बिहान ९ः३० मा काठमाडौँबाट हिँड्ने जानकारी शान्ति सापकोटाले सबैलाई दिएकी थिइन् । यात्रामा प्रमोद प्रधान, विजयराज आचार्य, सिर्जना शर्मा, अनन्त वाग्ले, मन्जु ज्ञवाली, शान्ति सापकोटा, तारानिधि भट्टराई, केशरी अम्गाईँ, रवीन्द्र मानन्धर, सुमन के.सी., केदार श्रेष्ठ, विवेक लामा, क्रान्ति पाण्डे, स्वर्णिम लम्लाल, धन मगर, राजेन्द्रमान डङ्गोल गरी कुल १६ जना सहभागी छौँ । सानेपा चक्रपथको गन्तव्यमा बेलैमा पुगेँ । गाडी नं बा ४ ख ८२३ । चालकको ठीक पछाडि शान्ति र मन्जुले स्वागत गर्दै झ्यालतिरको सिटमा राखे । गाडी गुड्यो ।
सोचेकी थिएँ, अब सहयात्रीहरु गीत गाउँछन् होला, अन्ताक्षरी खेल्छन् होला वा चुट्किला, हाँसोमजाक गर्छन् होला । तर त्यसो भएन । साहित्यिक यात्रा, प्रमोद प्रधान, अनन्त वाग्ले, डा. तारानिधि भट्टराईलगायतका सहभागीका रमाइला कुराकानीमै रम्यौँ सबै ।
करिब ३ घन्टाको गुडानपछि खानीखोलामा रोकियो गाडी । ओर्लिए सहभागी सबै । कोही सुन्तला किनेर खान थाले, कोही चिया बिस्कुट ।
आधाधन्टा जतिपछि गाडी हिँड्यो त्यहाँबाट । साँझ ४ बजे आँबुखैरेनीस्थित माई छिम्केश्वरी पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा बास बस्न पुग्यौँ । त्यहाँ कवि एवम् निबन्धकार अनिल श्रेष्ठ, जमुना श्रेष्ठ, कवि आकाश अधिकारी, कवि प्रोल्लास सिन्धुलीय तथा साहित्यकार अर्जुनकुमार ढकाल पनि सामेल भए । जोशको अगाडि थकाइले हार खान्छ । साँझ करिब ६ बजे आँबुखैरेनी स्रष्टा समाजद्वारा आयोजित विजयराज आचार्यका अङ्ग्रेजीमा अनूदित चारवटा पुस्तक तथा सानुकाजी थापाको ‘तथ्यको गुँज’ शीर्षकको निबन्धसङ्ग्रहको विमोचन कार्यक्रम सुन्दर समीक्षाका साथ सम्पन्न भयो ।
७ः३०मा खानाखाएर कोठा तिर पस्यौँ । म बस्ने कोठामा २ वटा खाट थिए । एउटामा म र अर्कोमा मन्जु र शान्ती सुत्ने तय भयो । ‘ओढने पुग्दैन भने मेरो लिए हुन्छ है’ मैले भनेथेँ । तर ‘पुग्छ दिदी’ भनेपछि कर गरिन । ‘म सुत्दा अति चल्छु । शान्तीलाई गाह्रो हुने पो हो कि ?’ भन्दै थिइन् मन्जु । कुरो सही रहेछ । मध्यरातमा शान्ती रुन्चे स्वरमा बोलेको सुनेँ ‘.. रातभर सुत्न नपाउने भएँ नि…। ओढने पनि तानेर कति जाडो बनाइदिएको ?’ शान्तीको बोली सुनेर म ब्यूझिएँ । संगै सुतेका २ बालिकाहरुको रोहलो जस्तो । हाँसो उठ्यो । ‘आउ शान्ती यता’ म उनलाई आफूतिर बोलाउँदै थिए । ‘ठीकै छ दिदी । साह्रे गाह्रो परे आउँला ।’ यति भन्दै उनी चुपचाप भइन् । कति शान्त, बोली व्यवहार यिनको ? म निक्कै बेर सोचिरहेँ ।
बिहान दुबै श्रष्टा ४रैबजे उठे । थर्मसमा राखिएको तातो पानी खाए । र जुटे योग व्यायाममा । योग अभ्यासलाई व्यवहारमा उतार्नु कति राम्रो । त्यसैले त उनीहरु स्वस्थ शान्त र सक्रिय छन् ।
अर्को दिन पुस्तक प्रदर्शनी तथा बालबालिकाका लागि कथा, कविता, निबन्ध, चित्रकला र अभिनय कलासम्बन्धी तालिम सम्पन्न भयो । कविता लेखनको शान्ति सापकोटाले, बालकथा लेखनको सिर्जना शर्मा तथा मन्जु ज्ञवालीले, निबन्ध लेखनको केशरी अम्गाई र राजेन्द्रमान डङ्गोलले, चित्रकलाको रवीन्द्र मानन्धर र विवेक लामाले तथा अभिनय कलाको केदार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । ७ वटा स्कुलबाट माध्यमिक कक्षा तहका कुल १५० जति विद्यार्थी आफ्नो रुचिअनुसारको प्रशिक्षण तालिममा अत्यन्त उत्सुकतापूर्वक सहभागी भए । प्रशिक्षणपछि आफ्नो भनाइ राख्दै बालबालिकाले रुचिअनुसारको रचना सिर्जना गर्ने, अभिनय गर्ने तथा चित्रकोर्नेे सीप सम्बन्धी आधारभूत ज्ञान पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले बालवाङ्मय तथा अनुसन्धान केन्द्रलाई धेरै धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा ‘पठन सीप विकासमा बालसाहित्य’सम्बन्धी अवधारणापत्र अनन्त वाग्लेले तथा ‘भूकम्प सचेतता तथा विज्ञान’ विषयक विभिन्न जानकारी प्रा.डा तारानिधि भट्टराईले प्रस्तुत गर्नुभयोे । कार्यक्रममा विशेषगरी ६० भन्दा बढी शिक्षकशिक्षिकाहरू बडो उत्साहका साथ सहभागी हुनुहुन्थ्यो । मोफसलमा यस्ता तालिम तथा जानकारीमूलक प्रस्तुति कति महत्वपूर्ण हुन्छन् भन्ने कुरा यसले छर्लङ्ग पार्यो । बालसिर्जना महोत्सबको यसै महत्त्वपूर्ण कार्यक्रममा संस्थामा अध्यक्ष प्रमोद प्रधानले आफू, श्रीमती ब्यूटी प्रधान तथा छोरी सृष्टि प्रधानको तर्फबाट बालवाङ्मय तथा अनुसन्धान केन्द्रमा अक्षयकोष स्थापनाका लागि रू. ५ लाख हस्तान्तरण गर्ने गर्नुभयो । यस्तो सत्कार्यको प्रशंसा युगयुगसम्म हुनेछ ।
मङ्सिर २५ गते निर्धारित कार्यक्रमअनुसार बिहान ७ बजे होटलबाट सहभागी यात्रुहरू बोकेर २ वटा स्कार्पियो जीप आँबुखैरेनी–छोटी छिम्केश्वरी राजमार्ग हुँदै उकालो लाग्यो । आँबु गाउँ, अखँुवाखर्क, धारापानी, भाँगे र अकलाङ हुँदै लाब्दीसम्मको कच्ची मोटर बाटो १९ किलोमिटरको रहेछ । रातो ढुङ्गामाटो देखिने भर्खर खनखान भैरहेको पहाडी बाटो । दायाँबायाँ निक्कै हल्लिँदा सुरुमा त डराएकी थिएँ । तर यात्रा भर मन झस्किने घटना भएन् । हामी चढेको गाडीका चालक थिए दिनेश थापा । भर्खरको उमेरका । बडो जिम्मेवार स्वभावका । हँसिलो रसिलो । ‘मेडम गाह्रो भयो भने भन्नुहोला..’ भन्ने उनको मायालु बोलीले आपूmहरूलाई यो भद्र केटोले सुरक्षित पुर्याउँछ भन्ने मनस्थिति बन्यो । बाटोमा विपरीत दिशाबाट आएका गाडीका चालकसँग उनी भेना, दाजु, काका, सोल्टी आदि इत्यादि साइनो सम्बोधन गर्दै हात मिलाउँथे । सायद यो ठाउँ अनि बासिन्दाको विनम्रता हो । हामीलाई उनको पारा बडो हार्दिक लाग्यो । बाँसपानी भन्ने ठाउँमा पुगेपछि चालकले गाडी रोके । उत्तरपट्टि देखिएका सुन्दर हिमालको दृश्य मोबाइलमा कैद गर्न हामी आतुर भयौँ । शौच र भोकले प्राथमिकता पाएन ।
गाडी फेरि उकालो लाग्यो । भाँगेसम्म निरन्तर मस्कँदै लच्कँदै गुडिरह्यो । भागेँमा चालकको घर रहेछ । त्यहीँ पुगेर रोके उनले गाडी । १० बजेको पारिलो घाम । केही महिलाहरू घरअगाडि आँगनको ढिस्कोमा घाम तापिरहेका । कोही नजिकको धारामा भाँडा माज्दै, कोही लुगा धुँदै । एक जोडी अलि तलतिर कोदो काट्दै थिए । म घाम तापिरहेका महिलाछेउ पुगेँ । गाउँका महिलाको पढाईलेखाइ, आयआर्जनको काम, निर्णयको हक, छोराछोरी, खोपमूलो, स्वास्थ्योपचार आदि विषयमा एकछिन कुरा गरेँ । पढ्न धेरै नपाए पनि चेतनाको स्तर बढेको छ गाउँका महिलामा । खुसी लाग्यो यिनका कुरा सुन्दा ।
घरको तातो खाना खाएर निस्किए चालक र गुडाए गाडी । भाँगेको खोला तरेपछि उकालो वस्ती र स्कुल देखियो । करिब आधा घण्टाको गुडाइपछि गाडी लाब्दीमा रोकियो । दायाँ पारिपट्टि देखिए गुरुङ पहिरन र गहनामा सजिएका महिलाको जमात । हातमा फूलमाला लिएर उभिएका । ‘बिहे ब्रतबन्धको कार्यक्रम रहेछ क्यार त्यो घरमा ?’ म सोच्दै थिएँ । तर हामीलाई त्यतै पो डो¥याए एक युवकले । देवीलाल गुरुङ्गको होम स्टे नं १ रहेछ त्यो । छिम्केस्वरी गाविसका सदस्य महिलाहरुको समुह त्यहाँ हाम्रै स्वागतको लागी उभिएका रहेछन् । उनीहरुले पालैपालो हामीलाई सेतो अक्षताको टीका र फूलमाला पहिराए । यस्तो साँस्कृतिक स्वागत हामी मध्ये धेरैले जीवनमा पहिलो पटक ग्रहण गरेका रहेछौँ । गुरुङ्ग वस्तीको गाउँ यो । आफ्नो संस्कृती परंपरा जोगाउने जमर्को बडो प्रसंसनीय थियो । स्वागतपछि आँगनको कुर्सीमा बसी हाँडीमा भुटेको मकैभटमास, गुन्द्रुको अचार र तातो चिया खादैँ हामी स्थानियहरुसंग गफियौँ ।
करिब ११ः३० वजे तिर हामी छिम्केश्वरी पर्यटकिय स्थल तिर लाग्यौँ । १५ मिनट गाडी गुडेपछि ठूलोेढुङ्गा भन्ने स्थानमा रोकियो । त्यहाँ शितल आनन्द आभास हुने सानो झरना देखियो । पश्चिमी मुलुकतिर भए यात्रुहरु ‘वाऊ …भन्दै लेघ्रो तातेर त्यसैमा चिप्किएर बस्न थाल्दा हुन् । हाम्रो यहाँ यसको खासै ठूलो वाहु भएन । कसैकसैले झरनाको पानीले मुख धोए, अनि लागे आफ्नो बाटो । हरिया डाँडाँकाँडा । मन कुतकुताउने शितल हावा । कच्ची सिढीसिढी सहितको ठाडो उकालो बाटो । यही बाटो र माटोलाई हर्षले सलाम ठोक्दै कमिलाको ताँती झैँ हाम्रो टोली उकालो लाग्यो । हिँडदै जाँदा समुह अगिपछि भए । उकालोसंगै सास छिटोछिटो उकाली ओराली लाग्दै गयो । मेरो ध्यान अमेरीकातिर पुग्यो ।
२०७८, कोरोनाकहर उत्कर्षमा पुगेको वर्ष । सुरक्षा खोज्दै छोराछोरीको परिवारका साथ अमेरिका पुगँे । तर विश्वव्यापी हमला गरिरहेको कोरोनाले घरभित्र पस्नै नपाई ढोका बन्द गरिदियो । मेरो स्वतन्त्रता सुनको पिँजडामा कैद भयो । दिनभर म रम्नुपर्ने ल्यापटप र छोराको जम्बु कुकुर ‘कान्छा’सँग । बिहान ८ वजे परिवारका सबै काममा हिँड्ने । उनीहरू टाढा भएसँगै भारी हुन्थ्यो मन । अनि कविता गाउन थाल्थ्यो, ‘बेसरी कुँजिए तन अनि पाउ, कसरी अब यहाँ समय बिताऊँ ?’
अमेरिकामा हाइटेक टेस्ला कम्पनीको जिम्मेवार ओहोदामा कार्यरत मेरो छोरा, कामैले लखतरान सधैँ । साँझ घर पस्दा आमाको अवस्था बुझ्दो हो । एकैछिन विश्राम गर्न नपाई मन बहलाउन परिवारका साथ टेस्ला गाडी गुडाउँदै डाउन टाउन डुलाउँथ्यो । सिल्कन भ्यालीका चाक्ला सफा सडक र झिलिमिली बत्ती बलेका शान्त सहरलाई नराम्रो कसले भन्ला ? तर यो मनले खोजेको कुरा त्यो हैन । मैले खोजेको कुरा त जीवित बस्ती हो, आफन्तसँगको भौतिक सामीप्य हो । चाहे जति समय आफ्नो भाषामा भाव व्यक्त गर्न पाइने प्रियजनको साथ हो । घरकै कौशीबाट देख्न पाइने हरिया डाँडाकाँडा र सेता हिमाल हुन् । खै ती सब त्यहाँ ? रातको निँद त कसैले लुटेको थिएन । तर दिन छिप्पिदै जाँदा मनले फेरि उही कविता गाउँथ्यो, ‘…कसरी अब यहाँ समय बिताऊँ ?’
नेपाल फर्कने दिन गन्दै थिएँ, नजिक पुगेका बेला बालवाङ्मय तथा अनुसन्धान केन्द्रको मेसेन्जर ग्रूपमा सूचना पढेँ ः ‘आँबुखैरेनी गाउँपालिकाको सहकार्यमा आँबुखैरेनी स्रष्टा समाजको संयोजनमा २०७८ मङ्सिर २४ र २५ गते तनहूँको आँबुखैरेनीमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रको वार्षिक सम्मेलन हुनेभएको छ । सोही अवसरमा हुने बालसिर्जना महोत्सवमा बालबालिकाका लागि कथा, कविता, निबन्ध, चित्रकला तथा अभिनय सीपसम्बन्धी तालिम पनि दिइने छ । कार्यक्रमको अन्तिम दिन तनहुँ जिल्लाको सगरमाथा भनिने छिम्केश्वरी पर्यटकीय पर्वतको अवलोकन भ्रमण कार्यक्रमसमेत हुने भएको छ । सो कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरूले आफ्नो नाम टिपाउनु होला ।’
सूचनाले ओइलाएको यो मन जुर्मुरायो । भाग्यले पाइन्छ यस्तो कार्यक्रममा सहभागी हुन । दंगपर्दै संस्थाका उपाध्यक्ष विजयराज आचार्यलाई मेसेन्जरमा फोन गरेँ । तत्काल आपूm त्यस कार्यक्रममा सहभागी हुने जानकारी दिएँ ।
भोकाएको बेला मीठो खाना पाएसरह आहाऽऽ कति रमाइलो यात्रा यो । बिजयराज र प्रमोद भाइहरु बेलाबेला मेरो यादखबरमा कराएको सुन्थे ‘ ‘दि…दी काँ पुग्नु भो ? ठीक छ सबै?’
‘सब ठी …क छ । सुस्तसुस्त हिँडदै छु । नो समस्या.. ।’
डाँडाको बीचतिर पुग्दा गुराँस कतै देखिन्छ कि भनी चारैतिर आँखा डुलाउँदै थिएँ । नजिक देखिए राजेन्द्रमानडंगोल । उनको साथमा थिए लक्षण गुरुङ्ग । भ¥याङको रेलिङ समाई उभिरहेकी मलाई देखेपछि प्रेम पूर्वक राजेन्द्रले सोधे,
‘दिदी गाह्रो भो ? सहयोग चाहिए भन्न नहिच्किचाउनुस् ?.. बोकेर भएपनि पु¥याउँछु गन्तव्यमा ।’
कति जिम्मेवार सहयात्रीहरु । खुसीले मन ढुक्क भयो । आपतै परे पिठी नथाप्लान जस्ता पनि थिएनन् बरिष्ठ नियात्राकार राजेन्द्रमान डंगोल । सरल । खाइलाग्दा । सम्य बोलीबचन । ‘भाइभए भरोस् भन्ने उखानै छ । भाइहरुको प्यारो बोलीले म भित्र उर्जा थपेको छ । पुग्छु विस्तारै ।’
‘हो त? लागौँ हामी उकालो?’ ‘हुन्छ भाइ ’ स्वीकृतिका शब्दसंगै उनीहरु उकालो लागे । आफ्ना कारण अरुको गति नखल्वलियोस् भन्ने मनसाय मेरो ।
डेढघन्टाको सुस्त हिँडाइपछि हामी पाहाडको टुप्पामा पुग्यौँ । निर्माण पूरा हुनबाँकी छिम्केश्वरी माईको सुन्दर मन्दिर । अलि तलतिर भैरवको मन्दिर छ । त्यहाँ पुग्दा म आकाश अधिकारी, अनिलश्रेष्ठ तथा जमुनाश्रेष्ठका साथमा थिएँ । उनीहरु मेरो जिज्ञाशाको उत्तर दिदै थिए ‘छिम्के लेक भनिन्थ्यो रे यो डाँडोलाई पहिला । छिम्केस्वरीमाई यहाँ बास बस्न आएपछि छिम्केस्वरी भनिएको हो रे । यो डाँडो समुन्द्र तहदेखि २१३४ मिटर उचाईमा छ । नयाँवर्ष, ल्होसार र फागुपुर्णिमामा यहाँ ठूलो मेला लाग्छ । मेलामा कौरा, झ्याउरे र लोकदोहरी चल्छ । साह्रै रमाइलो हुन्छ । यी नाचगान हेर्न अवसर भने अहिले मिलेन ।
मन एउटा निर्णयमा पुग्न कसरत गर्दै थियो । म कुनै आफन्तको देहावसानका कारण जुठो बारिरहेकी थिएँ । यस्तो बेला मन्दीर भित्र पस्न हुन्छ – हुन्न दोमनमा थिएँ । अन्त्यमा मनले परंपरा स्वीका¥यो । मैले शक्तीरुपा छिम्केश्वरी मातालाई श्रद्धा भेटी र सम्पूर्ण मन चढाएँ । मन्दीरका पुजारी पदम गुरुङ्ग संस्कारी पन्डित जस्ता रहेछन् मसंग आँखा जुधाउँदै माईसंग भक्तले आश गरेका आशिष फलाके । मन फुरुङ्ग भोे ।
मन्दीरको बाहिर परिक्रमा गरेँ । आँखा ओर्लिए पाहाडको तलतिर पश्चिम पट्टी । हरिया जंगलले ढाकेको गहिरो खोच । पत्रपत्र पाहाड झैँ देखिने । उत्तर पट्टी झलमल सेता हिमाल, दक्षिणतिर समथल मैदान । म हराउँछु यी सुन्दर दृष्यहरुमा । राम्रो प्रचार प्रसार हुन सके अमेरीका स्थित ग्राडक्यानन् हेर्न धुइरो लागे झै हुन्छ यहाँ पर्यटक ।
दृष्यमा रम्दै गरेका बेला समुह मन्दीरबाट करिक १ किलोमिटर दक्षिण तिरको सानो समथल भूमीतिर पु¥यायो । बुढीमाइको मन्दीर रहेछ त्यहाँ । बुढीमाई छिम्केश्वरी माईकी जेठी दिदी हुन रे । आँखा नाचे फेरी चारैतिर । पूर्वमा गौरी शंकर, पश्मिम धौलागिरी, मनासलु र गणेश हिमाल, लाङटाङ, दोर्जेलाम्पा र मालङगुर एकै रेखामा जोडिएका । आहाऽऽऽ यो ठाउँमा युवायुवती, बयस्क जुनसुकै बर्गका व्यक्ति पुगेपनि मन हिमाल जस्तै शान्त शितल हुन्छ ।
त्यसै स्थलमा आँबुखैरेनी स्रष्टा समाजले राजेन्द्रमान डंगोलको नियात्रा कृति ‘पैतालमा हिउँः आखाँमा हिमाल’को अन्तरक्रिया आयोजना ग¥यो । यस सुन्दर कृतिमा बालबाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोध प्रधान, केशरी अम्गाई सिर्जनाशर्मा, प्रा.डा तारानिधी भट्टराईबाट पुस्तक माथि चर्चा भयो । आँखाभरी हिमाल देखिका स्थानमा यो पुस्तकको अन्तरकृया हुनु अति सान्दर्भिक !! बधाई आयोजक, बधाई लेखक र समीक्षकहरुलाई ।
कार्यक्रम सकिनलाग्दा आकाश अधिकारी एउटा थैलोबाट फोहर सामाग्री एकएक गरी झिकेर देखाउँदै भन्न थाले ‘.. ल हेर्नुस् आफूहरुको करतुर । जाँ पायो त्यहीँ जुसका बट्टा, पानीका रित्ता बोतल, विस्कुट चाउचाउका रित्ता खोल फाल्या छ, हिँड्या छ यही हो तपाईँहरु जस्तो सभ्य मानिसले गर्ने तरिका…? म यहाँ धेरै बेर बस्दिन आफै सोच्नुस् यस्तो गर्दा हाम्रो सुन्दर भूमी कस्तो हुन्छ ….?’ यति भन्दै उनी बाहिरिए ।
‘कस्तो उग्र केटो ? यति रमाइलो कार्यक्रम भएका बेला किन यसरी जंगिएको होला?’ भनी सोच्दै थिएँ, त्यो त उनले वातावरण सुरक्षासम्बन्धी नाटक पो प्रस्तुत गरेका रहेछन् । सुन्दर सटिक प्रस्तुती !!
छिम्केश्वरीको अलोकन तथा कार्यक्रमा मन छमछम नचाएर हामी ३ बजेतिर तल झ¥यौँ ।
बाटाभरी आपसमा कुराकानी भयो, प्रकृति प्रेमीका लागी स्वर्ग होे यो भूमी । सूर्य उदाएको अस्ताएको दुबै हेर्न पाइने । संस्कृति यहाँको कति सुन्दर? … होम स्टेहरु पनि परंपरा अनुसारकै बन्लान विस्तारै । यस क्षेत्रको प्राकृतिक तथा धार्मिक महत्व बारे राम्रो प्रचारप्रसार हुनुपर्छ अनि ओइरिन्छन् पर्यटकको ताँती यहाँ ।
देबीलालको होमस्टे तिर पुग्दा लन्च तयार थियो । लोकल कुखुराको झोल, भात र रायोको साग छ परिकारमा । लेकतिर गाईभैसीँ पाल्नेहरु छन् भन्ने सुन्यौँ । तर मासु नखानेका लागी दुधदहीको व्यवस्था भने यहाँ देखिन । भोकको बेला साग र भात पनि बडो स्वादिलो रह्यो । साँझपखको चिसो हावाले स्यूस्यू बनाई सकेको थियो । खाएर चुठन नपाएँदै फर्कन गाडीमा बस्यौँ ।
समग्रमा बाल बाङमय तथा अनुसन्धान केन्द्रको यो साहित्यिक यात्रा अविस्मरणीय तथा पूर्णसफल रह्यो । यस्ता कार्यक्रम मोफसलमा गर्दा स्थानिय संस्कृति, पर्यटन तथा शिक्षा बिकासमा समेत सहयोग पुग्ने कुरा निश्चित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।