२०७४ भाद्र १० गतेको कुरा हो । स्रष्टा सहयात्री डा.भक्त राई, डा.धनप्रसाद सुवेदी, मन्दिरा मधुश्री, डिल्लीरमण सुवेदी, लीलाराज दाहाल, गोविन्द नेपाल, शान्ति सापकोटा र म शीतल गिरी सीतापाइला चोकबाट पदयात्रा गर्दै दहचोकमा रहेको सेतो गुम्बालाई दाहिने पारी परिक्रमा गरेर विभिन्न गाउँघर घुम्दै केदारनाथ गुफा, बैद्यनाथ गुफा भएर इचङ्गुनारायण पुगेका थियौँ । मलाई आफू पुगेको ठाउँको चर्चा गर्न मन लाग्दछ । नेपाल उपत्यकाको प्रख्यात चार नारायणमा चाँगुनारायण भक्तपुर, बिसङ्खुनारायण ललितपुर, शेषनारायण फर्पिङ र इचङ्गुनारायण हलचोकमा रहेको सामान्यज्ञानको पुस्तकमा पढेको थिएँ । नेपाली भक्तजनहरूमा चर्चामा रहेको वैष्णव तीर्थस्थल हुन् यी । हामीले पदयात्रा थालेको यो दशौँ पटक भएछ, अब त हाम्रो यो कदम पदयात्रा अभियान नै बनिसकेको छ । म शुरुदेखि सहभागी भए पनि विशेषकारणवश पाचौँ पदयात्रा चम्पादेवी र नवौँ पदयात्रा लेलेमा सहभागी हुन सकिनँ, आज करिब सोह्र महिनापछि यस यात्राबारे लेख्न बस्दैछु ।

संस्मरण लेख्नको लागि भावना र प्रेरणाको मलाई कहिल्यै खाँचो भएन । तर, इचङ्गुनारायणको यात्राको बारेमा लेख्ने के मा ? मलाई राम्ररी थाहा छ, सामान्य धुमफिर गरेको भरमा गहकिलो लेखन गर्न डराउँछु । तैपनि म लेख्न कोसिस गर्दैछु । यस यात्राको बारेमा लेख्ने दायित्व स्रष्टा पदयात्री शान्ती सापकोटाले लिनुभएको थियो र सम्पन्न पनि गरिसक्नु भएको छ । अँ, साँच्चै भन्ने हो भने सो दिन हामी बिहान सात बजे सीतापाइला चोकमा जम्मा भएर पदयात्रा थालनी गरेका थियौँ । सडकै सडक पश्चिमतर्फ लागेपछि करिब तीन किलोमीटर जती बाटो तय गरेपछि पश्चिमतर्फको बाटो समातेका थियौँ । राम्रै भयो ! यता आएर विभिन्न मन्दिर, आश्रम, गुम्वा आकर्षक रहेको देख्न पाइयो ।

शीतल गिरी

विभिन्न गाउँघर अवलोकन गर्दै हिँड्दै गर्दा धादिङ जिल्ला पुगिएछ— हामीलाई घुम्नु थियो । खोल्सो तरेर फूलको खेती अवलोकन गर्दै फर्कियौँ । गाउँलेहरूबाट नजिकै केदाननाथ गुफाको बारेमा सुन्नपाएकोले हेर्न लालायित भयौँ र हाम्रो मन त्यतै तानिन थाल्यो । त्यहाँ पुगिएको हुँदा नै अहिले म संस्मरण लेख्न बसेको छु ।

सोध्दै खोज्दै हामी केदानाथगुफा जाने बाटोमा पुग्यौँ— ढुङ्गाको खुडकिलो व्यवस्थित पारिएको छ सडकदेखि गुफासम्म यो सत्य हो । गुफामा फलामे ढोका लगाइएको छ, त्यसमा यामानको ताला झुण्ड्याएर सुरक्षित पारिएको पाइयो । त्यहाँ रहेको सूचना पाटीमा पुजारीको नम्बर लेखिएको थियो, जति फोन गर्दा पनि उठेन । हो गुफा बाहिरबाट हेर्न पायौँ भित्र जाने अवसर भने हामीले जुराउन सकेनौँ । एकान्त वातावरण, त्यहाँ अवलोकन र पुजन गर्ने बाहेकका मानिसको आवत जावत नहुने हुँदा कोही भेटिएन यसकारण  गुफाबारे धेरै कुरा हामीले थाहा पाउन सकेनौँ । हामी त्यहीँको फलामे बेन्चमा बसेर भोजन गरेका थियौँ । मलाई राम्ररी थाहा छ, स्वच्छ वातावरणले विशिष्ट साहित्य सिर्जना गर्न सहयोग पुर्याउँछ, त्यस्तो स्थान मात्र होइन त्यसबारे लेखिएका रचनाहरू पनि सुन्दर हुन्छन् ।

संस्थापक पदयात्री डिल्लीरमण सुवेदीले स्रष्टाहरूको पदयात्रालाई “स्रष्टा पदयात्रा २०७३” भनी नाम जुराएका हुन् । मलाई पुर्खाहरूले साँचेको, अर्जेको कला, संस्कृति र इतिहास खूब मन पर्छ यसको लागि भ्रमण गर्छु । सायद मेरो उमेर र स्वास्थ्यले यसरी यात्रा गर्न सहमति दिँदैन होला । मलाई लाग्छ— म पुर्खाको विरासत संरक्षण गर्नकै लागि जन्मेको हुँ र सायद यस्तै कार्यमा रमाइरहँदा मर्नेछु— यात्रा गर्दै, पुराना कुराहरू सङ्कलन गर्दै अवलोकन गर्दा गर्दै ।

बिस्तारै बिस्तारै पाइला सार्दै, सडकका दुईतिरका घरहरू नियाल्दै हिँडेका ती दिनहरू सम्झन्छु । हामी इचङ्गुनारायणको मन्दिरमा पुगेपछि त्यहाँका पुजारीसँग आउनाको कारण बताएका थियौँ । मुख्य मन्दिरको पछाडि उत्तर पश्चिममा रहेको सतल कार्यक्रम स्थलको रूपमा छनोट गरेका थियौँ । मन्दिरको तर्फबाट बस्न सुकुल आइपुग्यो । भजन मण्डली र केही भक्तजनहरू पनि स्रोताको रूपमा हामीले पायौँ ।

स्रष्टा पदयात्राका संयोजकको नाताले मेरो सभापतित्वमा इचङ्गुनारायण मन्दिर परिसरमा गरिएको साहित्यिक कार्यक्रममा स्थानीय जेष्ठ नागरिक ९२ वर्षीय गुरुङभाइ श्रेष्ठ प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो । चक्रमान श्रेष्ठ, स्वामी प्रेम मुरारीलगायतका स्थानीयहरूका साथमा रमाइलो वातावरणमा स्रष्टा पदयात्रीहरूले कविता, गीत, गजल सुनाएका थिए र स्थानीयहरू पनि सुनाउन अघि सरेर हाम्रो उत्साह बढाएका थिए । सो कार्यक्रममा प्रमुख अतिथि गुरुङभाइ श्रेष्ठको हातबाट एक वर्षभित्रमा अन्यत्रबाट सम्मानित पुरस्कृत भइसकेका स्रष्टा पदयात्री शीतल गिरी, डिल्लीराज अर्याल, मन्दिरा मधुश्री, डा.जसध्वज गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित हुन आइपुगेका साहित्यकार डिल्लीराज अर्यालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने स्रष्टा पदयात्रीले ल्याएको खाजा साहित्यिक कार्यक्रममा उपस्थित सबैले बाडेर खाएको रमाइलो दृश्य मेरो आँखामा झलझली अहिलेसम्म नाची रहेछ सो अभिव्यक्त गर्न मैले शब्द नै पाउन सकिनँ ।