“बोरामा कोचिएका किताबहरू, टन्न कस्सिएका डस्ना, सिरक, बेडिङहरू, पाँच वर्षदेखि जम्मा भइआएका अनेक-अनेक तरहका चाहिने नचाहिने सामानहरू”, अनि सबै किसिमका ती चिजबिजहरू कुरियर गरेर काठमाडौँ पठाउनका लागि भैरहवा बजारमा जम्मा भएका हामी चार भाइहरू ।

कुरियरवालासँग मोलतोल, बिलिङडिलिङ सबै काम सकिइसकेपछि होस्टेलबाट गाडी मगाउनका लागि फोन गर्न लागेको त फोन डेड छ, लाइन काटिएको रहेछ । मोबाइलको जमाना थिएन त्यो । अर्को पसलबाट फोन गर्न खोजेको त्यहाँ पनि त्यस्तै ।

“टेलिफोनको लाइन काटिएको छ रे । एयरपोर्ट सिल भइसकेको छ रे । जताततै आर्मी आइसकेको छ रे । १७ साल दोहोरियो रे ।”

यस्तो हल्लाखल्ला चल्न थाल्यो जताततै ।

भरे बेलुकीको काठमाडौँ फर्कने प्लेनको टिकट भएका हामीहरू सबै सन्न भयौँ यो हल्ला सुनेर । १७ साल काण्डका बारेमा किताब-पत्रिकामा मात्र पढेका अनि बाबा-काकाहरूको मुखबाट मात्र सुनेका हामीहरूले । अनि आर्मीसेना, माओवादी, आतङ्ककारी, भिडन्त आदिका कुरा एफ.एम. रेडियोमा दिनहुँजसो नै सुनेर हुर्केबढेका हामीहरू । हिजोको सत्र सालको कथा अनि आज (त्यो वेला) को माओवादी गृहयुद्धको यथार्थ, दुवै एकैसाथ आइपरेको त्यो समय, हामी नडराउने त कुरै भएन ।

अब बोराका बोरा सामानहरू फर्काएर लाने कुरो सम्भव नै थिएन । लगे पनि कता पो लाने ? तै, कुरियरवालाले “सामानहरू यहीँ छोडेर जानुस्, हाम्रो जिम्मा भयो । पछि समय राम्रो भएर खुलेपछि डेलिभरी गरिदिउँला” भनेपछि भने ढुक्क भइयो, तर मन भने भय, शङ्का आदिका कारण आधा नै भइसकेको थियो । यत्ति भनिसकेपछि कुरियरवाला पनि डराएरै होला, आफ्नो सटर बन्द गर्नेतिर लागिहाल्यो । हामी चार भाइ भने भित्री डरले थरथर भईकन पनि लुरुलुरु युसिएमएस होस्टेलतिर लाग्यौँ ।

डा. अजय रिसाल

एउटा फिलिमको ट्रेलरजस्तो लाग्ने उपर्युक्त कथा आजभन्दा ठिक १७ वर्षअघिको सत्य घटना नै हो, अनि त्यहाँ वर्णित चार भाइमध्येको एक म नै हुँ । दिन पनि इतिहास प्रसिद्ध दिन नै हो, २०६१ माघ १९, मङ्गलबार, अर्थात् तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम करार गरी अपदस्त गरेर शासनसत्ता आफ्नो हातमा लिएको नेपालको इतिहासको कालो (?) दिन ।

तर हाम्रा लागि भने त्यो दिन हाम्रो शैक्षिक अनि जीवनकै क्यारियरको नै महत्त्वपूर्ण दिन थियो । एम.बि.बि.एस. परीक्षा सफलतापूर्वक उत्तीर्ण गरी काठमाडौँमा नै इन्टर्नसिप सुरु गर्ने अनि आफ्नै घरकै आमाको हातको दालभात खाएरै डाक्टरी तालिम लिने उच्च अभिलाषाका साथ गर्वले फुलेल भएर हवाइजहाज चढेर काठमाडौँ जाने हाम्रो ठुलै योजना थियो त्यो दिन । अझै व्यक्तिगत रूपमा नै भन्नुपर्दा, मेरो आफ्नो भने पहिलो हवाईजहाज यात्रा हुन गइरहेको थियो त्यो दिन, अर्को महत्त्वपूर्ण संयोग थियो २०६१ माघ १९ मेरा लागि ।

तर राजा ज्ञानेन्द्रले यो सब योजनामा पानी पोखिदिएका थिए । “शेरबहादुरलाई घोक्रेठ्याक लगाउनु नै थियो त एकै दिनपछि २० गतेको साइत रोजेका भए भइहाल्थ्यो नि, आफू घर त पुगिसकिन्थ्यो ।” यस्तो तर्कना नआएको पनि होइन । तर के गर्नु ? कति जोखना—मुहूर्त हेरेर माघ १९ का दिन छानेका होलान् राजाले, हामी सर्वसाधारण प्रजाले सोचेर—चाहेर हुने नै के थियो र ?

हामीले माघ १९ कै साइतमा भैरहवा छोड्न खोज्नुमा पनि हाम्रो निहित उद्देश्य (स्वार्थ) नै थियो । एम.बि.बि.एस.मा सफल भएको जोसमा देशदर्शन गर्ने, घुम्ने, रमाइलो गर्ने रहरै नभएको पनि कहाँ हो र हामीलाई पनि ? तर हामीलाई जसरी पनि फागुन १ गतेदेखि नै इन्टर्नसिप सुरु गर्नु नै थियो, नत्र त १५ दिन अझै कुर्नुपर्ने हुने थियो । अहिलेको जस्तो जहिले इन्टर्नसिप सुरु गरे पनि हुने अवस्था थिएन । वीर, प्रसूति गृह जस्ता सरकारी अस्पतालमा इन्टर्नसिप गर्न या त महिनाको १ गते अथवा १५ गते मात्र सम्भव हुन्थ्यो । वर्षको जुनसुकै समय मेडिकल काउन्सिलको लाइसेन्सको जाँच दिन पाउने चलन थिएन त्यस वेला । वर्षको एकपटक लाइसेन्सको जाँच हुने, त्यो पनि इन्टर्नसिप सकिसकेपछि मात्र जाँच दिन पाइने थियो । अहिले त वर्षको तीन—चारपटक नै हुन्छ लाइसेन्सिङको जाँच, अझ इन्टर्नसिप गर्दागर्दै नै दिन पाइन्छ त्यो जाँच । त्यस्तो परिस्थिति थिएन त्यस वेला । हामीलाई त विभिन्न तिकडम लगाएर भए पनि फागुन १ मा नै इन्टर्नसिप सुरु गर्नुपर्ने बाध्यता थियो, अझ वीर अस्पतालबाट नै । त्यसैले माघ १९ को काठमाडौँतर्फको हवाईयात्रा महत्त्वपूर्ण थियो हाम्रा लागि ।

तर के गर्नु ? हाम्रो त्यो दिनको यात्रा नहुने नै भइहाल्यो । अझ राजाले १७ सालको जस्तो कदम चालेको भन्ने हल्ला थियो सबैतिर । “के के हुने हो ?” अन्योल थियो । काठमाडौँ (घर) फोन गरेर बुझ्न पाइएन । “हाम्रो बुद्ध एयरको त्यो दिनको टिकट के हुन्छ अब ?” भन्ने त थाहा थिएन हामीलाई । डराई-डराई हिँडेर होस्टल आइपुग्यौँ हामी । आउनासाथ रेडियोको कान बटारेर एफ.एम. सुन्न खोजेको त एफ.एम. रेडियो सब बन्द । इन्टर्नेट, अनलाइन न्युजको त्यत्तिसारो प्रचलन थिएन । “कडै हुने रहेछ सत्र सालको कदम त !” भन्ने लाग्यो । ठुलो-ठुलो स्वरमा कुराकानी गर्न पनि डर लाग्यो । घर जाने जोसमा होस्टेल, क्यान्टिन आदिको पैसा पनि चुक्ता गरेर क्ल्यरेन्स गरिसकिएको थियो । अनुनयविनय गरेर क्यान्टिनको नयाँ कुपन लिएर खानाखाजा खायौँ । बल्ल-बल्ल बेलुकी ८ बजेको बीबीसी न्युजमा शाही घोषणा सुन्न पाइयो । “सेना, प्रहरी, निजामती आदिले निर्धक्क भएर आफ्नो काम सरासर गर्दा हुन्छ” भन्ने राजाको वचन सुनेर अलिकति ढुक्क भने भइयो । अनि अब केही दिनमा सामान्य अवस्था हुने आशा पनि पलायो ।

दुई-तीन दिन अन्योलमा नै बिते पनि हल्ला भएझैँ आकाश भने खसेन । खानपान, हिँडाइडुलाइ नियमितजस्तै नै भइरहे । दुई-तीन दिनपछि प्लेनको टिकट पनि मिल्यो अनि काठमाडौँ (घर) आएर फागुन १ बाट इन्टर्नसिप सुरु गर्नका लागि दौडधुप गर्न थालियो । नेपाल मेडिकल काउन्सिलको पुरानो एकतल्ले भवन अनि वीर अस्पतालको अनेक चक्कर काटेपछि बल्ल-बल्ल फागुन १ बाट इन्टर्नसिप सुरु गर्न सफल भइयो वीर अस्पतालको सर्जरी विभागबाट ।

यो त भयो १७ वर्षअघिको माघ १९ को सम्झना । केही कुरा मेरा डायरीका पानामा पोखिएका थिए भने केही मेरा मनमस्तिष्कबाट अहिले उधिनिएर ल्याइएका हुन् ।

जे होस्, सत्र वर्ष यता बाग्मतीमा धेरै नै पानी बगिसकेका छन् ।

पहिले व्यक्तिगत कुराबाट नै थालनी गरौँ । त्यस वेला समयैमा इन्टर्नसिप सुरु गर्नका लागि पिरोलिएको मैले मेडिकल अफिसर, रेसिडेन्ड, लेक्चरर, एसिस्टेन्ट र एसोसिएट प्रोफेसरका विभिन्न समय पार गरेर अहिले प्राध्यापक अनि मनोरोगचिकित्सकका रूपमा स्थापित (?) हुन पुगिसकेको छु । धेरैलाई एम.बि.बि.एस.मा पढाएर अनि इन्टर्नसिप गराएर मेडिकल अफिसरको थुप्रै क्याडर पनि तयार गरिसकेको छु । धेरैलाई रेसिडेन्सी गराएको छु । परीक्षा लिएर अनि थेसिस गराएर केही थान मनोरोगचिकित्सक उत्पादनमा सहायता पनि गरिसकेको छु ।

समय एकनास बगिरहेको नै छ आफ्नै गतिमा । यो सत्र वर्षमा थुप्रै सङ्ख्यामा मेडिकल कलेज खुले अनि डाक्टरहरू पनि मनग्गे नै उत्पादन भए । मेडिकल काउन्सिलको पनि आफ्नै भव्य भवन बनिसकेको छ । पहिलेजस्तो छात्रवृत्तिकै लागि दस नङ्ग्रा खियाउने अनि शिक्षा मन्त्रालय, टिचिङ, धरान, एम्बेसी धाउने परिस्थिति अब छैन । न त वर्षको चार पाँचपटक इन्ट्रान्स जाँच नै हुन्छ । मेडिकल काउन्सिल, विश्वविद्यालय अनि शिक्षा-स्वास्थ्य मन्त्रालयभन्दा पनि बलियो अनि स्वायत्त निकाय चिकित्सा शिक्षा आयोग बनेको छ अहिले मेडिकल शिक्षाका लागि । उसैले वर्षको एउटा देशव्यापी कमन इन्ट्रान्स जाँच लिन्छ एम.बि.बि.एस., बि.डी.एस आदिका लागि । १० देखि २० प्रतिशत छात्रवृत्तिको प्रावधान भए तापनि पैसा हुने, अनि अलिकति जाँगर चलाउन सक्नेले डाक्टर बन्न नपाउने स्थिति भने छैन अहिले तर “कस्ता मान्छे डाक्टर बन्दछन् ? अनि ती डाक्टरको योग्यता, निर्णय लिने शक्ति, तिनको चिन्तन र मनन, तिनले लिने भविष्यको मार्ग भने कस्तो होला ?”, यी प्रश्नमा भने घोत्लिनैपर्ने अवस्था आइसकेको छ अहिले । खैर ! ती कुरामा भने अहिले नलागौँ । त्यसको चर्चा कुनै अर्कै लेखमा नै गरुँला ।

अब चर्चा गरौँ, राजा ज्ञानेन्द्रको कदमको । माओवादी आतङ्क अनि दलगत फोहरी राजनीतिबाट देशलाई मुक्त गर्ने सत्सङ्कल्प भन्ने कि अरू कुनै निजी अभीष्ट साधन गर्ने प्रयोजनले चालेका होलान् तत्कालीन राजाले माघ १९ को कदम सत्र वर्षअघि ? थाहा हुन अनि ठोकुवा गरेरै भन्न गाह्रो नै छ तर उनी आफ्नो लक्ष्यमा सफल भने हुन सकेनन् । देशबाहिरकै राजनीतिले माओवादी र सात दललाई एकै ठाउँमा ल्याइपुर्‍यायो । सबैको स्वार्थ मिलेको कारणले जनआन्दोलन २ को मञ्चन भयो । राजालाई आफ्नो कदम फिर्ता लिन मात्र नभई दुई शताब्दीभन्दा बढीको आफ्नो शाहवंश शासनकै मायाँ मार्न अनि आफ्नो श्रीपेच र दरबार त्यागेर साधारण नागरिकसरह भएर बस्न करै लाग्यो । अझ त्योभन्दा पनि बढी, दुई-दुई पटक नै संविधान सभाको चुनाव भयो । उँटजस्तो नै भए पनि एक थान संविधान आयो । देश सङ्घीयतामा गयो । सातओटा प्रदेशका सात थरी सरकार बने । ७५३ स्थानीय सरकार पनि बने । राजाको ठाउँ लिने राष्ट्रपति पनि आए तर देशमा समृद्धि र विकास आयो कि आएन ? त्यसको बेग्लै पाटो छ ।

आज माघ १९ । सत्र वर्षअघिको माघ १९ को सम्झनामा यत्ति अक्षरहरू कोरियो । इतिहास अनि वर्तमानको लेखाजोखा गरी भविष्यको सपना देख्ने काम भने समयकै जिम्मामा छोडिदिऊँ । अस्तु ।