सन् १९९४ को जुलाई महिनामा भर्जिनिया राज्यको मेरी माउन्ट विश्वविद्यालयमा आयोजना भएको एएनएको महाधिवेशनमा अनेसासले आयोजना गरेको कविता गोष्ठीमा भाग लिएर कविता पाठ गरेपछि मभित्र निदाएको सिर्जनाको हुटहुटी फेरि पलाएर आएको थियो । त्यसपछि त मेरो मनभित्र कविताको बाढी नै आयो भन्दा हुन्छ । कल्पना यति मुखरित बनेर आउँथ्यो कि कामको वेला पनि कलम र कपी निकालेर कोर्न थालिहाल्थेँ । सन् १९९६ मा अनेसासको मुख पत्र “अन्तर्दृष्टि” को सम्पादक बनेपछि त केही न केही रचना प्रकाशनका लागि तयारीमा राख्नैपर्ने हुन्थ्यो । त्यस समयमा नेपाली भाषी सीमित सङ्ख्या भएको आधारमा सिर्जना गर्ने व्यक्ति पनि कमै मात्र थिए । त्यसो हुँदा पत्रिकाको पेज भर्नका लागि पनि हरेक अङ्कका लागि केही न केही लेख्नैपर्ने एक प्रकारको बाध्यताजस्तो थियो ।
यिनै कारणले गर्दा अमेरिकाको व्यस्ततालाई एकातिर पन्छाएर पनि फेरि आफ्नै पुरानो कविता कोर्ने सिलसिला सुरु गर्न थालें सन् १९९६ देखि अमेरिकामा ।
मेरो विचारमा कविता – के हो र किन लेख्छु भनेर भन्दा अलिकति कविताको कुरा गर्न मनासिब लाग्दछ ।
कविता जीवन न हो त्यसमा हाँसो हुन्छ
त्यसमा रोदन हुन्छ त्यसमा प्रेम हुन्छ त्यसमा मिलन हुन्छ
अनि बिछोड हुन्छ
सबै कविता मिठा हुन्छन्
तर यथार्थमा
आम मान्छेको बोली बोल्ने
खुल्ला आकाश समेट्न सक्ने कविता
झन् मिठा हुन्छन् !
साहित्यका विभिन्न विधामध्ये कविता लेख्न, पढ्न र वाचन गर्न म अति मन पराउँछु । मैले कविताबाट नै नेपाली साहित्यमा प्रवेश गरेको हुँ । मलाई कविता लेख्न मन पर्नुको कारण हो समयको बचत । छोटो समयमै एउटा कविता कोर्न सकिन्छ । कविता शक्तिशाली पनि हुन्छन् । एउटा कविताले थुप्रै कुराहरू व्यक्त गर्न समर्थ राख्दछ । कविताको आकार जति सानो हुन्छ त्यसको त्यति नै प्रभाव र व्यक्तिने शक्ति प्रबल हुन्छ । त्यसैले म कविता लेख्न मन पराउँछु ।
अव्यक्त भावनाको अभिव्यक्ति नै कविता हो
सारा ब्रह्माण्डका सजिब निर्जीव वस्तुहरू
ती कति धन्य हुन्छन्
ती कति खुसी हुन्छन्
जसको कथा व्यथा
कविले कविताबाट
व्यक्त गरिदिन्छन् !
कविता मनको सुन्दर अभिव्यक्ति हो । कविको भावनाले जुन कुराको हृदयङ्गम गर्दछ त्यसैमार्फत नै कविताको जन्म हुन्छ । कविताको क्षेत्र असीमित छ । आँसुको होस् या हाँसोको । खुसीको होस् या दुःखको । आफ्नो मनको भावनाको उद्गार नै कविता हो । कविता एउटा पूरै दर्शन पनि हो । जीवनको विविध पक्षलाई उजागर गरेर लेखिएको आफ्नो मनभित्रको उद्गार नै वास्तवमा जीवन्त कविता हो । सम्पूर्ण मानवको जिजीविषापट्टि लेखिएको कविताले नै जीवन्तता प्राप्त गर्दछ । कविताको उत्पत्ति हाम्रो जीवनको उत्पत्तिसँगै भएको मानिन्छ । त्यसैले यो आदिम साहित्य पनि हो ।
सन् १९९७ सालको कुनै दिन ग्रेटर बोस्टन नेपाली कम्युनिटी, बोस्टनको दसैँको कार्यक्रम थियो । हार्भर्ड विश्वविद्यालयको डुहे हलमा छोटो मिठो दसैँ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा मलाई केही मुक्तक सुनाउने अवसर मिलेको थियो । कार्यक्रम सम्पन्न भएपछि ग्रेटर बोस्टन नेपाली कम्युनिटीका तत्कालीन अध्यक्ष आशुतोष तिवारीले “होइन यस्तो मिठो मुक्तक त फेरि पनि सुन्नुपर्छ । अब एउटा कविता गोष्ठीको आयोजना पो गर्ने कि” भनेर प्रस्ताव राखे । मिठो स्वरका धनि बच्चु कैलाशका नामले बोस्टनमा परिचित पुष्कर पोखरेलले स्वरमा स्वर थपेर वातावरणलाई थप सकारात्मक दिशातर्फ मोडाइदिए । तत्कालै डा. मबी सिंहले आफूले सो गोष्ठीको आयोजना गर्ने तत्परता देखाइहाले ।
सन् १९९७ कै कुनै दिन डा. मबी सिंहको वासस्थान युनियन स्क्वाएरमा अमेरिकाको धरातलमा पहिलो कोठे कविता गोष्ठीमा मैले भाग लिने अवसर प्राप्त गरेँ । सो कोठे कविता गोष्ठीमा मैले सम्झेअनुसार डा. महेश मास्के, बुद्ध महर्जन, डा. मबी सिंह, अनु श्रेष्ठ, पुष्कर पोख्रेल, आशुतोष तिवारी, अच्युत अधिकारी, भूपेश कार्की र अरू दुई-तीन जना थिए ।
मधुरो मैनबत्तीको उज्यालो र शान्त वातावरणमा छोटो मिठो सबैले कविता पाठ गरे । आफूले नलेखेका केहीले अरूकै लोकप्रिय नेपाली कविता पनि वाचन गरेका थिए । कोहीले अमेरिकी कविको कविता पनि पाठ गरेका थिए । सौम्य, शान्त र सौहार्दता वातावरणमा सो गोष्ठी सम्पन्न भएको थियो । त्यही कारणले हुनुपर्छ सबैको सहमतिमा प्रत्येक महिनामा एउटा कविता गोष्ठी गर्ने, कविता र साहित्यका बारेमा छलफल गर्ने निर्णयमा सबैले लाहा छाप ठोके तर केही नियम पनि बनाइयो । ती नियम थिए – गोष्ठी हुनुअगावै सोही दिन हुने कुनै विषयका बारेमा छलफल हुनुअगावै सो कविता या कथाको प्रतिलिपि अध्ययनका लागि सम्पूर्ण सदस्यलाई फोटोकपी उपलब्ध गराइनुपर्ने । ता कि गोष्ठीमा सबैले आफ्नो विचार राख्ने उपयुक्त अवसर प्राप्त गर्न सकून् र विस्तृत छलफल गर्न सजिलो होस् ।
मैले सम्झेअनुसार दोस्रो कविता गोष्ठी मेरो वासस्थान बोस्टनको आर्लिङटन सहरमा भएको थियो । सो दोस्रो कविता गोष्ठीमा हामीले कवितावाचनका साथै प्रसिद्ध लेखिका पारिजातको कथा “मैले नजन्माएको छोरा” को विषयमा व्यापक छलफल गरेका थियौँ । उठेका सवालमा जानेका र बुझेका हामी भित्रैबाट जवाफ दिने समझदारी गरेका थियौँ । तेस्रो कविता गोष्ठी पुष्कर पोखरेलको वासस्थान हे मार्केटनजिकै भएको थियो । त्यस गोष्ठीमा प्रसिद्ध कवि भूपी शेरचनको “हामी” कविताका बारेमा व्यापक छलफल गरेका थियौँ । सबैले रचनावाचन गरेपछि पुस्कर पोखरेलको स्वरमा बच्चु कैलाशको गीतबाट गोष्ठी समापन गर्ने गरेका थियौँ । त्यो नियमित कार्यक्रमजस्तै नै थियो । किनकि पुष्करको स्वरमा एउटा जादु थियो र बच्चु कैलाशका मिठा गीत उनको स्वरमा हुबहु सुनिन्थे । अनि हामी सबै त्यही स्वरमा झुम्दथ्यौँ ।
सन् २००० सालको फ्रेबुररी महिनामा मैले बोस्टन छोडेँ । डिसी मेट्रो क्षेत्रको भर्जिनिया राज्यमा मेरो वासस्थान सऱ्यो । एउटा गज्जबको संयोग चैँ मेरो ठेगाना भो । कसरी भने बोस्टनमा हुँदा मेरो घरको ठेगाना थियो 14 Grove street, Arlington MA । त्यसरी नै भर्जिनिया मेरो ठेगाना भयो 14 Denial Street, Arlington, VA | कस्तो संयोग घरको नम्बर, सहरको नाम उही अनि राज्यको छोटकरी पनि उस्तै-उस्तै । जे होस् रमाइलो लाग्यो ।
सम्भवतः मैले भर्जिनिया आएपछि पहिलो कवितावाचन गरेको ओपन माइक कार्यक्रममा हो । कार्यक्रम माउन्ट एभरेस्ट रेस्टुरेन्टमा आयोजना गरिएको थियो । त्यति वेला होमराज आचार्य, हेमन्त श्रेष्ठ र जय छाङ्छाहरूको सक्रियतामा एकेडेमी अफ नेपाली पोयटस एन्ड राइटर्स गठन भएको थियो । त्यही संस्थाले सन् २००१ मा वासिङ्टन टाइम्स पत्रिकामा सूचना प्रकाशित गरेर नेपाली भाषी मात्र होइन सबैका लागि कविता गोष्ठी आयोजना गर्न एक ओपन माइक कार्यक्रमको आयोजना गऱ्यो । कार्यक्रममा थुप्रै नेपाली र दुई अमेरिकन कविहरूले आआफ्नो कविता पाठ गरेको मलाई सम्झना ताजै छ ।
सन् २००२ सालमा सोही माउन्ट एभरेस्ट रेस्टुरेन्टले कवि तथा गीतकार दिनेश अधिकारीको सम्मानमा एउटा कविता गोष्ठीको आयोजना गरेको थियो । सो कार्यक्रममा थुप्रै स्थानीय कविहरूको साथमा कोलोराडोबाट एएनएका अध्यक्ष नवीन दत्त र गायिका नीलम श्रेष्ठ समेतको अपस्थिति रहेको थियो ।
प्रवासमा नेपाली भाषा र साहित्यको उत्थान र विकासका लागि नियमित साहित्य गोष्ठी गरेर कवितावाचन गर्ने कार्यक्रम धेरैको मन मनमा रहे तापनि त्यस्तो कुनै नियमित कार्यक्रम भइरहेको थिएन ।
कोठे कविता गोष्ठी नामाङ्कन गरेर गोष्ठी आयोजना नगरिए तापनि अन्ताराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार होमनाथ सुवेदीको वासस्थान उडब्रिज भर्जिनियामा गोष्ठीको आयोजना गरिएको थियो । घरपछाडिको खुल्ला चौरमा स्थानीय करिब पन्ध्र जना कविहरूले आआफ्नो कविता पाठ गरेका थिए ।
त्यही सिलसिलामा त्यस्तै प्रकारको कोठे कविता गोष्ठी कवि प्रेम सङ्ग्रौलाको वासस्थान फेयरफ्याक्स भर्जिनियामा आयोजना गरिएको थियो । घरको मुनिको तलामा आयोजना गरिएको सो गोष्ठीमा करिब पन्ध्र जना स्थानीय कविहरूको उपस्थिति रहेको थियो । गोष्ठी भव्यताका साथ सम्पन्न भएको थियो ।
सन् २००६ सालमा साहित्यकार हरि घिमिरेले आफ्नो निवास भर्जिनिया राज्यको सेवेन कर्नरमा पहिलो “डिसी कोठे कविता गोष्ठी” भनेर आयोजना गरे । सो कवितावाचन कार्यक्रममा तेह्र स्थानीय कविहरूले पाठ गरेका थिए ।
सन् २००७ मा त्यही कोठे कविता गोष्ठीको निरन्तरताअनुरूप दोस्रो कोठे कविता गोष्ठी कवि कपिल सिटौलाको वासस्थान भर्जिनियाको फोर माइल रनमा आयोजना भयो । सो गोष्ठीमा निकै ठुलो सङ्ख्यामा स्थानीय कविहरू र साहित्यका पारखीहरूको समेत उपस्थिति रहेको थियो ।
भर्जिनिया राज्यमा यसरी समय समयमा कोठे कविता गोष्ठीको आयोजना भइरहे पनि नियमानुसार नियमित तवरले कोठे कविता गोष्ठीको आयोजना भएको थिएन । विशेष कविता लेख्ने तथा साहित्यमा रुचि राख्ने यस क्षेत्रका सर्जकहरूले आआफ्नो तवरले आफ्नो घरमा वेला-वेलामा यस्ता कोठे गोष्ठीको आयोजना गर्दै आएका थिए तर त्यसले निरन्तरता पाएको थिएन ।
कोठे कविता गोष्ठीलाई निरन्तरता र निश्चित आकार दिने उद्देश्यले खस खस डट कम साहित्यिक वेब पेजका संस्थापक तथा सञ्चालक वासु श्रेष्ठले सन् १८ डिसेम्बर २०१० मा आफ्नो वासस्थान उडब्रिज भर्जिनियामा प्रथम कोठे कविता गोष्ठीको आयोजना गरे । सो गोष्ठीमा उनले गोष्ठीका नियम र सदस्यका योग्यताका बुँदाहरू उल्लेख गरेर कोठे कविता गोष्ठीको नियमन गर्ने गरी सुरुवात गरे । प्रत्येक दुई-दुई महिनामा गोष्ठी आयोजना गरिने, सदस्यहरूले आफ्नो पालोमा गोष्ठीको आयोजना गर्नुपर्ने, मिति र समय अग्रिम सुचित गरिनुपर्ने आदि विभिन्न नियमहरू तयार गरे । साथै दुई महिनाभित्र लेखिएका कविता मात्र पढ्ने भन्ने निधो पनि गरिएको थियो । सो गोष्ठी सञ्चालनको सम्पूर्ण जिम्मेवारी वासु श्रेष्ठ आफैँले सम्हाले । यसरी कोठे कविता गोष्ठीले निरन्तरता पायो ।
यस गोष्ठीको आठौँ शृङ्खलापछि यस गोष्ठीको अपार सफलता र सम्पूर्ण सदस्यहरूको उत्सुकतालाई ध्यानमा नजर राखेर सन् २०१२ सालमा “वासिङटनका काव्य सुसेली” नामक काव्यसङ्ग्रह प्रकाशन गऱ्यो । त्यस सङ्ग्रहमा वर्षदिनभरि कविहरूले वाचन गरेका कविताहरूमध्येबाट अधिकांश कविका चार-चारओटा कवितासङ्ग्रहको पहिलो उपहारका रूपमा प्रकाशन गरिएको थियो । डिसी कविता गोष्ठीको त्यस शृङ्खला सम्ममा सहयात्री भई हिँडेका कविहरूमा आनन्द शर्मा, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ, गोपाल रेग्मी, गोविन्द गिरि प्रेरणा, हरि घिमिरे, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी, कपिल सिटौला, डा. मोहन जोशी, नारायण अधिकारी, प्रकाश नेपाल, प्रेम सङ्ग्रौला, शरद् निरौला तथा सुदीपभद्र खनाल थिए । त्यस गोष्ठीमा देखिएको उत्साह र सक्रियताले लाग्थ्यो त्यस गोष्ठीले एउटा नया इतिहास रच्न सक्दछ ।
डिसी कोठे कविता गोष्ठीका बारेमा यसले प्रकाशन गरेको “वासिङटनका काव्य सुसेली” मा लेखिएको “कोक गोष्ठी प्रत्येक दुई-दुई महिनामा सञ्चालन हुने यस गोष्ठीले सुतेका साथीहरूको भावनालाई ब्युँझायो । ब्युँझेकालाई उठायो । उठेकालाई दौडायो । साथीहरूका नयाँ-नयाँ भावहरू प्रकट भयो । परिष्कृत शैलीको विकास भयो । छन्दका बारेमा चाख बढ्यो । अनुभव साटासाटले सिर्जनालाई थप ऊर्जा प्राप्त भयो । यो एउटा काव्य पाठशालाजस्तै भयो । लगभग चार घण्टा कविताकै बारेमा छलफल हुने, विचारविमर्श हुने र त्यसैमा डुबुल्की लगाइने । आफ्ना कमीकमजोरीलाई हटाउन सल्लाह आदानप्रदान गरिने । वाचन गरिएका कविताप्रति सहभागी कविहरूले नै टिक्का टिप्पणी गरिने । चिन्तन, मनन र मन्थनबाट रचनामा प्रौढता आउने । नित्य नवीन आविष्कारले नेपाली साहित्यको भण्डार भर्न महत्त्वपूर्ण योगदान दिएको महसुस भयो सबैलाई ।
यस डिसी कोठे कविता गोष्ठीको महत्त्वपूर्ण उपलब्धि सन् २०११ सालमा नै यसका दुई सदस्य प्रेम सङ्ग्रौलाको “सुकीधुपी” खण्डकाव्य र डा. मोहन जोशीको “कहाँ छ ठाउँ” नामक कवितासङ्ग्रह प्रकाशित भयो । सन् २०१२ सालमा यस गोष्ठीका अर्का सदस्य प्रकाश नेपालको “राति फुल्ने फूलहरू” कवितासङ्ग्रह प्रकाशनमा आयो ।
नेपाली भाषासाहित्यको भण्डार भर्नमा यस गोष्ठीको ठुलो योगदान रहेको छ ।
डिसी कोठे कविता गोष्ठीको निरन्तरता र उत्साहको फलस्वरूप डिसी कोठे कविता गोष्ठीको पचासौँ शृङ्खला सन् २०२० सालमा भव्य रूपमा आर्लिङटनस्थित क्षेत्रीय पुस्तकालयमा सम्पन्न भएको थियो तर संसारभर छरिएको कोभिड १९ महामारीले यस कोठे कविता गोष्ठी पनि अछुतो रहन सकेन । त्यसपछिको एउटा कार्यक्रम जुम प्रविधिको माध्यमबाट सम्पन्न हुन थाल्यो तर पछिल्लो समयमा त्यसले निरन्तरता पाएन ।
यस क्षेत्रमा आयोजना भएको कुनै पनि कोठे कविता गोष्ठी होस् या अरू कुनै साहित्यिक कार्यक्रममा अत्यधिक सङ्ख्यामा मैले उपस्थिति जनाएँ । म आफू पनि आफ्नो घरमा भएको जमघटमा कोठे गोष्ठी गर्न कहिले पनि चुकिनँ । घरमा अनौपचारिक साहित्यिक मित्रहरूको जमघट या भेला हुनासाथ फोहरी राजनीतिका गफ गरेर समय व्यतीत गर्नुभन्दा आफ्ना साहित्यिक रचना सुनाउने गीतसङ्गीतको कार्यक्रम गर्नु मलाई सधैँ उपयुक्त लाग्दछ ।
यही सिलसिलामा सन् २००७ सालमा कवि तथा गीतकार राजेन्द्र शुलभको उपस्थितिमा स्थानीय पन्ध्र जना साहित्यिक मित्रहरूसँग कवितावाचन कार्यक्रम मेरो वासस्थान स्प्रिङफिल्ड भर्जिनियामा भएको थियो । त्यस कार्यक्रममा न्युयोर्कबाट विनोद रोक्का र ओहायोबाट कवयित्री पल्पसाको पनि उपस्थिति रहेको थियो । त्यस कार्यक्रमको स्थानीय टिभी अमेरिका नेपाल टिभीबाट छायाङ्कन र प्रसारित पनि गरिएको थियो । त्यस टिभीको तर्फबाट रमा सिंह सहभागी थिइन् ।
सन् २०११ मा नेपालबाट साहित्यिक भ्रमणमा आउनुभएको वरिष्ठ साहित्यकार पद्मावती सिंह र चन्द्रकला नेवाको सम्मानमा समेत मेरो वासस्थान स्प्रिङफिल्ड भर्जिनियामा कविता गोष्ठीको आयोजना गरिएको थियो । स्थानीय केही कविहरूको उपस्थिति रहेको सो कोठे कविता वाचन र सङ्गीतमय साँझ निकै अबेर रातसम्म चलेको थियो ।
औपचारिक कार्यक्रमको आयोजना गर्नका लागि सधैँ सहज हुँदैन । त्यसैले निरन्तर कवितावाचनको सिलसिलाका लागि कोठे कविता गोष्ठी निःसन्देह उपयुक्त माध्यम हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।