अवाञ्छित स्मृतिलाई, कहाँ कसरी अभिव्यक्ति दिऊँ ? मुस्किल परिरहेको छ तैपनि थामिँदै छु । बडो सजगताले अतीतमा फर्किनुपरेको छ, यतिखेर । आकाश झर्ने समय आरम्भ हुँदै थियो । सुरुवातीमै भेला बाढीको क्रूरता असह्य हुन लाग्यो । मेलम्ची बहुलाएर कतिको ज्यानै लियो । बगर बनाइदियो घरबस्तीहरू । सयौँ परिवार बेघरबार भए । क्षतविक्षतको हिसाब हरायो । देश असह्य विपत्मा थियो ।
त्यस्तैमा एकदिन (२०७८) आषाढ सात गते हाम्रो परिवारमा ठुलो वज्र खस्यो । त्यसपछि म भन्न असमर्थ छु के भयो ? फेरि विवश छु त्यही भन्नलाई । … अमेरिकादेखि खबर आयो, फणीन्द्र मामा जानुभयो रे ! त्यसपछि त आकाशै घोप्टिएछ भन्ने सोचेँ । पानी थामिएको थिएन । हाम्रा आँखामा त्यही साउने झरी थियो । उता अमेरिकामा गुँड भत्कियो तितरबितर भयो ।
अध्ययनका निम्ति आजभन्दा अठार वर्षअघि उहाँ अमेरिका जानुभएको थियो । केन्ट स्टेट युनिभर्सिटीबाट भौतिकशास्त्रमा विद्यावारिधि गर्नुभएको उहाँ, केही समय अघिदेखि ओहायो राज्यको स्ट्रिट्स्बोरोस्थित निजी निवासमा रोगसँग लड्दै हुनुहुन्थ्यो । त्यही लडाइँमा ५६ वर्षको उमेरमा उहाँ बलिदानी हुनुभयो । नौ गते दाहसंस्कार सम्पन्न भएको फेरि अर्को खबर आयो । यो दुःखद घडीमा सम्पूर्ण बन्धुबान्धव तथा आफन्त यता छौँ, उता सान्त्वना दिने समेत कोही भएन ।
विद्वत्ता हासिल गर्न मामा परदेश गएपछि, उहाँको अनन्त पर्खाइमा हामी थियौँ । यद्यपि हाम्रो पर्खाइ उसलाई सह्य भएन अर्थात् नियतिलाई । त्यसको छ महिनापश्चात्, पुसको आखिरीमा सन्दीप भाइ (मामाको छोरा) अमेरिकाबाट आयो । अन्ततः उहाँको अस्तुलाई नै हामीले सक्षात् मान्नुपर्यो । माइजूले एक महिनाअघिदेखि ‘कालीनदीमा अस्तु सेलाउने तयारी गरेका छौँ’ भन्नुभएको थियो । आज त्यही तयारीको अन्तिम दिन थियो । म पनि जाने भएँ, अस्तु विसर्जनमा ।
देवघाट जाने गाडी तयारी अवस्थामा छ रे !
मामा ! हामी एकदम हतारिएका छौँ । हजुरलाई थाहा छ हामी कहाँ जाँदै छौँ ?
बालाजुमा गाडीले हामीलाई पर्खिबसेको छ रे । उफ् ! कति हतार भएको ? बिहान छिट्टै उठ्दा पनि समय कम्ती भएको छ । बाबुले ‘कहाँ आइपुग्यौ’ भनेर सोद्धा मैले ‘सासा आइपुगेको’ भनिदिएँ । यसरी झुट बोल्नु राम्रो हो कि होइन मामा ? यद्यपि म प्रस्थानकै तयारीमा थिएँ । एकबोल ओट्स सेलाएकै थिएन । खाली पेटमा यात्रा गर्न कठिन हुन्छ । वृक्षाले चिया र चना खाइन् ।
जाने वेला अमेरिकामा एउटा म्यासेज छोडेँ, माइजू ! हामी निस्कियौँ ।
अहिले प्रातःकालीन साढे पाँच भएको छ । बिहान झर्न अझै बाँकी थियो । उज्यालो र अँध्यारोको सङ्घारमा पदचापहरू तेज गतिमा थिए । धर्ती छोडेर रात्रिको अन्धकार भाग्ने स्थितिमा थियो । त्यसैको उत्सवमा सडककिनारहरू ब्युँझिएका थिए । सलबलाएका थिए । विद्यार्थीहरू हिँड्न थाले । जाडाले डल्लिएका कुकुरहरू भुक्न सकेका थिएनन् । ती गुडुल्किएका थिए । सोह्रखुट्टेको मेनरोडमा यातायात बेपत्ताले हुइँकिएका बखत । खुल्ला सडकमा कतै ठोकिने हो कि ? मनासलु स्कुलको गल्ली निस्किएर सासा हुँदै हामी बालाजु चोक पुग्यौँ । हाम्रो ढिलाइमा क्रोध पैदा हुन सक्छ ? अलिकति सन्देह थियो । दश-पन्ध्र मिनेट भयो होला हाम्रो प्रतीक्षा गरेको । हिजो अस्तिदेखि नै बाबुले समय निर्देश गरेका थिए, मौकैमा आइपुग्नू भनेर । उनीहरूलाई बोल्ने ठाउँ नदिई प्रसन्न वाणीमा भनेँ, सम्पूणर्मा शुभप्रभातम् । फेरि थपेँ, हेर्नू न आउँदाआउँदै विलम्ब भयो ।
ढुक्क भएँ, धन्न कसैले केही भनेनन् । किन बियाँलो गरेको ? एकवचन सोधेनन् । त्यो धीरतालाई मैले आदर गरेँ । आफूलाई भए कम्ती रिस उठ्ने थिएन, यो चिसो मौसमको प्रतीक्षारत सयम बडो कठोर हुने गर्छ ।
एसी भएको सुविधा सम्पन्न टुरिस्ट बस । बाबु, कपिल दाइ, रामेश्वरी दिदीहरू हाम्रै पर्खाइमा थिए । वृक्षाले पछाडिको सिट रोजिन् किन हो ? म पनि उनीसँगै बसेँ । बानियाँटार हुँदै आएको गाडी, यसरी पिकप गर्दै कलङ्की पुग्ने छ ।
मामा ! हजुरलाई के यो सब कुरा थाहा छ ?
वनस्थलीमा कृष्ण दाइलाई एकछिन पर्खिनुपर्यो । कलङ्कीको मकालु पेट्रोलपम्पनजिकै सडकमा, ठुलो मामा र माइजू आइपुग्नुभएको छ ।
मामा ! मैले झन्डै बिर्सिएको नि ! म कहाँ जाँदै छु भन्ने कुरा । अहिले हामी हजुरकै सम्झनामा देवघाट जान लागेका छौँ । यो दुःखद यात्रा हो, फेरि त्यही शोकको क्षण बल्झिएको छ । हजुरले हामीलाई छोडेर जानुभएको कति भयो, थाहा छ ? सन्दीप भाइ अमेरिकाबाट अस्ति आइपुगेका छन् रे । यतिखेर उनी देवघाटको आश्रममा होलान् । हिजैदेखि चोखोनितो गरेर बसेका उनले आज हजुरलाई तर्पण दिनेछन् । हो हामी त्यहीँ जाँदै छौँ । हजुरले त्यो पाउनुहुन्छ हुँदैन मलाई थाहा छैन । निराकार आत्मालाई अब केको खाँचो पर्ला र ? भौतिकताले कसरी सताउन सक्छ ? यस मामिलामा केही भन्न म असमर्थ छु । तैपनि हजुरलाई भोकप्यासले गलायो कि जस्तो लागिरहन्छ । त्यही चिन्ताले भाइ अमेरिकादेखि आएका छन् । अनि कालीनदीमा अस्तु सेलाउने रे । पण्डितले वैतरणी तार्लान् भन्ने पनि छ । अहिले हजुर कहाँ हुनुहुन्छ ?
माइजूको कागजपत्र मिलेन रे ! सवना र ठुली बहिनीलाई पनि अनुकूल भएन, पितृकर्ममा उपस्थित हुन । फेसबुकले फेरि अर्को भेरियन्ट आएको खबर छापेको छ । अघिल्लो भ्याक्सिनले ओमिक्रोन भाइरसलाई काम गर्दैन भनेका छन् । यस्तो अन्योलको वेला छ । प्रभातले उज्यालो झारिसकेको थिएन, अझै रिमरिम छ । सीता पेट्रोलपम्पबाट तोयनाथ र महाप्रसाद हजुरबुवालाई पिकप गर्न बाँकी नै थियो ।
गाडीभित्र चिसो मौसमको कत्ति आभास थिएन । एसी चलिरहेको थियो । मामा ! हजुरलाई के त्यो पनि थाहा छ ? आज गाउँदेखि हजुरका तीनै जना दिदीहरू जाँदै हुनुहुन्छ, सन्दीप (भदा) भाइलाई भेट्न, अर्थात् हजुरको स्मृतिमा गरिएको पितृकर्ममा सामेल हुन । माइजूले अमेरिकाबाटै त्यो सम्पूर्ण व्यवस्था गर्नुभएको छ । दिदीहरूलाई लिन गाडी घरमै गएको छ, त्यस विषयमा हजुरले चिन्ता नलिनू । हजुरका लक्ष्मी र मुना भान्जी त्यही गाडीमा आउँदै हुनुहुन्छ रे । दमौली, लमजुङको धमिलीकुवा हुँदै जेठाकबाट गोर्खाको चोरकाटे पुगेर गाडी देवघाट आउने छ ।
यो रिजर्भ मोटर अब कहीँ रोकिने छैन । यतिखेर हामी त्रिभुवन पार्क कटिसकेका छौँ । सहरबाट घर आउँदा जाँदा हजुरले कति धेरैपटक यो बाटो हिँड्नुभयो होला ? म सम्झिन खोज्छु । अनि त मलाई हजुर यता कतै हुनुहुन्छ जस्तो लाग्छ, हजुरको आवाज यही हावामा मिसिएको पाउँछु, पदचापका डोबहरू यही माटामा देख्छु । काठमाडौँदेखि हामीलाई लगिदिनुभएको मिठाइको सुवास यहीँ फेला पार्छु । कति मोहक छ, त्यो बास्ना ।
मामा ! अहिले हजुर कहाँ हुनुहुन्छ ? हामी हजुरकै सम्झनाका बात गरिरहेका छौँ । के त्यो सुन्नुभएको छ ? हजुर कति कोमल हृदयको हुनुहुन्थ्यो । यसपालिको तीजमा मेरी आमाले भाइ सम्झिएर भक्कानिएको म कसरी सहूँ ? दसैँको टीका थाप्ने दिन फेरि त्यस्तै भयो । तिहारमा मखमली फूल देखेर उहाँलाई शान्ति मिलेन । हजुरको भौतिक काया यस धर्तीमा छैन भन्ने जानेर पनि मेरी आमा भाइटीकाको दिन हजुरको फोन पर्खिएर बस्नुभएको थियो । दिन ढल्किएपछि बल्ल उहाँलाई थाहा भयो, अब फोन आउँदैन । पोहोर परार यतिखेर भाइको फोन आइसक्थ्यो, पटक-पटक उहाँले यही कुरा दोहोर्याउँदा म विह्वल भएँ । हजुरले अमेरिकाबाट पठाइदिएको फूलबुट्टे साडी आमाले अझै लगाउनुभएको छैन । किन हो थाहा छ तपाईँलाई ? त्यो फाट्छ कि भन्ने उहाँलाई बडो चिन्ता छ ?
मामा ! हजुर घर आउँदा ओछ्याउने गरेको, सेता किनारामा निलो बुट्टा भएको तन्ना थियो नि …, हो अहिले तपाईँलाई त्यसको सम्झना छ कि छैन ? थाहा छ ? त्यो तन्ना हजुरआमाले हरेक रात सिरानीमा राख्ने गर्नुहुन्थ्यो । त्यतिखेर उहाँलाई छ भन्ने छोरो साथमै लाग्दो हो । कति ठुलो भ्रान्ति थियो त्यो । जुन भ्रान्तिमा उहाँको उत्तरार्द्ध सकियो । छोरीहरूको घरमा जाँदा समेत त्यो विभ्रान्ति साथमै लैजानुभएको थियो । सिरानीमै हुन्थ्यो, मैले धेरैचोटि ख्याल गरेकी थिएँ । यता कलङ्कीमा, ठुलो मामाको घर आउँदा पनि त्यो सँगै ल्याउनुभएको थियो ।
हजुर त्यता दवाई पानी खाइरहेका वेला, यता हजुरआमालाई अचानकको बिमारले थला पार्यो । डाक्टरले स्ट्रोक भएको हो, भन्थे । उहाँको देब्रे हर त्यसपछि कहिल्यै ब्युँझिएन । अनि चैतन्य चोला व्यर्थजस्तै हुन लाग्यो । सुरको बात आउन छोडे । त्यस्तो अवस्थामा पनि उहाँको सिरानीमा त्यही भ्रान्ति (तन्ना) थियो ।
यो यात्राभरि प्रायः हजुरकै सम्झना भइरह्यो । अमेरिकामा हजुरसँग भेट हुँदाका प्रसङ्ग, अहिले ठुलो मामाले निकाल्नुभएको छ । किमो दिएको बखत दुई किलो बरफ खानुपर्दाको सकस सुनेर म आँत्तिएँ । हजुरले कति कष्ट सहनुपर्यो होला ।
मेरी आमाले भन्नुभएको हजुर धेरै मेहनती हुनुहुन्थ्यो रे । पिएचडीका लागि हजुर अमेरिका जाँदा म सानै थिएँ, स्कुल पढ्दै गरेकी । हजुरले पढाउँदै आउनुभएको पद्मकन्या क्याम्पसले उता गएपछि हजुरको नाममा पत्र पठाइरहेको थियो, म थाहा पाउँछु । त्यो चिट्ठी अङ्ग्रेजीमा हुन्थ्यो । चिट्ठी लिएर हजुरमा इङ्ग्लिस पढाउने गोपाल मास्टरका कहाँ जानुहुन्थ्यो ।
‘के भनेको छ बाबु यसमा ?’ उहाँको त्यो जिज्ञासु वाणी अहिले पनि मलाई उस्तै लाग्छ ।
हामीले उनै गोपाल मास्टरसँग इङ्ग्लिस पढेका थियौँ, यद्यपि त्यो चिट्ठीमा के भनेको छ मलाई थाहा थिएन । हुन सक्छ मेरो योग्यताले नभेट्ने थियो । त्यसो त गाउँघरका विद्यालयमा मुख्य समस्या अङ्ग्रेजीकै हुन्थ्यो । पत्र हेरेर उनले भने, आमा ! हजुरको छोरालाई पिके कलेजले पढाउन बोलाएको छ । उहाँलाई लागेको थियो, त्यसमा के-के नै हुनुपर्छ । पटक-पटक पिके कलेजले पत्र काटिरह्यो । जुन कुरा हजुरलाई थाहा भयो कि भएन ?
ती स्मृतिहरू अहिले मलाई बडो मूल्यवान् लाग्छन् । तिनै स्मृतिमा म हजुरलाई भेट्ने गर्छु । मामा ! हजुर त हाम्रो सम्पदा हो नि । त्यो व्यक्तित्वमा गौरव लाग्छ । पूर्वी लमजुङको त्यो सानो गाउँ, तीनपिप्लेको भूमिले अब अर्को वैज्ञानिक कहिले जन्माउला ? कति समय पर्खिनुपर्ला ? ए होइन, मैले कस्तो भुलेछु नै हजुरकी ठुली छोरी सबिना अहिले हजुरकै बिँडो थामिरहेकी छन् । ब्रेन ट्युमर भएपछिको हजुरको अवस्था म अहिले सम्झन चाहन्नँ । त्यो सम्झिँदा छातीमा ठुलो बोझले थिचेजस्तो हुन्छ । डाक्टरले हजुरको आयु तीन वर्ष तोकिदिएका थिए । त्यो अन्तिम वर्ष हामीले सम्भावित शोक मनाउन थालिसकेका थियौँ । अमेरिकाबाट फोन आउँदा गोडा लुलिन थाल्थे । मृत्यु खबर आयो कि भन्ठानेर । प्रत्येक दिन नचाहेरै पनि हामी त्यो मृत्युलाई सम्झिन्थ्यौँ । दूर गराउने भएको रे ! ऊ झन् मनभित्रै वास लिन्थ्यो । यसरी हजुरको मृत्युलाई हामीले नजिकबाट हेरिरह्यौँ ।
त्यसपछि डाक्टर नै विस्मित भए, चार वर्षको आयु उपहार दिएर मृत्यु नै बेपत्ता भयो । हुन त त्यतिखेर हामीलाई थाहा थिएन, उसले कति वर्ष आयु थप गरिदिएको थियो, भन्ने कुरा । पछि थाहा पायौँ । हजुरले मृत्युलाई पनि हराउनुभएको रहेछ । राम्रो शुभेच्छा राख्ने भएको रे, हेर्नू न प्रत्येक पल हामीले हजुरलाई माया मार्थ्यौँ । त्यो नै अन्तिम क्षण भएको महसुस गर्थ्यौँ । हजुरको त्यो बँचाइ सग्लो त थिएन नै । कतिपटक हजुरले मरेर बाँच्नुपर्यो, त्यसको लेखाजोखा हामीसँग थिएन तर अनुमान लगाउन सक्थेँ त्यो बडो कठोर थियो, समय निर्दयी थियो । मृत्यु जिस्किरहेको थियो । विज्ञानीले प्रयोगशालामा हजुरलाई परीक्षण गरिह्यो ।
वियोगको भारी बोक्ने यो जीवन एउटा ढाकर रहेछ । मामा ! हजुर जान्ने भएदेखि कति जनाले यो संसार त्यागे होलान् ? के त्यसको हिसाब राख्नुभएको छ ? त्यो थाहा छ ? मृत्यु हाम्रै काँध चढेर हिँड्ने गर्छ । हाम्रो अनिश्चित यात्राको निर्देश उही गर्छ । उसैले गन्तव्य टुङ्ग्याइदिन्छ । बाटो सकिएको थाहा दिन्छ । कहाँ-कहाँबाट अचानक भेट भएका यात्रीहरू, एकदिन छुटिनुपर्छ भन्ने भुलेर, यतिखेर हामी विह्वल छौँ । हजुरलाई अमेरिकाबाट नेपाल फर्किने दुई दिनको बाटो समेत उसले हिँड्न दिएन, अब बाटो सकियो, ऊ भन्छ । आमाछोराको भेट नभई हजुरहरू जानुभयो । त्यो अशक्त अवस्थामा हजुरले जन्मदातृको शोक कसरी सहन गर्नुभयो ? त्यही कुराले यो मन खड्किरहन्छ । चेतनाले पूर्ण अन्तिम श्वास लिँदासम्म, हजुरआमा छोराकै प्रतीक्षामा समय निल्दै हुनुहुन्थ्यो । त्यो खस्रो समय कतिचोटि गला लाग्यो । किक्लिक्क किक्लिक्क । जीवन र मृत्युको दोबाटामा, परदेशमा छोराले जीवनको भिख मागिरहेको वेला, यता आमा हस्पिटलको शय्यामा प्राण धन्ने औषधि खाइरहेको कारुणिक कथा, भो अब अगाडि बढाउन म सक्दिनँ ।
सडक अवरुद्ध छ । केले रोक्यो थाहा छैन । यातायातको लामो ताँती, आतेस लाग्दो देखिन्छ । टाढाको गन्तव्य, कतिखेर पुग्ने हो ? नागबेली बाटामा रङ्गबिरङ्गका मोटरगाडीले बुट्टा भरेजस्तो देखिन्छ । एक पङ्क्ति मोटर ओरालो झर्न लागेको छ, अर्को पङ्क्ति उकालो चड्दै गरेको । बनेली मार्गमा घुम्ती मोड्दै ओरालिँदै फेरि घुम्ती, ठाउँ-ठाउँमा स्कुल कलेजको विज्ञापन झुन्ड्याइएका होर्डिङबोर्डका आकर्षक युवायुवती । पहाडपर्वत सम्पूर्ण मौन छन् । टाढा-टाढाका चुचुराहरू देखिँदै हराउँदै फेरि देखिएका छन् । यस्ता दृश्यसँग अभ्यस्त भएका हामी खासै लोभिँदैनौँ । बरु आँखा बन्द गर्न मन पराउँछौँ । थानकोटको ओरालोले निकै समय खायो । एघार बजे चितवन पुग्ने हाम्रो सोच थियो । अब सम्भव थिएन ।
यतिखेर हामी बैरेनी आइपुगेका छौँ । काठमाडौँबाट जति दूर हुँदै थियौँ, पर्यावरण त्यति धमिलो थियो । बिहान जति छिप्पिँदै थियो, उति भर्खर रात फाट्दै छ, जस्तो देखिन्थ्यो । कुहिरोभित्र सुरुङ खन्दै हुत्तिएको बस । छ्या ! कति नरमाइलो वातावरण । कुनै विपत्ति खपिरहेजस्तो ।
गाडीमा गर्मी भएजस्तो, कस्तो उकुसमुकुस भएको थियो । बाहिर निस्किँदा कहाँ हुनु मुटु नै कपाउने ठन्डी रहेछ । टुरिस्ट बसको ड्राइभर, मान्छे जाती नै लाग्यो । मिजासिलो । विदेशीलाई खुवाउने खाजाघरमा उसले गाडी रोक्यो । देख्दै आनन्द लाग्ने पार्क र त्यो व्यवस्थित क्याफे । सफा थियो, शान्त थियो । मलाई आलुपरौठा धेरै मन पर्छ । एक प्लेट तरकारी र एकपिस त्यही खाएँ । सिध्याउन अलिक मुस्किल पर्यो । एक गिँलास मन तातो पानी लिएँ । चिया र कफी मैले केही लिइनँ । मलाई त्यसमा खासै रुचि लाग्दैन । खाएँ खाइनको वास्ता हुँदैन ।
अगाडिको सिटमा रहेका रामेश्वरी अनि शिला दिदी, न्यौपाने भिनाजु र भुराभुरी चुपचाप थिए । बिचतिर बसेका चाहिँ बडो गफको तालमा थिए । संवादका विषय अनेक थिए । केही समयअघि अमेरिकाबाट आउनुभएका मामाले उतैको अनौठो अनुभव सुनाउनुभयो । विज्ञान प्रविधिले मानिसलाई कसरी यन्त्रीकरण गर्दै छ त्यो मूल विषय थियो । खाजा खानुअघिसम्म बडो चाखले म पनि बिच-बिचमा प्रसङ्ग थप्दै थिएँ । त्यसपछि मलाई निद्राले छोप्न थाल्यो । मेरो मौनतामा वेला-वेला उनीहरूले ध्यान दिएको ब्युँझँदाखेरि म थाहा पाउँथेँ । फेरि निदाइहाल्दो रहेछु । मामाले “ए भान्जी ! निदायौ ?” भनेर सोद्धा हामी मलेखु पुगिसकेका रहेछौँ । कुरिनटार फिस्लिङ कटेको मैले केही थाहा पाइनँ । मुग्लिन पार गरेर नारायणीको काँठकाँठै ओरालिँदा पनि म निदाएकी रहेछु । वेला-वेला झल्याँस्स हुँदा कहाँ आइपुगियो मलाई हेक्का भएन । गाईघाट दासढुङ्गा कटेर रामनगरको सालघारी आइपुगेछ । निद्रा पुगेर होला आँखा पनि छ्याङ्ग भए ।
चैत वैशाखको जस्तै घाम न्यानो छ । यसअघि पनि म एकचोटि देवघाट पुगेकी छु । वीरेन्द्र कलेजमा आईए पढ्दा जानुका, मालती र म क्लास हापेर गएका थियौँ । जानुका सानैदेखि चितवन खेलेकी मान्छे । उसैको सल्लाहमा हामी गएका थियौँ । त्यस बखत देवघाटको महत्त्व मलाई केही थाहा थिएन । एउटा तीर्थस्थली हो भन्ने राम्रो ज्ञान पनि मसँग थिएन । यहाँ वृद्धवृद्धा असहाय बस्छन्, हो त्यति मात्र बुझेकी थिएँ । काली नदीको दोभान समेत ख्याल गरेकी रहिनछु । त्यतिखेरको देवघाट म अहिले खोज्दै छु । अहँ, पाउँदिनँ । नयाँ संरचनाहरू निकै बनेछन् । झिलीमिली धेरै बढेछ । आश्रममा देखिएका बुढाबुढी पनि नौला लागे ।
सीता भासिएको ठाउँ हेर्नु नै मुख्य ठानेकी जानुकाले अरू के-के देखाई अर्थात् के-के कुरा प्रमुख थिए कुन्नि ? त्यतिखेर मलाई यो दर्शनीय भूमि हो भन्ने नै लागेन । आँखालाई आकर्षित गर्ने केही पाइनँ । मनमनै भनें, के-के न होला भनेको केही रहेनछ । के हेर्नु छ र ? सीता भासिएको ठाउँ चाहिँ मलाई अनौठो लाग्दै थियो, के साँच्चै त्यहाँ सीता भसिएकी होलिन् ? मसँग यस्तो अनुत्तरित प्रश्न थियो । अँध्यारो ढुन्डुर छाम्दै हामी निकै तल झर्यौँ । “कति मानिसहरू यस ढुन्डुरमा आउन डराउँछन्” जानुकाले भनी “धन्न तिमीहरू डराएनौ ।”
उसले भनेजस्तो डर त मलाई केही लागेन । जे होस् यहाँ सीता भसिएकी थिइन् भन्ने विश्वास चाहिँ गर्न सकिने थियो । रामायणका कथा सुन्दा मैले त्यस्तै कल्पना गरेकी थिएँ । धरणी फाटेकी । त्यसैको चेपमा उँधोउँधो पातालिँदै गएकी थिइन् उनी । अहिले त्यहाँ जान पाए त्यस्तो लाग्थ्यो कि लाग्थेन, म भन्न असमर्थ छु । धर्तीले सीतालाई आफ्नो गर्भमा लुकाएको त्यस ठाउँमा जाने मसँग उत्कट इच्छा थियो । परन्तु समय कम्ती होला जस्तो छ ।
म अलमल्ल परेँ । त्यतिखेर जानुकाले कहाँबाट लगेकी थिई ? मैले ठम्याउन सकिनँ । एकछिन पर्खिएर दिशाबोध गर्ने समय पनि थिएन । त्यस बखत मेरो दृष्टि निकै सङ्कुचित रहेछ, अर्थात् मेरा आँखाहरू उति जिज्ञासु रहेनछन्, त्यो बोध म अहिले गर्दै छु । आँखाअगाडिको दृश्यदेखि अरू खोज्नै नजान्ने । त्यतिखेर मैले देखेको देवघाट निकै सानो लागेको थियो । वृद्धवृद्धाहरू भजन गाइरहेका थिए, त्यो सङ्गीतको लयले मात्रै यो देवघाट रहेछ भन्ने अनुभूत गरेकी थिएँ । त्यस बखतको देवघाट भन्नु त्यही मधुर सङ्गीत मात्रै थियो मेरा लागि । अमर न्यौपानेको सेतो धर्तीकी वृद्धा अहिले कहाँ होलिन् ? कुन संयोगले लेखकसँग भेट भयो होला ? बाटामा मैले थुप्रै सेता धर्तीलाई भेटेँ, कोही बत्ती कात्दै गरेका, कोही पार तापेका, कोही एकआपसमा बात गरिरहेका, कोही निस्सङ्ग टोललाइरहेका । यहाँ कति सेता धर्तीका कथा होलान् ? कति नाटक होलान्, कति उपन्यास होलान् । स्वयं आफैँ काव्य बनेका कति हुन् कति ।
अहिले हामी ठिक ठाउँमा पुगिसकेका छौँ, कालीको दोभान । दिउँसोको एक बजेको हुनुपर्छ । टाढैबाट देख्यौँ, एक हुल मानिस सलबलाइरहेको छ । त्यो सेतो वस्त्र लगाएको सन्दीप भाइ हुनुपर्छ । हामीले सोचेका थियौँ लमजुङ गोर्खा हुँदै आउने गाडीभन्दा यता काठमाडौँको छिटो हुनेछ । आखिर उहाँहरू (आमा, लीला र गङ्गी सानिमा, लक्ष्मी र मुना दिदी) नै अगाडि आइपुग्नुभएछ । दुवै गाडीका मानिस एउटै परिवारका थियौँ ।
“अब अस्तु सेलाउने वेला भयो” पण्डितले भने, “तपाईँहरू नआइपुगेर हामी रोकिएका हौँ । अरू विधिविधान सकिसकेको छ ।” आफन्तहरूले घेरिएको सन्दीप भाइ आफूलाई बडो मुस्किलले थामिरहेको थियो । पोखरीमा डुबेजस्ता आँखा उसले सक्दो कोप्य्राएको थियो, आफ्नो दुखेको मन छोप्न अनेक चेष्टा गरे पनि छोपिएको थिएन । उसले कसैको अनुहारमा हेर्न सकेन । ओठहरू काँपिरहेका थिए । नाक बगिरहेको थियो । आँखाको डिला भत्काएर अश्रुजल काली नदीमा खस्दै थियो । त्यस अवस्थाको भाइलाई देख्दा काखमा च्यापेर राखूँ जस्तो भयो । उसलाई चिची पापा दिएर फुल्याऊँ जस्तो भयो ।
पण्डितले अस्तुलाई जलधारा दिएर परिक्रमा गर्न, भाइलाई अह्राएका थिए, ऊ त्यही गर्दै थियो । त्यतिखेर एक युवकले उसको तस्बिर लिन खोज्यो । ऊ को हो ? मैले चिनिनँ । सन्दीपले ‘फोटो नखिच्न’ भन्यो ।
मामा ! के यो सब हजुरले थाहा पाउनुभयो ? त्यो जलधारा पाउनुभयो कि भएन ? अहिले हजुर कहाँ हुनुहुन्छ ? हो म त्यही जान्न चाहन्छु । देख्नुभयो या भएन ? हेर्नु त हामी यहाँ कति धेरै उपस्थित भएका छौँ ।
मलाई हिजोअस्तिसम्म पनि विश्वास थिएन, हजुरको मृत्यु खबरमा । लाग्थ्यो, मामा अहिले केही खोजअनुसन्धानमा हुनुहुन्छ । त्यो सकेर नेपाल आउने कुरामा म निःसन्देह थिएँ । अहिले त्यो भ्रम सम्पूर्ण चकनाचुर भएको छ । हजुर दिवङ्गत भएको प्रमाणित गरिँदै थियो, अस्तु सेलाएर ।
यस बखत हजुरलाई भन्दा पनि सन्दीप भाइको अवस्था देखेर म द्रवीभूत भएकी छु । थाम्दाथाम्दै रसाएका आँखा मैले लुकाउन खोजेँ तर लुकेनन् । हजुरका दिदीहरू उस्तै विह्वल मुद्रामा थिए । भत्किएको अनुहार कच्याकुचुक्कै भएको थियो ।
सम्पूर्ण आफन्तहरू यसरी एकै ठाउँमा भेला भएको, अघिका दिनमा मैले कहिल्यै देखेकी थिइनँ । यो दुःखद क्षण हो भन्ने भुलेकी मैले त्यहाँ हजुरलाई खोज्न थालेँ । हाम्री हजुरआमाको यो चौतारी कति ठुलो रहेछ । हामी सबै उहाँका हाँगाबिँगा थियौँ । उहाँका एकांश थियौँ । उहाँका इच्छा र आकाङ्क्षाका मूल थियौँ ।
भर्खरै डा. व्यञ्जना शर्माको घाम अस्ताएको होइन पेढेर एक समीक्षा गरेकी मैले, आफूलाई सम्झाउँदै, मामा ! हजुरको व्याप्तिलाई स्विकार्ने चेष्टामा छु । त्यहाँ एक ठाउँमा भनिएको छ, “मृत्यु जीवनका लागि जति अप्रिय छ, उति नै सत्य पनि छ ।” यही वाणीसँगै पुस्तकभित्र घाम किन अस्ताउँदैन ? किन अस्ताएन त ? यही सत्यलाई खोज्न लागेँ । थाहा भयो, हामीले अर्थ्याउँदै आएको मृत्युको परिभाषा यहाँ बदलिएको छ । मृत्यु भनेको समाप्ति होइन, भौतिकताबाट उन्मुक्ति पाउनु हो । असीमित हुनु हो । व्याप्ति हो । आत्मा र देह अलग-अलग विषय हुन् । भौतिक देह नै सम्पूर्ण थियो भने अग्निज्वालामा दनदनाइरहेको चिता किन चीत्कार गर्दैन ? जीवित हुँदा कष्टमा हाहाकार गर्ने त्यो चिज खै ? अनि आत्मा मरेको नै हो भने त्यो कसरी मर्यो ? ऊ मर्नुको प्रमाण के छ ? आत्मा मर्छ नै भने मर्नुपर्दा उसले पीडाबोध किन गर्दैन ? पूर्व सङ्केत किन दिँदैन ? कृति पढ्दै जाँदा लेखकको अवधारणाप्रति सहमति भएको मलाई यस्तै विचार आयो । डा. व्यञ्जनाको आत्मानुभूतिलाई मैले स्विकारेँ । कृष्णले पनि यही त भनेका छन्, जुन कुरा लेखकले बोध गर्नुभएको छ । कृष्णले अर्जुनलाई सम्झाउने क्रममा भनेका छन्, यी बन्धुबान्धब, कुलगरु, द्रोणाचार्य, भीष्मपितामह सङ्ग्राममा मर्छन् भनेर तिमी आफ्नो कुलधर्म नछोड । क्षेत्रीयको धर्म लड्नु हो । तिमी विश्वस्त रहू, आत्मा न तिमीले मारेर मर्छ न ऊ आफैँ मर्छ । देह त एउटा वस्त्र हो, उसले फेरिरहन्छ जसरी तिमीले फेर्छौ ।
यतिखेर हजुरले माथि कतैबाट हेरिरहनुभएको छ भन्ने, आभास भयो मलाई तर यो मन फेरि भड्किन्छ । हजुरको निराकार आत्मा जीवितै छ भने पनि हामीले कसरी देख्न सक्छौँ र ? त्यही भौतिक देह हामी खोजिरहेका छौँ । मृत्युको भयानक चोट छोडेर जानेले होइन बाँच्नेले सहनुपर्ने रहेछ । मामा ! हजुरले त्यसलाई देख्नु भएन । त्यो मृत्यु भयङ्कर डरलाग्दो थियो । त्यसले हामीलाई दलनमलन पारेको छ । हेर्नु त आज हामी हजुरको अनुपस्थितिमा कसरी शोक मनाइरहेका छौँ ।
यो शोकसभा के हजुरले देख्न सक्नुभएको छ ? हेर्नु त हामी कति धेरै आएका छौँ, त्यो आत्माले शान्ति पाओस् यही निवेदन छ वैकुण्ठमा ।
हामीलाई लाग्थ्यो, हजुर आफ्नो दक्षता हासिल गरेर फर्किनुहुनेछ । अनि मामामाइजू, भाइबहिनी, भान्जाभान्जी सबै मिलेर एउटा उत्सव मनाउनेछौँ, हजुरको आगमनमा । त्यसो त हामी अहिले हजुरकै नाममा जमघट भएका छौँ तर यो भेटघाटका लागि होइन, उत्सवका लागि होइन । केवल स्मृतिमा मात्रै अब हजुरलाई भेट्न सक्छौँ, हामी ।
यतिखेर मामा ! टीकाटाला सकेर हामी गलेश्वर आश्रममा पितृप्रसाद ग्रहण गर्न लागेका छौँ । हजुर त तृप्त भइसक्नुभयो होला नि, होइन ? अघि नै पण्डितको अनुरोधमा सन्दीप भाइले हजुरलाई भोजन दिइसकेका छन् । हेर्नू त हामी पङ्क्तिबद्ध भई पिर्कामा बसेर कसरी खाइरहेका छौँ ? खीर मलाई बडो मन पर्छ । मैले त्यही मात्र खाएँ ।
जुत्ताचप्पल बाहिरै खोलेर जानुपर्ने रहेछ । अलिकति अप्ठ्यारोजस्तो पनि लाग्यो । चिसो भुईँ, गोडा नै झनझनाउने । भोजनपश्चात् जुठो थाल आफैँले माझ्ने यो नियम ठिकै थियो । एउटा अनौठो अनुभूति लिएर फेरि हामी काठमाडौँ फर्कियौँ । हजुरको नाममा त्यस आश्रमका सम्पूर्णलाई भोजन खुवाउने कुरा सुन्दा मलाई कस्तो आनन्द लागेको थियो।
बाटाभरि मैले त्यही प्रश्न गरेँ, असमयमै मेरो मामाको गन्तव्य सकिएको आदेश दिने यमराज ! तँ को होस् ? अनि के तँलाई पारख छैन समय कुसमयको ? तँ किन यति क्रूर छस् ? निर्विवेकी । अनि भन् मृत्यु मरेर जानेले भोग्ने दण्ड हो या उसका जीवित आफन्तले ? …
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।