त्यस बिहान, सदाझैँ झ्यालको पर्दा खोलेर मैले बाहिरतिर चिहाएँ । सल्यानको अमरावती बजारको फिल्डमा जमेको शिशिरको तुसारो, घामको पहिलो किरणमा टल्किरहेको थियो । फिल्डको एक कुनामा त्यस बजारका प्रख्यात मोबाइल व्यापारी हरिहर आठ/दश जना मान्छेहरूको बीचमा उभिएर केही कुरा गरिरहेका थिए । उनलाई घेरिरहेको झुण्ड उनको कुरा सुनेर आश्चार्यचकित मुद्रामा देखिन्थ्यो । हरिहरको अनुहारको भाव,हातका हाउभाउ र प्रस्तुति आज विल्कुलै पृथक थियो । त्यो दृश्य देखेर यो अनुमान लगाउन सकिन्थ्यो कि मानौँ, उनले आज कुनै सनसनीपूर्ण कुराको खुलासा गरिरहेका छन् ।
दुईचार/दुईचार गर्दै क्रमशः त्यो झुण्डमा मान्छेहरू थपिँदै गइरहेका थिए । के रहेछ ! मलाई पनि चाख लागेर आयो । म हत्तारिँदै भर्याङ्ग ओर्लिँदै थिएँ । जुत्तावाल्नी बजैको आवाज आएर मेरो कानमा ठोक्कियो । उनी भन्दै थिइन्,“हिजो राति हरिहरको बाइकको पछाडि किचकन्नी बसेकी थिर्इ रे !”
ओहो ! साँच्चै होला त ! मलाई झन् चाख बढेर आयो । यथार्थ बुझ्नलाई म पनि गएर झुण्डमा मिसिएँ । मान्छेहरू मुखामुख गरिरहेका थिए । सबैकुरा बुझेर आउँदा घटना यस्तो थियो—
उनी हिजो साँझ रुकुमबाट घर फर्किँदै रहेछन् । रुकुमको सिमा समाप्त भइसकेपछि सल्यानमा घना सल्लेरी वन सुरु हुन्छ । घुम्ती, सिधा, उकालो, ओरालो र निस्पट्ट उत्तिसेनी खोल्साहरू भने प्रशस्तै छन् । रातको समयमा छिट्टफुट्ट बाहेक गाडीहरू चल्दैनन् । मानव आकृति शून्य हुन्छ । हिजो साँझ उनी त्यो जङ्गलमा आइपुग्दा समय रातको एघार बजिसकेको थियो रे । एक्लो यात्रा, त्यो सुनसान जङ्गललाई छिट्टो पार गर्न उनी स्किलेटरमा बल दिएर रफ्तारमा दौडिरहेका रहेछन् । जङ्गलको मध्यभागमा पुग्दा उनलाई कसैले हात दियो । उनले स्पीड स्लो गर्दै हेरे; एक अपरिचित युवतीले लिफ्ट मागिरहेकी थिइन् । त्यो सुनसान इलाका,त्यो मध्यरात; उनलाई लिफ्ट नदिने, भन्ने कुरा थिएन । युवती मोटरसाइकलको पछाडि बसिन् । उनीहरू त्यहाँबाट अगाडि बढे ।
निलो कलरको टाइट जिन्स प्यान्ट, काला अग्ला हिल जुत्ता, बलिउड अभिनेत्री अनुष्का शर्मावाला कुर्ती, बटम खोलिएको जिन्सकै ज्याकेट, खुला छोडिएको स्टेट कपाल र सेतो सलले टाउकोबाट मुखसम्म छोपेकी ती युवती त्यहाँ, त्यस समय, त्यस अवस्थाम भेटिनु हरिहरको लागि भयङ्कर खुल्दुलिको विषय बनेको थियो । बाइकमा चढ्ने बेलामा उनले यतिमात्र भनेकी थिइन्— जानु त टाढा छ; तर तपार्इँ जहाँसम्म जाने हो मलाई त्यहीँसम्म लिदिनुस् ।
एक्लो यात्रामा साथी भेटिँदा हरिहरले ढुक्कको सास फेरेका थिए । सिटमा उक्लिदाको युवतीको पहिलो स्पर्शले उनी रोमाञ्चित बनेका थिए । तर अपेक्षित अवस्था आएन । उनी दूरी कायम गरेर बसिन् । जिज्ञासाहरू राख्दा त्यति खुल्न चाहिनन् । सोधेका प्रश्नहरूको ढिलो/अस्पष्ट र एकै वाक्यमा जवाफ दिन्थिन् । प्रतिप्रश्न गर्दिनथिन् । तसर्थ उनीसँग संवाद भइरहन सकेन । हरिहरले अमरावती सम्झिए, बाँकी दूरीको आकलन गरे,ध्यान बाटोतिर लगाए र एकाग्र भएर मोटरसाकल हुइँक्याइरहे ।
दूरी सकियो । अमरावती बजार आइपुग्यो । बजारबीचको प्रतीक्षालयनिर उनले मोटरसाकल रोके । झर्नोस् भन्दै पछाडि फर्किएर हेरे । तर युवती थिइनन् ।
यो घटनाले बजारमा सन्त्रास फैलिएको थियो । हरिहर आफैँ स्वर हराएजस्तै भएका थिए । मान्छेहरू किचकन्नीसँगका अनेक किस्साहरू सुनाउन थालेका थिए ।
एकदिन एकजना ड्राइभरले आएर भने— त्यसरात म जन्ती पुर्याएर फर्किँदै थिएँ । गाडीमा मान्छे कोही थिएनन् । खलासी भाइ पनि आएर मसँगै क्याबिनमा बसेको थियो । हामी गफ गर्दै गाडी कुदाइरहेका थियौँ । जब हामी रातको बाह्रबजे दाङ्गको सिमा कटेर फालाबाङ्गको जङ्गलमा प्रवेश गर्यौँ । अगाडि सडकमा तीन जना युवतीहरू हात हल्लाउँदै उभिरहेका थिए । अनुहार कसैको स्पष्ट देखिएको थिएन । लुहामसम्मको लागि भनेर उनीहरू गाडी चढे । तर लुहाम पुग्दा भित्र कोही थिएन ।
अर्को एकजना ट्रक ड्राइभरले पनि सुनाए— एकरात हामी हिडिरहेका थियौँ । सडकमा ४/५ जना युवतीहरू नाचिरहेका थिए । बाटो छोड्न मानेनन् । आग्रह गर्नलाई झरेर छेउमा गएको, त्यहाँ कोही थिएन ।
अर्को एक एम्बुलेन्स चालकले झन् अनेकौँ किस्साहरू सुनाए । यो किचकन्नीको समस्याको समाधान चुरा भएको र आफूले गाडीमा चुरा झुण्ड्याएर हिँड्ने गरेकोसम्म उनले बताए ।
–––
सानैदेखि म पनि किचकन्नीसँग सम्बन्धित अनेकौँ किस्साहरू सुन्दै हुर्किएको हुँ । गाउँघरमा मान्छेहरू भन्थे— किचकन्नीहरू भनेका अकालमै मरेका युवतीहरू हुन् । उनीहरू साह्रै असन्तुष्ट र रुष्ट हुन्छन् । उनीहरूको आत्मा बैकुण्ठमा गएको हुँदैन,वायुमण्डलमै भौँतारिरहेको हुन्छ । त्यो आत्मा रातको एकान्तमा भौतिक शरीर धारण गरेर सक्रिय हुन्छ । अनेक क्रियाकलाप गर्न थाल्छ । तिनीहरू विशेष गरेर पुरुष केन्द्रित हुन्छन् । उनीहरूलाई सताउछन्,तर्साउछन् र उनीहरूको आत्मा भड्काउँछन् । कसैकसैलाई त त्यसै छोड्दैनन्, आफूसँगै लिएर जान्छन्, आफ्नो बनाउँछन् । उनीहरूसँग अलौकिक विशेषताहरू हुन्छन् । आफ्नो शरीरलाई जुनसुकै रूप,स्वरूप र साइज दिन सक्छन् । उनीहरू भयङ्कर हुन्छन् । उनीहरूको फेला परेर बाँच्नेहरू भाग्यमानी हुन् ।
एकान्त मात्रै पनि हैन, उनीहरू कहिलेकाहीँ मान्छेको भीडमै पनि आइदिन सक्छन् । एकचोटिको घटना— त्यसदिन त्यो घरमा भर्खरै झाँक्री बसालिएर, सकिएको थियो । मान्छेहरू आगो पाप्दै आँगनमा बसिरहेका थिए । सबैको लागि भित्र प्रसाद पाकिरहेको थियो । समय रातिको यस्तै बाह्र/एक बजेको थियो ।
घरबारीको बाटो हुँदै एक आइमार्इ आइन् । घुम्टो ओडेकी थिइन् । उनी आएर नजिकै बसिन । मान्छेहरूसँग गफमा सामेल भइन् । राम्रैसँग घुलमिल भइन् । एकछिनमा भित्र प्रसाद तयार भयो । मान्छेहरू खाने सुरसार गर्नथाले । अनि एकजनाले उनलाई सोधे–“भोक लागेको छ ? तपार्इँ केही खानुहुन्छ कि?”
उनी तत्क्षण, बसेको ठाउँबाट जुरुक्क उठिन् छाती खोलेर देखाइन् । ओहो ! अकल्पनीय !! देखेर तीन जना मान्छेहरू ठाउँकोठाउँ लडे । उनीहरू त्यसपछि कहिल्यै उठेनन् । ती आइमाई त्यहीँ अलप भइन् । बाँचेकाहरूले भन्थे–“मुटु,कलेजो र सम्पूर्ण भुँडी निकालिएको काट्दै गर्दाको खसीजस्तो उनको छाती भित्र मेरुदण्ड र करङ बाहेक अरू केही थिएन ।”
–––
गाउँमा यस्तै–यस्तै विभिन्न गसिपहरू चल्थे । बुढापाकाहरू अनेक कुरा गर्थे । केटाकेटीहरू डरले थुरथुर काँप्थे । एकान्त र अँध्यारोमा जान डराउँथे ।
हरिहरको घटनापछि मान्छेहरूमा डर बाक्लिएको थियो । किंवदन्ती अनुसार किचकन्नीको हव मानिने पात्ले भीरको लेक बहिष्कृत हुँदै गएको थियो । र, हरिरहको घटनापछि फैलिएको सन्त्रासको ह्याङओभर लामो समयसम्म रहिरह्यो ।
====
वि.सं.२०७१ मा बाँकेको बैजापुरमा गएर मैले सुनचाँदी पसल खोलेँ । सुनचाँदी गरगहना बनाउन सिकेको दुई वर्षपछि मैले व्यावसायिक यात्रा सुरु गरेको थिएँ । लगानी सानो थियो, एरिया सानो थियो । मान्छेहरू त्यत्ति आउँदैन थिए । मसँग बस्ने केशव भाइ,अर्को पसलको गंगा दाइ, म बस्ने घरको आशिष भाइ,उसको साथी विक्रम र म भएर सधैँ दिनभर बजारबीचको असोकको रुखको चौतारीमा, बसेर गफ गरिरहन्थ्यौँ । असोकको शीतल छहारी, पश्चिमबाट बहने चिसो हावा, हाम्रा दैनन्दिनका प्यारा साथी थिए ।
बलौटे मोरङ्गातिरको गोरेटो बाटोमा साइकिल कुदाउनेदेखि राप्ती नदीमा नुहाउने र माछा छोप्नेसम्मका हाम्रा क्रियाकलापहरू शनिबार हुन्थे । राप्ती सोनारीका गाँउहरूका गल्लीहरूमा साँझमा मार्चपास गर्थ्याौं। क्षितिजमा लाली लागिरहेको, एकतमास मन्दमन्द हावा बहिरहेको, वरिपरिका घना सालघारी जङ्गलबाट अँध्यारो छाउँदै गरेको,चराहरूको चिरबिर, गाउँहरूको बास बस्ने सुरसार यी प्रत्येक पलहरू अत्यन्तै रोचकपूर्ण लाग्थे । आज प्रयन्त अत्यन्तै यादगार छन् ।
धामपुर,फत्तेपुर,मिलनचोक हुदैँ हामी नेपालगञ्ज जान्थ्यौँ । बाटैभरि गोरुगाडाका लस्करहरू हुन्थे । नेपालगञ्ज पुग्न यो रुट छोटो थियो । प्रायः यहाँका सबै मान्छे यही रुटको प्रयोग गर्थे । तरबीचमा पर्ने गोर्धाइको ६ किलोटिर लामो घना जङ्गल र सिधनियाको राप्ती पुल विशेष ध्यानाकर्षणका विषयहरू थिए । पहिलोपटक मैले त्यो पुलमा खिचेको फोटो मँसँग अझै छ ।
चौतारीमा बसेर हामी अनेक कुरा गर्थ्यौं । भाइहरूले आकाशमा बादल दर्किँदा, राप्ती उर्लिँदा र गोर्धामाइमा रात पर्दाका अनेक किस्साहरू सुनाउथेँ । एक्लै/दुक्लै रातको समयमा त्यो बाटोमा मान्छे हिँडिरहँदा गायव हुनु सामान्य हो भन्थेँ । त्यो स्थानमा डाँका र हिंस्रक जनावरको आक्रमणबाट अनिगिन्ती मान्छेहरू हराएका इतिहास छन, भन्थे । ती हराएकाहरूको बेचैन आत्माहरू साँझमा भड्किन सुरु हुने, शरीर धारण गरेर हिँड्ने,दौडिने,रुने,कराउने र फेला परेकालाई बाँकी नराख्ने गरेको कुरा सुनाउँथे । तसर्थ रातपरेपछि त्यो बाटोमा कोही हिँड्दैन पनि थिए ।
त्यो बाटोमा आफूहरू किचकन्नीसँग फेला परेको धेरै बाइकवालाहरूले पनि सुनाए ।
एकदिन हामी साथीहरू चौतारीमा बसेर भुत/प्रेत र किचकन्नीको कुरा गरिरहेका थियौँ । एकजना स्थानीय व्यापारी आए र आफ्नो अनुभव सुनाए— ‘त्यो दिन म यहाँबाट चार बजेको समयमा नेपागञ्जको लागि निस्किएँ । भोलिपल्ट उसको वर्थडे थियो । सुटुक्क केही गिफ्ट किनेर ल्याउने र सर्प्राइज दिने मेरो प्लान थियो । घरबाट त फत्तेपुर जान्छु भन्दै निस्किएको थिएँ, पाँच बजे नेपालगञ्ज पुगेँ । मलाई केटी मान्छेको लागि केही किन्नै आउँदैन । तर उनले केही दिन पहिले कत्ति राम्रो चुरा है भन्दै मलाई एउटा फोटो देखाएकी थिई, मैले सुटुक्क सेभ गरेर राखेको थिएँ । त्यही गिफ्ट किनेर दिने सोचेँ । तर त्यो खोज्दा खोज्दै नेपालगञ्जमा रात परिहाल्यो । बाँकी उसको लागि एउटा घडी र केही फलफूल मात्रै किन्न भ्याएँ ।
झमक्क साँझ परिसकेको थियो । घरबाट उसको फोन आइरहेको थियो । म आइहालेँ भन्दै ढाँटिरहेको थिएँ । मलाई घर नपुगी नहुने थियो । मनमा कताकता चिसो पस्न थालिसकेको थियो । त्यो जङ्गलको जङ्गघार पार गर्नै पर्ने थियो । मोटरसाकल स्टार्ट गरेँ । अघि बढेँ; डरकै बाबजुत ।
जङ्गल सक्किनेबेला एकजना तरुनी चिच्याएको आवाज आयो । स्वर झन् चर्को भयो । आवाज झन् मिश्रित भयो । म आत्तिएँ । सडक ग्राबेल थियो, मोटरसाइकिलको गति बढाउँदा झन लडिने डर, स्पीड ३५ मात्रै थियो । थुरथुर हुँदै मैले यताउता हेरेँ । निक्कै परबाट दुई/तीन जना जटाधारी आईमाईहरू मलाई हमला गर्न मतिर बत्तिँदै आइरहेको देखेँ । मैले पहिलोपल्ट किचकन्नी देखेँ । मुटुले ठाँउ छोड्यो । तर हठात् सम्झना भयो— चुरा । चुरा किचकन्नी यिन्त्रणको उपाय हो । मैले उसको लागि किनेको त्यो प्रिय चुराको प्याकेट किचकन्नीतिरै हुर्याइदिएँ । त्यसपछि पछाडिबाट कुनै क्रन्दन र कुनै प्रतिक्रिया आएन । म दौडिरहेँ । र एक्कैपल्ट आरचाली पुग्दा लामो सास फेरेँ ।’
यो कुरा सुनिरहेका अर्का एक बृद्व बोले—“सुन केटाहो ! किचकन्नीहरूको बढी ध्यान युवाहरूमा केन्द्रित हुन्छ । युवाहरू यो अवस्थामा कसैको प्रेममा एकहोरो हुन्छन् । जस्तो र जसको पनि रूप धारण गर्नसक्ने अलौकिक शक्ति किचकन्नीहरूसँग हुन्छ । फसौला ! विचार गरे ।”
त्यस चौतारीमा बसेर यस्तैयस्तै अनेक गफहरू त कति हुन्थे कति !
चौतारीमा कहिलेकाहीँ भने साथीहरू आउँदैन थिए । म चाहिँ त्यस चौतारीको निरन्तरको ग्राहक थिएँ । हरेक दिन चौतारीमै हुन्थेँ । मेरो पसलबाट नजिकै भएको र पसल भित्र बस्दा गर्मी पनि हुने भएको कारणले, मेरो निम्ति चौतारी उपयुक्त स्थान थियो । म बेलाबेला पसलतिर नजर लगाउँदै दिनभर त्यहाँ बसेर उपन्यास पढ्थेँ । र, तीनतिरबाट आउने मान्छेहरूलाई नियालिरहन्थेँ ।
एकदिन त्यो चौतारीमा बिहान दश बजेदेखि बाक्लो चहलपहल सुरु भयो । उक्त अशोकको रुखमा चेलिबेटी बेचबिखन विरुद्व केही लेखिएको ब्यानर टाँगियो । चौतारीको चारतिरै स्पिकरहरू जोडिए । बिस्तारै–बिस्तारै ठूलै भीड जम्मा भयो । स्पिकरमा एउटा मान्छे करायो—“आज हामी बाँकेको बैजापुर चोकमा चेलीबेटी बेचबिखन बिरुद्व सडक नाटक देखाउन गइरहेका छौँ । अब नाटक एकैछिनमा सुरु हुँदै छ । तपार्इँहरू सम्पूर्णलाई यो जनचेतना मूलक कार्यक्रममा सहभागी भइदिन हामी हार्दिक आग्रह गर्दछौँ ।”
पसलमा बसिरहेको थिएँ, म पनि गएँ । नाटक सुरु भयो । ललाई–फकाई, मन्दिरमा लिएर बिहे गरी भारतको मुम्बई लगायत विभिन्न शहरहरूमा चेलिबेटीहरूलाई कसरी बेचिन्छ भन्ने कुरा देखाइदै थियो । कथामा बिहे गरेर भारत छिराउदै गर्दा बाँकेको जमुनाहा नाकामा माइती नेपाल नामक संस्थाले दलाललाई समातेको सिन सुरु भयो । माइती नेपालमा काम गर्ने एक कर्मचारीले दलाल र बेचिँदै गरेकी युवती पहिचान गरेर नियन्त्रणमा लिएको दृश्य बडो शानदार थियो । मलाई भने कथाको विषयवस्तु भन्दा पनि ती कर्मचारीको भूमिकामा अभिनय गरिरहेकी युवतीको बोली,प्रस्तुति र व्यक्तित्वले लोभ्यायो । म नजाने ऊ प्रति फिदा भएँ । उसले उठाइरहेको विषयवस्तु र उसले बोलिरहेका शब्दहरूमा मेरो ध्यान गएन । म उसको हाउभाउ र सौन्दर्यमै अल्झिएँ । अल्झिरहेँ ।
मेरो मानसपटलमा एउटा धमिल दृश्य आयो । मैले यो केटीलाई आजभन्दा पहिले कहीँ देखेकै हो । बल्लतल्ल भेउ पाएँ— टिलिक्क टल्किएका चमरामा जुत्ता, कालो पेन्ट, कालो कोट, कालो झोला र एकचुल्ठो बाढिएको लामो सिल्की कपाल अगाडि छातीतिर झारेर सधैँजसो दशबजे बैजापुर क्याम्पसको गेटबाट निस्किने र मेरो पसल अगाडिबाट ओहोरदोहोर गरिरहने युवती यही हो ।
र कसैले भनेको सुनेँ— आज यो नाटक प्रस्तुत गर्ने सबै कलाकारहरू यहीँ क्याम्पसका विद्यार्थीहरू हुन् ।
त्यसदिनबाट ती युवतीमा मेरो विशेष ध्यान गयो । मेरा आँखाहरू उसलाई खोजिरहन थाले । ऊ आउने बाटोतिर मेरो ध्यान डुलिरहन थाल्यो । म उसलाई कल्पना गरिरहन थालेँ । तर उसको बारेमा मलाई केही थाहा थिएन । ऊ को हो? ऊ के हो? उसको परिचय के हो ? सिवाय मैले उसलाई देखेको थिएँ । नाट्य मञ्चनमा उसको बोली सुनेको थिएँ । र, उसको र मेरो उमेर पनि त एउटै हो– अनुमान लगाएको थिएँ । बस्, यत्ति । तर यत्ति नै प्रयाप्त थिएन । म उसलाई सम्पूर्ण रुपमा जान्न चाहान्थेँ । म उसलाई सम्पूर्ण रूपमा थाहा पाउन चाहान्थेँ । र म आफूलाई सम्पूर्ण रूपमा थाहा दिन चाहान्थेँ ।
मलाई सर्वप्रथम उसको नाम जान्नु थियो । अझ नढाँटी भनौँ, नाम भन्दा पहिले उसको जात जान्नु थियो । किनकि मसँग फेरि टुक्रिन सक्ने सामर्थ्य बचेको थिएन । म भित्रैदेखि गलिसकेको थिएँ । दोहोर्याएर सामनाजीका शब्दहरू—“तिमी मेरो निम्ति कठोर मेहेनत गरेर, आफ्ना हरेक कमजोरीहरू सच्याउन सक्छौ होला । तर आफ्नो जात कहिल्यै सच्याउँन सक्दैनौ । मलाई तिम्रो कुनै कुरासँग समस्या छैन, मात्र तिम्रो जातसँग समस्या छ । तिमी मेरो बाटोबाट फर्केर जाऊ ।” मुकाबिला गर्नसक्ने छाती मसँग अब थिएन ।
मैले उसको निगरानी राखिरहन्थेँ । जब म उसलाई देख्थेँ, जब ऊ मेरो दृष्यको परिधिभित्र आउँथी— म लठ्ठिन्थेँ । गरिरहेको काम छोड्नु, बोलिरहेको सम्वाद टुटाउनु, भएकै अवस्थामा स्थिर हुनु; यी सामान्य कुरा थिए ।
मैले एकदिन यो विषयलाई घुमाउरो पाराबाट चौतारीमा पुर्याएँ । गंगा दाइले भन्नुभयो—“म यो केटीलाई चिन्छु नि भाइ ! यो आफ्नो भाउजूसँग मेरो पसलमा अहाइरहन्छे, यसको भाउजू मेरो पसलको निरन्तरको ग्राहक हुन् ।”
मैले बल्ल कुराको मेसो पाएँ । फ्याट्टै नाम र घर सोधिहालेँ । अलिकति तन्किँदै उनले भने—“घर लालपुर हो । नाम अर्निका ।”
मैले चित्तबुझ्दो जवाफ पाइनँ । कोट्याएर सोध्न थाल्यो भने शंकास्पद हुन्छ कि लाग्यो । चुपचाप बसेँ । पछि उनी आफैँले थपे– “जात हाम्रै हो भाइ । राम्री छ है ! मन पर्यो क्या हो तिमीलाई ? घरमा कृषि फर्म छ रे । तरकारी लिन आउनु भनेर बोलाका छन् । जाउँला एकदिन । नआत्तेऊ ।”
उनी हाँसे । म लजाएँ ।
मैले उसँग सपना बुन्न थालेँ । उसको सपना देख्न थालेँ । मेरो आँखामा उसको तस्वीर नाचिरहन्थ्यो । म उसलाई देखिरहन्थेँ ।
मैले उसलाई हेरिरहन्छु भन्ने उसले चाल पाइछे क्यार ! मेरो पसल अगाडिको बाटोमा आइपुग्दा, ऊ सजग देखिन्थी । झुक्केर पनि मेरो पसलतिर नहेर्ने कोसिस गर्थी । हेर्दिनथी । मैले यसलाई अस्वाभिक रूपमा लिइनँ । ग्रीन सिग्नल सम्झिएँ । घमण्ड नारीको गहना हो उसले त्यही देखाउन थाली र उसले पनि मलाई हेक्का राख्न थालिछे । र त्यसै अनुरूप प्रस्तुत हुन थाली भनेर बुझेँ ।
म दिनप्रतिदिन ऊप्रति आशक्त हुँदै गएँ । उसलाई मात्र देख्नु, कल्पना गर्नु,सपना सजाउनु बाहेक अरू क्षमता ममा थिएन । मैले यो कुरा कसैलाई भन्न सकिनँ । उसलाई भन्न सक्ने झन् कुरै थिएन । म कुण्ठित बनिरहेँ ।
समय बितिरह्यो । घाउ बल्झिरह्यो ।
तर एकदिनको कुरा हो । दिउसोको समय । म पसलमा बसेर किताब पढिरहेको थिएँ । मेरो ध्यान किताबमै थियो । एकक्कासी ढोकाबाट पाइलाका ध्वनि सहित केही मानव छाया भित्र छिरे । मैले किताबबाट नजर हटाएँ ।
“हेलो हजुर !” पसलभित्र उसको पाइला छिर्नुभन्दा पहिले उसको आवाज छिर्यो । म झस्किएँ । मेरो मुटुको चाल बढ्यो । एकजना सङ्गिनी सहित ढोकामा अर्निका देखापरी ।
उसको शरीरको लेडिज पर्फ्युमको सुगन्धले म तरङ्गित भएँ । मुटुको चाल झन् तीव्र हुँदै गयो । शरीरमा काँडाहरू उम्रिएँ । म सम्हालिदैँ उठेर, बस्न इशारा गरेँ । उनीहरू ग्राहक दीर्घामा बसे । जहाँ मैले कुर्सीहरू राखिदिएको थिएँ ।
अर्निकालाई मैले नजिकबाट देखेँ । उसका आँखाका नानीहरू काला थिए । मिलेका ओठमा हल्का लिभर कलरको लाली लगाएकी थिई । एकचुल्ठो बाटरे आधीभाग पछाडि र आधीभाग अगाडि झारिएको उसको सिल्की कपाल कालो थियो । प्रचलित हाइट,मिलेको जिउडाल र पुष्ट वक्षस्थल; उसको अगाडि कुमालेको कलाले पनि फेल खान्छ । ऊ वर्णनातीत छ । म उसको वर्णन गर्न सक्दिनँ ।
उसको साथीको औँठी भाँचिएको रैछ । मैले जोडिदिएँ । ऊ जानुभन्दा पहिले,उसलाई सोध्नुपर्ने कुरा अनगिन्ती भए पनि मैले उसलाई केही सोध्न सकिनँ । बल्लतल्ल उही पुरानै कुरा सोधेँ— “हजुरको नाम ? अनि घर कहाँ हो नि ।”
“अर्निका विश्कर्मा, लालपुर ।”
ऊ यत्ति भनेर गई । मलाई उसको बारेमा धेरै जान्नु थियो । बल्लतल्ल नाम जानेको थिएँ । तर उसले त मेरो नाम पनि सोधिनँ । उसले मेरो बारेमा केही जान्न चाहिन । मनमा कताकता ठेस लाग्यो । म भित्रैबाट दुखेँ ।
समय अगाडि बढ्यो । ऊ बाटोमा देखिन छोडी । कलेज बिदा रैछ । एकदिन हामी उसको घरमा तरकारी लिन गयौँ । मेरा आँखाहरूले उसलाई खुब खोजे । तर कहीँ देखेनन् । यताउता जताबाट पनि आउनसक्छे, सोचिरहेको थिएँ । म उसलाई देख्नलाई चनाखो भएर बसिरहेको थिएँ । उसको आमाले बुहारीलाई भनिन्—“अर्निका मामाघर दाङ्ग गएको यत्रो दिन भइसक्यो । फोन गर त ! कहिले आउछे रे ? गर्इ भने हत्तपत्त आउनै मान्दिन ।”
उसँग भेट भएन । म निराश भएँ । बाटोभरि दाइले के–के कुरा गरिरहे । मैले केही सुनिनँ । उसलाई मात्रै सम्झिरहेँ ।
भोलिपल्ट गहना छिलाई गर्न म नेपालगञ्ज गएँ । मसँग हिरो–होन्डाको लाइसेन्स थिएन । चेकिङ्गबाट बच्न म प्रायः कूटाइममा हिँड्ने गथेँ । घाम डुबेपछि नेपालगञ्जबाट हिँडेँ । मिलनचोक पुग्दा पोलहरूमा लाइटहरू देखिए । गोर्धाइको जङ्गल पुग्दा झुसुक्क रात परिसकेको थियो । जङ्गलबीचमा पुग्दा किनकिन बेस्सरी डर लागेरे आयो । बाइक मच्चाएँ । अगाडि एउटा गाडी बिग्रिएर सडक छेउमा साइड लगाइएको थियो । त्यहाँ मानव आकृति कोही थिएन । सब सुनसान । निस्पट्ट । अन्धकार । मलाई पुराना किस्साहरू झल्झल्ती याद आउन थाले । डरले मैले झन्झन् रफ्तारमा बाइक हाँक्न थालेँ ।
जङ्गल सकिनु एक किलोमिटर जति बाँकी थियो । पर अगाडि बाटोमा दुईजना मानव आकृति हात दिएर उभिरहेका थिए । शरीर फुलेर आयो । काँडा उम्रिए । म अर्को लिगबाट गएँ, स्पीडमा । उनीहरूको अगाडि पुगेर स्लो गर्दै उनीहरूको अनुहार मजाले हेरेँ । ओ माइ गड ! अर्निका ? होइन, उसको रूप धारण गरेर उभिएको किचकन्नी !! म बेस्सरी झस्किएँ । मुटुले ह्वात्तै ठाउँ छोड्यो । म बेस्सरी भागेँ । बैजाप्र पुगेर मात्रै पछाडि फकिएर हेरेँ । कोही थिएन । बल्ल बाँचियो ।
गोर्धाइको जङ्गलमा भड्किरहेका प्रेत आत्माहरूले मेरो कमजोरीलाई प्रयोग गरेर आज मलाई धन्नै खाइसकेका थिए । चुडेलहरूका षड्यन्त्रका बारेमा पहिल्यै यथेष्ठ जानकारी भएको कारण म बाँच्न सफल भएकोमा गदगद थिएँ । बाँकी जीवन नाफाको सोचिरहेको थिएँ ।
भोलिपल्ट म पसलमा बसेर बाहिर सडकतिर हेरिरहेको थिएँ । कताबाट अर्निका आइपुगी । म उसलाई हेर्दै सजग भएँ । ऊ त मलाई एकहोरो हेर्दै मतिर पो आउन थाली । म पनि उससँग नजर जुदाउँदै बसेको कुर्सीबाट उठेँ ।
“तपाई कस्तो मान्छे?”, ऊ रुँलारुँला जस्तो गरेर आक्रोशित हुँदै आएर काउन्टरमा हातले हानी–“हिजो म र मामाको छोरी दाङ्गबाट नेपालगङ्गज हुँदै घर आउदै थियौँ । बैजापुर आउने गाडी साँझमा जङ्गलमै बिग्रियो । सबै मान्छे आ–आफ्नोतिर गइसके । हामी हिँड्दै आइरहँदा कसको बाइक हो भनेर रोक्यौँ । त्यो जङ्गलमा तपार्इँलाई देखेर संसार देखेजस्तो लागेको थियो । तर तपार्इँ एक वचन नबोली भागेर आउनु भयो । यस्तो अमानवीय मान्छे संसारमै मैले कहीँ देखेकी थिइनँ । छ्या तपार्इँ ! आइ हेट यू !!”
यत्ति भनेर ऊ गई । सायद उसको आँखाका आँसु थियो । मलाई भनन्न रिङ्गाटा लाग्यो । मैले सबैतिर अँध्यारै अँध्यारो देखेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।