साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

सानै उमेरमा आमा बनेकी अनुशाकाे अनुभूति : बच्चाले बच्चो पाउने भयो

बिहे गर्दा  म भर्खर स्नातक प्रथम वर्षमा अध्ययन गर्दै थिए । ४/५ महिनाको बिचमा भएको सामान्य बोलचालकै आधारमा हामीले विवाह गर्ने निर्णय लियौँ, १८ वर्षकी मात्र थिएँ म ।

ratna book ads

वि.सं. २०७३ सालमा बिहे गर्दा  म भर्खर स्नातक प्रथम वर्षमा अध्ययन गर्दै थिए । ४/५ महिनाको बिचमा भएको सामान्य बोलचालकै आधारमा हामीले विवाह गर्ने निर्णय लियौँ, १८ वर्षकी मात्र थिएँ म । उमेर पनि सानै र पढाइ पनि भर्खर सुरु भको थियो, श्रीमान् बुझ्ने हुनुहुन्थ्यो । हाम्रो समाजका विशेष गरी महिलाहरू नै विवाहपछि बच्चा जन्माइहाल्न पर्ने अथवा नजन्माए  किन जन्माएनन् भनेर कुरा काट्ने प्रवृत्तिका हुन्छन्, यस्तै-यस्तै आफन्तहरू  हाम्रा पनि थिए । हामीले बच्चाबारे कुनै योजना बनाएको थिएनौँ । मेरो श्रीमान् एकदमै सपोर्टिभ र बुझ्ने भएकाले मेरो पढाइप्रति उहाँको एकदमै  चासो   थियो । बिहे भएको १ महिनापछि महिनावारी रोकियो । डर ज्यादा थियो, त्यही नि मनमनै होइन होला, नहोस् पनि अहिले भन्ने सङ्कल्प गर्थे । नभन्दै १ हप्तापछि प्रेग्नेन्सी किट ल्याएर चेक गर्दा थाहा भयो । मेरो कोखमा अर्को एउटा नयाँ जीवन हुर्कँदै छ ।

छोरा मान्छेमा सन्तानप्रतिको मोह गज्जबको हुने रहेछ । त्यस बेला मेरो श्रीमान्‌को अनुहारमा छाएको खुसी देख्दा मलाई अनौठो लाग्थ्यो । बाहिर देख्दा उहाँको खुसीमा सामेल थिए । मन भने भित्रभित्रै पोलिराथ्यो, अझै पनि होइन झैँ लाग्थ्यो । फेरि पनि ५ दिनपछि मेडिकल गएर चेक गऱ्यौँ । साँच्चिकै हो रहेछ, म आमा बन्दै छु । मभित्र केही सासले बास गरेको आभास भयो । माइतीपट्टिको कोही आफन्त देख्नेबित्तिकै आँखा रसाउँथ्यो । घरमा सबै जना खुसी हुनुहुन्थ्यो । श्रीमान्‌ बाहिर बस्ने भएकाले विवाह गर्न मात्र आउनुभाथ्यो तर उहाँले त्यसपछि बच्चा नजन्मे नजाने निर्णय गर्नुभयो । बिस्तारै-बिस्तारै सबैको खुसीमा म पनि भुल्लिन थालेँ । किन चाँडो बिहे गरेको भन्ने प्रश्न धेरै आउँथ्यो । अब चाँडै बच्चा जन्माएको भनेर अरूले के भन्लान्  भन्ने पिर मनना सधैँ हुन्थ्यो । म आमा बन्दै छु, के म सक्षम छु त, एउटा सन्तानप्रतिको जिम्मेवारी उठाउन सक्छु होला त म, साथीहरूले के भन्लान्, यस्तै-यस्तै कुरा मनमा आउँथ्यो ।

सुरुमा अनौठो डरले डेरा जमाए पनि त्योभन्दा धेरै मातृत्वको सुखानुभूति गर्न पाउने कुरामा एकदमै हर्षित हुन थालेकी थिएँ । बच्चा पेटमा रहेको ३ महिनासम्म मलाई एकदमै गाह्रो भयो । शरीर पूरै शिथिल हुने, मर्निङ सिकनेस र मसलाहरूको बास्नै मन नपर्ने हुन्थ्यो । खाना केही नरुच्ने, बोमिट मात्र हुने, किचेनमा जान सक्दिनथेँ । त्यो समयमा श्रीमान्‌बाट पाएको साथ, मायाँ र केयरले पीडाहरू भुलाउँथ्यो । सबैले सानै छिन् भन्नुहुन्थ्यो । सबैको मायाँ पाएकी थिएँ । त्यो समयमा मलाई गरेको ख्याल र हरेक पल मेरै साथ रहँदा मेरो श्रीमान्‌लाई झन् नजिकबाट चिन्न पाएकी थिएँ । हाम्रो मायाँका लहराहरू झन् बेरिँदै गएका थिए । सुरु-सुरुमा १/२ हप्तासम्म क्याम्पस पुऱ्याउन र लिन आउनुहुन्थ्यो । केही पकाको बास्नै मनन पर्ने, हरेक कुरा अमन हुने । त्यसैले ब्यागमा कागती बोकेर जान्थेँ, बोमिट हुन खोजे कागती चुस्थेँ । टाउको दुख्ने, रिँगटा लाग्ने, बोमिट हुने जति बेलै । त्यसैले क्याम्पस जान नै छोडिदिएँ । लाग्थ्यो म कुनै युद्ध लड्दै छु । त्यो बेला मनमा अनेक तरहका तर्कवितर्कहरू आइराख्थे । तर म सृष्टिले महिलालाई बच्चा जन्माउने वरदान दिएकोमा भाग्यशाली हुँ भन्ने ठान्थेँ । त्यस्तै उहाँ पनि भन्नुहुन्थ्यो, एउटी नारी आमा बनेपछि र एउटा पुरुष बुबा बनेपछि मात्र अर्थपूर्ण जिन्दगी हुन्छ । हामी दुवै जना पूर्ण हुनेछौँ । खुसी लाग्थ्यो, त्यसैले मैले सङ्घर्ष गर्नैपर्छ भनेर मनमनै दृढ सङ्कल्प गरेँ ।

अनुस्कृतिका साथमा अनुशा घिमिरे

जब पेटमा बच्चा ५ महिनाको भयो, त्यसपछि अलिअलि गर्दै खानाहरू रुच्न थाल्यो । भोक लागेको महसुस हुन्थ्यो । कमजोरीहरू हराउँदै गए । पेटमा बच्चा चलेको आभास हुन्थ्यो । ती पलहरू धेरै रमाइला थिए । एउटी नारी साँच्चिकै गर्भवती हुँदा जति मायाँ अरू बेला पाउँदिन सायद । सबैले धेरै मायाँ गर्नुहुन्थ्यो । आफूले आफूलाई भाग्यमानी सम्झन्थेँ । बिट मार्न लागेको मेरो पढाइलाई श्रीमान्‌कै सपोर्टले गर्दा फेरि सुरु गरेँ । पेटमा बच्चा ७ महिनाको हुँदा मेरो प्रथम वर्षको परीक्षा हुने भयो । परीक्षासेन्टर टाढा धरान परेकाले मलाई केही गाह्रो भएको थियो । बाइकमा आउन र जान कच्ची बाटो उफार्ने हुँदा २०/२२ दिनका लागि मैले दादाको कोठामा बस्नुपर्ने भयो । घर र कोठामा धेरै कुरामा फरक पर्छ नै, उठ्नेबित्तिकै हरेक दिन बोमिट, साबुन स्याम्फुको स्मेलले रिँगटा लाग्ने, किचेनमा बसेर केही खानै नसक्ने, हरेक कुरामा अमन भएको थियो । त्यही पनि त्यसबिचमा दादाको र मेरो नै परीक्षा परेकाले म्यानेज गरेर बसियो । खुट्टा सुन्निएर डरलाग्दा भएका थिए । सुनेको थिएँ प्रेग्नेन्सीमा सुन्निनु जटिल हो भन्ने तर पनि नहडबढाई मेरो परीक्षा सबै पूरा गरेँ । श्रीमान्‌ बिच-बिचमा भेट्न आइराख्नुहुन्थ्यो । धेरैले भन्थे गर्भवती अवस्थामा आराम गर्नुपर्ने भनेर, तर म बच्चा पेटमा आएदेखि क्याम्पस, घर, परीक्षा र अन्य कामहरू परिराख्नाले बाहिर हिँडिराख्थेँ । कोठामै बस्ने वरिपरिका अरूले भन्थे, “बच्चाले बच्चो पाउने भयो अब, पेटमा बच्चा हुँदा आमाले यसरी पढेकी छ, बच्चा त जान्ने हुन्छ होला” भन्दै जिस्काउँथे । महेन्द्र कलेजमा परीक्षा हुन्थ्यो । हिँड्दै जान्थेँ, दूरी थोरै भए पनि अलिकति  हिँडेपछि थाकिहाल्थेँ । लाज उति नै लाग्थ्यो, साथीहरूको अगाडि पर्न कति अप्ठ्यारो लाग्थ्यो । त्यो भदौ महिना, तराईको गर्मी, बच्चा पेटमा आएदेखि नै टाउको दुख्ने सधैँजसो हुन्थ्यो । समग्रमा धेरै नै गाह्रो भयो ।

८ महिना लाग्यो । चाडबाडको समय दसैँतिहार, उल्लासले भरिएका ती दिनहरू, एकअर्कामा हराउँदै धेरै सपनाहरू बुन्थ्यौँ । नेपालमा धेरैजसो श्रीमान्‌हरू वैदेशिक रोजगारीमा जाने भएकाले धेरै महिलाहरू आफ्नो प्रेग्नेन्सीमा श्रीमान्‌को मायाँ र साथको अभावमा यो  सुनौलो  समय बिताउने धेरै छन् । जसमा म नपर्ने एउटी भाग्यमानी नारी सम्झन्थेँ । आफूलाई मायाँ गर्ने मान्छे साथमा हुँदा आधा दुःख र पीडा यसै हराउने रहेछ । केही काम गर्न दिनु हुन्थेन, साना-साना कुरामा सहयोग अनि म र मेरो पेटमा रहेको त्यो हाम्रो अदृश्य सन्तानप्रतिको उहाँको लगाव, ख्याल अचम्मकै थियो । वी.पी. क्याम्प धरान जचाउन जान्थ्यौ । कसैको क्युट सानो बच्चा देख्दा मलाई हेरेर मुस्कुराउँदै भन्नुहुन्थ्यो, हाम्रो फ्युचर । मलाई छोरो मन पर्ने उहाँलाई छोरी, कोही साथीको छोरी देख्दा फलानाको जस्तै छोरी छ यहाँ भन्दै पेटमा छाम्नुहुन्थ्यो । साँच्चिकै ती हरेक पलहरू कति  सुनौला थिए ।

अन्ततः ९ महिनादेखि मेरो कोखमा प्रभुत्व जमाउँदै आफ्नै संसारमा रमाइरहेको मानव जातको भ्रूण गन्तव्यमा आउन बाटो तय गर्दै थियो । मङ्सिर ५ गतेको डेट दिएको थियो । अन्तिम चेकअपपछि रुघाखोकीले ग्रस्त पार्न थाल्यो । औषधि केही नलिई ५/६ दिनमा बल्ल ठिक भयो । राति सुत्न सक्दिनथेँ, सास फेर्न गाह्रो, उठेर बस्थेँ, कोल्टे परेर सुत्दा ढाड अररिन्थ्यो, खुट्टा बाउँडिन्थ्यो, अनेक-अनेक हुन्थ्यो । कार्तिक २८ गते साँझदेखि पेटमा बच्चा नचलेझैँ लाग्न थाल्यो, खाना खाएर सुत्न लाग्दा श्रीमान्‌लाई सुनाएँ । “याद गर्दै गर है” भन्नुभो, १० बजेसम्म ननिदाई बसियो । राति १ बजे ब्युझिँदा कपडा सबै भिजेको थाहा पाएँ र उहाँलाई भनेँ, कतै केही दुखेको महसुस थिएन । तर पनि हामी तयार भएर सासुआमा, म र श्रीमान्‌ वी.पी. क्याम्प धरान गयौँ । बिहान ४ बजे  पुग्दासम्म पनि पेट दुख्ने केही थिएन । मैले नर्मल डेलिभरीको चाहना गरेकी थिएँ । एकछिन दुखाइ भए पनि पछि सुखद हुन्छ भन्ने कुरा धेरैले भनेको सुनेकी थिएँ । क्याम्प गेटमा पुग्दा मनमनै भगवान् पुकारेँ, मेरो नर्मल डेलिभरी होस् भन्दै । मलाई छिटै प्रसूति हलमा भर्ना गरियो र चेकजाँच सुरु भयो । बिहान ६ बजेबाट बल्ल अलिअलि गर्दै पेट दुख्न थाल्यो । मेरा आँखा बाट बेपर्वाह अश्रुधारा बगिरहे । लाग्थ्यो मनभित्रको वह यिनै आँसुले पखाली बगिरहेका छन् । एकातिर डर र त्रास थियो । भन्न त मलाई धेरैले निडर र साहसी छौ भन्ने गर्दथे तर मातृत्वको सवालमा जस्तो बलियो मुटु पनि कमजोर हुँदो रहेछ । जीवन पनि कायापलट नै हुँदै थियो, म आमा बन्दै थिएँ । मन बेचैन अवस्थामा थियो । दुःख आफ्नै ठाउँमा थियो, जुन म कसरी वर्णन गरू, जुन हरेक आमाको दुखाइ थियो । त्यो दुखाइ न त औषधि खाएर निको पार्न सकिन्थ्यो न त कुनै इन्जेक्सन लगाएर कम पार्न सकिन्थ्यो ।

प्रसव पीडा साँच्चिकै अजिब खालको हुँदो रहेछ, जसले मातृत्व बोध गराउँदो रहेछ । म त्यो पार गर्दै थिएँ, जुन हरेक आमाले सृष्टिको रचना गर्न पार गर्ने चुनौतीको पर्खाल थियो । त्यो समयमा संसारका सारा आमाहरूको पीडाबोध गर्दै छटपटिरहेँ । सासुआमा साथमा हुनुहुन्थ्यो, प्रत्येक मिनेटको फरकमा मलाई झन्‌-झन् गाह्रो भैरहेको थियो । उहाँ मेरो श्रीमान्‌ हतासिएको अनुहार लिएर यताउता गरिरनुभएको थियो । थोरै फ्रि भएपछि  मेरो छेउमा आइहाल्नुहुन्थ्यो । उहाँ छेउमा आएर बसिदिँदा, मेरो हातसम्म समाइदिँदा  मलाई आनन्द हुन्थ्यो, पीडा हलुका भएझैँ लाग्थ्यो । झन्-झन् मलाई गाह्रो हुँदा उहाँको मन आँत्तिएको कुरा उहाँको अनुहारमा प्रस्ट देखिन्थ्यो । मेरो केस एकदमै नर्मल भएकाले मलाई बर्थिङ सेन्टरमा लगियो । ९ बजेदेखि म एक्लै भएँ, भित्र म छटपटिरहेकी थिएँ, बाहिर श्रीमान्‌ मेरो हरेक पीडामा निक्लिएका आवाजले उहाँको मन पनि बिझाइरहेको थियो । त्यो लेबर रुममा मजस्तै पीडामा छटपटिएका धेरै थिए । छिनछिनमा छटपटिन्थेँ, मर्छु जस्तो हुन थाल्यो, छिनछिनमा चिच्याइरहन्थेँ । मलाई त्यो पलको दुखाइ सम्झिँदा पनि पीडा हुन्छ । नभन्दै ८ घण्टा लामो प्रसव पीडापश्चात् अन्तमा दिउँसो १:४४ मा बच्चा जन्मियो । त्यति बेला लाग्यो, अहो! मैले त ठुलै युद्ध जितेँ । छोरी सकुशल जन्मिएकी रहिछिन्, नर्सहरूले बच्चालाई लिएर मेरो छातीमा टाँसिदिए । सच्चा मायाँ के हो त्यति बेला महसुस गरेँ । मातृत्वका अगाडि त अरू मायाँ सबै फिक्का-फिक्का पो हुँदो रहेछ । एकछिनपछि मलाई र बच्चालाई नर्मल वार्डमा सारियो । बच्चा ममीले लानुभयो, श्रीमान्‌ हाँस्दै आउनुभयो र कानमा आएर खुसुक्क भन्नुभयो, ”आमा भएकोमा बधाई छ ।” म बोल्नै सकिनँ, आखाबाट आँसु आयो, उहाँले थाहा पाउनु भएन । म आँत्तिदा मलाई सम्हाल्ने उहाँ साँच्चिकै भगवान्‌स्वरूप मेरो साथमा खडा हुनुहुन्थ्यो । आफ्नी आमासँग भेट भएझैँ मन थाम्न सकिनँ अनि रोएँ । उहाँको खुसीको सीमा थिएन, सबै जना  धेरै खुसी  हुनुहुन्थ्यो ।

भित्तामा मधुरो बत्ती बलिरहेको थियो । त्यसपछि बल्ल बच्चालाई राम्रोसँग हेर्न पाएँ । साना-साना दुई हात र साना-साना दुई खुट्टाका औंलाहरूसँगै प्रसूति गृहबाट हाम्रो मायाँ सुरु भयो । बच्चा पाएपछि आमाको बच्चाप्रतिको मोह अचम्मको हुँदो रहेछ, त्यो म आमा बनेपछि भरपुर महसुस गरेँ । त्यसपछि मलाई  बच्चा पनि एकछिन आफूबाट टाढा राख्न मन लागेन । हेरिरहूँ जस्तो लाग्ने, छोइरहूँ जस्तो लाग्ने । पहिला बच्चा खासै मन पर्ने थिएन तर आफू आमा बनेपछि वार्डमा कोही बच्चा रुँदा पनि मनमा चसक्क बिज्न थाल्यो । मलाई लाग्यो कुनै सम्बन्धसँग तुलना गर्नै नसकिने प्रेम पो रहेछ मातृत्व । मैले छोरीलाई जब काखमा लिएर दूध चुसाउन सुरु गरेँ, आफूले संसारकै सारा सुखानुभूति गरेको महसुस गरेँ । बाबा भएपछि उहाँको अनुहारको रौनक नै अर्कै थियो, हेर्न लायक । सन्तानप्रतिको त्यो प्रेम आज ९ महिनापश्चात् पूर्ण रूपमा पिता बन्नुभएको त्यो खुसी हेर्दा मलाई आनन्द हुन्थ्यो । छेउमा आएर सानो हात समाउँदै छोरिलाई हेरिरहनुहुन्थ्यो । उहाँको खुसीको महसुस मैले पनि गरिरहेकी थिएँ । त्यस रातको अस्पतालको बसाइपश्चात् भोलिपल्ट दिउँसो २ बजेपछि डिस्चार्ज लिई घर फर्कियौँ । त्यसपछि लाग्न थाल्यो उजाड मरुभूमिमा वसन्त छाएपछिको मनमोहक हराभराजस्तै, बिहेको पहिलो वर्ष पार नगर्दै हाम्रो प्रेमको निसानी सानी नानी परिवर्तनको बहार लिएर आइन् । बच्चा नजन्मँदैको जीवन धागाविनाको चङ्गाजस्तै रहेछ तर छोरी  त्यही बेपर्वाह वायुमा हराएको कागजस्तै उडिरहेको चङ्गालाई सम्हाल्न धागो बनेर आएको अनुभूति गरेँ । त्यसपछिका मेरा हरेक दिनको शुभारम्भ गर्ने मर्निङ आलार्म बनेर आइन् मेरी छोरी । छोरी पेटमा आएपछि श्रीमान्‌ले त्यो हाम्रो कोठाको चारै भित्तामा साना, निर्दोष अनुहारका  बच्चाको पोस्टर ल्याएर खुब मेहनतले टाँस्नुभएको थियो । उनी यो संसारमा आउनुपूर्व तयार गरेको यो स्वागत साँच्चै मन पर्थ्यो मलाई । हाम्रो त्यो सानो कोठाको चारै भित्तामा शून्यता थियो, उनी आएपछि उनले रुँदा उनको रुवाइ चारैतिर ठोक्किएर एउटा मिठो धुन निस्किएको महसुस गर्थेँ ।

हाम्री छोरी २ महिनाकी भएपछि उहाँको भिजा लाग्यो । त्यो २ महिना कति चाँडै बितेको, कति रमाइला थिए ती दिनहरू । बिहेपछि कहिलै छुट्टिएर बसेका थिएनौँ । छोरी हाम्रो जीवनमा आएपछि त झन् सोच्न पनि सक्दिनथेँ, उहाँसँग टाढा भएर बस्न । आफैँ पनि अबोधझैँ थिएँ, अझ त्यो सानो बच्चासँग म कसरी बस्न सकुँला र भनेर मन सधैँ पिरोलिन्थ्यो । नभन्दै उहाँले हिँड्ने दिन आइपुग्यो, मन अमिलो बनाउँदै धेरै कुरा सम्झाएर हामीलाई छोडेर बिदेसिनुभयो। सधैँ सँगै भएर सुन्दर संसार सजाउने धेरै सपना थिए तर बाध्यताले हामीलाई टाढा बनायो । उहाँ गएपछि म त एक्लोझैँ भएँ । सानी थिइन् नानी, बोक्न पनि मज्जाले आउँदैन्थ्यो । उहाँको मायाँमा डुबेर उहाँकै ख्यालमा रहेकी म, मैले अब आफ्नो मायाँमा छोरीलाई पौडाउनु र छोरीको ख्यालमा  आफूलाई भुल्याउनु थियो । घर शून्य भयो, दिन लामो लाग्ने, साँझ पर्दा एकदिन भए पनि भेट हुने दिन नजिकिँदै छ भनेर मन फुरुङ्ग पार्थेँ । यता छोरी दिनदिनै हुर्कँदै थिइन् । नानीसँग यति लगाव थियो कि, उसलाई बोकेर म कहिल्यै थाकिनँ, उसैलाई छोइरहूँ र हेरिरहूँ जस्तो लाग्थ्यो । बिस्तारै उनका साना हातका पन्जा र साना खुट्टाका पाउले हृदयको मझेरीमा ठुलै डेरा बसाउँदै गयो । जब उनी मेरो हातको सिरानी बनाई  न्यानो काखमा लुटपुटी  मस्त निद्रामा हुन्थिन्, म उनको त्यो चन्द्रमा जस्तै प्यारो मुहार हेरेर सपना बुन्न थाल्थेँ ।

श्रीमान्‌ दूरीको हिसाबले टाढा भए पनि  सधैँजसो कुरा भइरहन्थ्यो । भैतिक शरीर जहाँ रहे पनि मन एकै ठाउँमा थियो । छोरीका प्रत्येक कुराहरूमा उहाँ जोडिनुभाथ्यो, नानी पनि ठ्याक्कै बाबाजस्तै थिइन् । उहाँ गएपछि हरेक कुरामा बदलाव आयो । पृथक् ती समय सोचेभन्दा अनौठा र फरक थिए । परिवर्तनको नाममा धेरै कुराहरू भोगिने रहेछ । पारिवारिक तालमेल दिनदिनै भित्रभित्रै बिग्रँदै गयो । जति समस्या र तनाव आए पनि छोरीलाई हेरेर म सबै कुरा भुल्थेँ । प्रत्येक पाइलामा श्रीमान्‌को साथ थियो । छोरी सँगसँगै पढाइ पनि क्रमशः सुरु गर्नुपर्छ  भन्दै उहाँले मलाई सम्झाइरहनुहुन्थ्यो ।   फोनमा कुराकानी कम र  पढाइमा ध्यान दिनुपर्छ है सानु भन्नुहुन्थ्यो । म पनि उहाँले सम्झाएबमोजिम नै गर्दथेँ ।

छोरी यति प्यारी थिइन्, उनलाई निदाउँदा पनि काखमा लिइरहन मन लाग्थ्यो । छोडेर कतै जान परे मिल्ने भए मुटुभित्र राखेर सँगै बोकेर हिडूँ झैँ हुन्थ्यो । कसैको नानी रुँदा आफ्नै नानी रोएझैँ लाग्थ्यो । उनका प्रत्येक पलले मलाई पढाइरहेको छ, पछाइरहेको छ जस्तो लाग्न थाल्यो । उनी नबोल्दा पनि म उनको भावनासँग खेल्न खोजेँ, उनको निर्दोष मुहार र दुधे ओठको हाउभाउले दिएका प्रत्येक वाक्यहरूमा हराउँदै, रमाउँदै ती वाक्यका अर्थ खोज्न थाल्थेँ । उनका हरेक कुरा रुवाइ, बोलाइ, स्याहारसुसार र सुरक्षाका प्रत्येक पललाई म झन्झटका रूपमा नलिई केवल अवसर र सिकाइका रूपमा लिएर मातृत्व सुखभोग गरिरएकी छु ।

एउटी नारीलाई श्रीमान्‌ बुझ्ने हुँदा, जस्तै कठिन परिस्थिति पनि सजिलै पार गर्न सकिने रहेछ भन्ने कुरा आफैँले महसुस गरेँ । उहाँकै सपोर्टमा आज स्नातक तह पूरा हुन लाग्यो, चौथो वर्षको नतिजाको पर्खाइमा छु । उहाँले मेरो पढाइप्रति दिनुभएको हौसलाले नै क्याम्पस नगई पनि ब्याचलर सकेँ ।

बिदेसिनुपर्ने बाध्यताले गर्दा हामी सँगै बस्न पाएनौँ । छोरी तीन वर्ष पूरा भइन्, उहाँ नेपाल आउनेजाने क्रम चलिराखेकै छ । खुसी नै खुसीले भरिएको सुन्दर संसार सजाएका छौँ । छोरीका सबै गुण बाबासँग मिल्छ । छोरीका प्रत्येक पाइलामा म उहाँलाई देख्छु, उहाँलाई सम्झिन्छु । अझ हामी सँगै भएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ ।

हाम्री मुटु ‘छोरी’ आजभोलि मेरो जीवनमा एक विश्व-विद्यालय भएर खडा भएकी छिन् । म त्यही अध्ययन गर्ने नयाँ  विद्यार्थी भएर हरेक कुरा सिक्दै मातृत्वबोध गर्दै छु । आमाका लागि मातृत्व गजबको वरदान रहेछ । जुन म अहिले प्राप्त गरी आनन्द लिइराखेकी छु ।

संसारका सारा नारी आमा हुनबाट वञ्चित हुन नपरोस् । हरेक नारीले मातृत्व सुखभोग गर्न पाऊन् ।

अनुशा + किशोर =  अनुस्कृति

प्रतिक्रिया
Loading...