
स्वीकृत समाजका अस्वीकृत विचारहरू
सामन्तवादका अवशेषहरू
निर्मूल पारौँ सम्पूर्ण भेदभावका पुरातन शैलीहरू
आऊ जुटौँ सबै स्वार्थ त्यागी
नयाँ नेपालको निर्माणका लागि !!!
यी माथिका सानो टुक्रा मैले सन् २००८ मा “अस्वीकृत विचार साहित्य पुरस्कार” वासिङ्गटन, डिसी अमेरिकामा प्राप्त गरेपछि प्राप्तकर्ताको तर्फबाट धन्यवाद ज्ञापन प्रदान गर्दा बोलेको सानो कविता अंश हो ।
सन् २००७ को कुनै दिन महिना कुनै याद भएन बिहानै नेपालबाट फोन आयो । फोन वरिष्ठ लेखक तथा साहित्यकार कविताराम श्रेष्ठको रहेछ । त्यस वर्षको “अस्वीकृत विचार साहित्य पुरस्कार” मलाई प्रदान गर्ने र उक्त पुरस्कार अमेरिकामा नै हस्तान्तरण गर्ने निर्णय भएको बेहोरा सुनाउनुभयो । पुरस्कार प्राप्तिको खबरले को उत्साहित र खुसी नहोला ? अझ त्यस पुरस्कार प्रदान गर्ने समारोहमा नेपालका वरिष्ठ लेखक तथा वरिष्ठ समालोचक अस्वीकृत विचार साहित्य पुरस्कार गुठीका अध्यक्ष कृष्णचन्द्रसिंह प्रधान अमेरिका आउने र उनको हातबाट प्रदान गर्ने निर्णय सुनेर त म अति नै उत्साहित बन्न पुगेँ ।
पुरस्कार सानो होस् या ठुलो होस् त्यो प्रेरणाको स्रोत नै हो । पुरस्कारले थप जिम्मेवारी मात्र होइन थप उत्तरदायी बन्न पनि अभिप्रेरित गराउँछ । पुरस्कार चाहे त्यो आफ्नो स्कुलको क्लासमा प्राप्त गरेको सिसाकलम र कपी नै होस् या कुनै विशिष्टता हासिल गर्दा प्राप्त गरेको पुरस्कार नै होस्, सबै पुरस्कारले आत्मसन्तुष्टि अनि हौसला प्रदान गर्दै नयाँ शक्ति र नयाँ ऊर्जा थपिदिन्छ जीवनमा ! म पनि हौसिएँ । खुसी बनें । अमेरिकाको कुनै कुनामा बसेर नेपाली भाषा र साहित्यको विकासमा गरेको केही योगदानलाई नेपालमा स्थापना भएको कुनै आफूलाई विस्तृत थाहा नभएको साहित्यिक पुरस्कार मलाई प्रदान गरिने निर्णय सुन्दा बेहद खुसी लाग्यो । आफूलाई गर्वानुभूति नै भयो ।
प्राप्त पुरस्कारको इतिहास केलाउन मन पऱ्यो भनेर हेर्न थालेँ । पढेर थाहा भयो । मुलत पुरस्कारको सार चैँ समाजले बिर्सिएका या साहित्यिक योगदानको कदर नभएको त्यस्तो साहित्यिक व्यक्तित्वलाई पुरस्कृत गर्ने रहेछ “अस्वीकृत विचार साहित्य पुरस्कार” । अस्वीकृत विचार साहित्य पुरस्कार गुठीद्वारा हरेक वर्ष प्रदान गरिने रहेछ । अस्वीकृत विचार साहित्य पुरस्कार गुठीको अध्यक्षमा रहेछन् नेपाली साहित्यका धरोहर वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान । अस्वीकृत विचार साहित्य पुरस्कार गुठिको संस्थापक रहेछन् डा. कविता राम श्रेष्ठ ।

वसन्त श्रेष्ठ (अमेरिका)
ओखलढुङ्गाको प्रारम्भिक स्कुलमा पढ्दा ताका नै स्कुलमा कविता लेख्ने रामबहादुर र कविता नलेख्ने रामबहादुर एउटा नै क्लासमा पढ्ने रहेछन् । दुइटा नै रामबहादुर भएको कारणले छुट्याउन गाह्रो भएको कारणले कविता लेख्ने राम भन्दै गर्दा पछि नाम नै कविताराम श्रेष्ठ बन्न गएछ । विचार र साहित्यका धनि डा. कविताराम श्रेष्ठ अस्वीकृत जमातका एक अभियन्ता थिए । विक्रम संवत् २०२५ सालतिर नेपालमा एक साहित्यिक क्रान्तिको नाममा केही साहित्यकारहरूले अस्वीकृत जमात निर्माण गरेका थिए । समयान्तरमा त्यो जमात छिन् भिन्न भए । उनले आफ्नो सक्रियता नयाँ सडकको पिपलको बोटमुनि साहित्यकारहरूले विरोधको नयाँ स्वरूप बुट पालिसको अभियानमा पनि सहभागिता जनाएका थिए । सन् १९९६ मा डा. कविताराम श्रेष्ठले आफ्नो आय आर्जन र पुरस्कार रकमबाट प्राप्त भएको रकम अक्षयकोषमा राखेर “अस्वीकृत विचार साहित्य पुरस्कार” को स्थापना गरे । दूर दराजमा रहेर साहित्यको सेवा गर्ने र बाल साहित्यमा सिर्जना गर्ने साहित्यकारलाई यस संस्थाले खोज्दै पुरस्कारले पुरस्कृत गर्नु नै यस संस्थाको मूल उद्देश्य भएको रहेछ ।
अस्वीकृत जमातका साथीहरू छिन्नभिन्न भए पनि कवितारामले त्यो मान्यतालाई एक्लै अघि बढाउने निर्णय गरे । त्यसको घोषणापत्र “मेरा अस्वीकृत मान्यताहरू” साहित्यिक पत्रिका अभिव्यक्तिमा पूर्ण रूपले छापियो र त्यसको पुस्तक पनि निस्कियो । यही विषयलाई लिएर काठमाडौँको विश्वभाषा क्याम्पसमा साहित्यकार गोविन्द गिरि प्रेरणाको अध्यक्षतामा गठन भएको संस्था “द राइटर्स क्लब” द्वारा आयोजना भएको कार्यक्रममा डा. कविताराम श्रेष्ठले नेपाली साहित्यमा आफ्नो अस्वीकृत मूल्य र मान्यता विषयमा विचार विमर्श गरेपछि त्यसले व्याप्ति लिएको थियो । आज पनि नेपाली साहित्यमा यसलाई एक अर्थपूर्ण र साहसिक मान्यताका रूपमा हेरिने गरिन्छ । यी माथिका कुरा उनले हाम्रो भेटमा पटक-पटक दोहोऱ्याएका थिए ।
मलाई अस्वीकृत साहित्य पुरस्कार गुठीले सन् २००७ सालको “अस्वीकृत विचार साहित्य पुरस्कार” दिने निर्णय गरेको थियो । पुरस्कारमा भनिएको थियो “अग्रगामी साहित्यको सिर्जना तथा नेपाली साहित्यको विश्वव्यपी प्रवर्धनमा उल्लेख्य योगदानको कदर गरेबापत पुरस्कार प्रदान गरिएको” भन्ने उल्लेख गरिएको थियो ।
पुरस्कार घोषणा भएको केही समयपछि मित्र साहित्यकार गोविन्द गिरि प्रेरणाले फोन गरेर पुरस्कार समारोहको आयोजना अनेसास डिसी च्याप्टरले भव्य रूपले आयोजना गर्ने पनि जानकारी दिए ।
सन् २००८ अन्ताराष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्गटन डिसी मेट्रो च्याप्टरले आफ्नो आयोजनामा “अस्वीकृत विचार साहित्य पुरस्कार” प्रदानको कार्यक्रम गर्ने निर्णय गऱ्यो । उक्त समारोह भर्जिनिया राज्यको आर्लिंगटन सहर स्थित क्षेत्रीय पुस्तकालयको सभा भवनमा गर्ने तय भएको थियो । अनेसास डिसी मेट्रो च्याप्टरका तत्कालीन अध्यक्ष साहित्यकार गोविन्द गिरि प्रेरणा र नेपाली साहित्यिक वेब पेज “खसखस डट कम” का सञ्चालक साहित्यकार वासु श्रेष्ठको संयोजन, सहयोग र सक्रियतामा पुरस्कारवितरण समारोह भव्य आयोजना गर्ने तारतम्य मिलाउन सुरु गरे ।
अमेरिकामा पुरस्कार वितरण कार्यक्रमको आयोजना निश्चित भए पनि वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानलाई अमेरिका आउने भिसा प्राप्त भएन । प्राविधिक कठिनाइ या केही त्रुटिको कारणले वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको अमेरिका आउने भिसा स्वीकृत नभएको खबर नेपाली समाचार पत्रमा हेड लाइनमा प्रकाशन भयो । हामी कार्यक्रमको भव्य आयोजनाको प्रतीक्षामा भएको सबैलाई यस प्रकारको अनपेक्षित खबरले धेरै दुःखी बनायो । नेपाली भाषा साहित्यको धुरन्धर विद्वान्, वरिष्ठ समालोचक एक सुपरिचित व्यक्तित्वलाई अमेरिकाको भिसा कसरी अस्वीकृत भयो भन्ने बहस सुरु भयो । यसबाट वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान साह्रै दुःखी र क्षुब्ध बन्नुभयो । हामी सबैको अनुरोध थियो फेरि एकपटक भिसाका लागि आवेदन गर्ने तर उहाँको अहंमा मात्र होइन देशकै इज्जतमा नराम्रो धब्बा लागेको सबैले महसुस गरे । उहाँले फेरी आवेदन दिने कुरालाई ठाडै अस्वीकार गर्नुभयो । नेपाली पत्रपत्रिकाले यस खबरलाई विशेष रूपले प्रचारप्रसार गरेका थिए । त्यसपछि उहाँले भन्नुहुन्थ्यो रे “यत्रो उमेरसम्म त अमेरिका नटेकी जीवनयापन सरल बनेकै छ भने यो बुढेसकालमा जानैपर्छ भन्ने के छ र म जान्न भन्नुहुन्थ्यो रे ।”
वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधानलाई अमेरिका स्वागत गर्ने, साहित्यिक छलफल गर्ने थुप्रै अन्य राज्यमा समेत साहित्यिक कार्यक्रम सम्पन्न गर्ने योजना सबै त्यसै तुहेर गयो । नेपालको विशिष्ट साहित्यिक व्यक्तित्वलाई अमेरिकाको भिसा प्राप्त हुन् नसकेको अविश्वसनीय कारणले हामी सबैमा एक प्रकारको तीव्र रोष पैदा गर्दै दुःखित बनाएको थियो । कार्यक्रमको निश्चितता र डा. कविताराम श्रेष्ठ यहीँ नै भएको कारणले कार्यक्रम सम्पन्न गर्ने नै आयोजकले निर्णय गरे । संयोग भनूँ या मेरो भाग्य त्यसै समयमा अमेरिकाको भ्रमणमा रहनुभएका वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई अनुरोध गर्ने निर्णय गरियो । त्यसैअनुसार वरिष्ठ समालोचक तथा नेपाली भाषाका झर्रोवादी आन्दोलनका अभियन्ता डा. तारानाथ शर्माको हातबाट सो पुरस्कार एक भव्य समारोहको बिच प्राप्त गर्ने सुअवसर प्राप्त गर्न सकेँ ।
उलेख्य सङ्ख्यामा उपस्थिति भएको सो भव्य पुरस्कार वितरण समारोहको मुख्य अतिथिमा वासिङ्गट स्थित नेपाली दूतावासबाट उपनियोग प्रमुख कालीप्रसाद पोख्रेल, विशेष अतिथिमा डा. कविताराम श्रेष्ठ, वाणिज्यदूत प्रेम राजा महत, अन्ताराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । साहित्यकार वासु श्रेष्ठद्वारा सञ्चालित सो समारोहमा मेरो सङ्क्षिप्त साहित्यिक जीवनी होमनाथ सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने सो समारोहको अध्यक्षता गोविन्द गिरि प्रेरणाले गरेका थिए । पुरस्कारग्रहणपश्चात् मैले आफूले जानेको साहित्यिक मन्तव्य प्रस्तुत गरेको थिएँ । त्यसको छोटो अंश महत्त्वपूर्ण लाग्दछ भन्ने ठानेर यहाँ प्रस्तुत गरेको छु ।
“पुरस्कार मेरो अर्थमा प्रोत्साहनको आधार स्तम्भ हो । व्यक्तिको सम्पूर्ण व्यक्तित्व विकासका लागि सम्मान, पुरस्कार र अभिनन्दनले पूर्णता प्राप्त गर्नमा विशेष महत्त्व राख्दछ । त्यसैले त्यो जुन स्तर वा तहको भए तापनि मानवजीवनमा विशेष स्थान राख्दछ । त्यसै अर्थमा मेरो जीवनमा यस पुरस्कारले मेरो साहित्यिक आन्दोलनको लामो दौरानमा विशेष प्रभाव पार्ने नै छ र यो निरन्तरता कायम राख्न पनि अझ गतिशील र परिष्कृत साहित्य सिर्जना गर्नमा थप मद्दत पुग्दछ भन्ने मेरो ठहर छ ।
अस्वीकृत विचार साहित्यको मान्यता कलात्मक अभिव्यक्तिका साथ अनुपयोगी मान्यतालाई धरासायी गर्दै जीवनोपयोगी मान्यता प्रतिपादन गर्नु रहेको छ । स्वभाववादी चिन्तनबाट निःसृत अस्वीकृत साहित्यले वस्तुगत दृष्टिकोण राख्दछ । पार्थिव इन्द्रियद्वारा प्रत्यक्ष अनुभूत नहुने तथ्यहरूलाई प्रामाणिक मान्दैन । आफू उभिएको भूमिबाट जीवनको परिभाषा लेख्दछ । भौतिक आवश्यकताको परिपूर्ति मान्छेको सही र प्रथम आवश्यकता हो तथा सम्पूर्ण मानव जातिको त्यसमा समान अधिकार छ भनेर मान्दछ । अस्वीकृत विचार साहित्यले उठाएको मुलभूत मुद्दाहरू मेरो बुझाइमा यही नै हो भने आजको बदलिँदो परिस्थितिमा नयाँ नेपालको निर्माणका लागि देशमा होस् या विदेशमा होस् सम्पूर्ण जनस्तरको विचारको उत्थानका लागि अनि गतिशील विचार प्रवर्धनका लागि साहित्य लेखिनुपर्छ । त्यस विचारप्रति मेरो सहमति छ ।”
सन् २०१७ मा अस्वीकृत विचार साहित्य पुरस्कार गुठीका अध्यक्ष साहित्यकार कविताराम श्रेष्ठको अर्बुद रोगको कारण बेलायतमा निधन भयो । सन् २००८ देखि नै उनको अन्तिम प्रस्थान बिन्दुसम्म पनि हाम्रो सम्पर्क र भेटघाट निरन्तर जारी रह्यो । पछिल्लो चरणमा बेलायतमा बसोबास गरेका डा. कविताराम श्रेष्ठ आफ्नो अन्तिम समयसम्म पनि साहित्य सिर्जना र नेपाली साहित्यको अभिवृद्धिमा नै तल्लीन रहेका थिए । कुनै बखत नेपाल टेलिभिजनका समेत अध्यक्ष रहेका उनी सुटिङस्थलमा आफैँ क्यामेरा बोक्ने, सानाठुला काम आफैँ गर्ने भएपछि माथिल्ला पदाधिकारीद्वारा धेरै आलोचित र असहयोग खेप्नुपरेको उनी बताउँथे । उनी सरल, सहज र अति मिलनसार व्यक्तित्वका धनी थिए ।
जीवनको अन्तिम प्रहरसम्म पनि साहित्य र आफ्नो कर्मका बारेमा अस्पतालको शय्याबाट नै अन्तर्वार्ता गर्ने उनी एक साहसिक व्यक्ति थिए । आफ्नो निधनको केही दिनअघि मात्र पनि अस्पतालको शय्याबाट नै आफ्नो अन्तिम इच्छा सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने एक अद्भुत विचार र मान्यताको धनी व्यक्ति थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

