लोकेन्द्रको फोन नआएको भए म कुमाल गाउँको त्यो धाराछेउबाट उठ्ने नै थिइनँ होला । म हस्तकला मिसलाई सम्झिरहेको हुन्थे होला ।
लोकेन्द्र मेरो युनिभर्सिटीको साथी हो । उसको नाम लोकेन्द्र भए पनि ऊ लोकको केन्द्रमा कहिल्यै बस्न रुचाएन । ऊ केन्द्रभन्दा पर-पर नै हिँडिरह्यो, परिधिभन्दा पनि पर-पर । महादेवको एक नाम लोकेन्द्र हो भन्छन्, सायद ऊ महादेवको फिरन्ते स्वभाव अँगालेको मान्छे हो कि ? यस्तो भनौँ ऊ घडीबाहिर हिँड्ने मान्छे हो । उसैलाई देखेर त मैले लेखेको थिएँ,
“कहाँ हिँडे उनीहरू गन्तव्य कहाँ होला ? जो निस्किएर हिँडे घडीबाहिर ।”
उसको नाडीमा घडी छैन तर ऊसँग समयको हरेक हिसाब छ । ऊ यायावर हुँ भन्दै कुनै ढोँगी कविझैँ सहरका गल्ली-गल्ली, मसानघाट, पठार, मरुभूमि घुम्न हिँड्दैन । यसो भनौँ ऊ कवि हैन, त्यसैले ऊ ढोँगी छैन ।
भन्न त ऊ भन्छ, “म हराउनका लागि हिँड्ने गर्छु ।” तर ऊ अजिब-अजिब कुरा भेट्टाएर फर्किन्छ । जसको आँकडा सरकारले आफूसँग राख्नुपर्थ्यो, जसलाई सरकार आफूसँग राख्नै चाहँदैन । जस्तो कि- अपाङ्गको प्रमाणपत्र बनाएर कति साङ्ग सरकारी जागिरे भएका छन् ? र तिनीहरू कुन-कुन ठाउँमा छन् ?
उसको रिसर्चले त यो पनि भन्छ- जो कथित अपाङ्ग बनेका छन्, तिनीहरूमा धेरै कथित उपल्लो जातका नै छन् । यसो भनौँ ब्राह्मणवादका अवशेषहरूनै कथित अपाङ्ग बनेर सेवाग्राहीलाई अरूभन्दा बढी दुःख दिने गर्छन् ।
ऊ मलाई सधैँ भन्ने गर्छ, “हिजो उनीहरूले नीतिको भ्रष्टाचार गरेका थिए भने आज उनीहरूबाट पैसा भ्रष्टाचार भइरहेको छैन भन्न सकिन्न ? त्यसैले यो देशमा भ्रष्टाचार शून्यमा आउन सक्दैन ।”
उसको र मेरो भेट युनिभर्सिटीको क्यान्टिनमा भएको थियो । एक दिन खाजा खाइरहेको थिएँ, एक साढे पाँच फिट अग्लो ज्यान भएको व्यक्ति जोसँग करिब एक फिट लामा कपाल थिए र मात्र आधा फिटका जुँगादाह्री थिए, ऊ मेरो अगाडि टेबलपारि आएर बस्यो र भन्यो, “भनेपछि मध्यम वर्गीय परिवारबाट आएका हौ, हैन त ?”
म हाँसेँ । उसलाई हेरेर हैन, उसका कुरा सुनेर । उसको कुराभन्दा पनि उसको मुखबाट निस्किएको ‘मध्यम वर्गीय परिवारबाट’ भन्ने शब्द सुनेर हाँसेको थिएँ ।
“के म गलत निस्किएँ ?” उसले मलाई हेर्दै भन्यो ।
मैले भनेँ, “त्यो मलाई थाहा छैन ? तर म मध्यम वर्गीय परिवारबाट भन्ने शब्द सुनेर हाँसेको ।”
“ए कालो इङ्लिस मिडियमबाट आएका हौ कि क्या हो ?” उसले अलिकति मुस्कुराउदै भन्यो ।
मैले सिधा उसलाई हेर्दै भने, “कक्षा चारमा गएर विषय अङ्ग्रेजी सुरु गरेको हुँ । इङ्लिस त स्कुलमा थिएन । इङ्लिस भनेकै अङ्ग्रेजी हो भन्ने कुरा एघार पढ्दा थाहा पाएको हुँ ।”
उसले हात बढायो, “म लोकेन्द्र । मेरो बुवाको नाम …… । मेरी आमाको नाम …… ।”
हात मिलाउँदै मैले भनेँ, “परिचयमा अरू केही छुट्यो कि ? म महेन्द्र, तर स्वर्ग मेरो हैन ।”
उसले हाँस्दै भन्यो, “कतै मैले लोकेन्द्र भन्नासाथ मलाई महादेव नै ठान्छौ कि भनेर बुवा, आमाको नाम पनि भनेको ।”
त्यस दिन मिलेको हाम्रो हात आजसम्म पनि छुटेन । उसको घरबाट पैसा आउँदा, मबाट लुकी-लुकी उसले एक्लै मम खाएको मैले थाहा पाउँदा नि छुटेन । मैले पनि ऐजन ऐजन गरेको उसले थाहा पाउँदा पनि छुटेन । उसको पल्लो छेउको छिमेकीले दिएको मासु मलाई नबोलाएर एक्लै खाँदा पनि छुटेन । मैले पनि ऐजन-ऐजन गरेको उसले पनि थाहा पाउँदा पनि छुटेन ।
हामीलाई छुटाउन सक्ने त्यस्तो कुनै कुरा आएन । केटी आउन सक्ने सम्भावना थियो होला तर केटीसँग र देवी सरस्वतीसँग हाम्रो भेटघाटमा खासै फरक थिएन । देवीसँग बोलचाल श्रीपञ्चमीमा हुन्थ्यो । केटीहरूसँग औँसीपुर्नेतिर ।
केटीपछि अर्को बिचमा आउन सक्ने भनेको कोठामा पकाएको मासु थियो । त्यस डरका खातिर हामीले कोठा बाहिर मासु किनेर कहिल्यै खाएनौँ ।
अनि, उसले मेरो भन्दा बढी, उसले मेरो भन्दा कम नम्बर ल्याउँदा पनि छुटेन हाम्रो हात । उसले मेरो भन्दा अगाडि जागिर खाँदा र उसले मेरो भन्दा अगाडि जागिर छोडेर यसरी यायावर बनी हिँड्दा पनि उसको र मेरो हात छुटेन ।
त्यस दिन उसले भनेको थियो, “हिँड न यार । मेरो बाइकले बुलेटको जस्तो आवाज निकाल्छ, ग्यारेज पुगेर आऊँ । यही बाहिरको ग्यारेजमा छोडेर आइहाल्यौ क्लास सुरु हुनुभन्दा अगाडि आइहाल्छौँ ।”
उसले निकालिरहेको बाइक देखेर मैले भनेको थिए, “यो त डिस्कबर हैन र एक सय पच्चिस सिसिको ?”
“हो त, यसैले त निकाल्यो, बुलेटको जस्तो आवाज । क्षेत्रीले आइसियो, गइसियो भन्न थाले तनाब हुन्छन्, बोलीले ठकुरी कहाँ बन्न पाइन्छ र ?”
“तिमी ठकुरी हौ ? ”
“हैन क्षत्रीको छोरो हुँ । तर पाउ छुँदैन ।”
उसले गुनगुनायो -“क्षेत्रीको छोरो यो पाउ छुन्छ ……”
त्यो दिनका सब पिरेड सकेर युनिभर्सिटीको गेटबाट निस्किँदा हामी एकअर्कालाई तँ भनेर सम्बोधन गरिरहेका थियौ ।
बेलुका म र ऊ उसकै कोठामा बस्ने निर्णय गरेर छुट्टिएका थियौँ ।
बेलुका जब म उसको कोठामा पुगे । ऊ अर्बिन्द्र अग्डीको, “ह्वाइट टागर पढिरहेको थियो ।” उसले भनेको थियो, “फुर्सद मिलाउन सक्छस् भने यो किताब पढ् है । फिजिक्सजत्तिकै इन्ट्रेस्टिङ छ । हाइजनवर्ग पिरिन्सिपल अफ अन्सर्टिनिटी जत्तिकै ।”
उसले हाइजनवर्ग पिरिन्सिपल अफ अन्सर्टिनिटी जत्तिकै भनेको सुनेर मैले भनेको थिएँ, “यो किताबले पोजिसनबारे भन्छ कि मोमेन्टमबारे ।”
उसले खाउँलाझैँ गरी मलाई हेऱ्यो र अचम्म मानेझैँ गरी भन्यो, “गज्जब, गज्जब हेजन र आइस्टन दुवै साहित्यमा भेटिन्छन् । एक पूरा बुक भनेको सर्टिनिट र अन्सर्टिनिटी दुवैको कम्बिनेसन हो । राम्रो साहित्यले पात्रले भोगी रहेको दुवै सिद्धान्तलाई राम्रोसँग व्याख्या गर्न सक्नुपर्छ । यो बुकले यी दुवै कामको राम्रो व्याख्या गरेको छ । निम्न वर्गको मान्छे मध्यम वर्गको कसरी बन्छ भन्ने ।
ऊ एकछिन रोकियो । अनि अलिकति हाँस्दै भन्यो, “डेढ महिना लाग्यो तेरो बारेमा अध्ययन गर्न । मध्यम वर्गीय ।”
“मेरो बारेमा केको अध्ययन हो ?” अचम्मित हुने पालो मेरो थियो । त्यसैले अचम्म मान्दै मैले सोधेँ ।
उसले शान्त स्वरमा भन्यो, “म एउटा रिसर्च पनि गर्दै छु । इन्जिनियरिङ नेपालमा कस्तो फ्याम्लिका मान्छेले पढिरहेका छन् ?”
उसको कुरा सुनेर म वाल्ल परेँ ।
ऊ म वाल्ल परेको देखेर ऊ वाल्ल भयो ।
उसले सम्झिएझैं गरी भन्यो, “यो रिसर्चमा त पनि आए हुन्छ ।”
म अचम्मित त थिएँ । त्यसैले मैले सोधेँ, “केको रिसर्च अनि नाम के दिएको छस् ? यसको उद्देश्य, महत्त्व, नतिजा के हो ?”
“मैले यति धेरै त केही सोचेको छैन । मात्र यति हो कि क्यान्टिनमा के खाना र के खाजा खाइरहेको छ । भन्ने आधारमा उसको वर्ग पत्ता लगाउन सकिन्छ कि सकिन्न भन्ने हो ?
“पत्ता लगाएर के गर्छस् ?”
“के गर्नु, केही न केही । आफ्नो जानकारीका लागि ।”
उसको कुरा सुनेर अजिब लाग्यो । अनि सोधेँ, “रिसर्चको मथेडोलोजी के हो ?”
“सिम्पल छ । अल्फाबेटको आधारमा हरेक अफाबेटबाट एक-एक मान्छे लगेको छु । यो रिसर्च अहिले हाम्रो क्याल्सका लागि मात्रै हो । टिम मिल्यो भने पूरै युनिभर्सिटीको गर्छु होला । पहिलो स्याम्पलमा एमबाट आउने नाममा तेरो नाम रैछ त्यसैले त पनि पहिलो रिसर्चमा परिस एक महिना लगातार हेर्दा त खाजा मा मम धेरै जसो खान्छस् र खानामा मासु ठिक्कै खान्छस् र कुरामा गर्दा भविष्यलाई लिएर त्यति डर देखिन्न त्यसैले तँ मध्यम वर्गमा पर्छस् । मेरो पहिलो रिसर्चमा A बाट अमरदेखि T बाट तपेन्द्रसम्मका हरेक अल्फाबेटको पहिलो नाममा M बाट आउनेमा तँ परेको होस् । ” पहिलो रिसर्चको अन्तिम व्यक्ति तँ थिइस् ।”
“मेरो पछि त तेज थियो त ? ”
“यो पहिलो रिसर्चमा म आफ्ना लागि साथी / आफ्नो ग्रुप खोजिरहेको छु । पहिलो ग्रुपबाट साथी बन्न सक्ने त मात्रै होस् । अरू अर्कै टाइपका छन् । चिन्ता नले, हाम्रो विचार मिल्ने भएपछि अरू पनि यहो ग्रुपमा आउँछन् ।”
रिसर्चको नतिजा के निसको कस्तो निसको त्यो म विस्तारमा भन्ने छु । यति तपाईँहरूले बुझिसक्नुभयो । लोकेन्द्र अनौठो रिसर्च गर्ने मान्छे हो ।
यस्तो हुने नहुने रिसर्च गर्ने लोकेन्द्र आज आउँदै छ । अघि फोनमा भनिसक्यो आज कालिकोट, मान्म बेलुका सूर्य ढल्नुअघि पुग्छु होला भनेर । उसले फोनमा अघि त्यहीभन्दा हामीले हस्तकला मिसलाई बिर्सिएर लोकेन्द्रलाई सम्झिन पुगेका थियौँ ।
हो यही कुमाल गाउँ ओरालो झर्दा मैले हस्तकला मिसलाई सम्झेको थिएँ ।
हस्तकला मिसले भनेकी थिई, “निको पोइ नपाए क्या अठ्ठ जाला । अ .. अ… छोरीका खोरा दुखै त हुन् ।”
एकछिन रोकिएर हस्ताकला मिसले आफूमाथि हो या नारीमाथि उपहास गर्दै भन्न थालिन्, “मैना मैना छाउ हुँदा । पेट खाइनाले मर्नु हुन्या । तेउनै गोठ बस्नु पढ्न्या । तेउनै पोइ कसो पाइन्या । पोइ पाया छोराछोरी पाउनुपढ्यो । सुख त काइगया हुन्या नै । यै मन कि क्याहर्नु । नलाग्ने बच्चरो हुनु, हान्नु यसै बेला ।”
अरू कुराले भन्दा मलाई छाउ गोठले तानेको थियो । त्यसैले हस्तकला मिसलाई मैले सोधेको थिएँ, “तपाईँ पनि जानुहुन्छ र छाउगोठ ?”
भर्ताको डाँडातिर हेर्दै उहाले भन्नुभएको थियो, “गाउँ गए त गोठ जानु पडिगो ।”
“छाउगोठ सब भत्काइसके भन्छन् त ।” मैले सुनिरहेका समाचारको रिफेरेन्स लगेको थिएँ ।
“छाउगोठ भत्किसक्या भए क्या यी safe house का कुरा उठ्ने थिएर सर ?” उहाँले उल्टै मलाई प्रश्न गर्नुभयो र खै को माथि हो उपहास गर्दै भन्नुभयो, “एक दिन गएर भित्काई आउना, पछिला दिन त गोठ तयार ।”
गोठ को भत्काउँछ । फेरि कसले तयार गर्छ ? मैले सोध्न यो पर्थ्यो हैन र ? तर मैले सोधेँ, “तपाईँ कि छोरी भए पनि गोठ पठाउनुहुन्छ?”
“सर भग्मान छ भने, मेरा कोखबाट छोरी नजन्मियोस् । कसैले देशीले मलाई हऱ्या जसो मेरी छोरीलाई हरिदियो भन्या ? बिचारी कति रोली ?”
हस्तकाला मिसले । दोपट्टाले आफ्ना दुवै आखाका आँसु पुछ्नुभयो ।
मन नभै-नभै मैले सोधेको थिएँ, “हस्तकला मिस यदि तपाईँका छोराले देशीले गरेजस्तो अरूकी छोरीलाई गऱ्यो भने ?”
हस्तकला मिसले एक टकले मलाई हेर्नुभयो र भन्नुभएको थियो, “भर त केही नाइँ यी केटा मान्छेको ।”
हामी जिते पुग्न ढिलो भयो भने । लोकेन्द्रलाई गाह्रो हुनेछ । मैले सोचेको थिएँ, “उसले मलाई भेटिनासाथ सोध्नेछ अन्तर्जातीय प्रेमको स्तिथि के छ यो ठाउँमा ?” उसले मलाई सुम्पेको यही एउटा काम त हो । हस्तकला मिस मेरो दोस्रो पात्र हुन् ।
म जिते पुग्दा लोकेन्द्र बच्चाहरूसँग अन्ताक्षरी खेलिरहेको थियो । उसले मलाई भेटिनासाथ केही सोध्नुको साटो मलाई एउटा नमिठो खबर सुनायो, “तेरो साथी छ नि जुम्लाको महेश त्यो जेल पर्यो नि ।”
मेरो साथी महेश । गोरो अग्लो बाहुनका जस्तो नाक भएको । महेश नेपाली जेल पऱ्यो ।
महेश नेपाली मेरो साथी हुनुपूर्व मैले अन्तर्जातीय प्रेमको मिथी गरिरहेको रिसर्चको पहिलो पात्र हो ।
ऊ एक लेखक हो र ऊ लेखे बोलेकै कारण जेल परेको खबर भर्खर तपाईँले सुनिहाल्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।