
जीवनको उत्तरार्द्धमा विगतका घटना र सम्झनाले जीवनमा सकारात्मक उर्जा प्राप्त गर्ने गर्छ भन्ने सुनेको थिएँ । म पनि विगतका थुप्रै यादहरूलाई समेटेर केही कोर्ने गर्छु । जब ती यादहरूलाई म अक्षरको माला पहिराउँछु तब मेरो सामुन्ने ती घटना परिघटना अनि अनुहारहरू सर्लक्क आफ्नै आँखा अगाडि देखा पर्छन् । तब मभित्र बर्षौं पुरानो जोश, जाँगर र उत्साह उर्लेर मनभरि छचल्किन्छ । यिनै हुन् मेरा रहस्यको कुरा । मैले लेख्ने कारण । त्यसैले ती विगतका कुरालाई कोट्याई कोट्याई लेख्न बस्दैछु ।
सम्वत २०३९ सालको कुरा हो, पाँचथरको फिदिम बस्दाको । बुबा नारायणमान श्रेष्ठ ‘नारायणमान निर्माण सेवा’ मार्फत पाँचथरको फिदिमस्थित पन्ध्र शैय्याको अस्पतालको निर्माण कार्य गर्दै गर्नुहुन्थ्यो । सोही अस्पताल निर्माण गर्दैगर्दा अचानक केही दिनको बिरामीले बुबाको देहावसान भयो । त्यसपछि सो निर्माण कार्य सम्पन्न गर्न मैले निर्माण कार्यको बागडोर सम्हाल्न थालेँ । म त्यस बेला बर्खान्तको पहिरनमै थिएँ । जुन बेला रानीको फिदिम भ्रमण हुने खबर थाहा पाएँ ।
तत्कालीन बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाहको पाँचथर जिल्लाको सदरमुकाम फिदिममा भ्रमण गर्ने कार्यक्रम बनेको रहेछ । जिल्लाको विकास निर्माण आयोजनाको निरीक्षण गर्नु र बालमन्दिर भवनको उद्घाटन गर्नु पनि रहेको रहेछ । निर्माणाधीन “पन्ध्र शैय्याको अस्पताल”को निरीक्षण भ्रमण गर्ने पनि कार्यक्रम रहेको रहेछ । सिडियो, डाक्टर र सभापतिको सल्लाह बमोजिम बडा महारानीको सम्मुख सेतो पहिरनमा ( बर्खान्त बारेको कारण ) उपस्थित नहुँदा राम्रो भन्ने सल्लाह बमोजिम रानीको सम्मुख उपस्थित नहुने भएँ म । मैले निर्माण गर्दै गरेको सो अस्पताल भवन निर्माण कार्यको प्रगति विवरण सार्वजनिक निर्माण शाखाका इन्जिनियरले नै प्रस्तुत गर्ने निर्णय गरियो ।
रानीको भ्रमणको दिन र समयमा म अस्पताल निर्माण कार्यको पारिपट्टि अवस्थित नेत्र थापाको घरमा थिएँ । मसँगै जिल्ला विकास समितिका नायब सुब्बा गोविन्दप्रसाद न्यौपाने पनि थिए । त्यही नेत्र थापाको घरको एउटा कोठाको झ्यालबाट रानीको भ्रमणको दृश्य हामी अवलोकन गर्दै थियौँ । गोविन्द न्यौपाने चैं बाहिरबाट आएका कुनै सरकारी सुराकीले आफूलाई चिन्लान् भनेर कोठा भित्र थुनिएको थिए । म चैं बुबाको वार्षिकीको आशोच बारेको कारणले घर भित्र बसेर झ्यालबाट हेर्ने रमिते बनेको थिएँ ।

वसन्त श्रेष्ठ (अमेरिका)
गोविन्दप्रसाद न्यौपाने झापा काण्डमा संलग्न रहेका एक वरिष्ठ नेता थिए । भारतका नक्सलवादी समुहबाट प्रभावित झापामा नेपाल कम्युनिष्ट पार्टीको एक समुहले शोषक सामन्त सफाया गर्ने क्रान्तिकारी आन्दोलन चालेका थिए । भारतका नक्सालवादी नेता चारु मजुमदारदेखि यी प्रभावित मानिन्थे । क्रान्तिकारी क्रियाकलाप जसको जोत उसैको पोत भन्ने नाराका साथै शोसक र सामन्तको सफाया गर्ने रणनीति अनुरूप यी समुहले झापाका केही धनाढ्यको सफाया पनि गरिसकेका थिए । यही आरोपमा गोविन्द न्यौपाने पनि धेरै वर्ष जेल जीवन बिताएर निस्केका थिए ।
सो चर्चित आन्दोलनका प्रमुख नेताहरूमा राधाकृष्ण मैनाली, सिपि मैनाली अनि मोहन चन्द्र अधिकारी आदि खुब चर्चित नाम थिए त्यस समयमा । वर्गीय असमानतालाई निर्मुल गर्ने अभिप्रायले शोषक सामन्तलाई सफाया गर्ने अभियानका यी क्रान्तिकारी आन्दोलनका एक नेता थिए । गोविन्द न्यौपाने त्यस समयमा आफ्नो स्वास्थको कारणले पार्टीसंग केही समय बिदामा बसेका रहेछन् । त्यही बिदामा रहँदा कसैले चिन्दैन्न भनेर पाँचथरको फिदिममा भूमिगत तवरले जिल्ला विकास समितिको कार्यालयमा स्थानीय कर्मचारीको हैसियतले नायब सुब्बामा कार्यरत रहेका थिए ।
बहुचर्चित झापा काण्डका नेता तथा साक्षी गोविन्द न्यौपाने मसंग खुब मिल्थ्यो । हाम्रो महिनावारी खाना खाने समय पनि प्रायः एउटा नै होटल थियो । शिष्ट, मिलनसार, सहयोगी र अध्ययनशील भएको कारणले उनी प्रायः धेरैका मन पराइएका व्यक्तिमा गनिएका थिए । प्रायःजसो हामीसंगै हुने गर्थ्यौ ।
उनको क्रियाकलापमा कसैले शंका गर्दैनथे किनकी उनका कुनै पनि क्रियाकलाप अस्वाभाविक लाग्दैनथ्यो । मसंग उनी खुलेरै विगतका राजनीतिक क्रियाकलापको बेलीविस्तार लाएर सुनाउँथे । उत्सुकताको कारणले म थुप्रै प्रश्न सोध्थें । झापा घटनाका हरेक कथाहरू म दिलचस्पी लिएर सधैं सुन्न मन पराउँथे । उनी झर्को नमानी कुराको बेलीविस्तार लाउँथे । ती बेलाका कुरा सुन्दा जीउ नै सिरिङ्ग पार्ने मात्र होइन तिलस्मी कथा जस्ता लाग्दथे । झापा काण्डमा पक्राउ परेका पन्ध्र जना बन्दीहरू नख्खु कारागार फोडेर भाग्न सफल पनि भएका थिए । त्यसैले त्यो घटना नेपालमा चर्चाको बिषय बनेको थियो । त्यही समयमा शिक्षा शाखाको अधिकृत रेख ब्लोन पनि त्यतिबेला पाँचथरमा निकै सक्रिय थिए । रेख ब्लोन इलामबाट पछि पक्राउ परेका थिए । स्थानीय सक्रिय व्यक्तिहरू द्रोणजी, सुर्यजी समेत सबै मसंग उनीहरूका क्रियाकलापबारे खुलेरै कुरा गर्दथे । उनीहरूका कार्यक्रमको बारेमा जानकारी पनि दिने गर्दथे । थाहा छैन मलाई किन त्यति विश्वास गर्थे ।
त्यति बेला पाँचथरको जिल्ला हाक्ने हाकिमहरू मध्येमा सिडियो टिकादत्त निरौला, प्रहरीका डिएसपी दिपेन्द्र बहादुर बिष्ट, जिल्ला विकास समितिका सभापति अईन्द्र बिक्रम थाम्सुहाङ्ग र शाही नेपाली शेनाका मेजर बिष्णुसिंह बस्नेत संग मेरो सम्बन्ध धेरै नजिकको र राम्रो थियो । प्रायः कार्यालय समय अगाडि बिहान र कार्यालय समय पछि बेलुकाको जमघटमा हाम्रो भेटघाट भै नै रहन्थ्यो । बिहान हामी अतिथिगृह अगाडिको ब्याडमिन्टन कोर्टमा भेला हुने गर्दथ्यौं । सभापति र डिएसपीको एउटा टिम बन्थ्यो भने मेरो र सिडियोको एउटा टिम हुने गर्दथ्यो । सौहार्द वातावरणमा ब्याडमिन्टन खेल्ने गर्दथ्यौ । खेल बडो रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने गर्दथ्यो । जसले गर्दा बजारका प्रायः थुप्रै दर्शकहरू बिहान सो खेल हेर्न उपस्थित हुने गर्दथ्यो । खेलमा हार्नेले बेलुकाको खाजाको बन्दोबस्त गर्ने नियम होइन समझदारी जस्तै नै थियो । मेरो सबैसंग बडो राम्रो सम्बन्ध थियो ।
सभापति अईन्द्र बिक्रम थाम्सुहाङ्गसंगको मिठो सम्बन्धको कारणले तत्कालीन गृहमन्त्री पद्मसुन्दर लावतीसंग मेरो धेरै राम्रो र नजिकको सम्बन्ध थियो । गृहमन्त्री पद्मसुन्दर लावतीको पाँचथर जिल्ला भ्रमणको क्रममा एक दुई पटक गाउँको भ्रमण गर्ने कार्यक्रममा मलाई पनि टोलीमा समावेश गरेका थिए । भ्रमण टोलीमा रहेर पाँचथरको दुई चार गाउँ भ्रमण गर्ने अवसर मलाई पनि प्राप्त भएको थियो । जिल्ला सभापति अईन्द्र बिक्रम थाम्सुहांगले जिल्ला विकास समितिको अधिवेशन होस्, वर्गीय संगठनको सम्मेलन होस् या अन्य कुनै भेला सभा समारोहको उद्घोषण गर्ने जिम्मा मलाई दिन्थे । त्यही कारणले गर्दा जिल्लाको प्राय: वर्गीय संगठनको पदाधिकारीदेखि पञ्चायतका सबै तहका नेताहरूसंगको मेरो राम्रो र आत्मीय सम्बन्ध थियो । पञ्चायती व्यवस्थाका जल्दाबल्दा नेता तथा पहरेदारहरूसंगको विश्वासको कारणले सबैसंग मेरो सुमधुर सम्बन्ध कायम भएको थियो ।
विक्रम सम्बत २००७ सालमा नेपालमा प्रजातन्त्र प्राप्तिपछि बनेको नेपाली कांग्रेसको मन्त्री मण्डलमा पाँचथर अम्लाबुंगका देवमान आङ्ग्देम्बे मालपोत उपमन्त्री बनेका थिए । बुबा नारायणमान श्रेष्ठ तेर्हथुम म्याङ्ग्लुङ्ग बजारमा श्री सिंह बाहिनी हाइस्कुल २००४ सालमा स्थापना गरेर अध्यापन गरेर बस्नु भएको थियो । पढे लेखेको भएको कारणले बुबालाई उनको सरकारी सहायकको रूपमा सरुवा बढुवा नियुक्ति गरेका थिए । बुबाले मालपोत उपमन्त्री देवमान आङ्ग्देम्बेको सरकारी सहायक नियुक्त भएर कार्य गर्नु भएको कारणले हाम्रो उनको परिवारसंग पारिवारिक सम्बन्ध स्थापना भएको थियो । बुबाले फिदिममा निर्माण गर्दै गर्नु भएको पन्ध्र शैय्याको अस्पतालको निर्माण कार्यमा उनका काँहिला छोरा कृष्णराज आङ्ग्देम्बे व्यवसायी सहयोगी बनेर सहकार्यमा निर्माण गर्दै गरेका थिए । देवमान आङ्ग्देम्बेको परिवारका प्रायः सबै नेपाली कांग्रेसका नेता भएको कारणले सम्मानित पदाधिकारीमा आसिन थिए । देवमानका माहिला छोरा प्रेमराज आङ्ग्देम्बे वीपी कोइरालाको मन्त्री मण्डलमा मन्त्री थिए । साँहिला छोरा बडाहाकिम । काइंला कृष्णराज जिल्ला सभापति, कान्छा छोरा घनेन्द्र प्रधान पञ्च भएका थिए ।
पाँचथर जिल्लाको नेपाली कांग्रेसमा आङ्ग्देम्बे परिवारको साख र दबदबा अहिलेसम्म पनि कायम छ भन्दा पनि हुन्छ । पाँचथरको अम्लाबुङ्गस्थित देवमान आङ्ग्देम्बेको घरमा उनीसंग भेट्न म धेरै पटक गएको छु । बुबाको कारणले मलाई अति नै माया र प्रेम दर्साउने गर्थे । उनको मृत्यु पछि पनि उनका सबै छोराहरूसंग मेरो राम्रो सम्बन्ध थियो ।
एकपटक प्रेमराज आङ्ग्देम्बेले सानो भेलामा मलाई देखाएर अहिलेको एक प्रजातान्त्रिक युवा भनेर प्रस्तुत गरेको अहिले पनि सम्झन्छु । वीपीको मेलमिलाप दिवसको दिन पाँचथर कांग्रेसका नेता दिपक प्रकाश बास्कोटाले निमन्त्रणा गरेका थिए । पूर्णप्रकाश शर्मा, दिपक बास्कोटा आदि संग मेरो अति नै आत्मीय थियो । पछिल्लो चरणमा यी दुवै नेपाल सरकारको मन्त्री भए ।
पञ्चायती व्यवस्थाको जगजगाउँदो अवस्थामा मेरो पाँचथर फिदिममा आफ्नो निर्माण कार्य व्यवसायको सिलसिलामा करिब चार वर्ष बसेको थिएँ । बुबाको असामयिक निधनले मैले सो निर्माण व्यवसाय सम्हाल्नु परेको अवस्था थियो । परिस्थितिले आफ्नो अध्ययन छोडेर सो निर्माण कार्यमा लाग्नु परेको थियो । आफ्नो जीवनको बहुमुल्य युवा उमेरमा मैले बुबाको व्यवसायलाई निरन्तरता गर्नु परेको बाध्यता थियो ।
आफ्नो त्रिचन्द्र कलेज अध्ययनताका नै मैले प्रगतिशील धारको एक साहित्यिक पत्रिका “पुर्वेली धुन” प्रकाश गरिसकेको थिएँ । त्रिचन्द्र कलेजको विद्यार्थी राजनीतिमा आफू निकै नै सक्रियताका साथ सहभागिता जनाउँदै आएको थिएँ । आफ्नो बेग्लै विचार बोके पनि कार्यवस्थामा इमान्दारीका साथ् विश्वासको सम्झौता गर्नु परेको यो सम्बन्ध थियो । कतै पनि मैले आफ्नो विचारलाई बन्धकमा राख्नु पर्ने बाध्यता आइपरेन । त्यही नै ठुलो मेरो उपलब्धि थियो, त्यो समयको । पञ्चायती व्यवस्था विरुद्ध उठेको ज्वालामुखी पाँचथरमा पनि गाउँ गाउँमा थियो । मैले सकेको समय र सहयोग दिनुमा कुनै कन्जुस्याइँ पनि गरिन् । तर पनि सबै विचारका जत्था भनौं कि झुण्डसंग मेरो आफ्नै विशिष्ट सम्बन्ध कायम नै थियो ।
वैचारिक धरातल भिन्न भिन्न भए तापनि त्यसमा इमान्दारी र विश्वासको संकट आउन दिएन भने जस्तो सुकै खालका सम्बन्धहरू पनि सुमधुर र दीर्घकालीन बन्न सक्दो रहेछ । यो मेरो निर्क्यौल रह्यो फिदिम बसाइको ।
यी नै कारणले गर्दा मलाई त्यस समयमा विभिन्न प्रतिबन्धित राजनैतिक दलहरूका नेता तथा कार्यकर्ता साथै सत्तासीन सरकारी अधिकारीहरूसंगको आफ्नो मिठो सम्बन्धलाई मैले आफ्नो जीवनको रोचक पक्ष मानेको छु । घटनाक्रमले कस्तो परिस्थितिमा आफूले कस्तो भूमिका गर्न पुगेको रहेछु भन्ने सम्झंदा पनि रोमाञ्चक बन्न पुग्छु ।
तर कहिले कहीं सोच्ने गर्छु – आफ्नो व्यवसायलाई नै धरापमा पारेर गरिएको भूमिगत सम्बन्धले कतै केही दुर्घटना भएको भए मेरो परिवारले मलाई कसरी सम्झन्थे होलान् । म आश्चर्यचकित र सशंकित बन्न पुग्छु ।
तर कहिले सोच्छु – एउटा व्यवसायीले प्रतिबन्धित पार्टीका र सत्तासीन पदाधिकारीसंग सोही अबधिको समयक्रममा मेरो भूमिकालाई कस्तो सन्तुलन गर्न पुगेको रहेछु भन्ने कुराले आफैले आफूलाई गर्विलो महसूस गर्न पुग्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

