एउटै फोनकलले जुराएको हो यो अवसर । अर्थात कविडाँडा साहित्य समाज, चितवनले आयोजना गरेको दुईदिने नेपाल-भारत साहित्य उत्सव।
समारोहका सूत्रधार महेश पौड्यालले सम्झना गरेपछि भारतीय नेपाली साहित्य सर्जकहरूको टोलीमा म पनि गासिएँ। श्रीमती सुधाजीले पनि चितवन परिभ्रमण गर्ने चाहना दर्शाएपछि पुग्यौँ काँकरीभित्ता २६ गते अर्थात १२ नोभेम्बर २०२१ मध्याह्नमा। भेट्यौँ अग्रज कविद्वय डा. राजेन्द्र भण्डारी र मनप्रसाद सुब्बाको छहारी। यताबाट टोलीमा रहेछन् अध्येयता डा. नवीन पौड्याल, कवि-अध्येयता रेमिका थापा, कवि राजा पुनियानी, अभिसङ्गी कवि पवित्रा लामा, समीक्षक सुकराज दियाली, कवि कृष्ण पी. ठटाल, कवि शरद छेत्री, कवि ज्ञानेन्द्र योक्सो र कवि कृतिका दाहाल। सिक्किमबाट डा. टेकबहादुर छेत्रीको नेतृत्वमा सहभागी रहेछन् डा. शोभा शर्मा, कथाकार युवा बराल, कवि-चित्रकार दीपा राई, कवि मोनिका शर्मा, कवि जीविका अश्रु, कवि अर्जुन राई ‘यावा’। उसैगरी आसामबाट डा. सरीता शर्मा, गोमा अधिकारी, सीताराम अधिकारी अनि मणिपूरका कवि-कथाकार राहुल राई ‘बोगिको’ जोडिएका रहेछौँ। त्यही दिन कार्यक्रम स्थलमा पुगेका मणिपुरका कथाकार देवी थापा ‘मामा’ अनि कवि हर्कबहादुर लामगादे रोहित पनि रहेको जानकारी पायौँ।
काँकरीभित्तामा कविद्वय निरज दाहाल अनि प्रकाश निरौलाकोको न्यानो स्वागतसितै अपराह्न १:३० बजे आरम्भ भएको हाम्रो यात्रा दमकमा आएर केही बेर थामियो। सर्जक दीपक सुवेदीको नेतृत्वमा साहित्य कला सङ्गम दमकका सर्जक साथीहरूले सङ्गम होटलमा लिएर गए। रूद्राक्षको माला पहिर्याएर स्वागत जनाए। पुस्तक-पत्रिकाहरू प्रदान गरे अनि चिया नास्ताले सत्कार गरे।
आयोजकले तोकेको ८-९ घन्टाको यात्रा भनेको तर लगभग १८ घन्टाको यात्रापछि बिहानको ६:३० बजे चितवनको सौराहाले हामीलाई स्वागत जनायो। हलुका तुवाँलोभित्र मस्त निदाइरहेको चितवन र सौराहामा तर हामीजस्तै ननिदाइकन स्वागतमा तत्पर पायौँ कार्यक्रमका संयोजक कवि-आख्यानकार-अनुवादक महेश पौड्याल अनि कविडाँडा साहित्य समाजका अध्यक्ष तथा सर्जक एलबी छेत्री। व्यस्त पर्यटन स्थलको प्रसिद्ध अस्थायी निवास ‘जङ्गल सफारी लज’मा न्यानो स्वागत, आत्मीयता र आतिथ्य सत्कारको सुव्यवस्थापन भेटेपछि थकान र निद्रा फुमन्तर भइगयो। नुहाइ-धुवाइ सकेर लजका मालिक कवि सुमन घिमिरेको न्यानो अभिवादन स्वीकार्दै नास्ता लिई कार्यक्रमको ‘उद्घाटन सत्र’ भियाउन प्रेक्षागृहमा प्रवेश गर्दा ९ बज्नै लागेको थियो।
कार्यक्रमसूची हात परेपछि ज्ञात भयो यो समागम त कविडाँडा साहित्य समाजको १९ औँ स्थापना दिवस पनि रहेछ। १९ वर्षे लक्का जवान युवा संस्थाको चडकभडक उस्तै थियो। कवि तथा संस्थाका सचिव गणेश श्रमणज्यूले उद्घोषणामा कविडाँडाका विगत केलाउँदै प्रत्येक वर्ष आयोजना गर्दै ल्याएका विविध कार्यक्रमबारे जानकारी दिँदै थिए। संस्थाको गरिमामय इतिहास ११औँ अङ्क प्रकाशित भइसकेको संस्थाको मुखपत्र ‘चरैवेत:’ अङ्कहरू केलाउँदा ज्ञात हुन्छ। ठोस काममा विश्वास गर्ने थोरै संस्थाहरूमध्ये यो पनि एक रहेछ।
कार्यक्रमको उद्घाटन सत्र संस्थाकै अध्यक्ष ‘वान म्यान आर्मी’कै रूपमा खटिरहेका स्वप्नदर्शी सर्जक एलबी छेत्रीको अध्यक्षतामा शुरू भयो। प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ डा. गङ्गाप्रसाद उप्रेती विराजमान थिए। संस्थाका कोषाध्यक्ष उदय अधिकारीले स्वागत मन्तव्य राखेपछि यस वर्ष दिवङ्गत बनेका स्रष्टाहरूका स्मृतिमा मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रम संयोजक महेश पौड्यालले किनोट मन्तव्य राख्दै वर्तमान विश्व साहित्यको परिप्रेक्ष्यमा नेपाली साहित्यको अवस्थानलाई उचाल्न केही नयाँ वैचारिकतामाथि कार्य गर्नुपर्ने, भूमण्डलीकरण अनि उत्तरआधुनिकताको वैचारिक विरोधिताबीच आआफ्नै सांस्कृतिक भूगोल लेखिरहेका हामीले पहिचानको निम्ति माइक्रो संस्कृतिको अवधारणालाई सम्बोधन गर्नुपर्ने अनि विरजाति, सोझाजाति, युद्धप्रेमी जातिको रूपमा परिचित हाम्रो पहिचान र अस्मितामाथि पुनर्विचार हुनुपर्ने किनकि हामी यस्ता इतिहासका प्रहारबाट प्रताडित बन्दै आइरहेका छौँ भन्ने नवीन आग्रहहरू प्राज्ञसभामा राखेका थिए।
विशिष्ट अतिथिहरू भाषाविद-वैयाकरण मुकुन्द शरण उपाध्याय, कवि-चिन्तक मनप्रसाद सुब्बालाई विशिष्ट साहित्य-सम्मानले विभुषित गरियो भने प्राज्ञ कवि शरण मुकारूङ, कवि-आख्यानकार ईल्या भट्टराई, टीआर पोखरेल, गायत्री उप्रेती, श्याम शाह अनि निर्दोश जीवन मीना लामिछाने ट्रस्टको प्रायोजनमा संस्थाबाट स्थापित विभिन्न विधागत पुरस्कारले सम्मानित बनेका थिए भने युवा लोकगायक प्रेम चेपाङ महेश पौड्यालद्वारा प्रायोजित प्रतिभा पुरस्कारले सम्मानित भएका थिए। पुरस्कृत केही स्रष्टाका ससाना शुभकामना तथा आभार मन्तव्य लगायत प्रमुख अतिथिले राखेका प्रज्ञा-प्रतिष्ठान कार्य विवृत्ति, कविडाँडाको महत् पहलको सराहना अनि भाषा-साहित्य अनि कलागत सिर्जनाका वर्तमान अवस्थान निकै गहन र चिन्तनयोग्य थिए।
समारोहको मुख्य केन्द्रबिन्दु भनेकै त्यसदिन प्रस्तुत गरिएका छ वटा कार्यपत्रहरू थिए। कवि नियात्राकार सुरेन्द्र अस्तफलले सञ्चालन गरेका कार्यपत्र सत्रको पहिलो खण्ड कवि-चिन्तक मनप्रसाद सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो जसमा टिप्पणीकार थिए दिग्गज समालोचक एक नारायण पौड्याल। दिइएको “भारत, नेपाल र लाहुर एक विमर्श” विषयकै नजीक रहेर भारतमा रहीबसेका नेपालीहरूका विगत अनि वर्तमानको ऐतिहासिक पृष्ठभूमि केलाउँदै मूलत: भारतमा नेपालीहरू अधिकजसो रैथाने नै रहेको पुष्टीमा अध्येता डा. गोमा अधिकारीको जोड रहेको थियो। नेपालसित अविच्छिन्न सम्बन्ध, सन्धि र समन्वयले जन्माएका अप्ठ्याराहरू केलाउँदै विदुषी अधिकारीले नेपाल-भारतको सम्बन्धलाई नयाँ प्रकारले केलाउनुपर्ने आवश्यकता रहेको तथ्यहरू प्रस्तुत गरिन्।
उत्तरसंरचनावाद, उत्तरऔपनिवेशवाद, उत्तरआधुनिकतावाद र उत्तरसांस्कृतिकतावाद जस्ता उत्तरवर्ती चिन्तन र लेखनमा उठान भइरहने केन्द्र र परिधिको द्वन्द्व र तनावले सिर्जना गर्दै ल्याएका दर्शन र लेखनका नवीन अवधारणाहरू केलाउँदै पाश्चात्य साहित्यदेखि नेपाली साहित्यसम्ममा परेका प्रभावहरू दर्शाउने काम गरेको थियो विज्ञ प्रस्तोता डा. केशव चालिसेको कार्यपत्र “साहित्यमा केन्द्र र परिधि: उत्तरवर्ती विचारहरू”ले। साहित्यको यो नवीन विषयसित रूची राख्नेहरूका निम्ति अत्यन्त लाभकारी कार्यपत्रले केन्द्र भत्किरहने अनि परिधिले केन्द्रतिर आफूलाई धकेलिरहने प्रक्रिया निरन्तर रहिरहने तथ्य प्रस्तुत गर्दै यसलाई वैचारिक खेल मान्नसकिने तोक दिएका थिए।
तेस्रो कार्यपत्र प्रस्तोता थिए डा. नवीन पौड्याल। उनको विषय थियो “सन् २००० पछिको भारतीय नेपाली साहित्य: लक्षण र गति” तर उनले सन् २००० पछिको भारतीय नेपाली समालोचनाको लक्षण र गतिलाई मात्र लिएर कार्यपत्र प्रस्तुत गरेका थिए। अध्ययन-अनुसन्धान, विश्लेषण, संश्लेषण, व्याख्या र मूल्याङ्कन जस्ता पारम्परिक पद्धत्तिको केन्द्रवरिपरि रहेर भारतीय नेपाली समालोचना लेखन हुर्किएको अनि व्यवहारिक अनि सैद्धान्तिक दुवै खाले समालोचना लेखन रहिआएको जनाउँदै भारतीय नेपाली साहित्यको समालोचना विधा पनि निकै समृद्ध रहेको उनको ठहर थियो। प्रभावपरक समालोचकको आधिक्य रहेपनि भारतीय समालोचनामा नयाँनयाँ हस्ताक्षरहरू उदाइरहेकोमा सन्तोक मान्नुपर्ने उनको विचार थियो।
कार्यपत्र प्रस्तुतिमा देखिएका सकारात्मकताहरू अनि एकाध सीमितता र कमजोरी खुट्टयाउँदै तत्काल टिप्पणी राख्ने टिप्पणीकार एक नारायण पौड्यालको बौद्धिकता र वाकक्षमता देखेर दङ्ग परियो। कार्यपत्रमाथिको टिप्पणी पनि एक प्रकारले कार्यपत्र जस्तै बनेको थियो। सत्रको अन्तमा सभापति मनप्रसाद सुब्बाले भारत-नेपाल सम्बन्धमा लाहुर र लाहुरेको प्रसङ्ग, भारतमा गोर्खाहरूको परिचयको सङ्कट अनि केन्द्र र परिधिको द्वन्द्वबारे थप दृष्टान्त र वैचारिकी चिनाउँदै भारतीय नेपाली साहित्यको समकालीनताका रूपहरू केलाइदिएका थिए।
कार्यपत्र सत्रको दोस्रो खण्ड डा. सीताराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। यस सत्रका टिप्पणीकार थिए उप. प्रा. चेतराज रेग्मी। “आयामेली कवितामा भारत- नेपाल” शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए डा. टीबी छेत्रीले। उनले आयामेली कविता आन्दोलनको थालनी, आयामेली कविताहरूका प्रवृत्ति र आयामेली सर्जक अनि कविताका प्रभावबारे सविस्तार व्याख्या राखे। कार्यपत्रले तोकेको “भारत-नेपाल” विमर्श तर उस्तो खुलेर नआएको भान भयो। वास्तवमा त्यो भारत-नेपालको एक सहकार्य थियो। यसको प्रभाव पनि भारत-नेपालमा सराबरी परेको हो। तर अब आयामेली अवधारणा धेरैजसो फेल भइसकेको अवस्था छ। वस्तुता लीलामा रूपान्तरण भइसकेको छ। सम्पूर्णताको लेखन विखण्डन भइसकेको छ। यस्तोमा आयामेली लेखनमाथि विमर्श गरिरहनुको औचित्य के कति छ? भविष्यमा विचार गर्नुपर्ला।
अर्का कार्यपत्र प्रस्तोता डा. अशोक थापाको “नेपाली भाषाको भूगोल: विचलन र मानकीकरणका प्रश्नहरू” अत्यन्त प्रभावकारी र तर्कयुक्त थियो। उनले नेपाली भाषाको भूगोल केलाउँदै स्थलगत भाषा अध्ययन हुनुपर्ने, मानकीकरणमा एकरूपता आइसक्नुपर्ने अनि भाषालाई समृद्ध बनाउन समावेशी अवधारणा राख्दै जात-गोष्ठीगत भाषिकाहरूलाई पनि केन्द्रमा ल्याउनुपर्ने जस्ता विषयको उठान गरे। आजसम्म पनि संस्कृत आधारित व्याकरण प्रयोग भइरहेकाले यसमा धेरै अपवाद, संशय र प्रश्नहरू जन्मिरहेका छन्। यदि अब नेपाली भाषा आधारित व्याकरण निर्माण गरिए भाषामा उठ्ने विवादहरू क्रमश: साम्य हुँदै जाने ठोकुवा गरे। डा. थापाको प्रस्तुतिले भाषा विषयक कार्यपत्र पनि यति रोचक र प्रभावकारी हुनसक्छ भन्ने नयाँ अनुभूतिले मलाई छोयो।
दुवै कार्यपत्रमाथि टिप्पणीकार प्रा. चेतराज रेग्मी महोदयले न्यासङ्गत टिप्पणी राखे। उनले आयामेली लेखनको प्रभाव दीर्घकालीन रहेको जनाए। भाषा विषयमा विवाद भइरहने तर यसलाई सक्दो सर्वसम्मत बनाउने दिशामा सबैले मिलेर कार्य गर्नुपर्ने उनको सुझाव मननयोग्य थियो। सभापति डा. सीताराम अधिकारीले पनि भारतमा प्रयोग हुने भाषाहरूको तुलनात्मक परिचर्चा गर्दै नेपाली भाषाको समृद्धतामाथि निरन्तर कार्य भइरहनुपर्ने आग्रह राखे। यसरी पहिलो दिनको लगभग आठ घन्टाको बौद्धिक अनि साहित्यमय कार्यक्रम बेलुकी साँडे पाँचबजे समापन भएको थियो।
सिन्दुरे साँझमा छेवैको रापती नदी किनारमा अवस्थित पर्यटकीय स्थल परिभ्रमण गर्न गयौँ। आदरणीय अग्रज सर्जक शरद प्रधान दाइको विदेश भ्रमण अनुभव, भारत-नेपालका साहित्य र साहित्यकारमाथि उहाँको फिचर लेखन, अनेकन संस्मरणको स्वादमा हामी टीबी छेत्री, युवा बराल, नवीन पौड्याल, राजकुमार बानियाँ रमाउन पायौँ।
दोस्रो दिन पनि निर्धारित समयभन्दा केही विलम्बसित कार्यक्रमको थालनी भयो। पहिलो सत्रमा एउटा कार्यपत्र प्रस्तुत गरियो। यस सत्रलाई डा. सावित्री मल्ल कक्षपतिले अध्यक्षता गरेकी थिइन् भने टिप्पणीकारको रूपमा डा. शोभा शर्मा थिइन्। वरिष्ठ समालोचक लीला लइँटेलले “नेपाली साहित्यमा नारी स्रष्टा: सन्दर्भ भारत र नेपाल” शिर्षकमा कार्यपत्र प्रस्तुत गरिन्। समयाभावले उनले नारी लेखनका समस्या, नारी लेखनको अवस्था र नारीवादी लेखनमा नारीहरूका भूमिकामाथि मात्र भनेजसो चर्चा गर्न पाइन्। विशद् यो विषयमा भारत-नेपालका नारी सर्जकहरूका उल्लेख पनि भनेजस्तो विमर्शसित प्रस्ट्याउन पाइनन्। यद्दपि भारतीय नेपाली नारी सर्जकहरूमाथि उनले जत्ति कार्य अन्य सर्जकले नेपालमा थोरैले गरेका छन्। उनको प्रस्तुति केही आक्रमक जस्तो पनि देखिएको थियो। नारी लेखनलाई ‘गनगन’ मात्र मानिने पुरूषवादी चेतनाको निकै खुलेर विरोध गरिन्। नेपाल-भारतमा नारी लेखन तर अब धेरै अक्कासिसकेको छ भन्ने उनको अडान थियो।
टिप्पणीकार डा. शोभा शर्माले पनि कार्यपत्रको समर्थन जनाउँदै नारी लेखनको अवस्था अब पहिलेको जस्तो नरहेको जनाइन्। उनले नारी लेखनलाई अनुवादको माध्यमले अन्य भाषीहरूमा पनि पुर्याउनुपर्ने जोड् दिइन्।सभापति डा. सावित्री मल्ल कक्षपतिले पनि नारी लेखनका समस्या र चुनौतिमाथि थप चर्चा गर्दै यी सबै व्यवधान झेलेर पनि नेपाली महिलाहरूले आफूलाई सक्षम र सबल बनाइरहेको गौरवमय वर्तमानको सत्यलाई उठान गरिन्।
कार्यपत्र प्रस्तुतिमा केही सीमितता र समस्याहरू देखिए। कार्यपत्रको विषय व्यापकता हेरी निर्धारित समय थोरै दिइएको पाइयो। केही कार्यपत्र निर्धारित विषयदेखि फरक र प्रस्तोता आफैले शिर्षक र विषय चयन गरिएका थिए जो आयोजक अनि कार्यक्रमको उद्देश्य र सीमाभित्र नरहेको पाइयो। समय मिलाएर कार्यपत्रमाथि श्रोताहरूले पनि अन्तरक्रिया गर्न पाएको भए सुनमा सुगन्ध हुनेथियो कि!
तर जे-जत्ति भयो राम्रै भयो। यथेष्ठ नै भयो।
कार्यक्रमको दोस्रो सत्र प्यानल डिस्कसनको थियो। पहिलो परिचर्चाको विषय थियो “विश्व साहित्यमा नेपाली/ गोर्खा आवाज”। सहजकर्ता समालोचक राजकुमार बानियाँ रहेको यस विमर्शमा सहभागीहरू अनुवादक डा. सरीता शर्मा, आख्यानकार-कवि निलम कार्की निहारिका, राजा पुनियानी, शरद प्रधान अनि राहुल राई ‘बोगिको’ थिए। नेपाली साहित्यले केही मात्रामा भए पनि विश्व साहित्यमा स्थान बनाउँदै लगेको, नेपाली साहित्यले एशिया महाद्वीपमा पहिले आफ्नो आवाज पुर्याउनु पर्ने यसको निम्ति सर्वाधिक बोलिने चिनियाँ, हिन्दी, बङ्गला जस्ता भाषामा हाम्रा कृतिहरू अनुदित हुनुपर्ने, अनुवादसितै नेपाली सर्जकका अन्य भाषाका सिर्जनाहरू वैश्विक बनाउनुपर्ने विषयमा विद्वत सहभागीहरूले आ-आफ्ना विचारहरू राखे। खुबै रोचक, तथ्यपरक अनि सूचनाप्रद यस परिचर्चाले सहभागीसितै हामी दर्शकदीर्घामा बस्नेहरू पनि लाभान्वित बने।
दोस्रो परिचर्चाको विषय थियो “साहित्यिक आदान-प्रदान, बजार र विस्तार- सन्दर्भ नेपाल र भारतका” जसमा सहजकर्ता थिए आख्यानकार-कवि भूपिन खडका अनि सहभागीहरू थिए क्रमैले भीष्म उप्रेती, डा. रेमिका थापा, रामलाल जोशी, विनय भूषण दत्त, र युवा बराल। भारतका कृतिहरू सहजै नेपाल आउने तर नेपालका कृतिहरू बाहिर लैजान गाह्रो हुने विषयमाथि निकै लामो वहस चल्यो। यसको समाधानको निम्ति सरकारको व्यापारिक सम्झौतामा पुनर्विचार हुनुपर्ने, अनुवादक तथा प्रकाशकले नातावाद झेल्नुपर्ने, वरिष्ठ सर्जकहरूलाई मात्र प्राथमिकता दिने प्रथा हट्नुपर्ने, सरकारी निकायबाट पनि बजार व्यवस्थापन र विस्तारमा सहयोग मिल्नुपर्ने आदि विषयहरू उठे।
कार्यक्रमको अर्को सत्र रचनापाठको रहेको थियो जसको अध्यक्षता वरिष्ठ कवि श्रवण मुकारूङले गरेका थिए। केही गजल, केही छन्दकविता र केही गद्यकविता गरी लगभग ४ दर्जन कविहरूले आ-आफ्नो रचना पाठ गरे। कही कविताहरू साँच्चै मन छुने अनि विचार हल्लाउने थिए।माहौल यस्तो काव्यमय बनेको थियो कि “म पनि सुनाइहालूँ कि!” लाग्ने।
कार्यक्रमको अन्तिम सत्र समापनको थियो। यसको अध्यक्षता कविडाँडा साहित्य समाजकै अध्यक्ष एलबी छेत्रीले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ कवि डा. राजेन्द्र भण्डारी थिए। यस सत्रमा यस कलमकारको अनुभव कथन पहिलो प्रस्तुति थियो। यसमा कलमकारले कार्यक्रमको भव्यता, विषय गाम्भीर्य अनि सफल व्यवस्थापनको दृष्टिले यो समागम नेपाल-भारत साहित्य उत्सव होइन महोत्सव नै रहेको ठहर राखेका थिए। यसैगरी अर्का वक्ता प्रा. कपिल अज्ञातले समग्र दुईदिने कार्यक्रमलाई समेट्दै ‘चितवन घोषणा पत्र’ वाचन गरे अनि सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख अतिथि डा. भण्डारीले पनि भारतमा रहीबस्ने गोर्खाहरूको सङ्घर्ष र चुनौतिहरूमाथि थप कुरो राखे। भारतीय नेपालीहरूका निम्ति नेपाल आस्थाको धुरी रहको जनाए। स्व. इन्द्रबहादुर राईले “साहित्यिक ज्ञान र उर्जा प्राप्त गर्न १५-१५ दिनमा नेपाल गइरहनू” भनेका कुरा स्मरण गर्दै यस कार्यक्रमले पनि यस्तै उर्जा र ज्ञान दिलाएको अनुभूति व्यक्त गरे।कार्यक्रम अध्यक्षले आफ्ना टोली अनि कार्यक्रम भव्यतासित सम्पन्न गर्ने सहयोगी सहभागी हात र मनहरूलाई अन्तरहृदयले आभार प्रकट गरेका थिए।
हरेक भारतीय सहभागी सर्जकहरूलाई प्रदान गरिएका स्मृति चिह्न अनि प्रमाणपत्रले हामीलाई आजीवन सौराहाको सम्झना दिलाइरहनेछ। साँझमा आतिथ्य सत्कारमा आयोजित स्थानीय कलाकारहरूद्वारा प्रस्तुत थारू जीवन र संस्कृतिसित सम्बद्ध नृत्य अनि नृत्यनाटिकाले नेपालको बहुसांस्कृतिक स्वरूपलाई झल्काइरहेथ्यो। स्वादिष्ट रात्रिभोज लिएर पुस्तक, पत्र-पत्रिकाको आदान-प्रदान, अङ्गालोमा नअटाइरहेका स्नेह र सौहार्दको कोशेली बोकेर हामी रातको १० बजे बिदाइको हात हल्लाउँदै पूर्वगामी बसमा चड्यौँ। त्यहाँको पर्यटकीय स्थलको सफारी भ्रमण गर्ने धोको अधुरै राखेर हामी सबै आ-आफ्नै वाध्यताले फर्कियौँ। तर सौराहाको साहित्यमय सम्झना अझै आलै छ्। धङधङी अझै मेटेको छैन। सायद आजीवन मेटिने छैन।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।