देशको माटो चुम्दै जन्मेको घर देखेर आएँ

तीनजुरे हुँदै पाथिभारा चढ्दै गुराँस टिप्दै आएँ

गाउँबस्ती पाठशाला हेर्दै सहपाठी भेट्दै गर्दा

थुप्रै थुप्रैको माया अनि सद्भाव बोकेर आएँ !!!

आफ्नो घर, परिवार अनि देश कसलाई प्यारो नलाग्ला र ? आफू जन्मेको घर हेर्ने, बाल्यकालका सहपाठी मित्रसँग भेट्ने अनि आफ्नो शहर, बजार अनि गाउँ जान कसलाई हुटहुटी नलाग्ला र ? वर्ष गन्दा पनि कहाली लाग्छ | पहिले सुन्थेँ बाह्र वर्षमा त बगेको खोला पनि फर्कन्छ रे | खै मेरो भागमा त त्यसको डबल भएर बाह्र गन्ती कटेर पूराका पूरा पच्चीस वर्षपछि मात्र आफ्नो देश जाने चाँजो पाँजो मिल्यो | त्यही भएर नै सन् २०१८ मा काठमाण्डौ पुगेको अर्को हप्ता नै आफ्नो गाउँ तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्ग्लुङ्ग बजार जान हतारिएँ |

श्री एयरलायन्सको बिमानबाट विराटनगर पुग्दा मौसम एकदम सफा खुलेको अनि हुस्सु पूरा फाटिसकेको थियो | नोभेम्बरको महिनामा हुस्सुले ढाकेर बिमान ढिलो या रद्द पनि हुन् सक्छ भन्ने सुनेकोले डर नलागेको होइन | तर समयमै बिमान उड्यो | विराटनगर विमानस्थलमा भाइ सुरेशलाई देखेँ | खुशी लाग्यो उसलाई करिब अठाईस वर्षपछि भेट्दै थिएँ | मिठो मसिनो बोल्ने उस्तै सौम्य, शान्त अनि गम्भीर रहेछ | आफ्नो व्यापार व्यवसायमा निकै सफल मात्र होइन स्थानीय थुप्रै सामाजिक संघ संस्थाको अगुवा पनि रहेछ | थाहा पाएर धेरै खुशी अनि गर्व लाग्यो | डा. रामेश्वर श्रेष्ठ दाइ र सुरेशको श्रीमती अञ्जलीलाई गाडीमै भेटेँ |

म मेरी श्रीमती विद्या श्रेष्ठ र चालकसमेत गरी छ जनाको टोलीको तेह्रथुम भ्रमण शुरु भो | भेडेटार, धनकुटामा दिउँसोको खाना खाने बसन्तपुरमा खाजा खाएर बेलुका म्याङलुङ बजार पुग्ने | भ्रमणको योजना सुनेर म छक्क परें | पहिले काठमाण्डौबाट चार दिन लाग्ने तेह्रथुमको म्याङ्ग्लुङ्ग बजार  अब छ घण्टामै पुगिने रहेछ । कति नजिक भएछ | यातायातको सुविधाले कति विकास हुँदोरहेछ, सोचें एकछिन् | सुन्दै अचम्म लाग्यो | जिज्ञाशा, कौतुहलता र बाटा, घाटा, घर, डाँडा, काँडा एक तमासले हेर्दै गएँ । कहाँ कति परिवर्तन भएछ भनेर अत्यधिक उत्सुकताले आँखा फाडी फाडी हेर्दै गएँ | जताततै गाउँ बजार बनेछ, बजार शहर बनेछ, यो देखेर म रोमाञ्चित बनेँ |

वसन्त श्रेष्ठ (अमेरिका)

“दृश्यलाई कैद गर्नु भविष्यलाई सम्झनामा राख्नु पनि हो” रामेश्वर दाइको भनाइलाई समर्थन गर्दै हामीले भेटिएका बजारका स्तम्भहरूमा फोटो खिच्न बिर्सेनौँ | भेडेटारमा शँखको, लसुनेमा लसुनको, बसन्तपुरमा लाली गुराँसको, मुढेमा काउलीको अनि म्याङ्ग्लुङ्ग बजारमा सिंहदेवी भगवती देवीको प्रतिक बिरालोको स्तम्भमा हामीले सामुहिक तस्विर लियौं| ठाउँ ठाउँमा स्तम्भ राखिनु कति राम्रो । अति सुन्दर लाग्यो | ती स्तम्भहरूले त्यस क्षेत्रको भौगोलिक अनि सांस्कृतिक परिचय प्रष्टसँग दिन्छ | कलाकृति अति उच्च लाग्यो | सबै ठाउँको स्तम्भले त्यस क्षेत्रको भौगोलिक र सांस्कृतिक विशेषताको परिचय दिन्छ | हिलेमा लोकप्रिय तोंगबाको विशाल स्तम्भ, लसुनेको ठाउँको नामले लसुनको स्तम्भ, मुढे बजारले काउली निर्यात गर्ने भएकोले काउलीको अनि बसन्तपुरमा गुराँसको राजधानी भएर गुराँसको स्तम्भ | बसन्तपुर तीनजुरे अनि मिल्के क्षेत्रमा मात्र एक सय तेईस विभिन्न जातिको गुराँस पाइन्छ भन्ने तथ्यांकले देखाउँछ | म्याङ्ग्लुङ्ग बजारको पुतली बजारमा शहिद नेत्र गुरागाईंको सालिक देखेर मन भारी र श्रध्दाले भरियो | समाज परिवर्तनका लागि व्यवस्थाको बिरुद्धमा राँको बाल्ने थुप्रै तिलस्मी जस्ता कथाको पात्रलाई सम्मानका साथ राखेर प्रतिमामा मात्र देख्न पाउँदा पनि खुशी लाग्यो | त्यागी वीर शहीदलाई सलाम |

बेलुकी करिब छ बजे म्याङ्ग्लुङ्ग बजार पुगियो | साँच्चै भन्ने हो भने म जन्मेको हुर्केको युवावस्थामा मात्र छोडेको आफ्नो प्रिय बजार अहँ चिनिनँ | चिन्नै सकिनँ भन्दा फरक पर्दैन । मैले त्यो बजार छोड्दा गाउँ पालिका थियो अहिले नगर पालिका बनेछ । मैले बजार छोड्दा मोटर बाटोको डोब मात्र थियो तर आज बजारभरि बस, ट्रक र टेम्पो देखिंदै थियो । मैले न कसैका घर न त बाटा घाटा नै चिनेँ | बजार नभएर शहर जो भएको थियो | ठुल ठुला भवन | गाडी, ट्रक, टेम्पो अनि मोटरसाइकलको आवागमन जताततै | म त विस्मृत बनेर टोलाइरहेँ निकैबेर | बजारका अधिकांश घरहरू सबै नै ठुल ठुला अग्ला सिमेन्टेड र साबिकको भन्दा अलिकति फरक ठाउँमा बनाइएको रहेछ |

जसको मूल कारण थियो तेह्रथुमको सदरमुकाम म्याङ्ग्लुङ्ग बजारमा भएको भिषण आगलागी । विक्रम सम्बत २०५९ साल मंगसिर ८ गते ५ बजेर ५५ मिनेट जाँदा शुरु भई रातभर लागेको भीषण आगलागीले म्याङ्ग्लुङ्ग बजारको अधिकांश घरहरू जलेर ध्वस्त भएका थिए | बजारका अधिकांश घरहरू जलेर खरानी भएका थिए, आगलागीले करिब करिब दशौँ करोडको क्षति भएको जनाएको थियो । प्रवासी आप्रवासी सबै सबैले हृदयदेखि चन्दा बटुलेर सहयोग र साथ दिएका थिए । त्यस हृदयविदारक अनि दर्दनाक घटनापछि बनेको नयाँ घर संरचनाले पुरै बजारको नयाँ नक्सा र स्वरूप नै बदलिएको रहेछ | म त चकित भएँ | साँझको समयको बेला मैले त कुन घर कसको हो भनेर ठम्याउन सकिनँ । कहिले उज्यालो खस्ला र बाहिर निस्कौंला भन्ने हुटहुटी लागिरह्यो । रातभर मनमा आफ्नो तन्नेरी हुँदाका बखत कुदेका खेलेका सहपाठी मित्रहरूसँगका पुराना कुराहरूको याद आइरह्यो । साँच्चै भन्ने हो भने म त्यस रात आफू जन्मेको घर र बजार हेर्न अति उत्सुकताले धेरै समयसम्म अनिदो नै रहेँ |

भोलिपल्ट नै मैले एसएलसी सम्मको अध्ययन गरेको श्री सिंह बाहिनी हाइस्कुल जाने अपूर्व मौका प्राप्त भो । श्री सिंह बाहिनी हाइस्कुलमा स्वागत र भेटघाटको कार्यक्रमा राख्नु भो प्रधानाध्यापक तेजबहादुर कार्कीजीले । सो स्कुल मेरो बुवा नारायण मान श्रेष्ठ     ( एन.एम.सर) ले दुई हजार चार सालमा स्थापना गरी संस्थापक प्रधानाध्यापक बनेर शुरु गर्नु भएको थियो | सम्पूर्ण शिक्षक, कर्मचारीवर्ग अनि विद्यार्थी भाइ बहिनीहरूसँग स्कुलको विषयमा जानकारी लिने अनि आफ्नो विचार राख्ने सुअवसर पाएँ |

अमेरिकाको भर्जिनियास्थित नेपालीहरूको सबभन्दा पुरानो संस्था “अमेरिका नेपाली समाज” एएनएसको सहयोगमा र श्री सिंह बाहिनी एलुम्नाई मार्फत एक लाख रुपैयाको जेहेन्दार छात्राको लागि स्थापना गरिएको छात्रवृतिको बारेमा जानकारी लिने अवसर पनि प्राप्त गरेँ | सोही अवसरमा दाइ डा.रामेश्वर मान श्रेष्ठ र भाउज्यू निर्मला श्रेष्ठको नाममा दाइले तत्कालै एक लाख रुपैयाको छात्रवृति कोषको लागि रकम जम्मा गर्नु भो | कार्यक्रम छोटो मिठो फलदायी बन्यो | स्कुल परिसर चाहार्न थाल्यौं | बुबा सञ्चालक समितिको अध्यक्ष हुँदा निर्माण गर्नु भएको छात्रबाससँगै अरू पनि दुई चार भवन थपिएछ | नयाँ बाटो र बजारको बीचमा अवस्थित स्कुललाई अझ विकसित गर्नुको लागि अझै थुप्रै कामहरू बाँकी नै रहेछन् | विकास र सुन्दर संरचना भविष्यमा बन्दै जाला, हो |

म त भावविभोर बनेको थिएँ जब “झिगु नेवा”का सम्बन्धित मित्रहरूले भेटघाटको लागि अप्रत्यासित रूपमा स्वागत कार्यक्रमको आयोजना गरेका थिए | बजारको विनास र विकासको साक्षी थिए उपस्थित सबै | विशिष्ट पदाधिकारी नारायण लाल श्रेष्ठले आफ्नो मातृभाषा नेवारीमा बोलेर नेवारी सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गरिराखेका छन् भन्ने कुरालाई प्रष्ट्याउनु भो | भाइ शुभ भगत अध्यक्ष रहेछन | बजारमा भएको भीषण आगलागीका बेला त्यहाँ उपस्थित सबै प्रत्यक्षदर्शी थिए | त्यो हृदयविदारक घटनाका साक्षी थिए ती मित्र, भाइ, बहिनी अनि अग्रज | सुन्दै आङ सिरिंग हुने दर्दनाक घटनाको बेलिबिस्तार लाए | जसले आफ्नो पितृले आर्जेको धन सम्पति, दावानलले दन दन दन्किरहेको कसरी हेर्न सके होलान् | सोच्दै अत्यास र कहाली लाग्दो घटना | बजारको पचहत्तर प्रतिसत घर जलेर खरानी भएको घटना थियो त्यो | एक दुई होइन अधिकांश साहु महाजन अनि व्यापारिक घर  जलेर खरानी बनेको थियो त्यो कालो साँझमा | सो घटनापछि थुप्रै बासिन्दा अनि व्यापारी अन्यत्र धरान, विराटनगर अनि काठमाण्डौतिर बसाइँ सरे | तर ती जो रहेका थिए ती तिनै थिए जो कर्मठ थिए | ती दृढ निश्चयी अनि लगनशील थिए | म त भन्छु ती जो त्यहाँ बसेर बजारलाई यति सुन्दर शहर बनाउनमा तल्लीन अनि लगनशील बनेका छन् ।  ती त फलाम झैं हुन्, इस्पात झैं हुन् | तिनले त्यहीँ जन्मेर हुर्केर आफ्नो सर्वस्व गुमेको आफ्नै आँखाले देखे भनौं विनास देखे आज तिनैले त्यस बजारलाई यति विकसित बनाए अझै विकास गर्दै छन् | के यो गर्नलाई सानो तिनो आँट र साहसले पुग्छ ? म ती तमाम अग्रज, मित्र अनि भाइ बहिनीहरूलाई यसै लेख मार्फत फेरि पनि सलाम गर्न चाहन्छु । मेरो जन्मस्थललाई यति सुन्दर अनि विकसित बनाउनमा यहाँहरूले गर्नु भएको योगदानको म हृदयदेखि नै कदर गर्दछु | त्यसको लागि ती सम्पूर्णप्रति मेरो हृदयदेखि नमन |

उहिले पूर्वी नेपालको पाँच नम्बर क्षेत्रमा रहेको तेह्रवटा थुमको मालपोत उठाउने मालअड्डा भएको कारणले तेह्रथुम नामाकरण भएको अग्रजहरू बताउने गर्छन् | म्याङ्ग्लुङ्ग देवीको उत्पतिको कारणले तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्ग्लुङ्ग बजार नामाकरण गरिएको प्राचीन अनि ऐतिहासिक शिलालेखबाट पुष्टि हुन्छ | खोरंगा खोला र पिंगुवा खोलाको बीच डाँडामा अवस्थित म्याङ्ग्लुङ्ग बजार मिलेको अनि सुन्दर पहाडी बजार हो भन्दा अत्युक्ति नहोला | माथिल्लो टोल, तल्लो टोल अनि पुतली बजारको मात्र पहिले नामाकरण गरिएको लामो बजार अहिले धेरै विभिन्न सडकको नामबाट परिचित छ | केउरिनी जाने तल्लो टोलको नाम अब नेपाल सम्वतको जननी “शंखधर साख्वा” को नाममा स्थापना गर्ने जमर्को गरिरहेको स्थानीय बासिन्दाले बताए | जो देश, काल, समय र परिवर्तन अनुसार सही हो भन्ने मैले ठानेको छु |

“तेह्रथुम साहित्य प्रतिष्ठान”को आयोजनामा “मेन्छेम रेडियो” तेह्रथुमको स्टुडियो भवनमा भव्य साहित्यिक कार्यक्रममा सहभागी हुन् पाउनु मेरो लागि अर्को एक सुखद र अविस्मरणीय संयोग थियो | मेन्छेम रेडियोले प्रत्यक्ष्य प्रशारण गरेको सो साहित्यिक कार्यक्रममा स्थानीय कवि तथा साहित्यकारहरूसँग कविता वाचन र साहित्यिक भलाकुसारी गर्ने अवसर मिल्यो | विशेषतः प्रवासमा नेपाली भाषा तथा साहित्यको विकासमा केन्द्रित रहेर त्यसको विकास, संरक्षण र संवर्धन र सम्बन्ध के कसरी गर्न सकिन्छ भन्नेमै केन्द्रित रहेर छलफल भयो |

कार्यक्रमले आत्मीयता र साहित्यिक सम्बन्ध अझ दरिलो भएको मैले निर्क्यौल गरेँ | बजारमा अवस्थित श्री कृष्ण पुस्तकालयको बजार आगलागीपछि नामोनिसान रहेनछ | २०२६ सालमा त्यही पुस्तकालयमा म र कवि विश्वविमोहन श्रेष्ठ भएर हस्तलिखित पत्रिका “तीनजुरे” निकालेर राखेको झल्झली याद आई नै रह्यो | साहित्यमा अरूभन्दा धेरै अग्रणी र विकास भएको तेह्रथुम जिल्लामा अहिले साहित्यको विकासको नाममा “तेह्रथुम साहित्य प्रतिष्ठान” स्थापना भएको देख्दा धेरै नै खुशी लाग्यो | संस्थाको अध्यक्ष दिपक कट्टेल र सो कार्यक्रममा सहजीकरण गर्ने प्रकाश धौलाकोटी र उपस्थित सबै मेरो साहित्यिक मनको एउटा विशिष्ट कुनामा समेटिएका छन् | जो शायदै मेटिएलान् |

बजारको विकासले छलाङ भनौँ फड्को मारेको नै मैले ठहर्याएँ | बिजुली र सडकको सञ्जाल गाउँ गाउँ पुगेछ | खोरंगा खोलादेखि बिद्युत निकाल्न विशाल जल बिद्युत आयोजनाको स्थापना गरेर द्रुत गतिमा विकास भै रहेको रहेछ | गाउँ गाउँमा बजाज टेम्पोले ट्याक्सीको सुविधा प्रदान गरेको रहेछ | स्कुल, कलेज, अस्पताल र नगरपालिकाका भव्य भवनले साँच्चै नै म्याङ्ग्लुङ्ग बजार त अब शहरमा परिवर्तन भै नै सकेछ | अब त नगरपालिका जो बनेको छ |

सरस्वती माध्यमिक बिद्यालयले आयोजना गरेको छोटो तथा भव्य कार्यक्रमले अझ सम्बन्ध धेरै नजिक्यायो | प्राथमिक बिद्यालयबाट शुरु भएको सो बिद्यालय आगलागी पछि तेह्रथुम कलेजसँगै नयाँ स्थान र नयाँ भवनमा माध्यमिक विद्यालय बनेर ठडिएको रहेछ | प्रधानाध्यापक गोविन्दराज श्रेष्ठले शिक्षक, कर्मचारी अनि विद्यार्थी वर्गसँग छोटो अनि मिठो अन्तरंग भलाकुसारी गर्ने समय मिलाएका थिए | सबैको माया, ममता अनि स्नेह बोकेर बिदा भयौँ |

२०१५ सालको निर्वाचनमा संसदमा निर्वाचित ९५ वर्षीय तेजमान तुम्बाहांगफेसंग र श्री सिंह बाहिनी हाइस्कुलको धेरै लामो समयसम्म शिक्षक रहनु भएका गुरु जगदीश कुमार श्रेष्ठ (जेके सर) सँगको भेटलाई मैले ऐतिहासिक र अविस्मरणीय मानेको छु | पुराना सहपाठी, अग्रज अनि मित्रहरूसँगको भेट अति नै स्मरणीय रह्यो | लाग्यो म फेरि आफ्नै बाल्यकाल अनि युवावस्थामा बजारमा घुमिरहेको छु |

तेह्रथुम बसाइको अर्को महत्त्वपूर्ण पाटो स्थानीय पाथिभरा मन्दिरको दर्शन र ओम शान्ति परिवारले आयोजना गरेको ध्यानमा सम्मिलित हुनु पनि हो | आजको व्यस्त समय र विभिन्न व्यवहारिक घटना परिघटनाले अव्यवस्थित, चञ्चल र अस्थिर बनाएको मनलाई दुवै धार्मिक अस्थाको केन्द्रमा पुगेर केही छिन् भए पनि शान्त अनि स्थिर बनाउने प्रयत्न गर्यौं |

सोच्नु, कल्पनु अनि यथार्थमा देखिनु अनुभवका यी विभिन्न तह हुँदा रहेछन् | प्रवासमा रहँदा पटक पटक सोच्ने गर्थें म्याङ्ग्लुङ्ग बजारमा रहेको मेरो घरको अगाडिको लहरै मिलेर ठडिएका लाँकुरिका रुखहरू बुढो भै सकेको होलान् ? घरको दायाँपट्टि आमाको मिहिनेतको  सुन्दर फूलबारीमा कसले पो पानी सिञ्चित गरिराखेको होला ? घरको बायाँपट्टि लटरम्म फल्ने विभिन्न फलफूलका रुखहरू सुन्तला, कागती, भोगटे, स्याउ, आलुचा, अम्वक अनि मेहेलको बडेमानको रुख अनि घर पछाडिको अनार अनि ठूलो हलुवावेदका रुखहरू अझै ठडिएकै होलान र ? शंका लाग्थ्यो | सोचेर पसिना पसिना हुन्थेँ | कल्पना गर्थें चाँडै फर्केर जान सके हुने | विधिको विडम्बना | समय आखिर पच्चीस वर्षपछि मात्र आयो |

तर यथार्थमा कहाँ त्यस्तो थियो र | नासपातीको रुखको बदलामा ठूलो दुइटा घर होइन भवन ठडिएको रहेछ | सुन्दर फुलबारी भएको ठाउँमा साना साना विद्यार्थी खेल्ने पार्क बनेको रहेछ | हलुवावेद र अनारको रुख भएको ठाउँमा बोर्डिंग स्कुलको लामो कक्षा भवन बनेछ | वरिपरि घरै घरको जंगलले मेरो विगतको सुन्दर र एकान्तको घर त शहरबीच कोलाहलको अभ्यस्ततामा अल्मलिएर छक्क अनि पक्क परेर टोलाइरहेको पो रहेछ | घर अगाडिको फुटबल खेल्ने ठूलो टुँडिखेल खुम्चिएर मोटरको पार्किङस्थल बनेर धुलो मुलो बनेर लमतन्न परेर बसेको रहेछ | मेरो घर यी सब देखेर उही रूप उही रंगमा बुढौली उमेरमा चाउरी परेर ठिंग उभ्भिरहेको पाएँ | अनि किंकर्तव्यविमूढ बनेर, उदास उदास बनेर सल्लाको रुख झैं विरहको गीत सुसेली रहेको पो पाएँ | मलाई देखेर अचम्म मानेर विस्फारित आँखाले रिसाएर थुप्रै प्रश्न एकैचोटि सोधे झैं लाग्यो | म नतमस्तक बनें | नाजवाफ बनें | लाजले शिर एकपटक निहुराएँ | तीन दिनको छोटो बसाइमा उसको रामकहानी सुन्ने फुर्सद मसँग कहाँ थियो र ! उसको प्रश्नलाई नसुने झैं गरेँ | खै जे जस्तो स्थितिमा रहे पनि बाँचेकै पाएँ | त्यही  धन्य  छ |

तिन दिनको छोटो बसाईमा पनि यति धेरै कार्यक्रम र भेटघाट गर्न सम्भव भएको कारण थियो बिन्जु श्री श्रेष्ठको सक्रियताले | नाताले उनी मेरो छोरी | मेरो माईला बुबाको जेष्ठ सुपुत्र भगवान दाईको छोरी हुन् | पेशाले श्री सरस्वती माध्यमिक बिध्यालयमा शिक्षिका, स्टेशनरीको पसल चलाउँदी रहिछन्, मिठो कविता लेख्छिन | तेह्रथुम साहित्यिक प्रतिष्ठानको सक्रिय सदश्य हुन् | थप ओम शान्ति परिवारमा स्वयम् सेविका पनि हुन् | उनको सक्रियता र सहभागिता इर्ष्यालाग्दो छ | यी सबैका बाबजुद पनि हामी छ जना उनकै घरमा पाहुना भएर रह्यौं | तीन दिन हाम्रो सम्पूर्ण ब्यबस्था तिनी एक्लैले गरिन् | भगवान दाई बिरामी भएर उपचारको लागि काठमाण्डौ बस्न थाल्नु भए पछि घरमा उनी एक्लै बस्छिन् | चोकको बिशाल घरमा बैंक र अरु अफिसलाई भाडामा राखेकी छिन | अबिबाहित | बिहान दुइ बजे उठेर योगा गर्छिन | धार्मिक प्रवृत्तीकी उनी पुजापाठ सकेर हामीलाई सबेरै चिया नास्ता तयार गर्छिन | उनको मिहिनेत र क्रियाशीलता देखेर हामी त अति नै प्रभावित बन्यौं | धन्य बिन्जु श्री | हाम्रो बसाई अति सुमधुर र फलदायी बनाएको सम्पूर्ण श्रेय उनी लाई नै छ |

म्याङ्ग्लुङ्ग बजार तेह्रथुमको भ्रमणको योजना र खाका तयार गर्ने बिराटनगर निबासी भाई सुरेश श्रेष्ठ र बुहारी अन्जली श्रेष्ठलाई जति नै साधुबाद भने पनि कम नै हुन जान्छ । कारण जोगबनी, बिराटनगर, धरान, धनकुटा अनि तेह्रथुमसम्मको यात्रामा जे जस्तो कार्यक्रम बन्यो, जो संग भेट भो, कार्यक्रम बन्यो सबै नै उनैले निश्चित र निर्देशन गरेका थिए | यात्रामा सम्मीलित दाई डा. रामेश्वर मान श्रेष्ठ भएर पनि हाम्रो यात्रा धेरै मनोरन्जक, रोमाञ्चक र फलदायी बनेको थियो ।