‘तपाईं यो सैतानबाट हरेक दिन केही घण्टामात्र टाढा बस्नुहोस् र हेर्नुहोस् कि त्यसो गर्न थालेपछि तपाईंको जिन्दगी कति रसिलो हुन थाल्नेछ ।’, प्रशिद्ध अभिनेता टाम आल्टरको यो भनाइमा उल्लेखित सैतान मोबाइल बन्न पुगेको छ । हातमै भएको यन्त्रमा केही नम्बर थिचेपछि विश्वको जुनसुकै कुनामा कुराकानी गर्न सकिने मोबाइल फोन सुबिधा सानो कुरा होइन । यसले हाम्रो उर्जा र समयलाई बचाएको छ । संवादलाई सहज बनाएको छ । एकअर्कासँग जोडिने विश्वव्यापी अवसर दिएको छ । व्यापार, व्यवसाय, स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता क्षेत्रमा त यसको उपलब्धताले अगणित फाइदा पुर्‍याएको यथार्थ सबैलाई अवगत छ ।

पहिला पहिला मोबाइल एउटा फोन गर्ने माध्यमको रूपमा प्रयोग हुन्थ्यो त अहिले स्मार्ट फोन आएसँगै मोबाइलमा नै भिडियो हेर्न मिल्ने , इन्टरनेट चल्ने, गेम खेल्ने मात्र नभएर कम्प्युटरले गरिने काम पनि यसैमा गर्न मिल्ने भएका छन्। मोबाइल फोनसँगै जोडिएको इन्टरनेटको सुविधा र यसमा भएका विभिन्न एप्लीकेसन जस्तै गुगल, फेसबुक, टुइटरले मानिसलाई संसारभरिको जानकारी दिने र चनाखो बनाउन पनि मुख्य भूमिका खेलेको छ । हुँदाहुँदा केही किनमेल गर्न मोबाइलबाटै अन्लाइन सप्पिङ्ग र पानी बत्तीलगायत कर तिर्न पनि मोबाइल बेङकीङ्गले झन् सजिलो बनाएको छ । संसारको जुनसुकै कुनामा पनि लान सकिने र प्रयोग गर्न सकिने यो माध्यम बरदानको रूपमा साबित भएको छ ।

कुनै पनि कुराको नकरात्मक र सकरात्मक पक्ष दुवै हुन्छन् । कुन पक्षले प्रभाव पार्छ भन्ने कुरामा आँफू र आफ्नो सोच र व्यवहारमा भर पर्छ । हाम्रो जस्तो विकासशील र शहरी सभ्यतातर्फ उन्मुख समाजमा यो मोबाइल फोन आधुनिकता प्रदर्शन गर्ने माध्यम र परिचायक नै बनेको छ । आजको समाजमा मोबाइल नबोक्नेलाई मनोरोगी पो हो की भनेर शंका गरिन्छ । मोबाइल फोन आज ‘स्टाटस सिम्बोल’ यानि प्रतिष्ठाको मानक बनेको छ । सस्तो र पुरानो फोन लिएर हिँड्नेहरू आँफूलाई आत्महीन मान्नुपर्ने अवस्था आएको छ । आजकल कति आमाहरू आफ्ना सन्तानलाई मोबाइलामा नै भुलाएर खाना खुवाउन समेत लागिपरिरहेका छन् । भिडियो गेम र मोबाइल भनेको हिजोआजका बालबच्चाको कोक्रोजस्तै हुन्, तिनलाई भुलाउन अब मोबाइल नभई नहुने भइसक्यो । कोरोनाको कहरसँगै अनलाइन शिक्षाले त झन् बच्चाहरू पढ्ने निहुमा मोबाइलमा मात्र समय व्यतीत गर्न थालेका छन्। सामान्य सुविधाका लागि प्रयोग गरिने उपकरण यसरी दोषभावना र मनोग्रन्थीको कारण बन्नु पनि एक अभिशाप हो।

दिलिप अधिकारी

एकपटक कल्पना गरौँ त वर्तमान दुनियाबाट यदि मोबाइल फोन र इन्टरनेट हटाइदिने भने के होला परिणाम ? दुनिया अपाङ्ग र प्यारालाइसिस लागेको जस्तो बन्थ्यो होला । यति अपरिहार्य र अभिन्न हुँदाहुँदै पनि कतिपय अवस्थामा यो घातक र हानिकारक छ । मोबाइल फोन तथा इन्टरनेट सेवाका लागि बनाइएका सेल टावरबाट निसृत हुने विकिरणले मानव मात्र होइन वातावरणमा पनि नकरात्मक असर पारेको नै छ । मोबाइलजन्य विकिरण र यसको अधिक प्रयोगले मानिसलाई निद्रामा व्यवधान, टाउको दुख्ने, मानसिक एकाग्रतामा ह्रास, स्मरण शक्तिको क्षय, आँखा तथा कानमा समस्या, डिप्रेसनजस्ता समस्या ल्याएको छ । मोबाइल फोनले आज जति जीवनलाई सहजीकरण गरेको छ, त्योभन्दा धेरै व्यक्तिको जीवनलाई यसले लक्ष्यहीन, अर्थहीन र व्यसनी बनाएको छ । सानो उमेरका लाखौँ केटाकेटी आज इन्टरनेट एडिक्सन र मोबाइलको गेममा तल्लीन् छन् । केटाकेटी र युवायुवतीको पुस्ताबाट यो रोग अब गृहिणी र बयोवृदहरूसम्म पनि सर्न थालेको छ ।

पहिले तमसुक, लालपुर्जा वा पैसाको पोको घरको बाकसमा आरामसँग राखिन्थ्यो र निद्रा पनि गहिरो आउँथ्यो, अहिले डिजिटल दुनियाँ र यसमा रहेका सारा सूचना र तथ्याङक गायब हुने, साइबर क्राइम, ब्लायकमेलिङ, भाइरस आक्रमण, चाइल्ड एब्युज, पोर्नोग्राफी जस्ता कुराले दिन पनि बिगारनुका साथसाथै निद्रा र मानिसको ज्यानसमेत लिएको छ ।

डिजिटल बिस्तारवादबाट आक्रान्त वर्तमान पुस्तामा नाम मात्रको आत्मीयता बाँकी थियो, यो सेल्फीको प्रचलन आएपछि त्यो पनि सिद्धिन थालेको छ । मोबाइल फोन र यससँग जोडिएका फेसबुक, भिडियो गेम र टिकटकले मान्छेको महत्त्वपूर्ण समय बर्बाद गरिरहेको छ, सृजनात्मक क्षमतामाथि धमिरा लगाइदिएको छ । हिँड्डुल गर्नुपर्ने, कामधन्दा गर्नुपर्ने, पढ्नुपर्ने समय समेत नष्ट- भ्रष्ट गरेर मानिसलाई रोगी बनाएर मात्र नभएर त्यसैमा तल्लीन बनाएको छ ।

निःसन्देह ग्याजेट हाम्रो जिन्दगीको लागि निकै महत्त्वपूर्ण छ तर त्यो भन्दा बढी महत्त्वपूर्ण हाम्रो परिवार र समाज हुन् । त्यसैले आफ्नो बजेट, सामर्थ्यअनुसार, कामको प्रवृत्ति र आवश्यकता हेरेर मोबाइल किनौँ र प्रयोग गरौँ । सामाजिक सञ्जाल, भिडियो गेम वा टिकटकमा लिप्त नभौँ । फेसबुक, टुइटरमा ससाना अभिमत राख्ने, प्रतिक्रिया दिने र चासो राख्ने काम पनि कम गरी जीवनको सही अर्थ बुझी आफूले आफैँमाथि नियन्त्रण राखौँ, मोबाइल फोन र इन्टरनेटले आफूलाई नियन्त्रण गर्न नदिऊँ ।