कलेज ६:१५ मा सुरु हुन्थ्यो म ६ बजे घरबाट हिँड्थेँ । कहिलेकाहीँ ५:३० मै  एयरपोर्ट, पशुपति, पिङ्गलास्थान, गौशाला हुँदै हिँड्दै कलेज जान्थेँ । कहिले ६:१५ हुँदासम्म सिनामङ्गलमै दिगो यातायातलाई कुरिरहेको हुन्थे । कहिलेकाहीँ गाडी कुरिरहँदा र पुरानो बानेश्वरको बाटो हिँड्दै गर्दा कलेजको सर भेटिनुभयो भने उहाँको बाइकमा जान्थेँ ।

एकदिन ५:४५ मा घरबाट हिँडेको थिएँ, हुन त छिटै निस्केकी थिएँ तर लामोबाटो जान मन लाएन, बरु कलेज पुग्नुअगाडि त्यतैबाट राममन्दिर जान्छु  अनि बल्ल कलेज जाम्ला भन्ने सोचेँ मनमनै अनि ब्रिजवाटर कलेज हुँदै सिनामङ्गलको बागमती पुलतिर हानिएँ । म आफ्नै सुरमा हिँडिराथे- अनेक थरी सोच्दै “आज त मङ्गलबार, प्राक्टिकल हुन्छ, एप्रोन पो हालेँ कि हालिनँ (भलै घरबाट सब मिलाएरै निस्केको थिएँ तर दिमागले केही नसोची कसरी बस्न सक्थ्यो ? केही त सोच्नै पऱ्यो) एप्रोन सम्जिएँ अनि “ए” बाटै आउने अर्को चिज सम्झिएँ, चिज हैन मान्छे हो क्यार, कलेजमा सबैभन्दा बढी मन पर्ने मान्छे । ए….(एलिस- मानिलिऊँ) कलेज आइपुगेको छैन होला है । ऊ त कलेजमा  “सयौँ थुँगा..” बज्दाखेरि बल्ल आइपुग्छ, कहाँ आउनु र यति छिट्टै ।” एलिस सम्झिनेबित्तिकै पुगिहाल्यो मलाई, अब उसलाई सम्झेपछि अरू कसको बारेमा सोच्ने जमर्को गर्थ्यो र दिमागले ! हुन त अर्को सेक्सन थियो ऊ, र पनि आफ्नो कक्षाको अरू कोहीभन्दा ऊ नै बढी मन पर्थ्यो तर मायाँ भने बसेको थिएन । हुन्छ नि अब teenage crush त्यस्तै केही । मन पर्नु र मायाँ लाग्नुमा अन्तर छ नि । त्यही अन्तरले मलाई उसँग बोल्न कहिल्यै मन लागेन, बस् आँखैले हेर्थेँ, एकचोटि हेरेपछि बर्सौँसम्म पुग्ने गरी किनकि ऊ आफ्नो कक्षाबाट बिरलै बाहिर निस्किन्थ्यो । कि कलेज आएका बेला हेर्नु पऱ्यो कि घर जाने बेलामा । उनीहरूको घर जाने बेलामा प्रायःजसो हाम्रो पढाइ भइरहेको हुन्थ्यो त्यसैले मैले उसलाई हेर्न पाउने भनेकै बिहानीको समय थियो । उसलाई देखेको दिन । आज त दिन राम्रो हुने भो भनेर मनमनै मुस्कुराउँथेँ ।

श्रीया सुवेदी

अचानक मनको तलाउ बिथोलियो आफ्नै सुरले रहेको पोखरीमा ढुङ्गा हानेर अस्थिर भएझैँ । कसैले “ओइ” भनेजस्तो लाग्यो । निहारिकाले बोलाएको हो कि भनेर पछाडि फर्केर हेरेँ हैन रैछ । (निहारिका नि सिनामङ्गल नै बस्ने भएकाले प्रायःजसो कलेज जाँदा भेट्थ्यौँ । कलेजबाट फर्किँदा भने सधैँ सँगै फर्किन्थ्यौ ।) ९, १० मा पढ्नेजस्ती देखिन्थी आफूभन्दा अलि अगाडिको साथीलाई बोलाउन “ओइ” भनेकी रहिछ । उसकी साथी पनि मभन्दा अलि पछाडि नै थिई । मसँगै उसले पनि फर्केर हेरेकी थिई । एकअर्कालाई देखेर दुई जना खितितिती हाँसे, मेरो साथी हैन रैछ भनेर म चैँ खिस्रिक्क परेँ । अनि अकस्मात् मेरो नजर अर्को व्यक्तिमा पऱ्यो । भीमसेनगोलाको उकालोनिर उहाँलाई देखेकी थिएँ, बाटो खाली नै थियो बाटो काटेर पारिबाट वारि आउनुभयो । अघिसम्म पर देखेको मान्छे अहिले त नजिकै पो देखिन थाल्नुभो । ए, म त हिँड्नै बिर्सेर उहाँलाई पो हेरिराको रैछु । अघिसम्म फटाफट हिँडिरहेकी म अब भने मेरो गति सुस्तायो । कलेज जानुअगावै राम मन्दिर जान्छु भनेको पनि बिर्सिएँ । कलेज ड्रेस लगाउनुभएको उहाँ ‌मभन्दा अगाडि पुग्नुभयो । उहाँभन्दा अगाडि अघिका दुइटा केटी हिँडिरहेका थिए । पुरानो बानेश्वर चोक नपुग्दै, अलि वरै बत्तिसपुतली जाने सर्टकट थियो । उहाँ त्यहाँबाट सिधै माथि पुरानो बानेश्वर चोकतिर लाग्नुभयो, मैले भने दायाँतिर लागी छोटो बाटो रोजेँ । बाटो काटेपछि मोबाइल झिकेर घडी हेरेँ, ६ बजेर ११ मिनेट गइसकेको रैछ । मन्दिर जान ढिलो हुने भएकाले लुरुलुरु कलेज गएँ । त्यसपछि कलेजमा साथीहरू भेटेपछि माहोलै अर्को भइहाल्यो, अघि बाटामा देखेको व्यक्तिलाई बिर्सिएँ तर एलिसलाई बिर्सिनँ, ऊ आयो कि आएन भनेर उसको क्लासतिर आँखा घुमाएँ, क्लास कुनामा थियो ऊ । ढोकामा उभ्भिएका ५/६ जना केटाबाहेक अरूलाई देखिनँ । ५/६ जना केटामा ऊ परेन । अलि सोजै थियो ऊ । उसका केही साथीजस्तो बाहिर निस्केर गफ गर्ने, अरू सेक्सनका र म्यानेजमेन्टका केटीहरूसँग बोल्ने गर्थेन । उसलाई त मैले उसकै साथीसँग बोलेको नि कमै देखेकी छु । प्रायः ऊ चुपचाप सुन्थ्यो सबको कुरा ।

‌‌ ***

अर्को दिनदेखि अघिल्लो दिन देखेको व्यक्तिलाई याद गर्न थालेँ । उहाँलाई मैले प्रथमपटक हिजै देखेकी थिएँ । त्यस दिनदेखि घरबाट निस्कँदा भीमसेनगोला पुगेपछि पुरानो बानेश्वरसम्म हिँड्दा कहिले मभन्दा अघि-अघि र कहिले मभन्दा पछि उहाँलाई पाउँथेँ । ४/५ दिन भइसकेको थियो उहाँलाई देखेको ।

आज आइतबार थियो, मङ्गलबार र‌ बुधबार मात्रै ल्याब भएकाले न एप्रोन सम्झिएँ न प्रक्टिकल । पुलमा पुगेकी थिएँ, त्यही बाटामा देखिरहने व्यक्ति सम्झिएँ । आज त यहीँ ६:०७ भइसक्यो गइसक्नुभयो होला भन्ने सोचेँ । छिटो-छिटो पाइला लम्काएँ । आज देख्छु जस्तो लागेको थिएन । सटकर्ट नगई चोकतिरै बाट जान्छु भन्ने सोचेँ । चोकनिर पुग्नै लाग्दा बाटाको अर्को छेउमा देखेँ उहाँलाई । सेतोपुलपट्टिबाट एउटा ट्रक, ३/४ ओटा मोटरसाइकल द्रुतगतिमा आउँदै थियो । उहाँ बाटो काट्न खोजिरहनुभएको थियो । त्यसैले बाटो काटेर पारि गएँ । मोटरसाइकल हुँइकिएर अगाडि गइहाले । ट्रक चोकमा आइपुग्नुभन्दा अगाडि नै, केही नबोली मैले उहाँको हात समातेर बाटो काटेँ अनि बाटाको अर्को छेउ आयौँ । यसो गर्दा उहाँको देब्रे हातमा मेरो दाहिने हात अनि उहाँको दाहिने हातमा कालो, लामो छडी थियो, आँखामा कालै चस्मा लगाउनुभएको थियो । बत्तिसपुतली जानलाई चोकबाट सँगै दाहिने मोडियौँ अनि फेरि हात समातेर बाटो काट्यौँ । उहाँले मुस्कुराउँदै धन्यवाद भन्नुभयो । म नि थोरै मुस्कुराएरै टारिदिन्छु भनेकी थिएँ तर मुस्कानको उपस्थिति बलियो लागेन, धन्यवाद भने । “कहाँसम्म जाने हो तपाईँ” ‌मैले सोधेँ । उहाँले यही चावहिलसम्म भनेर के भन्नुभएको थियो, चावहिल, जोरपाटी गर्दै निलो माइक्रो आइपुग्यो, उहाँ त्यसैमा जानुभो । म कलेजतर्फ लागेँ । अर्को दिन ढिलो घरबाट निस्केकाले उहाँलाई देखिनँ । उहाँ ६-६:०५ सम्म पुरानो बानेश्वर पुगिसक्नुहुन्थ्यो । उहाँलाई भेट्टाउन भए पनि म घरबाट कम्तीमा ५:५० मा हिँड्नुपर्थ्यो । पर्सिपल्ट चैँ देखेँ उहाँलाई, आज त्यहीँ उकालोनिर भेट भएकाले गफ गर्ने प्रसस्त समय थियो । अस्तिजस्तो‌ हतार कसैलाई थिएन । कुराकानी आफैँले सुरु गरेँ नाम सोधेर । उताबाट उत्तर आयो – रौनक पौडेल ।

“अनि तिम्रो नि”, आफ्नो नाम भनिसकेपछि टाई मिलाउँदै सोध्नुभयो ।

– “श्रीया” सानो स्वरमा भनेँ ।

– श्रीयामात्रै ??

– हैन सुवेदी पनि हुनुहुन्छ मैले हाँस्दै उत्तर दिएँ ।

– दाइ झनै ठुलो स्वरले हाँस्नु‌भयो ।

– हाँसो सुनेर हो या किन हो अघि-पछि हिँडिरहेका ६/७ जना मानिसहरूले फर्केर हेरे । हामी भने एक अर्कामै केन्द्रित थियौँ त्यसैले ती अनुहारहरूलाई त्यति वास्ता गरेनौँ । एकछिनको मौनतलाई तोड्दै मैले नै सोधेँ कहाँ पढ्नुहुन्छ?

– पुष्पलाल मेमोरियल कलेज ।

– ए, चावहिलमा छ है ।

– अँ!

– कतिमा सोध्न मिल्छ ?

– किन नमिल्नु, bachelor 2nd year, तिमी ?

– म +2 2nd year, गोल्डेनगेट कलेज !

– “बत्तिसपुतलीमा छ है?” मलाई सोधेजस्तै गरी सोध्नुभयो । “अँ, आइसक्यो अब” भनेर हात समातेर बाटो कटाएँ । माइक्रो त्यहीँ कुरिराखेको थियो । ल जानू है त भनेँ । “बाई” माइक्रो भित्रबाट दाइको आवाज आयो । प्रतिउत्तरमा मैले बाहिरैबाट चिच्याएँ “टाटा” । कलेज पुग्दा ५:५९ भएको थियो । जानेबित्तिकै कृतिका, कृति र करिष्मालाई म अस्तिको दाइसँग बोलेको नि भन्न हतार भइसकेको थियो । त्यो दिन एलिसलाई देखिन तर आज एलिसलाई नदेखे पनि दिन राम्रो हुन्छ भनेर सोचेकी थिएँ किनकि कोही मानिसले एकाबिहानै मिठो बोलिदिन्छ भने दिन पनि त त्यस्तै केही मिठो हुन्छ होला नि ।

– त्यस दिनपश्चात् कहिलेकसो दिनकै भेट हुन्थ्यो, कहिले दिन बिराएर भेट हुन्थ्यो अनि कहिले १-२ हप्तासम्म देख्दैन थियौँ एकअर्कालाई । भेट हुँदा म आफैँ बोल्थेँ सुरुमा अनि कुराकानी आफैँ बढिहाल्थ्यो । एकचोटि भेट हुँदा सोधेकी थिएँ “तपाईँ त भीमसेनगोलाबाट एक्कासि देखिनुहुन्छ, जादु छ कि के हो । बस्ने चैँ कता हो तपाईँ ?” “शान्तिनगर” ,रौनक दाइले अनुहारमा अलिकति रौनक ल्याउँदै भन्नुभयो । “आम्मा त्यहाँदेखि एक्लै आउनुहुन्छ ?”, मैले फेरी सोधेँ । उहाँको साथमा अरू कोही भएको भए त मैले देखिहाल्थे नि । लाग्यो बेकारमा सोधेछु । मुख खुम्च्याउँदै “अँ, एक्लै” भन्नुभयो । त्यसपछि माइक्रो आइपुग्ने बेरसम्म कोही बोलेनौँ । माइक्रो चढिसकेपछि भने दाइले टाटा भन्नुभयो । मनमनै टाटा मैले भन्ने हो अरूले “बाई” भन्ने हो भनेर सोचिरहेँको थिएँ । तर केही बोलिनँ । दाइको सट्टा मैले नै “बाई” भनिदिएँ आज ।

– “हिसान” को एक्जाम आउन लागेकाले कलेज लाग्न अब दुई-चार दिन मात्र बाँकी थियो । सधैँ एउटै बाटो एकै किसिमले हिँड्न झ्याउ लाग्ने भएकाले म नयाँ-नयाँ बाटो खोज्थेँ । कहिले घरबाट छिटै निस्केर पुरानो बानेश्वरबाट बत्तिसपुतली नगई सेतोपुल हुँदै मैतीदेवी मन्दिर जान्थेँ एकछिन त्यहीँ घुम्थेँ अनि रातोपुल, गौशाला हुँदै कलेज जान्थेँ । कलेज लाग्न धेरै छैन, त्यसपछि त यसरी बिहान, हावा खाँदै, एक्लै हिँड्न नि पाइँदैन भन्ने सोचेर कहिले कुन बाटो कहिले कुन बाटो हिँड्ने भएकाले रौनक दाइले “टाटा” भनेको दिन नै हाम्रो अन्तिमपटक भेट भएको थियो ।

– दाइले “टाटा” र मैले “बाइ” नभनेको भए भेट हुन्थ्यो कि ।

– पहिले त्यति हिँड्दै जाने बानी परेकाले होला मलाई अहिले पनि कलेज छिटै आएको नराम्रो लाग्छ । कसैलाई भन्यो भने कस्तो दिमाग खुस्केकी हो भन्नसम्म बेर लगाउँदैनन् त्यसैले नभनेरै हिँडिदिन्छु । घरबाट छिटो-छिटो हिँड्दा १३ मिनेट लाग्ने कलेज पुग्न कहिले बुलबुलेबाट सिधै कलेज नगएर मङ्गलगढी, बसपार्क हुँदै कलेज हिँड्छु । त्यसो गर्दा नि ३०/४० मिनेटमा पुगिन्छ ।

– आँखाले चैँ बाटो हिँड्ने व्यक्तिलाई पछ्याउन अझै छोडेको छैन । ठुला मानिससँग त बोल्दिनँ तर प्रायःजसो देखिरहने साना-साना नानीबाबुले चैँ श्रीया दिदी भनेर चिन्न थालिसकेका छन् । बाटामा हिँड्दा कोही आफूभन्दा ठुलो व्यक्ति कलेज ड्रेसमा देख्दा रौनक दाइको सम्झना आउँछ । अब त उहाँ पनि final year पुगिसक्नुभो । पुरानो बानेश्वरतिर नभेटिए नि नयाँ बानेश्वर, शान्तिनगरतिर देख्दा मैले बोलाएँ भने मलाई चिन्नुहोला कि नाइँ? जस्तो लाग्छ । हुन त बाटामा तीन-चार दिन भेटिएर बोलेकालाई कसले पो याद गर्ला? तर कहिले एक्लै बस्दा अनि एक्लै हिँड्दा सोच्ने गर्छु, रौनक, एलिस, ती भाइबहिनी गौण पात्र हुन जसको हुनु र नहुनुले मलाई कत्ति फरक पर्दैन तर उनीहरू भइदिएर चुपचाप हिँडिरहँदा म मुसुक्क मुस्कुराएकी छु । एलिसलाई सम्झेर एक्लै मुस्कुराएकी छु । नानीबाबु भेट्दा उनीहरूसँगै हाँसेको छु, लुकामारी खेलेकी छु । आखिर यस्तै साना-साना कुराले हैन र खुसी दिने ? जुन कुरा नभइदिएको भए पनि केही फरक पर्ने थिएन, त्यही कुरा भएर मैले जीवन खुलेर बाँच्न सिकेकी छु । अहिले Niharika को छुट्टै संसार छ Kareeshma को छुट्टै । कृति इन्जिनियरिङमा रमाइरहेकी छे र कृतिका कृषिमा । कलेजको दुई वर्ष मात्रै उनीहरू कहिलेकसो कलेज नआइदिँदा खल्लो महसुस हुन्थ्यो । त्यसपछि अहिले ?? अहिले Kriti, Kritika कलेज नजानुले मलाई फरक पर्दैन किनभने हाम्रो कलेज नै भिन्दाभिन्दै छ, एलिस कलेज आउँछ कि आउँदैन भनेर पनि सोच्न भ्याउँदिनँ । बरु एलिसजस्तै गरी हाँस्ने अर्को दाइ हुनुहुन्छ त्यो दाइलाई पो देख्छु कि देख्दिनँ भनेर सोच्ने गर्छु । त्यो दाइलाई मन पराउने हैन केवल हाँसो मन पर्ने हो त्यही पनि झुक्केर देख्दा पनि कति खुसी लाग्ने । कसैको हाँसोले, कसैको बोलीले, कसैको कुराले कति अल्झाउँछ नि है हामीलाई, त्यही अल्झन पनि त कति प्रिय लाग्छ । यति विशाल संसारमा देख्छौँ लाखौँलाई, बोल्छौ हजारौँसँग, बुझ्छन् कमैले अनि बाँच्छौँ आफैँसँग । अलिअलि बुझ्ने भइसकेपछि खैलौना मन पर्थ्यो, त्यसपछि खानेकुरा । १७/१८ तिर पुग्दा एउटा केटा असाध्यै मन पर्थ्यो अनि त्यसपछि केटाभन्दा बेसी मलाई “म” नै मन पर्न थालेको थियो । अब भने मलाई जिन्दगी मन पर्दै छ । भर्खर भर्खर हो जिन्दगीसँग मायाँ बसेको, जिन्दगीसँगको मायाँले ‘म’ सँगको मेरो सम्बन्ध झनै प्रगाढ बनाएको छ । म सबैभन्दा धेरै आफूलाई मायाँ गर्ने भएकी छु ।

– बेलाबेलामा सोचेजस्तो नभइदिँदा दिग्दार लागे पनि, आफ्ना चाहना सबै पूरा नभए पनि अनपेक्षित घटना घटे पनि कसैले कस्तो छ तिमीलाई भनेर सोधिदिँदा एकैछिनका लागि भए पनि सबै बिर्सन्छौँ नि हामी । अघिको उदास मन कता हराउँछ कता । अनि खुसी भइरहेका बेला कसैले केही नराम्रो सुनायो भने त्यति नै छिटो दुःखी पनि त हुन्छौँ नि । मान्छेलाई हसाउन र रुवाउन गाह्रो छ तर आफ्नै अनेक सोचले सबैभन्दा सजिलो पनि दुःखी हुन र खुसी हुन नै छ । जिन्दगीको केही सूत्र हुने भए सबैभन्दा गाह्रो सूत्र तिनै हुन्थे होलान् । अन्तरिक्ष‌, महासागर यिनीहरूभन्दा नि जीवन बढी रहस्यमयी छ जसले गर्दा म आफू जिउँदै छु र यहाँ भएका अनेक देख्न, सुन्न, भोग्न, महसुस गर्न पाइरहेकी छु भनेर असीमित खुसी छु । जसका कारणले यति मिठो जीवन पाएकी छु, उहाँहरूप्रति सत् सत् कृतज्ञता ।