लामो प्रतीक्षापछि यसपटक २०७९ सालको प्रारम्भमै नेपालका प्रशिद्ध तिर्थस्थल मध्येको एक मुक्तिनाथ समेत हालसम्म नपुगेको जिल्ला मुस्ताङ पुग्ने साइत जुर्यो । सातजनाको टोली एउटा गाडी लिएर वैशाख ५ गतेका दिन बिहान काठमाडौँ खाल्डोबाट थानकोट हुँदै बाहिर निस्क्यो ।

सात मध्येका दुई बर्दिया, राजापुरबाट आउनुपर्ने, उहाँहरू मुग्लिङमा हाम्रो प्रतीक्षा गरिरहनुभएको थियो । उहाँहरू चढेपछि ‘कोरम’ पुग्यो । रमाइला कुराकानी हुन थाले । खाना तनहुँको एक्लेफाँटमा खाइयो ।

पोखरा पुग्दा चियाका पारखी राजकुमारजीले चिया पिउने चाहना व्यक्त गर्नुभयो   । लक्ष्मीजीले नागडाँडामा मिठो चिया पाइने बताएपछि त्यहीँ पुगी चिया पिउन हामी तयार भयौँ ।

नागडाँडा पुगी त्यस भेगमै चियाका लागि प्रशिद्ध ‘हाम्रो भण्डारी रेस्टुरेन्ट, ढिकुरपोखरी’ सामु रोकियौँ । खुला स्थानमा बसी चिया पिउन पाइने गजब राम्रो व्यवस्था रहेछ त्यहाँ । यद्यपि मौसम सफा नभएकाले परपरका सुन्दर दृश्य हेर्न सम्भव भएन, तर पनि भिन्न खालको रमाइलो महसुस भयो ।

जब चियाका लागि आग्रह गरी प्रतीक्षाको समय चौरमा राखिएको टेबुल तर्फ लाग्यौँ तब त्यहाँ देखियो एउटा बिरालो । मायालाग्दो त्यस बिरालो तर्फ म अघि बढेँ, ऊसँग नजिकिएँ । सहयात्रीहरू हेर्दै थिए, मैले बिरालोलाई मुसार्न थालेँ । देखेर सबैजना तीन छक् !

छक्क नपर्नु पनि  किन बाटोमा भेटिएको बिरालोले यति सजिलै कसैसँग मित्रता गाँस्छ भने !

मेरो घरमा विगत एक वर्षदेखि दुइटा बिराला छन् । लामो समय नछाडेकाले हामी फर्किउन्जेल तिनको के हाल हुने हो मलाई चिन्ता थियो । यहाँ बिरालो भेट्दा मैले आफ्नै घरको बिरालो भेटेजस्तो महसुस गरिरहेको थिएँ ।

बिरालो मसँग रमायो । साथीहरू चाहिँ मैले बिरालोलाई मुसारीरहेको तस्बिर खिच्न थालेछन् ।

जब हामी चिया पिएर हिँड्न थाल्यौँ बिरालोले पछ्यायो ।

हामी उसलाई हात हल्लाउँदै गाडीमा बस्यौँ र अगाडि बढ्यौँ । थाहा थियो उसलाई त्यो हात हल्लाइको कुनै अर्थ थिएन तर पनि बिदाइका हात हल्लायौँ हामीले ।

विनोद नेपाल

भोलिपल्ट मध्यान्ह हामी स्वर्गीय कवि भूपी शेरचनको जन्मघर टुकुचे, मुस्ताङ पुग्यौँ । संयोग, त्यहाँ हामीलाई पहिलो स्वागत गर्ने अरू कोही नभएर बिरालो नै थियो । टुक्रुक्क बसिरहेको बिरालो मेरी पत्नी सुमित्रा र मलाई देखेर भागेन, बरु चिर परिचितझैँ हामीलाई हेरेरै बसिरह्यो । मैले त्यसको तस्बिर लिएँ । एकछिनमा बिरालो एकापट्टि लाग्यो, हामी अर्कोपट्टि ।

हामी स्वर्गीय कविको घरभित्र प्रवेश गर्न पाएनौँ । बाहिरबाट घरको अवलोकन गर्दै थियौँ, एकछिन पछि बिरालो बाहिर आयो । मैले बोलाएँ, ऊ मेरा सामु आयो र लम्पसार परेर सुत्यो । मैले त्यसलाई मुसारेँ, सुमित्रा पनि आएपछि दुवैजनाले त्यसलाई मायाले सुम्सुम्यायौँ । केहीबेरमा बिरालो उठ्यो र आफ्नो बाटो लाग्यो, हामी आफ्नो बाटो लाग्यौँ ।

त्यसरातको बास थियो मुक्तिनाथमा  । गन्तव्य पुग्दानपुग्दै बास बस्ने होटल फेरियो । माथि मुक्तिनाथ बजारमै बस्ने भनेका हामी मुक्तिनाथ दर्शन गरी बास बस्न केही तल खिँगा झर्ने भयौँ ।

‘चिया पिएर जाउँ न त’, हामीले चियाका लागि आग्रह गर्यौँ । चियाको प्रतीक्षामा थियौँ, बिरालो देखियो त्यहाँ पनि ।

बिरालो देख्नासाथ हाम्रै टोलीका कसैले भने ‘लौ यहाँ पनि बिरालो रहेछ’ । सुन्नासाथ म खै कता, खै कता भन्दै बिरालोको खोजीमा लागेँ ।

नभन्दै बिरालो देखियो । म बिरालोतर्फ अघि बढेँ । उसलाई बोलाएँ । बिरालो नजिक आयो, मैले हात बढाएँ तर उसले मलाई स्पर्श गर्न दिएन ।

चिया पिएपछि मुक्तिनाथ तर्फ लाग्यौँ । मुक्तिनाथ दर्शन गरेर राति झण्डै साढे आठ बजे हामी होटलमा फर्कियौँ । बिरालो बसिरहेको थियो । म नजिकै गएर उसलाई मतर्फ आउन इशारा गरेँ । नजिक आएर पनि उसले मलाई फेरि पनि छुन दिएन । नजिक हुने, बोलाउँदा ‘म्याउँ’ गर्ने तर छुन चलाउन नदिने खालको रहेछ त्यो बिरालो । शायद कसैले मायाले बोलाएर पिटेको, हानेको हुनुपर्छ, मैले अनुमान गरेँ ।

खाना पश्चात् हामीले रात्रि विश्राम लियौँ ।

बिहान पाँच बजे म तल ओर्लिएँ । बिरालो साहुनीसँगै भान्छामै रहेछ । मैले उसलाई इशारा गर्दै बोलाएँ । ‘म्याउँ’ गर्यो तर निद्रा नपुगे जसरी कुनामा पसेर उसले आँखा चिम्ल्यो । अब भने मैले उसलाई कुनै किसिमको बाधा पुर्याउन चाहिनँ ।

साहुनी छक्क परिन् मेरो बिरालो प्रेम देखेर । मैले मेरो घरमा भएका दुइटा बिराला र अहिले घर छाडेर हिँड्दा तिनका लागि गरिदिएको प्रबन्धबारे सुनाएँ । भनेँ ‘खै हामी पुग्दासम्म बस्ने हुन् कि हैनन् कुन्नि ? बिरालो जो पायो उसैसँग रमाउँदैन ।’

उनी छक्क परिन्, ‘भनिन् हिँडे पनि तपाईँलाई पाप लाग्दैन, त्यस्तो माया गरेर, राख्नुभएको रहेछ, खाना दिने व्यवस्था पनि गर्नुभएको रहेछ, त्योभन्दा के गर्ने ?’

उनले थपिन् ‘हेर्नुस् न यो भित्रै बस्छ, बाहिर गयो भने ठूला बिरालाले झम्टने, टोक्ने भएकाले डराउँछ । कहिलेकाहीँ ग्राहकहरू आएका बेला म्याउँ म्याउँ गरेर हैरान गर्छ र मात्र, नत्र यसले फालिएको खाएर बस्ने त हो के बिगारेको छ र विचराले ? मलाई त असाध्यै माया लाग्छ यसको ।’

हामीकहाँ विभिन्न किसिमका रुढीवादी मान्यता प्रचलनमा छन् । यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन । ‘यसो गरे यस्तो हुन्छ रे, उसो गर्दा उसो हुन्छ रे’ भन्ने चलन छ । कसलाई कहिले कहाँ के भयो थाहा छैन, प्रमाणित वा पुष्टि हुने, गर्ने आधार छैन, रे रे कै भरमा दुनियाँले अन्धविश्वासलाई विश्वास गरेको छ । अनि तिनै अन्धविश्वासमाथि टेकेर हामी हुने नहुने गर्छौँ, गरिरहेका छौँ । निर्दोष कसैलाई घृणा, तिरस्कार र उपेक्षा गर्र्छौँ, दोषी,अपराधीलाई सम्मान र सत्कार गर्छौँ । अनौठो चाला छ । समाज देखेर पनि आश्चर्य र दिक्क लाग्छ  ।

प्रचलित अन्धविश्वासको कारण कतिपय पशु हाम्रो घृणाको शिकार बनिरहेका छन् । यस्तै पशु मध्येको एक हो बिरालो ।

वास्तवमा बिरालो हाम्रा लागि निकै उपयोगी जनावर हो । सानो आकारको यो जनावर पाल्न कठिन छैन । यसलाई धेरै आहार चाहिँदैन । मांसहारी हो, यसले आफैँ शिकार गर्छ । खान त चराचुरुङ्गी पनि खान्छ तर मुसा यसको प्रिय शिकार हो । मुसाले दुःख पाएकाहरूका लागि त बिरालो रामबाण नै भन्दा हुन्छ ।  किनकि जहाँ बिरालो बस्छ, मुसा बेपत्ता हुन्छ । त्यसले अन्न खाएर वा कपडा धुजाधुजा पारेर तनाव दिँदैन, क्षति पुर्याउँदैन ।

मानिसहरू भन्छन् बिरालोले साइत बिगार्छ, दुर्घटना निम्त्याउँछ । तर म त्यसमा विश्वास गर्दिनँ । एकप्रकारले भन्नुपर्दा एकपछि अर्को बिरालो भेटिएको लगभग बिरालोसँगैको यो यात्रामा हामीलाई कुनै कठिनाइ भएन, हाम्रो यात्रा थियो माथिल्लो मुस्ताङ र कोरला सीमासम्मको, जुन निर्बाध सफल भयो ।

यात्राको समय बिरालो देखियो भने साइत पर्दैन भन्ने धेरै छन् । यो मान्यता र यो विश्वास कसरी स्थापित भयो थाहा छैन, मैले पनि कतिपय यात्रामा बिरालोले बाटो काटेको र दुःख पाइएको अवस्था नभोगेको होइन । तर पनि म त्यसको दोष विचरो बिरालोमाथि थोपर्न चाहन्नँ । बरु त्यस्तो दुःख म आफ्नै कारण पाएको हुँ वा पाइन्छ भन्ने ठान्छु ।

माथि नै उल्लेख गरेको छु, विगत एक वर्षदेखि मकहाँ दुइटा बिरालाले आश्रय लिँएका छन् । गत वर्षको वैशाखमा कोभिडका कारण भएको दोस्रो बन्दाबन्दीको समयमा आहाराको खोजीमा आएका साना बिराला अहिले वयस्क भइसकेका छन्, तिनको आहार बढेको छ । बिरालो मांसहारी तर हामी शाकाहारी भएकाले हामी तिनलाई मासु खुवाउन सक्दैनौँ, दूध भात खुवाउँछौँ । अहिले  तिनले दिनको झण्डै आधा लिटर दूध खान्छन् । दुवै भाले हुन् । कहिले झगडा गर्छन्, कहिले मिल्छन् ।

मुखको स्वाद फेर्न दुई चार दिन कतै हराए भने हामीलाई सुनसान लाग्छ । जब ती फर्कन्छन् तब कतै न कतै चोट लिएर फर्कन्छन् । चोट कहिले ती कुनाकानी छिर्दा र आफूभन्दा ठूलाबाट जोगिन भाग्दा लागेका हुन्छन् त कहिले मानिसहरूले लखेट्दा । त्यस्तो अवस्थामा तिनका लागि आवश्यक औषधी ल्याउने, खुवाउने, लगाइदिने गर्नुपर्छ, गरिएको छ । अरू कारणले बिरामी पर्दा औषधी किनेर ख्वाउने र निको पार्ने गरिएको छ । अस्वस्थ हुँदा थपक्क तिनका लागि बनाइएको स्थानमा बस्ने बिराला स्वस्थ भएपछि चाहिँ आफैँ आहार खोज्न निस्कन्छन् । बिराला प्रायः निष्क्रिय बस्न चाहँदैनन् । तर वरपर हुँदा घरमा खाना र खाजा खाने निश्चित समय छ तिनको, जतिखेर ती ढोका सामु बसेर म्याउँ म्याउँ गरी खाना माग्छन् ।

त्यसो त म पनि यही अन्धविश्वासी समाजको उपज हुँ । तर म बिरालो असाध्य मन पराउँछु । बिरालोको म्याउँ म्याउँ औधी मनपर्छ । यो आवाज मिठो गीत, सुमधुर सङ्गीत जस्तो लाग्छ । बिरालोलाई नजिकबाट हेर्न,बिस्तारै छुन चलाउन र ऊसँग खेल्न मन पराउँछु ।

मुस्ताङ यात्रा सम्पन्न गरेर फर्कँदै गर्दा मुस्ताङ र म्याग्दीको सीमा घासानेर सडकको काम हुँदै थियो । झण्डै डेढघण्टा जाम पर्यो । त्यस स्थानमा एक दुई घर थिए । अचानक कतैबाट सानो बिरालो देखापर्यो । रोकिएको गाडीबाट निस्केर म उसलाई पछ्याउँदै अघि बढेँ तर धेरै गाडी रोकिएका र मानिसहरूको चहलपहलले होला बिरालोले म तर्फ हेर्दाहेर्दै पनि मसँग नजिकिन सकेन । पछि देखेँ ऊ जुन बाटो आएको थियो सोही बाटो फर्कियो,सम्भवतः उसको बसोबास त्यतै थियो । यो, यस यात्राको क्रममा भेटिएको चौँथो बिरालो थियो ।

बिरालाहरू मानिससँग रत्तिन्छन् । ती खुसी भएको तिनका हाउभाउबाट बुझ्न सकिन्छ । आँखा, पुच्छर, जुँगा र शरीरका अन्य भाग अनि हाउभाउबाट तिनको अभिव्यक्ति ठम्याउन सकिन्छ ।

अँ, साँच्ची, हामी फर्कँदा दुवै बिराला घरमा रहेनछन् । एउटा पर्सिपल्ट आयो र घरमै छ, अर्कोचाहिँ अझै फर्केको छैन, आशा छ त्यो पनि छिटै फर्कनेछ र हामीसँग पहिलेझैँ रमाउनेछ  ।

अन्त्यमा, बिरालो न कुसाइतको कारक हो, न यसले कुनै नोक्सानी नै गर्छ । माया गर्ने हो भने यो हाम्रो साथी हुन सक्छ । हाम्रा सबै कुरा बुझ्छ र आफ्नै ढङ्गमा प्रतिक्रिया जनाउँछ । उसको खुसी, बेखुसी, चाहना आदि हामी उसको अनुहार, खासगरी जुँगा, शरीर र पुच्छर आदिको हाउभाउबाट बुझ्न सक्छौँ । यसैले निरीह पशुलाई किन घृणाको पात्र बनाउने ? स्नेहले आफ्नो बनाउन सिकौँ, कुनै पनि पशुलाई घृणा नगरौँ, यो धरती सबैको साझा हो, सम्पूर्ण प्राणीको सम्मान गर्न सिकौँ, कसैलाई पनि घृणा नगरौँ ।