यो एउटा असामयिक, असान्दर्भिक, अनावश्यक र अपठनीय अनुभूति । प्रथम पुरुष नजरले हेर्दा अनुभूति नै । तृतीय पुरुष नजरमा सिर्फ गनगन । द्वितीय पुरुष नजरबाट दुवै । असामयिक किनभने यो मुलुकमा कोरोनाले हलचल मच्चाइसकेर सो हलचल मत्थर भैसकेजस्तो अवस्था । छिटफुट देखिए पनि भुईँचालोले हल्लाइसकेपछिको पराकम्पनजस्तो । अर्थात् सिँदुरपछिको पोतेजस्तै प्रयोजन समाप्त भइसकेपछिको लेखकीय अनुभूति । असान्दर्भिक किनभने जोकोही कोरोना सोरोनाको पर्वाह नगरी जोकोही बाहिर निस्किरहेको अवस्था जो छ । सरकारले जोरबिजोर प्रणालीजस्तो आधा लकडाउन गरेर फिर्ता लिइसकेको छ । अनावश्यक किनभने कोरोनाको अधोगतिको साथसाथै यस अनुभूतिमा अब एक सुक्को काम लाग्ने सन्देश बाँकी रहेको छैन । जब कुनै पनि लेखनी असामयिक, असान्दर्भिक र अनावश्यक हुन्छ त्यो अपठनीय नभई अरू के हुन्छ ? विभिन्न लेखकहरूले यही विषयमा लेख्ता लेख्ता उही कोरोनाका कुरा यति दोहोरिइसके कि अब यस लेखलाई पनि कतैबाट सारिएको होला भनी लख काट्न बेर लाउनुहुने छैन ।
कोरोना आगमनको पहिलो वर्षको सुरुका दिनहरू सम्झँदा पहिले-पहिले जिउमा काँडा उम्रिन्थे । अहिले सोही दिन सम्झँदा मुखमा हाँसो उम्रन्छ । महेन्द्रनगरमा भारततिरबाट फर्किएका एक जना नेपालीमा कोरोना सङ्क्रमण भयो भन्ने सुनेपछि मुटुले कति ढ्याँक्रो ठोकेको थियो ! मेरो मात्र हो र ? देशकै । एक जनामा सर्यो भन्दैमा पूरै देश नै ठप्पै बन्दाबन्दीको अवस्थामा पुगेथ्यो । एक जना सुत्केरीको मृत्यु समेत भएपछि त मान्छेको बिउ नै भुटिन्छ कि ? भन्ने विभिन्न खालका गद्य/पद्य विचारहरू ओइरिन थालेका थिए । ती विचारहरूको कति ठुलो महत्त्व थियो ! एक जना माननीयज्यूलाई नेपालगन्जमा कोरोना सङ्क्रमण भएपछिको उहाँको अनुभूतिको महत्त्व कति तकडा थियो ! नेपालगन्जका कोरोना बिरामी दाङ ल्याउन पाइँदैन भनी नारा उराल्ने र बानेश्वरमा डाक्टरसाबहरूलाई बास बस्न दिइनुहुँदैन भन्दै प्रतिरोधमा उत्रने पक्ष र विपक्षको छिनाझपट अहिले सम्झँदा पनि उदेक लाग्न छोडेको छैन । माननीयज्यू अस्पतालमा ढलेको कोरोना अनुभूति हजारौँ लाखौँले सेयर गरेका थिए । कति पठनीय थियो त्यो अनुभूति ! त्यसपछि कोरोना बदलिएको हो कि समय बदलिएको हो ? पत्तो पाउन सकेको छैनँ । सङ्क्रमितहरूबाट आएका अनुभूतिहरू क्रमशः कम-कम पठनीय हुँदै गएका थिए । पहिलो झाँकमै यो कोरोना आफूलाई सरेको भए ? अब त प्रमुख अतिथिजी कार्यक्रमबाट फर्किसकेपछि रित्तो मञ्चलाई कालो झन्डा देखाएजस्तै हुने न हो ।
०००
यो परार सालकै कुरा हो । कोरोनारूपी भूतले आफ्नो रौद्र रूप देखाउनुसम्म देखाएर फर्किसकेपछि लामो प्रतीक्षाको घडीको छोटो सुईलाई ल्वाप्पा खुवाउँदै कोरोना धपाउने सुई नेपालमा आइपुगेको थियो । सुईमा फ्रन्टलाइनर र सरकारी कर्मचारीलाई प्राथमिकता दिइने घोषणा पनि सँगसँगै आएको थियो । (पछि मात्र पत्तो लाग्यो कि म त्यो वर्गमा पर्ने भाग्यमानी पो रहेछु ।) अरूलाई बेसरी झकझकाएर फर्कनका लागि कोरोनाले झोलीतुम्बा कसकास पारिरहेको थियो । उस वेला यो मनुवालाई लागेको थियो कि हगनपछिको लोहोटोजस्तो खोपको के काम ? सुई लगाउने त नाम्लालाई सर्प ठानेर तर्सने खालका काँतरले पो हो । कोरोनालाई नै तर्साएर फर्काइसकेको आफूजत्तिको बलवान् जिउले किन लगाउने सुई ? भनियो र पहिलोपटकको सरकारी अनुरोधलाई टेरपुच्छर लगाइएन । कोरोनाको सङ्क्रमणदर र मृत्यूदर दिनदिनै घटिरहेको थियो । त्यो अवस्थामा सुईका लागि मरिहत्ते गर्नु आफूजस्तो राष्ट्रसेवकका लागि मूर्खतापूर्ण ठहरिने पो हो कि भन्ने सोच बलियो थियो । सरकारले फेरि पनि सुई लगाउन लिँडेढिपी कस्तै सुई नलगाउनेहरूको नाम पठाउन सर्कुलर जारी गर्यो ।
उता सुई लगाइसकेकाहरूले यो सुई असाध्यै दुख्ने, सुई लगाएपछि कोरोनाका जम्मै लक्षण देखाउने गरेको अनुभूति प्राथमिकतासाथ बाँडिरहेका थिए । कसैले त छिमेक राज्यमा सुईले नै ज्यान गएको समाचार पनि सुनाउन छुटाउँदैनथे । इफेक्टभन्दा साइड इफेक्ट बाँड्ने र त्यस्तै सुझाव ग्रहण गर्ने फुर्सदिलो समय थियो । वाह यी विद्वान्हरूको उति वेलाको अनुभूति कति कामलाग्दो थियो ! यदि कुरो साँचो हो भने किन जोखिम मोल्ने भनीकन नितान्त्त व्यक्तिगत जीवनमा ठाडो हस्तक्षेप गरिरहेको सरकारी आदेशको ठाडै उल्लङ्घन गरियो । जति कर गर्दा पनि कोरोना प्रतिरोधक सुई मरीकाट्टे लगाइएन ।
जब बल्लतल्ल नेपालमा पहिलोपटक आइपुगेको सुई सकिइसकेको थियो त्यसै वेला विश्वमा कोरोनाको दोस्रो लहर आइपुगेको हल्ला फिँजिन थाल्यो । मनमनै चिन्ताले डस्न थाल्यो, ‘हत्तेरिका ! सित्तैमा र सजिलै पाइएको सुई लगाइहालेको भए हुने ।‘ जे भए पनि यो कोरोना नेपाल फर्की नआओस् भनी धूपदीपसहित उक्रानपुक्रान गर्न थालियो । न यो पुकाराको सरोकारवालाले कान फटफट्याए, न त कोरोनाले नै । नेपालभित्र दोस्रो लहर छिरेका खबरले सञ्चारमाध्यमहरूले कभरपृष्ठ वा कभरस्टोरी ओगटिरहेका थिए । साँच्चिकै कोरोना पहिलेको भन्दा झनै रौद्र रूप धारण गरेर गाउँ सहरमा विध्वंस मच्चाउन थालिहाल्यो । यता आफ्नो आधा सातो गइसकेको थियो र बाँकी आधा सातो मुट्ठीभित्रकै अवसर गुमाएकोमा पछुतो मान्नमै प्रयोग भयो । बाघ लाग्यो घिच्याउन बुढी लागी चिच्याउन सिवाय उपाय नै अर्को के थियो र ?
यस्तैमा नेपालमा पुनः कोरोनाको खोप आइपुगेको समाचार प्राथमिकतासाथ प्रकाशित हुन थाले । सरकारीदेखि असरकारी सबै संस्थाहरूले सुई लगाइने समय र स्थान पनि जानकारी गराउन प्रतिस्पर्धामा उत्रिए । फोनको रिङटोन र सिआरबिटीमा कोरोनाकै लक्षण र यसबाट बच्ने उपाय फुकिरहेका हुन्थे । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले आतङ्कित चेहराका साथ दिनभर कोरोनाले फैलाएको आतङ्क सुनाउन थाल्दा स्रोताहरू दोब्बर आतङ्कित हुन पुग्थे । आफूले सुन्न नसकी कोरोना वक्तव्य साथीहरूलाई सेयर गर्दा लाखौँ भ्यु क्रस गरिरहेको हुन्थ्यो ।
यसैबिच सुईका लागि अनलाइन फाराम समेत भर्न लगाइयो तर न त कहिले अनलाइन फारामवालाले सुई लगाउन बोलायो न त कुनै लाइनमा पालो कुरेर सुई लगाउन नै सम्भव देखियो । उति वेला सुई लगाउनेको लाम देखेरै निस्सास्सिई मरिन्छ कि झैँ हुन्थ्यो । रत्नपार्कबाट सुरु भएको लाइनको पुछार त्रिपुरेश्वर पुगेपछि भेटिन्थ्यो । उता लाइन बसेर वा मिचेर सुई लगाउन पाउने भाग्यमानीहरूले, “अब त मरिँदैन भन्ने ढुक्क भइयो !!” भन्दै फेसबुक पाना रङ्गाइरहेका देखिन्थे । ती समाचार हेर्दा पनि भाउन्ने हुन्थ्यो, उति वेला गुनासो सुनिदिने हम्मेसी नभेटिने भएकाले आफैँलाई प्रश्न सोधिन्थ्यो, “के यी सुई लाउनेहरू मात्र बाँच्ने भए त अब यो संसारमा ?”
०००
यस्तैमा एक दिन भान्जी जुनीले मामामाइजूलाई सुई लगाइदिने आश्वासन दिइन् । हामीलाई ढुङ्गा खोज्दा देउता भेटिएजस्तो भयो । जरपत्ताल उठेर हामफाल्दै सुई लगाउने ठाउँमा पुग्यौँ र सुई लगाइमाग्यौँ । हाम्रो एकमुठी भइसकेको परानी फुलेर एकहात चौडा हुन पुग्यो । त्यसको परिणामस्वरूप पहिलो काम त्यही गरियो जो अरूले पहिल्यै गरिसकेका थिए; सुई लगाउन नपाएका अभागीहरूको ह्यास खस्ने गरी फेसबुक भित्ता रङ्गाउने । आफू पनि के कम ? अलिकति आफ्नै अनुभूति र अलिकति अरूको अनुभूति चोरेर यसरी आफ्नो फेसबुक भित्तो पोतियो, “अब ल आइजा कोरोना । हेरौँ तेरो ताकत ? मैले पनि तँविरुद्ध लड्ने ताकत जम्मा गरिसकेको छु । ल आइजा भिड्नै ! कसले जित्दो रहेछ हेरौँला अब ? नपत्याए यो हेर् मैले पनि खोप लगाइसकेँ । तैँले मार्न खोज्दैमा अब म मर्दै मर्दिनँ बुझिस् ?” भनेर आफ्नो खोप कार्ड समेत सामाजिक सञ्जालमा अपलोड गरिदिएँ । अब मरिँदैन भन्ने खुसीको माहोलले घर नै उचालियो । मेरो यस हरकतले खोप नपाउने तर सामाजिक सञ्जालमा बलियो उपस्थिति जनाउनेहरूको मुटु कति जल्यो होला ? सम्झँदा अहिले आफ्नै मुटु चसक-चसक पोल्ने गर्छ ।
यस्तैमा एउटा अर्को खबर आइपुग्यो । कोरोनाको खोप लगाइसकेका मान्छे पनि भकाभक मरिरहेका छन् । एउटा मात्र खोप लगाउनू झन् घातक कुरा हो रे । दुई डोज पूरा गरे मात्र कोरोनाबाट बच्न सकिन्छ रे !
लौ परेन फसाद अब ? आफूले बल्लतल्ल एउटा खोप त लगाइएको थियो । एउटै खोप लगाउन महामुस्किल परेको समयमा दुई-दुईओटा खोप काँपाई लाउनू ? हाँक त दिइयो, बित्याँसै पार्छ कि क्या हो ? मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो ! उता दुई खोप लगाउन पाउने भाग्यमानीहरूले सामाजिक सञ्जाल रङ्गाइसकेका थिए, अब त कहिल्यै मरिँदैन भनेजस्तो गरी । डाह, ईर्ष्या र क्षोभ त नलागेको कहाँ थियो र तर क्यार्नु आफ्नै बुद्धिमा बिर्को लागेपछि ? बाँकी उपाय थियो; अब कोरोनालाई घरभित्रै कुनै हालतमा छिर्न दिनुहुँदैन । तत्पश्चात् गुर्जो, बेसार, तातोपानी आदिको खुब सेवन गरियो । हरेक प्रकारका पसलेहरूमा अरू त अरू रक्सी पसलमा समेत गुर्जो डिपार्टमेन्ट खडा हुन थाले । करेसा हुनेले करेसाबारीमा त नहुनेले सानो गमलामा भए पनि घरघरैमा गुर्जोका बेर्ना उमार्न थाले । सामाजिक सञ्जालमा पोस्ट्याइएका अनेक विधिहरू उधिनी उधिनी परीक्षण गर्न थालियो । अनेक खाइयो । पिइयो । सुँघियो । अनेक योगाभ्यासहरू सिकियो । चिन्ता भगाउन सिफारिस गरिएका अनेक मनोरञ्जनात्मक क्रियाकलापहरू गरियो । कोरोनाबाट बच्न गर्नु गरियो । तर …….. ??
तर, एकदिन कोरोनाको जस्तै रूप धारण गरेर रुघाखोकी आफ्नै घरमा स्वाट्ट छिरिहाल्यो । भेउ नै पाइएन कताबाट छिर्यो कताबाट ? कारणको खोजी गर्नुभन्दा परिणामका लागि घाँटी थाप्ने दिन आइपुगेको थियो । उसले पहिलो सिकार मैलाई नै रोज्यो । कोरोनो मोरो नै हो कि भनी झसङ्गै तर्सायो । सातोसतारो हरायो ।
पहिलो दिन घाँटी समात्यो । दोस्रो दिनदेखि हनहनती ज्वरो आयो । साथसाथै तारन्तारको लहरे खोकी बढायो । जिउ सहनै नसक्ने गरी दुख्न थाल्यो । घरमा थियौँ प्रथम पुरुष र द्वितीय पुरुष मात्र । द्वितीय पुरुषको तँ, तिमी, तपाईँ, हजुर, मौसुफ सबै उनी एक्लैले भूमिका निर्वाह गरिरहेकी थिइन् । अलग बस भनी बिन्तीभाउ गरेँ तर उनले मान्दै मानिनन् । अरू वेला भैदिए विपत् पर्दा आफन्तलाई बोलाउने उपाय बाँकी हुन्थ्यो यस्तो वेलामा त खबर गरे को आइदिने ? चार हात परकाले कोरोना लागेको खबर सुने चार कोस टाढा भाग्ने खालको समय थियो ।
अब लजा भनेर फेसबुकलाई शेषबुक बनाएर मिल्काइयो । बच्नका लागि अपनाइएका अरू सबै उपाय निस्तेज भैसकेका थिए । बाँकी थियो, सास फेर्न बल गर्ने । सकी नसकी सास फेरियो । यति गर्दागर्दै देवकुमारीलाई पनि कोरोनाजस्तो रोगले प्रथम पुरुष बनाइदियो । म आफू प्रथम पुरुषको भूमिका निर्वाह गर्ने कि द्वितीय पुरुषको ? म त आजतक ब्लडग्रुप समेत जाँच्न अस्पताल नपुगेको मान्छे । अस्पताल जानु नपरेकैले पनि कुनै रोग छैन भनी छाती ठोकेर ठोकुवा गर्न सक्थेँ । उनी त मधुमेहकी दीर्घरोगी । दैनिक रूपमा १६ युनिट इन्सुलिन सुईबाट लगाइरहेकी । बिहानबेलुका थप ८५० एमजी ग्लाइकोमेट ट्याब्लेट । खाना खानुपूर्व भोग्ली ०.२ नखाए खाएको पाचन नै नहुने अवस्थामा पुगेकी । यिनलाई नै समातेपछि अब के के हुने हो भन्ने तर्सोले म खङ्ग्रिएँ । व्याकरणिक नियमको चरम उल्लङ्घन; दुवैजना प्रथम पुरुष । खोज्न त घरी उनी द्वितीय पुरुष हुन खोज्थिन् घरी म तर सके पो ।
केही सिप नचलेपछि कोरोना हो कि होइन भनी चेक गराउने र अस्पताल गुहार्ने सल्लाह भयो । कोरोना चेक गराउने मान्छे बोलायौँ । चेक गर्ने मान्छे घरमै आइपुगे तर उनी पनि यति त्रस्त देखिन्थे कि हामी नै उनका ज्यानमारा हौँ । पीपीई नामको सेतै कपडाले मोडिएर पनि हामीदेखि निकै टाढा रहेर नाक र घाँटीको बाह्य सतहबाटै स्वाब सङ्कलन गरेको भूमिका निर्वाह गरे । दुई जनाको गरी पाँच हजार फी बटुलेर उनी हतार-हतार टाप कसिहाले । बेलुका रिजल्ट आयो, दुवैको नेगेटिभ । आधा रोग त्यत्तिकै सन्चो तर तिरेको फी सम्झँदा मन कहालिएर आउने । धत्त्तेरिका त्यत्तिकै आँत्तिएर नगद पाँच-पाँच हजार गयो भन्ने पछुतो । त्यो पाँच हजारले तीन महिना खान पुग्ने चामल आउँथ्यो । भिटामिन र फलफूल मात्र किनेको भए कति पुग्थ्यो कति । शङ्का काट्यौँ कोरोनाको सबै लक्षण दुरुस्त भिडान हुँदा पनि नेगेटिभ देखिनुमा कतै स्वाब नलिएर गयो कि त्यो मान्छे ? भगवान् भरोसामा दुवै जना द्वितीय पुरुष हुन थाल्यौँ । एकले अर्कोलाई पानीपट्टी गरिदिने र तातोपानी खुवाउने गर्न थाल्यौँ । हामी दुवैलाई जेनतेन सन्चो हुँदै गयो । धन्न बाँचियो । कोरोना त खेलाँची रहेनछ भन्ने पाठ खुबसँग सिकियो ।
अब त गल्ती दोहोर्याउन हुँदैन भनी जुनी भान्जीलाई नै गुहारेर दोस्रो डोज खोप पनि पूरा गर्यौँ र सम्भवतः सबै भाग्यमानीभन्दा पहिलो बनेर बुस्टर डोज लगाउन पनि सफल भयौँ । तर यो खुसीयाली सामाजिक सञ्जालमा राख्न आँट नै जुटेन । अरूहरूको पनि त्यही मनोदशा देखियो, अर्थात् जसले प्रथम डोज लगाइयो अब मरिँदैन भनी हुङ्कार छोडेका थिए उनीहरूले पनि बुस्टर डोज लगाइसकेर पनि सामाजिक सञ्जालमा बाँच्ने भइयो भनी पोत्न हात कँपाइरहेका भेटिए ।
०००
यी कुरा त भए पोहोरसम्मका । अहिलेको मेरो अनुभूति झनै अपठनीय छ ।
यो हप्ता । यति बेलै अर्को अपठनीय समाचार आएको छ कि यो खोप त दुई-दुई महिनामा लगाउनुपर्ने रे ! परेन फसाद ? दुई वर्षसम्म त एक डोज लगाउन नपाउने नेपालमा दुई-दुई महिनाकै अन्तरालमा लगाउनुपर्यो भने कसले बचाउन सक्छ सिटामोल समेत नपाउने परनिर्भर नेपालीलाई ? आहुतिले सुरुमै भनेझै कतै यो आजन्म नाफा कमाइरहने व्यापारिक जाल त होइन ? तर कोरोनारूपी भूतले यसरी सातो खाइदिएको छ कि पत्याउन्नौँ भनेर बाहिर मुन्टो निकाल्ने हिम्मत कसको ? पूर्वेली र पश्चिमेली संस्कृति भन्दै दुहाइ दिँदै आआफ्ना सिफारिस तथा सुझाउ पस्कने कसैलाई पनि कोरोनाले छोडेको देखिएको छैन ।
तेस्रो लहर पनि उस्तै तामझामका साथ नेपालमा भित्रिइसकेको छ । अलिक व्यस्त रहनुपर्ने अफिस भएकोले कोरोनाको निहुँ बनाएर पन्छाउन पनि नसकिने । अफिसका लगभग आधा कर्मचारीहरू कोरोनाका लक्षणसँग मिल्ने रोगले ढलिसकेका छन् । सरकारी सञ्चार माध्यमले यसलाई हल्का रूपमा नलिऔँ भनेर ढोँग फुके पनि सरकार आफैँले लकडाउन गर्न खुट्टा कँपाइरहेको छ । लकडाउनले प्रभावित हुनेहरूले लकडाउन नगर्न सिफारिस गरिरहेका छन् । ढले पनि उठेर अफिसचाहिँ आउनुपर्छ है भनी हाकिमसाबले पुच्छर निमोठिरहनुभएको छ । फलस्वरूप शाखामा प्रायःजसो सबैलाई कोरोनाको लक्षण देखिए पनि अफिस जान छोडेको छैन । मेरो अफिसका कर्मचारीहरू स्वाब जँचाउनेहरूमध्ये कसैको पनि नेगेटिभ रिपोर्ट आएको थाहा छैन । नजँचाउनेहरू नब्बे प्रतिशतभन्दा बढी छन् । यति हुँदाहुँदै पनि अफिस धाइरहेकाले साथीहरूलाई देखिएका लक्षण ममा सरिसकेको छ । कताबाट सर्यो भनी अच्चम्म मान्नुपर्ने कुरा केही छैन । पोहोर सालका सबै लक्षण अहिले पनि छन् । घाँटी अलिकति कम दुखेको छ । छाती अलिकति कम पोलेको छ । उनलाई परै बस भन्दा पनि पोहोरझैँ मानिरहेकी छैनन् । अहिले त द्वितीय पुरुषको काम गर्ने छोरा परिक्षित पनि साथमै छ । सबै औषधि उसैको सिफारिसअनुसार प्रयोग गरिरहेका छौँ । सुईभन्दा डाक्टर छोरोको बडी भरोसा छ । छन् त डाक्टर छोरीज्वाइँ अस्मिता र प्रवीण पनि नजिकै छन् । भाइ नै बाबुआमाको साथमा भएपछि उसको जिम्मेवारी पनि अलि हल्का भएको छ ।
म ढलेको पिरलो मान्दै, “गुर्जो बेसार पानी बनाइदिऊँ ?” भन्छिन् उनी,
“पर्दैन !” भन्छु म
“योग गर्नू न त !” भन्छिन् उनी
“पर्दैन !” भन्छु म ।
“के गर्नुहुन्छ त ?” सोध्छिन् उनी
“एउटा कविता लेख्छुः!”
“बिरामी भएको अवस्थामा पनि कविता ?” झन्किन्छिन् उनी
“लेख्न दिनू न त । शरीरसँगै मनलाई बिरामी पार्नु हुँदैन । उहाँको मनोबल उकास्नुपर्छ ।“ भनेर परिक्षितले मेरै पक्षपोषण गर्दछ ।
मन चलेको तर जाँगर नचलेको मेरो कविता यस्तो बन्छ,
“घाँटी खसखसाएपछि त लागेको थियो
तिमी अवश्य आउनेछ्यौ
नभन्दै आयौ, जिउ छाम्दै छाम्दै
मुटुको छेउछाउ डेरा जमाएर
हप्तादिनसम्म जिउ रनक्क ततायौ
घाँटी सुमसुम्याइरह्यौ
तिम्रो सहवासमा हातखुट्टा लोलिए
रस ग्रन्थीहरू झोल्लिए
शूलले सिर्का हानेजसरी
जम्मै जीउ असह्य दुख्ने गरी कर्यामकुरुम चपाइरहेकी छ्यौ
आगाका लप्काहरू शिरदेखि पाउसम्म झोसेर
घरै डढाउन खोजेझैँ गरी
तिमीलाई नटेरेको झोँकमा
मेरो दोहोलो काढ्न किन उन्मत्त छ्यौ ?
मबाट आइसोलेसनमा बस्न नसकेकीले देवकुमारीलाई पनि कोरोना सरिसकेको हुन्छ । पोहोरको कोरोनाजस्तो रुघाखोकीले आक्रमण गरेको वेलाझैँ जत्तिकै आत्तिएको छु म । उनको स्वास्थ्य समस्या अहिले पनि उत्तिकै जटिल अवस्थामा छन् तर बुझेरै होला परिक्षित अलि कमै आँत्तिएको छ ।
म उनको मन चोर्न, “गुर्जो-बेसार-पानी बनाऊँ ?” भनी सोध्छु
“पर्दैन !” भन्दै परिक्षिततिर हेर्छिन् ।
“योग गर न त !” भन्छु म ।
“पर्दैन !” भनी परिक्षिततिर हेर्छिन् र गालामा मोटा आँसु बगाउँछिन् ।
यो त्रास र पीडाको आँसु नभई छोरो साथमा हुनुको हर्षको आँसु हो भनी बुझ्छु म ।
केही समयमै म निको हुन्छु । हामी निको भएको ताकतले उनी पनि सहजै निको हुन्छिन् ।
यसले नछोएको कसैलाई छैन तर सबैले हल्का रूपमा लिइरहेका छन् । पोहोर परारको कोरोनाको त्रासदी यसपालि ओझेलमा परिसकेको छ । सरकारले यातायातमा सुरु गरेको जोरबिजोर प्रणाली समेत एक हप्ता नबित्दै फिर्ता लिइसकेको छ । आफैँले जारी गरेका नियमहरू चेकजाँच गर्न जाँगर चलेको छैन उसलाई । सङ्क्रमण दर ओरालो झरिरहेको छ । यस्तो समयमा अरूको फिका अनुभूतिमा कसले चासो राखोस् ?
अनुभूति भन्ने कुरो पढ्न वा गन्नलायक सङ्ख्यावाचक संज्ञा होइन । अनुभूति त बोधगम्य पो हुने हो । पठनीय हुने हो र थोरै ? कोरोना रोग पनि त सङ्ख्यावाचक कहाँ हो र ? सहवासको अर्थ बाङ्गिएर कहाँबाट कहाँ पुगिसक्यो ! कोरोनासँगै अल्झिबसेको कहाँ छ र ? आफ्नै संस्मरणको शीर्षक हेरेर मरी-मरी हाँस्छु आफैँ । झुक्किँदै नझुक्किने पाठकहरूलाई झुक्याउन खोज्नुको पनि त एउटा हद हुन्छ ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।