सन् २००७ मा ग्राम पञ्चायत एवं जिल्ला परिषद्को भोट हाल्दे दिन थियो। स्कुल छुट्टी हुनाले म घरमा थिएँ। गाउँमा हल्ला-गुल्ला हुन लाग्यो- ‘चारहजारे स्कुलमा भोट हाल्दा, पल्ला गाउँका जनजातिले मारपिट गर्न लागे, सबै गाउँले खन्निएर जनजातिलाई कुट्न लागेका छन् । सबै जाँदैछन्।’

म पनि सोह्र वर्षको जवान केटा, सामाजिक काम आइलाग्दा पछि नहट्ने खालको थिएँ । म पनि सबैसँग चारहजारे सरकारी हाई स्कुलतिर दौडिएँ । राष्ट्रिय मार्गमा निकै नेपाली गाउँले भेला भएका थिएँ। भोट हाल्ने ठाउँमा, थोरै मात्रमा जनजाति आएर, भोट हाल्न बाधित गर्दै धम्काएका रहेछन्। उनीहरू पहिलेदखि पञ्चायतका विरोधी थिए। हामी सबैले एकैचोटि आक्रमण गर्दा भागे, सबै पञ्चायत विरोधी ठाडो पुछार लगाएर गए। हान्न सके जति ढुङ्गा हान्यौँ। उनीहरू पछाडि नहेरी भागे । मज्जा आउँदोरहेछ हारेर भागेको मान्छेलाई भगाउँदा । सबैले हाँस्दै गाली दिँदै लखेट्यौँ । आइडियल स्कुलसम्म पुगेका थियौँ लखेट्दै, गिरजाघरदेखि कुकी भाषामा घोषाणा भयो। घोषणाको पाँच मिनट उपरान्त मोतबुङ्ग गाउँबाट हातमा दाउ, तरबार, बञ्चरो, ढुङ्गा, चिरपट बोकेर आए । केही मात्रमा हातमा राखेका ढुङ्गा मात्र हामीसँग थिए। दुवै पक्षमा ढुङ्गाको हानाहान हुन लाग्यो। जनतातिको प्रतिघातले हाम्रा केही साथी घाइते भए । हाम्रो पक्षकी एकजना सुवेदी दिदी अनि सापकोटा काकाले केही क्षण सामना गर्ने प्रयास गरे तर उनीहरूको भयङ्कर भीड, गर्जना अनि प्रहार देखेर हाम्रो पक्षका योद्धा सबै डराए। ‘भागौँ, भागौँ’ भन्न लागे। सधैँ ‘हामी वीर गोर्खाली’ भन्ने हातले यो कायरता अनि असङ्गठित योजनामा लडिएको घटनाको संस्मरण लेख्दा, लाज लागेको आभास भएको छ ।

तर सत्यदेखि भाग्नु पनि अपराध हो। सबै पछि फर्केर भाग्यौँ। बदला लिँदै, हामीले लखेटेको भन्दा अझ प्रकोपमा हामीलाई लखेटे कुकीले । अघि हाँसेको मुख डरले रातो-कालो भयो सबैको। सबै उँधो र उँभो घरतिर घुस्न लागे। मेरो घर चारहजारे स्कुलबाट अलिक टाढा हुनाले म कुदेर घर पुग्ने अवस्थामा थिइनँ। घरसम्म कुदेर आउथेँ भने उनीहरूले चट्नी बनाउने थिए मलाई। ज्यान बचाउनु छ, त्यस्तो आपतकालमा पनि दिमाग चल्दो रहेछ । बाटाको छेउ दीपक भण्डारीको घर थियो। दीपक मेरो सनातन संस्कृत विद्यालय पढ्दादेखिको एउटै बेञ्चमा बसेर पढेको, मिल्ने साथी थियो । पत्र लेखन अभ्यास गर्दा पहिलो पत्र लेख्दा मैले दीपकलाई नै लेखेको थिएँ। ऊ ब्राम्हण समाज अनि म विश्वकर्मा समाजबाट, र पनि उसको घरमा पढ्न जाँदा उसले मलाई सधैँ घरभित्र लिएर जाने गर्थ्यो । छुवाछुतको पालना नगर्ने । अर्कै सकारात्मक सोच एवं मधुर वातावरण भएको परिवार थियो दीपकको ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

दीपकको घरमा पसेँ । त्यहीँ बसेँ । ढोका चारैतिरबाट बन्द थियो । राष्ट्रिय मार्गमा कुकी हाईहाई र हुईहुई गर्दै ढुङ्गा सबैको घरमा हान्न लागे । हामी डरले थरथर हुन लाग्यौँ । कसरी जानु घर ? भनी मेरो मनको ढुकढुकी बढ्दै थियो । केही समयपछि इम्फालबाट कमाण्डर आए, हुईहुईको आवाजको सायरन बजाउँदै। मन अलिक ढुक्क भयो । बाटोमा उपद्र गर्दै गरेका जनजाति आफ्नो गाउँतिर भागाभाग भए। केही क्षणमै बाटो चकमन्न भयो। फाट्टफुट्ट मान्छे हिँड्न लागे। स्थिति सामान्य बुझेर म पनि घरति लागेँ। सबैले अड्कल काटे जे हुनु थियो भयो, अब केही हुँदैन होला ! ढुक्क भएर नित्य काममा व्यस्त भए गाउँले।

रातिको खाना भयो। हालैमा माटाको गारो लगाएर घर बनाइएको थियो। बिजुली जोडेको थिएन। दैला, झ्याल ह्वाङ्ङ भएका अवस्थामा थिए। खाना खाइसकेर कुप्पीको छेउमा बसेर गफ गर्दै थियौँ परिवारका सबै सदस्य। मोतबुङ्ग, खेङ्जाङ्ग साथै वरिपरिका सबै कुकी बस्तीका गिरजाघरबाट फेरि घोषणा भयो। बाटोभरि जनजातिको स्वरगुल सुनिन लाग्यो । ड्याम्डुमको आवाज आउन लाग्यो। हाम्रो घरको छेउमा पिच गरेको सानो बाटो लाइकोट, खेङ्जाङ कुकी बस्तीतिर जान्छ । यो बाटो हुँदै कुकी गुलथुल गर्दै हिँड्न लागे । हामी डरले चकमन्न भयौँ । घरमा न दैलो न झ्याल। भित्र पस्न कुकीलाई सजिलो हुन्छ होला भनेर हामी मास्तिर उमा थापा दिदीको घरमा गयौँ बाबा छोडेर। बाबा घर रूङेर बस्नु भयो। त्यही बेला थाहा भयो घरको मुखिया अर्थात् पितालाई घर परिवारको चिन्ता कति हुँदोरहेछ। आफ्नो ज्यानको माया नगरी जिम्मेवारी निभाउनु पर्दोरहेछ।

उमा दिदी वर्ण व्यवस्थामा क्षत्रीय। उमेर धेरै पुरानो नभए पनि धर्म-कर्म अनि अन्धविश्वास सबै मान्ने । घरभित्र पस्न छिस्रिक्क दिनुहुन्न थियो। कुकीको तमासले उनीहरू हामीभन्दा कम डराएका थिएनन् । घरमा थापा दाजु हुनुहुन्न थियो। जागिरको लागि बाहिर गएका थिए। उमा दिदीले हामीलाई घरभित्र पसाउनु भयो। पहिलोचोटि वहाँको घरकोठामा पसेको थियौँ। ज्यानभन्दा ठुलो न धर्म न नियम । शरण दिनु उनको बाध्यता थियो या परी आएको बेला दिने धर्म थियो, यो कुरा चाहिँ वहाँलाई थाहा होला अथवा पाठकले आकलन गर्न सक्नु हुन्छ। त्यो बेला मलाई चाहिँ यही लाग्यो कि नियम-सियम पालन गर्ने भनेको आवश्यकता अनि इच्छानुसार रहेछ । ठाउँ र समयनुसार नियम अनि धर्मले रङ फेर्दो रहेछ।

ड्याम्ड्याम् डुमडुम, हाईहुईको आवाज बन्द भएन। झ्यालबाट हेरेका थियौँ, चारहजारे बजार छेउछाउमा आगो बल्दै गरेको देख्यौँ । हामीलाई लाग्यो- ‘ला कुकीले घरमा समेत आगो लगाउन थालेछन्’। अझ सुरक्षित हुन हामी त्यहीँ घरछेउको खेतमा गयौँ। आलीमुनि लमतन्न भएर सुत्यौँ । डरको परिभाषा त्यस बखत थाहा हुँदै थियो। बाबा घरमा एक्लै हुनुहुन्थ्यो, वहाँलाई अझ बढी डर थियो, पिर थियो । डराएर शरीर कामेको बेला अलिअलि आवाज आउँदै गरेको सुनियो- ‘घरदेखि बाहिर निस्क, हामी साथमा छौँ’। भोलिपल्ट जानकारी भयो काङ्लातोम्बीबाट धेरै नेपाली केटाहरू आफ्नो गोर्खाली दाजुभाइका लागि आपत्मा साथ दिन आएका रहेछन्। काङ्लातोम्बी चारहजारेभन्दा ठुलो नेपाली बस्ती हो। त्यहाँका गाउँहरूमा चारहजारेको भन्दा सङ्गठित एवं सामाञ्जस्य छ तर यहाँ हामी कोही खेतमा या घरभित्र भगवान्को नाम लिएर ज्यान बचाउन लागेका थियौँ ।

केही घण्टापछि, हुइँहुइँ सायरनको आवाजमा कमाण्डोका गाडी आए । तीन चारचोटि हावा फायरिङ भयो । यति गरेपछि उपद्र हुँदै गरेको राष्ट्रियमार्ग चकमन्न भयो । हामी घर फर्कियौँ। बाबा घर बाहिर हाम्रो बाटो हेर्दै कुरिराख्नु भएको रहेछ। बाबालाई देखेर खुसी लाग्यो।

रात भयमा कट्यो । भोलिपल्ट चारैतिर विरक्त लाग्दो थियो। प्रत्याशी केदारको काठमिल जलाइदेछन्। चार-पाँच पसल जलेका, लडेका । पसलमा सामान कुकीले चोरेछन् । ज्यानको हानि चाहिँ भएन त्यही आनन्दको कुरा थियो। काङ्लातोम्बीबाट खुल्दुली सुनिन लाग्यो कि ‘चारहजारेका सबै छोरी मान्छे रहेछन्, आफैँ लडाइँ गर्नु त परै जाओस् सहायता गर्नेले हिम्मत दिँदा पनि बाहिरसम्म निस्केनन्।

यो अप्रिय घटना हुनको कारण मलाई त्यो समयमा थाहा थिएन। यति मात्र ज्ञान थियो कि ‘भोट हाल्न नदिने अरे कुकीले। हाल्न आए भने वार हुन्छ अरे’ भन्ने कुरा सुनेको थिएँ। पछि गएर अलिक जानकारी लिन खोजेँ। चारहजारे नै नभएर पूर्वोत्तर भारतमा राजनीतिको चासो थोरै राखिने गरिन्छ। घटना हुनको मुख्य विन्दु पञ्चायत विरोधी कुकी थिए। कुकी मणिपुरका बासिन्दा हुन् तर कहाँबाट आए, कहिलेबाट यहाँ बस्न थाले भन्ने कुरा मैले सोधनी पनि गरेको छैन अनि कोहीबाट पुख्ता एकै उत्तर पनि सुन्न पाएको छैन । मणिपुरमा धेरै सालदेखि डाँडा-काँडामा बसेर आफ्नो अस्तित्व मजबुत बनाउन मणिपुर सरकारसँग सङ्घर्ष गरिरहेका छन् । कुकी जातिका लागि भिन्नै जिल्ला सदर हिल्सको माग गरेको पनि, पाँच दसकभन्दा अधिक भइसक्यो तर अहिलेसम्म सरकारले घोषणा गरेको छैन । उनीहरू हार नमानी साम, दण्ड, भेद लगाएर सरकारसँग लडिरहेका छन् । यिनीहरूको छुट्टै पहिचान छ, सङ्गठित भएर बस्ने एवं आक्रामक प्रवृतिका । चाहजारे सदर हिल्सको अन्तगर्त आउँछ। सदर हिल्सलाई कुकीको आधिपत्यमा राख्न यिनीहरूले पञ्चायत प्रणाली निष्क्रिय गर्ने उद्देश्यमा चुनावको विरोध गरेका हुन् । कुकी समाज अझै पनि ‘गाउँ बुढा प्रणाली’मा आफ्नो समाजको व्यवस्था चलाउछन्। यसैको क्रममा चुनावको दिनमा भएको घटना घटित भएको हो।

चारहजारेमा भोट त हाल्न दिएनन् । भयभीत बनाए सबैलाई । तर प्रत्याशी केदारले पञ्चायतको चुनाव जितेर प्रधानको पदमा पदस्थापित भए । तर भोट नहाली कसरी कुकीको उद्देश्यमा बाधा भए ? गाउँ पञ्चायतको साथमा जिल्ला परिषदको चुनाव पनि थियो । चारहजारे गाउँमा भोट नभए पनि अरू गाउँमा भोट परेछ। जिल्ला परिषद् र ग्राम पञ्चायतमा उठ्ने प्रत्याशीको चिन्ह एकै प्रकारको हुनाले, कुकी एरियाका भोटरले जिल्ला परिषद् प्रत्याशीलाई भोट हाल्ने क्रममा केदारलाई नै भोट हालेछन् । यस प्रकारले कुकीले नै चुनाव जिताए। लडाइँ हारे पनि नेपाली प्रत्याशीले चुनाव जिते। म २००८ मा दिल्ली आएँ। २०१२ को पञ्चायत चुनाव हुन दिएनन् कुकीले । सरकारसँग सङ्घर्ष गरेर सदर हिल्सतिर पञ्चायत प्रणाली समाप्त गरे। सदर हिल्स त कुकीको नाममा भएको छैन। कुकीहरू सदर हिल्स् पाउन अनि नेपाली समाजम पञ्चायत प्रणाली पाउन सङ्घर्षशील छन्। जीत कसको हुने हो त्यो समयले बताउला ! सबै मिलेर, सौहार्दमा बस्नु पर्ने हो, मेरो चाहिँ भित्री मनले भन्छ अनि सबैको चाहना पनि हो तर राजनीतिले यो सार्थक हुन दिँदैन।