कुरो लामो छैन । एउटा जीवनको अस्तित्व र त्यसका यादगार तीतामीठा थुप्राहरू फर्किएर तलास गर्ने हो भने आउन सक्लान्: प्रेमका कुनै वर्ष, धोकाका केही वर्ष । घृणाका त्यस्तै, बदनामका त्यस्तै । मजाकका र आनन्दका केही । कतै आउन सक्लान् रहस्यका आदि इत्यादि । तर, यसरी फर्किएर हेर्ने पथ्य उमेर त भइसकेको छैन ब्यारे । बस्, मलाई सजग गराउन मन लाग्यो मेरै बाटो हिँडेकाहरूलाई । लेखनको प्रसङ्ग त विधामुताबिक आउला नै । कोही जालान् एक बाटो, कोही अर्को । अब तपाइँले बुझ्नुभयो । हो, म कुराको पोयो खोल्दै मात्र छु ।

‘हेत्त तेरिका ! सिधै खोल्नु नि !’ नभन्नु होला । अब सिधै र बाङ्गैको केही अर्थ भएन यहाँ, सत्य र असत्य एउटै कुलोबाट सलल बगाइ दिएपछि । ‘राम्रो र नराम्रो, कमलो र चाम्रो कसरी एक हुन सक्लान् ?’ – प्रश्न यही हो । ‘अरूको र हाम्रोमा बढो भेद देखियो ।’ – गुनासो यही हो ।

अनि मैले पोखेँ त यही भइँमा बसेर कतिथरी गुनासा । कहिले कुकुरको, कहिले बालकको, कहिले शिक्षक त कहिले विद्यार्थीको । कहिले महिलाको चित्कार । ए क्यार, त्यो निलो कुर्ताधारी अधबैँसेको पनि मलाई खुब याद आइरहेछ, यो लेखिरहँदा । अझै के के थरी गुनासो पोख्ने हो त्यो त भोलिको कुरा । हिजोसँगको नाताबाट भोलि भन्ने नाम उम्कन सक्दैन । उम्कन खोज्नु भनेको स्रोतलाई भुलिदिनुजस्तै होला । अब तपाईँको मनमा हिजाको कुरा झट्टै स्मरणबाटिकामा पुन्रताजगी भइदिए ‘यो केटोले पनि लेख्छ है’ भन्नुहोला । भइदिएन भने पनि ठिकै छ । म आज एउटा डरलाग्दो अतित सुनाउँछु जहाँबाट म भर्खरै बाहिर आएँ । अथवा भनौँ, ‘निर्दोष डेरावाल’लाई मैले जन्माउन पाएँ । यहाँसम्म आइपुग्दा मैले मजाक गरेँ हुँला । तर, अब म अलि निविढ भावमा बग्नेछु । म तल्तिर जाँदा मेरो अनुहारको हाँसो एक्कासी विलीन भएको तपाईँ आभाष गर्नुहुनेछ । र, मैले बिन्ति गरेँ- मलाई बुझिदिने कष्ट गरिदिनुहोला । मबीचमा बोलिरहँदा अब हाँस्ने पटक्कै छैन।

सुन्नुहोस् त सबैजना ।

अहिले म तपाईँहरूलाई दुई हातमाथि उचालेर पीडालाई दबाएर एउटा बोर्डमा तल लेखिएको अव्यक्त्त आवाज देखाइरहेछु ।

“प्रिय प्रकाशक’हरु’ ! नयाँ लेखकलाई यन्त्रणा दिन बन्द गर !”

विमल सिटौला

मैले सुरुवातमै जिकिर गरिसकेँ कि धरामा एउटा मानव अस्तित्वलाई हेर्ने हो भने यो प्रसङ्ग त्यति लामो नहोला । आजभन्दा ठ्याक्कै तीन वर्षअगाडिको ताजा प्रसङ्ग त हो । जब मैले उपन्यास लेखेँ अनि प्रकाशन गृहको तलासमा धाउन थालेँ । त्यसपछि, मेरो उपन्यासको पाण्डुलिपि धेरै महिना थन्किन पुगेको थियो, सिरानतिर । हुनसक्छ – म असल प्रकाशन गृहमा ठोक्किन सकिनँ । हुनसक्छ – मैले मेरो उपन्यासको बारेमा प्रकाशकलाई बुझाउने चेष्टा गरिनँ । वा मेरो उपन्यास छपाइदिनु भन्दै जिउजिउ गरिनँ । अथवा, म सामान्य गृहबाट नै पुस्तक निस्कियोस् भन्ने सामान्य विचार पालेर बसेँ ।

बागबजार पुगेर मैले अति विकल भएर एकदिन रिस पोखेँ, ‘उपन्यास नै नपढीकन तपाईँ कसरी लेखकबाट प्रकाशनका रकम असुल गर्न लाग्दै हुनहुन्छ सर ? यो कदम राम्रो होइन । तपाईँ प्रकाशक कि लेखक ?’ भोलिपल्टैदेखि त थियो सिरानमा उपन्यास थन्किएको । मलाई लाग्यो, साहित्यको मर्म नै नबुझेका प्रकाशकहरुले मलाई गिज्याए । नमज्जाले मलाई लुट्न खोजे । विभिन्न बहानामा लेखकबाट रकम जुटाएर मोटाउन पल्केका प्रकाशकहरूसँग मेरो लोली मिल्दैन अब । लाग्यो, अब साहित्यकार नै प्रकाशक भएको ठाउँमा गुहार गर्नुपर्यो । आखिर साहित्यकारले त मेरो लेखनी कसो ननियाल्लान् ।

को को छन् त त्यस्ता बजारमा ? गिन्ती गरेँ । कम्तिमा बाटो एउटै भएकाहरू जेगतेन एउटै धागोमा बेरिनसक्ने सम्भावना त रहन्छ । नभन्दै एकदिन कुरा भयो । त्यही त हो पारा । ‘तपाईँ लगानी गर्ने हो भने गर्नू, म जोखिम मोल्दिनँ ।’ फेरि, धेरै विकल हुँदै त थोरै रिसाउदै भनेँ, ‘तपाईँ कृति नै एकचोटि नहेरी/नपढी कसरी यस्तो निर्णय गर्नुहुन्छ साहित्यकार-प्रकाशकज्यू ? तपाईँजस्तो नाम चलेको साहित्यकारले यो कुरो गरेको सुहाएन । अहँ, पटक्कै सुहाएन ।’ पछि बुझ्दै जाँदा त उनले पनि धेरै दु:ख पाएर झ्वाँकैझ्वाँकमा प्रकाशन गृह खोलेका रैछन् । म मुसुमुसु हाँस्दै बाटो तताएँ ।

माफ गर्नुहोला । म नहाँस्ने भनेर कसम खाएको थिएँ माथि । तर यहाँ म हाँसो दबाएर हाँसेछु । खैर, केही छैन ।

अब के गरौँ बरै ? म डेरामा आफ्सेआफ् एक्लै झोक्किँन पुगेँछु, ‘ ए आफैँ लगानी गरेर लेखक दरिनु मैले अब ? यत्रो मिहेनत गरेर उपन्यास लेख्दा पनि । छि !’ मुटु भतभत पोल्यो । लाग्यो सबै चुस्न पल्केका छन् बजारमा । कसरी निवृत्ति लिनुहोला बरै यो चंगुलबाट ! मैले आशावादी हुँदै सोचेँ, ‘ जीवनको आरोहअवरोहमा मेरो पनि कुनै दिन असल प्रकाशकसँग भेट होला नि त ।’ तर मेरो एउटा योजना थियो कि विश्वविद्यालयको पढाइ सक्नुपूर्व नै उपन्यास प्रकाशित गर्ने । मलाई स्थिर हुन दिएन यो अठोटले । फेरि धाएँ परीक्षाको मुखमा बागबजार, पुतलिसडक । पठाएँ पाण्डुलिपि विभिन्न गृहमा इमेल गरेर । अझै पनि कोही आकर्षित भएनन् । लाग्यो, फेरि पनि पो साहित्यका बोक्रे पाठक परेछन् । कम्तिमा मलाई सान्त्वना त दिन सक्थे । त्यो पनि दिएनन् । कि मेरो उपन्यास कमसल पो छ बा । साथीहरु भन्थे, ‘दमदार छ ।’ होला ता नि भनेँ ।

ल तपाइँ नै भन्नुहोस्, अब के गर्ने ?

आखिर पुस्तक त निकाल्नै पर्यो । अब मैले केही सिप नलागेर बीचका मध्यस्थकर्ता खोज्नतिर लागेँ- चाँडो प्रकाशनका लागि । भेट भए साथीमार्फत् एक साथी । मलाई चलायमान गराउन खोजे तिनले । मैले भनेँ, ‘ठिक छ, जिम्मा लिने हो भने । तर रोयल्टीका कुरा मसँग पारदर्शी हुनुपर्छ । उपन्यासमा मैले विश्वविद्यालको परीक्षा नै हापेर बढो मिहेनत गरेको छु, लेखकस्व कम्तिमा पनि १५ प्रतिशत हुनुपर्छ । फेरि तपाईँलाई केही रकम बुझाइसकेँ ।’ तिनले जिम्मा लिए, ‘म जसरी पनि तपाईँको कृति पढाइसक्नुपूर्व प्रकाशित गरिदिन्छु ।’

पहिलोताका एक प्रकाशन गृहसँग ठोक्काए । कुरा मिलेन । कुरा त कसरी मिल्छ र ? रोयल्टीका कुरा प्रकाशन गर्नुपूर्व नै नयाँ लेखकले उठाएपछि । उनीहरुलाई लाग्यो होला, यो केटोलाई पुस्तक निकाल्दिए भैगयो । लेखक दरिन पाए भैगयो ।

अन्तत: एक नाम चलेको गृहमा पाण्डुलिपि पुर्याइदिए तिनले । मैले भनेअनुरुप नै रोयल्टी पाउने भएँ । निकै खुसी भएँ । र, ७७ सालको माघमा निकाल्ने भनेर विश्वस्त भएँ । कलेजका शिक्षकहरू र साथीहरूलाई सुनाएँ । बढो उत्साहित देखिए सबै । माघ आयो तर कृति आएन । मैले प्रकाशकलाई माघ दश गते बीसचोटिभन्दा बढी कल गरेँ । त्योभन्दा अगाडिको त हिसाबै नगरौँ । तर फोन उठेन । माघ दशपछि मलाई कक्षामा मुख देखाएर हिँड्न लाज लाग्न थाल्यो ।

मेरो विश्वविद्यालयमा ओजन घट्यो । साथीहरूले गिज्याउन थाले । नजिकका शिक्षकहरुबाट विश्वास गुमाएको भान हुन थाल्यो । पछि, दसैँअगाडि निकाल्ने भनेर उनीहरुले फेरि बताइदिए । म पुन: दङ्ग परेँ । साथीहरुलाई सुनाएँ – ‘अब योचोटि फेल खाँदैन । उतैबाट फोन आएको थियो ।’

दसैँ नजिक नजिक आयो तर कृति आएन । फोन गरेँ, उही त हो, फेरि फोन किन उठ्थ्यो र ? हुनसम्म निरास भएँ । हत्तोत्साहित् भएँ । अरुको नजरबाट तलतल खसेको भान हुन थाल्यो, जस्तो उपन्यासमा शेखरले भोग्नु पर्यो । मेरो चिन्ताको कालो दागले परिवारका सदस्यहरूको अनुहारलाई पनि ढाक्यो । सायद म रातिराति रोएको पनि हुँदो हुँ । हो, यो विश्वासघातको पीडाले मैले पढाइमा ध्यान दिन सकिनँ । ७८ को दसैँपछाडि प्रकाशकसँग दोस्रोचोटि भेट भयो र गुनासो पोखेँ । मङ्सिर १५ गते निकाल्ने भनेर मिति तोकेर मलाई विश्वस्त बनाएर पठाइयो । म फेरि खुसी भएँ । हर्षका मुनाहरुले मलाई स्पर्श गर्न थालेँ । म निरासाको चंगुलबाट आशाको संसारमा हिँड्न थालेँ । तर, मङ्सिर लागेपछि फोन फेरि उठेन । ‘आखिर किन उठेन ?’ प्रश्न आज पनि ज्युँदो छ । मरेको छैन ।

अन्तिममा, निराश हुँदै एक दिन त्यही प्रकाशन गृहको पुस्तक विमोचनमा थाहै नदिई मित्र हिमालका साथ म त्यहाँ पुगेँ । र, अन्तिमपटक गुहार गरेँ । मेरो जन्मदिन माघ दशमा कृति जसरी पनि निकालिदिने भन्दै मलाई विश्वस्त बनाइयो र पठाइयो । म खुसी हुँदै फर्केँ । तर कृति किन आउँथ्यो र ? फोन किन उठ्थ्यो र ? मेरो जन्मदिनको दिन पनि म खुसी रहन सकिनँ ।

ल भन्नुहोस् अब के गर्ने ? – मैले ती वरिष्ठ सम्पादकलाई गुनासो पोखेँ । ‘तपाईँले सम्पादनसहितको जिम्मा लिएपछि जसरी पनि कृति निकाल्नु पर्छ । तपाईँ उम्कन पाउनुहुन्न नेपालजी ।’ तर, यसको प्रतिउत्तर मैले कल्पनाभन्दा बाहिरको पाएँ । त्यो भन्न जरुरी ठानिनँ यहाँ ।

अब मेरा विशुद्ध कक्षाहरू विश्वविद्यालयमा सकिसकेका थिए । मलाई अनुजहरूले बिदाई गरिसकेका थिए । तर मेरो एउटा ठूलो सपना पूरा हुन पाएन । मलाई यही कुराले रातभरि पोल्न थाल्यो । अब म जुनसुकै मूल्य चुकाएर भए पनि कृति निकाल्ने दौडमा होमिएँ । ती जिम्मा लिने व्यक्तिले फाल्गुनभरि फेरि निकालिदिन्छ, पर्खनुहोस् भने । म फेरि अन्तिमचोटि विश्वस्त भएँ । मलाई थाहा थियो निस्किँदैन भनेर । आखिर हुने त्यही नै थियो । त्यही भयो ।

र, पछिल्लो समय म नयाँ प्रकाशन गृहसँग केही सम्झौता गरेर पुस्तक निकाल्न सफल भएँ । र, वरिष्ठ साहित्यकारहरुको हातबाट कृतिको विमोचन गर्न सफल भएँ । मलाई अब मुस्कुराउन दिनुहोस् । यानकि, अब फेरि मलाई तपाईँ पहिलेकै रसिक ढङ्गबाट पढिदिनु होला ।

सुन्नुहोस् त । मैले फेरि दुई हात माथि लग्न बाध्य भएँ ।

“प्रिय प्रकाशक’हरु’, नयाँ लेखकलाई यन्त्रणा दिन बन्द गर !”

मजस्ता नयाँ लेखक कति होलान् जो अझै पनि प्रकाशन गृहबाट वर्षौँवर्ष झुलिरहेका छन्: साहित्यक कृति निकाल्ने ठूलो सपना बोकेर । बिन्ती छ, तपाईँ प्रकाशकहरू स्पष्ट कुरा गर्नुहोस् । लेखकस्व बोलेअनुसार दिनुहोस् । रकमको डिल भए सबेरै भन्नुहोस् । हतार हुनेहरू रकम जुटाएर प्रकाशन गर्न सक्छन्, नहुनेहरूको भाग्य एक दिन आउला । तर पेण्डुलम घडीको सुईको पाठ नखेल्नुहोला यसले गर्दा मजस्ता नवलेखक वा लेखिकालाई छियाछिया पार्नेछ । र, तपाईँको कर्तुतविदुद्ध बाँचुञ्जेल कलम चलाउन बाध्य हुनुपर्नेछ ।

मैले भन्न त भनेँ । मुस्कुराउँछु भनेर । तर माफ गर्नुहोला म अहिले आएर मुस्कुराउन सकिनँ । मभित्रको विरक्तिएको गुम्फनले मेरो हाँसोलाई बाहिर ल्याउन रोक्यो ।

यति दुख सहेर ल्याएको कृति एकचोटि पढिदिए र मलाई सल्लाह सुझाव दिएमात्र म मुस्कुराउने छु ।