शब्दकोशले भन्छ  ‘साथी’ भनेको एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति, संगी हो । यसैगरी कुनै कामकुरामा साथदिने व्यक्ति,परिआएका बेलामा मद्दत गर्ने व्यक्ति, सहायक, सहयोगी र मद्दतगारलाई पनि साथी भनिन्छ ।

जीवनमा थरीथरी साथी भए । कोही जन्मैदेखिका साथी, कोही विद्यालय, कोही कलेजका साथी, कोही जागिरे जीवनका साथी, कोही लेखनका साथी जससँगै वर्षौँदेखि सङ्गत, सम्पर्क र सहबास भयो, भइरहेको छ ।

उहिले विद्यार्थी जीवनमा पत्रमित्रता गरियो । एकअर्काका भावना साटासाट गर्ने, आआफ्ना रुचि आदिबारे पत्रमार्फत नै परस्पर जानकारी गराउने, फोटो आदानप्रदान गर्ने गरियो । केहीसँग पछि भेटघाट पनि भयो । यस्तो भेटघाटमा गजब रमाइलो हुन्थ्यो, चिरपरिचितझैँ लाग्थ्यो किनकि आआफ्ना कुरा पत्रमा भनिएका हुन्थे ।

जागिरे जीवनमा पनि एकजना पत्रमित्र हुनुभयो । केहीवर्ष पत्राचार भयो, उमेरले उहाँ जेठो, यसैले उहाँ दाजु म भाइ भयौँ । कार्यव्यस्तताले पत्राचार टुटायो । तर संयोग केही महिना अघि मित्रहरूको सहयोगमा उहाँसँग पुनः सम्पर्क भयो । सम्बन्ध नवीकरण भयो । म्यासेन्जरमा अनुहार हेराहेर र प्रत्यक्ष कुराकानी गरियो, आहा कति रमाइलो ! बिछोडिएका आफ्नै दाजुभाइ भेटेजस्तो अनुभूति भयो ।

–––

चिनजान पहिचान छैन, यत्तिकै साथी बन्ने र यसरी बनेका साथीको गजबको चल्तीफिर्ती छ अचेल । न चिनजान पहिचान छ, न भेटघाट सम्पर्क नै तर पनि साथी  । आश्चर्य त के छ भने यी नै सबैभन्दा कडा छन् । यी हुन् फेसबुके साथी ।

साथी हुन पाएको छैन, ‘म्यासेज’गर्ने, तुरुन्तै जवाफ  चाहिने । अझ कतिले त हत्त न पत्त भिडियो कलगर्ने । कहाँ, के, कसो सबै कुरामा चासो । सबै चाहिने, मोबाइल नम्बर चाहिने । कतिले त ‘फलानो ठाउँमा भेटौंन’ पनि भनिहाल्ने निम्तो दिने । उनीहरूले पोस्ट गरेका सामग्री सबै मन पराइदिनुपर्ने, वाहवाही गरिदिनुपर्ने, नकारात्मक टिप्पणी गर्नै नहुने, अचम्मका हुन्छन् यी साथी । यी जोखिमपूर्ण साथी हुन् र यी सँगको मित्रता जतिखेर पनि टुट्न सक्छ ।

कतिपय यस्ता साथीको काम अनावश्यक सामग्री  ‘ट्याग’ गर्ने, आफ्ना पारिवारक फोटो, घुमफिरको फोटो, मतलबै नभएका सामग्री ‘ट्याग’ गरेर हैरान, हटाउँदैको हैरान !

कोही ‘प्रोफाइलपिक्चर’ फेरेको फेर्यै । हत्तेरी गाँठे ! कति फुर्सदिला हौँ, कतिजाँगरिला हौँ, कति सक्रिय हौँ हामी ? आफ्नो जिम्मेवारी पूरा गर्न, आफ्नो कर्तव्य निर्वाह गर्न पनि यत्तिकै सक्रिय भैदिए यो देश कहाँ पुगिसक्दो हो, कति माथिपुग्दो हो–?––

कतिपयका आफ्नै स्वार्थ हुन्छन्, कतिपयका समस्या । अनि मन बहलाउने, कुरा बटुल्ने यताका कुरा उता, उताका यता बनाउने, नारदको भूमिका निर्वाह गर्ने, नभएका कुरा पनि बनाउने, साथी–साथीबीच वैमनस्य सिर्जना गरिदिने, छँदाखाँदाको मित्रतामा आशंका उत्पन्नग रिदिने र भइरहेको मित्रता प्रभावित गरिदिने पनि कतिपयको नियत हुन्छ वा भनौँ कतिपयको त यस्तो खेती नै पनि हुन्छ । यसमा कमजोरी साथी हुनेको होइन, नचिनी, नबुझी, नजानी साथी स्वीकार गर्ने, साथी बनाउनेको हुन्छ  । वास्तवमै, नचिनेका नजानेकालाई साथी बनाउनु बनाउनेकै अर्थात् अनुरोध स्वीकार गर्नेकै कमजोरी हो ।

एउटा असल साथीले सुखदुःखमा साथ दिन्छ । यस्ता फेसबुके साथीको के काम ? कतिखेर कामलाग्ने यी ? नबनाए भैहाल्छ नि तर  ‘यतिका साथी छन्’ भन्दा गर्व हुने हो कि बुझिनसक्नु छ ।

तस्बिर नै नक्कली राखेर नक्कली खाताखोलेर अलमल्याउने, झुक्याउन खोज्ने पनि प्रशस्त छन् यो फेसबुक बजारमा तर ती मध्ये ९० प्रतिशत तुरुन्तै चिनिन्छन् केहीचाहिँ अलि दिनमा चिनिन्छन् ।

पंक्तिकारले चाहिँ साथी हुन नभ्याउँदै नानाथरी कुरा गर्न आउनेलाई साथी सूचीबाट हटाउने गरेको छ । नक्कली तस्बिर राख्ने, तस्बिर विहीन र  ‘फेक आइडी’को आशंकाको घेरामा परेकालाई छिटै बिदादिने गरेको छ ।

कस्ताकस्ता सस्त्र–अस्त्र बनेका छन् जसले चाहे जति टाढा प्रहार गर्न सक्दैनन् । तिनको दूरीको सीमा छ । तर फेसबुक यस्तो क्षेप्यास्त्र बनेको छ यसले जहाँबाट जहाँ पनि प्रहार गर्न सक्छ, जसरी जतिखेर पनि प्रहार गर्न सक्छ, चाहिँदो नचाहिँदो बिरोथ, समर्थन र विवाद सिर्जना गराउन सक्छ, बवण्डर मच्चाउन, अशान्ति सिर्जना गर्न सक्छ ।

कसलाई बनाउनु कसलाई नबनाउनु ? कसलाई पत्याउनु, कसलाई नपत्याउनु ? साथीबन्ने अनुरोध आउँछ, यसो हे¥यो यत्तिको सम्मलाई त बनाउँदा हुन्छ जस्तो ठान्यो, प्रस्ताव स्वीकार ग¥यो, साथीबनायो, उही नसोचेको र शंकास्पद निस्कन्छ । जब एउटा अपरिचित व्यक्ति साथी बन्ननपाउँदै उसलाई मोबाइल नम्बर चाहिन्छ, ठाउँ ठेगाना जुन सबै प्रोफाइलमा छ , लुकाइएको केही छैन, हेर्दैन, बरु कहाँ ? के  ? कसो ? भनेर सोधखोज गर्न थाल्छ भने ऊप्रति शंका नजन्मोस् त ? उसको नियतमाथि प्रश्न नउठोस् त ?

‘धत्, यस्तो पनि हुन्छ’ बा हजुरबाकापालामा सम्बन्ध जोड्न फेसबुक चाहियाथ्यो र ? भन्ने लाग्छ । यसो भनेर छाडिदिऊँ यसलाई जस्तो पनि लाग्छ । तर के गर्नु सूचना प्रबिधिको युग, कहिलेकाहीँ यसैले राम्रा कुराको जानकारी दिन्छ, घटना दुर्घटना बारे जानकारी पाइन्छ यसैले छाड्न पनि सकिंदैन ।

–––

कति साथी भनाउँदाहरू तिनका पोस्टमा ‘लाइक’ गरिदिने चाहना राख्छन्, केही हुँदैन के मन पराउनु ? आफूले गरेका पोस्टमा मतलब छैन, जिउँदो मर्दो थाहा हुँदैन, तिनलाई साथी बनाएर के गर्नु ?

हत्त न पत्त व्यक्तिगत कुरा खोज्ने फेसबुके तुरुन्तै  ‘ब्लक’वा ‘अनफ्रेण्ड’मा पर्छन् । नकारात्मक सूचना फैलाउने र हल्लाकापछि लाग्नेहरूले पनि सम्बन्धमा  निरन्तरता  पाउँदैनन् । कतिपय केही दिनका पाहुना हुन्छन्, तिनका गतिविधि नियाल्दै जाँदा बहिष्कृतमा पर्छन् ।

साथीबनाउनु पनि जोखिम छ यो फेसबुकमा ।

पाँच हजार साथी छन् झण्डै । तीमध्ये दुई–तीन सय मुस्किलले जिउँदा अरू सबै एकप्रकारले मृत । कतै साइँसुइँ भए, कुनै प्रतिक्रिया जनाए पो त जिउँदो ठान्नु ? आफ्ना पोस्ट राख्न जाग्ने अरूकामा वास्ता नगर्ने । नलनाता, आफन्त, इष्टमित्र पनि उस्तै ।

आफू चाहिँ यसो अक्षर लेखिटोपल्ने भएकाले कहिलेकाहीँ यसो प्रकाशित भएका रचना सामग्री पोस्ट्यायो, पाँचहजारमा तीनसयले लाइक गरे वा सय जतिले प्रतिक्रिया जनाए भने त्यही ठूलो उपलब्धि । कठै फेसबुक ! कठै फेसबुके साथी !

पंक्तिकारको कुरा गर्दा अहिले पनि झण्डै ६० जना साथी हुन अनुरोध गरी स्वीकारको प्रतीक्षामा हुनुहुन्छ । निष्क्रियलाई हटाएर खाली हुने ठाउँमा प्राथमिकताको आधारमा अनुरोध स्वीकार गर्ने क्रममा हेर्दा पाका लागेका केही दिनदेखि साथीबन्ने प्रतीक्षामा रहेका एक व्यक्ति यसै साता साथी सूचीमा थपिए । अघिल्लो साँझ साथी सूचीमा थपिएका उनले भोलिपल्ट विहान ५ बजे नै  ‘नमस्कार फलानाजी’ भन्दै एकदमै चिरपरिचितझैँ सन्देश पठाए । ससम्मान अभिवादन फर्काएँ । त्यसपछि त के चाहियो, धाराप्रवाह रूपमा अघि बढ्न थाले । कहाँ ? के ? कसो ? भन्दै काम, ठाम, गाम सबै पो सोध्नथाले आफ्नो ठाउँ ठेगाना, हालको बसोबास बताउँदै । मोबाइल नम्बर राखे आफ्नो र नम्बर मागे । अझ अघि बढेर लेखे  ‘फलाना फलानालाई पनि बोलाउँछु ,एकदिन भेटघाट गर्नुप¥यो’ तीनाम केही चर्चित साहित्यकारका नाम लिँदै ।

तस्बिर हेर्दा पाका तर पारा केटौले । ‘तन बुढो,मन तन्नेरी’ भनेको यही होला शायद भन्ने लाग्यो । चाला निको लागेन । यो देखेर मैले यति हतार गर्ने मित्रलाई आफ्नो मोबाइलनम्बर दिइरहन उचित ठानिनँ । सन्देशको जवाफ दिंदै गएँ तर नम्बरको हकमा  ‘यहाँको मैले पाइहालें, मलाई फुर्सद भएको बेला मै कल गरुलाँ’ भनेर कुरो टुङ्ग्याउन, पन्छिन खोजेँ ।

तर त्यसपछि पनि उनी रोकिएनन् बरु लेखे  ‘फोन नम्बर नदिने हो भाइ, मसित त्रसित किन ? हाहा …’

मैले जवाफ दिएँ  ‘त्रास मान्नुपर्ने कुनै कारण छैन । निम्तो गरिहाल्नुभयो,यहाँको नम्बर छँदैछ, परिस्थिती सहज भएपछि मेरो अनुकूलतामा यहाँसँग सम्पर्क गर्नेछु, धन्यवाद नमस्कार ’

यसपछि उनले  ‘ओके बाइबाइ’ लेखे । म भने छिटै उनलाई साथीबाट हटाउने निर्णयमा पुगिसकेको थिएँ ।

अब चुप लाग्लान् भन्ने ठानेको त त्यसको केहीबेरमै अर्को सन्देश आयो । ‘ओके बाइबाइ’भन्ने सन्देश मेटी उनले फेरि प्रश्न गरे  ‘फोन नं. किनदिनचाहनुहुन्न ?’

अब झन् साँच्चिकै सशंकित हुनु परेन ?

त्यसपछि मैले वास्ता गरिन । किनको जवाफदिइनँ ।

एकछिनमा त उनी आफैँ साथीबाट अलप भएछन् । जे भयो राम्रै भयो । एकराते साथी यसरी बिदाभए । उनीसाँगको सन्देश आदानप्रदानको स्क्रिनसट मसँग सुरक्षित नै छ, जुन मैले यिनलाई हटाउनु पर्छ भन्ने निर्णय लिएसँगै खिचेको थिएँ  ।

–––

सामाजिक सञ्जालले दुनियाँलाई सानो बनाएको छ । मानिसहरूलाई नजिक बनाएको छ, राम्रो कुरा हो । तर यो एउटा यसैयसै हराउने,भ्रम फैलाउने, बिना कारण जेलिने जञ्जाल पनि बनेको छ । एउटा सच्चा साथी बन्न कत्रो लामो समय लाग्छ ? साथ सङ्गत हुनुपर्छ व्यवहार हुनुपर्छ, साथसाथै सुखदुःखभोगेको हुनुपर्छ । यहाँ त छिनभरमा साथी, अनि के, कसो, कहाँ ? नानाथारी र व्यक्तिगत तथा पारिवारिक कुरासम्म चासो । अझ अचम्म त के छ भने जो अनुरोध गरेर साथी हुन आयो उसैका ठूला कुरा । केटाकेटी खेल हो साथीबन्ने कुरा ? साथीको कत्रो महत्त्व छ । तिनलाई के थाहा ?

साथी त थरीथरी हुन्छन् नि, एकै थलोमा जन्मे हुर्केका, विद्यालाय कलेजमा सँगै पढ्ने सबै साथी, जागिरका सहकर्मी सबै साथी । सँगै लेखपढ गरेका, एकअर्कालाई राम्रोसँग चिनेका साथी पो साथी, एकै संस्थामा जागिर खाएका, सँगसँगै काम गरेका लामो समय उठबस गरेका साथी पो साथी । यात्रामा सहयात्री पनि साथी तर ती फरक र गन्तव्य नपुगेसम्मका साथी । एउटा असल साथी बनाउन, दिगो मित्रता कायम गर्न कति लामो समय लाग्छ सोचौँ त ? अँ नियी सामाजिक सञ्जालका साथी जो कहाँबाट कतिखेर टुप्लुकिन्छन्, फुत्त निस्कन्छन् र कुन स्वार्थ पूरा गरेर कतिखेर कता लाग्छन्, भाग्छन्,  हराउँछन् थाहा पत्तो हुँदैन ती पनि साथी ?

अहँ हुँदैन, त्यस्ता साथीको भर पर्नु हुँदैन । यसैले कृपया साथीको महत्त्व नघटाऊँ । सामाजिक सञ्जालभित्र पनि प्रत्यक्ष भेटिएका, चिनिएका, बुझिएका र थाहा पाएकालाई मात्र साथी बनाऊँ । सामाजिक सञ्जालको सदुपयोग गरौँ, अनि हराउने होइन सञ्जालमा रमाऊँ ।