पुसको वेला, जाडाको मध्याह्न । हिमालतिर तुसारो पर्नाले छेउछाउका राज्यमा चिसाले आफ्नो प्रभुत्व जमाउँछ । दिल्ली राजधानी पनि यो समयमा जाडाको चपेटमा ऐँऐँ हुन्छ । कुरा ९ जनवरी २०२२, आइतबार को हो । मेरो छुट्टीको दिन । मणिपुरबाट बाबाआमाको दिल्ली आउने हवाई टिकट गरिदिएको थिएँ । मेरी आमा गत चार-पाँच वर्षदेखि सी.ओ.पी.डी. (फोक्सो कमजोर भएकाले सास फेर्न समस्या हुने बिमार) को रोगी हुनुहुन्छ । दिल्ली सहरमा ओमिक्रोनको लहर चरममा पुग्दै मात्र थियो । पाठकलाई मप्रति आश्चर्य लाग्न सक्छ- किन यस्तो प्रदूषित दिल्ली एवं महाजाडाको वेला सासको समस्या भएकी आमालाई बोलाएको होला? प्रश्न उचित छ । दिल्ली भन्दा पनि मणिपुरमा बिहान-रातिको चिसो हावाको प्रकोपले आमालाई च्याप्ने गर्छ । गाउँघरको रहनसहन, खुल्ला घर, चिसो पानीले आमालाई गत केही वर्षदेखि सास फेर्न कष्ट नै पारेको थियो । पछिल्लो साल जसोतसो गरेर जाडो महिना काट्नुभयो । अघिका वर्ष मसँग यही दिल्लीमा हुनुभएर त्यति गाह्रो भएन । दिल्ली जाडो ठाउँ भए तापनि घरदेखि बाहिर निस्किने कारण नहुँदा, चिसो बतास नचल्नाले अनि अस्पतालको सुविधा हुनाले आमालाई मणिपुर जति गाह्रो पर्दैन ।

यो वर्ष आमा मणिुपरमै हुनुहुन्थ्यो । पछिल्लो वर्ष जसरी पनि आमाले यो जाडो काट्नुहुन्छ होला लाग्यो । “मलाई मणिपुरमै बस्न देओ । कति बाहिर बस्नु ।” सधैँ भनिरहनुहुन्थ्यो । लौ त भनी जाडो लाग्नुअघि दिल्ली ल्याउन चासो गरिएन । महिनामा एक-दुईचोटि अस्पताल धाउँदै जसोतसो आमा सन्चै घरमा बस्नुभएको थियो । पुस लागेपछि आमालाई जाडाले च्याप्न थाल्यो । परिबारले अस्पताल लगे । अक्सिजन दिनरातै लगाउने हिदायत दियो । यो हिदायत पहिलोचोटि दिएको थिएन डाक्टरको । दुई सालदेखि आमलाई प्रायः अक्सिजनको सपोर्टमा राखिएको थियो । पुसमा च्यापेको जाडाले आमाको अक्सिजन लेभल झारेको झारै पार्न थाल्यो । राति बढी च्याप्ने । कहिलेकाहीँ बिहान अक्सिजन लेभल ५०-६० पुग्दा आमाको हालात दयनीय हुन लाग्यो । परिबारले अस्तपाल धाइरहे । दुई-तीन घण्टा अक्सिजन लगाएर “मरिज सामान्य छ घरमा अक्सिजन लगाएर राख” डाक्टरले भनेपछि हामीसँग अरू केही विकल्प नै हुँदैनथ्यो । घर लिएर आयो, राति भएपछि त्यही समस्या । आमालाई फोन गर्दा दिनै एकै कुरा भन्नुभयो “साइँला मलाई ठिकै छ तर आधी रातपछि साह्रो पर्छ । छाती बेसेरी दुख्छ । टाउको दुखेर उठाउन सक्दिनँ । सास फेर्न कष्ट पर्छ । घाम अलिक माथि आएपछि मात्र सासमा सास आउँछ ।” आमाको बोली र कष्ट सुन्दा कुन छोराको मन पिरोल्दैन? घरमा सल्लाह गरेर दिल्ली ल्याउने कुरा राखेँ । नलैजा भन्ने पनि विकल्प थिएन । आमाको ज्यान बचाउनु थियो । दिल्ली ल्याउन पनि उति नै डरमर्दो । ओमिक्रनको डर अनि दिल्लीको जाडो । आमलाई पनि दिल्ली आउने कुरा राखेँ । आमाले भन्नुभयो- “ छोरा म सक्दिनँ दिल्ली जान । मलाई दिसा फेर्न जान त कम्ता गाह्रो पर्दैन । हवाई जहाजबाट कसरी आउन सक्छु ? मलाई आँट छैन दिल्ली आउने छोरा । पैसा खेर नफ्याक् ।”

आमालाई मनाउँदै भनेँ- “आमा केही गाह्रो हुँदैन । बसेर त आउनुपर्ने हो । तीन घण्टाको कुरा मात्र हो । यहाँ आएपछि सबै ठिक हुन्छ । साथमा बाबाको पनि टिकट गरिदिन्छु । घर बसेको पनि दुई वर्ष हुन लाग्यो ।”

आमाले नआउन अझै तर्क गर्नुभयो- “तर साइँला कोरोना दिल्लीमा बढेको बढ्यै छ । कसरी जानु ।”

आमाको कुरा एक दृष्टिले सही पनि थियो तर कोरोनाभन्दा आमाको बिमार झन् डरलाग्दो । फेरि मनाउँदै भनेँ- “आमा कोरोना एकै ठाउँ कहाँ बस्छ र ? आज दिल्लीमा छ, भोलि मणिपुरमा आइहाल्छ । चिन्ता नगर्नू आमा । हजुरलाई निको पार्न नै ल्याउने हो ।” आखिरमा आमाले आउन सहमति दिनुभयो ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

जनवरीको सुरुआतको दिनमा टिकट हेरेको, दाम खल्तीको घाँटी निमोठ्ने रहेछ । क्रिसमस र नयाँ सालमा घर गएका परदेशी फिर्ता आउने तातो भएर पनि होला टिकट महँगो भएको । आमाबाबाको स्वस्थ्यको कुरा आएपछि सस्तो-महँगोतिर तर्कवितर्क गर्नु पनि हुँदैन । भन्छन् नि आमाबाबाको ऋण कहिले तिर्न सकिँदैन । टिकट गरिदिएँ ९ जनवरीको । दिनमा उड्ने जहाजको सिट फुल हुने भएर इम्फालबाट पाँच बजे उडेर दिल्लीमा ९:३० बजे झर्ने जहाज फेला पऱ्यो ।

एक हप्ताअगाडि टिकट गरिदिएँ । जाने दिनसम्म आमाको अवस्था कस्तो हुने हो भन्ने अर्कै पिर । भर्खरै दुई दिनअघि अस्पतालबाट आमा आउनुभएको थियो । दुई दिनपछि बिहानै आमाले मलाई कल गर्नुभयो । म निद्रामै थिएँ । आमाको कल नभएको भा नउठाउने । फोन उठाइसक्दा प्रश्न गरिहालेँ- “आमा कस्तो हुँदै छ ?”

आमाको आवाजले नै थाहा पाएँ अवस्था नाजुक भएको । आवाजमा थाह लायो निबुलाइजेन लिनुभएको रहेछ । भासिएको मधुरो स्वरमा भन्नुभयो- “साइँला म आउन सक्दिनँ । हेर् न सास फेर्न पनि सकेको छैन । हिँड्न सक्दिनँ । मेरो ताकत छैन छोरा एयरपोर्टसम्म पुग्ने । मेरो टिकट केन्सल गर्दे । म घरमै मर्छु बरु ।”

“आमा! कष्ट परेको निको पार्न नै दिल्ली आउनुभनेको हो । बिहान साह्रो पारेको होला! अक्सिजन लिइरहनू । तीन घण्टाको कुरा हो, यहाँ आइसक्दा सबै ठिक हुन्छ ।”

“आमा बिहिनीलाई फोन दिनू त ?” सम्झाएर फोन दिन लगाएँ ।

“हेमा आमालाई साह्रै भएको छ र ?”

“अँ दा, साह्रै भएको छ । हिजो पनि यस्तै भएको थियो । घाम बढ्न लागेपछि अलिक आराम हुन्छ ।”

“दिल्ली आउन पनि दुई दिन छ । रमेश भाइलाई भनेर अस्पताल लैजाऔँ न त । अलिक आराम हुन्छ कि ?”

“ल दा, भनिहेर्छु । हुन त एकछिनमा आराम त भइहाल्छ ।”

आइतबारको दिन । मेरो छुट्टीको दिन भनेर नै आमाबाबाको टिकट काटिदिएको थिएँ । छुट्टीको दिन भनेर अघिल्लो रात पढ्दा र वेभसिरिज हेर्दा दुई बजाएँ । भोलिपल्ट बिहानै सात बजे ठुली दिदी र माहिली दिदीको कल आयो । निद्रामा आकुल भएको हुनाले फोन उठाइनँ । दस बजे उठेँ । उठेर आमालाई भिडियो कल लगाएँ । आमा दलिया खानुहुँदै रहेछ । आमाको चहकिलो आवाज सुनेर अलिक ढुक्क भएँ । सबै जना बिदा दिन आउनुभएको रहेछ ।

बहिनीलाई सोधेँ- “हेमा आमालाई कसले एयरपोर्ट लिएर जान्छ ?”

“दादा, रमेश दादाले एम्बुलेन्समै एयरपोर्टसम्म लाने रे अक्सिजन लगाएर ।” बहिनीले जबाफ दिई ।

“ए ! राम्रो हो । ल ल, ठिक समयमा हिँड्नू भन्नू रमेशलाई” भनेर फोन राखेँ ।

एयरपोर्टसम्म एम्बुलेन्स भन्दा चार सालअघिको कुरा स्मरण आयो । एम्बुलेन्स र अक्सिजनको पनि छुट्टै कथा छ आमासँग जोडिएको । सन् २०१८ अघि हामीलाई आमाको ठ्याक्कै के बिमार हो भनी थाहा पाएका थिएनौँ । उहाँलाई बेस्मारी खोकी लाग्थ्यो, ज्वरो आउथ्यो । डाक्टरकोमा लाँदा औषधि दिन्थ्यो । औषधि खाएको केही दिनमा सन्चो हुन्थ्यो । कुरा सामान्य थियो ।

२०१८ को जनवरीमा परिबारसहित गोवा घुम्न जान टिकट, होटेल बुक गरिसकेको थिएँ । भोलिपल्ट जाने दिन थियो । राति भाउजूको कल आयो । “भाइ, आमा साह्रै हुनुहुन्छ । अस्पतालमा भर्ती गरेको छ । अक्सिजन लगाएको छ ।”

भाउजूबाट खबर सुन्दा छाँगाबाट खसेजस्तो भयो । आजभन्दा अघि परिबारमा कसैलाई अक्सिजन लगाएको थिएन । आतिँदै भाउजूलाई प्रश्न गरेँ- “के भयो र भाउजू आमालाई ?”

“भाइ, एक हप्तादेखि ज्वरो र खोकीले लखतरान पारेको थियो । औषधि त खाइरहनुभएको थियो । आज बिहानबाट नै टाउको उठाउन सक्नु भएन । सास फेर्न गाह्रो भइरहेको थियो । हातका औँला, ओठ सबै निला भए । हतार-हतार गरेर रिम्स अस्पताल लिएर आएका । डाक्टरले अक्सिजन लेभल धेरै कम, ३५ को छेउछउ भएको छ भन्दै थियो ।”

आमाको सिकिस्त बिमार भएको वृत्तान्त सुन्दा सल्याकसुल्युक भएँ । शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ त्यो समय मलाई साँच्चै थाहा थिएन ।

“अक्सिजनमा राखेको छ” भनाइले आमाको अवस्था बुझ्न मलाई पुगी सरी भयो । म र प्रदीप दाइ घरदेखि बाहिर थियौँ । मैले भोलिपल्ट बिहानैको हवाई टिकट गरेँ । प्रदीप दादा भएको ठाउँबाट एयर कनेक्टिभिटी नभएको हुनाले पर्सिपल्ट आउनैपऱ्यो । मेरो गोवा ट्रिप केन्सल । बाह्र बजे इम्फाल ल्यान्ड भएर सिधै रिम्स अस्पमाल गएँ । जेनेरल वार्डमा भर्ती गरेको रहेछ । आमा अलिअलि बोल्न लाग्नुभएको रहेछ । अक्सिजनमा भएकी आमालाई देखेर मन पिरलियो । डाक्टरले बिमारको सटीक नब्ज थाहा पाएको थिएन । केन्द्रीय मन्त्रीको निजी सहायकमा काम गर्ने हुनाले पावर प्रयोग गर्ने बानी नभए पनि आमाका लागि गर्नु नै पर्ने अवस्था भएको थियो । डाक्टरले के समस्या हो भनेर सोद्धा पनि मजाले भनेको थिएन । घर लेर जानू भन्दै थियो । फोन घुमाएँ । तल र माथि सबैतिर । रिम्सको डायरेक्टर, एम.एस. सबै आमाको अघि उभ्याइदिएँ । वार्डका सबै ट्वाल्ल परेर हेर्दै थिए । त्यसपछि डाक्टर तातिए । आमाको दुखाइअनुसार टाउको दुख्ने, छाती दुख्ने, घिच्चुक दुख्ने, कफ आउने, सास फेर्ने समस्या सुनाउँदा दिनैपछि केही न केही जाँच गर्न थाल्यो । टी.बी देखि एच.आइ.भी. सम्म जाँच गऱ्यो । घिच्चुक दुख्ने चै थाहा पाउन सकेन । फोक्सो सत्तरी प्रतिशत खराब भएकाले शरीरमा अक्सिजन कम भएको भनिदियो । हप्ता दिनमा आमा टाठी हुनुभयो । बोली चहकिलो भयो । डाक्टरले औषधि लेखिदिएर घर पठायो । ढुक्क भएर घर आइयो । तीनचार दिनमै फेरि त्यही समस्या- छाती दुख्ने, टाउको दुख्ने अनि औँला-ओठ निला हुने । अस्पताल लिएर गयौँ । चेस्ट विभागमा भर्ती गर्ने सल्लाह दियो डाक्टरले । भर्ती गऱ्यौँ । एक हप्ता राखियो । धेरै जाँच भए । अन्तमा डाक्टरले सलाह दियो- जाडामा सी.ओ.पी.डी. बिमारीलाई साह्रो पार्छ । मणिपुरमा चिसो भएकाले अक्सिजन लेभल घटिरहन्छ । रातिपख अक्सिजन नदिई हुँदैन । घरमा अक्सिजन राख्नू, लेभल कम भएको वेला अक्सिजन दिनू । घरमा अक्सिजन सिलिन्डर, अक्सिमिटर अनि निबुलाइजेन राख्नू । धेरै गाह्रो पर्दा मात्र अस्पताल लिएर आउनू ।”

डाक्टरको सल्लाहअनुसार त्यसै गऱ्यौँ । घरमा कोठा गरम पार्न हिटरको व्यवस्था गऱ्यौँ, झ्याल दैला बाक्ला कपडाले ढाक्यौँ । डाक्टरले भनेको औषधिदेखि लिएर आधी मान्छे लम्बाइको अक्सिजन सिलिन्डर लिएर आयौँ । आमालाई कष्ट भइरहेको थियो । जाडाले च्यापिरह्यो । रातभरि पालैपालो गरेर रुङियो ।

एक दिन बिहान आमालाई निकै गाह्रो पाऱ्यो । अक्सिजन लगाएकाले पनि काम काटेन । अक्सिजन लेभल चैक गर्दा ६० पुगिसकेको थियो । आमा आलासतालास पर्नुभयो । बोल्न छाड्नुभयो । अस्पताल लाने भनेर रिम्सको डायरेक्टरलाई फोन गरेँ एम्बुलेन्सका लागि ।

“यहाँ त एम्बुलेन्स छैन । यति टाढाबाट गएर लिएर आउने समयमा उतैबाट गाडीमा लिएर आऔँ । छिटो हुन्छ ।“ डायरेक्टरको भनाइ थियो । गाउँमा एम्बुलेन्स कहाँ पाउनु ? आधीले त एम्बुलेन्सको अनुहार पनि देखेका थिएनन् । भेन बोलायौँ । भेनमा अक्सिजन सिलिन्डर राख्न मिलेन । आमाको अवस्था मिनट-मिनट तल झर्दै थियो । रुवाबासी हुन लाग्यो । कोहीले त गङ्गाजल पिलाइदिनू भन्न लागे । यो सुनेर थप रुवाबासी हुन लाग्यो ।

बाबाले त हार पनि खानुभएरै होला मलाई भन्नुभयो- “छोरा अब दुःख नगरौँ अस्पताल लगेर । बिस दिनसम्म पनि अस्पताल राख्दा जाति भइन ।“

बाबाको हार खाएको न्याउरो अनुहार हेर्दा अझ मुटु निमोठियो । हुने नहुने मनले सोच्न लाग्यो । अक्सिजनविनाको
भेनमा लिएर जाऊँ भने बाटामा केही अनर्थ हुने हो कि भन्ने अर्कै ठुलो पिर । केही उपाय नलाग्दा ओटो बोलायौँ । ओटाको साइडमा पलास्टिकको दाम्लाले कसेर सिलिन्डर बाध्यौँ । आमालाई बोकेर बाहिर निकाल्दा दिदी, भाउजू, बहिनीहरूले श्मशनघाट लगेजसरी नै रोएर घर उचाले । आफूले आँसु कहाँ रोक्न सक्नु ? अनेक थोक सोचेर उकुसमुकुस भएको मनले आँखाबाट आँसु झारेर हलुङ्गो हुने प्रयास गर्दा कहाँ सकिन्दो रहेछ जब छेउमा भइएकी अचेत आमालाई देखिन्छ ? यो कष्टको समयमा ओटो र सिलिन्डरको दृश्य हाम्रो नजरमा के हुन्थ्यो ? तर सामान्य मान्छेलाई यो दृश्य देख्दा उदेक लागेको थियो होला । दृश्यले एक्काइसौँ शताब्दीको लाचार समाज र सरकारको दृश्य पनि देखाइरहेको थियो । अस्पताल पुग्यौँ । आपत्कालीनमा लगेर राखियो । म सिधै डायरेक्टर आफिस गएर भि.आइ.पी. वार्डमा भर्ती गर्ने अनुरोध राखेँ । अनुरोधलाई मानेर चाहेको वार्डमा भर्ती गराइदियो । दस दिनको भर्तीमा डाक्टरले निकै निमेक लगाएर जाँच गर्दै औषधि चलाए । फोक्सोलाई दह्रो पार्ने थेरेपी चलाए । दस दिनपछि छुट्टी गर्दा आमाको अवस्था निकै सन्तोषजनक भयो । जनवरी सकेर फरवरी लाग्नाले जाडाको प्रकोप सुस्ताउन थालेको थियो । छुट्टी गर्दा डाक्टरले यही सल्लाह दियो- ”यो बिमारले जाडाको वेला सधैँ यसरी नै च्याप्छ । भरीसक्के मणिपुरबाहिर राख्यौ भने यो बिमारलाई आराम हुन्छ । नभए मणिपुरको चिसो हावामा गाह्रै पर्छ ।“

छुट्टीउपरान्त आमालाई प्रदीप दादाले लोनावाला, पुणे आफ्नो कार्यस्थलमा लिएर गयो । त्यसपछि आमा मसँग बस्नुभयो । यसरी कहिले मसँग त कहिले दादासँग गरेर आमा मणिपुरमा पाहुना समान हुन लाग्नुभयो ।

एम्बुलेन्सको सन्दर्भलाई मैले बिट मारिसकेको छैन । २०२० को कोरोनाकाल समयमा मेरो अध्यक्षता त्रिगुण फाउन्डेसन संस्थाको पञ्जीकरण मणिपुरमा गरियो । हामीले उद्घाटन कार्यक्रममै गाउँका लागि पहिले एम्बुलेन्स सेवाको सुरुआत गरियो । यो कार्यले आत्म सन्तुष्टि दियो । ९ जनवरी, आइतबार, इम्फाल एयरपोर्टसम्म यहीँ एम्बुलेन्सको सेवामा जानुभयो ।

निरन्तर प्रयास एवं सत्कर्म युक्त कार्य गऱ्यो भने भगवान्‌ले कतै न कतैबाट सहयोग दिँदा रहेछन् । चार बजेतिर कल गरेँ आमालाई । बोर्डिङ पास लिने क्रममा हुनुहुँदो रहेछ । एकै कुरा सोधेँ- “कति छ अक्सिजन लेभल आमा ?” आमाले भर्खरै आफैँ चेक गर्नुभएको रहेछ ।

“साइँला ६५ देखायो ।“ मन एकचोटि त आँत्तियो । तीन घण्टाको बाटो कसरी आउनुहुन्छ होला ? आमाले हेर्न भूल गर्नुभयो होला भनी भाइ रमेशलाई कल गरेँ । त्यही प्रश्नमा भाइले भन्यो- ”दादा अहिले भिडियो कल गरेर आमाको अक्सिजन लेभल हेरेको ७५ भएको छ ।“ भाइको उत्तरले अलिक त ढुक्क भएँ तर त्यो ७५ लेभलदेखि तल झर्ने अवसर निकै थियो । टिकट गर्नुअघि मैले रिक्स नै लिएर गरेको हुँ । आमालाई कष्ट हुन्छ भन्ने त अड्कल काटिसकेको थिएँ ।

मन विचलित हुन त स्वाभाविक थियो । सिटमा बसेपछि पनि कल गरेँ । फ्लाइटको उड्ने समय कटेपछि पनि कल गरेँ । फोन अफ भन्यो । पुष्टि भयो जहाज उडेको । चालिस मिनटपछि कल गरेँ । फोन उठ्यो ।

“हामी गुवाहटी छौँ साइँला ।“ आमाले भन्नुभयो । आमाको बोली अलिक नरम भएको बुझेँ । आश चैँ लाग्यो आमा अब अढाई घण्टाको बाटो काट्नुहुन्छ होला?

तीन दिनअघिबाट नै मनमा कुरा खेलिरहेको थियो । आमालाई अक्सिजन नभई हुँदैन । घरको अक्सिजन कन्सन्ट्रेटर ल्याउन मिल्दैन । मेरा यहाँ छैन । सी.जी.एच.एस. संस्थानमा काम गर्ने साथीलाई अक्सिजन कन्सन्ट्रेटरका लागि भनेको थिएँ । उसले सोमबार या मङ्गलबारसम्म दिलाइदिने कुरा गरेको थियो । आमा आइपुग्ने आइतबार, आइसक्दा अक्सिजन त चाहिन्छ नै । मन मानेन । दुई-तीन ठाउँ कुरा गरेँ । एक जनाले एस.डी.एम. अफिसबाट दिल्ली सरकारको नयाँ सर्कुलरको आधारमा अक्सिजन कन्सन्ट्रेटर पाइने बाटो जनाइदिए । दुई दिनअघि दुई-तीन ठाउँ कुरा गरेको हुनाले एस.डी.एम. अफिस कुरा गर्ने चासो राखिनँ ।

“आमालाई गाह्रो त पक्कै भएको छ । अस्पताल सिधै लान्छु । अगर स्थिति सामान्य छ भने घर आउँदा अक्सिजन अनिवार्य हो ।“ सोच्दै मन त्यसै-त्यसै फटफटी भयो ।

मन शान्त पार्न एस.डी.एम. अफिसको बाटो देखाउने मान्छेको भनाइअनुसार १०० नम्बरमा कल गरेँ । स्थानीय एस.एच.ओ. को नम्बर मागेँ तर ऊ अफिसमा नभएको जानकारी दिँदै समस्या सोध्यो । मैले सबै वृत्तान्त भनिदिएँ । अक्सिजन पाउँछ भन्ने कुनै ठोस सर्कुलर भएको जानकारी थाहा भएको भनेनन् । बरु एम्बुलेन्स सर्सिव दिने तत्परता देखाए दिल्ली पुलिसले । धन्यवाद भनी फोन राखेँ । बेलुकाको छ बज्न लागेको थियो । आमाहरू भर्खरै गुवाहटीबाट उड्ने समय । दिल्ली झर्ने समय अझै तीन घण्टा हुँदै म एयरपोर्ट जान तयार भएँ । पुलिसको कल आयो ।

“तिमीले १०० नम्बरमा कल गरेका थियौ ?”

“अँ गरेको थिएँ ।“

“म आएको छु । आऊ यहाँ ।“

म तयार भइसकेर गएँ । उसलाई मेरो समस्या बताएँ । उसले पनि अक्सिजन कन्सन्ट्रेटर नपाउने कुरा जनायो । अक्सिजन कन्सन्ट्रेटर दिलाउन असमर्थता जनाउँदै बरु अस्पतालसम्म यहीँ पुलिस गाडीमा लगिदिने कुरा पनि राख्यो ।

“हुन्छ केही छैन” भन्दा पनि “जबसम्म ठुलो अधिकारीलाई रिपोर्ट जाँदैन तबसम्म हामीले छोड्न मिल्दैन” पुलिसले कर्तव्यनिष्ठा देखायो । पहिलोचोटि १०० नम्बर कल गरेको मूल्य थाहा पाएँ । केही क्षणमा फेरि एस.एच.ओ. पनि आयो । मैले पुनः सबै समस्या र अुनरोध राखिदिएँ । उसले पनि अघिका उत्तर दोहोऱ्यायो । सबै जानकारी लेख्यो । उसले एस.डी.एम.को नम्बर दियो । मैले एस.डी.एम.लाई कल गरिनँ । मलाई मनमा खटपटी भएरै १०० नम्बरमा कल गरेर चान्स मात्र लिएको थिएँ । आजसम्म थाना नदेखेको मान्छेले पुलिससँग यसरी साक्षात् भेटेर आफ्ना लागि कुरा गरेको पहिलोचोटि थियो । पुलिस गए । म एयरपोर्ट जान मेट्रोतिर लागेँ ।

ओमिक्रोनले गर्दा विकेन्ड लकडाउन थियो । मेट्रो बस्दा बिहान सात बजे ठुली दिदी र सानी दिदीको कल आएको फिर्ता गरेँ । ठुली दिदी- ”भाइ बिहानै आमालाई कल गरेथेँ । आमाले बोल्न पनि सक्नुभएको
थिएन । कसरी पो जाने होला छोरी हःहःहः! गर्दै रुँदै हुनुहुन्थ्यो । आमाको हालात देखेर मलाई पनि लाग्यो कसरी दिल्ली पुग्न सक्नुहुन्छ आमा ? “केन्सल गर्दे छोरा टिकिट“ आमालाई भन्न सिकाएँ तर आमाले भन्नुभयो- मान्दैन छोरी साइँलाले । अब कष्ट गरेर पनि जान्छु । “तलाई कल गरेथेँ टिकट क्यान्सल गरिदिएँ भनेर । तर फोन उठाइनस् ।”

सानी दिदी- ”बिहान त आमाको हालात देखेर आमा जान सक्नुहुन्छ जस्तो लागेको थिएन तर घाम चर्किँदै गएपछि सामान्य हुनुभयो । तलाई कल पनि गरेँ टिकट केन्सल गर्नू भनेर तर उठाइनस् । आज आमा बिदा हुँदा आँखाभरि आँसु पार्दै जानुभयो । यसरी पछिल्लो समय जाँदा आँसु कहिले झार्नु हुँदैनथ्यो । कस्तो नराम्रो लाग्यो भाइ ।“

दिदीहरूका कुरा सुनेर खटपटी भएको मन झन् आँत्तियो । म साढे सात बजे एयरपोर्ट पुगेँ । अझै फ्लाइट झर्न दुई घण्टा थियो । आजको दिन दुइटा अनलाइन कार्यक्रमा सहभागी हुन्छु भनी आयोजकलाई भनेको थिएँ । एउटा साहित्यकार महेश पौड्यालको “अपरिचित अनुहार” माथिको पुस्तकचर्चा अनि गोर्खा ज्योतिको रचनावाचन कार्यक्रम । महेश पौड्यालको पुस्तकचर्चा सुनिरहेँ । आधा मन यता लगाए पनि मन आमासँगै जहाजमा विचरण गरिरहको थियो । आठ बजेपछि फेरि गोर्खा ज्योतिको कार्यक्रममा गएँ । पन्ध्र मिनटजति कुरा गऱ्यो । फेरि यता पुस्तकचर्चा

कार्यक्रममा आएर सुनिरहे । ८:४५ भएपछि मनको खटपटी शान्त गर्न आमाबाबा आउने फ्लाइटको स्टेटस चेक गरेको ल्यान्डिङ टाइम ८:४५ कै देखायो । मन अलिक ढुक्क भयो । आमाको फोनमा कल हानेँ । घण्टी गयो । फोन उठेन । पाँच मिनटपछि गरेँ । फोन नोट रिचेबल भन्यो । पन्ध्र मिनटमा कल फेरि गरेँ । घण्टी गयो अनि फोन पनि उठ्यो । बाबाले कल उठाउनुभयो । बाबा कान कम सुन्ने भएर खासै फोनमा बोल्नु हुन्न । मैले अड्कल काटेँ पक्कै आमालाई सन्चो छैन ।

“बाबा आमालाई कस्तो छ ?”

बाबाले आँत्तिएको, डराएको स्वरमा उत्तर दिँदा मन चिसो भयो ।

“आमालाई फ्लाइटमा बहुतै साह्रो पऱ्यो । आलासतालास भएकी थिई । चेत गएको थियो । अहिले अथ्बा छे ।“

“अनि अक्सिजन लगाएको छ बा?” बाबाले सुन्नु भएन मेरो प्रश्न । ती माथि डराएपछि कसरी बुझ्नु र ? तीन-चारचोटि सोध्दा पनि बुझ्नु भएन । छेउछाउको मान्छेले बाबालाई के-के सोधेको मैले सुनिरहेँ । कस्तो आत्तेस परेको होला बाबालाई ? न भाषा जान्ने, न कान सुन्ने न केहीबारे जानकारी राख्ने ? आमाको साथमा असहाय बाबाको स्थिति बुझेर मेरो भावना उर्लिरह्यो । फोन काटेर फेरि लगाएँ । उठाउनुभयो । “बाबा छेउमा हुने कुनै पनि मान्छेलाई फोन दिनू न म कुरा गर्छु ।“

बाबाले सुन्नु भएन । छेउको मान्छेले आफैँ भनको सुनेँ- ”तेरो मान्छेसँग म कुरा गरूँ ?” बाबाले उसलाई फोन दिनुभयो ।

“आप इनके कौन हो ?” प्रश्न गऱ्यो उसले ।

“मैं इनका बेटा हुँ ।“ उत्तर दिएँ ।

“मैं एक डाक्टर हुँ । यही फ्लाइट में था । आपकी मम्मीकी तबियत बहुत खराब है । बुखार है और अक्सिजन सेचुरेसन भी कम है ।“ उसको कुराले मन झन् आँत्तियो ।

“डाक्टर साबह क्या इन्हे विनाअक्सिजन के बाहर लाया जा सकता है ?”

“बिलकुल नहीँ । अभी फ्लाइटका इमर्जेन्सी अक्सिजन लगा हुआ है । बाहर ले जाने के लिए एम्बुलेन्स या अक्सिजनकी आवश्यता होगी ।“ यति भनेर कल काट्यो । मन आँत्तियो के गरूँ के गरूँ भनी । अघि १०० नम्बरमा कल गरेको याद आयो । फेरि १०२ मा कल गरेर एम्बुलेन्स मगाएँ । दस मिनटमा पुग्ने पुष्टि दियो ।

बाबालाई पुन कल गरेँ तर उठाउनुभएन । फोन गर्दा पनि बाबा आँत्तिनुहुन्छ होला, एक मनले सोच्यो तर आमाको पिरले मन मानेन । फेरि कल गरेँ । कल उठाउनुभयो ।

बाबालाई छेउको मान्छेलाई फोन दिनू भनेँ । अर्कै मान्छे रहेछ ।

“अक्सिजन सिलिन्डर सहित लेकर आ रहे है ।“ भन्यो “मैं एराइबल गेट नम्बर १ मे हूँ । एम्बुलेन्स भी यही खड़ी है । “
“दस मिनट में लेके आ रहे है ।“

उसको जवाफले मन अलिक शान्ति भयो । दस मिनट काट्न पनि सजिलो परेन । भित्र पस्न सुरक्षाकर्मीलाई अनुरोध गरेँ । उसले एक जना सुरक्षाकर्मी साथ लिएर जाने अनुमति दिँदै मात्र थियो आमालाई अक्सिजन सिलिन्डरसहित विलचेयरमा लिएर आएको देखेँ । आमालाई देखेउपरान्त मन ढुक्क भयो । गोडा ढोगेर एम्बुलेन्सरित लागेँ । एम्बुलेन्समा चढाइयो । एम्बुलेन्स कर्मीले अक्सिजन लगाइदियो । जसले लिएर आएको थियो त्यो मेदान्त अस्पतालको रहेछ । तीन हजारको बिल फाडेर दियो । बिल तिर्दै भनेँ, “दस मिनट अक्सिजन लगाते ही आप लोग कष्टमरको लूट लेते हो ।“ तर अक्सिजनको सहाराले आमा सही रूपमा आएको मन मनै धन्यवाद पनि गरेँ ।

एम्बुलेन्स बेस आर्मी अस्पतालतिर गुड्न लाग्यो । बाबाले पुनः फ्लाइटको वृत्तान्त सुनाउनुभयो । आमालाई सिटमाथि भएको ए.सी.को हावाले पिरोलेको रहेछ । केबिन क्रुलाई निभाइदिन पनि भन्नुभएको रहेछ तर भाषा नबुझेर होला ए.सी.को डायरेक्सन आमातिर पार्दिछे । ए.सी.को हावाले च्याप्न समय लगाएनछ आमालाई ।