जहाँ जाऊँ, जे खाऊँ, जसो गरूँ अन्ततः अनुभूतिको एक अनन्त यात्रा रहेछ जीवन । भोगाइका अनगिन्ती शृङ्खला सँगाल्दै जीवन व्यतीत भइरहेछ । समय घर्किरहेछ । तन र मनले महसुस गरेका सुखद, दुःखद पाटालाई जीवनको सक्कली स्वाद ठान्दा पनि त हुने रहेछ । मध्यपूर्वी एसियाको शक्तिशाली देश इजरायलको तेलअभिवमा कर्म गर्दै छु यति बेला म । वैदेशिक रोजगारीको सिलसिला एक दशक बितेछ । कामको अलावा आफूलाई थोरै सिर्जना कर्ममा लगाउँनु आफ्नो ऐच्छिक खुसी ठान्दछु । यहाँ आएको यतिका समय बित्दा पनि यहाँका बारेमा कतिपटक लेख्न खोजेर पनि समय मिलेन या अल्छी गरेँ । विश्वको शक्तिशाली यहुदी राज्य इजरायल चारैतिरबाट अरबी भूमिले घेरेको छ । यहाँ सधैँ लडाइँ हुन्छ, तर पनि आफ्नो देशको खातिर यहाँका युवायुवतीहरू जुनसुकै बेला पनि युद्धमा होमिन तयार नै रहन्छन् । यहाँ स्कुल सकिएपछि अनिवार्य आर्मी तालिम लिनुपर्ने हुन्छ र यो राष्ट्र सानो छ तर शक्तिशाली छ । यहाँको आकाशमा फाइटर जेटहरू उडिरहेका हुन्छन् । विशेष गरी सहरमा भन्दा यहाँको गाउँको आकाशमा फाइटर प्लेनहरू उडेको बढी देख्ने पाइन्छ । यो पनि मेरो ८ वर्ष गाउँमा काम गरेपछिको अनुभव हो । तालिम भइ नै रहेको हुन्छ, फाइटर प्लेनहरूको ।
घर-घरमाथिबाट प्लेन उड्दा त डर पनि लाग्छ । झन् युद्ध चर्केका बेलामा त बङ्कर खोज्दै कुद्नुपर्ने हुन्छ । भर्खरै ३ महिनाअगाडि मात्र यौटा कहालीलाग्दो युद्ध पनि सकिएको छ । सन् २०१४ पछिको यो युद्धमा धेरै जनाले ज्यान गुमाए टिभीमा दिनभर समाचार नै युद्धको बन्यो । एक भारतीय युवतीले युद्धमा परेर आफ्नो ज्यान पनि गुमाइन् । आफ्नो इम्प्लोएरलाई जोगाउन खोज्दा उनको आफ्नै ज्यान गयो । विधिको विधान भन्नु या उनको यो पराई भूमिमा देह त्याग गर्न लेखेको लेखान्त भन्नु । मजस्ता धेरै कामदारहरूले आफ्नो होसहवास गुमाइसकेका थियौँ, अब के हुने हो भनेर । म काम गर्ने ठाउँनजिकै इखिलोभ हस्पिटलछेउ दिनरात एकनासको साइरनको आवाज आइरहन्छ । एम्बुलेन्स हो कि बम आउँदै छ होसियार हुनु भनेर बजेको साइरन हो छुट्याउन गाह्रो हुन्थ्यो । एकातिर कोरोना त्रास अर्कातिर रातदिन इजरायलको आकाशमा पड्किने बम र बारुदको धुँवा अनि आकाशमा डिस्पोज हुन नसकेको बारुदहरू खसेर भएको आगलागी । सखाप बनाएको इजरायली भवनहरू र मानिसहरूको आँखा र मनमा देखिएको मृत्युको त्रास यो लगातार झेलियो दुई हप्ता । मेरो बुबा नेपाल आर्मीबाट शान्ति सेनाका रूपमा यहाँ आउँदा म ९ क्लासमा पढ्थेँ । (आज बिसौँ वर्ष बितिसक्दा पनि यो युद्ध उस्तै छ) । मेरो बुबा ६ महिनाको यहाँको कार्यकाल सकेर फर्किएपछि यहाँका बारेमा सुनाउनुभएको थियो डरलाग्दा घटनाहरू ।
म त्यसलाई महाभारतको कथाजस्तै रमाइलो मानेर सुन्थेँ, अहिले पनि मेरो बुबासँग कुरा हुँदा सोधिरहनुहुन्छ, “कस्तो छ त्यहाँ आफ्नो ख्याल राख्नू, त्यो त सधैँ युद्ध हुने ठाउँ हो ।” घुम्नुपर्ने ठाउँहरू थुप्रै छन्, सुरक्षित भएर घुम्नू । बुबाले पनि आफ्नो साथी युद्धमा गुमाएर फर्किनुभएको थियो रे त्यति बेला । त्यसैले होला मेरो बाबाको आँखामा पनि मृत्युको त्रास बसिरहेको । लेख्न खोजेको कुराबाट भड्किएर फ्ल्यासब्याकमा पो पुगेछु म त ।
यति बेला भने स्थिति शान्त छ इजरायलमा । कोरोना कहरले पनि बिस्तारै छोड्दै छ । इजरायल विश्वमै पहिलो राष्ट्र पनि बन्यो कोरोना जित्नेमा । मास्क फ्री कन्ट्रीको रूपमा पनि विश्वमा पहिलो नै भयो र अहिलेसम्म ३ डोज भ्याक्सिन लगाएर आफ्नो देशका जनताको स्वस्थमा चिन्तित भयो राष्ट्र । अहिले सबै जनताले सुरक्षाको महसुस गरेका छन् । यद्दपि, थप जोखिम नहोस् भनेर मास्क अझै लगाएर हिँड्छन् यहाँका मानिसहरू । सरकारले मास्क फ्री कन्ट्री घोषणा नगरेसम्म यहाँका मानिसहरू नियम उल्लङ्घन गर्दैनन् । हाम्रो देशमा भने अहिलेसम्म यौटा भ्याक्सिन नपाएर भौतारिरहेका छन् जनता । कठै, हाम्रो देशको सरकार, राजनीति र असक्षम नेताहरू कहिले होलान् जन-उत्तरदायी ! सम्झिन्छु, मन कटक्क खान्छ ।
अब म एउटा सानो अनि सुन्दर यात्रानुभवका बारेमा केही लेख्छु । समग्र इजरायल अनुभवका बारेमा त लेख्नुपर्ने धेरै छन्, पछि लेखुँला ।
२०२१ अक्टोबर १७ तारिख आइतबारका दिन ११ बजे बिहान निस्क्यौँ हामी घरबाट । पौने दुई घण्टाको यात्रा थियो तेलअभिवबाट हाइफा जान । हाइफाको पाँच तारे होटेल, HOTEL DAN PANAROMA हाम्रा लागि प्री-बुकिङ्ग थियो । चार दिनको लागि निस्किएका थियौँ हामी ।
ट्याक्सी पनि समयमै आइपुगेको थियो । मैले मेरो र मेरो इम्प्लोयरहरूको लगेजहरू पहिला नै तल झारिसकेकी थिएँ । हामी छैटौँ तल्लामा बस्थ्यौँ ।
एस्टेर बिस्तारै ओर्लिए पनि स्लोमोलाई ह्विलचेयर चाहिन्थ्यो । धेरै समय ऊ हिड्न सक्दैनथ्यो । ट्याक्सीमा लगेजहरू राखेर हामी पनि बाटो लाग्यौँ । घरबाट निकै पर पुगेपछि इम्प्लोएरको भान्जी इरिसको फोन आयो, उसले भनी, “सिन्धु स्लोमोको माक्सिर स्मिया (कान सुन्नका लागि लगाउने मेसिन) लिएर आउनू है! मैले त्यहीँ नै बिर्सिएछु जो अत्यावश्यक थियो ।” फेरि फर्किएर गएर ल्यायौँ र लाग्यौँ आफ्नो गन्तव्यतिर । ट्याक्सी ड्राइभरले यिनीहरूलाई राम्रोसँग चिन्दो रहेछ । किनकि वर्षको ४,५ पटक सम्म उनीहरू त्यही होटलमा यही ड्राइभरलाई लिएर जाने रहेछन् । यो ड्राइभर यिनीहरूको फेमिली ड्राइभरजस्तै रहेछ ।
हामी बाटामा गफ गर्दै गयौँ मेरो नाम सोध्यो मैले शिष्टतापूर्वक आफ्नो नाम भनिदिएँ । अनि उसले सुरु गऱ्यो स्लोमोका बारेमा भन्न । धेरै कुराहरू बतायो, पनि यिनीहरूको सन्तान छैन, सम्पत्ति जत्ति नि छ । यो धेरै बुद्धिजीवी व्यक्ति हो, तिमीलाई थाहा छ, यो प्रोफेसर हो । मैले भनेँ- “थाहा छ, मैले यहाँ काम गर्न थालेको पाँच महिना भइसक्यो ।
उसले फेरि थप्यो- यो स्ताम (यत्तिकै) प्रोफेसर मात्र हैन नि, यसले त ११ ओटा सब्जेक्टमा M:D गरेको छ । मैले भने- थाहा छ, फेरि थप्यो international conference on autoimmunity, cancer and aids को researcher conference 1991 मा इजरायलबाट भाग लिने पहिलो व्यक्ति हो । cancer को औषधि पत्ता लगाउने व्यक्ति हो यो, हाम्रो इजरायलको शान हो । अर्को रोचक कुरा छ, यसलाई त क्यान्सरको औषधिको रिसर्च गर्ने बेलामा मानिसहरू र उसलाई पढाउने टिचरहरूले समेत पागलको संज्ञा दिन्थे रे ! यस्तै-यस्तै कुराहरू सुनाउँदै र हाम्रो नेपालका बारेमा पनि धेरै कुराहरू सोध्दै, चासो राख्दै गयो । मैले पनि हाम्रो सगरमाथा र बुद्ध जन्मिएको पवित्र भूमि हो नेपाल, तिमीहरूसँग विश्वको सबैभन्दा होचो मृत सागर छ, हामीसँग विश्वको अग्लो सगरमाथा छ । प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर देश हो नेपाल, भनेर आफ्नो देशको अनगिन्ती प्राकृतिक सौन्दर्यको विषयमा बताउँदै गएँ । तिवेरिया हुँदै जाने रहेछ त्यहाँ ठुलो ताल छ । तिमी गएकी छ्यौ भनेर सोध्यो । मैले अँ पुगेकी छु भनेँ । हुन पनि तिवेरिया ताल साँच्चै रमाइलो छ घुम्न । एकपटक पुग्नैपर्नै ठाउँ हो त्यो पनि ।
गफ गर्दै जाँदा बाटामा पर्ने यहाँका गगनचुम्बी भवनहरू बाटोघाटो सबै नियाल्दै गएँ । हाम्रो देशले यसै गरी कहिले काँचुली फेर्ला भन्ने लागिरह्यो परदेशमा हुनेहरूलाई घरदेशको याद र देशको विकासको चिन्ताले असाध्यै मन पोल्दो रहेछ । यस्तै सोचाइमा डुब्दै जाँदा हामी त होटलअगाडि पुगिसकेछौँ । भोक बेस्सरी लागेको थियो ड्राइभरले लगेजहरू होटलको रिसेप्सनमा लगेर राखिदियो र आफ्नो पैसा लिएर बाटो लाग्नै भन्यो, “सिन्धु, तिमीहरू बिहीबार फर्किने हो ? मलाई फोन गर है! भन्दै आफ्नो फोन नम्बर दिएर गयो ।
त्यहाँ होटलको रिसेप्सनमा अधबैँसे केटाकेटीहरू थिए । कस्तो राम्रो पोलाईटनेस यहाँका मानिसको, हामी जानेबितिक्कै लगेजहरू लिन आए । रिसेप्सनमा सबै कामहरू सकेर हाम्रो रुमको चाबी लिएर गयौँ १६ नम्बर फ्याल्टमा । २ ओटा रुम बुक थियो यौटा मेरा लागि अनि स्लोमो र एस्टरका लागि यौटा । म भोकले हत्तु भएको थिएँ त्यहाँ होटलमा के खाने र कहाँनेर भान्सा छ भन्ने थाहा थिएन । फेरि बाजेबजूले केही खाएनन् अनि म पनि के गर्नु त्यही रुममा राखेको कफी र कुकिजले दिउँसोको भोक टारेर सुतेँ । रुमको झ्यालबाट बाहिर साह्रै राम्रो दृष्य देखिन्थ्यो । हाइफाको बहाइ गार्डेन र समुद्रको । एकछिन बाहिरको त्यो दृष्यलाई आँखाभरि नियालेर रेस्ट गरेँ । उता स्लोमो र एस्टेर पनि आफ्नो रुममा रेस्ट गरिरहेका थिए ।
मैले बिहान सोधेको थिएँ रिसेप्सनमा बेलुकाको खाना कति बजेसम्म हुन्छ भनेर । ७-९ बजेसम्म हुन्छ भन्ने जानकारीअनुसार हामी खाना खान गयौँ ७:३० मा र खाना खाएर फेरि रुममा नै फर्क्यौँ । बाजेबजू आफ्नो रुममा फर्के म पनि आफ्नो रुममा छिरेर बाहिरको सौन्दर्य नियालेँ । झ्यालको पर्दा खोलेर बाहिर समुद्री तटको सौन्दर्य र त्यहाँको झिलिमिलीले साँच्चै मन एकटकले तान्यो सुन्दर हाइफा बेहुली सिँगारिएजस्तै देखिन्थ्यो । झन् यो ठाउँ त पर्यटकीय क्षेत्र पनि हो । दसैँको समय थियो, एकतिर आफ्नो देश, घर सम्झेर मन अमिलो भइरहेको थियो भने बाहिरको सौन्दर्यले फुरुङ पनि थिएँ । खासमा दुई भागमा बाँडिएको थियो मेरो मन । घडी हेरेँ, ११ बजिसकेछ सुतेँ ।
सोमबार बिहान ब्रेकफास्ट खाएर आएपछि मैले मेरो साथी ओरितलाई फोन गरेँ । उसले आज आउन भ्याउदिन सिन्धु, भोलि आउँछु अनि घुम्न जानुपर्छ भनी । मैले हुन्छ भनेर स्वीकारोक्ति दिएँ । इरिसले फोन गरेर उनीहरू आउने खबर गरी, म पनि बोर भइराखेको थिएँ । दुई बजेतिर उनीहरू आइपुगे, हामी पनि माथिबाट झऱ्यौँ र रिसेप्सनको ठुलो हलमा गएर बस्यौँ । धेरै बेरको कुराकानीपछि उनीहरू फर्किए हामी पनि माथि गएर रेस्ट गऱ्यौँ ।
बेलुका ८ बजेतिर मात्र खाना खान झऱ्यौँ पाँच तारे होटल जे खान्छु भन्दा पनि हुने तर म नेपाली मैले चाहिँ भात नै खाएँ । बुढाबुढीले पनि खाना खाइसकेपछि आज गायक आउने दिन रहेछ हामी प्रोगाम हेर्न भुईँ तल्लामा लिफ्ट चढेर झऱ्यौँ । युवायुवतीहरू भऱ्याङबाट झर्दै थिएँ । हामी पनि ११ बजेसम्म गीत सुनेर हेरेर बस्यौँ, नाच्नेहरू स्टेजमा झुमेर नाचिरहेका थिए । कोही भने गायकसँगै स्टेजमै गएर गीत गाएर गायकलाई हौसला दिँदै थिए । हल भरिभराउ थियो, केही युगल जोडीहरू एकअर्कालाई अँगालो हाल्दै नाचिरहेका थिए बुढाबुढाहरू पनि नाच्न सक्नेहरू उठेर नाचिरहेका थिए । अनौठो थियो दृष्य, रमाइलो पनि ।
११:३० मा हामी रुम गयौँ कार्यक्रम सकिएपछि बुढाबुढी आफ्नो रुममा पसेर सुते । म पनि आफ्नो रुमतर्फ लागेँ । निद्रा लागेको थिएन एकछिन त सबै बिर्सिएर रमाएँ तर दसैँको माहोल थियो आफ्नो मन अमिलो त हुने नै रहेछ झ्यालको पर्दा खोलेर बाहिरको सौन्दर्य नियालेँ र आँखाभरि मीठो सपनाको कल्पना गर्दै सुतेँ ।
मङ्गलबार बिहान ७ बजे उठियो र ब्रेकफास्टका लागि झऱ्यौँ र खाईवरी सपिङ सेन्टर घुम्यौ त्यही होटलको सपिङ मल ठुलो रहेछ, १ घण्टा जति घुमिसकेपछि एस्टेर थाकेको थाहा पाएँ र सोधे रेस्ट गर्न जाने हो ? उसले हो भनी, हामी माथि उक्लियौँ उनीहरू सुते । मैले मेरो इजरायली साथी ओरितलाई फोन गरेर भेट्ने कुरा गर्दा उसले १ बजेको समय प्रस्ताव गरी । “होइन, २ बजे आऊ, यिनीहरू खाना खाएर सुतेपछि म फ्री हुन्छु के गर्नु कामको पनि ख्याल गर्नुपऱ्यो नि !” मेरो अनुरोध स्विकारी उसले । त्यहीअनुसार हामीले समय मिलायौँ । ओरित मलाई लिन हामी बसेको होटल परिसरमै आएर फोन गरी । मैले स्लोमो र एस्टेरलाई सोधेर निस्किएँ । ओरितले भनी, “बैँक जाऔँ न मैले पैसा निकाल्नु छ ।” “मलाई त चाहिँदैन पैसा” ,हाँस्दै उनलाई जिस्क्याएँ । अब ५ बजेसम्म म फ्री । हामी घुम्न निस्कियौँ सपिङ मल हुँदै बहाई गार्डन् र समुद्री तटको सौन्दर्य नियाल्दै ऊ मेरो गाइडजस्तै हुँदै सबै ठाउँका बारेमा भन्दै लगी । म पनि उसको कुरा ध्यान दिएर सुन्दै गएँ । बेला-बेलामा भन्ने गर्थिन्, “सिन्धु, आज म तिम्रो गाइड है !” हामी दिल खोलेर हाँस्थ्यौँ । ऊ चित्रकार हो, म उसलाई रेस्पेक्ट गर्छु । उसलाई थाहा छ म पनि लेख्छु भन्ने कुरा । तिमी छिटो किताब निकाल कवि, भन्दा म लाजले भुतुक्क भएर भन्थे- ओरित म सिक्दै छु । उसले पनि मलाई उत्तिकै माया र रेस्पेक्ट गर्छ, म बेला-बेलामा जिस्क्याउँछु म तिम्रा बारेमा लेख्छु मलाई तिम्रो फोटो र चित्रहरू पठाऊँ है भन्थेँ । ऊ मुसुक्क हाँसेर रिप्लाई दिन्थी भइहाल्छ नि !
यस्तो मिठो कुरा गर्दै जाँदा सानो कुलुलुलुलुलु बगेको झरनाको छेउमा पुग्यौँ । त्यो झरना साह्रै सुन्दर थियो बाटामाथिबाट बग्दै गरेर तल सानो सफा ताल बनेको थियो, त्यहाँको पानी कहाँ गएको थियो थाहा नै भएन । बाटाको एकापट्टि त्यो सुन्दर झरना जसमा तारबार लगाएर त्यो बारभरि ताल्चा लगाइएको थियो । मलाई अनौठो लाग्यो एकछिन हेरिरहेँ र सोधेँ- ओरित, यहाँको यो बारमा किन ताल्चा लगाएको ? त्यो तलाउमा मान्छे जान रोकेको पक्कै हैन होला ।
उसले भनी- “सिन्धु, यो बारको आफ्नै कथा छ यहाँ नव विवाहित जोडी आएर यस्तो ताल्चा लगाउँछन्, जसरी यो चाबी उनीहरूले नै आएर नखोली खुल्दैन, यो चाबी लागेको जस्तै बलियो र यो माथिबाट झरेको शान्त झरनाजस्तै एकनासले जिन्दगी बगोस् र अन्तमा यो तलाउजस्तै भएर हामीले विश्राम लिन सकूँ भन्ने किंवदन्ती छ । यही पौराणिक आस्थालाई विश्वास राखेर यो सबै गर्छन् भनी । मलाई अनौठो लाग्यो आखिर आफ्नो धार्मिक र पौराणिक आस्था त कसले छोड्दो रहेछ र ? आफ्नो धर्ममा कति विश्वास र पक्का यिनीहरू अहो ! हामी नेपाली ले नै पो बिस्तारै आफ्नो धर्मसंस्कृति, मान्यता र रीतिरिवाज छोड्दै छौँ कि जस्तो लाग्यो । हामी त्यहाँबाट समुद्रको तिरैतिरमाथि लाग्यौँ । उसले पोर्टसम्म पुऱ्याई र भनी यहाँ सिपमा विदेशबाट सामान आउँछ । यो ठाउँको धेरै फोटोहरू खिचेँ मैले सम्झनाका लागि । उसले भनी, “अर्कोपटक आउँदा दुई दिनको छुट्टीमा आउनू ल, यहाँ घुम्नुपर्ने ठाउँहरू धेरै छन् ।” उसको घर पनि हाइफा नै भएकाले मलाई कुनै समस्या थिएन, “हुन्छ” भनेँ । सामुद्रिक चराहरू समुद्रभरि छरिएजस्तै देखिन्थे । पर क्षितिजमा हेर्दा आकाश हो कि समुद्र छुट्याउनु मुस्किल पर्थ्यो । हामी गफ गर्दै बहाई गार्डेनबाट उकालो लागेर बाटो छिचोल्दै जापानिज आर्टको भवनतिर लाग्यौँ । ठुलो आर्ट सेन्टर रहेछ, त्यहाँ टिकट लिएर भित्र जानु पऱ्यौँ भनेको मेरो दुर्भाग्य होला आज त बन्द पो रहेछ ।
मेरो साथी ओरित दुःखी भई । मलाई त्यहाँ लैजान नपाएकोमा । केही भएन ओरित अर्कोपटक आउँछु नि । त्यहाँबाट बाटो क्रस गरेर सानो होटलमा छिऱ्यौँ । समुद्रको छेवैछेउ हिँडेकाले होला हामीलाई चिसो भइरहेको थियो । होटलमा पसेर कफी र मिठो केक अर्डर गऱ्यौँ, खाइसकेपछि ऊ पैसा तिर्न तम्सी । जहिल्यै भेट्दा पनि उसैले हो तिर्ने । आज मैले हतार-हतार तिरेँ र भने- “ओरित, फेरि अर्कोपटक तिम्रो पालो है !”
होटलबाट निस्केपछि मलाई अँगालामा कसेर एक चुम्बन गालामा दिँदै भनी- “सि यु सुन ! छिट्टो फेरि हाइफा आइज है, आजलाई छुट्टिऊँ” भन्दै आफ्नो बाटो लागी, म पनि हतार-हतार होटल आएँ । सबै ठिक रहेछ, ७ बजे खाना खान झऱ्यौँ । आज जादु देखाउने पालो रहेछ, खाना खाएर त्यता लाग्यौँ । स्लोमोले जान मन गरेको थिएन तर मलाई जादु बच्चैदेखि मन पर्ने भएर आज जबरजस्ती लगेर गएँ इम्प्लोयरहरूलाई र १० बजे गएर सुत्यौँ ।
बुधबार पनि उही क्रम ८ बजे ब्रेकफास्ट खाएर तलै बस्यौँ । एस्टेरको बैनीको घर त्यहीँ नजिक भएकाले भेट्न आइन् । एकछिन सपिङमल घुम्यौँ, कफी खायौँ एस्टेरको बहिनी फर्किइन् १२:३० मा ।
हामीले पनि एकैचोटि १ बजे खाना खाएर मात्र माथि गयौँ, उनीहरू सुते अनि म घुम्न निस्के हिजो छुटेको ठाउँहरू घुम्नु थियो मलाई ।
२ बजेबाट ५ बजेसम्म एक्लै घुमेँ, होटलअगाडि बाटो क्रस गर्नेबित्तिकै हेर्दा सामन्य बच्चाहरू खेल्ने पार्कजस्तो लाग्ने तर ठुलो भेटेनरी एजुकेसनल जू रहेछ । हिजो ओरितले भनेकी थिई । मलाई त्यहाँ zoo छ, नछुटाउनू है भनेर गएँ एक्लै टिकट लिएँ ५० सेकलको र एक्लै घुमे रमाइलो रहेछ । त्यहाँ साच्चै विद्यार्थीहरूका लागि कत्ति धेरै सुविधा ! त्यहाँ नभएको जनावर सायद केही थिएन होला । म एक्लै रमाएँ र स्वतन्त्र भएर घुम्न थालेँ । सुगादेखि पाटे बाघ,कछुवाहरू हेर्दै एक्लै जू घुमेँ । एक्लै घुम्दा साह्रै आनन्द पनि हुँदो रहेछ,त्यो ठुलो जूभित्र कर्मचारीहरू ठाउँ-ठाउँमा बसेका छन् । धेरै अगाडि जरायोहरू भएको ठाउँनेर पुगेपछि यौटा कर्मचारीले ले सलोम ( नमस्ते) भन्दै सोध्यो- “तँ स्टुडेन्ट हो ? कहाँबाट आएको तिमीलाई इजरायलीजस्तो त देखिनँ ।” “किन र अरू देशको मानिसलाई यहाँ इन्ट्री छैन र?” उल्टै प्रश्न गरेँ !
हैन-हैन, सोधेको मात्र । “अरू देशको विद्यार्थी, मानिसहरू ग्रुपमा आउने गरेको देखेको छु । त्यसैले सोधेको अन्यथा नलिनुस् है भन्यो ।” मैले हुन्छ भन्दै त्यहाँको चराचुरुङ्गी, जनावर बगैँचाको सौन्दर्य सबै नियाल्दै घुमेँ ।
बच्चाहरू भर्खरका केटाकेटीहरू कति स्वतन्त्र भएर हिँडेका यहाँ ।
बेलुकाको ६ बज्दा झमक्क भइहाल्छ । यो छोरीचेलीहरू एक्लै हिँड्न गाह्रो हुने हाम्रो देश सम्झेँ र यहाँको स्वतन्त्रताप्रति ईर्ष्या लागेर आयो । कहिले यति विकसित र सम्पन्न हुन्छहोला ? कहिले आमा, छोरीचेलीहरू ढुक्कले स्वतन्त्र भएर हिँड्न पाउने वातावरण बन्छ होला नेपालमा भनेर त्यो जूको सबै चिज आँखाभरि राखेर होटल फर्किएँ ।
म फर्किँदा त एस्टेर बिमारी पो भइछिन् । हे भगवन् ! के आपत् आइलाग्यो । खाना खान जानै मानिनन् जबरजस्ती लिएर गएँ, उनीहरूलाई नचिन्ने त्यहँको स्टाफहरू कोही थिएनन्; जसले पनि चिन्थ्यो । किचनमा छिर्नै लाग्दा त्यहाँको इन्चार्जले देख्यो र सोध्यो के भयो एस्टेरलाई ? मैले भने- उसलाई सन्चो छैन, तुरुन्तै डाक्टरलाई फोन गऱ्यौँ । डाक्टर आएर चेक गऱ्यो, ज्वरो छैन भन्दै राति केही भइहाल्यो भने खबर गर्नु रिसेप्सनमा डराउनु पर्दैन भनेर ऊ गयो ।
मैले गेस त गरेकै थिएँ खान अनकन्ट्रोलले खाँदै थिइन् एस्टेर केही भन्न पनि मिलेको थिएन ।
त्यहाँ पनि छोडिदेऊ, हामीले चिनेका छौँ उसलाई कन्टोल नगर भन्थे स्टाफहरू । आखिर मेरो डर सत्य साबित भइदियो, उनी सिरियस भइन्, मलाई डर लाग्यो भोलि घर जाने दिन छ पुग्ने हो कि हैन फेरि साह्रै सिकिस्त भइन् खाना पनि खाइनन् । ८ बजे नै रुममा फर्क्यौँ उनलाई बेस्सरी गाह्रो हुँदै थियो । मैले इरिसलाई फोन गरेर सबै कुरा सुनाएँ । उसले भनी- “नडरा अलि बढी नै भएमा डाक्टरलाई फोन गर्नू” भनी । त्यसपछि म ढुक्क भएँ किनकि फेमिलिलाई खबर गरेँ ।
१२ बजिसक्यो एस्टेर सुत्न सकेकी छैनन् । म पनि मेरो कोठाको ढोकाबाट चिहाउँदै हेर्थे र मनमनै प्रार्थना गर्दै आजको रात चाहिँ केही नहोस् ।
२ बजेपछि उनी पनि निदाइन्, म पनि सुतेँ ।
बिहीबार बिहानै ६ बजे उठेर सबै सामनहरू प्याक गरेँ लगेजमा र ७:३० मा ब्रेकफास्ट खान झऱ्यौँ । उनीहरूलाई त्यहीं राखेर म लगेजहरू लिनमाथि गएँ र आफ्नो सामानहरू चेक गरेर तल झारेँ । मलाई कति बेला त्यो होटलबाट निस्कने होला जस्तै भएको थियो । रिसेप्सनमा बिल तिर्नु थियो । प्याकेजभन्दा बाहिरको खानाको सबै तिरेँ र हामी त्यही हलमा बस्यौँ । ड्राइभर आयो १०:३० मा, अहिले पनि एस्टेरको बहिनीलाई सँगै लिएर । किन ल्याएको दोरितलाई हामी त घर जान्छौँ हैन ? मैले रिसाएर सोधेँ । आउँदै थिएँ फोन गरेर बोलाइन् के गर्नू त मैले ? उसले भन्यो !
ड्राइभर आइपुग्नेबित्तिकै सबै लगेजहरू होटलकै पोर्टरले लगेर ट्याक्सीमा राखिदियो र हामी निस्कियौँ । बाटामै दोरित (एस्टेरको बहिनी) को घर थियो, उसलाई त्यहीँ छोडेर हामी बाटो लाग्यौँ ।
गफ गर्दै जाँदा धेरै अगाडि हाइफाको सेजेरा भन्ने ठाउँमा आइपुग्यौँ हामी, जहाँ केही समयअगाडि मात्र म र मेरी साथी ‘Horse Riding’ गरेर फर्केका थियौँ । त्यहीँ माथि आकाशमा प्याराग्लाइडिङ गरेर उडिरहेका थिए हावामा मानिसहरू, जहाँ म पनि एकपटक स्काइडाइभ गर्दा उडिसकेकी थिएँ । त्यहीँ माथि आकाशमा देखाउँदै ड्राइभरले भन्यो- “यो माथिबाट हिजो मात्र दुई जना खसे र यौटा घाइते, अर्को यौटा मऱ्यो बाटामा खसेर ।”
हैन होला, यहाँ पनि यस्तो हुन्छ भनेर सोधेँ मैले । अहिले बिहान मात्र समाचार हेरेर आएको भन्यो उसले । म डराएँ र उसको भयानक मृत्युको बीभत्स कल्पना गरेँ । को हो त्यो, जसलाई मैले चिनेकै थिइनँ ।
समुद्रमा तैरिइरहेका पनडुब्बी जहाजहरू बाटाबाट प्रस्टै देखिन्थे । पर-परसम्म आँखाले भ्याउन्जेल । ड्राइभरले उसको देशको प्रगति अनि यहाँको सैन्य शक्ति र आफ्नो देश कति शक्तिशाली छ भन्ने कुराको सङ्केत गर्न खोज्यो । पानीमा त्यसरी तैरिरहने पानीजहाजभित्र सैनिकहरू हुने र त्यहाँभित्रबाट उनीहरूले हजारौँ माइल टाडा देख्न सकिने अनि शत्रुहरूलाई टाढैबाट परास्त गर्न सक्ने आफ्नो देशको सैनिक शक्ति र सामार्थ्यका बारेमा बतायो । म भने सिमानामा भारतीय सिबिआई पुलिसहरूले तुइन काटेर नेपालीले ज्यान गुमाउँदा पनि चुइँक्क बोल्न नसक्ने लाचार सरकारको निरीह अनुहार सम्झिरहेछु यति बेला । अनि विमानस्थलबाट कैयौँ टन अवैध सुन र सामानहरू बेखबर भित्रिन दिने नालायक कर्मचारी र प्रहरीहरूको हुलिया झलझली आँखैमा आयो ।
निरीह र लाचार त हामी जनता पनि छौँ । चाहेर पनि केही गर्न सक्दैनौँ । सत्ता र शक्तिका पूजकहरू अनि नेता र पहुँचवालाका उपासकहरू सच्चा देशभक्त नागरिकको कुरै बुझ्दैनन् । साथ दिनेले दिएकै छन् । स्वाभिमानी आँसु जति बगाए नि त्यसले परेली र सिरानीबाहेक अरू केही भिजाउन सकेन । नत्र, किन आउनुपर्थ्यो पराई भूमिमा पसिना पोख्न !
आफ्नो देश र सिमानाको रक्षार्थ खटिरहने सैनिकहरूलाई उसले गरेको श्रद्धा र सम्मान स्तुत्य लाग्यो । आफ्नो देश यत्तिको शक्तिशाली नभएको भए अहिलेसम्म नरहने यावत् कुराहरू सुनाउँदै आयो ऊ । म निःशब्द, मन्त्रमुग्ध भएर सुनिरहन्छु । समय बितेको पत्तै भएन घर आइपु्गिएछ । ड्राइभरले सबै सामानहरू ट्याक्सीबाट झारिदियो र पारिश्रमिक खल्तीमा राखेर हामीलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो बाटो लाग्यो ।
हामीलाई पनि घरले कुरिरहेको रहेछ । जसरी छोडेर जानेबेला मायालु भावमा आंशिक बिदाइ गरेको थियो ।
भ्रमणका थुप्रै उद्देश्यहरू हुन्छन् । भ्रमण रहर अनि कहरमा पनि गर्नुपर्ने हुन्छ । यात्राहरू आफैँमा एक अनुसरणीय पाठशाला हुन् । यात्राको दौरानमा भेटिएका, देखिएका र भोगिएका कुराहरूलाई लिपिबद्ध गर्न सके त्यसले आफूलाई त आनन्द दिने नै भयो अरूलाई पनि लाभान्वित पार्न सक्छ भन्ने मेरो ठहर छ । छोटो तर मिठो यात्रा विवरण अहिलेलाई यत्तिमै बिट मार्छु । यसका थुप्रै अवयवहरूको विस्तारित रूप आउने नै छन् कुनै बेला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।