घर नजिकैबाट काठमाडौँ-त्रिशूली सडक गएको थियो । घरभन्दा ३/४ कान्लो तल यो सडक थियो । सदरमुकाम विदुरलाई काठमाडौँसँग जोड्थ्यो त्यो सडकले । जन्मिएदेखि नै यो सडकमा रङ्गीबिरङ्गी सवारीसाधनहरू देख्दै आएको थिएँ । अहिलेका भन्दा फरक मोडलका बस, ट्रक, जिप, मोटरसाइकल, ट्याक्सीहरू गुड्थे त्यतिखेर ।
२०४१/४२ सालतिर नयाँ खालको बस देखा पर्यो । आकासे निलो रङ्गको थियो त्यो । अरू बसभन्दा यसको आवाज नै फरक थियो । घरभन्दा एक किलोमिटर टाढा रहेको अवानीको मोडमा आइपुगेको आवाजैबाट थाहा चिनिन्थ्यो ।
पछि जानकारी भयो यो साझा बस रहेछ अर्थात् साझा यातायात । सबै बस जापनिज थिए । अधिकांश चाहिँ इसुजु कम्पनीका । अन्य बसभन्दा फरक चाहिँ केही मोडलका साझा बसको इन्जिन पछाडिपट्टि हुन्थे । त्यसले गर्दा बसको आवाज पछिल्तिरबाट आउँथ्यो ।
सफा चिटिक्क परेका सिट, समयमा छुट्ने र समयमै गन्तव्यमा पुग्ने विशेषता बोकेको थियो साझा बसले । त्यतिखेर हातमा घडी हुन्थेन मेरो । बिहान काठमाडौँबाट ६:३० मा छुट्ने साझा बस घरमुन्तिर आइपुग्दा साढे नौ बजेको हुन्थ्यो । कुनै दिन बिग्रिएर यो समय फरक पर्यो होला तर जति दिनसम्म साझा चल्यो त्यस दिनसम्म हरेक बिहान साढे ९ बजे मेरो घर पिपल्टार आइपुग्थ्यो साझा ।
त्यही बस त्रिशूलीबाट दिउँसो १ बजे छुट्थ्यो । पिपल्टार आइपुग्दा साढे १ बजेको हुन्थ्यो । बिहान ६:४५ मा त्रिशूलीबाट छुट्ने साझा बस ७:१५ मा पिपल्टार आइपुगेकै हुन्थ्यो । अनि काठमाडौँबाट दिउँसो १ बजे छुट्ने बस पिपल्टार आइपुग्दा ४:३० बजेको हुन्थ्यो । हाम्रा लागि साझा बसले घडीको काम दिन्थ्यो ।
साझा बसका बारेमा स्कुलमा पढ्दाताकै एउटा कहानी नै सुनेका थियौँ-साझा बसमा कन्डक्टर हुन त एसएलसी पास हुनुपर्छ रे । प्राइभेट सेक्टरका अरू बसका कन्डक्टर, खलासीहरू फोहोर लुगा लगाउने, सडक छेउमा हिँड्ने महिलाहरू देख्नै नहुने । महिलालाई सुसेल्ने, जिस्क्याउने, गाडी बिग्रिएर रात बस्नुपर्दा रक्सी तुन्क्याउने स्वभावका तर साझाका ड्राइभर, कन्डक्टरहरू भने चिटिक्क परेका कपडा लगाउने, नरम मिजासका हुन्थे ।
साझाको अर्को विशेषता थियो सिट सङ्ख्याभन्दा एक जना पनि यात्रु नराख्ने । अर्थात् उभ्याएर यात्रा नगराउने तर पछि-पछि यो नियम तोडिन थाल्यो । बिच-बिचमा चढ्ने र ओर्लिने यात्रुले गर्दा यो नियम तोडियो । २०४५ सालमा १० कक्षा पढ्दा ट्युसन पढ्न गाउँभन्दा ४ किलोमिटर टाढाको बट्टार बजार जानुपर्ने भयो । त्यस बेला गाउँबाट जाने हामी चार जना थियौँ । जाँदा साझा बस चढ्थ्यौँ, फर्किँदा हिँडेरै आउँथ्यौ ।
हामीसँग भाडा तिर्नका लागि सधैँभरि पैसा हुन्थेन । कहिलेकाहीँ भएको बेलामा दिन्थ्यौँ । विद्यार्थी भनेर कन्डक्टरले चिनिसकेका थिए । एकपटक नयाँ कन्डक्टर आए । उनले भाडा माग्न थाले । हामी चार जनामध्ये एकले अर्कालाई देखाउँदै ‘उसले दिन्छ भाडा’ भनेर सङ्केत गर्यौँ । अन्तिम साथीसँग भाडा माग्न कन्डक्टर पुग्ने बेलामा हामी बट्टार बजार पुगिसकेका थियौँ । सबै ओर्लिसकेपछि कन्डक्टर जिल्लिएका थिए । भोलिपल्टदेखि फेरि ती कन्डक्टर कहिल्यै देखिएनन् ।
२०४४ सालतिर पहिलोपटक तराईका जिल्लाहरू टेकेँ । पृथ्वीराजमार्ग हुँदै चितवन, मकवानपुर, बारा, पर्सासम्म पुग्दा समेत सडकभरि साझाका निला बस देखिन्थे । दिवासेवा मात्र नभएर पूर्वदेखि पश्चिमसम्म रात्रिबस समेत थिए साझाका । साझा बस चढ्नु गर्व महसुस गरेजस्तो हुन्थ्यो ।
२०४९/५० देखि साझा बसको पतन सुरु भयो । सहकारीको रूपमा चलेको संस्थामा महाप्रबन्धक सरकारले नियुक्त गर्ने परम्परा सुरु गरियो । साझामा चालकदेखि कन्डक्टरसम्म मन्त्रीका आदेश, सांसदका तोकका भरमा नियुक्त गर्न थालियो । एउटा चर्चा थियो – त्यतिखेर निर्माण तथा यातायात मन्त्री भएका खुमबहादुर खड्काले दाङ्गका आफ्ना सयौँ कार्यकर्ताहरूलाई कन्डक्टरमा नियुक्त गरे । त्यसरी नियुक्त कन्डक्टरले टाँका हान्न थाले । साझा यातायातको अधोगति सुरु भयो । १० वर्ष नपुग्दै २०५२ सालतिरबाट काठमाडौँबाट नुवाकोटका लागि साझाले बस सेवा बन्द गर्यो ।
नुवाकोट मात्र नभएर त्यतिखेर देशभरिका धेरै स्थानमा साझाले आफ्नो सेवा कटौती गर्यो । कारण थियो एकातिर भएका बसहरू मर्मतसम्भार हुन नसक्नु, अर्को नयाँ बस खरिद गरिएन । जापानले अनुदानमा दिएका बसहरूभन्दा बाहेक साझाले थप्न सकेन । कमिसनमा खरिद गरिएका भारतीय बसले जापनिज बसको जस्तो सेवा दिन सकेन ।
घाटा भयो । एकातिर सरकारले अनुदान नदिने, अर्कातिर लुछ्न पाएसम्म जिएमदेखि लिएर चालक, कन्डक्टरले लुछ्ने । त्यसले आर्थिक अवस्था जर्जर भएपछि साझा बौरिन नसक्ने अवस्थामा पुग्यो । साझा यातायातले कायम गरेको विरासत युगको अन्त्य २०५८/५९ सालबाट पूर्ण रूपमा भयो । मैले थुप्रैपटक समाचार रिपोर्टिङ पनि गरेँ । साझाका कर्मचारीले आन्दोलन गरेको पनि देखेँ ।
केही वर्ष यता बौरिन खोजेर नयाँ बसहरू साझाले चलाएको सुन्दछु, पढ्दै आएको छु तर त्यो साझाको कमाएको विगतको विरासत, त्यो ओजिलो प्रतिष्ठा सायद अब कुनै पनि हालतमा आर्जन हुन सक्दैन । किनकि एकपटक समय बितिसकेपछि त्यो समय आउन सक्दैन ।
मलाई अमेरिकामा हरेक दिन साझाको याद दिलाउने एउटा माध्यम छ । हरेक दिन दुईपटक साझालाई याद दिलाउने माध्यम बनेको छ-टेक्सरेलले भन्यो ।
म कामबाट निस्कँदा सामान्यतया रातको साढे १० बज्छ । टेक्ससको हाइवे १२१ हुँदै घर फर्किँदा सडकमा दर्जनौँ ओभरहेड ब्रिजहरू पार गर्नुपर्छ । तीमध्ये एउटा ओभरहेड ब्रिजबाट हरेक राति ठिक १०:४५ बजे लाइट ट्रेन पास हुन्छ । ड्यालस फोर्टवर्थ अन्ताराष्ट्रिय विमानस्थलबाट फोर्टवर्थ डाउनटाउन तर्फ जाने त्यो ट्रेन र म त्यहाँ आइपुग्ने समय प्रायः मिल्छ ।
रातिको समय भएकाले दुई डिब्बाको त्यो ट्रेन खाली नै देखिन्छ । न्युयोर्क, सानफ्रान्सिस्को, वासिङ्गटन डिसी जस्ता व्यस्त सिटीहरूमा ट्रेनहरू भिडाम्भिड देख्दै आएको छु मैले तर ड्यालस र फोर्टवर्थका यस्ता ट्रेनहरू भने प्रायः रित्तै हुन्छन् । रित्तै भए पनि यिनीहरूको विशेषता चाहिँ के भने यी आफ्नो समयभन्दा एक मिनेट पनि ढिला हुँदैनन् । भरी यात्रु हुन् या रित्तै होस् समयमै छुट्ने, समयमै अर्को स्टेसनमा पुग्ने र अन्तिम गन्तव्यमा समेत तोकिएकै समयमा पुग्छन् । यात्रु भएनन् भनेर यी रेल रोकिन पाउँदैनन् ।
२७ माइलको यो रेल यात्रु भए त स्टेसनमा रोकिने भइहाल्यो । नभए पनि तोकिएको स्टेसनमा रोकिन्छ । त्यतिमात्र होइन, चढ्ने यात्रु नभए पनि तोकिएको समयसम्म यो रोकिएर यात्रुलाई कुर्छ । एक जना चालक मात्र हुन्छन् । टिकट नकाटी कोही चढ्दैनन् । बेलाबखतमा छड्के जाँच हुन्छ । कसैले नकाटी चढेको फेला परेमा अत्यन्तै कडा सजाय हुन्छ । त्यो सजायको डरले सबैले टिकट लिएकै हुन्छन् ।
एक अर्ब डलर खर्च गरिएको छ यो रेलवेलाई । त्यो रकम टिकट बिक्रीबाट उठ्ने सम्भावनानै छैन तर पनि लोककल्याणकारी राज्यको दायित्व अन्तरगत जनतालाई सहज यातायात दिनका लागि यति ठुलो रकम खर्चिएको छ सरकारले । एक पेनी तलमाथि हुन दिइँदैन । ट्रेनभित्र नगदको कारोवार हुँदै हुँदैन । ट्रेन स्टेसनमा टिकट किन्ने सुविधा हुन्छ । त्यो पनि कर्मचारी हुँदैनन् । मोबाइलको एप्सबाटै टिकट किन्न पनि पाइन्छ । सबै अनलाइनबाटै किन्न सकिन्छ ।
संसारले चिन्दछ र जान्दछ अमेरिका पुँजीवादी मुलुक हो तर सामाजिक क्षेत्र, राज्यको उपस्थिति हुनुपर्ने ठाउँमा समाजवादी भनेर चिनिने युरोपका देशहरूलाई समेत उछिनेको छ अमेरिकाले ।
घाटा भयो भनेर सबै सार्वजनिक क्षेत्रबाट हात छाड्दै गएको नेपाल सरकार आफूलाई समाजवादी र बीपीको अनुयायी दावी गर्छ तर पुँजीवादी भनिएको अमेरिका आवश्यक ठाउँमा राज्यको उपस्थिति गराउँछ, बेरोजगारलाई भत्ता बाँड्छ, हवाई कम्पनीहरूलाई टाट पल्टनबाट जोगाउन अर्बौँ डलर दिन्छ । देश विकास हुने, सुध्रिने कुनै वाद या व्यवस्थाले हो कि संस्कार र सिस्टमले हो एक दशकयता मैले यो प्रश्नको जवाफ अमेरिका बसेरै खोजिरहेको छु । उत्तर पनि पाइसकेँ । सबैभन्दा मुख्य कुरा जनताप्रतिको कर्तव्य र उत्तदायित्व रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।