
म सानो हुँदा सुनेको हुँ । मलायाको लाहुरे, हङकङको लाउरे भनेर । देखेको पनि हो मेरो बालसखा रुद्र सुब्बाको बुबा हङकङ बसेर फर्केका रे । इन्द्र माखिमको बुबा उतै मलायामा नै छन् रे । ब्रिटिसको लाहुरे पनि सुनेको नै हो । लाहुरे हुनु देश बाहिर जानु, पैसा कमाएर ल्याउनु र आफ्नो परिवारको अनुहारमा मुस्कान ल्याउनु नै हो । त्यस्तै तस्बिर थियो मेरो बाल मस्तिष्कमा । त्यस समय लाहुरेका घर गाउँ अलग्गै देखिन्थे । तिनका घर जस्ता पाताको हुन्थे जो वारिपारि सबैतिरबाट देखिने टलक्क टल्केका ठुलो घर हुन्थे । तिनका छोरा छोरीको रहन सहन र लबाइ पनि गाउँका भन्दा अलिकति अलग्गै हुन्थे । लाहुरेका घरमा रेडियो बज्थे । गाउँमा रेडियो बोकेर हिंड्थे निकै ठाँटका साथ ।
धेरै वर्ष लाहुरमा दुःख गरेर तिनले परिवारका मुहारमा खुशी र हाँसो लिएर आउँथे । तर ती बेलाका लाहुरेहरू अधिकांस विशेष जातिका मात्र हुन्थे । ती सुरा, बलिया र हिम्मतिला हुन्थे र मानिन्थे पनि । त्यसकै आधारमा नै ती भर्ना गरिन्थे ।
भारतमा ब्रिटिश शासन भएको समयमा ब्रिटिशहरूले नेपालबाट तन्दुरुस्त युवाहरूलाई सेनामा काम गर्नको लागि पाकिस्तानको लाहोर भन्ने ठाउँमा लाग्ने गर्दथे । त्यही लाहोर भन्ने ठाउँमा सैनिक प्रशिक्षण दिने गरिन्थ्यो । त्यही सेनाका रूपमा भर्ना भएका जवानहरूलाई नै नेपालीजन मानसले “लाहुरे” भन्न थाले । त्यहींबाट फर्केका सबैलाई नै लाहुरे भन्ने चलन चल्तीमा आएको हो भन्ने कुरा विद्वानहरूले भन्दै आएका हुन् । अहिले पनि गाउँठाउँमा लाहुरे भन्ने प्रचलन यथावत नै रहेको भेटिन्छ ।
त्यसैको बोलीचालीअनुसार सेनामा भर्ना हुने युवाहरूलाई लाहुरे भन्ने गाउँ ठाउँमा चलनचल्तीको भाषा बन्यो । त्यसैअनुसार नै कोही देशबाहिर गएकालाई लाहुरे भनेर व्यापक रूपमा भनिन थालियो ।

वसन्त श्रेष्ठ (अमेरिका)
पछिल्लो चरणमा लाहुरेको विभाजन भयो । कोही मलायाको लाहुरे, कोही हङकङ त कोही ब्रिटिश लाहुरेमा गनिए । यसरी नेपालबाट देश विदेशमा काम गर्न जाने प्रचलन पहिलादेखि नै हुँदै आए तापनि बीसको दशकदेखि यसको रूपमा नै फरक पर्न थाल्यो । पहिला सेनामा, व्यापारमा र शिक्षाको लागि मात्र विदेशिने नेपालीहरू अहिले संसारको कुना काप्चासम्म आफ्नो सुन्दर भविष्यको लागि पुगेको भेटिन्छ ।
विक्रम संवत् २०६२ /६३ सालको नेपालमा माओवादीको जन विद्रोहले नेपाली समाजमा नयाँ युगको रूपान्तरण गर्ने सन्दर्भमा भएको जन आन्दोलनले नेपाली समाजको स्वरूपमा नै आकाश जमिनको फरक परेको देखिन्छ । जन आन्दोलनले प्रभावित नेपाली समाजले गाँस, बास र कपासको लागि तेश्रो देशलाई विकल्प ठाने ।
मैले पनि देश छोडें सन् १९९४ सालमा ! लाहुरे बन्ने होडमा चै पक्कै होइन । सिर्फ दुई चार महिना अमेरिका भन्ने देश हेरेर फर्कने विचारले । अमेरिका भन्ने देश जहाँ मेरो बहिनी विवाह गरेर आएकी ऊ बस्ने देश हेर्न । ऊ कसरी कहाँ बसेकी छ ? त्यसको खैखबर आमालाई लिएर जाने सोचले पलाएको थियो अमेरिका आउने विचार ।
तर अपरिचित देश । अञ्जान शहर । कोही नचिनेका । कोही देख्दै डरलाग्दो देखिने मान्छेको जमात । आफ्नो भाषा नबुझ्ने । उनको भाषा त्यति नबुझिने । पाइला पाइलामा दुःखका दिन बढ्दै गएको अवस्था ।
आफ्नो भाषा बुझ्ने दुई चार जना पनि सातै दिन काम गर्ने । भेट रातमा एकछिन हुने । आफू दिनभर एक्लै कोठामा बस्नु पर्ने । एक हप्ता त अमेरिका आइपुगेको खुशीमै बित्यो । तर पछिपछि त कोठामा एक्लै हुँदा उच्चाट, नियास्रो र दिक्क लाग्न थालिसकेको थियो ।
न्यूयोर्कको अपार्टमेन्ट बिल्डिङ्गमा बन्दी जस्तै बनी हप्तौं हप्ता बस्नु पर्दा आफ्नो देश कहिले फर्कने भन्ने हुटहुटी नभएको कहाँ हो र ? आफ्नो भाषा र संस्कृतिको अभाव टड्कारो महसुस नभएको कहाँ हो र ? आफ्नो भाषाको नियास्रोपना न्यूयोर्कका ट्रेनमा यात्रा गर्दा जहिले पनि कानमा नेपाली गीत र संगीतले पूरा गर्ने कोसिस नगरेको कहाँ हो र ? नेपालीपन र मनको लागी नेपालीहरूको जमघट सानो होस् या ठुलो नै होस् जहाँ भए पनि नदौडेको कहाँ हो र ?
सन २००५ मा नेपालमा आफ्नो कान्छो भाइ शरदको विवाह । अमेरिकामै हुनु भएको आमा जानु हुने भो । परिवारको चाहना मात्र होइन आफ्नो पनि देश फर्कने उत्कट इच्छा तर आफ्नो व्यावसायको व्यस्तताले गर्दा कसै गरे पनि देश फर्कन असमर्थ रहें । सन् २००३ मा आफ्नी कान्छी बहिनी एलनाको विवाह नेपालमै गर्ने निश्चित भो । आमासँगै नेपाल जाने कार्यक्रम बन्यो । त्यस समयमा पनि आफ्नो विविध बाध्यता, विवशता र अनेकन कारणहरूले गर्दा त्यस पटक पनि आफ्नो नेपाल फर्कने उत्कण्ठा पूरा हुन सकेन ।
प्रवासमा रहेर आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्धन र विकासको लागि थुप्रै संघ संगठन स्थापित भए । ती प्रत्येक संस्थाले आफ्नो देशको कला, संस्कृती र भाषाक विभिन्न कार्यक्रमहरू गर्ने गरेकै हुन् । आफुले भ्याएको र सके जति ती सबै कार्यक्रममा उपस्थित हुन जहिले पनि कोसिस गरिरहें । प्रवासमा भएका ती कार्यक्रमले आफ्नो देशको तिर्खा केही क्षण मेटिए तापनि मन नभरिंदो रहेछ ।
खोरंगा खोला र तमोर खोलामा बगेको पानीले जुन शीतलता दिन्छ त्यो पोटोम्याक नदीको पानीले दिन सक्दो रहेनछ । मेरो देशको धरहराले प्रदान गर्ने जुन नेपाली हुनुको गौरव त्यो डिसीमा ठडिएको वाशिङ्गटन मोनुमेन्टले के दिन्छ र ? सिंहदरबार र संसद भवनको गरिमामय भवनले जुन न्यानो र आफ्नोपन दिन्छ त्यो यहाँको ह्वाइट हाउस र क्यापिटल हलको भवनले दिन सक्दो रहेनछ । जति वर्ष अमेरिकामा रहे पनि आफ्नो तीनजुरे, गुराँस र म्याङ्ग्लुङ्गको सम्झनाले घोचिरहन्छ । आफ्नो बालापन, हुर्केको बढेको माटो र स्थानले जीवनमा एउटा अमिट छाप छोड्दो रहेछ । जुन अविस्मरणीय बन्न पुग्दो रहेछ ।
तर एउटा कुरा चैं सत्य हो । आफू जहाँ गए पनि र जति बसे पनि त्यस ठाउँको हरेक भाषा, कला र संस्कृतिलाई आफ्नो भाषा, कला र संस्कृतिको झझल्कोले पर्दा लाउँदो रहेछ । भन्नुको मतलब छेकबार लगाउँदो रहेछ ।
शुरु शुरुमा अंग्रेजी गीतको संगीतमा मैले नेपाली गीतको संगीत खोजी हिंड्थे । यहाँको रहन सहन र बोलीमा पनि आफ्नैपनको कतै न कतै मेलोमेसो भेट्याएको पाउँथे । त्यसरी नै यहाँको चाड, पर्व र उत्सवहरूलाई मेरो देशको चाड पर्वसँग तुलना गर्दै एकरूपता भएको महसुस गर्ने गर्थें ।
जस्तै यहाँको थ्यांक्स गिभिंग डेलाई मैले आफ्नो दशैं जस्तो ठानें । किनकि थ्याङ्क्स गिभिङ्गको दिन पारिवारिक सहभोज गर्ने र पारिवारिक मिलनको चाडको रूपमा मनाउँछन् । हाम्रो दशैं पनि त परिवारको मिलन र विभिन्न पुजा पाठ गरी पारिवारिक साँस्कृतिक परम्परालाई अवलम्बन गरिन्छ । यहाँको हलोइन जात्रालाई मैले हाम्रै देशको गाईजात्रा पर्वको रूपमा भएको ठानें । त्यसरी नै यहाँको क्रिशमस पर्वमा हुने झलमल्ल बत्तीको रौनक र उल्लासमय रङ्गीन वातावरणलाई मैले आफ्नो देशको तिहार जस्तै भएर मनाएको ठानें । त्यसरी नै अन्य कतिपय पर्व, संस्कार र परम्परालाई हाम्रो उस्तैउस्तै जस्तो ठानेर आफूलाई समाहित गरेर उल्लासमयका साथ सो पर्व मनाएँ । त्यसैले म सोच्छु हामी आफू प्रवासिए पनि हाम्रो मन मस्तिष्कमा परेको छाप कतै पनि परिवर्तन नहुँदो रहेछ बरु उस्तैउस्तै जस्तो भएर खोज्दै हिंड्दो रहेछ ।
पटक पटक देश फर्कने कार्यक्रम बने पनि सबै असफल बने । ती आफ्ना सबै समस्या तगारा बनेर पहाड जस्तै बन्यो । न फोड्न सकियो न नाघ्न सकियो न त उक्लन नै सकियो । आफ्नो बहिनी विवाह गरेर आएको देश हेरेर फर्कने विचार गरेर आएको मान्छे, एक वर्ष होइन दुई वर्ष होइन पूराका पूरा दुई दशक नाघिसक्दा पनि आफ्नो देश, शहर र गाउँ फर्कन नसक्नुको पीडा । यो कस्तो पीडा बोकेर बाँचेको रहेछु म अहिले सम्झँदा पनि झसङ्ग झस्किन्छु ।
व्यक्ति प्रवासिए पछि फगत उसँग ऊ मात्र हुन्छ । ऊ सिर्फ एक्लो हुन्छ । उसको परिवार, साथी सङ्गी छिमेकी सबैसबै नै पछि छोडिन्छन । उसले फगत अपरिचितसँग परिचित बनेर मित्र बनाउनु पर्छ । कुनै पनि प्रकारको साथ, सहयोग, सल्लाह सिर्फ अपरिचितसँग गर्नु पर्ने बाध्यता हुन्छ ।
सन् १९९४ सालमा न्यू योर्कको क्विन्सको फ़्लशिङ्ग शहरमा पाकिस्तानी मित्रसँग एपार्टमेन्टमासँगै बसेका थियौं । म अमेरिका आएको त्यस्तै एक महिना भएको थियो । केही दिन त मलाई पकाएर ख्वाए । तर म आफैँलाई अप्ठेरो महसुस भयो । मलाई खाना बनाउन पटक्कै आउँदैनथ्यो । कति दिन अरूले बनाएको खान खाएर बस्ने । एक मनले त अहिले नै आफ्नो देश फर्कूँ जस्तो विचार पटक पटक आउने गर्दथ्यो । बाहिर जाऊँ कोसँग कसरी जाने । कोठामा बसौं कहिले मित्रहरू आउंछन र खाना बनाउँछन भनेर सोच्नु पर्ने । कति दिनसम्म त तयारी चाउचाउ मात्र खाएर पनि दिन कटाएको छु ।
केही दिन पछि मैले रुममेटलाई आफ्नो कमजोडी व्यक्त गरें । त्यसको बदलामा भाँडा वर्तन सफा गरिदिने र चुह्लाको सफाइ गर्ने जिम्मेवारी लिएँ । मित्रहरू पनि खुशी समस्या सुल्झिएकोमा म पनि खुशीखुशी भएँ । तर दुई चार दिनपछि एउटा अलिकति पाका उमेरका पाकिस्तानी मित्रले मेरो कामको खोट देखे । मलाई त वर्तन सफा गर्न पनि राम्रोसँग आउँदैन रहेछ । भाँडा वर्तन कसरी राम्रोसँग सफा गर्नुपर्छ भनेर सिकाएको अहिले म झल्झली सम्झन्छु । यो कुराले केही छिन त लज्जित भएको महसुस पनि गरें । सोचें हामी विना पूर्व तयारी, विना कुनै सिप अनि विना कुनै अध्ययन त्यसै परदेश जान हतारिंदा रहेछौं ।
समयमै आफ्नो देश फर्कन नसक्नुको पीडा खेप्दै दिन महिना र वर्ष गन्दै पूरा पूरा पच्चीस वर्ष पछि मात्र आफ्नो देश फर्कने साइत जुर्यो । पच्चीस वर्षपछि नेपाल पुग्दा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको भुइँको माटो हातमा लिएर भावुक बन्दै शिरमा लाएँ । … अनि मनमनै आफ्नो धर्ती मातासँग प्रण गरेँ – अब कदापि यति ढिला गरेर आफ्नो देश फर्कने छैन । आफ्नो परिवार र देश छोड्न साँच्चै नै गाह्रो हुँदो रहेछ । तर भविष्य कसले देख्न सक्छ र ?
लाहुरेहरू ब्रिटिशका होस् वा मलायाका सबै केही वर्षपछि, छ महिनाको छुट्टीमा आउने गर्दथे । चलनचल्तीमा नै थियो छ महिनाको छुट्टीमा आएको भन्ने । तर म प्रवासिएपछि विभिन्न कारण र बाध्यताले गर्दा आफ्नो देश, आफ्नो गाउँ फर्कन पनि दुई दशकभन्दा बेसी, पच्चीस वर्ष लाग्यो । तर जति नै वर्ष लागे पनि आफ्नो माटोको सुगन्धले म वशीभूत भएको थिएँ । त्यो बेला मलाई महसुस भयो, धर्तीको स्वर्ग भन्नुनै स्वदेश पो रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

