यात्रा सदैव नवीन र रोमाञ्चित हुन्छ । अझ यात्रामा आमाको न्यानो काख, दिदीहरूको आत्मीय साथ र आरामदायी सवारी साधन । यो मन त छम्मछम्मी नाच्ने नै भयो ।

जिम्मेवारी र दायित्वलाई केही समय पर सारेर । तीन दिन भए पनि स्वच्छन्द विचरण गर्न पाउँदा, चालीसौँ वसन्त पार गरिसकेको प्रौढ पनि बच्चा बन्न पुग्दो रहेछ । यो अविस्मरणीय यात्राका योजनाकार र आयोजकलाई हृदयदेखि नै साधुवाद दिन कञ्जुस्याइँ गर्दिनँ ।

यात्रा आइतबार गठ्ठाघरबाट आरम्भ भयो । खुट्टाहरू शनिबार नै गठ्ठाघर पुगिसकेका थिए । हामी पुग्दा आमा पनि गठ्ठाघरको शोभा भई सक्नु भएको रहेछ । हाम्रो स्वागतमा साइँली दिदीले निकै स्वादिष्ट भोजन तयार पार्नु भएको थियो (रोटी, काउलीको तरकारी, डल्ले च्याउको कवाफ, चम्सुर पालुङ्गोको साग) भोजनलाई प्रसाद बनाउने काममा दिदी दिपिकाको हातहरू उत्तिकै सक्रिय थिए ।

यात्रामा कुनै कमी नरहोस् भनेर साइँली दिदी राती अबेरसम्म खत्राक्खुत्रुक गर्दै थिइन् । सरसामान र कोसेलीपात थन्क्याएर कतिखेर  सुत्न गइन् पत्तै भएनछ । सबै जना निद्रादेवीको काखमा लुटुक्क निदाउन पुगेछौँ ।

अनिता काेइराला

एकैचोटि बिहान हस्याङ्गफस्याङ्ग गर्दै उठेयौँ । हतार हतार नित्य कर्म सकेर सबै जना तयार भयौँ । सबै जम्मा भएपछि हाम्रो गाडी बिहान करिब सात बजे सिन्धुलीको भिमामलाई गन्तव्यमा राखेर बेजोडले अरनिको राजमार्गतिर मोडियो । सायद गाडी पनि हाम्रो खुसी र उत्साहमा रमाएको थियो । कति चाँडै गाडीले त अरनिको राजमार्गलाई बाईबाई गर्दै वीपी राजमार्गमा पो कुद्न थालिसकेछ ।

चिन्ता र तनावमुक्त मानसिक अवस्था हुँदा यात्रा निकै जीवन्त हुने रहेछ । हामी निकै आह्लादित भएका थियौँ । गाडीभित्र निकै रमाइलो वातावरण निर्माण भएको थियो । सापेक्षवादको सिद्धान्तलाई स्विकार्दै चाँडै नै रोसी आइपुगेछौँ । मनमोहक प्राकृति छटाहरू आँखाले पिउँदै वीपी राजमार्गलाई नियाल्दै केहीबेर रोसीमा रौसियौँ । चियाको मीठो चुस्की लिँदै पेट पूजा गर्न पनि भ्यायौँ । माइत जान लागेकी चेली उफ्रिएझैँ पुनः गाडी राजमार्गमा उफ्रिन थाल्यो । मुल्कोट, खुर्कोट, सिन्धुली गडी छिचोल्दै गाडी खनिया खर्क आयो । सिजनमा खनिया खर्क सुन्तला र जुनारको रङ्गले बेहुली रङ्गिएझैँ हुन्थ्यो । तर आज उजाड खियाखर्क देखेर मन रोयो । तर आँखाले झट्ट बाहिर निकै रसिला अम्बाहरू ठ्याक्कै देख्यो । जिब्रोले पनि तुरुन्तै पानी छोडी पो ! हाल्यो । ठूलो भिनाजुले कुद्दै एक झोला अम्बा लिएर आउनु भयो । अम्बा साँच्चै रसिलो र स्वादिलो रहेछ । असी वर्षकी आमाले पनि चारवटा अम्बा झ्याम पार्नु भयो । निमेषभरमा दुई किलो अम्बा चिरिप्पै भयो । अम्बाको मीठो स्वाद डकार्दै चियाबारी,  ढुङ्गग्रेबास हुँदै सिन्धुलीमाडी झर्यौँ । बिहानको खाना खान हामी सबै जना गौरनटोल नै जाने निधो भैसकेको थियो । करिब बाह्र बजे हामी भिमान बजार आइपुग्यौँ । नारायणबहादुर माझी गाडीलाई दिशानिर्देश गर्न बजारमै आइसकेका रहेछन् । कमला खोलामा दिनेस बराल दाइसँग भेट भयो । मलाई हाँस्दै सोध्नुभयो – ” कान्छी खोई हार्मोनियम ? गीत र भजन त खुब छ त । मैले पनि हाँस्दै भनेँ, “दाजु ! आज त हार्मोनियम होइन डायरी र कलम लिएर आएको छु ।”  वहाँ पनि हाँस्नु भयो । दिनेश दाइको सल्लाहमा गाडी बाटोभन्दा माथिबाट लैजानु पर्ने भयो । बाटो बन्दै रहेछ ।

अफ्ठ्यारो बाटो छिचोल्दै केहीबेरमा प्यारो माइतीघरको आँगनमा आइपुगौँ । आँगनमै खानाको सुगन्धले हामीलाई स्वागत गर्यो । निकै स्वादिष्ट भोजन तयार पारेर राख्नु भएको रहेछ दाजुहरूले । पालैपालो भोजन ग्रहण गर्‍यौँ । केहीबेर आराम गरेर पछि दाजुको पौरख, उद्यमशीलता र लगनशीलतालाई नियाल्न थाल्यौँ । भित्रभित्र दाजुको हिम्मतलाई सलाम ठोकेँ ।

बन्दै गरेको नयाँ घरको अवलोकन गर्न थालेँ । घरछेउको इनार बुढो भएछ ।  झार र झ्याउले कुरूप । आफ्नो अस्तित्व नष्ट भएर बिरुप हुँदै पहिचान गुमाउन लागेको । अस्तिसम्म चिसो पानीले सबै गाउँलेहरूलाई तृप्त पारेको आज सबैले बिर्सेछन् । कसैले फर्केर पनि हेर्दा रहेनछन् त्यो इनारलाई । कान्छी ! भएर होला मलाई अलि बढी नै माया गरेर पुलुक्क हेर्‍यो । म पनि झसङ्ग भएँ । झन्डै नचिनेको । विस्मृतिमा जान लागेका यादहरू ताजा भए । मैले आँखा उघारेर हेरेँ । धुमिल आँखाले फेरि मलाई मायालु पाराले हेर्‍यो । म मुसुक्क हाँस्दै दुई हात जोडेर नमस्कार गरेँ । मैले हेपेँ कि भनेर ऊ सशंकित थियो । उसलाई के थाहा मभित्रको रूपान्तरण । फेरि पनि मायालु पाराले हेरिरहेकोझैँ लाग्यो ।

बितेका सबै कुराहरू बिर्सेर म नविनतामा रमाउन चाहान्थेँ । तर फेरि अतीत नै अगाडि नाच्न थाल्यो । त्यो बेला इनारको मान सम्मान र आवश्यता थियो । चारै बजेदेखि सबैले उसलाई बोलाउँथे, चलाउँथे र आफ्ना घरमा ताजा पानी भित्र्याउँथे। त्यो चकमन्न गाउँमा बाल्टीहरूको दोहोरी चल्थ्यो । उसलाई सबैले सफा राख्थे । पूजा गर्थे तर आज कसैले हेर्दैनन् । सबै समयको खेल रहेछ । त्यो इनारमा मैले मेरै छवि देखेँ । मैले पनि कसैलाई केही दिन नसकिन भने ? मेरो हविगत पनि त त्यही हो । म गहिरिएर सोच्न थालेँ । मन नराम्रोसँग चोइट्टियो ।

यो समयमा फेरि किन त्यो समय याद आयो ? बिर्सनु राम्रो पक्ष हो भन्दै बिर्सने कोसिस गर्दै थिएँ । कटहरको रुखले कानैमा आएर भन्यो – “के अल्जाइमर भएकाहरू खुसी र आनन्दित भएका छन् त ?  न सम्झना न कल्पना । जीवन कति उराठ लाग्दो छ सोच त ।  ए नि !”  म जिल्ल्ल परेँ । कान्छी ! ए कान्छी ! भन्दै कसैले बोलाएको झैँ लाग्यो । लिचीको बोटले बोलाएको रहेछ । नजिकै गएर भेटेँ । त्यो रुखलाई सुम्सुम्याएँ । लिचीको बोटले निहुरेर भन्यो -“नानी ! जीवनको रमाइलो नै अतीतको सम्झना वर्तमानमा आउनुमै त छ ! कल्पनाभन्दा सम्झना जीवन्त हुन्छ । सजीव हुन्छ र मनमोहक हुन्छ, स्मरणीय हुन्छ ।”  म पक्क परेर यी सबै संवाद सुन्दै थिएँ । परबाट दिदीले बोलाउनु  भयो “ओई आइज ढिलो भयो । कति रुख बिरुवाहरूसँग बोलेकी ।”

खले गरामा बसेर म बगैँचाको आवाज सुन्दै थिएँ । आँखा एकटकले बूढो घरलाई हेर्दै थिएँ । थोत्रो, पुरानो र लड्न लागेको घर पनि कति राम्रो लागेको होला । कि आफू हुर्किएको पल राम्रो लागेको हो ? म दोमन भएँ जन्म घरबाट बिदा भएर कर्म घर आएर पो हो कि ?  कि धेरै दिनमा आएर हो ? रनभुल्लमा परेँ ।

अरूको आँखाबाट हेर्दा एक दुई जना मात्र चड्दा पनि  लड्ला- लड्लाझैँ देखिने घर । हाम्रो आगमनमा  जोसिएर नाचेको थियो । चेली आउँदा जसरी चाउरी परेकी आमा उत्साहले हल्लिन्छिन् त्यसरी नै । भूगोललाई छोडेर हिँडेको पनि त ! निकै वर्ष बितिसकेछ । तर भुलेर पनि कहिले भुल्न नसकिने रहेछ जन्म थलो ।

हाम्रो वाल्यकालका स्मृति, भोगाइ र इतिहासलाई अझ जोगाएर राखेको छ यो धराले । त्यो बेलामा बेचबिखन गरेर सदाका लागि हिँडेको भए ! सायद आज यो भूमिमा हाम्रा पाइला टेकिने थिएनन् । आमालाई कोटीकोटी नमन ! छ

कमलाको किनारमा मत्स्य पालनको अवधारणा आफैँमा चुनौतीपूर्ण त छ्दैछ । कराही बसालेर खोलाबाट माछा मारेर,  तरकारी पकाउन सकिने उपलब्धता थियो र आज पनि छ । कुखुरा, खसी, फलफूल र बागवानी फार्म अनि वीपी राजमार्गको साथ । दाजुले देखेको व्यापार र व्यवसायको सपना साकार हुँदैछ र पूर्ण रूपमा हुने छ । खाँचो त केवल सकारात्मक सोच अनि योजनाको रहेछ । दाजुले बुवाको ( रघुनाथ कोइराला ) उद्यमशील सोचलाई साकार पार्दै लगेको आभाष भयो । काठमाडौँको व्यापार व्यवसाय, भिमानको कृषि र पशुपालनको जिम्मेवारी, त्यो अदम्य साहस, आँट र हिम्मत सबै पक्षहरूले बुवालाई प्रतिविम्बित गरेको झैँ लाग्यो । सबैले पृष्ठभूमिमा गौरनटोललाई राख्दै केही तस्बीरहरू आफ्नो आफ्नो क्यामेरामा कैद गर्दै पुनः भिमान बजारतिर बत्तियौँ ।

मामाको छोरी र सावित्री दिदीलाई भेट्ने आकाङ्क्षाले हाम्रा पाइलाहरू उत्साहित थिए । समय निकै कम थियो । हामीलाई आज बाडिगाउँ बास बस्न पुग्नु थियो । दुई बजेको सङ्केत घडीले दिदैँ थियो । सावित्री दिदीको आँगनमा पुग्दा त शशिकला बैनीले निकै मीठो भोगटे साँद्धै रहिछिन् । बाटोको घुम्तीहरूले गर्दा मुख र पेट मतमताएको थियो । साँधेको भोगटेले कसलाई नलोभ्याउला र ? मेरो मुखबाट पनि रल्ल्ल पानी नै छुट्यो । दिदीले हामीलाई कचौराभरिभरि भोगटे दिनु भयो । अमिलो, गुलियो र पिरो स्वादले हाम्रो जिब्रो साम्य भयो ।

बुढ्यौलीका सौन्दर्यले सजिएको दिदीको अनुहारमा त्यही निस्वार्थ प्रेम छताछुल्ल पाएर धन्य भयौँ । दिदीको आत्मीयता र भोगटे कोसेली बोक्दै, मदन भन्डारी राजमार्गमा बहेली खेल्न थाल्यौँ । काठमाडौँमा बस्दाबस्दा होला, हामी निस्सासिसकेका रहेछौँ । अस्तव्यस्त सडक, ट्राफिक जाम, धुवाँधुलो र होहल्लाबाट दिक्दार भएका हामी केही समयका लागि भए पनि मुक्त थियौँ । साँच्चै विकास त शहर छोडेर गाउँतिर पसेको रहेछ । काठमाडौँ बसेर देश विकास भएन, नेताहरूले केही गरेनन् भन्ने भाव पूर्णतया सत्य साबित हुनसकेन । विकासका पूर्वाधारको एक महत्त्वपूर्ण पाटो अझ भनौँ मेरुदण्ड नै सडकलाई मान्नुको भावार्थ आज चरितार्थ भइरहेको थियो । गाँउगाउँमा सडक विस्तार, बिजुली र इन्टरनेटको सुबिधाले परिवर्तनको शुभारम्भ भैसकेको अनुभूति भयो । आर्थिक, सामाजिक, भौतिक रूपले फड्को मारेको देख्दा म पक्क परेँ ।

मनमा विचार चल्न थाल्यो -राष्ट्र निर्माणको खातिर पार्टी र राजनीतिक दल र गुटबाट मुक्त भएर विराट सोच राख्दै वास्तविक अर्थमा राष्ट्रको समग्र विकास र हितमा सबै एक जुट हुने हो भने असम्भव के रहेछ र ?

नेपालको समग्र विकासको कल्पना गर्दै यात्रा अगाडि बढिरह्यो । २०४४/४५ सालमा कक्षा ४ बाडीगाउँ मामा घर बसेर सिर्थौली स्कूल पढेको थिएँ । सात कोसको बाटो कलिला खुट्टाले बाह्र घण्टा लगाएर हिँडेको पीडा ताजा भयो । त्यो बेला हिँड्दा गोडामा उठेका ठेला छाम्न पुगेँ । बाटोबाटोमा आराम गर्दै, पोको खोलेर कुराउनी, चिउरा, सेलरोटी र तिलको अचार खाएको स्वाद ताजा भयो । ती दिन सम्झँदै बेतोडले हुइँकिएको गाडीको झ्यालबाट कपाल उडाउँदै विकासको आनन्द लिएँ । अनि मख्ख पर्दै आफैँ मुस्कुराएँ !

कोरङ्ग, अमाहा, काउछे हुँदै गाडी रानिवास पुग्यो, स्मृतिमा साथीहरू एक एक गरेर नाच्न थाले । यो स्मृतिको राजमार्गमा विचार र सम्झनाका तरेलीहरूले जाम नभइकन एक एक गरेर आउने जाने गरेको देखेर म आफैँसँग् हाँस्न थालेँ । अनि मस्तसँग सम्झनाहरू हेरेर ताजा भएँ ।

भिमानबाट बीस मिनेटमा बसन्निया आइपुगेछौँ । भूगोल पुरानै भए पनि वातावरण फेरिएछ । हामी त पर्यटकजस्ता पो भयौँ । राधिका दिदीको घर कता हो कता ? पत्ता लगाउन समय लाग्ने थियो यदि प्रविधिको उपयोग नगरेको भए । भिनाजु र प्रतीक रोडमा नै आइसक्नु भएको रहेछ हामीलाई लिन । दिदीको घरमा चिया, नास्ता खाएर चारैतिरको दृश्यहरूलाई स्मृतिमा पोको पार्दै हामी अम्बिका दिदीको आँगनतिर लाग्यौँ । हाम्री ठुली फुपूको ठ्याक्कै प्रतिविम्ब । मझेरीमा बसेर गाभा केलाउँदै हुनुहुँदो रहेछ । हामीहरूलाई अचानक देख्दा तीन छ्क्क पर्नु भयो । फोन नगरी गएका थियौँ । दिदीका आँखामा धेरै कुराहरूले गोता मारेको लख काटेँ । धेरैबेर गफिने फुर्सद थिएन । घडीले चार बजेको जानकारी दिँदै थियो ।

हाम्रो यो घुमाइ यात्रा नभएर सायद कुनै रेसझैँ भएको थियो, हतारहतार ! थोरै समयमा धेरै ठाउँ पुग्नु पर्ने । आमा बाहेक हामी सबै सायद तीस वर्षपछि बाडीगाउँ जाँदै थियौँ । अँध्यारोमा रनभुल्लमा परिएला कि भन्ने पिर थियो । बसन्निया, भलुवाई, डकाहा हुँदै हामी निकै चाँडो ठाकुर खोला पुग्यौँ ।

अब हामीलाई राजमार्ग छोडेर कच्ची बाटो जानु थियो । बाटो स्पष्ट पनि थिएन । गाडीको डामलाई पछ्याउँदै हामी अगाडि बढ्यौँ । अटेरी हाँसहरू बाटोमा कत्थक नाच नाच्दै थिए । हाँसले केहीबेर जाममा राखिदियो सायद ती हाँसले हाम्रो हैसियत देखाएका थिए । त्यो दनुवार बस्तीमा अलि अगाडि रातो गन्जी, रातो टीका लगाएको एउटा चिरपरिचित आकृति दृष्टि गोचर भयो । नजिकै आउँदा त ! मामाको जेठो छोरो कमल दाइ पो हुनुहुँदो रहेछ ! सबै चिन्ता समाप्त भए ।

हामी मामा घरको आँगनमा आनन्दले ओर्लियौँ । सबैसँग दर्शन भेट भयो । चिया पानी खाएर पोको पुन्तुरो बिसाउँदै भलाकुसारीमा रमायौँ । रातीको खाना बुहारीले निकै मेहनत र श्रद्धाले बनाएकी थिइन् । सबैले हात चाटीचाटी खायौँ । मामाले जिन्दगीका उकाली ओराली निकै भोग्नु भएको छ । उहाँसँग जीवन भोगाइका कति कथा कहानी होलान् । यो यात्रामा मामाका ती सम्पत्ति थोरै मात्र खोल्न सकियो ।

मामाका तीन छोरा । कमल दाइ र बिमल दाइ बाक्लो दाल खाने भइसक्नु भएको रहेछ । निर्मल भाइ मामा माइजूको साथमा निर्मल भएर बसेको रहेछ । पाँच जनालाई मामाकै घरमा सुत्ने व्यवस्था भयो भने हामी तीन जनालाई बिमल दाजुको घर तय भयो । ड्राइभर भाइलाई कमल दाइको घर तय भयो ।

बिमल दाजुको घरमा नेटको सुबिधा रहेछ केहीबेर हामी आ-आफ्नो मोबाइलमा अलमलियौँ । बिहान सबेरै उठेर ठाकुर खोलामा स्नान गरेर आयौँ ।  चियापानपछि मामाको आशीर्वाद लिँदै निधारमा राता टीका बोकेर बाडीगाउँलाई अटाएसम्म आँखामा राखेर बिदा भयौँ ।

क्रमशः