
सिक्किमप्रति हृदयमा एक अनौठो अनुराग थियो । पूर्वोत्तर भारतको एक सुन्दर राज्य जहाँ ८०% भन्दा बढी नेपाली जातिहरु बसोबास गर्दछन् । त्यहाँ नेपाली भाषा संस्कृतिको बाहुल्यता छ । त्यहाँको राज्यसत्तामा पनि नेपाली जातिकै नेतृत्व, प्रभाव र पकड रहेको छ । नेपाली मूलका पवन चाम्लिङ त्यहाँको मुख्यमन्त्री बनेपछि त्यस राज्यले सर्वाङ्गीण क्षेत्रमा हासिल गरेको चामत्कारिक विकास विभिन्न मिडियाहरुमा चर्चा भइआएको सुनेको हुँ, पढेको हुँ । त्यसलाई प्रत्यक्षरुपमा अवलोकन गर्ने लालसा भित्र कतै जीवन्त थियो । तँ चिता म पुर्याउँछु भने झैँ गुरु ज्ञान साहिल र जीवन मेहमानले सिक्किम यात्राको टिममा सामेल गर्नुभएको खबर पाएँ ।
म सिक्किमलाई आँखाभरि भरि पिउँन चाहन्थे । नजिकबाट यसको सुगन्ध नासापुटमा लिन चाहन्थे । २०६९ साल चैत १५ गते बिहान ४ः३० बजेको गाडी समातेर लाहान पुगेँ । मलाई सफ्टेक कलेजमा आइपुग्नू भनेर सम्पर्क स्थल तोकिएको थियो । लाहान ओर्लेपछि सार्वजनिक शौचालयमा दिशापिसाव विसर्जन गरेँ । त्यसपछि सफ्टेक कलेजको प्राङ्गणमा पुगेँ । यात्रा दलका साथीहरुको जमघट चल्दै थियो । ६ः३० बजे सम्ममा सबैजना जुटियो । र, ६ः४० बजे सिक्किमतर्फ हान्नियौँ ।
एउटा कारमा गुरु ज्ञान साहिल, समाधि माँ, जीवन मेहमान र ओमकार अग्रवाल चढ्नु भयो भने अर्को कारमा म, लाहानका पूर्व मेयर मुन्नी साह र डा. महादेव साहका दम्पत्ति हुनुहुन्थ्यो । महुली पुगेर हल्का नास्ता गरियो । त्यसपछि तूफानी वेगमा साढे दश बजे धुलावारी आइपुगियो । विकासजीको घरमा खाना खाएर बिलम्व नगरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्यौँ ।
धुलाबारीबाट गुरु ज्ञान हासिल हाम्रो गाडीमा रहनुभयो । बाटोभरि डाक्टर महादेव साह र ज्ञान साहिलका मुखबाट अनेकन रोचक ज्ञानगुनका अनुभवहरु सुन्ने अवसर मिल्यो । लोभी मान्छेका अनेकन किस्साहरु उहाँहरुले सुनाउनु भयो । डाक्टर सापले एक लोभी मान्छेको वणर्न गरे । एउटा लोभी मान्छेसित उसको छोराले होलीमा रङ खेल्नको लागि रु. चालीस रुपैयाँ मागेछ । बाबुले छोरालाई हकार्यो- चालीस चालीस रुपैयाँ पर्ने रङ खेलेर काहीँ होली मनाउने हो ? फेरि त्यत्रो पैसा हालेको रङ अरुलाई छ्यापेर बर्बाद पार्ने हो ? ल यो पाँच रुपैयाको रङ किन् र आफैँलाई दलेर मना । होली पनि किफायती तरिकाले पो खेल्नुपर्छ त ।

पुण्य कार्की
ज्ञान साहिल गुरुले हाम्रै यात्रा दलका मित्र ओमकार माखाडीको कहानी सुनाउनु भयो । एकचोटि काठमाडौँमा ओमकारजी बल्डप्रेसर जचाउँन डाक्टरकोमा जानु भएछ । विमारीको लाइन थियो । लाइनमै उभिनु भयो । नाम लेखाउने ठाउँमा पुग्दा रु.५००। जाँच फी मागेछ । मनमनै हिसाब गर्नुभयो । दुई सय पचास भाडा तिर्यो भने लाहान पुगिन्छ । त्यहाँको चिनेको डाक्टरले सित्तैमा जाँची दिन्छ; बाँकी दुई सय पचासले त काठमाडौँ फर्किन भाडा पुग्छ । उनी जचाउँने लाइनबाट सुट्ट निस्केर झोला टिपेर लाहान आएछन् ।
अर्को लोभी मानिसको पनि कुरा चल्यो । ऊ चाहिँ दुई महिना देखि हर्पेको घिउ सुँघ्दै भात खाँदै गरेको प्रसंग कम रोचक थिएन । हाँस, परिहास र मनोविनोदी गफको सिलसिलामा यात्रा सुगम मात्रै भएन, बाटो काटेको पत्तै भएन । काँकडभित्ता, पानीट्यांकी, नक्सलवारी, सिलगुडी, सोमोक हुँदै सिक्किम प्रवेश आनन्द आनन्दका वीच भयो ।
सिक्किमको मल्लिमा पुगेर चिया पियौँ । चिया पसले तामाङ दाइका बाउबाजे नेपालकै सिन्धुपाल्चोकबाट आएका रहेछन् । सिक्किम प्रहरीको सईबाट रिटायर भएर पसल सुरु गरेका रहेछन् । मासिक अठार हजार पेन्सन थाप्ता रहेछन् । उनको फरासिलो स्वभावले हामी सवैलाई प्रभावित गरे । उनीसित त्यहाँको स्थानीय परिवेशको बारेमा केही जानकारी लिएँ । हामीसित लामो समय थिएन । गन्तव्यमा पुग्न अझै लामो यात्रा बाँकी थियो ।
विकट उकालीको पहाडी गाउँमा प्रत्येक ठाउँ मोटरबाटो पुगेको रहेछ । नागवेली पहाड छिचोल्दै हामी उच्च पहाडी चुचुरातिर अनवरत उक्लिरहेका थियौँ । डा. महादेव साहको युरोप अनुभूतिलाई कानभरि पिइरहेको थिए । रुसबाट पिएचडी हासिल गरेका यो वौद्धिक प्रतिभा लामो समय रुस र युरोपमा रमण गर्यो । आखिरमा आफ्नो मातृभूमिमा केही गर्नुपर्छ भन्ने हुटहुटीले त्यहाँको शान र सुविधाको जीवन चटक्क त्यागेर नेपाल फर्के ।
उनले भने-“पुण्यजी ! मैले नेपाल फर्किदा बाइस वाक्सा किताव ल्याएको थिएँ । मैले रुसबाट यत्रो किताब ल्याएको देखेर एअरपोर्टका कर्मचारी पनि खुसी भएका थिए । त्यतिखेरको रुसमा हिरामोती अत्यन्त सस्तो थियो । किताबको सट्टा हिरामोति ल्याएको भए, अहिले यहाँ करौडाैँ हुने रहेछ । रुस अत्यन्त ठण्डा मुलुक त्यहाँ रहुन्जेल गाईको मासु यति खाइयो, गंगास्नानमा गएको बेला सोह्रचोटि डुवुल्की लाइदिएँ । कारण मैले करिव सोह्रवटा जति गाई खाएँ होला । गाईको मासुमा यस्तो शक्ति रहेछ । गर्मी प्रदेशका मान्छेले खाँदा शरीरलाई शितल र ठण्डा राखिदिन्छ । जाडो प्रदेशका मान्छेले खाँदा गर्मी र तापमान बढाइदिन्छ । त्यसैले अरबका मान्छेको लागि पनि यो अनुकूल छ, अति ठण्डा युरोपको लागि पनि अनुकूल छ । अरु कुनै पनि जनावरको मासुमा त्यस किसिमको गुणधर्म हुँदैन । साइवेरियादेखि अरबको तातो मरुभूमिसम्मलाई यसले फाइदा गर्छ ।”
हामी रातको आठ बजेतिर सिक्किमको चेम्चे भन्ने ठाउँमा आइपुग्यौँ । त्यहाँको जोङसोङ होस्टेलको भोजनालयमा खानपिन गरेर होस्टेल नं. १ को बोइज डोरमेट्रीमा विश्राम गरेँ । हामीले पाँच दिनको लागि छुट्टाछुट्टै रुम लिएका छौँ । करिब १२/१५ घण्टाको मैदानी र पहाडी यात्राले शरीर निकै थिलथिलो बनेको थियो । ९ः३० बजे निद्रादेवीको शरणमा पुगेँ ।
भोलिपल्ट २०६९ चैत १६ गते ५ बजे जागरणमा आइयो । स्नान गरें । सक्रिय ध्यानमा सहभागी बनेँ । नास्ता सेवनपछि नाम्ची प्रस्थान गरियो । नाम्चीमा रहेको सिद्धेश्वर धामको अवलोकन हाम्रो पहिलो प्राथमिकता थियो । धार्मिक पर्यटनको एक अद्भुत रचना थियो यो थलो । पहाडी शिखरमा एकै ठाउँमा हिन्दूका चार धामका धार्मिक मठ मन्दिरको रचना आफैँमा अनुपम थियो । जगन्नाथ धाम, बद्रीनाथ धाम, द्वारका धाम र रामेश्वरम् धामका मन्दिरहरुको स्थापना, देवीदेवताहरुका मूर्तीहरुको स्थापना र वाह्र ज्योतिर्लिङ्गको स्थापना, सिक्किम सरकारको धार्मिक पर्यटनको क्षेत्रमा गरिएका कार्य कोशेढुंगा सरहका कार्य थिए ।
यहाँको प्रमुख आकर्षण नै १०८ फीटको शिवको मूर्ति थियो । वर्षैभरि यो ठाउँमा लाखौँ पर्यटक आउँदा रहेछन् । सिक्किमको विकास र समृद्धिमा यस्ता मानव निर्मित तीर्थहरुको ठूलो भूमिका रहेछ । नेपालीहरुको शान र समृद्धिसहितको जीवन देख्ता मनमा लागिरह्यो; विशाल सम्भावना बोकेका हाम्रा पहाडी कन्दराहरुमा यस खालका भौतिक संरचनाको विकास गर्न पाए, देश कति सुन्दर हुने थियो होला । जनताको जीवनस्तर कति माथि उठ्थ्यो होला ।
नाम्चीको चारधाम सिद्देश्वर धाम घुमेर दिउँसो दुई बजे चेम्चे फिर्ता भयाैँ । दिउँसोको खाना पछि विश्राम गरियो । चार बजे पछि कुण्डलिपी मेडिटेशनको प्रयोग भयो । त्यसपछि राति नृत्य, ध्यान, प्रवचन चल्यो । बुद्धले भने- वासना दुष्पुर छ । उपनिषद्ले भन्यो- त्येन त्येक्तन भुँजिथा अर्थात् जसले भोग्छ त्यसले त्याग्छ । ओशोले भने -न त्याग न भोग बरु जाग । जागरणको लागि ओशोले दिएको देशना अति मन पर्छ ।
यात्रामा जीवनलाई एक परीक्षणको रुपमा, एक निरीक्षणको रुपमा, एक जागरणको रुपमा हेर्ने गर्छु । मान्छेले त फूल जस्तै फक्रिएर सुगन्ध बाँड्नु पर्ने हो, तर कक्रिएर गैराखेको छ । मेघ जस्तै निर्झर वर्षात् गर्नुपर्ने हो मान्छेले । तर पानी नछाडी फुको गर्जन गरिरहेको छ । दियो बनेर ज्योति छर्नुपर्ने हो मान्छेले । तर आफैँ घोर अन्धकारमा रुमल्लिरहेको छ ।
२०६९ चैत १७ गते बिहानको नित्यकर्म पछि नास्ता खाइयो । आज रावाङ्गलाको बुद्धपार्क हेर्न जाने योजना थियो । बाैद्धमार्गीको लागि अर्को अद्भुत मानव सृजना थियो । दक्षिणी सिक्किममा अवस्थित यो संरचनाको उद्घाटन भर्खरै दलाई लामाद्वारा भएको रहेछ । सन २००६ देखि निर्माण सुरु गरेर यही २०१३मा पूरा गरिएको रहेछ । १३० फीट उचाइको विशाल बुद्ध प्रतिमाले सारा बुद्धका अनुयायीहरुलाई आकर्षण गरिरहेको थियो । केही समय रावाङ्गला बजार घुमियो । दिउँसो पुनः चेम्चे फर्कियौँ । भोजनपछि विश्राम गरियो । बेलुकीबाट एक्कासी ज्वरो आयो । हावापानीको तालमेल नमिलेर या कुन कारणले हनहनी ज्वरो आयो । सिक्किमे मित्रले औषधी खुवाउनु भयो । बेलुकी तातोपानी र रोटीमात्र खाएँ ।
भोलिपल्ट १८ गते ज्वरो कम भए पनि घाँटी दुखिरह्यो । विहान नुहाउन सकिन । यस ठाउँमा अत्यधिक चिसो पानी छ । सक्रिय मेडिटेशन सहभागी हुन नसकेपनि साइलेन्ट सिटिङमा रहेँ । चिया पनि पिइनँ । तातो पानीमात्र सेवन गरेँ । प्रकृति दर्शनको लागि साया साकु माम्खीम किराँत मन्दिर गएँ । सिक्किममा राई बन्धुहरुसित कुराकानी गरेँ । आफू पनि उदयपुरको किराँती गाउँमा जन्मी हुर्की गरेकोले किराँतीहरुको धर्मसंस्कृतिप्रति धेरथोर जानकार छु । त्यहाँका किराँतीहरुको आफ्नो आफ्नो मन्दिर रहेछ त्यो । सिक्किमभरिका किराँतीहरु यहाँ दर्शन र पूजाको लागि आउँदा रहेछन् । तर, जति किराँती भेटेँ- अत्यन्त समृद्ध, शिक्षित र विनयशील स्वभावका मान्छेसित आफ्नै नेपाली भाषामा कुराकानी गर्न पाउँदा मेरो छाती गौरवले ढप्प फुल्यो ।
जति सिक्किमेसित भेट भयो । शान्त, सरल, भद्र, निष्कपट, स्वच्छ मनको दर्शन मिल्यो । यसले गर्दा सिक्किमे नेपालीप्रति अपार आदर भाव उम्लेर आयो । भोलिपल्ट आफ्नो मुलुक फर्किनु थियो । त्यस रात सिक्किमे मित्रहरुसित धेरै कुराकानी गरेँ । समग्र सिक्किमको सामाजिक व्यवस्था, त्यहाँको जनजीवन, राज्यले जनताको लागि गरेका कामहरु बुझ्न चाहन्थेँ । साथीहरुसित त्यसै विषयमा अनेकन जिज्ञासा राखेँ । उनीहरुले मेरा धेरै खुलदुलीको गाँठो फुकाइदिए ।
सिक्किम सानो छ तर आफैँमा विराट छ । यहाँको जनसङ्ख्या साढे ६ लाखको हाराहारीमा छ । सम्पूर्ण सिक्किमलाई चारवटा जिल्लामा विभाजन गरिएको रहेछ । पूर्वी सिक्किम, पश्चिम सिक्किम, उत्तरी सिक्किम र दक्षिण सिक्किमका मुख्यालयहरु गान्टोक, गेजिङ मगन र नाम्ची रहेछ । ८०% नेपाली भोटे लेप्चा रहेछन् । पाँच सात प्रतिशत बिहारी कैँया रहेछन् । एक्काइस वर्षदेखि त्यहाँ पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले शासन गरेको रहेछ । नेपाली मुलका चाम्लिङ सर्वाधिक लामो समय मुख्यमन्त्री भएपछि निम्न वर्गको आर्थिक, सामाजिक, शैक्षिक स्तरलाई माथि उठाउनका लागि ज्यादै राम्रा कामपनि भएका रहेछन् ।
६० वर्ष माथिका बूढाबूढीहरुले मासिक ६ सय आइसी बृद्ध भत्ता पाउँदा रहेछन् । गरिबीका रेखामुनि रहेका जनतालाई चार रुपैयाँ किलोमा प्रति महिना ३५ के.जि. चामल प्रदान गरिएको रहेछ । मुख्यमन्त्री अन्नदान योजना अन्तर्गत अत्यन्त गरिब परिवारलाई ५० किलो चामल निःशुल्क बाँडिदो रहेछ । शिक्षा क्षेत्रमा पनि ठूलो सुधार गरिएको रहेछ । कक्षा १-५ का नानीहरुलाई दिवा भोजनको सुविधा स्कुलमै व्यवस्था गरिएको रहेछ । सरकारी स्कुलमा कक्षा १ – १२ का नानीहरुलाई निःशुल्क पाठ्यपुस्तक, ड्रेससहितका निःशुल्क शिक्षाको प्रबन्ध असाध्यै मन पर्यो । प्रा.वि. का शिक्षकको तलब रु. ३२,०००। र मा.वि. शिक्षकको ४० देखि ४२ हजारसम्म तलवमान रहेछ । मुख्यमन्त्री मेधावी छात्रवृत्तिअन्तर्गत उत्कृष्ट अङ्क ल्याएर पाचौँ श्रेणीमा सफल हुने विद्यार्थीलाई देशकै उत्कृष्ट निजी स्कुलमा पढाइ दिने व्यवस्था रहेछ ।
झुपडी मुक्त योजना अन्र्तगत प्रत्येक गरिव परिवारलाई एकतले चारकोठे पक्की घर राज्यले नै बनाइदिँदो रहेछ । परिवारको एक जनाले नोकरी पाउनैपर्ने व्यवस्था गरिएको रहेछ । सरकारले निःशुल्क रुपमा ग्रिन हाउस बाँडेर बेमौसमी तरकारी खेती, फूलखेतीलाई प्रोत्साहन गरेको रहेछ । निःशुल्क विउ विजन वितरण देखि कृषि क्षेत्रमा, जैविक राज्य बनाउने योजनामा साथ द्रुतगतिमा काम थलिएको रहेछ ।
आर्थिक खेतीलाई प्रोत्साहन गर्दै सिंगो सिक्किमलाई नै अर्गानिक राज्य बनाउन चालिएका कदम नेपालको लागि पनि अनुकरण योग्य छन् । नेपाली भाषा साहित्यको विकास र प्रवद्र्धनको निम्ति पनि महत्वपूणर् काम भएको रहेछ । एक त कक्षा १ देखि नै नेपाली भाषाको पठनपाठनको व्यवस्था रहेछ । प्रत्येक सरकारी कार्यालयमा नेपाली जातिकै कर्मचारी रहेछन् । सरकारी मिडिया अन्तर्गत टेलिभिजन चाहिँ रहेनछन् । टक सिक्किम नामको पत्रिका रहेछ । दुई सय भन्दा बढी नेपाली साहित्यका कृतिहरु निकालिएको रहेछ । पारिजात, अगमसिंह गिरी, इन्द्रबहादुर राई लगायतका स्रष्टाहरुका रचनाका अनेकौँ भोलुम छापिएको रहेछ । त्यहाँका चर्चित साहित्यकारहरुमा केदार गुरुङ, सानु लामा, सानोभाइ शर्मा, प्रविन राई, धन निर्दोष आदि आदिको नमा सुन्न पाइयो ।
सिक्किमलाई फूल र पुतलीको देश भन्दा फरक पर्दैन । ग्रिन हाउसमा पनि व्यापक रुपमा फूलको खेती गरिँदो रहेछ । एक गमलाको तीस हजारसम्म पर्दोरहेछ । संसारका तीन हजार प्रजातिका पुतली सिक्किम मै छन् अरे । सात सय प्रजातिको गुराँस छन् अरे । यहाँको फूल अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गरिँदो रहेछ । रेडपाण्डा राज्यको राजकीय प्राणी रहेछ ।
१९७५ सम्म स्वतन्त्र देशको रुपमा रहेको सिक्किम, सोही साल भारतमा गाभिएको थियो । प्रगतिपथमा दू्रततर गतिमा अगाडि लम्किरहेको छ । यसको उत्तरी सीमा चीनसित जोडिएको छ । जसलाई नाथुला नाका भनिन्छ । पहिले एकचोटि राजाकै पालामा खोलिएको रहेछ । फेरि पवन चाम्लिङ मुख्यमन्त्री भएपछि चालु गरिएको रहेछ । सिक्किमको दक्षिणी पाटोमा रहेको नाम्ची र चेम्चेका सीमित भू-भाग डुलेर त्यहाँका मित्रहरुसित संवाद गरेर थाहा पाइएका जानकारी हुन् यी ।
हाम्रो फर्किने दिन आइसकेको थियो । सिक्किमको राजधानी ग्यान्टोकसम्म पुग्ने योजना समेत थाती राखेर हामी भोलिपल्ट विहानै त्यहाँबाट विदा भयौँ र दिउँसोको खाना खान सिलीगुडीमा डा. मुरारकाको घरमा पसियो । त्यसैदिन राति आरामले घर आइपुगियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

