मार्च १०, २०२२ मा पारिवारिक आकस्मिकताले गर्दा पी सी आर  टेस्टको रिजल्ट आउने बित्तिकै हवाई जहाजको टिकट काटेर झण्डै सात वर्षपछि नेपाल जानको लागि हिँडियो ।  अघिल्लो पटक पनि भुइँचालो गए लगत्तै नेपाल पुगेको थिएँ ।  धर्म सरले एअरपोर्ट छोडिदिनु भयो । टोरोन्टोबाट बोस्टन, बोस्टनबाट दोहा र दोहाबाट काठमाडौँ । झण्डै घर छोडेको ३३ घण्टामा काठमाडौँ पुगियो ।  नेपाल जान हिँडेको भए पनि मन फुरुङ्ग  भने थिएन । बाटोभरि दाजु र दाजुसँग बिताएका पलहरू दिमागमा आइरहे ।  मन गह्रौँ थियो, जीवन र मृत्युका विषयमा अनेक प्रश्नहरू दिमागमा उठ्दै बस्दै  गरिरहेका थिए। यी प्रश्नहरू निहाल्दै बसेँ , समय सजिलै कट्यो।  निराश मन र थकित तन लिएर म काठमाडौँ पुगेँ । झण्डै दुइ हप्ता काठमाडौँ बसेँ ।  सयौँको सङ्ख्यामा आफन्त, परिवार र साथी भाइहरूसँग भेटघाट र अन्तरङ्ग कुराकानी  हुने अवसर मिल्यो । छोटो बसाइ भए पनि निकै कुराहरू सुन्ने र देख्ने अवसर पाइयो ।

व्यक्तिगत र पारिवारिक घटनालाई थाती राख्दै, मैले दुर्इ हप्ताको काठमाडौँ बसाइमा देखेका केही परिवर्तनलाई  यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

त्रिभुवन विमानस्थल, कर्मचारी र आगमन कक्ष : 

विमानस्थलको आगमन कक्ष भौतिक रूपमा अलिक विस्तार भएछ ।  बाहिर निस्कने ठाउँ राम्रो छ ।  निस्कँदानिस्कँदै  ट्याक्सी  भाडामा लिने ठाउँ, सिम कार्ड किन्ने ठाउँ, होटेल बुक गर्ने ठाउँ निकै व्यवस्थित रूपमा सञ्चालन भएको रहेछ ।  मैले काठमाडौँमा झर्ने बित्तिकै देखेको परिवर्तन यही हो।  कर्मचारीहरूको व्यवहार पनि राम्रो लाग्यो।  म अमेरिका, युरोप, अफ्रिका र एसियाका धेरै एयपोर्ट पुगेको छु , तुलनात्मक रूपमा नेपालका इमिग्रेसंका कर्मचारीहरू धेरै नरम र सहयोगी छन् ।  प्रायः  धेरै जसो कर्मचारीहरू अल्छी चैँ हुन् तर रुखो चैँ भन्न मिल्दैन ।  कोही कोही विकसित मुलुकमा बसेर जाने साथीहरू लाइनमा बस्ने बित्तिकै पाखुरा सुर्केर यो भएन र त्यो भएन भन्दै गाली गर्दै गरेको सामाजिक सञ्जालतिर भेटिन्छन् ।  त्यसको कुनै अर्थ छ जस्तो लाग्दैन ।  विकास, यसरी नै क्रमिक रूपमा हुने हो । दिसा पिसाब चर्पीमा गर्नुपर्छ भनेर हामी सिक्दै सिकाउँदै छौँ भन्ने कुरो पनि भुल्नु हुँदैन । हो, व्यस्थापकीय कमी कमजोरी धेरै छन्, सजिलै सुधार्न सकिन्छ । मात्र एउटा कुशल व्यवस्थापकको आवश्कता छ ।

रविन थपलिया (क्यानडा)

प्रविधिमा फड्को:

एउटा निम्नमध्यम वर्गको परिवार सदस्यको आँखाबाट हेर्दा, काठमाडौँमा सूचना प्रविधिको पहुँच सर्वसाधारणसम्मै पुगेको प्रस्ट देखियो ।  सायद उच्च वर्ग र मध्यम वर्गमा यो बीस वर्ष पहिले नै थियो होला ।  हरेकका हातमा स्मार्ट मोबाइल फोन, फोनमा डाटा, सार्वजनिक स्थलहरूमा वाइफाइ, कुनाकुनामा समेत फाइबर अप्टिक्स, सामान्य चिया पसलमा समेत वाइफाइको सुविधा , स्मार्ट वाचको प्रचलन,  ट्याब्लेटको बिगबिगी आदि हेर्दा कुनै विकसित देशकै भान हुन्थ्यो ।  अनि अनगन्ती नेपाली एप्सहरू,  इ-पेले फेरेको कारोबार,  अन्लाइन सपिङ्गको बढ्दो प्रचलन आदि हेर्दा मलाइ निक्कै रमाइलो लाग्यो ।

प्रविधिको सदुपयोग दुरुपयोग, फाइदा बेफाइदा अर्को बहसको विषय होला तर काठमाडौँले संसारकै उत्कृष्ट प्रविधिहरूसँग आफूलाई पनि दरिलो परिचय दिएको छ ।

राइड शेयरिङ्ग र अन्लाइन बिजिनेश:

हामीले यता उपभोग गर्ने उबर, लिफ्टजस्तै काठमाडौँमा  ‘पठाओ’ चल्दो रहेछ ।  यसबाट दुई पाङ्ग्रे, चार पाङ्ग्रे गाडीको साथै खाना, पार्सलहरू डेलिभरी दिने सुविधा पनि रहेछ ।  प्रयोगकर्ताको लागि असाध्यै सजिलो एप्स रहेछ ।  सामान्य साक्षर मान्छेले पनि चलाउन सक्ने ।  मैले बसाइको क्रममा ५/७ चोटि प्रयोग गरेँ ।  प्राय: ड्राइवरहरू विद्यार्थी रहेछन्, सजिलो पार्ट टाइम काम भएछ यो ।  धेरैले रोजगारी पाएछन् ।  ट्याक्सी ड्राइवरले पनि चलाउन पाउने भएकोले उनीहरू पनि खुसी देखिन्थे । यो नयाँ  रोजगारी सिर्जना भएको देख्दा मलाई खुसी लाग्यो ।

त्यसै गरी ‘दराज’ लगाएत अरू धेरै अन्लाइन बिजिनेस प्लेटफर्म सञ्चालनमा रहेछन् ।  यताको अमेजन,  इबे  चलाएजस्तै अनुभव हुने ।  बिष्णुजीसँग दराजको कलेक्सन सेन्टर पनि घुम्न गइयो ।  राम्रो सुरुवात भएको छ ।  काम गरेर खान्छु भन्नेलाई लुट्नु पर्ने छैन रहेछ अब ।

आधुनिक केटाकेटीहरू :

मैले भेटेका धेरै जसो जवान केटाकेटीहरू फोनमा नै झुम्मिरहेका हुन्थे ।  य़ूट्युब,  नेटफ्लिकस, फेसबुक, टिकटक आदिका विषयमा कुराकानी गरिरहेका हुन्थे ।   सायद सबैतिर यस्तै होला ।  प्रायः कुरो गर्दा अङ्ग्रेजी शब्दहरू बढी प्रयोग गर्थे, यो प्रचलन त अलिक पुरानै हो ।  साना स्कूले बालबालिका पनि हाम्रा केटाकेटीहरूले हेर्ने कार्टुनहरू हेर्दा रहेछन । नारुतो, बोरुतो, गार्डफिल, अल्भिन एंड द चिक मंकको कुरो गरेको मैले सुनेँ ।  इन्टरनेटको सहजताले कसरी भूमण्डलीकरण भएको छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो जस्तो लाग्यो ।  दश वर्ष अघिसम्म पनि विश्वसँग नजिकिन यति सजिलो थिएन ।  इन्टरनेटको जय होस् ।

तर प्राय: केटाकेटीहरू असाध्यै अटेरी  हुन थालेछन्, आफूभन्दा ठुलासँग मुखमुखै लाग्न थालेछन्, आत्मकेन्द्रित र आर्थिक रूपले अनुशासनविहीन भएछन् । यो समयमा हामीले सोच्नु पर्ने विषय यो होलाजस्तो लाग्छ ।

घरजग्गा र शेयरका कुरा:

प्राय: जसो अर्धबैँसे र युवाहरू भेट हुने बित्तिकै घरजग्गा र शेयरको कुरो गर्दा रहेछन् । घरजग्गाको विषय नौलो नभए पनि जनजनमा शेयरको कुरो यसरी हुन थालेको निकै पछिजस्तो लाग्छ ।  आजभन्दा १५/१६  वर्ष अगाडि हामीले शेयरको काम गर्दा हाम्रो वर्गका थोरै मान्छेले मात्र गर्थे, अहिले धेरै थोरै कारोबार नगर्ने मान्छे भेट्न गाह्रो हुने भएछ ।  यता विदेशमा जस्तै एप्समार्फत कारोबार गर्न मिल्ने रहेछ । ‘मेरो लगानी’, ‘नेपाली पैसा’ लगायत अन्य प्लेटफर्म निक्कै प्रचलनमा रहेछन् ।

घरजग्गाको मूल्य आकाशिएको सुन्दा अचम्म लाग्यो ।  रामकृष्ण दाइ भन्दै हुनुहुन्थ्यो, ” मुलपानीमा आनाको ३०/३५ लाख चल्न थाल्यो अब।” खै कसरी पो किन्छन् मान्छेले ? करोडौँका घरजग्गा किनेकै छन्, सबैले ठुला ठुला घर बनाएकै छन्,  मूल्य दिन दुईगुना रात चारगुना बढेकै छ, जीवन चलेकै छ, मान्छे खुशी नै छन् ।  खै कसरी पो चलेको छ ।  भगवान् जानून !

ट्रयाकिङ्ग सिस्टमको सुरुवात:

नेपाल सरकारले ‘नागरिक’ एप्स मार्फत आफ्ना नागरिकहरूको सरकारसँग सम्बन्धित सम्पूर्ण सेवाहरू, कागजातहरू एकै प्लेटफर्म मार्फत दिन खोजेको रहेछ ।  तर सबैले प्रयोग गरेको पाइएन । केही नेताहरूले यसको विरोध गरेका छन् भन्ने पनि सुनियो- आफू परिन्छ भनेर होला ।  भ्रष्टाचार रोक्न यो एउटा ठुलो कदम हुनसक्छ ।  यसको साथसाथै आयव्यय पनि ट्रयाक गरेपछि मात्र देशले सही गति लिन्छजस्तो मलार्इ व्यक्तिगत रूपमा लाग्छ ।  पानीबत्तीका बिलहरू, सानासाना आर्थिक लेनदेनलगायत धेरै आर्थिक कारोबार अनलाइनबाट गर्न मिल्ने भएकोले क्याश पैसा नबोक्दा पनि धेरै व्यवहार टर्ने भएछ ।  अनि राष्ट्रिय परिचयपत्र नभई पासपोर्ट बनाउन नमिल्ने भएछ ।  यदि राष्ट्रिय परिचय पत्रलाई राम्रोसँग अपडेट गरेर सबै कुरा ट्रयाक गर्ने हो भने भ्रष्टाचार र अपराधिक गतिविधि रोक्न निकै सहयोगी होला भन्ने लाग्छ ।

काठमाडौँका भित्र बाटाहरू:

कपन र कुमारिगालाका भित्री बाटाहरूमा हिँड्दा मैले प्राय: जसो बाटाहरू पिच गरेको वा ढुङ्गा ओछ्याएको वा ढलान गरेको देखेँ । अन्य ठाउँमा पनि प्राय: त्यस्तै देख्थेँ ।  हिले बाटाहरू खासै देखिएन ।  काभ्रे जाँदा पनि सिम्लेसम्म बाटो पिच भएको देखेर मलाई खुसी लाग्यो ।  स्थानीय सरकार र उसको कामलाई गाली गरेको खासै सुनिएन ।  विकासको मेरुदण्ड स्थानीय सरकार नै हुने भएकोले कतै लामो समयपछि स्थानीय निकाय चुस्त दुरुस्त हुनुले पो हो कि ! निराश हुनु पर्ने केही छैन ।

पिज्जा र बर्गरको बिगबिगी:

दश वर्ष पहिलेसम्म सर्वसाधारणले पिज्जा र बर्गर खाने खासै प्रचलन थिएन, खाने ठाउँ पनि त्यति थिएन । प्राय: हामी म:म:, समोसा, तन्दुरी रोटी खाने गर्थेयौँ ।  अहिले यसको ठाउँ पिज्जा र बर्गरले लिएको जस्तो लाग्यो ।  चाबहिल गणेशस्थानबाट उभिएर हेर्दा मैले चार वटा पिज्जा र बर्गर खाने ठाउँ देखेँ, सायद काठमाडौँका अन्य गल्ली र कुनामा पनि यस्तै होला ।

माग्ने,  ट्यापे, मुन्द्रे र सडक बालबालिकाको सङ्ख्यामा कम:

काठमाडौँको सडकपेटीमा माग्नेको सङ्ख्या नगन्य भएछ । रामहरीजीले कुन कुन संस्थाले नेपाल सरकारसँग मिलेर उद्धार गर्यो सबै भन्दै हुनुहुन्थ्यो ।  त्यो अनुभव गर्न सकिन्छ ।  पहिला साँझ  हिँड्दा प्राय: जसो भित्री गल्लीहरूमा गुडुल्को परेर बसेका ट्यापे मुन्द्रेहरूको झुण्ड देखिन्थ्यो, यसपाली मैले केही देखिनँ ।  चरी र घैँटेलार्इ इनकाउण्टर गरेपछि धेरै कम भयो भन्नु हुन्थ्यो एकजना काकाले ।  त्यसैगरी गौशाल तिर निस्कँदा  पनि सडक बालबालिका देखिएनन् ।  पहिला धेरै गम सुँघेर बसिरहेका हुन्थे ।

मिनीमार्टको व्यापकता:

काठमाडौँका कुनाकुनामा पनि आफैँले सामान छानेर किन्न मिल्ने मिनीमार्टहरू खुलेछन् । धेरै कपडा पसलहरू पनि विदेशमा जस्तै व्यवस्थित तरिकाले सञ्चालन भएको देखि यो।  पहिला पनि थिए, तर अहिले व्यापक भएछ ।  कपडा पसलमा चैँ प्राय: सबै अन्तर्राष्ट्रिय ब्राण्डहरूजस्तै, पुमा, अडिडास, नोर्थ फेस आदिका नक्कली कपडाहरू पाइने ।  गरीब देश भनेर यिनीहरूले मुद्दा नहालेका होलान् । के थाहा कुनै दिन यो ज्यादतीको कुरो उठ्न पनि सक्छ ! तर अति चैँ अति भएको छ ।

अव्यवस्थित ट्राफिक:

काठमाडौँको ट्राफिक भने अझ बिग्रँदो र डरलाग्दो भएछ ।  एकजनाले मात्र पनि ट्राफिक नियम पालना गरेजस्तो लाग्दैन किनकि नाङ्गाको देशमा त कपडा खोल्नै पर्यो !  काठमाडौँका बाटा त्यति साना होइनन् तर समस्या सवारी चालकहरूको हो जस्तो लाग्छ ।  जबसम्म चालकहरूले नियम पालन गर्दैनन्, लेन फलो गर्दैनन्, आफ्नो पालो कुर्ने बानी लगाउँदैनन्, यो समस्या कहिले समाधान हुँदैन ।  राज्यले कडाभन्दा कडा कारबाही गर्ने र चालकले आफैँ  नियम नमान्दासम्म ट्राफिक पुलिसले केही गर्न सक्दैनन् ।  मलाई सुरुका केही दिन हिँड्न, बाटो काट्न पनि निकै असहज भयो तर केही दिनमा बानी लाग्यो ।  आखिर यो मन त मेरो नेपाली हो !

यसरी काठमाडौँमा बिस्तारै तर चौतर्फी विकास भएको देखेर मन खुसी भएको छ ।