कुरो साढे चार वर्षअगाडिको हो । एउटा डोमिनिक नाम गरेको इटालियन मूलको मानिसले मलाई औधी मायाँ गर्थ्यो । उसलाई भेट्नुअघि मैले जीवनमा यति धेरै रोम्यान्टिक कहिल्यै महसुस गरेकी थिइनँ । बिहानको ८ बजे डाइनिङटेबुलमा हामी भेटेर कफी सँगै पिउने गर्थ्यौँ । मैले पाउरोटी हातले कफीमा चोपेर खाँदाखाँदै कफीमै हाम्फाल्थ्यो र निथ्रुक्क भिजेर कफीमै समाहित हुन्थ्यो । म डोमिनिकको अगाडि कफीबाट पाउरोटी झिक्न कति सङ्घर्ष गर्थेँ तर उसले काँटा चम्चाको सहारा लिएर बटर/जेल्ली र मह हालेर खान सिकाएपछि मलाई निकै सजिलो भयो । म सानै हुँदादेखि मलाई साँझ पर्न लागेपछि वा पानी पर्न अगाडिको मौसम मन पर्दैन । मनमा त्यसै खिन्नता उत्पन्न हुन्थ्यो ।

डोमिनिकसँगको सङ्गत र उसको निरन्तर काउन्सिलिङ पछि मलाई हरेक मौसम रमाइलो लाग्छ । आकाश धुम्मिएको होस् वा उघ्रिएको होस् मौसमको विषयमा राम्रो बयान गर्न उसैले सिकाएको हो । साँझ बिजुली बत्ती बलेको उज्यालो कोठामा पनि चकमन्न अँध्यारामा झैँ बास्नादार रङ्गीबिरङ्गी मैनबत्तीहरू बाल्न सिकायो । कपडा पट्याउन, सानो स्पेसमा पनि व्यवस्थित तरिकाले बस्न, थोरै बजेटमा चल्न, अनि फूलदानीहरूमा फूलहरू सजाएर राख्न सिकायो । कोठामा रहेका वा बाहिरका निर्जीव वा अपरिचित चिजहरूसँग पनि खुसी हुन र रोमान्स गर्न सिकायो । नसोधिएका कुरा नबोल्न र जबाफ नदिन सिकायो । उसले कच्चा हैन सच्चा प्रेम गर्न सिकायो । समग्रमा भित्र मनबाटै मुस्कान छर्न सिकायो अनि हार्न हैन जित्न सिकायो र आफैँमा पूर्णता खोज्न सिकायो । म पनि जीवनमा अलिकति व्यवस्थित, व्यावहारिक र पूर्ण अनि राम्री पनि छु भन्ने महसुस दिलायो ।

मैले उसलाई भेट्नुअघि ऐना हेर्ने, मेकअप गर्ने र स्टोरमा गएर घण्टौँ लगाएर लुगाकपडा छान्ने गरेकै थिइन् । उसकै कारणले मैले कोठामा ठुलो दराज र ऐना किनेर ल्याएकी हुँ । ऐनामा हेर्दा म आफैँलाई पनि राम्री नै छु कि क्या हो भनेर लाग्न थालेको हो । स्कुलमा पनि सबैभन्दा नराम्री, काली र ख्याउटे केटी कुनै केटाका पनि आँखा नपरेकी । कलेजमा पनि त्यस्तै । केही चिट्ठीहरू त आएका थिए तर कसैप्रति पनि प्रेम जागेर आएन । पढेर त्यसै च्यातेर फालेँ तर जब मैले डोमिनिकलाई भेटेको पाँचौँ दिनमा मलाई कानैमा आएर भनेको थियो, “हाउ ब्युटीफुल यु आर तारा ? यु ह्यायाब किलिङ स्माइल एन्ड आइज आर सो इन्नोसेन्ट ।” यसो भन्दा प्रेमको सच्चा विम्ब छल्किरहेको आभास मलाई भयो । डोमिनिकलाई भेट्नुअगाडिसम्म मलाई जन्मदिन पनि मनाउने एउटा उत्सव हो वा इभेन्ट हो भन्ने थाहा नै थिएन । म लुकाएर राख्थेँ र कसैलाई बताउदिन थिएँ । उसैले मलाई जीवनमा पहिलोपटक तिम्रो आज जन्मदिन भनेर हातमा उपहार थमाइदिएको हो । त्यो दिन मैले मेरो पनि त केही महत्त्व रहेछ नी त जीवनमा भनेर महसुस गरेकी हुँ ।

तारा भट्टराई

हुन त सुरुका दिनमा ऊ मेरो २९० जना मध्येको एउटा क्लाइन्ट मात्रै थियो । त्यत्तिका मान्छेको बिचमा मलाई देख्दा उसको अनुहार धपक्क बल्थ्यो । मेरा आँखा पनि बिल्डिङमा छिरेपछि उसैलाई खोजिरहेका हुन्थे । हामी आँखा-आँखाको भाषाले कुरा गरिरहेका हुन्थ्यौँ । जुन कुराको कसैलाई पनि पत्तो थिएन । क्लाइन्ट नै भए पनि डोमिनिकले कहिल्यै मबाट कुनै पनि सेवा लिएन तर उसले हरेक दिन अफिसको नियमले दिएको ४५/५० मिनेट भने मलाई चाहिन्छ भन्थ्यो । मलाई पनि काम नगरी ऊसँग गफ गरेर बस्न पाउँदा खुसी नै लाग्थ्यो । ऊ अति प्राइभेट मानिस भएकाले कसैसँग पनि खुलेर कुरा गर्दैन थियो । म कोठामा पुग्नासाथ मुस्कानसहित स्वागत गर्ने गर्थ्यो । उसका कोठाका हरेक सरसामान देखाउने गर्थ्यो । पुराना धुलो लागेका एक थाक एल्बमहरू पल्टाएर उसका स्कुले साथीभाइहरू, गाउँका मानिस, परिवार का फोटाहरू देखाउने गर्थ्यो । फ़ेसबुक र इन्टाग्रामममा चहकिला तस्बिरहरू हेरेर मन लागे लाइक गर्ने नत्र हेरेर मात्रै मनोरञ्जन लिन अभ्यस्त भैसकेकिओ म पट्यार लागे पनि एल्बमका सबै फोटाहरू पल्टाएर हेरेझैँ गरेर उसलाई एकछिन भए पनि खुसी पार्न कोसिस गर्थेँ । उसका परिपक्व विचारहरू, सिकाइ र भोगाइ सुन्दा मलाई जीवन दर्शनका किताबहरू पल्टाएर आफैँले पढ्न थालेजस्तो लाग्थ्यो । दुःखका वेलामा पनि विश्वास र साहस त्याग्नु हुँदैन भनेर मलाई सम्झाउने ऊ नै हो । उसैले मलाई जीवनको उद्देश्य बनाएर अथवा goal fixed गरेर अगाडि बढदा कम तनाव हुन्छ भनेर सिकाउँथ्यो ।

हामी बिहान ८ बजे ब्रेकफास्ट र १२ बजे लन्च प्रायः सँगै खान्थ्यौँ । तीन बजे मैले उसलाई छोडेर घर आउनैपर्थ्यो । म बस चढेर त्यो बस पर विलीन हुन्जेल हेरिरहन्थ्यो । मेरो बिदाको दिन पनि म चढ्ने Q52 नम्बरको बस हेर्न बाहिरसम्म आउने गर्थ्यो । म पनि बिस्तारै-बिस्तारै आफ्नै काम गर्ने ठाउँमा बिरामीसँगै गहिरो प्रेममा पर्न थालिसकेछु । मैन बनेर उसैसँग पग्लिन थालेछु ।

भ्यालेन्टाइन डे को दिन थियो । म एकाबिहानै अरू सबै क्लाइन्टहरू र सहकर्मीहरूलाई छलेर आफैँ कफी पिएको जस्तो बहाना बनाएर हतार-हतार छैटौँ तल्लामा रुम नम्बर ६०५ मा पुगेँ । उसलाई मन पर्ने स्वादको कफी बोकेर भेट्न गएँ र खल्तीमा लुकाएर राखेको गुलाबको फूल दिने विचार थियो । मैले जीवनमा यसरी कसैका लागि गुलाबको फूल किन्न पैसा खर्च गरेकी थिएँ । अरू दिन त्यस्तो प्रेम गर्ने डोमेनिकले मलाई त्यो दिन leave me alone ( मलाई एक्लै छोडिदे) भन्यो । उसले यसोभन्दा निकै क्रूर देखिएको थियो । आवाज पनि निकै कर्कश सुनिएको थियो । कठै उसलाई जीवनमा कति प्रेम चाहिएको होला ? ऊ गलत पटक्कै छैन । उसको एक्लोपन, परिवार र समाजको बेवास्तासँग गाँसिएको भावनाको प्रकट हो यो भन्ने मलाई लाग्यो । टेबुलमा कफी छोडिदिएर गुलाबको फूल चाहिँ पछि मुड ठिक भएपछि दिउँला भनेर उसकै कोठाको दराजमा लुकाएर राखेँ । म अरू क्लाइन्टहरूसँग व्यस्त भएँ । आठ बजे डाइनिङ टेबुलमा ब्रेकफास्ट खान पनि आएन । हाकिमले उसलाई खान नआएको देखेपछि मलाई सोध्यो । मैले पनि अलिकति सन्चो नभएको बताइदिएँ । मैले पनि ब्रेक लिएँ तर ब्रेकफास्ट भने खाइनँ । कति वेला १० बज्छ र उसको कोठामा जाऊँ र डोमिनिकलाई उठाएर गुलाबको फूल दिऊँ अनि ऊ दङ्ग पर्छ जस्तो लागिरह्यो । काममा पनि मन गएन ।

हुन पनि ऊ दश वर्षदेखि महिनामा एकपटक अस्पताल र खाना खान डाइनिङ रुमबाहेक कतै गएको छैन । उसलाई बाहिर जाऊ, प्रकृतिले प्रदान गरेको सौन्दर्यको मज्जा लिऊ र आफूभित्रको खुसी फेरि फेला पारेर भरपुर आनन्द लिऊँ भन्नेलाग्छ तर ऊ अपाङ्ग छ ।

ऊ दुःखको हिस्सा बोक्नेमध्येको एउटा व्यक्ति हो, जसले सबै भावनालाई दबाएर राखेको थियो तर मैले सबल भएर पनि डोमिनिकभन्दा धेरै भावनालाई दबाएर राखेको रहेछु । ऊ र ममा खासै फरक त देखिनँ । ऊ मभन्दा लाखौँ गुणा माथि छ ।

ऊ अस्पतालबाट डिस्चार्ज भएर आउने दिन म गेटमा नजानिँदो पाराले कुरेर बस्थेँ । अस्पतालमा हुँदा नर्सहरूको त कहिले डाक्टरको फोन मागेर मलाई फोन गरिरहन्थ्यो । ऊ पूरा स्वस्थ नहुने वेलासम्म उसको छेउमै बसेर हात समाउँथेँ । खाना खान भन्थेँ । ऊ पनि मलाई अनेक हँसाउने कुराहरू झिकेर मेरो मुहारमा खुसी ल्याउन भरमग्दुर कोसिस गरिहन्थ्यो । उमाउन्ट साईनाई अस्पतालमा हुँदा म सेन्टर्ल पार्कमा दुईपटक डेटिङमा समेत गएकी छु । हाम्रो डेटिङमा कुनै स्वार्थ थिएन । न त भविष्यका लागि कुनै सुन्दर सपना सजाउनु नै थियो । न त कुनै जात, धर्म, उमेर वा पैसाको कुरो बिचमा तगारो भएर उभिएको थियो । स्पर्शको नाममा हामी भेट्ने वेलामा र छुट्टिने वेलामा अँगालो हाल्ने गर्थ्यौँ । त्यसमा कसैको दबाब, प्रभाव थिएन । खास थियो र दिलबाट थियो ।

बरु मेरो जीवनमा कुनै न कुनै किसिमले जोडिन आइपुगेका अरू मानिसहरूले ममाथि मोटी, दुब्ली, काली वा विभिन्ननाममा मनोवैज्ञानिक शासन गरेका छन् । जीवनमा अनेकन् कुरामा चोटैचोट दिएका छन् । झन् महिला नहुनुबाहेक अरू कुनै योग्यता नभएका पुरुषहरूले त सधैँ आफूलाई दर्जामा उच्च ठान्छन् र होच्याएर टीकाटिप्पणी गरेर आनन्द लिइराखेका हुन्छन् । आफन्तैहरूले त मायाँको नाटक गरेर एक छाक खाना खुवाएर लाखौँ रुपैयाँको प्रस्ताव राख्ने गर्छन् । अरूको त के कुरा गर्नु तर डोमिनिक महान् व्यक्ति उसले सर्तविना प्रेम गऱ्यो मलाई ।

दश बजे म ढोका ढकढक्याएर कोठामा पसेँ । त्यसै दिन डोमिनिकले मलाई प्रेमको परिभाषा सिकायो । जीवनमा कसैले कसैलाई बुझ्नु, उसका बारेमा चिन्तन गर्नु, चासो राख्नु, उसको सुख र दुःख बाँड्नु नै प्रेम हो । तिमी विवाहित भए पनि या नभए पनि, अथवा तिम्रो बच्चा हुँदा वा नहुँदा, तिमी सन्चो हुँदा वा बिन्चो हुँदा, सुन्दर हुँदा वा कुरूप हुँदा होस् जीवन बाँचुन्जेलसम्म तिमीलाई बुझ्ने मान्छे तिम्रो साथमा हुनु नै प्रेम हो । तिम्रो हिन्दू संस्कारमा जस्तो सिन्दूर र पोते लगाएर बिहे गरेर जीवनभर बाँच्नु मेरा लागि प्रेम होइन । तिम्रो इन्डियामा मेहँदी, हल्दी, सङ्गीत,स्वयंवरका अलग-अलग उत्सव गरेर बथान जन्ती र बाजागाजा सहित काल्पनिक प्रेमले रङ्गिएर कुरै नबीझि रोमाञ्चित बनेर एउटा अपरिचित केटाको हात समाएर जान्छन् अनि जीवनभर मुटुमा दोस्रो विश्वयुद्धका जस्तै चोटैचोट बोकेर बस्छन् । उसको लोग्नेको मृत्यु भयो भने उसको सिन्दूरसँग गाँसिन आएका नाता सम्बन्धहरू र परिचय भएका अनुहारहरू सबै टाढिँदै जान्छन् । त्यसपछि उसको पक्षमा उभिने कोही पनि हुँदैन यो कालो महासागरजस्तो कस्तो सम्बन्ध र प्रेम हो तिमीहरूको ?

ऊजस्तो चिन्तनशील मानिसले चिन्तन गरेर पलाएको चेतनाको अभिव्यक्तिले मलाई पूरै चुप लागायो ।

समग्रमा मेरा आँखा नै डोमिनिकले पूरै खोलिदियो । मैले बिहानै उसको दराज़बाट लुकाएर राखेको गुलाबको फूल निकाले र गार्बेजमा फालिदिएँ ।

डोमिनिक, आज तिमी यो संसारमा छैनौ । तिमीलाई कोभिडको पहिलो लहरले नै लग्यो । तिम्रो अभावमा मेरो मन अहिले पनि रोइरहेको छ । मेरो मनमा तिमीप्रति प्रवाहित प्रेमको तरङ्ग तिम्रो स्वर्गमा पनि पक्कै आइपुग्छ होला । ह्याप्पी भ्यालेन्टाइन डे !