“त्यस्तो अराजक मान्छेसँग तेरो सङ्गत कसरी भयो हँ ?”, लोकेन्द्रले आश्चर्य मान्दै सोध्यो ।
“अराजक होइन महेश । गल्तीमा चुप रहन सक्ने मान्छे होइन । बस यत्ति हो ।”, मैले सहज उत्तर दिएँ ।
पहिलोपल्ट जुम्ला पुगेको दिन । पानी पर्ने, रोकिने दुवै गरिरहेको थियो । बाहिर निस्कने मन थियो । समय अनुकूल भएन । सिमी र खुट्टाको झोल सुर्काउँदै फेसबुकमा फोटो हालेँ र क्याप्सन लेखेँ ‘@ जुम्ला’ ।
“तपाईँ जुम्लाको कुन ठाउँमा हुनुहुन्छ ?”, म्यासेज आयो ।
ठानेँ, कुनै गजलकार होलान् । आफू भूतपूर्व गजलकार भएकाले मैले त्यसो ठान्नु कुनै गलत होइन । मलाई लाग्यो दुई गजलकार मिलेर जगाउँला समा, जम्ला महफिल । क्या बात, क्या बात भन्दै दाद देलान् गालिब, मासाल्ला मासाल्ला भन्दै शेर दोहोराउन लगाउलान् मिर । तरन्नुमा सुन्ने इच्छा गर्लान् नूर । यति सब लागिसकेपछि मात्र मैले लेखेको थिएँ, “म एक चिया पसलमा छु । मेरो ठिक अगाडिको पसलको नाम साथी फेन्सी पसल हो ।”
म्यासेज आयो, “म पाँच मिनेटमा पुग्छु है । भेट्नुपर्छ ।”
ऊ ठिक पाँच मिनेटमै पुग्यो । आफ्नो पाँच फिट नौ/दस इन्चको कद ल्याएर ।
ऊ गजलकार रैनछ, सर रहेछ । दिनभरि पठाउने काम गर्दो रहेछ । त्यहीबिचमा आक्कलझुक्कल समाज पनि पढ्न हिँड्ने रहेछ । खासमा रहेछ यस समाजमा बसेर यी अन्याय, अत्याचार, अराजकता देख्दा/सहँदा बोलिहाल्ने लेखिहाल्ने मान्छे परेछ । ऊ यसपालि पनि यसैकारणले जेल परेको रहेछ ।
कुरै-कुरैमा महेशले पहिलो दिनमा नै भन्यो, “तँसँग त जनै छ । बाहुन भने सुहाउला । तर मलाई तँ बाहुन हिरो बन्छस् ! किन भन्यो, तेरो यो समाजले ?”
उसको तर्क छ । सरकारी अफिस, अस्पताल, भन्सार, नेता, जर्नेल, कर्नेल, सिडियो कही न कहीँ तेरो मान्छे छन् भने त्यो समाज तेरो हो ।
महेशले त्यो दिन मेरो मुड खत्तम पारिदियो । कहाँ समा जल्ने, महफिल चल्ने कल्पना गरेको थिएँ । सबमा पानी खनाइदियो । यसभन्दा ठिक त काठमाडौँकै गजलकार छन् । कम्तीमा जमिन भिजेको दिन यसो आँत भिजाउन त पाइन्छ ।
त्यसपछि उसले जे-जे कुरा गऱ्यो मैले खासै चासो दिइनँ । ऊ गजलकार पनि त हैन ।
तपाईँलाई लाग्दो हो । कति रुखो मान्छे रहेछ है ? त्यसो पनि हैन । भोलिपल्टबाट उसले मेरा गजल सुनेको पनि हो । आफूले लेख्दै गरेको आफ्नो कथाकी पात्राले यसो भनी भन्दै भनेको थियो,
“एक बैरी बम्बैको सेठ दोस्रो बैरी ऋण
एक बैरी मायाँकै झल्को तेस्रो बैरी निन”
(एक दुस्मन बम्बैको मालिक, दोस्रो दुस्मन ऋण ।
मुख्य दुस्मन मायाँको याद, तेर्सो दुस्मन निद ।”)
अनि सुनाएको थियो,
झमक्क तरकारी होइजा चम्डेइलो भाज होइजा
तिम्रो मेरो भेट होइजा, पुसको रात होइजा ।
उसले मलाई गुरु फोकटको कुरा सुनायो । छुम चौर पुगेर आउन भन्यो । पैकाला र चन्दन नाथको कृपा सुनायो ।
एकदिन ऊ बाबिरा मस्टोको कुरा सुनाइरहेको थियो मैले सोधेँ, “तपाईँ कमिन्युस्ट हैन र ?”
“हो तर नेपालमा कम्युनिस्टको परिभाषा परिमार्जन गर्नुपर्ने देखिन्छ ।”, उसले त्यसै दिनै सुनाएको हो । बहुत मिठो कथा । उसको त्यो कथामा श्री कृष्ण जुम्ला आउँदा के-के हुन्छ भनी लेखिएको थियो ।
भनेँ नि ऊ त्यति रुखो मान्छे पनि हैन । एकदिन म सुनाइरहेको थिएँ –
अरू के नै गर्न सकिन्छ र आएँ
आउन दिन्छु तिम्रो याद आएँ
उसले फ्याटै भन्यो –
“इतिहासका राजा कति ? भूगोलका ठाउँ कति ?
मायाँका मायाजाल कति ? प्रीतिका भाउ कति ?
ऊ जान्दछ हाँस्न, जिस्किन, जिस्काउन तर सबैभन्दा बढी जानेको छ प्रश्न सोध्न ? सोध्नु उसको स्वभाव हो । उसका प्रश्न बहुत तिखा हुन्छन् । कहिले भन्छ, “देशका साहित्य महोत्सवहरूले सत्यनारायणको पूजा लाउन किन छुटाइरहेका छन् ? यस नेपाल खण्डमा भएका सबै ब्राह्मण आइसके त, बचेको त्यही एउटै काम हो त्यो सकिदिए हुने हो ।”
कहिले भन्छ, “गोरखा दरबारले अहिलेसम्म जुम्लीलाई सोभान शाहीकै प्रजा भनी किन हेरिरहेको छ ?”
कहिले भन्छ, “मेरो गीत, मेरो सङ्गीत, मेरो शब्द र मेरो अभाव कहिले सुन्छौ ?”
भनीसाध्य छैन । उसका प्रश्नहरूउपर । त्यसै शान्त समुद्रमा ढुङ्गा हान्ने ?
हाम्रो कुरा भैरहेको थियो । रुप्सा जानुभन्दा अगाडि मैले भनेको थिए, “यो एक अफिसियल काम हो । म पुगेको ठाउँमा नेपाल टेलिकमको नेटवर्क नपुगेको हुन सक्छ । फर्केपछि कुरा गरौँला है ।”
उसले भनेको थियो, “जिरो कुमारीजस्तै कोही भेटे टप्प टिपेर ल्याउनू ।”
आज उसैको कथा लेख्नुपर्ने दिन आइलाग्यो ।
अहिले ऊ थुनामा छ । उसलाई भन्दा पनि उसका यी यावत् प्रश्नहरुलाई थुनामा राखिएको हो ।
“सिडियो नै पछाडि लागेको छ रे ? अब जाने भयो ।”, लोकेन्द्रले यसरी भन्यो । मानौँ, महेशले राजासँग जोडी खोजेको हो ।
“के महेशले चोऱ्यो होला लाग्छ तलाई ?”, फेरि उसैले सोध्यो ।
“उसले चोरेको भए त पुलिस थियो नि । नचोरेको हुनाले त सिडियो लाग्नु पर्यो होला नि ।”
खाना खाएर पल्टिसके पछि लोकेन्द्रले सोध्यो, “के छ अन्तर्जातीय । अन्तर्वर्गीय विवाहको बाँच्ने प्रतिशत ?”
“बिजोग छ ।”
“पात्रको सङ्ख्या ?”
“दुई अहिलेसम्म तर त्यही दुवै काफी छन् ?”
“पहिलो सुनौँ ?”
हस्तकला मिसले आँसुलाई पछ्यौराले पुछ्दै भनिन्, “अहिले दाइजो माग्यो सर । पिरती लाउने बेला त्यसका आँखा फुटेका थिए क्या ?”
मैले के भन्नू ? हस्तकला मिसले नै भनिन्, “क्या हरेन सर त्यहीका लागि ?”
घर पाकेको तिउन तरकारी सब पुगाएँ त्यसका कोठा । तराईको मान्छे यहाँको भाषा नबुझ्ला भनेर सधैँ उसको नजिक बसिरहेँ ।
यही डाँडामा पानी नाई भन्नू । लुगा पनि मै धोइदिन्थेँ । थाहै नपाई हस्तकला मिस त्यही सम्झनाको बाटो हिँड्न थालिन् । जा उन्ले हिँड्नै हुन्थेन । बाँच्ने मन भएकाले बार्न पनि जान्नुपर्छ । यसरी कहाँ बिर्सिन सकिन्छ हस्तकला मिस बिर्सिनका लागि त- भुल्ने कोसिस गर्नु हुन्न । फोटो हेर्नु हुन्न तपाईँ त दुवै गरिरहनुभएको छ । सम्झनालाई बार्नुपर्थ्यो हस्तकला मिस ।
हस्तकला मिस एकोहोरो हिँड्न थालिन सम्झनाको बाटो, “एक दिन हामी रोटे पानी गयौँ । नुहाउने, लुगा धुने भनेर । रोटे पानीमा मान्छे हुन्थेन । दुई गाउँका बिचमा र रोडभन्दा केही माथि पर्ने हुनाले । मान्छेको हिँडडुल पूरै हुन्थेन । हामी घोल बस्या डुकुर जोडीजस्तै भयौँ । त्यस दिन मैले लुगामा साबुन लगाएँ । कान्छुले धोइपखाली गरे । म नुहाइरहँदा आएर मेरो पिठ्युँ मिचिदिए । हाय, त्यो दिन पनि दिन थियो । कति चाँडै सकिएको थियो ।
आजभोलिका यी दिन राति फोन गएर के भन्छ सर थाहा छ ? मलाई केही दाइजो चाहिन्न ? र, बिहानै फोन गरेर भन्छ – यदि तैँले दाइजो नल्याई आइस् भने म घर नभएको दिन मेरा बाआमाले तँलाई जलाइदिए के गर्ने भन् त ? कुरा गर् न, तेरा बुबाआमासँग बजारको घर बेचिदिऊँ भनेर । दाइजो दिएर बचेको पैसाले बजारमै अन्त जग्गा किने भैगो नि । हैन र ? दाइजो त्यसका बाआमालाई हैन त्यसलाई चाहिएको हो । देशी कहिको ।”
सुस्केरा चुट्दै लोकेन्द्रले भन्यो, “कोही किन छोरीको बुबा बन्ने रहर गरोस् ?”
र, एकछिन रोकिएर सोध्यो, “अनि दोस्रो पात्र ?”
“महेश नेपाली ?”
“को त्यही महेश ?”
“हो त्यही महेश, जो अहिले जेलभित्र छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।