सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २०७८ साल फागुन १९ गतेदेखि २१ गतेसम्म तीनदिन सञ्चालन हुनेगरी आयोजना गरेको नेपाली साहित्य महोत्सव २०७८ मा सहभागिताको लागि निमन्त्रणा पाएपछि लामो दुरी पार गरेरै भए पनि धनगढी पुगेको थिएँ । विभिन्न व्यस्तता र जिम्मेवारीहरूलाई पन्छाएरै भए पनि महोत्सवमा सहभागी हुनुका केही कारण थिए । लुम्बिनी प्रदेशअन्तर्गत पाल्पामा बसेर प्राध्यापन र साहित्यिक क्रियाकलापमा संलग्न म व्यक्तिगत सामाजिक वा कुनै पनि प्रयोजनका लागि नेपालको पश्चिम भेगमा नपुगेकाले, मेरा लागि भौगोलिक दृष्टिले सुदूरपश्चिम क्षेत्रमा पाइला टेक्ने सुनौलो अवसर थियो यो । यस संस्थाले २०७६ सालमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मेलनमा जाने अवसर प्राप्त नभए पनि, विभिन्न सञ्चार माध्यमबाट त्यसबारे सूचना प्राप्त गरेको मेरा लागि साहित्यको विद्यार्थी भएका नाताले, प्रत्यक्ष सहभागी भएर त्यसप्रकारको सम्मेलनलाई अवलोकन गर्ने तृष्णा मनमा थियो नै । नेपाली भाषा साहित्यमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूसँग एउटै आँगनमा साक्षात्कार हुने मात्र नभएर, उनीहरूलाई नजिकबाट सुन्ने अवसर मेरा लागि विशेष महत्त्वको थियो । रामलालजीसँगको छोटो भेटका क्रममा गाँसिएको गहिरो मित्रतालाई प्रगाढ बनाउने मात्र नभई, वहाँलाई साथ दिइरहेका टिमका साथीहरूसँग समेत साइनो गास्ने सुअवसर प्राप्त हुनेछ भन्ने लालसा मनमा छँदै थियो । यिनै विभिन्न रहरले १८ गते दिउसो बटौलीको बस र ‘सुन्दर सुदूरपश्चिम’ लेखिएको सुदूरपश्चिम यातायात समातेर रात्रीबस हुँदै पुगेको थिएँ धनगढी ।

बसपार्कमै स्वागत गर्न आएका यातायात व्यवस्थापनको जिम्मा लिएका तोयनाथ भट्ट र आवास व्यवस्थापनमा सक्रिय गुणाकर पनेरूको सत्कारयुक्त देव तालिमकेन्द्रको स्वागत, बसोबासको व्यवस्थापनले प्रभावित बनेको मेरो कवि मन धनगढीवासी साहित्यमनप्रति कृतज्ञ भएको थियो । विभिन्न जिल्लाबाट धनगढीमा पुगेका सबै अतिथिका लागि व्यवस्थित बास र भोजन व्यवस्थापन देख्दा लाग्थ्यो यहाँको सरकार (स्थानीय र प्रदेश) तथा दाताहरू उदारमना रहेछन् ।

शङ्करप्रसाद गैरे

२०७८ फागुन १९ गते ११ बजे तोकिएकै समयमा उद्घाटन सत्रको आरम्भ भयो । सबै सहभागीका हातहातमा तीनदिनकै कायक्रम तालिका सहितको ब्रोसर उपलब्ध भयो । अचम्म लाग्दो कुरा बिहानदेखि साँझसम्मको समयतालिकामा कत्ति तलमाथि नहुने गरी कार्यक्रम अघि बढ्दै गयो । यसले सुदूरपश्चिमको समय अनुशासनको परिचय दिइरहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित सभासद् मन्त्री र मुख्यमन्त्री सबै विषय (साहित्य र समाज) मै केन्द्रित भएर बोलिरहेका थिए । ठूलो मञ्च पाएर हौसिएका थिएनन्, समय मिचेर बोलिरहेका थिएनन् । तोकिएकै समयमा उद्घाटन सत्र समाप्त भयो ।

उद्घाटन सत्रमा २०७७ सालमा कोभिडका कारण रोकिएका २०७६ सालका २० र २०७७ सालका २० गरी रु.१११०००/ देखि रु.११०००/ रासीसम्मका पुरस्कार वितरण भए । केही थान पुस्तकहरूको विमोचन, साँस्कृतिक झाँकी प्रस्तुत भए । कार्यक्रम सञ्चालक हरिकृष्ण कडायतको कुशल सञ्चालनकला प्रशंसनीय थियो । उद्घाटन सत्रको समापनका क्रममा समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रामलाल जोशीद्वारा व्यानरहरूमा स्थानीय सरकारहरू, ठूला साना संघसंस्थाहरूको नाम उल्लेख गरिए पनि कुनै पक्षबाट कार्यक्रमलाई सहयोगको लिखित सम्झौता नभएको जानकारीका साथै समाजको तीनतले भवन जनताको सहयोगमा सम्पन्न भएको भन्ने जानकारीले आश्चर्यचकित तुल्यायो । निश्चित आर्थिक स्रोतविना नै लाखौँ खर्च हुने कार्यक्रमको आयोजना कुन आत्मबलले सञ्चालन भैरहेको छ !

यो महोत्सव मात्र साहित्यिक महोत्सव थिएन । अनि सुदूरपश्चिमको मात्र पनि थिएन । नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्रष्टाहरूको आमन्त्रण भएको थियो कार्यक्रममा । उद्घाटन सत्रपछिको पहिलो सत्रमा ‘समाज, साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयमा राजेन्द्र बानियाका प्रश्नहरूको उत्तर दिइरहेका थिए नेकपा एमालेका महासचिव शंकर पोखरेल । दोस्रो दिन अर्थात् २०७८ फागुन २० गतेको छैटौँ सत्रमा ‘अल्झिएको राजनीति बल्झिएका सपना’ विषयमा टिकाराम यात्रीका प्रश्नको जवाफ दिइरहेका थिए देवप्रकाश त्रिपाठीले । ‘विकासका कुरा कति पूरा कति अधुरा ?’ विषयमा माननीय मन्त्रीहरूसँग शिवराज भट्ट प्रश्न गरिरहेका थिए ।

तेस्रो दिन अर्थात् २०७८ फागुन २१ गतेका दिनको तेस्रो सत्रमा ‘जनताको दृष्टिमा प्रदेश सभाका चार वर्ष’ विषयमा प्रदेशका प्रमुख दलका प्रतिनिधि सभासद्हरूसँग पत्रकार मनमोहन स्वाँरले प्रश्न गरिरहेका थिए । ‘मेरो सपनाको शहर’ विषयमा संजय दत्त र ‘राजनीतिमा आरक्षण अभिसाप कि अवसर’ विषयमा निर्मला खडायतले प्रश्न गर्दै थिइन् । यी बहसहरू सुनेर लाग्थ्यो यो महोत्सव राजनीति केन्द्रित छ, तर बहसहरू यिनै विषयमा मात्र केन्द्रित थिएनन् । ‘सुदूरपश्चिम विश्वविद्यालय स्थापना र प्रभावकारिता’ विषयमा गणेशराज जोशीका प्रश्नको जवाफ दिइरहेका थिए, उपकुलपति प्रा.डा. अम्मराज जोशी र पूर्व रजिस्टार प्रा. डा. हेमराज पन्तले । ‘विश्वविद्यालयमा नपुगेको साहित्य’ विषयमा राजकुमार बानियाले डा. तुल्सीप्रसाद भट्टराई, डा. महादेव अवस्थी र डा. लक्ष्मणप्रसाद गौतमसँग प्रश्न गरिरहेका थिए । यी बहस बौद्धिकता र सिर्जनात्मकता, हार्दिकताको मिश्रण थिए ।

भूपिन्द्र खड्काले ‘सिर्जनामा मित्रताको ऊर्जा’ विषयमा सरुभक्त र तीर्थ श्रेष्ठलाई प्रश्न सोधिरहेका थिए । डा. टी एन् जोशीले प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. प्रेमकुमार खत्री, प्रा.डा. कुसुमाकर न्यौपानेसँग लोकसाहित्यको महत्त्वबारे जिज्ञासा राखिरहेका थिए । अश्विनी कोइराला ‘संस्थाले धानेको साहित्य’का विषयमा राधेश्याम लेकाली, विवश पोखरेल, कल्पना खरेल, मनोहर लामिछानेसँग प्रश्न गरिरहेका थिए । नारायण ढकाल, नयनराज पाण्डे, उमा सुवेदीसँग दिपक सापकोटा ‘साहित्यमा पात्र जन्माउने विधिबारे सोधिरहेका थिए भने देवेन्द्र भट्टराई डा. ध्रुवचन्द्र गौतम र सनत रेग्मीसँग अलिखित साहित्यबारे जिज्ञासा राखिरहेका थिए । ‘साहित्यमा लिङ्गीय सकस’ विषयमा भूपेन्द्र खड्काका प्रश्नको उत्तर दिइरहेका थिए महेशविक्रम शाह, डा.शंकर गैरे, मञ्जिला शर्मा र कमला ओलीले । सुदूरपश्चिमको साहित्यबारे डिल्ली समर्पणसँग छलफलमा थिए सुदूरपश्चिमका युवा साहित्यकारहरू राज सरगम, ललित विष्ट, सोझो गाउँले र जनक रसिक । पुष्कर भट्ट ‘राजनीतिमा साहित्य र बौद्धिकताको प्रश्न’ बारे प्रश्न गरिरहेका थिए भने ‘आफ्नै कथा आफ्नै गीत’ विषयमा उमादेवी वादी र डिक्रा वादी उदीन बागचनका प्रश्नको उत्तर दिइरहेका थिए । यी सत्रहरूमा दलका नेताहरू, प्राज्ञिक, बौद्धिक व्यक्तिहरू स्रष्टा समालोचकहरूसँ सहभागी जनताले पनि आफ्ना जिज्ञासाहरू राखिरहेका थिए ।

निरन्तर रूपमा तीन दिन चलेका यी वार्ताहरू सुन्दा लाग्थ्यो सुदूरपश्चिमाञ्चल साहित्य समाज साहित्यमात्र होइन यस महोत्सवमा सुदूरपश्चिम प्रदेशको राजनैतिक, प्राज्ञिक, सामाजिक अवस्थाबारे नेपालका बौद्धिक वर्गलाई परिचित गराउन चाहन्छ र समग्र नेपाली साहित्यबारे सुदूरपश्चिमलाई परिचित गराउन चाहन्छ ।

पहिलो दिनको सन्ध्या सत्र काव्य बहस र काव्य सन्ध्यामा केन्द्रित रह्यो । लीला अनमोलले सहजीकरण गरेको काव्य बहसमा डा.नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, भूषिता वाशिष्ठले आफ्ना काव्य धारणा प्रस्तुत गरे भने करिब दुई दर्जन कविहरूले कविता वाचन गरे । यसको सञ्चालन तोयानाथ भट्टले गरेका थिए । दोस्रो दिनको सन्ध्या सत्र गजलमय रह्यो । बाबु त्रिपाठीले सहजीकरण गरेको यस कार्यक्रममा धनेन्द्र ओझाहरू आफ्ना धारणा राखिरहेका थिए । तारा पल्लवीको सञ्चालनमा करिब दुई दर्जन स्रष्टाहरूले गजल वाचन गरेका थिए । तेस्रो दिनको सन्ध्या सत्र सङ्गीतमय बनेको थियो । तिनै दिनको रात्रीकालीन सत्रलाई सुदूरपश्चिमको लोकसाहित्य, लोककला र सङ्गीतसँग आवद्ध गरिएको थियो ।

कार्यक्रममा सहभागी भैरहेका व्यक्तिहरू महोत्सवको व्यवस्थापनबाट विशेष प्रभावित भएको बुझिन्थ्यो भने विभिन्न सञ्चार माध्यमबाट विरोधमा विविध टीकाटिप्पणी पनि भैरहेका थिए । कसैले स्थानीय वा प्रदेशभित्रका स्रष्टा सहभागी हुन नपाएको गुनासो राखेको देखिन्थ्यो भने कसैले राजनीतिक आस्थाका आधारमा मञ्च प्रदान गरेको आरोप लगाइरहेका थिए । आफू आमन्त्रित हुन नपाउनु नै विरोधको मुख्य मनोविज्ञान देखिन्थ्यो ।

तेस्रो दिनको साँझ समाजका कोषाध्यक्ष गणेश नेपालीको औपचारिक बिदाइपछि समाजका उपाध्यक्ष तीर्थराज पाण्डेको सहयोगमा बसपार्कसम्म आई पहिलोपटक सुदूरपश्चिमको आतिथ्य ग्रहण गरेर गृह जिल्ला फर्किएको मेरो मनमा नेपाली भाषा साहित्यको उन्नयन र नेपालको सुदूर पश्चिमलाई माथि उठाउन तथा विश्वमा फैलिएका नेपाली भाषी स्रष्टाहरूलाई परिचित गराउन रातदिन नभनी लागिपरेका समाजका सदस्यहरूप्रति अगाध सम्मान छ । निस्वार्थ भावले साहित्य सेवामा लागेका यी नेपाली आमाका सपूतहरूप्रति गहिरो सम्मान र सद्भाव छ । पटकपटक नमन छ ।