पढाइले बाँध्नुसम्म बाँधेको थियो । आउँदै गरेको ब्याचलारको पहिलो वर्षको परीक्षा । त्यहाँमाथि पनि कलेजमा दिइएको असाइनमेन्ट कति कति । हतार-हतार खाना खाएर ८ बजे आफ्नो कोठामा छिरेको म । कोठामा छिर्नेबित्तिकै आँखामा मोबाइल पऱ्यो । एकछिन यसो मोबाइल हेरेँ । हरामी आँखा कताबाट घडीमा गएर रोकियो । ए. १० पो बजेछ आफैँले आफैँलाई भनेँ । गाह्रो त यति बेला भयो अब सुतूँ कि पढूँ । भोलिपल्ट बिहानैको कलेज निद्रा प्यारो छ । ब्याचलरको परीक्षा दिन लागेको विद्यार्थी, असाइन्मेन्ट नगरेको भनेर गाली खाँदा के हालत हुन्छ होला । सम्झेर आफैँ अक्कबक्क परेँ । हातमा रहेको मोबाइलप्रति रिस उठ्यो, फोड्न सकिनँ न त सम्बन्ध तोड्न नै । जे होस् पहिलोपल्ट मोबाइलसँग रिस उठ्यो ।
……
शनिबारको दिन, बल्ल उठेर किचनमा पुगेको मात्र थिएँ “ए.. हजुरको निद्रा खुल्यो” भनेर जिस्क्याउँदै ममीले आफू मन्दिर गएर आउने, त्यहाँ आलु बसालेको छ याद गर्नू भन्नुभयो । म ममीको आज्ञा मान्दै किचनमा गएँ । कुकर कराउँदै थियो सी….. गरेर । हातमा रहेको मोबाइलमा घण्टी बज्यो । खै के रहेछ भनेर हेर्न लागेको, के के हेरिएछ कुनि । टाउकामा एक झापड भेटेपछि थाहा भयो । आलु कालो अनि ममीको अनुहार रिसले रातो । अलमल्ल पारामा किचनबाट निस्किएँ । सायद खाना खाने बेलामा यति गारो कहिल्यै भएको थिएन, एकातिर ममीको आक्रोश, अर्कातर्फ आदर्श ज्ञानका कुरा “मैले भनेको नि नमान्ने, मोबाइल नै सबै थोक” अरू कति छन् कति यस्ता पोइन्टहरू । खै गल्ती कसको थियो, मेरो या मोबाइलको तर दोष मोबाइलले नै पायो ।
…….
काठमाडौँको बसाइ, किन्नुपर्ने पानी । (बुझिसक्नु भयो होला के भन्न लागेको भनेर तर पनि पढ्नुस् न ।) म छतबाट ओर्लिँदै गर्दा बाबा बहिर निस्कन लाग्नुभएको रहेछ । ममी कता बहिर जानुभएको थियो । “पानी आएको रहेछ, मैले मिसिन चलाइदिएको छु, विचार गर्नू” बाबा यति भनेर निस्कनुभयो । म लिभिङ रुममा छिरेँ । सोफामा बसेर टि.भी हेर्न थालेँ । बर्सौँपछि टि.भी हेरेको भएर होला अन्त ध्यान नै गएन । ट्याङ्कीमा मात्र हैन पानी त छतभरि भरिएछ । ममी कुन बेला आउनुभयो थाहा छैन, बरबराउँदै छतको पानी सोर्दै हुनुहुँदो रहेछ, बाबालाई गाली गर्दै । हाँसो लाग्यो बाबालाई गाली गरेको सुनेर । पिलिक्क ममीको आँखामा म परेँ (अब के भयो होला आफैँ सोच्नुस्) । र आज त प्रविधिदेखि नै रिस उठ्यो ।
………
यस्ता कैयौँ घटना अचेल घटेको घट्यै छन् । प्रविधिले भन्दा पनि मोबाइलले धेरै यस्तो घटना घटाएको छ । कस्तो समय आयो भन्दा न मोबाइल छोड्न सकिन्छ, न फोड्न सकिन्छ । झन् अघिल्ला वर्षको लकडाउनले त आदत नै लगायो ।
अचेल जस्तो कुरा पनि मोबाइलमा । के छैन कम्प्युटरमा भन्ने समय सकिसकेको छ । कम्प्युटरमा हुने के कुरा मोबाइलमा छैन भन्नू त ! बरु मै भन्दिन्छु कम्प्युटरमा ३२, ४८, ६४ आदि मेगापिक्सलका राम्रा क्यामरा हुन्नन् ।
मोबाइलमा हुने ती नगण्य मोबाइल एप्स । कुनैमा के कुनैमा के । एउटा हेऱ्यो, अर्को हेऱ्यो फेरि अर्को हेऱ्यो अनि एउटा हेऱ्यो । समय त यत्तिकै सकिन्छ । विनाफल दायकको ध्यान रहन्छ त्यही मोबाइलमा । न त्यो ध्यानले मेमोरी पावर बढ्छ, न त कुनै ज्ञान नै ।
बुढाबुढीदेखि भुराभुरीसम्म सायद फेसबुक र टिकटक धेरै नै चलाइने एप्स हुन् । फेसबुक समाचार आदानप्रदान र टिकटक छोटा र मिठा भिडियो हेर्न । अचेलको फेसबुक आजभन्दा १० बर्ष अघाडिको गुगलभन्दा कम छैन । फेसबुकमा के छैन ? जन्मदेखि मृत्युसम्मका हर कुरा, जीवनका भोगाइदेखि लिएर जीवनको सफलतासम्म ।
फेसबुक एउटा संसार हो जहाँ के छैन सायद फरक यति होला संसार प्राकृतिक हो भने फेसबुक मानवनिर्मित हो । अझ कहिलेकाहीँ त के लाग्छ भने “आधुनिकीकरण भनेको कतै फेसबुक नै त हैन ?” यो प्रश्न हरेक मानवको चासोको विषय बनेको छ ।
टिकटक पछिल्लो समय आत्यन्तै रुचाइएको एप्स हो । जहाँ छोटा र मिठा भिडियो हालिन्छ, हेरिन्छ । पछिल्लो समयमा भने टिकटकमा ज्यादै नै छोटा लुगा लगाएर अङ्गप्रदर्शन गर्ने र अरूको ज्यान हेरेर मुख मिठ्याउने काम बढिरहेको छ । कैयौँ युवापुस्ताले त टिकटकले आफ्नो मानसिकता नै बदलिदिएको समेत भन्न पछि परेका छैनन् ।
शीर्षक एउटा तर लेखटो अन्तै हिँड्यो जस्तो लाग्यो होला हैन ? छैन छैन अन्त हिँडेको ।
विचार गर्नुस् त मोबाइलविना फेसबुक कसरी चल्छ, टिकटक कसरी चल्छ होला ? कसैले भन्लान् कम्प्युटर, लेपटप, ट्यबमा चलिहाल्छ नि तर यी अन्य उपकरणको नाम लिनेले पनि फेसबुक, टिकटक चलाउन मोबाइलको प्रयोग गर्दैनन् त?
मोबाइलमा फेसबुक र टिकटक मात्र किन ? अरू एप्सले चाहिँ राम्रो काम गरेको छ र ? भन्नुहोला तर फेसबुक र टिकटक मात्रै किनभने हाम्रो समाजमा मोबाइलमा अत्यन्तै प्रयोग हुने एप्स नै यिनै दुई हुन् ।
ह्वाट्सप, भाइबर, इमो, ओमेगा, इन्स्टाग्राम साथै मोबाइल गेमका अन्य एप्सहरू कुनै उमेरविशेष र कामविशेषले मात्र प्रयोग गरेको पाइन्छ । यदि साथीसँग रिस उठ्छ भने त्यहाँ साथीको बानी बेहोराको कारण रिस उठेको हुन्छ त्यस्तै मोबाइल साथी हो र यी नगण्य एप्सहरू त्यसका बानी बेहोरा हुन् ।
भनिन्छ नि : बानी बोहोरा नराम्रो भएको साथी काम छैन । त्यसैले त ति नगण्य एप्सको बानी बेहोरा भएको मोबाइल हामीलाई काम छैन ।
एक दृष्टिमा नराम्रो भयो भन्दैमा नराम्रो नै भन्न त अलि नमिल्ला नि लेखकज्यू !
अँ! हो त, एक दृष्टिमा मात्रै कसैलाई नराम्रो भन्न त मिल्दैन । जस्तै, गाँजालाई लागु औषध मानिन्छ । त्यसैले गाँजा नराम्रो वस्तु हो तर कुनै यस्ता पनि रोग छन् तिनको उपचार गाँजाको सहायताविना अकल्पनीय नै छ ।
गाँजा भन्नेबित्तिकै मोबाइलको पनि याद आयो । गाँजा र मोबाइल उस्तै त हुन् । आवश्यकताअनुरूप चलायो भने ठिक नभए बेठिक । दुवै वस्तु मनवीय लतका लागि घातक छन् । मेरो विचारमा गाँजा र मोबाइलको फरक के हो भने गाँजामा निकोटिननामक तत्त्व पाइन्छ तर मोबाइलमा पाइन्न ।
मोबाइलको धेरै प्रयोग गर्ने मान्छे बिग्रिन्छ भन्नु चाहिँ मलाई नि ठिक हो जस्तो लाग्दैन । कतिपय मान्छेले मोबाइलबाट नै मनग्य आम्दानी गरेका छन्, जीवन चलाएका छन्, आफूले आफूलाई चलायमान बनाएका छन् । मान्छेले अहिले फेसबुक लाइभ गरेका छन्, युट्युब लाइभ गरेका छन्, टिकटक लाइभमा बसेका छन् । उनीहरूले लाइभ बसैकै भरमा पैसा कमाइ पनि रहेका छन् ।
के उनीहरूलाई देख्दा लाग्छ त हामी मोबाइल चलाएर बिग्रेका छौँ भनेर ?
फिटिक्कै लाग्दैन र लाग्नु पनि हुँदैन । अरूको उन्नतिमा ईर्ष्या गर्ने हाम्रो बानी छैन । अहिलेलाई यही भन्दा उचित लाग्ला जस्तो लाग्यो ।
उमेरले बैँस नकटेका, जिम्मेवारीले नथिचिएका र थिचिएका, भविष्यप्रति जिम्मेवार नबनाएकाहरूका लागि मोबाइल कतिको उपयोगी छ ? यो प्रश्न हरेकले आफूले आफूलाई गर्न उचित छ जस्तो लाग्छ ।
कतै कतै लाग्दै छ “लेख हो कि भोगाइ हो कि मनोभाव हो कि के हो के हो” लेखिराखेको विषयको ढाड त भाँचिएको छैन ? आफू आफैँमा सोध्दै छु किनकि भर्खर आएको एनसिएलको नोटिफिकेसनले मेरो ध्यान अन्तै लगेको पो छ, आफू आफैँमा कन्फ्युज छु । कहिलेकाहीँ साथीको उसैको आगाडि राम्रा र नराम्रा कुराको प्रशंसा गरिन्छ नि, मेरो अहिलेको हालत नि त्यस्तै छ । म मेरै अगाडि मोबाइल राखेर यो सब लेख्दै छु । सोच्छु, “उसको (मोबाइलको) विरोध गर्दै छु कतै ध्यान भड्काउने समाचार अहिले स्क्रिनमा देखाएर कलम बन्द गर्न लाउने त हैन !”
अब आफ्नै व्यथातिर लागौँ न !
शुक्रबार भए नि कलेज बिदा थियो । शनिबार यसै नि बिदा थियो । आइतबार नि ल्होसारको बिदा थियो । लागातर तीन दिनको बिदामा मोबाइल नचलाउने सोच आयो । मोबाइल अफ गरेर दराजमा राखेँ । जेजस्तो आवस्था आओस् तीन दिन मोबाइल निकाल्ने छैन । चाबी लागाउँदै गर्दा चाबीको टाउकामा हात राखेर कसम खाए । मोबाइल राख्नेबित्तिकै म खाली भएँ । मानौँ हिजोअस्ति मेरो काम थियो आज केही छैन । काठमाडौँको बसाइ न हो । समाज ठुलो छ चिनजान कोहीसँग छैन । मेरो घरको वरिपरि घर छ भएर के गर्नु न खेल्न साथी छ न त ठाउँ नै । ह्या… म नि के पल्लो घर पुग्या होला । मेरै घरमा भाडा लिएर को-को बस्छन् त चिनेको छैन सबैलाई । ममीले गाली गर्दा भन्नुहुन्थ्यो, “तलको कोठामा बस्ने रवि राति दस बजेसम्म पढ्छ ।” त्यही रविलाई भेट्न जाऊँ जाऊँ लाग्यो तर के जानु राति त पढ्ने मान्छे दिउँसो झन् के गर्दै होला । भो अरूको पढाइ बिगार्नु हुन्न ।
जेजस्तो गरी तीन दिन कटाएँ ।
यति तीन दिन मोबाइल नचलाउँदा मैले धेरै कुरा थाहा पाएँ । जस्तै- बुबा अझै आठ बजेको समाचार हेर्नुहुन्छ, बुबालाई सुगर बढेर आलु खानु हुन्न, ममी बेलुकाको खाना पहिलाको जस्तो फाल्नु हुन्न (फ्रीजमा राख्नुहुन्छ), घरमा बिहान सात बजे दैनिक पत्रिका आउँदो रहेछ, छतको ट्यान्कीमा पानी भर्ने र खाने पानी आउँदा चलाउने मेसिन फरक रहेछ, ममीले दूधको चिया खान छोड्नुभएको रहेछ । यस्तै अरू कति छन् कति ।
बिदा भएको दिन बिहान आठ बजे उठ्ने, काम लगाउँदा अनेक बहाना बनाउने अनि मोबाइल र एक्लै रुममा बस्ने बानीले मलाई घरमै एक्ल्याएको रहेछ ।
आज तीन दिनपछि कलेज लाग्यो । कलेज पुग्दा क्लास सुरु भैसकेको थियो । क्लासमा पुगेर आफ्नो बेन्चमा बस्न नपाउँदै सरले भन्नुभयो, “तिमीले एसाइन्मेन्ट गरेको छौ भने बस नत्र उभिराख ।” म अकमक्क भएँ, सरतर्फ इन्गित हुँदै भनेँ “हाम्रो एसाइन्मेन्ट थियो र ?” सरले झर्किँदै भन्नुभयो, “मोबाइलमा फेसबुक चलाउन दिएको समय यसो भाइबरतिर दिए पो थाहा हुन्छ त, खालि फेसबुक खोल्यो, नानाभाँती हेऱ्यो बस्यो, भोलि सबै गरेर आउने, लु बस् ।” सरको कुरामा मुन्टो हल्लाउँदै हुन्छ भन्ने प्रतिक्रिया दिएर बसेँ । क्लासमा एउटा पढ्ने विद्यार्थीमा गनिन्थेँ, प्रायः सबैको एसाइन्मेन्ट गरेको हुन्थेँ । आइतबार नि बिदा भएकाले सरले पढेजति सबै युनिटको नोट बनाउने भनेर भाइबर गर्नुभएको रहेछ । आज आफैँलाई आफैँसँग रिस उठ्यो ।
“कत्ति न मोबाइल चलाउन छोड्ने भएको थिइस् !”
मोबाइल नि खुसी भएछ जस्तो लाग्यो सानो आवाजमा टिन्न गऱ्यो । क्लास सकिएपछि हतार-हतार हेरे एन्सिएलले डाटा प्याक अफरको मेसेज गरेको रहेछ ।
खै! अझै कति समय छ मोबाइलसँग समय बिताउन, कतै जीवन नै मोबाइल वरिपरि रहेर बित्ने त हैन । मनको एउटा कुनाले भन्छ “समयचक्रको परिवर्तन त निमेषसँग हिँडेको छ, मिनेट र घण्टा त कता हो कता ।” त्यसैले लाग्छ मोबाइललाई केही न केहीले चाँडै रिप्लेस गर्ला ।
अहिलेको अवस्थामा भन्नुपर्दा, कलम बन्द गर्दै गर्दा अन्तिममा भन्न मन लाग्यो, “मोबाइल सबै हैन तर मोबाइल सबै हो ।”
बुझ्नलाई यति काफी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।