हामी मान्छेको आनीबानी पनि नबुझ्ने खाले हुँदो रैछ । बाल्यावस्थामा अतीत (अर्थात् पूर्वजन्म) को सम्झना क्यै हुँदैन, भविष्यको चिन्ताले ढोका ढकढक्याएको हुँदैन । आफूसँग जे हुन्छ, वर्तमान नै हुन्छ । “मस्तराम मस्तीमा आगो लाग्यो बस्तीमा” भएजस्तै भुराहरू आफ्नै दुनियाँमा हराएका हुन्छन्, दुनियाँदारीसित बाल मतलब राख्दैनन् । तरुण अवस्थामा पुग्दा नपुग्दै मान्छेको जातलाई आफ्नो भविष्य बनाउने चिन्ताले सताउन थालिहाल्छ र भविष्यको कल्पना गरेर जानी नजानी वर्तमानको शोषणमा होमिहाल्छ तर त्यही मान्छेलाई आफ्नो उमेर उत्तरार्द्ध लागेदेखि भविष्यबारे सोच्ने खासै चटारो रहँदैन । वर्तमानभन्दा गजबको प्यारो त अतीत नै लाग्न थाल्छ र पुग्छ “घुमीफिरी त्यही रुम्जाटाड” अर्थात् अतीतको दुनियाँ । मेरो अवस्था पनि खासै फरक छैन । मेरो अतीतको गल्लीमा एउटा अतिशय बुढो घर आज पनि जीवित छ । मेरो जन्मघर ।
मेरो जन्मघरको भुईँतल्लामा तीनओटा पसलहरू थिए । पहिलो तल्लामा चारओटा सुत्ने कोठा र दोस्रो तल्लामा दुइटा समान्य कोठा र भान्साकोठा थिए । भान्साकोठा पनि निकै साँघुरो र सदैव धुँवाको मुस्लाले भरिभराउ । उति वेला धनी, गरिब सबैको घरमा त्यही माटाको चुलो हुन्थ्यो । आमा र काकी आलोपालो गरी चुलामा दाउरा झोस्दै, आँखाका आँसु सारीको सप्काले पुछ्दै बिहानदेखि बेलुकीसम्म भान्साकोठामा खटिराख्नुहुन्थ्यो । आज सुविधासम्पन्न वातावरणका हुर्किँदै गरेका बच्चाहरूलाई यस्ता कुरा किंवदन्ती लाग्न सक्छ । पाहुनाहरूका निमित्त सुत्ने व्यवस्था दोस्रो तल्लाका ती दुई कोठामध्ये एकमा गरिन्थ्यो । अर्को कोठा अतिरिक्त खाट, सिरक, डसना, दरी र चकटीजस्ता समानले भरिभराउ रहन्थ्यो । त्यही कोठामा हामी भुराहरू डाक्टर र रोगीको खेल खेल्थ्यौँ । पिताजीले ल्याइदिएका प्लास्टिकका स्टेथेस्कोप, थर्मामिटर र सिरिन्ज हामीसँग हुन्थे नै । अनि हुन्थ्यो, आलोपालो गरी एक जना डाक्टर बन्ने र अन्य भुराहरू मरिज बन्ने खेल । औषधिको नाममा खाली बोतलमा जमाना अगाडि भरिएको अर्थात् प्रदूषित पानी हुन्थ्यो । प्रत्येक मरिजलाई त्यहीँ पानी खुवाइन्थ्यो । अर्थात्, झन् ठुलो मरिज बनाइन्थ्यो ।
भुइँतल्लामा भऱ्याङमुनि एउटा चर्पी थियो । बिहान उठ्नेबित्तिकै सबै जना आफ्नो पालोअनुसार त्यही एउटा चर्पीमा शरणागत हुन्थे । उति वेला सिमेन्ट अथवा फलामे डन्डी के हुन्छ, कसैलाई थाहासम्म थिएन । पूरै घरका भित्ता सुर्खी, राबिस र चुनाबाट जोडिएका । छत पनि काठे र कडीको बलमा टिकाइएका । भऱ्याङ पनि काठे । बाहिर सडकमा कुनै ठुलो गाडी हुइकिँदै निस्कियो भने घर काम्न थाल्थ्यो, मानौँ भुईँचालो गएको होस् । पानी पर्दा छत नचुहिने कुनै कोठा थिएन । बार्दलीको अवस्था झनै खराब थियो । कुनबेला बार्दली भत्केर आफू तल खसिन्छ भनेर भय लागिराख्थ्यो । हावाहुन्डरी त चल्दा सातो नै जान्थ्यो । घरको मूल ढोका दिनभरि खुल्ला नै रहन्थ्यो । कतिपय पटक रातभरि पनि । वीरगन्जभरिकै घरहरूको यस्तै अवस्था थियो ।
हाम्रो घरको भुईँतल्लामा त दुई-चारओटा भुस्याहा कुकुर र एकटा गाईले घरजम गरेकै हुन्थे । कुनै-कुनै आँटिला कुकुर त प्रथम तल्लामै पुग्दै, लुक्ने ठाउँ खोजेर मज्जाले निदाएका हुन्थे । बटुवाले ओत पाउन भनेर उति वेला घरको अग्र भागमा दलानजस्तै खुल्ला ठाउँ राख्ने चलन नै थियो । हामी भुराहरू दिनभरि टोलछिमेकका बाहिरी दलान अथवा भित्री प्राङ्गणहरूमा निर्बाध रूपमा आवतजावत गरिराख्थ्यौँ । लुकाछिपी (हाइड एन्ड सिक) अथवा अन्य कुनै पनि खेल खेल्दा त्यस्तै दलान अथवा प्राङ्गण प्रयोग गर्नु हाम्रो सार्वभौम अधिकारसरह हुन्थ्यो । छिमेकीहरू पनि कहिल्यै आपत्ति जनाउँदैनथे । उनका बच्चाहरूको अवस्था पनि उस्तै थियो । के भनेर आपत्ति जनाउँथे ?
राति बत्ती गएका वेला घरका ठुलाबडाहरू लालटिन र टुकी बाल्नमा व्यस्त हुन्थे तर हामी भुराहरू सुत्ने मनसायले चटाई (गुन्द्री) र तन्ना बोकेर छतमा जान्थ्यौँ । काकापट्टिका भाइबहिनाहरू मिलाएर दस जना त हुन्थ्यौँ नि । अतिथिसँगै केटाकेटी उमेरको कोही आएको छ भने उसलाई पनि तानेर आफूसँगै माथि लान्थ्यौँ । गुन्द्रीमा पल्टिएपछि अबेरसम्म मुग्ध आँखाले आकाशका ताराहरू नियालिरहन्थ्यौँ । हामीबिच तारा गन्ने प्रतिस्पर्धा चल्थ्यो । कोही एक लाख भन्थ्यो, कोही डेर लाख । चुनौती कसैले कसलाई दिँदैनथ्यो, सबैको गन्ती स्वीकार हुन्थ्यो । जुनेली रात छ भने हाम्रो झनै रजाइँ हुन्थ्यो । चन्द्रमा नियाल्थ्यौँ, बादलका सानाठुला झुण्ड पछ्यौरीजस्तै हल्लिँदै आकाशगङ्गामा बग्दै गरेको देखेर हुरुक्कै हुन्थ्यौँ । कहिलेकाहीँ पर आकाशमा जुनकिरीजस्तै हवाई जहाज उड्दै गरेको पनि ठ्म्याउन भ्याउँथ्यौँ । अनि हामीबिच बहस चल्थ्यो, प्लेन कसरी उड्दो होला ?
उति वेला सो घरमा मेरा काकाका अभिन्न मित्र नरबहादुर राई नाम भएका एक जना वरिष्ठ राजनीतिज्ञ वेलाबखत घरमा आइराख्थे । दाउरासुरुवाल र इस्टकोटको पहिरन, शिरमा नेपाली टोपी र कम्मरमा खुकुरी भिरेको देखेर म मन्त्रमुग्ध नै हुन्थेँ । उनी आफ्नो कोठामा नभएका वेलामा सिरानीमा राखिएको उनको खुकुरीसित खेल्न थाल्थेँ । काठलाई खापेर बनाइएको खुकुरीको खोलमा एउटा ठुलो र तीनओटा ससाना खुकुरी हुन्थे । उनका ती ससाना खुकुरीसित मेरो मोहनीजस्तै लागेको थियो । एक दिन मैले सबैभन्दा सानो खुकुरी झिकेर लुसुक्क आफ्नो गोजीतिर पुर्याइहालेँ । एक किसिमको चोरी नै थियो त्यो तर सो विषयमा कुनै सोधखोज भएन । केही दिनपछि मबाट पनि त्यो खुकुरी हरायो । चोरीको माल मोरीमा भनेजस्तै भयो ।
हाम्रो घरसित जोडिएको चौधरी परिवारको ठुलो घर थियो । सो घरसित जोडिएको उनकै विशाल गाईगोठ पनि थियो । सो गाईगोठ हामी भुराहरूका निमित्त क्रिडास्थली नै थियो । त्यो गोठकै प्राङ्गणभित्र एक कुनामा निकै पुरानो, जर्जर अवस्थामा रहेको एक घर पनि थियो । प्राङ्गणको अर्को कुनामा काम नलाग्ने थोत्रा समानहरू थन्क्याइएका हुन्थे । त्यहाँबाट मैले साइकलको थोत्रो टायर टिपेर बाटामा खेलौनाजस्तै गुडाउँदै हिँडेको मलाई आजसम्म सम्झना छ । त्यो प्राङ्गणभित्र केही अम्बाका रुखहरू पनि थिए । अम्बा काँचो होस् अथवा पाकेको, एउटा बाँकी राख्दैनथ्यौँ । उत्पातकै कारण हाम्रा हातगोडा अनेकन् पटक बटारिए, मर्किए, काटिए, कतिपटक त स्टिच नै लगाउने अवस्था आयो तर सुध्रिने मनःस्थितिमा कहिल्यै आएनौँ । उति वेला घरकै अगाडि एक फर्निचर पसल हुने गर्थ्यो । सो पसलबाहिर मालसमान बोक्ने रिक्साठेला कुनै ताल्चासाल्चा नभिराएर राखिएको हुन्थ्यो । हामी सडक सुनसान हुनेबित्तिकै सो रिक्सा टिप्थ्यौँ र सडकमा कुदाइराख्थ्यौँ । थकाइ लागेपछि जता मन लाग्यो, उतै मिल्काएर आआफ्नो घरमा फर्किन्थ्यौँ ।
महावीर गल्ली हुँदै तीन नम्बर रोड पुग्दा उता एउटा साबुन कारखाना हुने गर्थ्यो । कारखानाबाहिर राखिएका ठुल्ठुला ड्रमहरूबाट सेतो तर हलुवाजस्तै गाढा रसायन चुहिरहेको हुन्थ्यो । मौका पायो कि हामी त्यो चुहिएको रसायन चोर्थ्यौँ । आजको जमानामा बच्चाहरूले रङ्गीचङ्गी स्लाइम (रासायनिक हलुवा) बाट खेलखेलौना बनाएजस्तै हामी उति वेला त्यो रसायनबाट खेलखेलौना बनाउँथ्यौँ । पछि थाहा पायौँ कि सो रसायनको नाम सिलकन हो रे । हाम्रो लोभ थपिँदै जाँदा ड्रमका ढक्कनहरू पनि चोर्न थालेका थियौँ । असलमा ती ढक्कन राँग (टिन) बाट बनेका हुन्थे । हामी ती ढक्कनलाई आगो पगालेर गोलो चक्की बनाउँथ्यौँ, अनेक थरीका सडकछाप खेल खेल्थ्यौँ । उति वेला यस्ता कर्तुतलाई चोरी भनिन्छ भनेर हामीलाई सुँइकोसम्म पनि थिएन । बजारमा सिकेको कुरो मैले बिस्तारै आफ्नै पिताजीको पसलमा आजमाउन थालेँ ।
उति वेला पसलमा रेडियो तथा मिक्सर मेसिन जस्ता थरी-थरीका इलेक्ट्रिक समानहरू बिक्री हुन्थे । मौका पायो कि एउटा समान चोरिहाल्थेँ । घरपछाडि लगेर फुटालेर त्योभित्रको चुम्बक निकाल्थेँ । मेरो मुख्य आवश्यकता चुम्बक नै हुन्थ्यो, चुम्बक हात पारेपछि त्यो फुटालेको समान कुनै नालीसालीमा मिल्काइदिन्थेँ । मेरो हौसला बढ्दै गएको थियो । उति वेला दिनको खाना खाएपछि ओछ्यानमा एकछिनका लागि पल्टिनु पिताजीको दैनिक अभ्यास हुन्थ्यो । उनी आफ्ना गोडा मिच्न मलाई नै अह्राराउँथे । उनी निदाएका छन् भनेर भान पर्नेबित्तिकै उनको पाकेटबाट पैसो पनि चुराउन थाले । कुनै वेला पच्चिस पैसा, कुनै वेला पचास पैसा (उति वेला चव्वनी र अट्ठनी भनिन्थ्यो) । घरमुनि नै विष्णुजीको पानपसल थियो, उतै पुगेर चुराएको पैसो चकलेट आदि खरिद गर्थेँ ।
खैर, त्यो दिन मेरो चोरी समातियो । असलमा पिताजी निदाएकै थिएनन्, मेरो लीला उनले आफ्नै नाङ्गा आँखाले हेरिसकेका रहेछन् । सर्वप्रथम पिताजीले बडो निर्ममतापूर्वक मेरा दुवै कानलाई निमोठे । म आठ बर्से बबुरोको रोदनक्रन्दनबाट घरभरिका मान्छे कोठामा भेला भएका थिए । सबैका आँखा करुणा र दयाले रसाएका थिए तर पिताजीको क्रोधसित जुहारी खेल्ने आँट कसैमा थिएन । झापड त कति खाए कति ? गन्ती गर्ने होस् कसैलाई थिएन । मेरो सजायको अन्तिम भाग झनै भयावह थियो । पिताजीले आगामा पोलिएर राताताता कोइला झिक्न लगाए । चिम्टीमा राखेर मेरो दाहिने हत्केलामा राख्छु भनेर थर्काउन थाले । उति वेला त मेरो मात्र होइन, त्यहाँ भएभरका मान्छेको सातो गएको थियो । भयो…भयो…अब कहिल्यै गर्दैन भनेर सबै जना पिताजीलाई अनुनय गर्न थाले तर पिताजी आफ्नो निर्णयमा अडिग थिए ।
त्यो कोइलाको डाम्नाबाट म बल्लतल्ल जोगिएँ । त्यसका लागि मैले कान समातेर दसपटक उठबस गर्नुपऱ्यो र सबैको अगाडि प्रण गर्नुपऱ्यो, “अबउपरान्त कुनै पनि किसिमको चोरी गर्दिनँ ।”
उक्त घटनाबाट म भित्रभित्रै निकै तर्सिएको थिएँ । लामो समयसम्म राम्ररी राति निदाउन सकेको थिइनँ । ओछ्यानमा जानेबित्तिकै पिताजीको रौद्र रूप आँखाअगाडि प्रकट भइहाल्थ्यो । त्यसपछि आफ्नो अथवा कसैको घरबाट झिनोमसिनो कुनै पनि सामान चोर्ने आँट नै खुलेन ।
समय बित्दै गयो, समयसँगै हुर्किँदै गए । लामो अन्तरालपछि शिव खेराले लेखेका पुस्तक- यु कैन विन पुस्तक पढ्ने अवसर जुऱ्यो । पढ्दै जाँदा पुस्तकको एक पानामा गजबको कुरो लेखिएको भेटाएँ, “पैरेन्टिङ्ग इजअन्ट पोपुलरटी कन्टेस्ट ।” सो वाक्यबाट मेरा अन्तर्मन तरङ्गित भयो र गम्न बाध्य भएँ, “मेरा पिताजीले उतिवेला निर्ममता नदेखाएका भए मेरो आनीबानीले मलाई कुन्नि कता पुऱ्याउँथ्यो होला ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।