
“भगवान् जहीँतहीँ उपस्थित हुन सक्दैनन् त्यसैले आमा बनाइदिए ।”
“सृष्टिको अर्को नाम हो – नारी ।”
“माया ममता हो नारी । शक्ति प्रेरणा हो नारी । आमा हो नारी । करुणा हो नारी ।
“भनिन्छ जीवनमा दुइटा कुरा कहिले पनि भुल्नु हुँदैन । पहिलो त्यो हो जसले आफ्नो जीवनमा सबै कुरा हारेर पनि उसलाई जिताउन हरदम कोसिस गऱ्यो – त्यो हो बुबा ।
अर्को त्यस्तो व्यक्ति हुन् जसले हर दुःखमा साथ र सहयोग दिँदै रह्यो ती हुन् – आमा !!!”
मैले पटक-पटक यी र यस्तै प्रेरक भनाइहरूलाई सुन्दै अनि पढ्दै आएको छु । आमाका बारेमा धेरैले धेरै लेखे । आफ्नो आमालाई मायाँ नगर्ने र नसम्झने को होला र यस दुनियाँमा । आज म आमाको सम्झनामा आमाका बारेमा केही सम्झनाका खाका कोर्ने जमर्को गर्दै छु । हेरौँ शब्दहरूले मैले मेरी आमाप्रति कत्तिको न्याय गर्न सक्दो रहेछु ।
सन् १९९८ को कुनै दिन मैले मेरो मुमालाई अमेरिकाको बोस्टन सहरमा देख्न पाउँदा म एक प्रकारले अचम्ममा पनि परेँ । मुमालाई अमेरिकामा यति छिटो भेट्न पाउँला भन्ने लागेको पनि थिएन । त्यति बेला अमेरिका आउनु भनेको त्यति सजिलो थिएन । नेपालभन्दा धेरै टाढा गोलार्धको विपरीत दिशामा भएको दुई देश । चाहेर पनि भिसा र खर्चको कारणले अमेरिका आउनु त्यति सजिलो नभएको देश तर अमेरिका आउन मुमालाई त्यति धेरै कठिनाइ भोग्नु परेन । न्युहाम्प्सायर विश्वविद्यालयबाट मैले स्नातकोत्तरको डिग्री प्राप्त गरेको थिएँ । त्यसैको दीक्षान्त समारोहमा भाग लिन मुमा अमेरिका आउनुभएको थियो । मुमाले बहिनी झरना, माहिला भेना शिवराम श्रेष्ठ र भाइ हेमन्तको छोरी एलिसा र छोरा सिजन पनि साथै लिएर आउनुभएको थियो । दीक्षान्त समारोहमा एकैचोटि यति धेरै परिवारका सदस्यलाई एकै साथ भेट्न पाउँदा मलाई अति नै खुसी लागेको थियो । वाह ! मुमा अमेरिकामा ! भन्न मन लाग्यो ।
मुमाको जन्म काठमाडौँको क्षेत्रपाटीमा भए तापनि पन्ध्र वर्षको कलिलो उमेरमै नेपालको दुर्गम पहाडी जिल्ला तेह्रथुम म्याङलुङ बजारको बासिन्दा हुन पुग्नुभयो । विक्रम संवत् २००८ सालमा बुबा नारायणमान श्रेष्ठसँग काठमाडौँमा वैवाहिक लगनगाँठो कसिएपछि मुमा तेह्रथुमकै बासिन्दा हुन पुग्नुभयो । दुर्गम पहाडी जिल्ला भन्नासाथ नै विकट, बाटोघाटो, बिजुलीबत्ती, खानेपानी आदिको सुविधा नभएको ठाउँ । भन्नु नै पर्दा स्वास्थ, शिक्षा, यातायात, खाद्यान्न लगायत कुराको कुनै पनि सुविधा नभएको जिल्ला । नेपालको राजधानी काठमाडौँको सुविधा सम्पन्न सहरबाट कसरी त्यस्तो दुर्गम गाउँमा विवाह गर्न राजी हुनुभएको होला भन्ने मेरो मनमा सधैँ एउटा प्रश्न उठिरहन्छ । के बाध्यता या कुनै रहर या कुनै कारण केही त अवश्य होला भन्ने म सोचिरहन्छु ।
हुन त त्यस समयमा काठमाडौँबाट विराटनगर पुग्न पनि भारतको जोगबनी नाकाबाट धेरै दिन लगाएर पुग्नुपर्ने अवस्था थियो । विराटनगरबाट धरान, धनकुटा वसन्तपुर हुँदै तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार पुग्न करिब-करिब पाँच दिन लाग्ने गर्दछ, पैदल । त्यस्तो ठाउँमा गएर आफ्नो बाँकी जिन्दगी बिताउन आफ्नो सुकुमार जिन्दगीलाई तिलाञ्जलि दिन आमाले कसरी स्वीकृति दिनुभएको होला । म अचम्म पर्ने गर्छु ।
मेरो मुमाको प्रेमविवाह होइन । मागी विवाह नै भएको हो । बुबा त्यस समयमा सरकारी जागिरे हुनुहुन्थ्यो काठमाडौँमा । अस्थायी जागिरे । मालपोत उपमन्त्री देवमान आङ्ग्देम्बेको सरकारी सचिव बनेर कार्यरत हुनुहुन्थ्यो । डेराको बसाइ । बुबाको स्थायी जागिर चैँ तेह्रथुम म्याङलुङ बजारस्थित श्री सिंहबाहिनी हाई स्कुलको हेड मास्टर । उहाँ त्यो स्कुलको संस्थापक नै हुनुहुन्थ्यो । काठमाडौँको क्षेत्रपाटीमा हुर्के बढेको, लाउँलाउँ खाउँखाउँ भन्ने कलिलो उमेरको मान्छे दुर्गम गाउँमा गएर आफ्नो पारिवारिक जीवन बिताउने कसरी अठोट गर्नुभो होला । म फेरि अचम्ममा पर्ने गर्छु ।
हुन सक्छ आमाले नेपाल जहाँ गए पनि काठमाडौँजस्तो नै हुन्छ होला भन्ने ठान्नुभएको होला । हुन सक्छ दुर्गम गाउँ भन्ने कुरा केही थाहा नै नहोला । हुन सक्छ बुबाले गाउँ कस्तो हुन्छ भन्ने कुरा राम्रैसँग बुझाउनु कोसिस गर्नुभो होला तर यो त होइन होला कि ? किनभने त्यति बेला बुझ्ने र बुझाउने गरी बिहे गर्नुअघि कुरा गर्ने चलन पो कहाँ थियो र ? केटा र केटी देखादेख गरे, मन पऱ्यो, कुरा सकियो भन्ने चलन नै त थियो । त्यति मात्र कहाँ हो र ! बुबाआमा, घरपरिवारले ठिक छ राम्रो छ भनेपछि बिहे गर्ने चलन भएको जमाना जो थियो । मुमाको पनि कुनै भेटघाट र कुराकानी नभई सिर्फ एकपटक देखा देख भएर बिहेको कुरो छिनिएको रे ।

वसन्त श्रेष्ठ (अमेरिका)
तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ बजारमा प्रतिष्ठित व्यापारी र समाजसेवी बुबा लोकमान श्रेष्ठ र आमा अक्षयकुमारी श्रेष्ठको ठुलो कान्छा छोरा मास्टर नारायणमान श्रेष्ठलाई नचिन्ने कोही थिएन । विक्रम संवत् २००४ सालमा नै शिक्षा नै सफल जीवनको उद्गमस्थल हो भनी “श्री सिंह बाहिनी मिडिल स्कुल” स्थापना गर्नुहुने बुबालाई धेरैजसोले मास्टरबाबु र आमालाई गुरुआमा सम्बोधनले चिनिन थाल्नुभएको थियो । भारतको दार्जीलिङ र कलकत्ताबाट अध्ययन सकेर आफ्नै जन्मस्थानमा स्कुल स्थापना गरेर शिक्षक पेशा अपनाउनुभएको थियो । विक्रम संवत् २००८ सालमा तत्कालीन मालपोत उपमन्त्री देवमान आङ्ग्देम्बेको सरकारी सहायकका रूपमा काठमाडौँमा कार्यरत हुनुभएको थियो । त्यही बेलामा बुबाको मित्रमार्फत कुरा भएर मुमासँग बिहे भएको रहेछ ।
काठमाडौँबाट विराटनगरसम्म वायुयानको सेवा थिएन त्यो समयमा तर कस्तो संयोग या मुमाको भाग्य । विराटनगरसम्म चल्ने प्रथम वायुयानमा बुबा र मुमाले यात्रा गर्ने अनुमति प्राप्त गर्नुभएछ । बुबाको भिनाजु गोविन्दराज जोशी विराटनगरको प्रख्यात व्यापारी हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको मित्र भएका कारणले उहाँकै सिफारिसमा यात्रा गर्न अनुमति प्राप्त गर्नुभएछ । केही दिन मुमा विराटनगरमा फुपू घिउकुमारी श्रेष्ठ र फुपाजु गोविन्दराज जोशीको घरमा बस्नुभयो । विराटनगरबाट पहिलो दिन धरानमा ठुलो बुबा इन्द् मान श्रेष्ठको घरमा वास बस्न पुग्नुभयो । अर्को दिन मुमा उलिनकाठ ( विशेषतः बिहेमा दुलहा र दुलहीलाई मान्छेले बोक्ने एउटा काठको किसिम) मा बस्नुभएर धनकुटा, बिच बजारमा बुबाको साहिँला मामा सूर्यभक्त श्रेष्ठको घरमा वास बस्न पुग्नुभयो । अर्को दिन दिनभर हिँडेर रातमा बिब्ल्याँटे ( आजको वसन्तपुर, तेह्रथुम) मा वास बस्न पुग्नुभएको थियो । काठमाडौँबाट हिँड्नुभएको पाँच दिनपछि मात्र मुमा आफ्नो घर म्याङलुङ बजार पुग्नुभएको थियो रे ।
हाम्रो बुबाहरूमा सात जना काका बाउ र एउटी फुपू ! फुपूको बिहे भएर विराटनगर बस्नुहुन्थ्यो । सगोलको बसाइ ठुलो परिवारमा मेरो आमा ठुलो कान्छी बुहारी बनेर अक्षयलोक परिवारभित्र भित्रिनुभयो । काठमाडौँको बासिन्दा जीवनमा प्रथमपटक बाहिरिएको अनेकौँ समस्याले घेरिनुभयो । प्रथमतः राम्रोसँग नेपाली भाषा नै जान्नु हुन्नथ्यो । नेवारी भाषा मात्र बोल्नुभएको मेरी आमालाई नेपाली भाषाको कुरा बुझ्न नै धेरै समय लाग्यो । रहनसहन रीतिरिवाज बुझ्न धेरै कठिनाइ भोग्नुपऱ्यो । त्यस बेला न त बिजुलीबत्ती थियो न त पानीको सुविधा नै थियो । लाल्टिन र कुपीको माध्यमबाट अँधेरालाई चिर्नुपर्थ्यो । पानीका लागि घरबाट गाग्री बोकेर आधा घण्टा हिँडेर ढुङ्गे कुवा पुग्नुपर्थ्यो । लालटिनको उजेलीमा बस्ने अनि खानेपानी लिन र नुहाउनसम्म आधा घण्टा हिँडेर जानुपर्ने अवस्थालाई मुमाले अभ्यस्त बनाउन थाल्नुपर्ने भो । यस्तो स्थितिमा मुमालाई कति गाह्रोसाह्रो पऱ्यो होला सजिलै अनुमान लगाउन सकिन्छ । कसरी ती सब झेल्न सक्नुभयो होला । परिवारमा बुबा नै लेखपढ गर्न जान्ने र सक्ने भएको कारणले घरको मात्र होइन बजारका विभिन्न सामाजिक समस्या र परिस्थितिलाई बुबाको नै सरसहयोगको आवश्यकता पर्दथ्यो । त्यसका लागि बुबा धेरैजसो घरबाहिर मात्र होइन जिल्लाबाहिर जानुहुन्थ्यो । महिनौँ दिन लाएर दोकानको सामान लिनका लागि कलकत्ता पुग्नुहुन्थ्यो । स्कुलको स्वीकृतिका लागि होस् या कुनै सामाजिक सङ्घसंस्थाको कार्यका लागि होस्, काठमाडौँ पटकपटक पुगिरहनुहुन्थ्यो । यता आमा भर्खर चिनेजानेको परिवारमा भाषा, संस्कृति र चालचलनको असीमित अप्ठेरो र परिस्थितिसँग जुध्न एक्लै रहनुहुन्थ्यो । बुबाको सहयोग घरपरिवारभित्र आमालाई न्यून नै थियो । आमा फगत एक्लै नै ती सारा समस्यासँग जुध्न लागिपरिरहनुभो ।
हामी पहिले बजारभित्रको तल्लो टोलको घरमा बस्ने गर्थ्यौँ । जुन घरमा मेरो जन्म भएको थियो । बजारको घर त्यति खुल्ला नभएको चिसो र घाम त्यति नभएको कारणले आमाको हात बाउँडिन थाल्यो । हात बाउँडिएर औँलाहरू चलाउन नसक्ने स्थितिमा पुग्थ्यो । हामी ससाना केटाकेटीले आमाको हातलाई बेस्सरी तानेर सोझ्याउनुपर्थ्यो । यी समस्या पटक-पटक बल्झिन थाल्थ्यो । औषधि गर्ने कोही नभएको त्यस समयमा बुबा पनि धेरैजसो बाहिर-बाहिर रहने हुँदा आमालाई निकै कठिनाइ भएको हामीलाई सानैमा महसुस भए तापनि हामीले गर्न सक्ने केही थिएन । यिनै कारणले गर्दा बुबाले बजारभन्दा अलिकति तल टुँडिखेलमा नयाँ घर बनाउनुभयो ।
मुमाको स्वास्थस्थितिलाई ख्यालमा राखेर करिब बाह्र वर्ष बस्नुभएको घरबाट नयाँ घरमा सर्नुभयो । म करिब आठ वर्षको थिएँ । मलाई अझ याद छ त्यो विक्रम संवत् २०२० सालको वैशाख महिनाको दिन थियो । नयाँ र ठुलो टुँडिखेलमुन्तिरको त्यस घरमा हामी अति नै रमाएका थियौँ । खुल्ला फराकिलो नयाँ भएर होला त्यस घरमा सरेपछि मुमाको हात बाउँडिन छाड्यो । त्यस बेला परिवारमा हामी पाँच जना छोराछोरी भइसकेका थियौँ । ठुलो दिदी एघार वर्षकी र माहिली दिदी नौ वर्षकी भएर चुल्हामा आमालाई सघाउने भइसक्नुभएको थियो तर पनि ठुलो घरबारी, करेसाबारीले गर्दा आमालाई भ्याई नभ्याई नै हुन्थ्यो । बुबाको स्कुल र सामाजिक कार्यले गर्दा घरको कुनै पनि कार्यमा आमालाई सहयोग पुऱ्याउने समय नै हुँदैन थियो ।
मुमाको बिहे भएको करिब बाह्र वर्षपछि मात्र आफ्नी माइती काठमाडौँ फर्कन सक्नुभएको भन्नुहुन्थ्यो । आफ्नो बुबाआमा र परिवार भेट्न पनि आमाले बाह्र वर्ष पर्खनुपऱ्यो । समय र परिस्थितिले हामी सबैलाई पाठ सिकाउँदै जाने रहेछ । त्यही नै कारण होला भन्ने म ठान्दछु । आमाले पनि कहीँकतै हरेस खाएर घर लथालिङ्ग छोडेको थाहा छैन । परिवार नियोजनको अवधारणा नै नभएको त्यति बेला परिवार बढ्दै गएर हामी दश जना सन्तान भए तापनि सबैलाई लालनपालन, शिक्षादीक्षा दिनु मात्र होइन, घरबारी र परिवारको सञ्चालनमा आमाले कुनै केही कमी हुन दिनु भएन ।
शिष्ट, शालीन र शान्त स्वभावको हुनुहुन्थ्यो मेरी आमा । मिठो र मसिनो बोलीमा हरदम क्रियाशील व्यक्तित्वका धनी हुनहुन्थ्यो । गीतसङ्गीतमा धेरै रुचि हुनुहुने उहाँको असाध्यै मन पर्ने नेपाली गीतमा “सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाऊ” भन्ने गायक योगेश वैद्यको गीत साह्रै मन पराउनुहुन्थ्यो । पटक-पटक सुन्ने गर्नुहुन्थ्यो । साधारण लेखपढ गर्न सक्नुहुन्थ्यो । हामीले जिस्काएर कति क्लास पढ्नुभएको छ भनेर सोध्दा “नप्पाइस” क्लास पढेको भनेर उल्टै हामीलाई जिल्ल्याउनुहुन्थ्यो । थाहा छैन त्यो भनेको कति हो । हामीलाई कहिले भन्नु भएन । मुमाको हातमा “ट्याटु” खोपिएको छ भन्दा आज सबै छक्क पर्छन् होला । आज अति लोकप्रिय बनेको ट्याटु मेरी मुमाको देब्रे हातमा थियो । बुढी औँला र माहिली औँलाको बिचमा अर्ध सूर्य र चन्द्रमाको थोप्लो आकारको चित्र खोपिएको थियो । त्यसरी नै बायाँ हातको नाडीको अलिक माथितिर आफ्नो नाम सुभद्रा खोपिएको थियो । निलो रङ्गमा अलिक अस्पष्ट चित्र र नाम थियो ।
आमाको अर्को आँट थियो । घरमा दोकान खोल्ने । आठ नौ जना ससाना छोराछोरी, ठुलो बारी मात्र होइन करेसा बारी, दुइटा गाईको स्याहारसम्भार गर्न भाई नभ्याई भएका बेलामा मुमाले घरमा दोकान खोल्नुभयो । आफ्नै लागि आयआर्जन गर्ने जमर्को र आँट देखाउनुभयो । धेरै वर्ष नै मुमाको जीवनचर्या त्यसरी नै चल्दै गयो । मुमा यति बेफुर्सदीमा हुनुभयो कि आफ्नै पहिलो छोरीको काठमाडौँमा विवाह सम्पन्न हुँदा पनि उपस्थित हुन सक्नु भएन । खै त्यो त्यस्तो कस्तो मजबुरी र बेफुर्सदी थियो आमाको म बुझ्दिनँ । आफ्नो माइती घर आएर आफ्नै छोरीको विवाहमा पनि सामेल हुन सक्नु भएन ।
बुबा परिवार बढ्दै गएपछि स्कुलबाट निवृत्त भइसक्नुभएपछि निर्माण कार्यको ठेक्कापट्टा गर्नतिर लाग्नुभयो । बुबाले आफ्नै व्यवसाय “एन एम कन्स्ट्रक्सन” को नामबाट निर्माण व्यवसाय सुरु गर्न थाल्नुभयो । आफ्नै व्यवसाय गर्दा झन् व्यस्त हुनुभयो बुबा । बुबा निर्माण कामको सिलसिलामा पाँचथर फिदिमको “पन्ध्र शय्या अस्पताल” निर्माण गर्न फिदिम बस्न थाल्नुभयो । मुमा फेरि पनि एक्लै त्यत्रो लालाबाला सम्हालेर बस्नुभयो । विक्रम संवत् २०३९ सालमा बुबाले फिदिममै आफ्नो देह त्याग गर्नुभयो । दुई दिनको बिरामीले बुबाको प्राण गयो । बुबा त्यस समयमा सिर्फ पचपन्न वर्षको मात्र हुनुहुन्थ्यो । कुनै डाक्टर र औषधिबेगर नै बुबाको देहावसान भएको त्यस कठिन परिस्थितिको सम्झना गर्दा पनि म भावुक हुन्छु । किनकि हामीलाई अझसम्म थाहा छैन कि कुनै दीर्घ रोगी नहुनुभएको बुबाको के कारणले देहावसान भयो भन्ने । त्यसमा आजसम्म पनि हामी सबै अनभिज्ञ नै छौँ ।
दश जना परिवारमा ठुलो दिदीको मात्र विवाह कार्य सकेर बुबाको देहवसान भयो । अबको सम्पूर्ण जिम्मा आमा र जेठा छोरा भएको नाताले हाम्रो काँधमा आइपरेको थियो । म काठमाडौँमा एमपिए स्नातकोत्तरको अन्तिम सत्रमा अध्ययनरत थिएँ । घरव्यवहार र आयआर्जनको मेलो मेसो न त आमालाई थाहा थियो न त हामी कसैलाई । त्यसैले आमा डाँको छोडेर पटक-पटक “हाम्रो जहाज डुब्यो” भन्दै रुनुहुन्थ्यो । म बुझ्दिनथेँ त्यो कुरा त्यस बेला ।
मुमाको अनुरोधमा नै मैले आफ्नो पढाइ त्यागेँ । त्यस बेला मेरो एमपिए र बिएलको अन्तिम सत्र थियो । ती सबैलाई छोडेर बुबाको अधुरो पाँचथर अस्पतालको निर्माण सम्पन्न गर्न फिदिमतिर लागेँ । मुमा अविचलित बनेर घरव्यवहार र परिवार सम्हाल्न लाग्नुभयो ।
सन् १९९४ को कुनै दिन म अमेरिका प्रस्थान गरेँ । सुनौलो भविष्यको कल्पना गरेर म आएको चार वर्षपछि नै आमा पनि अमेरिका आउनुभयो । आफ्नो परिवारको अधिकांश परिवार साथै भएर होला आमा अमेरिकामा नियास्रिनु भएन । नेपालीहरूको महान् पर्व र चाडहरूमा सक्दो आफ्नो संस्कृति जोगाइराख्न सकेको र उपलब्ध सामग्रीले उत्सव मनाउन थाल्नुभयो । बोस्टनमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीले आयोजना गरेको दसैँमा भेला हुनुभएका नेपाली जनहरूमा आफू पाको उमेरको कारणले सबैलाई टीका लगाइदिनुभएर आशीर्वाद दिनुहुन्थ्यो । यसरी मुमाले सार्वजिक दसैँको भेलामा टीका लगाइदिने दुई-चार वर्ष नै गर्नुभयो । यस्तै कार्यक्रम हामी भर्जिनिया सरेर आर्लिङटन सहरमा रहदा पनि “छिमेकी गाउँ” ले आयोजना गरेको दसैँ कार्यक्रममा पनि सबै स्थानीय नेपालीहरूमा दसैँको टीका लगाइदिएर आशीर्वाद दिनुहुन्थ्यो । घन्टौँ सबैलाई टीका लगाइदिँदा पनि थाकेँ, अब सक्दिनँ भनेर कहिल्यै पनि भन्नु भएन ।
सधैँ हँसिलो रसिलो भइरहने मुमामा ७६ वर्षको बुढ्यौली उमेरमा पनि त्यस्तो ठुलो रोग केही देखिएको थिएन । सन् २०११ को जुन महिनामा नेपालमा करिब आठ महिना बस्नुभएपछि भर्खर फर्कनुभएको थियो । त्यस सालको एएनए को अधिवेशन भर्जिनियाको टाइसन्स कर्नरमा होटेल हिल्टनमा भव्यताका साथ सम्पन्न हुँदा धेरै उत्साहका साथ भाग लिनुभयो । लगत्तै मेरो सानो छोरा ब्रायनको मेरिल्यान्डको कृष्ण मन्दिरमा भएको सामूहिक व्रतबन्ध कार्यक्रममा पनि उत्साहका साथ भाग लिनुभयो । थकालीले गर्ने हरेक कार्यमा मुमाले नै कार्यविधि सम्पन्न गरिदिनुभयो । नेवा अर्गनाइजेसनले आयोजना गरेको सो सामूहिक कार्यक्रममा करिब पन्ध्र जनाको सामूहिक व्रतबन्धको आयोजामा गरिएको थियो । यी सबै कार्यक्रम सम्पन्न भएपछि कुन्जनी दिदी, निक्की र रिवाका साथमा बोस्टन फर्कनुभयो ।
मुमा बोस्टनमा हुँदा कान्छी बहिनी एलनाकोमा, न्युयोर्कमा हुँदा भाइ शिशिरकोमा र डिसी क्षेत्रमा आउनुहुँदा मकहाँ बस्ने गर्नुहुन्थ्यो तर उमेरले उकालो चढ्न थालेपछि हाम्रो धेरै अनुरोधपछि मुमा मसँगै भर्जिनियामा बस्न राजी हुनुभएको थियो ।
नेपालबाट धेरै महिनापछि आउनुभएको कारणले बोस्टनमा रहेको आमाको चिकित्सकसँग नियमित चेकजाँच र परामर्शका लागि बोस्टन जान मैले नै धेरै अनुरोध गर्नुपरेको थियो । मुमाको त जाने इच्छा नै थिएन । नेपालमा धेरै समय रहनुभएको र एकपटक आफ्नो चिकित्सकसँग शरीर जाँच गराउनु र नियमित खाने औषधि पनि लिँदा राम्रो हुन्छ भनेर भनेपछि मात्र बोस्टन जान राजी हुनुभएको थियो ।
चिकित्सकको चेक जाँच सकेर भर्जिनिया फर्कने योजना गर्दै हुनुहुन्थ्यो तर अचानक एक बिहेन हृदयाघात हुन पुगेछ । अस्पतालमा आकस्मिक भर्ना हुनुभएपछि सोही दिनको बेलुका म, हेमन्त, दिदी सुजनी र बहिनी रजनी बोस्टन पुग्यौँ । चिकित्सकले मुमाको स्थिति गम्भीर भएको र भेन्टिलेटरमा राखिएको जानकारी गराए । रातको दुई बजे फेरि चिकित्सकले स्थिति धेरै नै खराब हुँदै गएको कारण धेरै लामो समयसम्म भेन्टिलेटरमा राख्ने अवस्था नभएको जानकारी गराए । मुमालाई सानोठुलो गरी सोह्र-सत्र पटक हृदयाघात भएको थियो तर आमाको मायाँ र कायालाई त्यसै जान नदिने र छोड्न नसक्ने भएको कारणले आमालाई भेन्टिलेटरबाट ननिकाल्न मैले जिद्दी गर्दै दबाब दिएँ तर पनि विधिको विधान, दैवको लीला अस्पताल भर्ना हुनुभएको अर्को दिन बिहान नै मुमाले यस भूलोकलाई त्याग गर्नुभएर निर्वाण प्राप्त गर्नुभयो ।
सन् २०११ साल सेप्टेम्बर महिनाको १४ का दिन मेट्रोवेस्ट मेडिकल सेन्टर, फ़र्मिङ्घम म्यासाचुसेट्स अस्पतालमा मुमा सुभद्रादेवी श्रेष्ठको ७६ वर्षको उमेरमा स्वर्गारोहण हुन पुग्यो । काठमाडौँमा जन्मनुभएर तेह्रथुमको म्याङलुङ बजारमा कर्मथलो बनाउनुहुने मेरी आमाको अमेरिकाको म्यासाचुसेट्स राज्यको फर्मिङ्गम सहरमा स्वर्गवास भयो ।
आज प्रवासमा आमा सम्झेर यी पङ्क्ति कोर्दै गर्दा म ग्लानि र लाछी महसुस गर्छु । तुलना गर्छु यस्तो विकसित देशमा बसेर पनि दुइटा भएका हाम्रा छोरालाई आवश्यक सहयोग मात्र होइन यथेष्ट सहयोग पुऱ्याउन नसकेको महसुस गर्छु । कतै कहीँ न कहीँ पर्याप्त मात्रामा आफ्नो कमीकमजोरी आफूभित्र रहेको पाउँछु ।
तर मेरी आमा नेपालको अति दुर्गम ठाउँमा बसेर आफ्ना दश छोराछोरीलाई लालनपालन मात्र होइन शिक्षादीक्षाको उचित व्यवस्थाको भरपुर व्यवस्था गर्न सक्षम हुनुभयो । हामी दश छोरा र छोरीले कहीँ कतै हामीलाई नपुग भएको र आफ्ना आमाबुबाबाट कुनै प्रकारको कमीकमजोरी भएको टड्काराका रूपमा केही पनि देख्दैनौँ ।
सोच्छु मन र मस्तिष्कले ठानेपछि निरन्तर, गतिशील बनेर सेवाभावलाई प्राण भरेर कर्मठताका साथ जुधिरहने हो भने कहीँ पनि र कतै पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ । मैले मेरो मुमाको जीवन सङ्घर्षबाट प्राप्त गरेको यो असली पाठ हो ।
मेरो मन र आत्माले सधैँ भन्छ, मेरी आमा धेरै नै आँटिली हुनुहुन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

