मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ
भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अङ्गालोको आभास अझै बाँकी छ
सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरुभूमीय अतृप्तको एहसास अझै बाँकी छ
आज भोलि मौसम खराब छ ए मेरो दुखी मन
उनको र मेरो सुवासित मधुमास अझै बाँकी छ
तिम्रो नाम लिएर बाँचेको हरेक धड्कन
यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ
कति पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरि पनि जिउँदो छु भन्ने कटुमास अझै बाँकी छ
(मेरा गीतहरू मेरै मुटुको अनुभूतिको वर्णन हुन् – भीम विराग)
कवि, कथाकार, गीतकार, सङ्गीतकार, गायक भीम विरागको एतिहासिक जिल्ला मकवानपुरलाई सलाम गर्न चाहेँ | यो भीम विरागको सानो तर सुन्दर देश हो जहाँ –
फूलैफूल मात्र होइन रैछ जीवन
काँडाबीच फुल्ने रैछ जिवन |
“भीम दाइ मेरो दृष्टिमा एक महान कलाकार हो , जो सधैँ कलामा सक्रिय भएर बस्यो | सितिमिति अरूले छुन नसक्ने उचाइ छोयो, आफूलाई साङ्गीतिक इतिहासमा छुटाउनै नसक्ने गरी उभ्यायो, देशलाई आफ्नो अतुल योगदान सहित |” ध्रुवचन्द्र गौतम |
कार्यक्रमका सभापति महोदय – गीतकार, गायक, संगीतकार आदरणीय दीपक जंगमज्यू, युवा गायक शिव परियार भाइ, दर्शक दीर्घामा बस्नु भयका वास्तविक प्रमुख अतिथि साहित्य सङ्गीत प्रेमी ज्यूहरूमा नमन |
नबोलाऊ कसैलाई यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति ….
दिनभरि खाएँ तिमीसँग कसम
लड्खडाउँदै आएँ सधैँ राति राति
यो नै हो भीम विराग सङ्गीत विरासतको देश, जहाँ विशाल साहित्य र साङ्गीतिक कर्मले निरन्तरता पाइरहन्छ |
जब मलाई वरिष्ट साहित्यकार आदरणीय तुलसी थापा सरबाट यस कार्यक्रमको प्रमुख अतिथि भएर आउने प्रस्ताव आयो, म झसङ्ग भएकै हो | दीपक जंगमजीको नाम सुनेको थिएँ, सङ्गीतको क्षेत्रमा उहाँको लगानीबारे थोर बहुत ज्ञान थियो | थप परिचित हुने चाहना भयो | गूगलमा उहाँलाई खोज्ने प्रयास गरेँ | मलाई याद आयो कान्तिपुर टेलिभिजनको सुमनसँगको कार्यक्रम अवश्य भेटिन्छ होला | खोजेँ, रहेछ | पूरै अन्तर्वार्ता हेरेँ, सुनेँ | झनै परिचित भएँ | केही कुरा मिल्दा पनि रहेछन्, उहाँको र मेरो | उमेर, मात्र तीन वर्षको फरक | म जेठो- म सात साले | हामी दुवै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक | दुवै सेवा निवृत | एउटा फरक पनि रहेछ | तपाईँ दीपक जंगमज्यू सङ्गीतको प्राध्यापक अनि प्रख्यात सङ्गीतकार पनि | म साहित्यको प्राध्यापक त भएँ तर साहित्यकार हुन् सकिनँ | धेरै कविता पढाएँ – तर आफै कवि बन्न सकिन | A good teacher of poetry may not necessarily be a good poet himself. मलाई सम्झना छ म अङ्ग्रेजी साहित्य स्नातक तहका विद्यार्थीहरूलाई पिन ड्रप साइलेन्समा पी.बी. शेलीको To a Skylark पढाउँदै थिएँ –
We look before and after
and pine for what is not.
Our sincerest laughter
with some pain is fraught
Out sweetest songs are those
that tell the saddest thought.
त्यसदिनको मेरो लेक्चर निकै प्रभावशाली थियो | विद्यार्थीहरू मन्त्रमुग्ध थिए |
मलाई पनि कविता लेख्ने चाहना भयो | घर गएर लेख्न थालेँ तर सकिनँ | यो ४५/४६ सालको कुरा हो | ती मेरा सङ्घर्षका दिन थिए – ती त एक पिरियडको २० रुपियाका दरले टिप्न – विरेन्द्र क्यामपस, बालकुमारी कलेज, रत्ननगरका क्याम्पसहरूमा दौडाहाका दिन थिए | हो म कवि बन्न चाहन्थेँ, साहित्यकार बन्न चाहन्थेँ तर चाहेर मात्र हुँदो रहेनछ | कविता लेख्ने भिन्नै परिवेश हुनु पर्छ | भाग्यमा लेखेर ल्याउनु पर्दो रहेछ |
आज मलाई मैले भारतिय सेनामा खर्चेका अमुल्य १६/१७ वर्षको याद आइरहेको छ | एक प्रकारले भन्दा ती मेरा खेरा गएका वर्ष थिए | मैले त्यो समय भारतमा नखर्चेर नेपालमै बसेर सङ्घर्ष गरेको भए त्रिभुवन विश्वविद्यालयदेखि नेपाल प्रज्ञा-प्रतिष्ठानको यात्रा सहज हुन् सक्थ्यो | नेपालका दिग्गज साहित्यकार म भन्दा उमेरमा केही सिनियर केही जुनियरसँग सङ्गत गर्ने अवसर पाउँथेँ होला | के थाहा ? भूपि शेरचन, नारायण गोपाल, अमर गुरुङहरूसँग मेरो पनि लेफ्ट राइट लेफ्ट राइट, कदमताल र रोलकल हुन्थ्यो होला | सेनामा छँदै अंग्रेजी साहित्य विषयसहित स्नातक तह पढेर भारतीय सेनाको जागिरबाट राजीनामा दियी २०४१ सालतिर नेपाल आएँ तर यस महत्वाकांक्षीलाई २ वर्ष स्नाकोत्तर पढ्न पुनः भारत पुग्नु पर्यो | त्यसपछि भाग्यले साथ दिएकोले गर्दा त्रिभुवन विश्वविद्यालयमा प्रवेशसँगै पीसीएल र स्नातक तहका कक्षाहरूमा कुद्न थालेँ | सवाल थियो – चार चार बच्चाको, परिवारको, जिम्मेवारीको | समग्रमा सवाल थियो रोजी रोटीको |
कठै !! कविता मलाई निकै माया गर्थिन् तर कविता मबाट धेरै टाढा थिइन् |
कुनै पनि क्षेत्रमा प्रभावको कुरा गर्दा चर्चित हुनु र स्थापित हुनु फरक धार हुन् | चर्चित हुनु पनि त्यति सहज छैन तर हामी प्रत्यक्षदर्शीले देखेका छौँ – लेखकको एउटा कृति प्रकाशन गरेर प्रकाशक पूर्वदेखि पश्चिम दौडाहामा हिडदिए पुग्छ | प्रकाशकले कमाउँछ लेखक चर्चित हुन्छ | तर स्थापित हुन गाह्रो छ | म जस्ता लेखकले त आफनै पैसा खर्चेर पुस्तक प्रकाशन गरे मात्र | हाम्रो सम्पर्कमा न प्रकाशक, न पुस्तक पसल, न पाठक, न चर्चा, न स्थापित | तर समय सबैको आउँदो रहेछ | मेरो पनि आयो | म गर्वकासाथ भन्छु | हेटौँडासँग मेरो साहित्य सम्बन्ध पुरानो हो | साहित्यको प्लेटफारम चितवनमा प्राप्त गरे तापनि साहित्यको पहिलो भौतिक यात्रा हेटौँड़ाबाट सुरु भएको थियो | मलाई सम्झना छ नयनराज पाण्डेको ‘लू’ उपन्यासमाथि समालोचकीय मन्तव्य दिएको थिएँ | र हेटौँडाले निकै माया दिएको थियो | नयन राजपाण्डे मक्ख थिए | ” दाइ धेरै राम्रो समीक्षा गर्नु भयो |” उहाँको उद्गार थियो |
दीपकजी हजुरले सुमनसँगको अन्तर्वार्तामा भाग्यको कुरा भन्नु भएको छ | ‘मेरो भाग्यमा थियो र मैले मेहदी हसन, गुलाम अलि जस्तो महान हस्तीसँग बस्न पाएँ र उहाँहरूको गायनमा सङ्गीत दिन पाएँ यो भाग्यकै कुरा हो |’ आज दीपक जंगम जस्तो बहुचर्चित बौद्धिक संगीतकारलाई मेरो हाथबाट यो १३ औं बिजुलिमाया बन: श्रेष्ट अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार -२०७८ अर्पण गर्न पाउँदा, दोसल्ला ओढाउन पाउँदा हर्षित छु र यो क्षेत्रमा अब गएर आफूलाई स्थापित भएको महसूस गरेको छु | मैले मेरो डायरीमा यो पल जीवनको स्वर्णिम पल भनेर लेख्ने छु | मेरो आउने पुस्तक डायरीको पानाबाटमा यो चसौभाग्य उल्लेखित गर्ने छु |
म एउटा राम्रो शिक्षक थिएँ | खूब मिहिनेत गरेर पढाउँथेँ | म इन्टेलिजेन्ट थिइनँ तर मिहिनेत र sincerity मेरा प्रिय मित्र थिए | जसले गर्दा मेरा विद्यार्थीहरू मलाई निकै मन पराउँथे | मेरो सङ्गीतमा रुचि बाल्यकालदेखि नै हो | म भारतमा जन्मेँ र भारतमै हुर्केँ | हिन्दी गीत खूब गाउँथेँ | “पिँजडे के पन्छी रे तेरा दर्द न जाने कोए | बाहर से खामोस रहे तु भीतर भीतर रोय रे तेरा दरद न जाने कोए – | त्यतिमात्र होइन हप्ता पन्द्र दिनमा हाम्रो घरमा छिमेकका नेपालीहरूको जमघट हुन्थ्यो र ताड़ी र ठर्राको रोहबरमा दोहोरी, सालैजो, र नृत्य हुन्थ्यो | हार्मोनिया, मादल र खैँजडीको धुन निकै राम्रो लाग्थ्यो | साथै महिला स्वरमा नेपाली लोकगीतको लयले मुग्ध बनाउँथ्यो मेरो बालहृदयलाई | ती भाकाहरू सङ्गीतमाय हुन्थे | “म तिम्रो होइन र निरिमाया ठूली तिम्लाई मालुम छैन र ” | यसरी हेर्दा म त सङ्गीतको क्षेत्रमा जानु पर्ने |
तर, नियतिले मेरो क्षेत्र अन्यत्र नै तोकेको थियो | केही घटनाहरू भए र चाहेर पनि एसएलसी अघि पढाइलाई निरन्तरता दिन सकिनँ | १९६६ मा चितवन आइयो | प्राविको शिक्षक भएर काम गर्न थालेँ | भाग्य र मेरो सङ्घर्षको प्रतिफल भनौ म लगभग २२ वर्ष पछि १९८८ मा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यको शिक्षक हुन् सफल भएँ | केही समयपछि नेपाली साहित्यमा रुचि बढ्दै गयो र कथा लेख्न थालेँ अर्थात कविता कोर्न थालेँ | एउटा कविता सङ्ग्रह पनि प्रकाशित छ “भीडमा हराएको मान्छे” र अर्को प्रकाशित हुन् तरखरमा छ |
नेपाली सङ्गीतका धावक दीपक जंगमज्यु गीत सङ्गीत क्षेत्रमा तपाईँको ठुलो लगानी छ | अझै पनि तपाईँ हरेक साल २०/२५ गीत रिकार्ड गराउनु हुन्छ | “एउटा मान्छेको मायाले गर्दा” को समयदेखि अर्थात् त्यो पुस्ताका गायकहरूदेखि आजका पुस्तासम्म तपाईँ अनवरत लागि रहनु भएको छ | तपाईँको साधनालाई सलाम गर्नु पर्छ | आजका पुस्ताले सिक्नु पर्छ तपाईँबाट devotion के हो ?, dedication र commitment कसरी बन्छ | आजको दिनसम्म तपाईँको अभियान एउटा राम्रो नेपाली गीत सङ्गीतको भविष्यको खोजि बनेको छ | तपाईँ नयाँ नयाँ प्रयोग गर्न चाहनु हुन्छ र आफूलाई अपडेट गर्दै, नयाँ प्रतिभासँग काम गर्दै उनीहरूको मार्ग दर्शक बन्नु भएको छ | तपाईँसँग सहमत छु, नयाँ पुस्तामा प्रतिभाको कमी छैन | छ भने अवसरको कमी छ | तपाईँलाई नयाँ प्रतिभाको खोजी छ | किनकि तपाईँ देशलाई द बेस्ट दिन चाहनु हुन्छ | तपाईँको यो त्याग भावनालाई पुनः सलाम | तपाईँको यो लगन र प्रतिबद्धताले गर्दा, अनेकौँ मान सम्मानबाट विभूषित भर्इ सक्नु भयको छ | आजको यो पुरस्कार त्यही शृंखलाको एउटा थप कडी हो | तपाईँलाई हार्दिक हार्दिक बधाई र तपाईँका प्रत्येक चाहना पूरा होस् भन्ने मेरो शुभकामना |
एउटा अन्तर्वार्तामा तपाईँले सार्क लेवेलको एउटा कार्यक्रम गर्ने चाहना छ सफल हुन् सकेको छैन – तपाईँको भनाइ रहेको छ | यो सफलता भन्ने पनि यस्तै हुँदो रहेछ | मेरा तीनवटा कथा सङ्ग्रह छपाएँ | आफ्नै खल्तीबाट पैसा तिरेर | धेरैले एल बी स्टाइलका राम्रा पनि भने तर क्लिक गरेन | म हतोत्साहित भइनँ | मैले अलिकति दिशा परिवर्तन गरेँ | विगत ५/६ वर्षदेखि राष्ट्रिय स्तरका कार्यक्रम गर्न थालेँ | यस वर्ष त झनै नेपाल-भारत साहित्य महोत्सव नै आयोजना गरेँ | कसैबाट एक पैसा मागिनँ – ७ लाख आफनै खल्तीबाट खर्च गरेँ | मलाई सोधियो –
– कति खर्च भयो ?
-सात लाख
-पैसा कहाँबाट आयो ?
-बैँकबाट
– के पाउनु भयो ?
-सन्तुष्टि |
हो त, कसैलाई धमिजादेखि, लाउडा, महाकाली हुँदै एमसीसी खाँन पाउँदा पनि सन्तुष्टि छैन | जनता आत्तिएका छन् |
आज भोलि हरेक साँझ मातिन थालेछ
जिन्दगीदेखि जिन्दगी आतिन थालेछ
तर, म त सन्तुष्ट छु | अब आउने २०७९ कार्तिकमा सार्क लेवेलको साहित्य भेला गराउने प्रयासमा छु | खर्च लगभग १५-१८ जति होला | बेचिदिन्छु एक कट्ठा | तर अनुकूलता भएसम्म म यो कार्यक्रम गर्ने छु |
सङ्गीत र गीत, कविताबीच नङ र मासुको सम्बन्ध छ | एकपटक म र युवा समालोचक कवि कथाकार महेश पौड्याल कालिप्रसाद रिजालको घर पुगेका थियौँ | उहाँले प्रसंगवश भन्नु भएको थियो, नारायणगोपालले भन्ने गर्थे – साहित्यलाई साथमा लिएर नेपाली सङ्गीतमा क्रान्ति ल्याउनु पर्छ | नारायण गोपाल शब्दको महत्त्व बुझ्ने गायक थिए |
सुमनसँगकै कार्यक्रममा सुमन खरेलले तपाईँलाई आफ्ना दुई पङ्क्ति – आधा मुटु उता रह्यो आधा मुटु यता, दुवै मुटु जोडी दिने बाटो खोजौँ कता ! सुनाउनु भएको थियो र तपाईँले त्यसको धुन तत्काल बनाएर सुनाउनु भयो –
1 2 3 4 1 2 3 4 1 2 3 4
गीत र कवितामा एउटा फरक देख्छु | कविताका शब्दहरूमा दर्शन र सङ्गीतको उपस्थिति भएमा मात्र कविताले लय र जीवन्तता प्राप्त गर्छ | गीतलाई सङ्गीतले जीवन दिन्छ | अर्थात सङ्गीतमा गीतलाई अमर बनाउने क्षमता हुन्छ | “एउटा मान्छेको मायाले गर्दा उसलाई अमर बनाउन तपाईँले २८ वटा ट्युन बनाउनु भयको थियो | अनि मात्र बीबीसी लन्डनले आयोजना गरेको एउटा कार्यक्रममा “एउटा मान्छेको मायाले गर्दा कति फरक पर्द छ जिन्दगीमा ” भन्ने गीतलाई प्रथम स्थान हासिल भएको थियो | यो गीत तपाईँको हात पर्यो र अमर बनाइदिनु भयो | तपाईँ त्यो साधक हो | “सही ठाउँमा सही मान्छे” को सिद्धान्त यहाँ लागु हुन्छ | एक पटक भुवन के सी सँग डिनर नाइटको संयोग पर्यो | कुराको सिलसिलामा उनले मलाई कलाको परिभाषा भनेका थिए – सर, म कट्टु खोलेर सडकमा दगुरेँ भने जनताले भन्ने छन् – वाह क्या कला छ | तपाईँले त्यासै गर्नु भयो भने जनताले भन्ने छन् – हेर प्रोफेसर बौलाए छ | ठीक हो | सही गीतलाई सही सङ्गीतकार र सहि गायक भेटिनु पर्छ कालजयी बन्न | एउटा प्रश्न त अझै पनि बजारमा अनुत्तरित छ जस्तो लाग्छ – “एउटा मान्छेको मायाले गर्दा कति फरक पर्दछ जिन्दगीमा” गीत कालजयी हो वा सङ्गीत वा गायन ? यसलाई कसरी परिभाषित गर्ने ?
विद्यावारिधि गर्ने छात्रले यसमाथि सोध गर्नु आवश्यक छ |
रहरले मात्र सफलता हासिल हुँदैन | त्यसको लागि ठूलो तपस्या चाहिन्छ | एक पटक नेपालगंजको एउटा कार्यक्रममा गजलकार डा कृष्णहरि बरालसँग एउटै मञ्चमा बस्ने अवसर जुर्यो | त्यहाँ हरि लम्साल पनि थिए | उनले मेरी छोरीको एउटा फिल्म “अझै पनि” मा सङ्गीत दिएका थिए | कुरै कुरामा उहाँले सोध्नु भयको थियो – सरको कुनै गीत छैन ? मैले भनेँ- छ |
सपना देखाएर
मलाइ बोलाएर
किन झुक्क्याएको
तिमी किन नआएको
नदी किनारमा दिनभरि बसिरहेँ
आउँछ्यौ कि भनेर तिमीलाई कुरिरहेँ
कुर्नु भनेर किन आस देखाएको ?
सपना देखाएर
मलाइ बोलाएर
किन झुक्याएको
तिमी किन नआएको
मैले त्यो गीत हरि लम्साललाई पठाएको थिएँ | उनले नै मागेका थिए | तर त्यसपछि कुनै रेस्पोंस आएन | शायद कुरो पैसाको होला वा अन्य कुनै | मैले सुनेको थिएँ एउटा गीतलाई एक एक लाख खर्च गर्नु पर्ने हुन्छ | अनि मात्र गीत रिकर्ड हुन्छ | तर त्यो ताका मलाई त्यो रकम बढी नै लाग्यो र मौन बसेँ | म आफैँ भन्ने गर्छु रहरले मात्र होइन, भाग्यमा छ भनेर डोकोका दुध अडिँदैन | तपस्या चाहिन्छ | आदरणीय दीपक जंगमज्यू तपाईँ गीत सङ्गीत साधनाको एउटा जीवित तपस्वी हो | लिविंग लिजेण्ड हो | यो उपलब्धि प्राप्त गर्नु भयकोका हार्दिक हार्दिक बधाई | तपाईँको यो यात्रा यसरी नै अनवरत अघाडि बढ्दै जाओस | पुनः शुभकामना सहित मेरो मतव्यलाई यहीँ बीट मार्छु |
जय साहित्य जय सङ्गीत |
एलबी क्षेत्री, कविडाँडा चितवन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।