माइती र मावलीको कुकुर देख्दा चेली तीन हातमाथि उफ्रिन्छन् रे । हामी त अझ गगनमै उडेका थियौँ । माइतीलाई नै गाडीमा बोकेर कुदेका थियौँ । कति प्रफुल्ल थियौँ होला ? अनुमान गर्नुस् त !

बाडीगाउँबाट रातो टीका निधारमा टलक्क पार्दै कटारी पुग्ने योजनाका साथ गाडी पुनः मदन भन्डारी राजमार्गतिर मोडियो । मावली भन्डारी भएर होला, राजमार्गले आज बेग्लै आत्मीय दर्शाएको थियो ।

२०४५ सालमा चार कक्षा सिर्थौली स्कुलमा पढेको । चकचके अनिता, नितु, ज्ञानु मिलेर स्कुल नजिकैको हेल्थ पोष्टबाट मिश्रा दिदीको आँखा छल्दै सिरिन्ज चोरेर भागेको दृश्य आँखामा नाच्न थाल्यो । हामी चुकचुके भुराहरू कति छुल्याहा । कमला खोलामा स्वच्छन्द विचरण गर्ने निरीह भ्यागुताहरू समातेर सिरिन्जमा पानी भर्दै इन्जेक्सन लागाउँदा भ्यागुताका भुँडी प्याट्ट फुट्थ्यो । सिलाउन चाहिँ जानेको थिएन । यतिखेर  डाक्टर बन्दै गरेको अतीतले हृदय छियाछिया भयो ।

त्यो बुद्धि सम्झेर आज मन रोएको छ । डोरेमोनको जस्तो टाइम मसिन भएको भए म मेरै कान पर्क्क नोमोठथेँ । त्यही कमलाका ढुङ्गाले यी हातलाई कुच्याउँने थिएँ । तर के गर्नु बुद्धि नभएको आफ्नै उमेर हेरेर पुनर्जन्मको कथा सत्य हो जस्तो लाग्यो । मलाई त्यो जीवन र अहिलेको जीवन पत्यारै लागेन । अनि कसरी  मान्छेले जन्मजन्मान्तरका संस्कार सम्झन सक्छ त । सम्झिने हो भने मान्छे बौलाउने रहेछ । त्यही भएर पुर्वजन्म हामीलाई थाह छैन, ईश्वर कति दयालु ।

जतिजति स्कुलपरिसर नजिक आउँथ्यो उतिउति सुदूरका घटना ताजा हुँदै आए । गाडीबाट नै स्कुलको भूगोललाई आँखामा सजाएँ । साथी नितु, नितुको मिलको त्यो आवाज कानमै गुन्जियो । मौवाको रुख, मौवा खाएर लागेको नशा,  सरस्वती पूजाको रौनक, केसर अनि बुनिया जम्मै स्मृतिमा ताजा भएर नाच्न थाले । नितु सरस्वती बनेकी । मैले “बुहारीले दैलो पोत्ने चलन हरायो” भन्दै गाएको दृश्य र स्वर जम्मै गुटुङुमुटुङ्ग आए ।

सिर्थौली, कुर्थौली हुँदै हामी लधाभीर आइपुगेछौँ । झ्यालबाट बाहिर लधाभीर लेखेको देख्नासाथ वीरेन्द्र शिल्डको याद आयो । लधाभीरका उत्कृष्ट खेलाडीहरुले कयौँचोटि वीरेन्द्र शिल्ड जितेर भिमानबाट लिएर गएको सम्झना उर्लियो ।

अनिता काेइराला

आहा ! कस्ता रमाइला दिनहरू थिए ती । वीरेन्द्र शिल्डको आयोजना हुँदा भिमानमा मानौँ कुनै चाडबाड नै आएझैँ हुन्थ्यो । बजारमा निकै चहलपहल भएर व्यापार पनि फस्टाउँथ्यो । मान्छे दोहोरीलत्तो हिँड्थे । बजारमा झिल्ली कचरी अलि ज्यादै पाक्थ्यो ।

वीरेन्द्र शिल्ड हात पार्न निकै प्रतिस्पर्धा हुने गर्थ्यो । भलिबल खेल्दा लधाभीरका केटीहरूले हानेको सर्ट, रीले रेसमा कुद्धै आएपछि रुमालमा गुल्कोज हालेर खेलाडीलाई खान दिँदा मेरो मुखबाट पनि रल्लल पानी कयौँचोटि आएको थियो । भाला हान्दा उत्तिपर फ्याँकेको भालाले आफ्नै छात्तीमा रोप्लाकी भनेर झसङ्ग हुन्थेँ । राम्रो प्रदर्शन गर्नेलाई शिक्षकहरूले माया गरेको देखेर मलाई पनि वीरेन्द्र शिल्डमा भाग लिन मन लाग्थ्यो । बरा ! मलाई कसले गन्ने, नौ वर्षको रहेछु सबैले पन्छाउँथे धन्न ज्यान अग्लो भएर पछाडिबाट पनि सबै खेल स्पस्ट देख्थेँ ।

सबै पुराना कुरा दिमागमा आयो । के भाको होला ? के के याद आएको ?  कति कुरा अटाएको रहेछ यो गिदीमा । कवि असीम सागरको कविता याद आयो ।

 तरवार भएपछि धार हुनु पर्छ

 मान्छे भएपछि प्यार हुनु पर्छ

 गिदी त जनावरको पनि हुन्छ हजुर

 मान्छेको गिदी भएपछि विचार हुनुपर्छ !

कविता मन मनै दोहोर्‍याएँ । अनि अलिक शान्त भए मेरा यी अनियन्त्रित विचारहरू स्वस्थ नै भएको  महसुस भयो । कविको भनाइ अनुसार म पनि त मान्छे  हुँ नि गाँठे ! अनि गिदीमा विचार नभएर के अचार हुन्छ त ? लु कति आउँछस् आइज भनेर विचारको राजमार्ग खुल्ला छोडिदिएँ ।

म नौ वर्षको उमेरमा यो बाटो पैदल हिँडेर त्रिवेणी धाम, मैनी बजार, दुधौली हुँदै खोक्सासम्म पुगेको सम्झना सादृश्य भयो । सिनेमा देखेको जस्तो अनितालाई अनिताले नै गाडीको झ्यालबाट बुन्चुङ्ग बुन्चुङ्ग गरेर मामाको हात समातेर हिँडेको देखेर मुस्कुराई ।

कटारीमा हाम्री साइँली दिदीको घर छ । बाल्यकालमा कटारी कस्तो होलाजस्तो लाग्थ्यो ? मलाई कटारीको भूगोल हेर्न कयौँ वर्ष कुर्नु पर्‍यो । भौगोलिक बनावट भिमानदेखि नै उस्तै उस्तै रहेछ, ठाउँ र नाम मात्र फरक । कटारीबजारलाई छिचोल्दै हामी शिवहरि दाहालको घर पुग्यौँ ( साइँली दिदीको देवर ) निर्जला दिदीले निकै मीठो खाजा खुवानु भयो ( काक्रो र आलुको अचार, मीठो दही र बोडीको तरकारी अनि रोटी ) मामाको छोरी मिरा दिदीसँग पनि त्यही भेटघाट गर्यौ तर मन्दिरा दिदीसँग भेट हुन सकेन मन खल्लो भयो ।

बिहानको ९:३० भैसकेको थियो । खाना खान महेन्द्रनगर पुग्ने अनि त्योभन्दा अगाडि जानकी मन्दिरको दर्शन गर्ने निधो भयो । गाडी पुनः राजमार्गतिर हुत्तियो । मदन भन्डारी राजमार्गले यति मोहित पार्यो कि हामी उही बाटो सरर भिमान, बर्दिबास हुँदै जनकपुर आइपुग्यौँ । जानकी मन्दिरको दर्शन गरेर सम्झनालाई फोटोमा कस्दै जनकपुरको सदावहार लस्सीको स्वाद लिन रघुपति मिष्ठान्न भन्डार पस्यौँ ।

रामहरी भिनाजु र मैले रसमलाई पनि खाने भयौँ । एउटा एउटा अडर गरेको त यस्तो मीठो कि जिब्रोले जिद्दी गर्न थाल्यो, बच्चालेझैँ अनि पुनः अर्को थपेर झ्वाम पार्‍यौँ । सुगरवालाहरू हेरेको हेरै भए । साह्रै मीठो रसमलाई । रसमलाईको स्वादले हाम्रो मुहारमा बेजोडको प्रसन्नता छाएको देखेर नारायण भिनाजुले सुगरलाई मार गोली भन्दै एउटा रसमलाई क्वाप्प पार्नु भयो । जनकपुरको लस्सी र रसमलाई, रावडी, पेडा खाएर काठमाडौँलाई कोसेली बोक्दै महेन्द्रनगरतिर लम्कियौँ ।

मामा र माइजूले निकै श्रद्धा र प्रेमले खाना बनाउनु भएको रहेछ । ज्वाइँको मेजमानी फोटो खिच्न लाएक थियो, कचौराको घेरो । साँच्चै लोप हुन लागेको संस्कृति मामा घरमा जीवन्त देखेँ । ज्वाइँ पाहुनाको स्वागत गर्न मामा माइजूले कुनै कसर छोड्नु भएन ।

हामी दिदीबहिनी गाडीको थकाइ मेटाउन ओछ्यान ओछ्यानमा पल्टियौँ तर हाम्री आमा न आइय्या छ न आथु, न पीडा पोख्नु छ न थकाइ लागो भन्नु छ । गुनासोरहित असली आत्मज्ञानी । आमालाई नमन गर्दै हामीले मज्जाले मेजमानी ग्रहण गर्यौं । केहीबेर भलाकुसारी गर्दै फोटो पनि खिचिहाल्यौँ ।

केटाकेटीहरूको लागि केही पटकाहरू किनेर अर्जुन बाबुले ल्याइदियो । पटका झोलामा हाल्दै मामा माइजूसँग बिदा भएर रातु खोला रमेश दाजुको घर गयौँ । रमेश दाजु भाउजूले हृदयबाटै स्वागत गर्नु भयो । भदाभदैको लागि बनाएको बलियो पिङ्गमा केहीबेर हामी पनि सबैजना मच्चियौँ । कुनै रिसोर्टभन्दा कम थिएन दाजुको घर । भाउजूको पनि उतिकै मिहिनेत छ घरलाई स्वर्गझैँ बनाउन । भाउजूले तातो चिया ल्याउनु भयो त्यो पनि घुट्क्यायौँ । रमेस दाजुको घरबाट हिँड्नै मन थिएन । एक दिन बस्न मन थियो तर समयले साथ दिएन ।

भोलि कसैगरी काठमाडौँ पुग्नु थियो । लामो समयपछि आशा दिदीको घर मेघरौलमा, दिदीबहिनीको भेटघाटको अवसर जुरेको थियो । हामी रातुबाट बिदा हुँदै बर्दिबासतिर सोझियौँ ।  राजमार्गबाट गाडी दक्षिण मोडियो । बिजल्पुरा पुग्दा हामी चनाखो भयौँ दुर्गा दाजु, बद्री दाजुको सम्झना आयो झ्यालबाट चिहायौँ र अर्को पटक बिजल्पुरानै बास बस्ने अठोट लिएर हामी मेघरौल ओर्लियौँ ।

सान्दिदी, आशा दिदी, भिनाजु र प्रणवसँग साक्षत्कार भयो । हरिहर भिनाजुको बैकुण्ठबासले सान्दिदी र प्रदिप भिनाजु सेतै बस्त्रमा हुनुहुन्थ्यो । मन खिन्न भयो । हाम्रो कान्छी फुपुको नाम नै मेघरौल दिदी थियो । सम्झना त आउने नै भयो । कताकता कान्छी फुपूको वैभव, हरिहर भिजाजुको रौनक स्मृतिमा बहेली खेल्न थाल्यो । ” मै समय हुँ” भन्ने  महाभारतको वाक्य याद आयो र आँखा रसाउन पाएन । थकाइले लोथ भएको शरीर, दिदी र छोरोले बनाएको मीठो र तातो खानाले फूर्तिलो भयो । राती निकैबेर गफिँदै, हाँस्दै दिदीबहिनी र आमा बर्सौंपछि एउटै कोठामा गुटुमुटु भयौँ त्यो जति सुखद पल के होला र ? भन्नू त ।  बयान गरेर नसकिने अपार आनन्द र सन्तुष्टि प्राप्त भयो ।

बाहिरको खाटबाट नारायण भिनाजु र रामहरी भिनाजु डरलाग्दो गरी घुर्न थाल्नु भयो । दुवैको घुराइ जुवारी खेलेझैँ थियो । एउटाको बन्द हुन्छ अनि अर्को घ्वार घ्वार गर्न थाल्ने । रातिनै हामी मुर्छा पर्ने गरी हास्यौँ । बिहान त सर्मिला दिदीले मलाई पनि ‘चितुवा घुरेझैँ घुरी अनिताले’ भन्छे  । फेरि हाँसोको फोहोरा नै छुट्यो । रातिको घुराइको नक्कल गरेर बिहान बिहान हास्यासन नै गर्‍यौँ ।

आशा दिदीको घर निकै राम्रो र सुबिधासम्पन्न रहेछ । दस बिघा जग्गा आँखा अगाडि, बास्मती धानका गरामा बोरिङ्गबाट खलल पानी पटाएको दृश्य । लहलह खेतमा झुल्न लागेका करियाकामद धान, पोखरीमा उफ्रिरहेका माछा, खसी, परेवा । सेरोफेरो जम्मै मेरो भन्याझैँ । हामी चार आने, पाँच आने भएर बसेकालाई सबै हेरेर निकै आनन्द आयो ।

दुख, पीडा र अप्ठ्यारो कहाँ हुदैनर ?  गाउँमा बरु कम होला सहरमा गन्ने हो भने ज्यादा छ । आशा दिदी गुनासोरहित आमाकी त छोरी । हिम्मतिली, आँटिली, निडर र शाहासी । सलाम छ दिदी तिमीलाई भन्दै गडीमाई पुग्ने लक्ष्य बोकेर हामी गाडीभित्र पस्यौँ ।

गाडी आफ्नै रफतारले गुडिरह्यो हामी मस्त भइरह्यौँ । लालबन्दी, नवलपुर, चन्द्रनिगाहपुर, निजगढ हुँदै हामी बाराको कलैया बजार झिचोल्न सफल भयौँ । गाडीबाट कलैया बजार नियाल्यौँ । हुलाकी राजमार्ग हुँदै गडीमाईको दर्शन गर्न पहिलो पटक यो भूमिमा पाइला राख्ने सौभाग्य पाएको थिएँ ।

गडीमाई भन्नेबित्तिकै ती निर्दोष,  निरीह पशुहरूको बीभत्स (हत्या) बलि आँखामा सुनामी बनेर आयो । विश्वले नै भत्सर्ना गरेको,  यो संस्कृति कति सही छ ? कति गलत छ ? ईश्वरको सर्वोच्च सृजना हामी मानवको विवेकलाई नै जिम्मा दिन मन लाग्यो । त्यो हजारौँ पशुहरूको लासमा झिँगा पनि बस्दैन रे ! कस्तो अचम्म, झिगाँजस्तो तुच्छ जीवले पनि यो प्रथालाई निन्दा गरेको अर्थ मैले लगाएँ । झिँगा नबसेको, के दैविक शक्तिले नै हो त ? कि झिँगाले पनि विरोध गरेको हो यो प्रथाको ? यो विषयमा मन्थन गर्नु पर्नेजस्तो लाग्यो । पशु बलि जायज हो होइन भन्ने कुरा गडीमाईलाई जिम्मा दिँदै हामी महेन्द्रराजमार्गतिर लाग्यौँ । पत्लैया, अम्लेखगन्ज हुँदै हेटौँडाको थकाली होटलमा खानाको आनन्द पनि उठायौँ । कुलेखानीको बाटो हुँदै काठमाडौँ खाल्टोमा दैनिकी निभाउन सकुशल आइपुग्यौँ ।