“पहिले पहिले ईश्वर सरलाई सदरमुकाम जाऊँ भनेर कर गर्नुपर्थ्यो । आजकल सदरमुकामबाट गाउँ जानुपर्छ भनेर कर गर्नुपर्छ । ”

ईश्वर सर, अर्थात् ईश्वरमान राई । केही समयअघि उहाँका बारेमा चलेको किस्सा हो यो । ईश्वर सर अर्थात् चुपचाप आफ्नो दायित्वमा दत्तचित्त भएर लागिरहने एक जना स्वाभिमानी र निष्ठावान् व्यक्तित्व, जसलाई कसैको आलोचना वा तारिफसँग कुनै सरोकार छैन । छ त केवल आफ्नो बुताले सकेसम्म आफूले पूरा गर्नुपर्ने जिम्मेवारीलाई कुनै पनि हालतमा पूरा गरेरै छाड्ने जुनुन् ।

उल्लिखित किस्सा उहाँ केपी ओलि नेतृत्व सरकारको समयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गठित भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भोजपुरमा आबद्ध हुनुभएको बेलाको हो । त्यति बेला उहाँ जिल्लाका विभिन्न स्थानहरूको स्थलगत कामहरूपछि बाँकी कागजी काम सम्पन्न गर्न सदरमुकाममै “मुकाम” बनाएर बस्नुभएको थियो । आफूलाई तोकिएको कामप्रति कत्ति जिम्मेवार हुनुहुन्छ भन्ने सानो दृष्टान्त मात्रै हो यो ।

करिब तीन दशक सगरमाथा उच्च माविको प्रधानाध्यापकका रूपमा कार्यरत रहनुहुँदा प्रायः जिल्ला शिक्षा अधिकारिहरूसँग प्रत्यक्ष भेट भएन । अर्थात् सदरमुकाम कहिल्यै पुग्नु भएन । सदरमुकामसँगको कुनै दुस्मनी थिएन त्यो । न त कुनै प्रशासक वा कोही मान्छेसँगको असहमती नै । उहाँ त सधैँ आफ्नै लयमा काम गरिरहने मान्छे एक निद्रा घरमा निदाएको बाहेक बिरलै विद्यालयको कम्पाउन्ड छोड्नुभयो । विद्यालय परिसरबाहिरका कामहरूमा आफ्ना प्रतिनिधिहरू पठाएर आफूले सधैँ विद्यालयको जिम्मेवारिलाई पूर्ण रूपमा निभाइरहनुभयो ।

दिलीप बान्तावा

कुनै समय दक्षिण भोजपुरका बासिखोरा, मानेभन्ज्याङ, युँ, थिन्दिङ्खा, पावला, पाङ्चा, देवान्टार, दुम्माना, हसनपुर, खैराङ, सिन्द्राङ, होम्ताङ, रानिबास लगायतका बासिन्दाहरूको एक मात्र माध्यमिक शिक्षालय रहेको सगरमाथा माविमा विद्यार्थीहरूको भिड थेगी नसक्नुहुन्थ्यो । विद्यार्थीहरूको त्यो चापलाई व्यवस्थित गर्न ईश्वर सरको अहोरात्र मेहनत र सुवैचारिक योजना महत्त्वपूर्ण रह्यो ।

एसएलसी परीक्षा दिएर लाहुरे हुने सपनासहित धरान घोपा क्याम्पको क्यान्टिनमा काम गर्न पुग्नुभएको उहाँलाई लाहुरे भएर परदेशको पहरेदार होइन आफ्नै जन्मभूमि सिँगार्न जुरेको रहेछ । २०२७ सालको एसएलसी नियमिततर्फबाट उत्तीर्ण गर्नुभएको खबर गोरखापत्रबाट थाहा पाउँदा पूरै घोपा क्याम्पमा तहल्का मच्चिएको सम्झनुहुन्छ उहाँ, “त्यतिखेर एसएलसी पास गर्नु निकै ठुलो कुरा हुन्थ्यो । “एसएलसी उत्तीर्णपछि घोपा क्याम्पका तत्कालीन मेजर रुकमान लिम्बुले उहाँलाई ब्रिटिस आर्मिको क्लर्कमा भर्ती गर्ने तयारी समेत गरेका थिए तर गाउँबाट ठिक त्यही बेला सन्तवीर राई ईश्वर सरलाई खोज्दै घोपा क्याम्प आइपुगे सङ्खामचुली हाइस्कुलमा पढाउने आग्रह गर्दै । (सन्तवीर राई, नेकपा माओवादीका तत्कालीन जनमुक्ति सेना कमान्डर जमिनका बुबा हुन् । जमिन, २०६२ साल माघ १४ गते घोडेटारस्थित संयुक्त सुरक्षा फौज/Unified Command को बेस क्याम्पमा आक्रमणको नेतृत्व गर्दै गर्दा सुरक्षा फौजको आक्रमणमा मारिएका थिए ।) त्यही बिन्दुबाट उहाँको शैक्षिक सारथिको अविराम यात्रा अघि बढेको थियो ।

मासिक रु.१५० तलबमा सङ्खामचुली हाइस्कुलमा नियुक्त गरिएको उहाँलाई सञ्चालक समितिले तलब दिन सकेन, बरु विद्यार्थीहरूले करिब ६५ रुपियाँजति जम्मा गरेर दिएका थिए । सो विद्यालयको शिक्षण पेसालाई थाँती राखेर आफ्नो अध्ययनलाई पूरा गर्न वीरगन्ज लाग्नुभयो । त्यहाँबाट आई. एड. को पढाइ पूरा गरेर फर्किएपछि उहाँले पुनः भोजपुरकै पञ्चकन्या मावि भुल्केमा पढाउन थाल्नुभयो । जहाँ उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पढाउनुभएको थियो । त्यसपछि भने पेसासँगै सामाजिक सेवालाई पनि अगाडि बढाउनुपर्छ भन्ने दृढता उहाँमा उत्पन्न भएको थियो । तत्कालीन राज्यको शिक्षानीति, तथा व्यवस्था एवं पुरातन सामाजिक चिन्तनले गर्दा त्यो समयका युवा युवतिहरूमा पढ्नुपर्छ, सिर्जनशील हुनुपर्छ भन्ने चेतनाको अभाव थियो ।

त्यसैले आमुल परिवर्तनका लागि सबैभन्दा पहिले आफू र आफ्नो समाजलाई रूपान्तरण गर्न सक्नुपर्छ भन्ने मान्यताका साथ भुल्केको जागिर छाडेर आफ्नै ठाउँ घोडेटारमा भर्खर २०३१ सालमा स्थापित सगरमाथा माविमा पढाउन आउनुभयो । कटुसको स्याउला र बाँसको भाटाले बनेको सगरमाथा माविलाई शिक्षणमैत्री बनाउन अनि शिक्षकको व्यवस्था गर्नुपर्ने चुनौतीलाई चिर्न आफ्नै तलब खर्च गर्दै, बिहानदेखि बेलुकासम्म सरकारी बिदासमेत नभनी विद्यालयमै अहोरात्र काम गरिरहनुभयो । उहाँले विद्यालय सञ्चालनका लिगी आफ्नो तलबको अलावा निजि सम्पत्ति समेत ऋणका रूपमा विद्यालयमा प्रयोग गर्नुभएको थियो पछि विद्यालयले फिर्ता गर्न सक्ने अवस्था नभएपछि तत्कालीन अवस्थाको पाँच लाख रुपियाँभन्दा बढी दानका रूपमा विद्यालयलाई दिनुभएको अभिलेख समेत भेटिन्छ ।

सबै हिसाबले पिछडिएको हतुवा क्षेत्र शैक्षिक, प्राशासनिक, सामाजिक रूपले खास परिचय र पहिचान केही बनेको थिएन । वि.सं. ३० को दशकसम्म शिक्षालयका रूपमा फाट्टफुट्ट प्राइमरी वा मिडिल स्कुलहरू थिए । त्योभन्दा माथिको पढाइका लागि एक दिन पूरै हिँडेर मात्रै पुग्न सकिने जिल्ला सदरमुकाम पुग्नुपर्थ्यो । केही जुझारु र गाउँका अगुवाहरूले यो थितिलाई तोड्न सगरमाथा माविको स्थापना गरेका थिए । गाउँभरिका छोरी चेलीहरूको नाक, कान बुच्चै बनाएर सुन चाँदी गहना तथा केही नगद सङ्कलन गरी स्याउलाले बारेर घोडेटारको डाँडामा विद्यालय सुरु गरिएको थियो । बाह्रै मास हुस्सुले छोपिरहने वनमारा घारी, दिउँसै स्यालहरू कराई हिँड्ने निर्जन त्यो ठाउँमा केही दशकमै आजको जस्तो रगजगको अवस्था बन्ने कल्पना सायदै गर्न सकिन्थ्यो तर ती समाज सुधारक अगुवाहरूले स्थापना गरेको विद्यालयलाई टिकाउने चुनौती पनि उत्तिकै थियो । सरकारले दिने न्यून अनुदानले धान्न मुस्किल भएपछि चन्दा उठाउने, स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने लगायतको विकल्प प्रयोग गर्नुपर्थ्यो । त्यही पृष्ठभूमिमा पञ्चकन्या मावि भुल्के छोडेर घोडेटार आउनुभएको ईश्वर सर २०३२ सालदेखि निरन्तर करिब ४१ वर्ष त्यही विद्यालयको कम्पाउन्डमा हराउनुभयो । हुस्सुभित्र छोपिने स्कुल, त्यसमाथि स्याउलाले बारेको । हुस्सुभित्र छोपिएर दिउँसै अँध्यारो हुने स्कुलमा सीमित स्रोतसाधनमा विद्यार्थीहरू पढ्नुपर्थ्यो भने शिक्षकहरूले बेहोर्नुपर्ने अनेकौँ व्यवधानहरू असरल्लै थिए । वि.सं. २०४२ सालमा ईश्वर सरले प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएपछि अविचल, अविरल विद्यालयलाई हरतरहले व्यवस्थित बनाउन, विद्यार्थीहरूलाई गुणस्तरीय सिकाइ प्रदान गर्न अहोरात्र लागिरहनुभयो ।

विद्यालय वरपर खाली रहेको जग्गालाई त्यति बेला प्राविधिक हिसाबले विद्यालयको नाममा दर्ता गरिएको थियो । विद्यालय स्थापनाअघि नजिकै खाद्य संस्थानको गोदाम थियो, एउटा स्वास्थ्य चौकी र केही थान अस्थायी घरहरू । समयक्रममा बिस्तारै मान्छेहरूको आवतजावत बढ्न थाल्यो । १५ दिनमा लाग्ने हटिया हरेक शनिबार लाग्न थालेसँगै मानिसहरूको ध्यान घोडेटारमा पर्न थाल्यो । विद्यालयलाई व्यवस्थित र मजबुत बनाउनु नि छँदै थियो । सरकारी अनुदानले शिक्षक पाल्नै हम्मे । विद्यार्थीहरूको चाप थेगी नसक्नु । यिनै चुनौतीहरूलाई चिर्न विद्यालयले आफूलाई आवश्यक पर्ने जग्गा राखेर बाँकी जग्गा इच्छुकहरूलाई बिक्री गर्‍यो र धमाधम घरहरू बन्न थाले । जग्गा बिक्रीबाट आएको पैसाले विद्यालयको भवनहरू बने, फर्निचरहरू बने, आवश्यक सामग्रीहरू खरिद गरिए । विज्ञान प्रयोगशालाका लागि आधारभूत सामग्रीहरू, व्यवस्थित पुस्तकालयजस्ता चिजहरूको बन्दोबस्त गरियो ।

५० सालकाे घोरेटार

विद्यालयको मुख्य भवननजिकै निकै अग्लो करिब ७०/७५ मिटरको डाँडा थियो । किंवदन्तीअनुसार हतुवागढीका राजा सुनाहाङ घोडा दौडाइसकेपछि सोही डाँडामा आराम गर्ने गर्दथे । सो डाँडामा उनले टेक्ने गरेको भनी विश्वास गरिएको ठुलो ढुङ्गा समेत अद्यापि छँदै छ । सो डाँडाले गर्दा विद्यालयको कक्षाकोठाहरू प्राय अँध्यारो हुने गर्दथे । साथै विद्यालयको प्रयोग गर्न मिल्ने क्षेत्रफल खुम्चिएको थियो । विद्यालयले सो डाँडालाई सम्म बनाउने निधो गर्‍यो । मानिसहरूले पत्याएनन् । ईश्वर सरको उक्त प्रस्ताव धेरैले असम्भव देखे । उहाँ आफैँले डाँडाको टुप्पोमा गोरु नारेर जोत्न थाल्नुभयो । धेरैले त “ईश्वरमान बौलायो” पनि भने । त्यति बेला आजजस्तो उपकरणको व्यापकता आइसकेको थिएन । त्यसैले ईश्वर सरले घरायसी सामग्री र मानवीय स्रोतकै परिचालन गरी सो काम पूरा गराउने योजना बनाउनुभएको थियो । गाउँलेहरू सबैले श्रमदान गरे । प्रत्येक कक्षाका विद्यार्थीहरूले हरेक दिन ४५ मिनेट श्रमदान गरे । लामो समयसम्म यो क्रम चलेपछि अन्ततः उक्त डाँडा सम्म बन्यो र आज त्यही ठाउँमा आकर्षक र सुविधा सम्पन्न विद्यालय भवनहरू, खेलकुद मैदानहरू तयार छन् । करिब १ हजार विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयको परिधि(कम्पाउन्ड) चारैतिर बार लगाइएको छ । मुलगेटबाट बाहेक कतैबाट कोही पनि आवतजावत गर्न सक्दैन । विद्यालय परिसरभित्र खाली जग्गाहरूमा विभिन्न प्रजातिका रुख र बाँसहरू रोपिएका छन् । खेलमैदान आसपास आकर्षक फूलबारीहरू बनाइएका छन् । छुट्टै भवनमा रहेको व्यवस्थित पुस्तकालय आफैँमा नमुनायोग्य छ । पुस्तकालयमा दैनिक पत्रिका, म्यागजिन सहित दर्शन, इतिहास, भूगोल, साहित्य, विज्ञान, इत्यादिका किताबहरू सँगै इन्साइक्लोपेडिया-ब्रिटानिकाको छुट्टै सेक्सन राखिएको छ ।

ईश्वर सरको योजनाअनुसार गरिएको उल्लिखित दुस्साहसिक कामले विद्यालयलाई व्यवस्थित हुन सहज त बन्यो नै त्यससँगै वनमारा घारीमा स्याल दौडी हिँड्ने घोडेटारलाई करिब तीन दशकको आसपासमा सुन्दर तथा व्यवस्थित बजारका रूपमा विकास गर्ने आधारशिला तयार भयो । वि.सं. २०३९ सालमा एक बर्से वैदेशिक अध्ययनका लागि बेलायत जाने छात्रवृत्ति पाएर पनि विद्यालयप्रतिको जिम्मेवारीबोधका कारण सो अवसर लत्याइदिनुभएको ईश्वर सरको लामो समयको प्रयासपछि बि. सं. २०५५ सालबाट सगरमाथा मा. वि. मा कक्षा ११ र १२ को पढाइ सुरु भयो । ब्रिटिस गोरखा सैनिक अन्तर्गत विश्वयुद्धमा आधा जिन्दगी बिताएर रित्तो हात घर फर्कनुभएको बाबाको कथा सुनाउनुहुने उहाँले समेत घरपरिवारका लागि र व्यक्तिगत व्यवहारको चिन्ता गरेको याद नभएको परिवारको सदस्यहरूको भनाइ छ भने आजसम्म कहिल्यै पनि उहाँमा सामाजिक, संस्थागत कामहरूमा थकान नदेखिएको उहाँसँग निकट भएर काम गर्नेहरूको अनुभव छ ।

हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुने विद्यालयमा भौतिक सम्पन्न विद्यालय भवन, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, जिल्लास्तरको फुटबल, भलिबल प्रतियोगिताहरू सञ्चालन हुने दुईओटा व्यवस्थित खेलमैदानहरू, सामूहिक तथा व्यक्तिगत अध्ययन गर्न मिल्ने क्याबिन तथा इन्साइक्लोपेडिया-ब्रिटानिका सहितको पुस्तकालय, पर्याप्त कम्प्युटर तथा सुविधा सम्पन्न इन्टरनेट सेवा सहित मजबुत कम्पाउन्डद्वारा सुरक्षित गरिएको यो विद्यालयलाई समग्र पहाडी इलाकाहरूमा अवस्थित विद्यालयहरूमध्ये नमुना विद्यालयको रूपमा लिइन्छ, जसको श्रेय सेवा प्रवेशदेखि सेवा निवृत्तसम्म अहोरात्र तन, मन र वचनले सम्पूर्ण जिन्दगी विद्यालय र क्षेत्रवासीहरूका लागि अर्पण गर्ने ईश्वर सरलाई जान्छ । विद्यालय सञ्चालन सँगसँगै घोडेटारलाई दक्षिणी भोजपुरको शैक्षिक, प्राशासनिक, स्वास्थ्य, पर्यटन,यातायत, सांस्कृतिक, सञ्चार लगायत पूर्वाधारहरूको केन्द्रबिन्दु बनाउनका लागि समेत निरन्तर योजनाबद्ध रूपमा लागिरहनुहुने उहाँ आफ्नो ठाउँ अरूले बनाइदिने होइन हामी सबै मिलेर विकास निर्माणमा जुट्न सके समाजमा आमुल परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ । समग्र विकासका लागि भौतिक, आर्थिक तथा सामाजिक चेतनाको विकास आवश्यक छ भने आमुल परिवर्तनका लागि यातायात, आमसञ्चार अनी विज्ञान प्रविधि विस्तारको वकालत गर्ने उहाँले यातायातको पूर्वाधार विकासका लागि अरुण नदीको गहिराइमा पनि स्काइभेटर तारेर सडक निर्माणमा लाग्ने हिम्मत सबैलाई जुटाइदिनुभयो फलस्वरूप आज भोजपुरको सिङ्गो दक्षिणी क्षेत्र यातायातको सरल पहुँचमा पुगेको छ भने आमसञ्चार र नवीन विषयवस्तुसँग सबैलाई नजिक पुऱ्याउन विद्यालयभित्रै भए पनि २०४१ सालमै व्यवस्थित पुस्तकालयको स्थापना गर्नुभयो जहाँ राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक पत्रिकादेखि विभिन्न विधाका पुस्तकहरू निःशुल्क अध्ययन गर्ने व्यवस्था छ ।

कर्मबाहेक अन्यत्र ध्यान नदिने, व्यक्तिगत लाभ र पारिवारिक चिन्तनबाट सदैव माथि उठेर सामाजिक हितका खातिर मरिमेट्ने उहाँलाई कुनै पनि सार्वजनिक चर्चा वा प्रचारमा विश्वास छैन । चुपचाप आफ्नो काम गरिरहने स्वभावले गर्दा नै तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा घोषित “शिक्षा ज्योती पदक-२०६९” र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोषित “प्रबल जनसेवाश्री-२०७३” ग्रहण गर्न बल्ल २०७६ साल माघमा मात्रै काठमाडौँ पुग्नुभयो । २०७६ साल माघ २४ गते सिंहदरबारमा आयोजित एउटा सामान्य अनौपचारिक भेट्घाट गरि उहाँलाई प्रदान गरिएका पदक तथा विभूषणहरू हस्तान्तरण गरिएको थियो । त्यस्तै गरी कान्तिपुर पब्लिकेशनद्वारा वि.सं. २०६७ साल असार अन्तिम हप्ता धरानमा भव्य कार्यक्रम आयोजना गरी “अल्वा रत्न सम्मान” प्रदान गरेको थियो । निःस्वार्थ सेवाभावले समाजसेवामा लाग्ने देशभरिका सामाजिक व्यक्तित्वहरूलाई कान्तिपुरले गर्ने सम्मान थियो त्यो । हरेक मान्छेले आफ्नो जिम्मामा आइलागेको कामहरू इमानदारीपूर्वक गरिदिए मात्रै पनि समाज सुधार हुन लामो समय लाग्दैन तर हरेक अड्डा, निकायहरूमा हुने अनियमितता र कामचोर प्रवृत्तिले समाजको गतिलाई अघि बढ्न असहज बनाइरहेको उहाँको अनुभव छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पञ्चकन्या मावि भुल्केमा तथा प्रदेश नम्बर १ का भूतपूर्व मुख्यमन्त्री शेरधन राईलाई सगरमाथा उच्च मावि घोडेटारमा आफ्ना विद्यार्थीका रूपमा पढाउनुभएको ईश्वर सरलाई आफ्नो पेन्सनको कागजपत्र मिलाउन काठमाडौँ पुग्दा सम्बन्धित कार्यालयका कर्मचारीले शिक्षक भनेर नपत्याएपछि राष्ट्रपति र मुख्यमन्त्री आफ्नो विद्यार्थी भएको दृष्टान्त नै दिनुपरेको अनुभव सुनाउनुहुन्छ ।

वि.सं. २०१२ साल वैशाख १ गते जन्मनुभएको ईश्वर सरले २०७१ साल चैत मसान्तदेखि आफ्नो उमेरहदका कारण पेसाबाट अवकाश लिनुभए पनि उहाँलाई सामाजिक जिम्मेवारीले छोड्ने कुरै थिएन । शिक्षण पेसाको अवधिभर सपरिवार घोडेटार बजारमा बस्नुभएको उहाँ अवकाशपछि सपरिवार नै पुर्ख्यौली घर सिन्द्राङ छोटीडाँडा फर्कनुभयो । पुरानो घर आफैँले मर्मत गरेर सुन्दर बनाउनुभयो र बस्न थाल्नुभयो । उतैबाट सामाजिक कार्यहरूमा व्यस्त रहन थाल्नुभयो । केही समयपछि सगरमाथा उच्च माविको व्यवस्थापन समितिको नेतृत्व समस्त क्षेत्रवासीहरूको आग्रहमा उहाँले सम्हाल्नुभयो । सडक, विद्युत्, खानेपानी लगायतका विकास निर्माणका योजना बनाउने, त्यसका लागि सम्बन्धित ठाउँसम्म आवाज पुर्‍याउने गतिविधिमा सक्रिय रहिरहनुभयो । २०७४ सालको निर्वाचनमा विभिन्न राजनीतिक पार्टीहरूले उहाँलाई उम्मेद्वार बनाउने कसरत समेत गरे तर उहाँमा सक्रिय राजनीतिप्रतिको मोह कहिल्यै जागेन । सबै राजनीतिक पार्टीहरूप्रति उहाँको समान धारणा र व्यवहार रहिआएको छ । उसो त हरेक पटकको संसदीय निर्वाचनमा उहाँलाई सांसदको उम्मेद्वार बनाउने प्रस्ताव आइरहेकै हो तर आजको ईश्वर सर बन्नुमा उहाँको सबै राजनीतिक पार्टीहरूसँगको समदूरिताकै योगदान हो भन्ने लाग्छ ।

तथ्यगत अध्ययनमा जोड दिनुहुने उहाँ सामाजिक चेतनाका लागि, युवाहरूमा सकारात्मक चिन्तनको विकासका लागि अध्ययन महत्त्वपूर्ण हुनेमा जोड दिनुहुन्छ । धेरै लामो समय अघिदेखि घोडेटार आसपासमा सार्वजनिक पुस्तकालयको अपरिहार्यतामा जोड दिइरहनुहुन्थ्यो तर विभिन्न व्यवधानहरूका कारण त्यो प्रकारको पुस्तकालय सुरु गर्न सकिएको थिएन । उहाँको सोही चाहनालाई टेवा पुर्‍याउने उद्देस्यका साथ २०७८ साल वैशाख १ गतेबाट ईश्वर सरको सम्मानमा “हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन केन्द्र” को सुरुवात गरिएको छ । हाल घोडेटार बजारमा भाडामा सञ्चालनमा ल्याइएको सो अध्ययन केन्द्रलाई निकट भविष्यमा आफ्नै जग्गा र भवनको व्यवस्था गरी स्थानान्तरण गरिने योजना छ । अध्ययन केन्द्रमा विभिन्न विधाका पुस्तकहरूका साथै पुस्तक पठन, सृजना एवं विकास निर्माण र प्रविधिसम्बन्धी विचार विमर्श गरिने योजना रहेको छ । विशेष गरी समाज परिवर्तनका लागि भौतिक निर्माण मात्रै पर्याप्त हुदैन, त्यसका लागि मानवीय चेतना मजबुत हुनुपर्दछ । मानवीय चेतनाका लागि गहन अध्ययन तथा सकारात्मक बहस र चिन्तन जरुरी छ भन्ने ईश्वर सरको परिकल्पनाअनुसार आधुनिक प्रविधिमैत्री अध्ययन केन्द्रको रूपमा सञ्चालन गरिनेछ ।