And the people bowed and prayed

To the neon god they made.

And the sign flashed out its warning,

In the words that it was forming,

And the sign said, “The words of the prophets

are written on the subway walls

And tenement halls.”

And whispered in the sound of silence.

जब म बैंककको रेडिसन होटेलमा प्रसिद्ध गायक पल साइमनको यो गीत गुनगुनाइ रहेको थिएँ, मैले टाढाको भवनमा एउटा नियोन चिन्ह देखेँ जसमा G-Spot लेखिएको थियो । यो शब्दले मेरो मनमा कुतुहलता जगायो । यो के हो भनेर जान्न उत्सुकतापूर्वक म चिन्हको नजिक पुगेँ । म जति नजिक पुगेँ, त्यति नै त्यो ठाउँबाट निस्केको आवाज चर्किँदै  गयो । अन्ततः मैले ठाउँ भेट्टाएँ । यो ठाँउ  किशोर किशोरीहरू रमाइलो गर्ने  केन्द्रबिन्दु पो रहेछ । त्यहाँ तिनीहरूका आमाबाबुको संसार रोकिन्छ र तिनीहरूको आफ्नै संसार सुरु हुँदोरहेछ, जहाँ तिनीहरू आफू हुनको अस्तित्वबोध गर्छन् । यो बैंककको सियाम स्क्वायर हो, जहाँ एमटीवी जेनेरेसनले रमाइलो रूपमा मनाइरहेको छ, सुखद शुक्रबारको रङ्गिन रात । तिनीहरू अत्याधुनिक फेसनहरू- हिप-हप, इन्डी, चिक स्टाइल, स्पेगेटी स्ट्र्यापलेस टप्स, माइक्रो स्कर्ट, हेन्ना-एड हेयर, ड्रस्ट्रिङ हेमको साथ बेलुन स्कर्टहरूमा  फेसन परेडमा जस्तै घुमिरहेको देखेँ । सियाम स्क्वायरमा सबैको हातमा एक मोबाइल, यो कुरा सन् २०००को हो, यद्यपि २०२२ को भने होइन । त्यो बेला अहिलेको जस्तो स्मार्ट फोन आइसकको थिएन  । थाई किशोरीहरूले मुस्किलले शरीर छोपेको  टाइट फिट गरिएको स्ट्र्यापलेस टपसहितको टाइट माइक्रो-स्कर्टमस लगाएका थिए । शुक्रबारको रात हुँदा भोलि कुनै तनाव थिएन उनीहरूलाई । बैंककमा त्यो मेरो पहिलो दिन थियो ।

शरद् प्रधान

अचम्मको थाइल्याण्डको राजधानी शहर जो पूर्व र पश्चिम संस्कृतिको मिलनबिन्दु । रात ढल्किँदै गएपछि नृत्य, गीत सङ्गीतको गुञ्जन बढ्दै गयो । फुटपाथमा कफी पसल, मिल्क बार र प्याटिसेरीहरू थाई पप सङ्गीतसँग मिसिँदै  थियो । डिस्कोथेक भित्रको भीड देखेर, मैले राम्रा थाई केटीहरूको सेक्सी, निलो र कामुक इशारामा हिप स्विङ्गिङ नृत्य हेर्नको लागि बाहिर बस्न रूचाएँ । एउटा कुनामा, मैले अरूको उपस्थितिलाई बेवास्ता गर्दै केही किशोर किशोरीहरू अङ्गालो हाल्दै र चुम्बन गरिरहेको देखेँ । यो सडक नाच बिहानसम्म चल्छ भन्ने सोचेर म एक बजे होटल फर्किएँ किनकि त्यही बिहान ट्राङतिर प्रस्थान गर्नु थियो ।

मेरो यात्राको प्रायोजक थाई एयरवेजले दिएको, मेरो यात्रा कार्यक्रमले बैंककलाई ट्रान्जिट स्थानको रूपमा मात्र बनाएको थियो । वास्तवमा, मलाई नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिक द काठमाडौँ पोस्टबाट ‘अण्डरवाटर वेडिङ सेरेमनी’ (पानीमुनि विवाह) बारेमा लेख्न  पठाइएको थियो । यो कार्यक्रम २१सौँ शताब्दीको पहिलो भ्यालेन्टाइन दिवस सन् २००० फेब्रुअरी १४ मा ट्राङमा हुन लागेको थियो। जब म ट्राङ प्रस्थानको लागि लबीमा आएँ, मलाई दुई थाई महिलाहरूले स्वागत गरे ।  उनीहरूलाई मिडियाका मानिसहरू हेरचाह गर्ने जिम्मेवारी दिएको रहेछ । लबीमा मैले दक्षिण कोरियाकी महिला पत्रकार किम र सिपा समाचार एजेन्सीमा काम गर्ने फ्रान्सेली फोटोग्राफर कासिमलाई पनि भेटेँ ।

डेढ घण्टाको यात्रापछि हामी ट्राङ एयरपोर्ट पुग्यौँ जहाँ थाई एयरवेजका अधिकारीहरूले हामीलाई सुनखरी फूलको माला लगाएर स्वागत गरे । ट्राङ एउटा सानो आकर्षक सहर हो जुन बैंककबाट ८०० किलोमिटर दक्षिणमा अवस्थित छ । फुकेत र मलेसियाको सीमाबीचमा आधा बाटोमा अवस्थित ट्राङ थाईल्याडको सबैभन्दा नयाँ प्रान्त हो जहाँ प्रचुर मात्रामा समुद्री जीवहरू,चट्टान-पर्खालहरू र गुफाहरू छन् । संयोगवश तत्कालीन थाई प्रधानमन्त्रीको गृहनगर पनि थियो यो सहर । हाम्रो बस्ने व्यवस्था ट्राङको पाँचतारे होटेल ठुमरिन थानामा गरिको थियो र मलाई १६ औँ तलामा एउटा कोठा दिइएको थियो ।

ट्राङ सहर केन्द्रको वरिपरि घुम्दै जाँदा, आगन्तुकहरूले सुन्दर बजारहरू, खुला- पसलहरू र क्याफेहरू, बौद्ध मन्दिरहरू, पार्क र तालहरू देख्न सक्छन् । तिनीहरूको वरिपरि भोजनालयहरूले स्वादिष्ट थाई खाना बेचिरहेका हुन्छन् ।

भोलिपल्ट बिहान सबेरै उठेर हामी बैंककबाट विशेष उडानमा आएका तीस जोडीहरूलाई लिन एयरपोर्टतिर लाग्यौँ  । परम्परागत थाई पोशाकमा सजिएका, सुन्दर केटीहरूको समूहले परम्परागत थाई नृत्य र सङ्गीतको साथ स्वागत गरे उनीहरूलाई । थाई सरकारका अधिकारीहरू र थाई एयरवेजका उपाध्यक्षको नेतृत्वमा बाहिरबाट ल्याइएका तीस वटा हात्तीमा ६० जना प्रेमिल जोडीहरू सवार भए । एक अद्वितीय परम्परागत थाई विवाह जुलुसको नेतृत्वमा हात्तीहरूको लस्करलाई ट्राङका नागरिकहरूले फूलपुष्प दिएर  उत्साहपूर्वक यसरी स्वागत गरे कि मानौँ यो शाही विवाह थियो । उनीहरूलाई म बसेको होटलमा राखिएको थियो । टाउनहलदेखि होटलसम्म हिँड्दा म  निकै थाकेँ र  थाई मसाजमा जाने सोस बनाएँ  । मैले यसबारे एक अमेरिकी दम्पतीसँग कुरा गर्दा, उनीहरूले मलाई होटेलमा २६० भाटमा मात्र दुई घण्टा फुलबडी मसाज गर्न सुझाव दिए । फिटनेस सेन्टरका इन्चार्जले कोठा खाली नभएकोले मेरो कोठामा मात्र ३०० भाट मसाज गर्न सुझाव दिए । केही विचार नगरी, मैले मेरो कोठामा पूर्ण थाई परम्परागत शरीरको मसाज गरेर,  ढाड दुखाइ र थकानबाट छुटकारा पाएँ ।

म बिहान सबेरै उठेर पाकमेङ जेट्टीतर्फ लागेँ जुन हामीलाई बसबाट त्यहाँ पुग्न ४० मिनेट लाग्छ । जेट्टीमा समुद्री सतह कम भएकाले जेट्टीबाट एक दुई किलोमिटर पर पर्खिरहेको डुङ्गामा चढ्न हामीले सानो डुङ्गा लिएर गयौँ । अण्डमान सागरमा अवस्थित कोह क्रन्दन टापु भनेर चिनिने अन्डरवाटर वेडिङ स्थलसम्मको फेरी यात्रा मेरो जीवनको सबैभन्दा अविस्मरणीय थियो । सिँढी चढेर, मैले फेरीको डेकको माथिल्लो भागमा आफ्नो लागि सिट ओगटेँ । चाँडै मलाई किम, अष्ट्रेलियाको  यात्रा लेखक जेम्स श्रिम्टन, न्यूजिल्याण्डको सन्डे स्टार टाइम्सका एसोसिएट सम्पादक फिल टेलर र अन्य पत्रकारहरूले पछ्याए । फिल एक दशकअघि पनि नेपाल आएका थिए । समुद्रको बीचमा रहेको सानो टापुहरू यति सुन्दर देखिन्छन् कि यो ‘कहोना प्यार है’ नामक हिन्दी फिल्ममा देखाइएका दृश्यहरूजस्तै देखिन्थे ।

कोह क्रन्दन ट्राङ एक मनमोहक सुन्दर टापु हो र टापुको विशेषताहरू मध्ये एक यसको  मुलायम सेतो बालुवाको सुन्दर समुद्र तट र यसको कञ्चन सफा नीलो पानी हो । यो टापुको उत्तर तर्फ सुन्दर कोरल चट्टानहरू देख्न सकिन्छ । पानीमुनि रङ्गीन माछा सुन्दर ढङ्गले पौडी खेलिरेका  हुन्छन् । कोह क्रन्दनको रमणीय समुद्र तटमा, परम्परागत थाई विवाहको पहिरनमा सजिएका तीस जोडीहरूलाई थाई धर्मगुरु र आफन्तहरूले थाई विवाह संस्कार अनुसार पवित्र पानीले आशीर्वाद दिन्छन् । अनुष्ठानको अन्त्यपछि हामीले स्कुबा गियरमा दश जोडीहरू वेटसूट र अक्सिजन ट्याङ्की लगाएर कोह क्रन्दनको तटबाट औपचारिक बाँसको आर्कमार्फत डुब्दै गरेको देख्यौँ जसले “प्रेमको सागर” को प्रतीकका रूपमा दुई वटा माछालाई चुम्बन गरेको देखाएको थियो । पानीमुनि दश मिटरको टेबुलमा बसेका वर्दीधारी थाई अधिकारीहरूका अगाडि माछाहरूको बीच  कसम खाँदै थाई अधिकारीहरूसँग हात मिलाए ती युगल समूहले । समुद्रभित्र तिनीहरूले औँठी साटासाट गरे, थाई अधिकारीहरूले हस्ताक्षर गरेको विवाह प्रमाणपत्र लिए र तिनीहरूको फेस मास्कमार्फत चुम्बन गरे । सयौँ स्थानीय माझीहरू, रमाइलो क्रूजरमा चडेर आएका पर्यटकहरू जसले त्यो अद्भुद दृश्य हेर्ने अवसर गुमाएनन् । तिनीहरूले समुद्रतटमा टेलिभिजनमार्फत पानीमुनिको विवाह समारोह हेरिरहे ।

कोह क्रन्दन बाहेक, कान्टाङ बन्दरगाह रङ्गीन माछा मार्ने डुङ्गाहरूको गृहस्थल हो ।  अनगिन्ती अपतटीय टापुहरू जस्तै कोह मुकको ‘इमराल्ड केभ’ र कोह लिबोङको भ्रमणको लागि एउटा सुरुवात बिन्दु पनि हो । यी मध्ये केही टापुहरू न्यानो पानीबाट सय मिटरमाथि उचाइमा छन् ।  पर्यटकहरू समृद्ध समुद्रीतटहरू र कोरल चट्टानहरू विचरण गर्न रूचाँछन् ।

अन्तिम दिन मैले ट्राङको थम्ले गुफा भ्रमणमा बिताएँ । हामीले एउटा सानो डुङ्गा लिएर गुफाभित्र पस्यौँ । गुफा भित्रको सुन्दर पुरानो जीवाश्मले(फोसिल) आफैँ कति पुरानो हो भन्ने प्रमाण गर्छ । कतिपय जीवाश्म लिङ र योनीको आकारमा शिवलेङ्ग जस्तै देखिन्छन् । यस जीवाश्ममा तीन महिलाहरूले गरेको हासीमजाकले हामीलाई रोमाञ्चित बनायो ।

खाजा खाइसकेपछि बैंककको उडान साँझको पाँच बजेको छ भनी सोचेर निदाएछु म । तर जब म लबीमा आइपुगेँ, मलाई मेरो उडान मैले अनुमान गरेको भन्दा एक घण्टा अगाडि उड्ने जानकारी दिइयो । म अर्को बसमा चढेर एयरपोर्टतिर हानिएँ । अचम्मको कुरा, थाई एयरवेजसँग सम्बद्ध सुन्दर थाई महिला सु, जो हाम्रो लागि मिडिया संयोजक थिइन्, मलाई भनिन् कि विमान अझै उडेको छैन किनकि आधा घण्टा ढिलो भएको थियो । मलाई  आत्तिएर  असिनपसिन भएको देखेर, सुले मलाई आराम गर्न भनिन् र मेरो चेक-इनको व्यवस्था गरिन्। सुलाई धन्यवाद दिँदै म विमानमा चढेँ जसको लागि पर्खिरहेको थियो । फुकेत एयरपोर्टमा सानो समयको निम्ति अवतरणपछि हामी साँझ ६:३० मा बैंकक पुग्यौँ । मैले किमलाई एयरपोर्टमा देखेँ किनभने उनको आज राति कोरियाको लागि कनेक्टिङ उडान थियो ।

एक हप्ताभित्र बैंककमा मेरो दोस्रो पटकको यात्रा मैले सोचेको जस्तो रोमाञ्चक हुन सकेन । फेब्रुअरी १६, २००० मा काठमाडौँ फर्कने मेरो उडानको निम्ति म होटल सियाम सिटीमा बसेँ ।  मैले बैंककको रात्रि जीवनको आनन्द लिन सकिनँ र प्रतिज्ञा गरेर म फेरि आउँछु । तर दोस्रो यात्राको निम्ति मैले दुई दशक कुर्न पर्यो ।