शिव पुराणमा गाँजाका बारेमा उल्लेख छ कि छैन होला ! तर जीवनमा गाँजाको ठुलो प्रभाव छ । भोगेर, देखेर वा सुनेरै पनि यसका नयाँ-नयाँ अनुभव-अनुभूति मानिसले गर्न पाएका छन् । मैले पनि गरेको छु ।

भगवान् शिवको प्रिय वस्तु हो, गाँजा । त्यसैले त शिवबुटीका नाममा भक्तजनहरू यसको निर्धक्क सेवन गर्छन् । शिवभक्त मात्र होइन, अरू थुप्रै के-के जाति भक्तहरू पनि यसलाई खुब रुचाउँछन् ।

मेरो अनुमान छ, अहिले पनि यसको लोकप्रियता घटेको छैन बरु बढेकै छ । नवयुवकहरू नयाँ-नयाँ “फर्म”मा यसको प्रयोग गरिरहेका छन् ।

जीवनमा गाँजाको प्रभाव र महत्त्व नभए किन हाम्रो संसद्‌मा यसको माहात्म्य गाइन्थ्यो ! यसलाई “लिगलाइज” गर्नुपर्ने बहस किन सदनदेखि सडकसम्म उठ्थ्यो ?

शिवबुटीसँग सम्बन्धित किस्सा-कहानी पनि थुप्रै सुन्न पाइन्छ समाजमा । कसैले अलिकति बेसुरको कुरा गर्‍यो भने भनिन्छ- “हैन आज तैँले गाँजा खाइस् कि क्या हो !” यसै मेसोमा एउटा किस्सा सुनिहालौँ न त !

एकपटक शिवजी आफ्ना भक्तहरूको हालचाल बुझ्न कैलाशबाट तराईतिर झरेछन् । भेस बदलेर एउटा सामान्य जोगीका रूपमा उनी पश्चिमी तराईको बर्दिया जिल्लामा पुगेछन् । तराईको लहलहाउँदो बाली देखेर आनन्दित हुँदै उनी फाँट-फाँट चहारिरहेका रहेछन् ।

एक ठाउँमा उनी देख्छन्- तीन-चार जना नवयुवकहरू आँपको रुखमुनि चिलिममा गाँजा भरेर मस्तले तानिरहेका छन् । आफ्ना असली भक्तहरूलाई देखेर शिवजी गद्गद भएछन् । नवयुवकहरूले आलोपालो गर्दै चिलिम तानिरहेको दृश्यले शिवजीको मन पनि तानिएछ ।

यसै त शिवजी ! त्यसमाथि गाँजाको गन्ध ! कति वेलादेखि सेवन गर्न नपाएको आफ्नो प्रिय वस्तुको तृष्णाले उनको मन हरर्र भएर आएछ ।

सनत सापकोटा

उनी ती नवयुवकहरू भएको ठाउँमा पुगेछन् । “के छ ब्रोहरू ?” शिवजीले उनीहरूकै भाषामा आग्रह गरेछन्, “एक-दुई पफ मलाई पनि सेयर गर्ने हो ?” जोगीलाई देखेर नवयुवकहरू मुखामुख गर्न थालेछन् ।

“आँ…च, फेरि कताबाट आइपुग्यो यो सुड्डो ?” नवयुवकमध्येको एउटाले मुख बिगारेछ ।

“बाबा भएर बुटी त तिमीसँगै होला नि टन्न !” अर्को एक नवयुवकले शिवजीलाई व्यङ्ग्य कसेछ ।

“बर्दियातिर यो बुटी प्रशस्तै पाइन्छ भन्ने सुनेको थिएँ,” शिवजीले भनेछन्, “त्यसैले ल्याइनँ ।”

नवयुवकहरू आफूहरू आलोपालो तानिरहेका छन् । तर शिवजीलाई दिने नाम लिँदैनन् । शिवजीको आँत रसाएर आइसक्यो । उनले खप्न नसकेर केही निराश हुँदै फेरि आग्रह गरेछन्- “ब्रोहरू के साँच्चै नदिने नै हो त !”

“बुढोले लास्टै गर्‍यो यार,” अलि दयालुमध्येको एक नवयुवकले साथीसँग भनेछ, “एक-दुई पफ सुड्डोलाई पनि दे न त दे !”

बल्ल शिवजीको हातमा चिलिम पर्‍यो ।

शिवजी आफ्नै तालमा गाँजा तान्न थालेछन् । उनको गाँजा तान्ने शैली देखेर नवयुवकहरू छक्क परेछन् । जति ताने पनि शिवजीलाई गाँजाको केही प्रभाव परेन । नवयुवकहरूलाई भने एक चिलिमले नै “ट्रिप” दिन थालिसकेको थियो ।

उनीहरू चिलिम भर्न थाले, शिवजी तान्न थाले । तीन-चार लिलिम तानिसके तर पनि शिवजीलाई गाँजाको कुनै असर परेको देखिएन । शिवजी न परे !

“हन सुड्डो चिलिम त मस्त तान्दा रहेछौ त,” एक नवयुवकले सोधेछ, “सुड्डोको नामचाहिँ के पर्‍यो ? कताबाट आयौ ?”

शिवजीले शान्त स्वरमा जबाफ दिएछन्- “मेरो नाम शिव हो, कैलाशबाट आएको ।”

सुनेर नवयुवकहरू हाँस्न थालेछन् ।

एक नवयुवकले उपेक्षित तर व्यङ्ग्यपूर्ण हाँसो हाँस्दै सोधेछ, “कुन शिव ! भगवान् शिव ?”

“हो, म त्यही शिव हुँ,” शिवजीको स्वर अझै शान्त थियो । केटाहरू पेट मिचिमिची हाँस्न थालेछन् । र अन्त्यमा, निष्कर्ष निकालेछन्- “सुड्डोलाई बल्ल गाँजा लागेछ !”

                    …

वैज्ञानिक हिसाबले यो वनस्पति जीवनमा कति उपयोगिता वा अनुपयोगी छ त्यो भविष्यमा विज्ञानले प्रमाणित गर्दै जाला तर विशेष गरी गाँजा शिव भगवान्‌को प्रिय वस्तु भएकैले यो हाम्रो धर्मपरम्परासँग जोडिएको छ । शिवरात्रिमा प्रसादका रूपमा भए पनि शिवबुटी चाख्नुपर्छ भन्ने मान्यता रहिआएको छ ।

शिवरात्रिका वेला पशुपति क्षेत्रको त कुरै छोडौँ, सामान्य शिवालयहरूमा समेत भाङका गोला, घोट्टा र चिलिमको प्रचुर प्रयोग हुनेगर्छ ।

शिवरात्रिका दिन मेरो गाउँ माछागढको शिवालयमा पनि भव्य मेला लाग्छ । महेन्द्र राजमार्गछेवैको शिवालयमा अरू वेला खासै नदेखिने शिवबुटीका विभिन्न प्रकार त्यस दिन देख्न र चाख्न पाइन्छ ।

यस्तै कुनै एक शिवरात्रिको कुरा हो । म करिब १५ वर्षको थिएँ, भाइ १२ को । दिनभरि शिवालयमा दूध चढाउने र पूजाआजा गर्नेको भिड थियो । आमा पनि बिहानै नुहाइधुवाइ गरेर गाईको दूध र पूजा सामग्री लिएर मन्दिर जानुभएको थियो ।

हाम्रो पालो भने बेलुका आउँथ्यो । खास रमाइलो त साँझपख नै हुन्थ्यो । कोही ठुलाठुला फलामे कराहीमा शुद्ध दूधको घोट्टा बनाइरहेका हुन्थे । कोही धुनी बालेर त्यसैमा रमाइरहेका हुन्थे । कोही भने भजनकीर्तन गरेर शिवजीको आराधनामा तल्लीन रहन्थे ।

दुई-चार दिन अघिदेखि नै शिवरात्रिको भव्य तयारी गरिन्थ्यो । शिवरात्रिका लागि भनेर जङ्गलबाट दुई-चार दिनअगावै लडियामा दाउरा ल्याइन्थ्यो । मन्दिरलाई रङ्गरोगन र ध्वजापताकाले सिँगारिन्थ्यो ।

रातिको चहलपहल नै बेग्लै हुन्थ्यो । साँझपख ठुलाठुला मुढा जोतेर धुनी बालिन्थ्यो । त्यही धुनी ताप्ने, भजनकीर्तन सुन्ने र साथीहरूसँग रमाइलो गर्ने हिसाबले हामी राति शिवालय जान मन पराउँथ्यौँ ।

साँझ सबेरै खाना खाएपछि हामी तीन बाउछोरा शिवालयतिर उकालो लाग्यौँ । बा भजने टोलीमा गएर मिसिनुभयो, म र भाइ आआफ्ना दाँवली खोज्न थाल्यौँ ।

मेरा कान्छाबा लगायत केही व्यक्ति शिवजीको प्रसाद बाँडिरहेका थिए । हामीले पनि हात थापेर केही प्रसाद खायौँ ।

प्रसाद निकै मिठो थियो । दूध घोटेको कुराउनी न हो, मिठो नहुने कुरै भएन ! केटाहरू रौस मानी-मानी थपिरहेका थिए तर दिनेहरू भने सतर्क थिए । उमेर र अवस्था हेरेर दिन्थे तर पनि केटाहरू आँखा छली-छली छुट्टाछुट्टै व्यक्तिबाट थपी-थपी प्रसाद खान्थे ।

मैले भने एकपटकदेखि खाइनँ । किनकि त्यसमा गाँजा, भाङ, धतुरो के-के मिसाइएको हुन्छ र त्यसले मान्छेलाई पागल बनाउँछ भन्ने सुनेको थिएँ । मनमा डर थियो । “ओइ तैँले पनि धेरै न खा है,” मैले भाइलाई पनि धेरै नखान सम्झाएँ ।

भजनकीर्तन सुनेर र नाच हेरेर हामी रमाइरहेकै थियौँ । भजनतिर मन नलागे धुनीको उज्यालामा साथीहरूसित गफिन्थ्यौँ । रात पनि क्रमशः छिप्पिँदै थियो ।

“ओए केटा हिँड् अब घर जाम्,” बाले मसँग भन्नुभयो, “भाइ कता छ भाइलाई खोज् ।”

केही बेरमै अरू एक-दुई छिमेकी सहित हामी घर फर्क्यौँ ।

बा आफ्नो कोठातिर लाग्नुभयो । भाइ र म हाम्रो बिस्तराभित्र पस्यौँ । भाइ र म सँगै सुत्थ्यौँ । हामी पल्टिएका मात्र थियौँ, भाइ लामो-लामो सास फेर्न थाल्यो । “ओइ रवि के भो ?” मैले उसलाई घचघच्याउँदै भनेँ, “अलि सजिलो गरी सुत् ।”

ऊ केही बोलेन । चलमलायो मात्र ।

एकछिनपछि लामो सास लिने र सास रोकिराख्ने गर्न थाल्यो । एकैपटक सास फाल्दा लामो सुस्केरा पनि लिन थाल्यो । सास तान्छ, अब फेर्ला तब फेर्ला, फेर्दैन । म कान थापिरहेको हुन्छु । निकै समयसम्म सास फाल्दैन । जब फाल्छ, एकैचोटि लामो सुस्केरा निकाल्छ ।

“ओए तँलाई के भयो ?” म आँत्तिएँ । ऊ केही पनि बोलेन । तर यो क्रम दोहोर्‍याइरह्यो । केही बेरपछि अब आवाज पनि निकाल्न थाल्यो । “मरेँ, मरेँ, मरेँ,” ऊ चिच्याउन थाल्यो, “लयो, लयो, लयो, लयो… ।”

म बेस्सरी आत्तिएँ । बाआमालाई बोलाएँ । भाइ एकोहोरो बोलिरहेको थियो, “मलाई लयो, लयो, लयो, समाओ.. ।”

“ओए रवि, रवि !” बाले सोध्नुभयो, “के भयो तँलाई ?” ऊ केही जबाफ दिँदैन । आँखा चिम्म पारिरहेको ऊ बोलाएपछि ट्वाल्ल हेर्छ मात्र । सासको आरोहअवरोह पनि उस्तै छ ।

“लौ न नि के भओ ? अब के अर्नी ?” आमा पनि आँत्तिन थाल्नुभयो ।

बाले थाहा पाइहाल्नुभयो, आज केटाले घोट्टा बढी खाएछ ! “ल ल नआँत्तिओ, क्यै हुन्न,” बाले हामीलाई सम्झाउँदै भन्नुभयो, “आज मन्दिराँ प्रसाद बढी खाएच ।”

आमाले लोटामा पानी लिएर आउनुभयो । बाले आमालाई हकार्नुभयो । “यस्ता बेलाँ पानी ख्वाउन हुन्न,” बाले आमासँग भन्नुभयो, “बरु जा भित्रबाट थोरै अमिलो लिएर आइजा ।”

बाले भाइलाई अमिलो चटाइदिनुभयो ।

“आयो, आयो, आयो, आयो… । लयो, लयो, लयो, लयो… मलाई समाऊ, समाऊ, समाऊ…” भाइ उसै गरी चिच्याइरहेको थियो । निकै बेर सास रोक्थ्यो, जब छोड्थ्यो अनि चिच्याउँदै “लयो, लयो, मलाई समाऊ..” भन्थ्यो । सास रोक्दा आँखा पनि चिम्म गर्थ्यो ।

“हैन, हिन्नुस् अस्पताल लानुपर्‍यो,” आमाले बासित भन्नुभयो, “के भको हो, के भको हो !” “पर्दैन नआँत्तिई, एकछिनमा ठिक हुन्च,” बाले आमालाई सम्झाउनुभयो ।

“ओए ला त !” बाले फेरि भाइलाई अलिकति अमिलो चटाइदिनुभयो ।

एकछिनपछि भाइले ट्वाल्ल आँखा हेर्‍यो । “रवि, ओए रवि !” बाले बोलाउनुभयो, “के भओ तँलाई ?” उसले बालाई एकोहोरो हेर्‍यो, तर बोलेन ।

निकै बेर भइसकेको थियो । बा वेला-वेला भाइलाई अमिलो चटाइरहनुभएको थियो । आमा छटपटिइरहनुभएको थियो ।

सास रोक्ने र कराउने क्रम अलि कम भएजस्तो भयो ।

“ला त अलिकति यो चाट,” फेरि बाले अमिलो सहितको चम्चा उसको मुखतिर सोझ्याउनुभयो । यसपटक अलिकति मुख उघारेर उसले चम्चा चाट्यो ।

आमाले लामो सास फेर्नुभयो ।

“यल्लाई आज धेरै खान कल्ले दिएच !” बाले भन्नुभयो ।

“केटाहरू रौसिई-रौसिई खाँदै थिए,” मैले बेलुकीको घटना सम्झिँदै भनेँ, “आँखा छली-छली घरी कोसित घरी कोसित मागेर थपी-थपी खान्ते । यल्ले नि त्यसरी नै खायो होला !”

निकैबे रसम्म हामी शिवरात्रि र शिवालयकै विषयमा कुरा गरेर बस्यौँ । भाइलाई पनि अलि ठिक हुँदै गएजस्तो भयो ।

“ल अब क्यै हुन्न, सुत,” बाले भन्नुभयो ।

भाइ अझै घरिघरि लामो सास तानिरहेको थियो । म रातभरि निदाउन सकिनँ ।

                   …

अर्को एक वर्ष शिवरात्रिकै दिन राति हामी भजनकीर्तन हेरर घर फर्किरहेका थियौँ ।

बिचमा थारू गाउँ पर्थ्यो । राति गाउँका कुकुर निकै भुकिरहेका थिए । टाढा-टाढा स्याल कराएको आवाज पनि आइरहेको थियो ।

थारू गाउँको पुछारतिर बाटाछेवैमा एउटा बाँसघारी थियो । दुईतिरका बाँसको दोछायाले बाटामा चुक घोप्ट्याएझैँ अँध्यारो हुन्थ्यो । एक्लैदुक्लै हिँड्दा पनि झसङ्ग हुने खालको ठाउँ थियो त्यो ।

हामी त्यस्तै पाँच-सात जना थियौँ । जब हामी बाँसघारीनजिक पुग्यौँ, केही अनौठो आवाज सुनियो । सुरुमा आवाज स्पष्ट भएन । अगाडि सडकबाटै आएको आवाज थियो त्यो । हामीलाई डर लाग्यो । केही बेर सबै जनाले अडान लियौँ ।

त्यत्रा जना छौँ, त्यो पनि गाउँको बिचमा, केको डराउनु ! हामीले सामूहिक निष्कर्ष निकाल्यौँ । फलतः हामी अगाडि बढ्यौँ । देख्छौँ- सडकको ठिक माझमा एक जना मान्छे पलेँटी कसेर बसेको छ र आफू आफैँसँग बात मारिरहेको छ । सोच्यौँ, कुनै जँड्याहा होला !

तर जब देख्यौँ हामी छक्क पर्‍यौँ, उनी त रामचन्द्र पौडेल पो रहेछन् ! नेता रामचन्द्र होइन नि ! मेरै गाउँको साथी हेमराज पौडेल (देउता) का दाइ रामचन्द्र !

“मैले त बाटै भेटिनँ, कता छ बाटो ?” बिच बाटामै पलेँटी कसेर बसेका रामचन्द्र दुवै हातले दायाँबायाँ छामछुम गर्दै भनिरहेका थिए, “मलाई कसैले घर जानी बाटो देखाइदेओ न !”

देखेरै हाँसो थाम्न नसकेका हामी सुनेर झन् मरी-मरी हाँस्न थाल्यौँ ।

“दाइ ! बाटामै बसेर कता बाटो खोजेको !” मैले हाँसो थाम्दै भनेँ, “हिन्नोस् तपाईँलाई हामी घर जाने बाटो देखाइदिन्चम् ।”

“होइन, मेरो बाटै हरायो,” उनले भने, “म त कुन नालामा आएर फसेँ, फसेँ ।” हामीले जति गर्दा पनि उनी हामीसँग जान मानेनन् ।

शिवालयबाट घर जान हिँडेका उनी बिचबाटामै बाटो खोजिरहेका थिए ।

उता शिवालयमा रात छिप्पिँदै गएसँगै रमितेको भिड पनि पातलिँदै गयो । बाँकी रहेका भजनेहरू पनि एक-दुई/एक-दुई गरेर छाँटिँदै गए ।

“हैन अब त उजेलो पनि हुन आँट्यो, भो जाम्,” भजनेमध्येको कसैले भनेछ, “एकछिन भए नि आँखाको विष मार्न पर्च ।” बाँकी रहेका भजनेहरूले सहमति जनाए । मध्यराति भजन समापन गरेर सबै जना आआफ्ना घर जान भनेर हिँडे ।

तर बिहान अबेरसम्म कोही घर पुगेन ।

“हैन, आज एकाबिहानै कता हो ?” चिसापानी चोकबाट कन्जरुवातिर हिँड्दै गरेका तारानाथ पराजुलीलाई देखेर कसैले सोधेछ ।

“घर जान हिँडेको !” पराजुलीले भनेछन् ।

चोकबाट उत्तरतिर लाग्नुपर्ने मान्छे पश्चिम जङ्गलतिर सोझिँदै उनी “घर जान हिँडेको” भन्दा रहेछन् ।

चोकमै घर भएका गौतम कान्छा बिहानीपख लक्ष्मणा (पूर्व) तिरबाट आइरहेका भेटिएछन् । “होइन, मेरो घर कता हरायो कता ?” बाटामा भेटिएकासँग उनी भन्दारहेछन्, “जति खोजे नि भेट्दिनँ !” कति हाँस्नु !

एक सुरमा एउटा बाटो हिँड्छन्, कहाँनिर पुगेर “हैन घर जानी बाटो त यस्तो थिएन” भन्ने लाग्दो रहेछ । फेरि त्यही बाटो फर्किँदा रहेछन् ।

जति हिँडे पनि उनीहरू घर भेट्दैनन्, घर जाने बाटो भेट्दैनन् । घर जान भनेर हिँडेका उनीहरू बाटो पत्ता लगाउन नसकेर रातभरि यता र उता चक्कर काट्दै हिँडेछन् ।

यो सब गाँजा, भाङ र धतुरोको कमाल !

त्यो वर्षको माछागढको शिवरात्रि छिमेकी गाउँहरूमा समेत केही दिनका लागि चर्चाको विषय बन्यो ।

शिवरात्रिका यस्ता स्मृति प्रायः धेरैसँग होलान् । मेरा पनि अरू थुप्रै स्मृति छन् । यी सबै घटना मेरो बाल्यकालीन समयका हुन् ।

२०३५/३६ सालतिर शिवरात्रिमा तिल्कानामा घटेको “धतुरो काण्ड” त्यस क्षेत्रका धेरैका स्मृतिमा अझै ताजै होला !

भोगी जान्नेहरू सुनाउँछन्- गाँजा, भाङ र धतुरो लागेपछि अनौठो हुन्छ रे ! खाँदाखाँदैको थाल पनि हिँड्न थाल्छ रे ! सडकमा मिल्किएको डोरी पनि सर्पमा रूपान्तरित हुन्छ रे ! ढुङ्गाले पनि गिज्याउन थाल्छ रे ! पशुमा मान्छे र मान्छेमा पशुका आकृति देखिन थाल्छन् रे ! जब गाँजा, भाङ र धतुरो लाग्छ तब के-के हो के-के हुन थाल्छ रे !

यस्ता घटना देखेको सुनेको मलाई पछि-पछि शिवरात्रिमा पशुपति जाँदा रातभरि बाटामा मान्छेहरू हिँडिरहेको देख्दा लाग्थ्यो- ती सुरमा हिँडिरहेछन् या बेसुरमा ?

भन्छन्- भाग्यमानी देखेर चेत्छ, अभागी परेरै चेत्छ रे ! यसअर्थमा म आफूलाई भाग्यमानी ठान्छु । ‘मापसे’ मा अतिरिक्त अनुराग भए पनि ‘गापसे’ (गाँजा पदार्थ सेवन) मा भने म आफूलाई अनुभवहीन ठान्छु । शिवरात्रि वा यस्तै कुनै सन्दर्भमा जब गापसेको कुरा आउँछ म उपर्युक्त घटनाहरू झल्याँस्स सम्झिन पुग्छु । फलतः त्यसप्रति मेरो मन विकर्षित हुन्छ ।