कहिलेकाँही त कोही प्रवासीहरू भावावेशमा आएर “बिदेसिनु नै अपराधिक घोषित हुनु हो कि जस्तो पनि महसुस गर्दा रहेछन् । धेरै प्रसङ्ग जोडिन सक्छन् तर केही प्रतिनिधि कथाहरू मात्रले पनि सम्पूर्ण अवस्थाको आकलन गर्न गाह्रो पर्दैन ।

स्वदेशमा रहेका साहित्यिक सङ्घसंस्था प्रतिष्ठान लगायत व्यक्तित्वहरूको स्रोतका रूपमा ठानिनु मात्र होइन साहित्य सङ्गीतको क्षेत्रमा ठगिनु पनि हो ।

रहरले होस् वा बाध्यतामा परेर होस् आफ्नै क्षमतामा होस् कि ऋण काटेर दलालमार्फत आँसु झार्दै मातृभूमि छोड्नेहरूको यात्रा थामिनुको बदला अझै बढिरहेको छ । कोही जन्म दिने मातापिता छोडेर, कोही आफ्नो श्रीमान्‌श्रीमाति छोडेर, कोही नाबालक बच्चा छोडेर र उनीहरूको भविष्य बनाउन भनेर आफ्नो वर्तमानलाई तिलाञ्जलि दिएर आँसु पिउँदै प्रवास लागेका हुन्छन् ।

केही महिना वर्षपछि अर्थ आर्जन गरे पनि सुविधा र सहजता भोगे पनि विदेशमा भोग्नुपरेको दुःख परिवारभन्दा टाढा हुनुको पीडाले दिनानुदिन तनावलाई थप्दै लगेको हुन्छ । दिनभरि हाँसेको देखिए पनि रातमा एक्लै हुँदा रुने चिच्याउने गर्छन् । त्यही पीडा कथा व्यथाको अनुभूतिलाई गीत, गजल, कथा वा उपन्यास बनाएर अभिव्यक्त गर्न लालायित हुन्छन् । हाँसो र आँसुलाई साहित्यको कुनै विधा वा गीतमार्फत प्रफुष्टित गर्छन् र त्यस्ता सृजनालाई सार्वजनिक गर्न लालायित हुन्छन् अनि नेपालमा विविध माध्यमबाट सम्बन्धित साहित्यिक र सङ्गीतका पात्र सम्पर्कमा पुग्छन् ।

सुरुमा साह्रै मिठो साह्रै विश्वासिलो बन्न देखाउन सकेसम्मको धुर्त्याइँपूर्ण तरिकाले प्रस्तुत हुन्छन्, लाग्छ सित्तैमा काम गरिदिने महत्ता देखाउँदै छन् ।

शेखर ढुङ्गेल

देशमा खुलेका अनगिन्ती राजनीतिक दलहरूझैँ साहित्यिक व्यक्ति-व्यक्तिले प्रतिष्ठान, सङ्घसंस्था र फाउन्डेसन खोलेका छन् सम्मान पुरस्कार प्रकाशन गरिदिने प्रस्तावमा आप्रवासीहरू नै अग्रणी रुचिमा पर्छन् त्यसका साथै सङ्घसंस्थाको आजीवन सदस्य, सदस्य चन्दा आदि इत्यादिमा प्रवासी नै प्राथमिक स्रोतमा पर्ने गर्छन् अनि सम्बन्धित सिर्जनाहरूलाई आजसम्मकै अलौकिक र चर्चित बनाइदिने आश्वासन दिन्छन् साथै भरोसा दिलाउने गर्छन् ।
अनि सुरु हुन्छ विषयगत अनुमानित खर्चको विवरण । त्यो नै सबैभन्दा सस्तो र स्तरीय हो भन्ने विश्वास दिलाइन सके सबै नभए ८०% खर्च सुरुमै मागिन्छ, त्यसपछि सुरु हुन्छ पीडामाथि पीडा केही प्रतिनिधि घटना ।

===

२००९ तिरको कुरो हो एक जना चर्चित सङ्गीतकारले अमेरिकामा रहेका गीतकारसँग ८ गीत रहेको एउटा एल्बमका लागि बजेट तोक्छन्, गीतकार सहमत हुन्छन् र सङ्गीतकारबाट तत्काल आधा खर्च लिन्छन् र ३ महिनाको समय माग्छन् तर डेढ वर्षसम्म कुनै काम हुँदैन अमेरिकाबाट फोन गऱ्यो कहिले नउठाउने त कहिले “यस्तो काममा हतार गर्नु हुँदैन म तपाईँको गीतलाई चर्चित हुने गरी बनाउँदै छु” भन्ने तर दुई वर्षसम्म केही हुन्न । त्यसपछि गीतकारले मिडियामा जाने धम्की दिन्छन् तब केही हप्ताको फरकमा दुई गीत बनाई पठाइदिन्छन र बेपत्ता हुन्छन् ।

===

अर्को त्यस्तै कथा, त्यस्तै अति चर्चित सङ्गीतकार न्युयोर्क पुगेका हुन्छन् । त्यहाँ एउटा कार्यक्रमा एक सुमधुर महिला स्वर भेट्छन् । उनको नजिक पुगेर भन्छन् “वाह तपाईँको त यस्तो राम्रो आवाज यस्तो प्रतिभा लुकाएर राख्नु हुन्न म तपाईँलाई चर्चित बनाइदिन्छु । एउटा एल्बम निकाल्नुस् ।” चर्चित हुन, नाम कमाउन लालायित को हुन्न र ? मोलमोलाइ हुन्छ ८ गीत मा आवाज भर्ने एकमुस्ट रकम लिन्छन्, नेपाल आएर गीत खोजेर सङ्गीत पनि भर्छन् । आवाज रेकर्ड गर्न बोलाउँछन्, केही गीतको रेकर्ड गर्छन् तर बाँकी गीतको रेकर्ड गराए न त्यो रेकर्ड गरिएको गीत बजारमा नै लेराइदिए । सम्पर्कमा नआई नआई आज ९ वर्ष बित्यो ।

===

एक जना अमेरिकावासी महिलालाई उपन्यास प्रकाशित गर्ने इच्छा जाग्छ । कोहीमार्फत नेपालमा एक नाम चलेका साहित्यकार/लेखकसँग सम्पर्क हुन्छ । उनीहरूको सम्झौता हुन्छ । यति पेजको किताब १००० प्रति प्रकाशन लगायत विमोचन र सम्मान समेतको खर्चमा अनि ७५ % तत्काल र बाँकी २५% विमोचनको अगाडि दिने छ महिनाको समय तालिका डेढ वर्ष हुन्छ । किताब तयार भयो आउनुस् भन्छन् बाँकी २५ पनि लिन्छन् र जब उपन्यासकार महिला नेपाल पुग्छिन् ऊ सम्पर्कविहीन हुन्छ । थाहा छ २/३ हप्ताको छोटो समयका लागि नेपाल आएको कुरो तर सम्पर्क हुँदैन २ हप्तामा बल्ल सम्पर्क हुन्छ र भन्छन् “म त पूर्वतिर घुम्न गएको थिएँ हिजो बेलुका आइपुगेँ । प्रेसमा बुझेर खबर गर्छु ।” फेरि तीन दिन गायब । बल्ल सम्पर्क हुन्छ ५०० प्रति किताब दिन्छन् र सम्पर्कविहीन हुन्छन् । ४ दिनपछि फर्कनु छ न विमोचन न सम्मानकै न ५०० प्रति किताब दिने नै टुङ्गो । अन्तमा उपन्यासकार आफैँले बन्दोबस्त मिलाएर विमोचन हुन्छ । पैसा लिएर प्रतिबद्धता व्यक्त गरेको कथित चर्चित लेखक सम्पर्कविहीन । कस्तो दुस्ट्याइँ हाम्रो साहित्य क्षेत्रमा ! मूल्य धेरै लेऊ थोरै लेऊ तर सम्झौता गरेर पनि पूरा नगर्ने बेइमानी समेत हुनु त दुःख लाग्ने भन्ने कि ठगी भन्ने ?

===

यी मात्र प्रतिनिधि घटना हुन् यस्तो प्रवृत्तिले उग्र रूप लिएको छ । इजरायलदेखि बेलायतसम्मका स्रष्टाहरूको दुखेसो छ । कतिपय महिला स्रष्टाहरूको त आर्थिक मात्र होइन शारीरिक र मानसिक शोषण समेत भएको छ सामाजिक बन्धन र प्रवृत्तिले पीडितहरू घटनालाई बाहिर लेराउन हिम्मत गरिराखेका छैनन् । साहित्यको नाममा विदेश पठाइदिने नाममा हुने शोषण र ठगीको त झनै डरलाग्दो लामो फेहरिस्त छ ।

सृष्टिकर्ताले मानिसलाई दया, करुणा, सेवा र संवेदनशील प्राणी वा आफ्नो प्रतिनिधिका रूपमा बनाएका हुन् । तसर्थ जहाँ आवश्यकता देखिन्छ, जहिले सम्भावना हुन्छ विनातर्कवितर्क,  विना आफ्नो वा पराईको परिचय, विना फाइदा वा बेफाइदाको हिसाब, विना सुविधा वा असुविधाको बहाना दयाभाव देखाइहाल्नुपर्छ, सहयोगको हात बढाइहाल्नुपर्छ । जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैँलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशील आदर्श नागरिकको उदाहरण हो ।