ईश्वी सन् २००० साल सम्म पनि अमेरिकामा नेपालीहरुको जनसंख्या सीमित थियो । अधिकांश बिद्यार्थी र थोरै मात्र अरु ब्यबसायमा संलग्नता भएका नेपालीहरु थिए । बिशाल अमेरिकाको महासागर भित्र न्यून संख्यामा रहेका नेपालीहरु छरपष्ट रुपमा छरिएका थिए । अमेरिकाको ठुला शहरहरु न्यूयोर्क, क्यालिफोर्निया, टेक्सास, वाशिंगटन डिसी र बोस्टनतिर अलि अधिक मात्रामा नेपालीहरु थिए । म वाशिंगटन डिसी मेट्रो क्षेत्रको भर्जिनिया राज्यमा सन् दुई हजार साल देखि बस्दै आएको हुँ । त्यस समयसम्म पनि यस वाशिंगटन मेट्रो क्षेत्र भनिने वाशिंगटन, भर्जिनिया र मेरिलैंड राज्यको मूल शहरमा नेपालीको संख्या निकै नै पातलो थियो । यस क्षेत्रमा आयोजना हुने कुनै पनि सामाजिक या अरु कुनै कार्यक्रमहरुमा उपस्थित अधिकांश नेपालीहरु तिनै अनुहार हुन्थे ।

त्यस समयमा नेपालीहरु यस क्षेत्रमा स्थापित बिभिन्न नेपाली संघ संस्थाहरु अमेरिका नेपाल सोसाईटी, नेपाल मानब अधिकार संगठन, नेपाल पासा पुच अमेरिकाए, अन्तराष्ट्रीय नेपाली साहित्य समाज अनि पशुपति बौद्ध मन्दिरमा हुने बिभिन्न कार्यक्रमहरुमा नै भुल्ने गर्दथे । यही  सेरोफेरो भित्र पातलो नेपालीहरुको जमघट र भेला हुने गर्दथ्यो । त्यस समयमा अमेरिका नेपाल सोसाईटीको अध्यक्ष्यमा अनुप पहाडी, मानब अधिकार संगठनको अध्यक्षमा डा. बलराम प्याकुरेल, नेपाल पासा पुछ अमेरिकाएको अध्यक्षमा राम मालाकार र अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा म थिएँ र मेरो अध्यक्षताको अवधि केहि महिना मात्र बाँकी थियो ।

वसन्त श्रेष्ठ (अमेरिका)

अमेरिकामा पहिलो स्थापित नेपाली संस्था “अमेरिका नेपाल सोसाईटी” ( एएनएस ) नै हो । नेपालका लागि अमेरिकी राजदुत एलिस ओर्थ बंकर नेपालमा कार्यकाल सकेर फर्केपछि उनकै पहलमा सन् १९६७ सालमा स्थापित यस सोसाइटीको मानार्थ सभापति र अध्यक्षमा विलियम ग्रेशम थिए । अमेरिकी समाज संग नेपाली समुदायलाई कसरी अन्तरघुलन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले नै यो संस्थाको जन्म भएको थियो । आफ्नो भाषा, साहित्य, कला र संस्कृति आदान प्रदान गर्दै कसरी एक अर्कालाई साथ् र सहयोग गर्ने भन्ने उद्देश्यले नै स्थापना गरिएको थियो एक सामाजिक संस्थाको रुपमा । थोरै नेपाली जनसंख्या भएको त्यस समयमा धेरै बिदेशी मित्रहरुलाई नेपाल चिनाउने एउटा नेपाली सामाजिक संस्थाको रुपमा स्थापना गरिएको एउटा अग्रणी नेपाली संस्था थियो । करिब आठ बर्ष यस संस्थालाई नेपालका मित्र तथा शुभचिन्तक अमेरिकनहरुले नेतृत्व गरेपछि मात्र नेपालीले यस संस्थाको नेतृत्व सम्हाल्न पुगेका थिए । सन् १९७४ मा नेपाली मुलका प्रधुम्न राणा यस संस्थाको प्रथम नेपाली अध्यक्ष बन्न सफल भएका थिए ।

सन् २००१ तिर अमेरिका नेपाल सोसाईटीका तत्कालिन अध्यक्ष प्रबिण राणाले कार्य व्यस्तताको कारणले राजिनामा गरे पछि अध्यक्षको खोजी शुरु भएको अवस्था थियो । मेरो अन्तराष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष पदको सेवा अबधी पनि भर्खर समाप्त भएको समय थियो त्यो । त्यसको कारणले हुन् सक्छ अमेरिका नेपाल सोसाईटीका सम्बन्धित संस्थापन पक्षबाट नेतृत्वका लागि निकै कर र अनुरोध आए तापनि आफू यस डिसी क्षेत्रमा नयाँ भएको र आफ्नो बसाई ब्यबश्थित भै नसकेको कारणले सो गहन र महत्वपूर्ण जिम्मेवारी बहन गर्ने आँट गर्न सकिंन । मित्र राजेन्द्र वलीजी अमेरिका नेपाल सोसाईटीको अध्यक्ष बन्नु भयो । म चाहीं यस संस्था संग सन् २००२ साल देखि आबद्ध भएँ ।

अमेरिका नेपाल सोसाईटीसंग आबद्ध भएपछि नेपाली भाषा र साहित्यको उन्नयनको लागि कार्यकारी सम्पादक भएर सामाजिक सेवामा निरन्तरता दिन थालें । अमेरिका नेपाल सोसाईटीमा करिब चार बर्षको संलग्नतामा यस संस्थाको मुख पत्र “आवाज” को तेश्रो अङ्क सम्म र वाशिंगटन डिसी मेट्रो क्षेत्रका नेपाली समुदायको “टेलिफोन डाईरेक्टरी” सम्पूर्ण मित्रहरुको सहयोग र साथले प्रकाशन गर्न सक्षम भएँ ।

सन् २००८ सम्म पनि अमेरिका नेपाल समाजको कार्यकारिणी समितिमा एक वा दुई पदमा अमेरिकी मूलका सदश्यहरु मनोनित गरि संस्थाको उदेश्यको लागि आफ्नो तर्फबाट सहयोग गर्ने गरेका थिए । म आफु सम्बध्द भएको बर्ष सन् २००२ देखि २००४ सम्मको एएनएसको कार्यकारिणी समितिमा अमेरिकी मुलका हान्स स्वेयर प्रथम उपाध्यक्ष, डा. जुडी सुबेदी दोश्रा उपाध्यक्ष र श्रीमती क्याथी स्टाईनले कार्यकारिणी समितिको सदस्यमा रहेर सेवा गरेका थिए । सन् २००४ देखि २००६ सम्मको कार्यकारिणी समितिमा प्रथम उपाध्यक्ष दान एडवार्ड्स र हान्स स्वयर कार्यकारिणी सदस्यमा रहेर सेवा गरेका थिए ।

सन् २००४ सम्म अमेरिका नेपाल समाजको सम्पूर्ण कार्यकारिणी समिति प्रायः मनोनीतबाट नै हुने गर्दथ्यो । बिशुध्द सामाजिक संस्था र समाज सेवाको काममा धेरै जसोको समयको अभाब र प्रबासमा स्वयंसेवाको कार्य गर्नमा धेरैको त्यति रुचि देखिदैनथ्यो । बिभिन्न अन्य नेपाली संघ संस्थामा पनि सबै नै समझदारी गरेर मनोनोतको रुपमा कार्यकारिणी समिति गठन गर्ने गरिन्थ्यो । तर अमेरिका नेपाल सोसाईटीमा सर्ब प्रथम सन् २००४ देखि २००६ सम्मको कार्यकारिणी अध्यक्षको लागि निर्बाचन गरिएको थियो । सो निर्बाचनमा यस क्षेत्रका अधिकांस नेपालीहरु निर्बाचनमा आफ्नो मत जाहेर गर्न उपश्थित भएका थिए । बास्तबमा भन्ने हो भने त्यो निर्बाचन वाशिंगटन डिसी मेट्रो क्षेत्रका नेपाली समाजको लागि एक ऐतिहासिक दिन थियो । ।

कुनै पनि संस्थाको मुखपत्रले त्यस समयको संस्थाको ईतिहास लिपिबध्द गरेको हुन्छ । त्यसबाट जनमानसले त्यस संस्थाको विकास र प्रबर्धनको ईतिहास सबैलाई जानकारीमा हुन्छ । त्यसैले कुनै पनि संस्थाको मुखपत्र अति नै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्दछ । यसै कुरा लाई मनन गरेर अमेरिका नेपाल समाजको एउटा मुख पत्र प्रकाशन गर्ने निधो गरियो । सबै मित्रहरुको सहयोग र सल्लाहले यस संस्थाको मुखपत्र को नाम “ आवाज” राख्ने निधो गरियो । प्रबासमा रहेकाको सम्पूर्ण नेपालीहरुको एक मुष्ट आवाज यस संस्थाको मुख पत्रले प्रतिनिधित्व गर्न सफल होस् भन्ने अभिप्रायले नै यस समाजको मुख पत्रको नाम “ आवाज” राखिएको थियो । सन् २००६ साल सम्मको मेरो कार्यकाल मा “आवाज”को तेश्रो अंक सम्म प्रकाशन गर्न हामी सफल भयौं ।

प्रविधिको त्यति धेरै विकास नभएको र मोबाईल फोनको आविष्कार भै नसकेको त्यस अबस्थामा एक अर्का संग सम्पर्क नम्बर पाउन अति कठिन अवस्था थियो । त्यस समस्यालाई ख्याल गरेर तथा अमेरिका नेपाल समाजको लागि केहि आर्थिक सहयोग जुटाउनको लागि वाशिंगटन डिसी मेट्रो क्षेत्रका नेपालीहरु मात्रको  एउटा टेलिफोन डाइरेक्टरी प्रकाशनमा ल्याउने समाजले निर्णय गर्यो । तर सबैको फोन नम्बर उपलब्ध हुन निकै कठिन र जटिल कार्य हुन गयो । कसैले आफ्नो फोन नम्बर सामाजीकरण गर्न नचाहने, कसैले फोन नम्बर दिनै नमान्ने त कसैले त्यस बापतको फायदा खोज्ने कारणले करिब पचास प्रतिसत नेपालीहरुको मात्र त्यस डाईरेक्टरिमा फोन नम्बर प्रकाशन भएको थियो । फोन डाइरेक्टरी मार्फत कति सुबिधा, कति आबश्यकता हुन सक्छ र त्यस बापत संस्थाले कति आर्थिक सहयोग जुटाउन सक्छ भन्ने कुरालाई सो फोन डाइरेक्टरी प्रकाशन भैसकेपछि मात्र धेरैले जानकारी हासिल गर्न सक्षम भएका थिए । एएनएसको मुखपत्र “आवाज” र टेलिफोन डाईरेक्टरीको बिक्रि वितरण, बिज्ञापन र सहयोग रकमबाट मात्र त्यस बर्ष करिब करिब पांच हजार डलर समाजको खातामा जम्मा गर्न हामी सफल भएका थियौं ।

अग्रणी नेपाली संस्था भएको कारणले यस सस्थाप्रति आम नेपालीको चासो हुनु स्वाभाविक नै थियो । हरेक कार्यक्रममा ठुलो सङ्ख्यामा नेपाली र अमेरिकन मित्रहरुको जमघट भै नै रहन्थ्यो । यस संस्थाले नेपाली नयाँ बर्ष, अमेरिकन नयाँ बर्ष, नेपाली दशैं तिहार चाड र अरु बिभिन्न पर्बहरु भव्यताका साथ मनाउने गर्दथ्यो । नेपालबाट अमेरिका भ्रमणमा आउनु भएका नेपाली विशिष्ट पाहुनाहरुलाई अमेरिकन मित्रहरुसंग अन्तरक्रिया गराउने, नेपालको राजनैतिक, आर्थिक, र सामाजिक चासोका यावत कुराहरुवारे छलफल र अन्तरक्रियाको लागि यस संस्थाले जहिले पनि भब्य कार्यक्रमको आयोजना गर्दै गरेको ईतिहास सांक्षी छ ।

सन् २००६ को दशैं तिहार मेला फेयर फ्याक्सको हाई स्कुलमा सम्पन्न गरिएको थियो । त्यहाँ हजारौं नेपालीहरुले बडो उत्साहकासाथ आफ्नो ठुलो चाड मनाउन त्यस भेलामा उपस्थित भएका थिए । यस संस्थाले नेपालीहरुलाई मात्र होईन धेरै नेपाली शुभेच्छुक अमेरिकी मित्रहरुलाई पनि समेटेर बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । सो दशैं तिहार कार्यक्रममा पनि धेरै अमेरिकी मित्रहरुको उपस्थिति थियो । साथै नेपालबाट अमेरिकाको भ्रमणमा आईरहेका नेपाली विशिष्ट व्यक्तिहरु, बरिष्ठ पत्रकारहरुको पनि सहभागिता रहेको थियो । भिन्न मनोरञ्जनात्मक कार्यक्रम, ब्यबसायिक, शैक्षिक, सामाजिक र साँस्कृतिक स्टलहरुका साथै थुप्रै नेपाली परिकारका खानाका स्टलहरु पनि राखिएको सो कार्यक्रममा करिब दुई हजार जनाको उपस्थिति आङ्कलन गरिएको थियो । यस क्षेत्रमा त्यत्रो नेपालीहरुको जमघट भएको  त्यो नै पहिलो कार्यक्रम बन्न पुगेको थियो । स्थानिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र स्थानीयको ठुलो उपस्थिति  रहेको यसै मेलाको अवसरमा “एसोसियसन अफ नेप्लिज वमेन इन अमेरिका” (एनवा) संस्था स्थापनाको  घोषणा भएको थियो । त्यस घोषणाले संस्थापक अध्यक्षमा बिजया शाहलाई अध्यक्षमा मनोनित गरेको थियो । त्यस दशैं तिहारको बिशेष कार्यक्रमको उद्घोषण मैले गर्ने सुअवसर प्राप्त गरेको थिएँ ।

अमेरिका नेपाल सोसाईटीले मूल रुपमा अमेरिकीहरुलाई नेपाल र नेपाल संग सम्बन्धित सामाजिक, आर्थिक, र पर्यटकिय क्षेत्रको जानकारी गराई नेपाललाई चिनाउने र नेपालमा पर्यटन बिकासको सेवालाई सुदृढ बनाउने अभिप्रायले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दथ्यो । आज अमेरिकाको विभिन्न राज्यमा नेपालीहरुको थुप्रै संघ संस्था स्थापना भए पनि त्यो आफ्नो स्थापनाकालको उदेश्यपूर्तिको लागि आज पनि यस समाजले बिभिन्न कार्यक्रमहरु गर्दै गरेको छ ।

अमेरिका नेपाल सोसाईटीले स्थापनाको आफ्नो पचास बर्ष सन् २०१७ मा नै पुरा गरिसकेकोछ । कुनै वेला आफू संलग्न संस्थाको स्वर्ण जयन्तीमा पुग्नु मेरा लागि पनि कम हर्ष र गर्वको कुरा होइन ।