
साँझको सात बजिसकेको थियो कार्यक्रम शुरु हुँदा । ढाकाको गर्मी बिर्सिसकेका थियौँ शिल्पकला एकेडेमी भित्रिएपछि । हामीले दौरासुरुवाल, कोट र टोपी लगाएकाले अधिकांश क्यामराहरु हामीतिर आकर्षित भएका थिए । प्रेक्षालयको मञ्चकोे भित्तामा लेखिएको थियो – Bangladesh-Nepal Literary and Cultural Exchange Program. 14th March 2022 । मन्चमा आसनग्रहण लगायतका औपचारिकता पूरा गरेपछि नेपाली मूलकी बङ्गलादेशी तनुश्री माझीले राष्ट्रियगानको सम्मानका लागि सबैलाई उठिदिन अनुरोध गरिन् । त्यसपछि हल गुन्जियो बङ्गलादेश र नेपालको राष्ट्रियगानले । त्यसपछि मञ्चमा देखापरिन् तनु श्री । उनले सुरिलो आवाजमा कार्यक्रम सञ्चालन गर्न थालिन् अङ्गे्रजी र बङ्गाली भाषामा । उनका सन्तति अठारौँ शताब्दीमा नै बङ्गलादेश प्रवेश गरेको कुरा उनले कार्यक्रम सञ्चालन गर्नुअघि हामीसँग नेपालीमा नै कुराकानी गरेकी थिइन् ।
बङ्गलादेश नेपाल फ्रेन्डसिप सोसाइटीको आमन्त्रणमा हामी त्यस विशेष कार्यक्रममा उपस्थित भएका थियौँ । कार्यक्रममा बङ्गलादेश र नेपालको साहित्य, कला र संस्कृतिका बारेमा दुबै देशका तर्फबाट स्पष्ट पार्ने प्रयास भएको थियो । नेपाली टोलीको नेतृत्व साहित्यकार पवन आलोकले र बङ्गलादेशको नेतृत्व मैस्युर अहमदले गरेका थिए । अहमद सोसाइटीका अध्यक्ष हुन् । उपाध्यक्ष सेली सेन गुप्ता र महासचिव सलाउद्धिन कुटुले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।
नेपाली टोलीका तर्फबाट प्राडा लक्ष्मणप्रसाद गौतम, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल र उपन्यास समाजका अध्यक्ष शङ्कर भारतीले नेपाली साहित्यको वर्तमान अवस्थाको बारेमा विचार व्यक्त गरेका थिए । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, कवि उमेश अकिन्चन, दायित्व मासिक पत्रिकाका सम्पादक यादव भट्टराई र लघुकथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले मन्तव्यसहित कविता वाचन गरेका थिए ।
बङ्गलादेशका लागि नेपाली कार्यवाहक राजदूत कुमार राईले पचास वर्षदेखिको दुई देशबीचको सम्बन्धलाई साहित्य र संस्कृतिको माध्यमबाट अझ नजिक बनाउनसक्ने विश्वास व्यक्त गरेका थिए । प्रमुख अतिथि रहेका बङ्गलादेशका प्रसिद्ध कवि अशद चौधरीले निकै गम्भीर मन्तव्यका साथै भावुक कविता प्रस्तुत गरेका थिए । बङ्गाली कविहरु प्रा.निरन्जन अधिकारी, ओभियद अकश, महफुज हुसेन, कोशल भोमिक, कमरुल हुसेन, अफ्लातुन नहर, इभी भुइयान र प्रिओ शंकरले कविता वाचन गरेका थिए ।
सोही कार्यक्रममा सिटी डेन्टल कलेजमा अध्ययनरत नेपाली डाक्टरहरुले नेपाली गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । नेपाली कविहरुको सम्मानमा विदेशमा भएका नेपालीहरुको साङ्गीतिक स्वागत विशेष रहेको थियो । सो नृत्यमा डा.जेनिया राई, डा.पनसा पोखरेल, डा.मेघा खत्री क्षेत्री, डा.स्नेहारिका नकर्मी, डा.अन्जली अर्याल, डा.अञ्जली चन्द, डा.कौशिका खत्री र डा.महिमा सिंहको सामूहिक नृत्य कार्यक्रमको विशेष आकर्षक बनेको थियो । कार्यक्रममा बङ्गलादेशका कलाकारहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।
ढाकास्थित नेपाली दुतावासले पनि नेपाल बङ्गलादेशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्यो । कार्यवाहक राजदूत कुमार राईले निकट छिमेकी राष्ट्र भएर पनि नेपाल र बङ्गलादेशको साहित्य र कलाको हुनपर्ने जति प्रचारप्रसार हुननसकेको बताए । कार्यक्रमको प्रारम्भमा बङ्गलादेशकी पप गायिका मेरिनले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो …नेपाली राष्ट्रियगीत गाएर निकै प्रशंसित भएकी थिइन् ।
साहित्य, कला, संस्कृतिले भौगोलिक दूरीलाई भावनात्मक बनाउने विषयमा प्राडा लक्ष्मणप्रसाद गौतम, प्रतीक ढकाल, अशद चौधरी, मैस्युर अहमद आदिले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजदूत राईले सबैलाई नेपाल सरकारको लोगो अङ्कित दुतावासको मायाको चिनो प्रदान गरेका थिए ।
बङ्गलादेशका राष्ट्रपिता मुजिबुर रहमानको १०२ औँ जन्मजयन्ती तथा शिशु दिवसको अवसरमा किशोरगन्जको नुवागाउँमा विशेष कार्यक्रम भएको थियो । ढाकाबाट चौरानब्बे किलोमिटरको दूरीमा भएको लायन मुजिब मुना गल्स स्कुलका विद्यार्थीहरुले नेपाली साहित्यकार टोलीलाई विद्यालय परिसरमा पुष्पवृष्टि गरेर स्वागत गरेका थिए ।
कार्यक्रमको प्रारम्भ कुरान पाठ गरेपछि भएको थियो । विभिन्न गीत, नृत्य र अभिनयसमेत प्रस्तुत गरिएको सो कार्यक्रममा साहित्यकार यादव भट्टराईले मन्तव्यका साथै कविता सुनाएका थिए ।
छ दिने साहित्यिक सद्भाव यात्रामा गएका साहित्यकारहरुलाई ढाका विश्वविद्यालय, जहाँगिर विश्वविद्यालय, छसयभन्दा बढी विक्रीकक्ष भएको बृहत् पुस्तक प्रदर्शनी, ढाकेश्वरी मन्दिर, राष्ट्रकवि काजी नजरुल इस्लामको समाधिस्थल, मातृभाषाको लागि प्राण उत्सर्ग गर्ने शहिदहरुको इकुसे पार्क, स्वतन्त्रताको ज्योति (शिखाचिरन्तन), शहिदस्मारक (स्रितीसोध), शहिद मिनार र राष्ट्रपिता बङ्गवन्धु शेख मुजिबर रहमानको हत्या भएको निजी निवासलगायतका स्थलहरुको भ्रमण गराइएको थियो ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










