अमेरिकाको फ्रेडरिक्स्बर्ग  स्थित मेरी वासिङ्टन विश्वविद्यालयमा छोरी प्रतिमा कम्युटर साइन्समा इन्जिनियरिङ गर्दैछिन् ।  मेरो पूरानो मित्र क्यारोल माउरोको पनि यही शहरमा बास छ ।   त्यसकारण पनि पटक पटक मैले फ्रेडरिक्स्बर्ग को यात्रा गरेको थिएँ ।

तर यो पटकको यात्रा फ्रेडरिक्स्बर्गकी मेयरको निमन्त्रणामा, काठमाडौँ महानगरपालिका र भर्जनियाको फ्रेडरिक्स्बर्ग सहरको ‘भंगेनी सम्बन्ध’ घोषणा कार्यक्रममा सहभागिताको लागि थियो । कार्यक्रम औपचारिक भएकोले मनमा केही कुतुहलता र उत्साह थियो ।

यात्रामा नागरिक समाजको तर्फबाट हामी काठमाडौंका फ्रेडरिक्स्बर्ग भंगेनी सम्बन्ध समिति काठमाडौंका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, सदस्य सम्झना खरेल र म थियौँ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उनका सहकर्मीहरू कार्यकारी अधिकृत यादव कोइरालालगायत नौ जनाको समूह भने छुट्टै आउँदै हुनुहुन्थ्यो ।

फ्रेडरिक्स्बर्गको यात्रा योजना बनाउदा हामीबीच दुई विकल्पबारे छलफल भएको थियो । वासिङ्टन विमानस्थल हुदै जम्माजम्मी दुई घण्टाको रेलबाट यात्रा गर्ने अथवा न्यूयोर्क विमानस्थलमा ओर्लिएर बस अथवा रेलबाट यात्रा गर्ने ।

हामीले दोस्रो  विकल्पलाई छानेका थियौँ । बसबाट जाँदा अलि बढी अमेरिका देख्न पाइने, खर्च पनि अलि कम नै हुने । सहमतिअनुसार बसको टिकटदेखि सबै योजना बनाउने जिम्मा साथीहरूले मलाई दिएका थिए ।

म अमेरिका केही पटक गएको, मेरो लागि फ्रेडरिक्स्बर्ग नयाँ नभएको र यात्रा योजना बनाउन मलाई रहर लाग्ने भएकोले मैले यसलाई स्वीकार गरेँ । हामी योजना अनुसार २०७५, भाद्र ३१ गते बिहान ११ बजे अमेरिकाको न्यूयोर्कमा रहेको जोन अफ क्यानडी विमानस्थलमा अवतरण गर्‍यौँ ।

विश्वका ठूला विमानस्थल मध्ये सत्रौँ नम्बरमा पर्ने जोन अफ क्यानडी विमानस्थलको पूरानो नाम भने आइडलविल विमानस्थल हो । पाँच करोडभन्दा बढी यात्रुहरूको वार्षिक आवतजावत हुने यो विमानस्थल चारहजार नौ सय तीस एकर्ड क्षेत्रफलमा फैलिएको छ ।

सोही दिन साँझ हाम्रो फ्रेडरिक्स्बर्गको बस यात्रा थियो । हामीसँग जम्माजम्मी तीन घण्टा समय थियो ।

फ्रेडरिक्स्बर्ग जाने बस चढ्न न्यूयोर्क विमानस्थलबाट न्यूयोर्क पेन स्टेसनमा पुग्नु पर्ने । हामीले हतारमा झोलाहरू लियौं र न्यूयोर्क पेन स्टेसनतिर अगाडि बढौँ । मैले बसको टिकट पहिले नै अनलाइनबाट लिएको थिएँ ।

ठूलो र अति नै भीड हुने यो विमानस्थलको ट्रमिनल आठबाट रेल चढ्ने र जमैका स्टेसनमा ओर्लने अनि जमैका स्टेसनबाट अर्को रेल चढेर न्यूयोर्क पेन स्टेसनमा पुग्न सकिने रहेछ । त्यही अनुसार हामी न्यूयोर्क पेन स्टेसनमा पुग्यौँ ।

न्यूयोर्क पेन स्टेसनको पूरा नाम न्यूयोर्क पेनसिलभेनिय स्टेसन हो । यो स्टेसन विश्वकै ठूलो र अति व्यस्त रेल स्टेसन भित्र पर्दछ । यो स्टेसन पेनसिलभेनिय प्लाजा भित्र रहेको छ । पेनसिलभेनिय प्लाजा न्यूयोर्कको मध्य म्यानहटन भित्र रहेको ठूलो सपिङ सेन्टर पनि हो ।

हामी सहजै पेन स्टेसन पुग्यौँ । यो बस स्टेसन पनि धेरै ठूलो बस स्टेसन भएकोले दैनिक लाखौँ व्यक्तिहरू आवतजावत हुने । हामीले डिजिटल डिस्प्ले मार्फत बस चढ्ने गेटबारे जानकारी लियौँ र गेट नजिक बस्यौँ  ।

झण्डै एक घण्टा हामीसँग समय थियो । विमानस्थलदेखी यहाँसम्मको दौडधुप पूर्ण यात्राले हामीमा थकान बढेको थियो । डा. चिरन्जीवीले कफी र खाजा खाने कुरा राख्नु भयो । हाम्रो बस पर्खने समय पनि सदुपयोग भयो ।

मेरो बसको यात्रा नयाँ थिएन । विमानस्थलमा हुने लामो चेकिङ, लामो कुराई, उडानमा हुने ढिलाइ, लगेजको छुट्टै शुल्क जस्ता कारणहरूले हवाईजहाजमा भन्दा अमेरिका भित्रको यात्रामा बस तथा रेल आनन्द लाग्छ ।

हुन त अमेरिकाभित्रको यात्रामा हवाईजहाज भन्दा रेलको महङ्गो । बस यात्रा भने हवाईजहाज भन्दा सस्तो । सहजता र लक्जरीको हिसाबमा हवाईजहाज भन्दा रेल त्यस पछि बस लाग्छ मलाई ।

ठूला ठूला एयर सस्पेन्सन भएको लक्जरिर्यस बसहरू अति सफा हुने । बस हवाईजहाज जति कै सुविधा सम्पन्न । अमेरिकामा लक्जरिर्यस बसहरूमा ग्रे ह्याण्ड सबभन्दा प्रख्यात र सस्तो बसको ब्राण्ड हो ।

हामीले पनि ग्रे ह्याण्ड बसको टिकट लिएका थियौँ । हाम्रो बस आएको जानकारीसगैँ हामीले लगेजहरू चेकिङ गरायौँ र तोकिएको सिटहरूमा बस्यौँ । सबै यात्रीहरू सालीन, सभ्य, एक अर्कोलाई डिस्टर्ब होला कि भन्ने कुरामा अति नै सजग देखिने सबै आफ्नो मोबाइलमा व्यस्त देखिन्थे ।

हवाईजहाजमा पाइलटले एनाउन्स गरे जस्तै बस चालकले सबै यात्रुहरूलाई सीट बेल्ट लगाउन, मोबाइलको स्पिकर खुल्ला नगर्न र सकेसम्म लामो ट्वाइलेटको प्रयोग भने आकस्मि कमात्र प्रयोग गर्न अनुरोध गर्दै बसलाई गन्तव्यतिर अगाडि बढाए ।

बस प्रयोग गर्नेहरू अत्यधिक काला जातीहरू हुने र रेलमा काला जातीहरू कम भेटिन्थे । यसले अमेरिकामा काला जातीहरू आर्थिकरूपमा तल रहेको महसूस हुन्थ्यो मलाई । यस यात्रामा पनि यस्तै देखियो ।

ग्रे ह्याण्डको लक्जरिर्यस बसको ठूलाठूला झ्यालबाट अमेरिकाको अवलोकनसगैँ हामी २०७५, भाद्र ३१ गते राती ९ बजे फ्रेडरिक्स्बर्गको बस स्टेसनमा पाइला टेकेका थियौं ।

फ्रेडरिक्स्बर्गमा बस्ने नेपालीहरू र फ्रेडरिक्स्बर्गका नागरिकहरूले नेपाली झण्डा, भंगेनी सम्बन्धको व्यानर सहित हामीलाई रातको नौ बजे फ्रेडरिक्स्बर्ग  बस स्टेसनमा आत्मीय स्वागत गर्नु भयो ।

फ्रेडरिक्स्बर्गका मित्रहरूले हातमा नेपाली झण्डा फहराउँदै गरेको स्वागतले २२ घण्टाको हवाईजहाज र ६ घण्टाको बस यात्राबाट थकित शरीर चंगा जस्तै उडेको थियो, मन फुरुङ्ग भएको थियो भने हामीलाई गौरवान्वित र झन् र  उत्साहित समेत बनाएको थियो ।

भोलिको कार्यक्रम र हाम्रो बसाइ सम्बन्धमा छोटकरीमा डेभिड क्यापराले जानकारी गराउनु भयो । समाजसेवी डेभिड नेपाललाई माया गर्ने फ्रेडरिक्स्बर्गको बासिन्दा हुन् । उनको यी दुई शहरको भंगेनी सम्बन्ध स्थापनाको लागि मुख्य भूमिका समेत रहेको छ ।

भोलिको पहिलो कार्यक्रम फ्रेडरिक्स्बर्ग काठमाडौँ  सहर भंगेनी सम्बन्ध समिति फ्रेडरिक्स्बर्गकी सदस्य क्याथि हर्नडनले आयोजना गर्नु भएको दिवा भोजमा सहभागी हुने र त्यस पछि फ्रेडरिक्स्बर्ग नेपाल कला प्रर्दशनीको अवलोकन गर्ने तय भएकोरहेछ ।

हाम्रो फ्रेडरिक्स्बर्गको पाँच दिनको बसाइ होस्ट परिवारसँग बस्ने तय भएको थियो । हामीलाई लिन होस्ट परिवार पनि आइसक्नु भएको थियो । हामीले स्वागतको लागि आउनु भएको सबै मित्रहरूसँग अंकमाल गर्दै आत्मीय माया साटासाट गर्‍यौँ ।

मेरो होस्ट क्यारोल माउरो थिइन् । मेरो लागि उनी नयाँ भने थिइनन् । उनको घरमा म २/४ चोटि मेरो श्रीमती गिता सहित बसेको छु । म क्यारोलको कारमा बसेँ । हामी भोलि कार्यक्रमहरूमा भेटघाटको बाचा गर्दै आ–आफनो होस्ट फेमिलीको साथमा लाग्यौँ ।

क्यारोलकी छोरी ड्यानले नेपाली छोरी धर्मपुत्री अपनाएकी थिइन् । उनकी छोरीले नेपालबाट धर्मपुत्री ग्रहण गर्दा कानूनी सहयोग मैले गरेको थिएँ । त्यही क्रममा मैले १० वर्ष पहिले काठमाडौंमा उनलाई भेटेको थिए ।

आज क्यारोलकी नातिनी १४ वर्ष भएकी छिन् । मलाई नेपाली परिवारको रूपमा अंकल भन्ने सोफियासँग माटो र आत्माको सम्बन्ध रहेको छ । जब सोफिया मलाई भेट्छिन् मेरो अनुहार छुने र मसँगै समय बिताउन चाहान्छिन् । जब बिदा हुन्छु अझ एक दिन बस्न अग्राह गर्दछिन् ।

हाम्रो माटोको सम्बन्ध गहिरो छ । सोफिया पढाइमा उत्तम, करातेमा डबल कालो पेटी लिएकी पियानो बजाउने उनको शोख छ । प्रत्येक भ्रमणमा सोफिया मलाई उनको स्कूलमा लगेर उनका मिल्ने साथीहरूसँग परिचय समेत गराउछिन् ।

क्यारोलले विगत १० वर्षदेखि नेपाली गरीब बालबालिकाको स्याहार गर्ने बालगृहहरूलाई सहयोग गरिरहेकी छिन । विगत ४ वर्षदेखि स्तन क्यान्सरसँग लडिरहेकी क्यारोलको औषधी ती नेपाली अनाथ बालबालिका हुन् ।

उनी भन्छिन ‘ नेपाली बालबालिकालाई सहयोग गर्न पनि भगवान्ले मलाई बचाइ राख्नु पर्छ’ । उनका यस्ता हृदयस्पर्धी विचारसामु म सधैँ नतमस्तक हुने गर्दछु ।

क्यारोलमा देखिएको यो लगाव र मोहले पनि उनलाई झन् सक्रिय बनाएको छ । उनले ती बालबालिकाहरू मात्र होइन झण्डै दर्जन गरीब परिवारका छोरीहरूलाई विभिन्न तालिमहरू दिएर जीवन निर्बाहको लागि सक्षम बनाउन सहयोग गरिरहेकी छिन ।

उनको घरमा म पाहुना भएको दिन उनको घर र टोल नजिकको बाटोमा नेपालको झण्डा फहराएर राख्ने, हिन्दू धर्मसँग जोडिएको ओम अक्षरको फोटो मेरो सुत्ने कोठामा राखिदिने जस्ता धार्मिक सहिष्णुताको व्यवहारले म उनीप्रति अति प्रभावित छु ।

क्यारोलसँग कुरा गर्दागर्दै घर आइपुगेको पत्तो नै भएनछ । क्यारोलले कार रोकिन् । मैले ‘विइ रिच भेरी फास्ट टुडे ?’ भनेँ । क्यारोल ले पनि ‘बस स्टेसन इज नट फार मनोज’ भनिन् । मैले मुन्टो हल्लाएँ ।

दुवै मिलेर लगेज निकाल्यौँ । एकै छिनमा फ्र्याक क्यारोलको श्रीमान नेपाली झण्डा सहित निस्किए र ‘वेलकम डियर फ्रेड मनोज’ भनेर स्वागत गर्नु भयो ।

रातको १० बजिसकेको थियो । क्यारोल आफैँ मलाई पिज्जा मन पर्छ भनेर होला डिनरमा पिज्जा तयार गरेकी रहिछन । क्यारोलले मलाई जम्मा १५ मिनेटको समय दिइन् पेस हुनको लागि ।

हुन त हामी नेपालीलाई अरू जे खाए नि खाए जस्तो नहुने । जति पेट भरिए पनि भात छैन भने भोकै रहे जस्तो लाग्ने । तर विगत बीस वर्षदेखि मेरो यात्रा गर्ने बानीले भने मेरो यो बानी  अलिक परिवर्तन भएकोछ ।

सकेसम्म मलाई जहाँ गयो त्यहीको परम्परागत खानाहरू खान मन लाग्छ र हिजोआज म स्थानीय खानामा रमाउन थालेकोछु ।

लेट नाइट पिजा डिनरसँगै गुडनाइट भन्दै हामी आ–आफ्नो शयन कक्षतिर लाग्यौँ । तीस घण्टाको लामो यात्राबाट थकित भएर होला ओछ्यानमा ढल्कन नपाउँदै निद्राले समातिसकेको थियो ।