङ्गलाई भेट्न हिँडेका थियौँ | बाजेको घर झापा त्यहाँ केही कामको लागि आएर आफ़न्तकोमा बसेकोले लोकेसन मज्जाले नबताउँदा तिरिरि रिङ्गटा चल्ने गरी घुम्यौँ ट्याक्सीमा | हराउँदा हराउँदा बल्लैले फेला पारेर बाजे बोजुलाई पशुपति पुगेर देउता ढोग्न नपाएको दु:ख भूल्ने गरी दक्षिणा राखिवरि लिम्बुपाराले भुइँसोरी ढोग्यौ, साँच्चै आनन्द आयो धेरै पछि बाजेलाई भेट्दा |

बाजेलाई भेटेपछि त्यहीँ ट्याक्सी पर्खाएर मानव सेवा केन्द्र सातदोबाटोसम्म ल्याइयो, त्यहाँ हाम्रो गाउँको एकजना मानसिक रोगी नाति केटोलाई केही महिनादेखि राखिएको थियो र उसको लागि हामी बेलायत बासीले पनि सहयोग सङ्कलन गर्दै थियौँ | मानव सेवा केन्द्र सातदोबाटो नगर प्रहरी बिटदेखि भित्रतिर रहेछ | हामी पुग्दा नाति केटो त खाना खाएर सुतिरहेको रहेछ, पुरै सुरक्षित गरी ग्रिलले बारेर राखिएको रिसेप्सनमा एकजना मेरै उमेरको झैँ देखिने नर्स बसेकी थिइन् | उसलाई नातिको नाम भनेर बोलाउन लगायौँ, हामीलाई देखेर अरू पनि केही बिमारीहरू तल हलमा ओर्लिए | जम्मै उस्तै हाम्रै नाति जस्ता २०,२२ वर्षका, कति पीडादायि दृश्य कोही चिन्नु छैन कहाँ के भैरहेछ थाहा छैन ? उनीहरूलाई देखेर म त चकित बनेँ, उनीहरूको पीडा, उनीहरूको फिलिङ्स महसुस गर्न त सायद ! हामी पनि बहुलाउनु पर्छ | धेरै बस्न सकिनँ एकछिन बात गरेर नाति फेरि सुत्न गयो | पहिले त साङ्ग्लोले बाँधेर राख्नु पर्थ्यो तर अहिले त निको हुँदै रहेछ, म फलानाको छोरी, फलानाको नातिनी भन्दा ए भन्ने भएको रहेछ | मान्छे कम्ती राम्रो रुपैलो होइन झन् कोठाभित्रै बसेर त जापानिज जस्तो गोरो भएछ, मैले लिम्बु भाषाबाट यहाँ कस्तो खाना दिन्छन् ? कसरी सुत्छौ ? कतिको निन्द्रा पर्छ ? आदि कुरो सोधेँ । उसले पहिले त गाह्रो लाग्थ्यो अहिले त यहीँ बस्ने, खाने, सुत्ने सबै आदत बस्यो, निन्द्रा लाग्छ भनेर बोल्यो तर एकदम एकोहोरो हाम्रो प्रश्न उसको उत्तर कार्यक्रमको नियममा रहेर उत्तर दिएजस्तो | जे सोध्यो त्यसको छोटो छोटो
उत्तर मात्र दिन्थ्यो |

सुनेको थिएँ, ऊ ताप्लेजुङ्गको राम्रो फुटबल खेलाडी थियो रे, त्यो कुरो फुटबल खेल्दा भाँचिएको उसको अगाडिको दाँतले बताइरहेथ्यो | यति राम्रा राम्रा युवाहरूलाई किन मानसिक रोग लाग्छ ? के देशमा पढे लेखेर पनि भने जस्तो रोजगारी नपाउनुले हो त ? नातिसँग छुट्टेपछि मैले आफैँलाई प्रश्न सोध्ने पालो आयो | आफ्नै मनले जन्माएका अनेकौँ प्रश्नको उतर खोज्दा खोज्दै म बाग बजार पुगेँ | ठूलो भाइ भोलि हिँड्ने भारितारी मिलाउनु छ भनेर घरतिर लाग्यो | अघि घरदेखि लिएर आएको ट्याक्सी भाइले नै लिएर गयो | अचेल देशमा आधुनिक तवरले हेर्दा चाहिँ धेरै प्रगति भएको छ जस्तै ट्याक्सी, हामीले “पठाओको” एप डाउन लोड गरेर त्यो वेब साइटबाट बोलाउँदा कहाँ पुग्नु पर्ने ठाउँको लोकेसन टाइप गरेर इन्टर गरेपछि पैसाको रेट पनि फिक्स, कति नम्बर ट्याक्सी, ड्राइभरको नाम के हो फोटो सहित आउँदो रहेछ | यो चाहिँ खुब स्वाद लाग्यो ट्याक्सीमा भुलेको समान समेत हराउने डर भएन अब त ! तर, नजिक त पठाऊको रेटमा पोसौँदैन, ट्याक्सी खाली छैन, तेल सटेज छ आदि इत्यादि भन्ने ट्याक्सी चालकहरू आदत भने अझै बद्लिएको छैन |

मैले त्यस दिनभरिको योजना बनाएको लिस्टमा बाँकी बागबजार इण्डिगो इंकमा पुगेर १० ओटा किताब लिई डाक्टर गोविन्दराज भट्टराई दाजुको घर कीर्तिपुर पुग्नु थियो | डाक्टर दाजुसँग पहिले एकपल्ट भेट भए पनि, डाक्टर अञ्जना भाउजूसँग पहिलोपल्ट भेट हुँदै थियो, त्यसैले मन उत्सुक थियो | तर पहिलो भेटको लागि विशेष कोसेली भने केही थिएन त्यसैले नारा सिरेप्प सिरेप्प (सरम सरम ) पनि भैरहेथ्यो |

इण्डिगो इंक पब्लिकेसनले दशैँमै निकाल्ने भनेर लिएको नियात्रा सङ्ग्रह दुई वर्षपछि बल्ल निकाल्दैथ्यो, हर्ष लागेको थियो भने, बेलायत फिर्न जम्मा दुईदिन मात्र बाँकी भएकोले बिस्मात पनि लागेको थियो | यसरी हर्ष र बिस्मात दुवै मिस्सिएर दुई वर्षमा निस्कँदै गरेको कृति नियात्रा सङ्ग्रह पनि कागलाई बेल पाक्नुजस्तै भैरहेथ्यो |

म सात दोबाटोबाट एउटा ट्याक्सी लिएर बाग बजार इन्डीगोको अफिस पुगेँ | तर विष्णुजीले एकछिन बस्दै गर्नुस् किताब आउँदै छ भन्नु भो | यता घडीले भने डाँडा काट्न लागिसक्यो, निधारमा पसिना चिट्चित हुँदै बसिरहेँ | केहीछिन पछि कवि स्वप्निल स्मृति भाइ पनि आइपुगे | भाइ आएपछि एकछिन गफमा भुल्यौँ | किताब आएपछि बोकेर स्वप्निल भाइ र म तुफान दौडियौँ किनकि दाजु चाँडै सुत्नु होला र भेट नहोला भन्ने चिन्त्ता थियो | स्वप्निल भाइले भोलिपल्ट विमोचनको लागि निम्तालू वक्ताहरूलाई किताब दिनु थियो, मलाई हतारमा किताब बोकेर दौडिने स्वप्निल भाइ र एक रातमै किताब पढेर भोलिपल्ट किताबबारे बोल्ने वक्ताहरूको सारै माया लागेर आयो | एकारातमा जम्मै पढ्नु त सम्भव नै थिएन, कमजोरी कसको हो ? बुझ्नै सकिनँ, तै नेपालको काम आफ्नै थाप्लो
छाम भने झैँ आफ्नै थाप्लो छाम्दै हिडेँ म |

डाक्टर गोविन्द दाइ र भाउजू पनि भोलिपल्टै झापा जाँदै हुनुहुन्थ्यो र केही किताब झापा पठाउनु थियो | दाजुले दिनु भएको लोकेसन अनुसार म कीर्तिपुर बजार पुगेँ, मलाई काठमाडौँको ठाउँहरू कालो अक्षर भैँसी बराबर हो, पुगेर अलमल परेँ | नियात्राको विमोचन कार्यक्रम भोलिपल्टै राखेकाले मनमा यति तनाव थियो कि मैले त कोसेली समेत किन्न भुलेछु, धन्न चोकैमा एउटा युरोपको जस्तै सुपर मार्केट थियो । त्यहाँ भित्र पसेर केही समान र फलफूल किनेँ | दाजुको फोन लगातार आइरहेको थियो, उहाँले भन्नु भो त्यहाँ एकजना हाप पैन्ट लाउने सेतो कपाल फूलेको बुढो बुढो मान्छे लिन आउँछन् उनको नाम गोपाल हो भन्नु भो | मैले उभिँदा उभिँदै एकजना मोटो मोटो दाजुले भने जस्तै मान्छे त देखेँ तर उहाँ त्यहाँ रोकिएको एउटा ट्याक्टरलाई पैसा दिँदै के के भन्दै हुनुहुन्थ्यो | त्यसैले उहाँ त होइन होला भन्ने लागेर अर्को त्यस्तै मान्छेको पर्खाइमा बसिरहेँ | तर कोही आएनन्, बरु त्यही मान्छे पो कोही पर्खेजस्तो ओहोर दोहोर गर्न थाल्यो अनि मैले लख काटेर दाजुको टेक्स मेसेज हेरेँ | त्यहाँ त्यस मान्छेको फोन नम्बर मलाई पठाउनु भएको थियो | त्यसमा डायल गरेर सोधेँ हजुर गोविन्द सरले पठाउनु भएको गोपाल दाइ हो ? उहाँले भन्नु भो हजुर हो ! अनि बल्ल मैले नमस्कार गरेँ, हामी नजिकै हेराहेर गर्दै बोलिरहेका थियौँ |

गोपाल दाइले पैदल हिँडाउँदै लैजानु भयो । मैले कीर्तिपुरको बारेमा सोधिरहेँ । उहाँ त्यहाँको पुरानो बासिन्दा हुनुहुँदो रहेछ | निक्कैबेरको हिँडाइपछि एउटा डाँडा ठाउँमा कच्ची सडक आयो, त्यस ठाउँबाट तल ओरालोतिर देखाएर भन्नुभयो, ‘उः त्यो मेहेन्दी रङ्गको हरियो घरमा जानुस्, गोविन्द सरको घर त्यही हो ।’ र उहाँ त अलप पो भैजानु भो । गफको सुरमा उहाँको पुर्खौली घर त सोध्नै भुलेछु |

म घर पुग्दा अञ्जना भाउजू गेटमै मेरो स्वागतमा उभिनु भएको थियो | कति शीतल स्वभावकी मसिनो बोली, हामी बीचको नमस्कार आदान प्रदान पछि मेरा पाइला सिधै भर्याङ चढ्न तर्फ लम्किहाले किनकि मेरा गुरु दाजु गोविन्दराज भट्टराई ज्युलाई भेट्न म उत्सुक थिएँ | म तीन तलामाथि उक्लिएर भित्र पस्दा बल्ल पो महसुस भो मैले बोकेको कोसेलीहरू त माथि नै पुर्याएँछु, दाइले हातमा झोला देखेर पो “कोसेली हो भने तलै भाउजूलाई दिँदा हुन्थ्यो” नि ? भन्नु भो र पो बल्ल याद भो, विचरा भाउजूले पनि के सोच्नु भो होला ? सम्झेर “नारा सिरेप सिरेप” गर्दै दाजुलाई दर्शन गरेँ, दाजु भाउजूको दर्शन पछि मैले त्यस दिन दुई मन्दिर पुगेर देउताहरूको दर्शन गरेको महसुस भो | बिहान बाजे बोजु साँझ गोबिन्द दाइ र भाउजू | मलाई अस्ताउँदै गरेको घाम र बुढेसकाल लाग्दै गरेका अग्रजहरू उस्तै उस्तै लाग्छन्, उहाँहरूको अर्ति उपदेश र आशीर्वादहरू अस्ताउँदो घामको किरणजस्तै न्यानो र मायालु हुन्छ |

मैले हातमा बेकेको कोसेलीको झोला भाउजूलाई दिएँ, अनि दाजु बस्नु भएको कोठामा भुइँको चकटीमा बसेँ | उस्तै चकटीमा पलेटी मारेर अध्ययनरत हुनुहुन्थ्यो दाजु | वरिपरि किताब राख्ने र्याक्कै र्याक्क, र्याक्कभरि अनेकथरी पुस्तकहरू, नअटेर कति त भुइँमा, अहो ! कस्तो आनन्द अनि कस्तो शान्त वातावरण ? साक्षात् सरस्वती माताको बास भएको घर ! सरस्वती माताको प्रिय दुई पात्र दाजु र भाउजू | उता दाजु बात मार्नु हुन्छ म भने उहाँको आत्मा संस्मरण “सम्झनाको सागरमा एकछिन” भित्र डुब्न थालेँ | कहाँको त्यो दुर्गम गाउँ ओसेमा जन्मेर कति दु:खले हुर्किंदै विद्या आर्जन गरेर आज राजधानीमा अवकाश प्राप्त गरी यसरी आराम गरिरहनु भएको छ ? उहाँलाई संसारले चिन्छ, उहाँले टियूमा लामो समय विद्या दान गरेर कति डक्टर, इन्जिनियर अनि पाइलट आदि उत्पादन गर्नु भो ? सिक्षा क्षेत्रमा उहाँको योगदान अतुलनीय छ, उहाँको योगदानको कति कदर भो ? त्यो त थाहा छैन | तर, मजस्तो एउटा साहित्यको विद्यार्थीले उहाँसँग जोडिन पाउनु कत्रो ठूलो उपलब्धि हो र यस पाली उहाँहरूको विद्या मन्दिरजस्तो घरमा पाइला राख्ने शौभाग्य पाउँदा अझ धेरै भाग्यमानी ठानेकी छु |

मैले ढिलै सही, टियू क्याम्पस नगए पनि गुरु पाएकी छु | म दाजुको अर्ति उपदेश र नरमपनमा साक्षात् गुरुको स्वरूप पाउँछु | मनमनै दाजुलाई आत्मैदेखि नमन गरेँ | मलाई सारै हतार थियो, भाउजूले फलफूल काटेर ल्याइदिनु भो, बात मार्दै केही पिस टिपी खाएर, बसौँ बसौँ लाग्दा लाग्दै उहाँहरूको केही कृतिहरू उपहार स्वरूप लिएर म बिदा भएँ | म पुगेपछि दाजुले गर्दै गरेको कामलाई स्थगित गरेर मलाई समय दिनु भएको थियो त्यस कुरोले, समयको महत्त्व बुझ्नेको मेरो मन कटक्क नहुने कुरै भएन | अञ्जना भाउजूलाई देख्दा मलाई बाल हनुमान मारुतीको “माता अञ्जना” को याद पनि आयो | खोई किन हो कुन्नि मैले त दाजुर भाउजूमा अनेक देउताहरूको स्वरूप पो देख्न थालेँ | केहीछिनको बसाइपछि मन नलागी नलागी म बिदा मागेर हिडेँ, अञ्जना भाउजूले मलाई तल गेटसम्मै पुर्याइदिनु भो, कति मिठो आतिथ्य र आत्मीयता आज यहाँ बसेर पनि सम्झिरहन बाध्य छु |