“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् जन्म दिने आमा र आफू जन्मेको ठाउँ” स्वर्गभन्दा पनि गरिमामय हुन्छन् । धेरै दिनपछि आमाको काखमा लुटपुटिने सौभाग्य मिल्यो यसपालि । द्वन्द्वका वर्षहरूमा तरबारको धारमा टेकेर हिड्नुपर्ने स्थिति थियो । स्वतन्त्र रूपमा एक गास खान पाउने अवस्था थिएन, वाक् स्वतन्त्रता र यात्रा स्वतन्त्रतामाथि तत्कालीन शासकले अङ्कुश लगाएकै थियो । शान्ति पुनर्स्थापनापछि पनि कहिले कोसीले सुरसाको मुख खोलेर अवरोध सिर्जना गर्यो । कहिले कृष्णभीरको रुद्ररूपले ताण्डव मच्चायो । देशमा सल्केको आगो निभाउने प्रयास भए पनि तराईका झिल्काझिल्कीहरू यथावत् नै थिए । आज, भोलि भन्दाभन्दै झन्डै दशक बितेपछि आमालाई ढोग्न पाउने इच्छा बटुलेर लागेको थिएँ, शान्तिनगरतिर । द्वन्द्वमा हिंसा र प्रतिहिंसामा सहादत प्राप्त गरेका मित्रहरूका आफन्तजनलाई श्रद्धाञ्जली पनि व्यक्त गर्नु थियो र घाइतेका मुटुमा मलम पनि लगाउनु छदै थियो ।

मेरो जन्मभूमिले कहिल्यै युद्ध बोकेर हिँडेन । तर यसले ‘शान्तिका लागि गरिएको क्रान्ति’ लाई धेरैचोटि भात खुवाएको छ । कमसेकम एउटा दरिलो सुरक्षा दिएको छ र मिठो निद्रा दिएको छ । कति महान् छ मेरो जन्मभूमि, युद्धका चपेटामा आफूलाई राखेर निष्पक्ष पहरेदारका रूपमा निरन्तर उभिएको छ यो । महाकवि देवकोटाले नेपाललाई विश्वको सबैभन्दा सुन्दर ठाउँ मानेका छन् । एकपटक शान्तिनगरमा पाइला राख्ने मान्छेले नेपालको पनि सबैभन्दा सुन्दर ठाउँ शान्तिनगर हो भनेर मुक्तकण्ठले भनिदिन्छ । सायद महाकविले शान्तिनगरमा पाइला राख्ने फुर्सद पाएनन् । नत्र अवश्य पनि उनले शान्तिनगरलाई नेपालको सुन्दर स्थानका रूपमा दराउने थिए ।

आफ्नो जन्मभूमिको स्वर्गीय कल्पनामा रमाउँदै म बुधबारेबाट उकालिएँ । चियाबगानको मनोरम दृश्य देख्नेबित्तिकै ममा एककिसिमको तरङ्ग पैदा भयो । आहा ! कति सुन्दर छ मेरो गाउँ, हजार वर्ष बाँचेर यसको बखान गरिरहूँ । शान्तिनगर अधित्यका छिर्नेबित्तिकै मानिसभित्रको चेतना ब्यूँझन्छ र बोल्न थाल्दछ । ऊभित्र केही गर्ने भावना पैदा हुन्छ अनि सिङ्गै शान्तिनगर बोकेर फर्कन्छ ऊ ।

भावनामा झुल्दाझुल्दै मेरा पदचापहरू टिमाईखोलाको पुलमाथि पुगिसकेका रहेछन् । सानो छँदा गाईबस्तु चराउन जाँदा हुर्मत लिएर ज्यानै जोखिममा पार्ने यस खोलामाथि पनि मेरै युगमा पुल बाँधिएछ । साधुवाद छ शान्तिगरवासीलाई जसको एकएक पसिनाले यो पुल निर्माण भयो । साँच्ची शान्तिनगरले अब कोल्टे फेरेकै हो त ? पुलमाथि हिँडिरहँदा मैले जीवनकै सबैभन्दा ठूलो अनुभव गरेँ ।

गङ्गाराम गड्तौला

संयोग कस्तो परेछ भने यसै वर्ष मैले साउँ अक्षर चिनेको र एसएलसी उत्तीर्ण गरेको स्कुलको ५० औँ वार्षिकोत्सव परेछ । त्यही पनि महानवमीका दिन । केही मित्रहरूले भनेपछि मैले थाहा पाएँ । ‘अनि मलाई त निम्तो छैन नि ?’ तँ जाबोलाई केको निम्तो, निमन्त्रणा पाउने हैसियतको छस् र तँ ? हो त नि, मेरो के हैसियत छ र, उही त्यस स्कुलको पहिलो ब्याच न हुँ । नबोलाए पनि मैले जानैपर्छ र ज्ञानमन्दिरको धुलो शिरमा लगाउनैपर्छ । मलाई फूलमाला नै किन चाहियो र ? मेरो शान्तिनगरले विकास गरोस्, मेरो गडिगाउँ विश्वविद्यालय बनोस्, शान्तिनगरले सामुदायिक अस्पताल पाओस् अनि यहाँ कालोपत्रे बाटो बनोस्, मैले त कामना पो गर्ने हो त ।

तर मलाई यसपालि शान्तिनगर छिर्नेबित्तिकै कताकता त्यहाँका मानिसहरूबाट केकेको गन्ध आएजस्तो भने लागिरह्यो । मानिस मानिसबीच भेदभावको गन्ध, जालझेल र लुछाचुँडीको गन्ध, स्वार्थ, लोलुपता र वैचारिक विभेदको गन्ध । शान्तिनगरमा पनि यस्तो मान्छे जन्मन्छ र ? म कल्पनै गर्न सक्तिनथेँ । तर जन्माएछ समयले । थाहा पाएँ यसपालि मैले । मान्छेको मुखुन्डो लाएका दानबहरू छ्यासछयास्ती जन्मिएछन् मेरो जन्मभूमिमा — काठमाडौँमा जस्तै ।

अठार वर्षपछि आज मैले मेरो स्कुलमा पुनः पाइला टेक्ने अवसर प्राप्त गरेँ । भौतिक रूपले निकै सम्पन्न भएछ मेरो स्कुल । वरिपरिको दिवाल, स्कुल भवन र त्यहाँको पूर्वाधारले स्कुलको सम्पन्नताको परिचय दिएकै थिए । साइनबोर्डले उच्चमाविको पगरी गुथेर मुस्कुराइरहेको देख्दा धन्यवाद दिँदै एकपटक ज्ञानमन्दिरको धुलो निधारमा लगाएर मेरो पवित्र स्कुलभित्र प्रवेश गरेँ ।

हठात् मभित्रको श्रद्धा खुम्चिएर फिस्टोजत्रो भयो । ‘पुनर्मिलन’ नाम दिएर आयोजित कार्यक्रमको सभापतित्व विचरा एउटा कौवाले गरिरहेको रहेछ, जो आफैँ जालभित्र बसेर अपसगुनको राग अलापिरहेको थियो । अरू कौवाहरू वरको रूख र यताउति उड्दै शान्तिनगरमाथि धावा बोलिरहेछन् । पुराना गिद्धहरू आफ्ना कुरकुरे छाती उचालेर सिकार ताकिरहेका थिए । यस्तो लाग्यो, बुढो बाघले सिक्री देखाएर सोझा मानिसहरूको हत्या गरिरहेछ । साँच्ची शान्तिनगर त दुर्गन्धित पो भएछ । विचरा भूपू विद्यार्थीहरू टुक्रुक्क ढुङ्गामा बसेर टुलुटुलु बिराले आँखा बालिरहेका थिए जसरी बालकका हातबाट खानेकुरो चुहिन्छ र चाट्न पाइन्छ भनी बिरालाले कुर्छ । यता आयोजकका चम्चाहरू औपचारिकताको हलुवा बाँड्न व्यस्त देखिन्थे भने बौद्धिकताले वरको सियाल पनि पाएको थिएन । ‘द्विज शुक’ हरूलाई कौवाहरूले ‘प्राचार्य’ को ललिपप खुवाएर सुगारटाइको गोपी कृष्ण कहो भनाउँदै थिए ।

जे होस् शान्तिनगरले परशु रिजालहरू पनि जन्माएको रहेछ । नितान्त राष्ट्रसेवामा लाग्ने परशुहरूलाई मेरो जन्मभूमिले के दिन सक्छ । कौवाहरूले उनको केकति प्रयोग गर्ने प्रयास गर्लान् तर उनले शान्तिनगरलाई सङ्गीतमय बनाइरहँदा भने मेरो हृदय भावनाले फुलिरहेको थियो । अघि बढ है परशु, तिम्रै सङ्गीतले शान्तिनगरको फोहोर पखाल्नु छ ।

शान्तिनगरले विश्वनाथ उपाध्यायलाई पनि त पाएछ । उनको दर्शनलाई, उनको निःस्वार्थ शान्तिनगरप्रतिको भावनालाई कौवाहरूले के बुझ्लान् र ? तर तिम्रो भावना हामीले सङ्गालेका छौँ है विश्वनाथ, फेरि आएर हामीलाई ब्यूँझाइरहनु ।

अनि टीका भण्डारी । टीकादाइ, तपाईँले शान्तिनगरलाई दिएको गुनलार्इ, के हामी फूलमालाले त्यो तिर्न सक्छौँ र ? अँहँ, तपाईँको ऋण तिर्न त शान्तिनगरले आफूलाई पखाल्नुपर्छ, धुनुपर्छ र स्वच्छ बनाउनुपर्छ । तर यसलाई सफा पार्ने त्यो अलौकिक शक्ति पनि त तपाईँसितै छ । त्यही तपाईँको अजस्र सङ्गीतधाराले शान्तिनगरको फोहोर पखालिरहनुहोस, म यही कामना मात्र गर्नसक्छु । कतै कौवाको बिष्टामय नहोस् मेरो जन्मभूमि, मेरो प्यारो शान्तिनगर, हाम्रो शान्तिनगर ।