दसैँ मनाएका, खास दसैँको रौनक आएका, दक्षिणा र नयाँ लुगाफाटो लाउन पाएका, माइत, ससुराल र मावल गएका, केराका घरी पकाएका, गाउँघर बाटोघाटो खुर्कीखार्की पारेका, पिङ खेलेका आदि ग्रामीण जीवन परिवेशका विगतोस्पर्शी बयान, बखान गरिएका लेख, कविता र संस्मरण मनग्य लेख्ने चलन छ आजभोलि ।

‘त्यो दसैँ पो दसैँ’ भनेर लेख्छ कोही न्युयोर्कबाट, ‘ऊ बेलाको दसैँ’ भनेर डुब्छ कोही टोकियोबाट ।

प्रायः सबैजसो देशबाहिर बस्ने नेपाली गाउँघरमै जन्मेर, हुर्केर, चाडपर्व मनाएर गाउँ छोड्दै सहर र विदेश पुगेको जमात हो । कहनु नै हो भने सबैका बाल्यकालीन दसैँ किस्सा उस्तै-उस्तै हुन् ।

यम घिमिरे

बाबुआमाले गच्छेअनुसार किनिदिएका नाना लाएर र तुल्याएको दसैँ खाना खाएर नै मनाइयो दसैँ सबैले । अब ती दिनका कुरा सम्झेर साहित्य त बन्छ तर देशपारिको मुग्लानमा दसैँ नबन्ने रहेछ ।

विदेशमा कामदारका रूपमा बस्ने होस् वा घरजम गरेर परिवारसहित बस्ने होस्, ‘त्यो दसैँ’ र ‘ऊ दसैँ’ कदापि आउँदैन कसैलाई ।

खाना, नाना र दक्षिणाभन्दा पर दसैँ एउटा विराट् संस्कृति र जीवनशैली हो । देवीले शुम्भ, निशुम्भ वध गरेको भए पनि, रामले रावणलाई जितेको दिन भए पनि दसैँ एउटा धर्म र आस्थाको गहिरो जीवन छाप हो । दसैँ एउटा माहोल हो झन्डै तीन महिनाअघिबाट सुरु हुने । बजारले पाडो किन्दा भैँसी उपहार आउने हौस्याहट फुकेर बेलैमा सुरु गर्छ दसैँ । मान्छेका घर, व्यवहार, कारोबार, योजना ‘अब दसैँले छोपिगयो’ भनेर बेलैमा पर सर्छन् । ‘दसैँ’ भनिने मुहूर्त र उत्सव आउँदै छ भन्ने मनोविज्ञान घर-घर जनजनमा मौलाएर बसेको हुन्छ धेरै पहिलेदेखि ।

बजारमा दसैँ आएजस्तो बुझिनु, गल्ली र गल्छ्यौँडाले दसैँको छनक पाएर सिँगारिन थाल्नु, खेत, खलियान र फाँटले दसैँको जस्तो दृश्य, सौन्दर्य र सुगन्ध पस्किनु, प्रकृति शरद्‌मा प्रवेश गर्दै घाँसपातलाई निथ्रुक्क शीतले भिजाउनु, न गर्मी न जाडोको मुलायम प्रभात प्रहर लिएर पूर्वमा घाम टिलिली टल्किनु, दसैँका लागि खर्च, खसी र अन्नपातको जुगाडमा घर सल्लाह चल्नु, मोटर, जहाज भरिभराउ चल्न थाल्नु, आदि समग्र छनक, छाँट, चाल, परिवेश र पाराको एकीकृत उन्मेष हो दसैँ । बजार भाउ बढ्नु, कृत्रिम अभाव देखा पर्नु, घुसखोरी र लप्पनछप्पन मौलाउनु पनि दसैँका अतिरिक्त चरित्र होलान् ।

यी जम्मैथोकको भोग हुन नपाएको दसैँ मनाउनु भन्या ‘अलिनो पानी खाई सर्वतको तिर्खा मेट्ने’ भनेजस्तै हो र  हामी मुग्लानेको दसैँ पनि यस्तै सर्वतको ठाउँमा अलिनो पानीजस्तै पाइरहेको छु म विगत १० ओटा दसैँलाई मनाउँदा, मनाएको हेर्दा ।

फेसबुक र अन्य सञ्जालबाट दसैँका शुभकामना आउँछन् । “बडादसैँको मङ्गलमय शुभकामना, तपाईँको दसैँ उल्लासमय होस्, भवानीका प्रसादले हाकेताकेको पुगोस्, शान्ति संवृद्धि र सुख ल्याओस्…” यसरी कामना गर्नु नराम्रो होइन ।  चलेको चलन र पिटिएको हौवाका पछि नलाग्न निकै गाह्रो छ । शुभकामना आऊन्, जाऊन् ।

मेरो एउटा सालको दसैँ यहाँ प्रस्तुत् गरूँ ।

“दसैँको टीका कहिले पर्छ रे यसपालि ?” मैले श्रीमतीलाई सोधेँ एक महिनाअगाडि । उसले अङ्ग्रेजीको बार, महिना र गते भनिदिई । मैले भोलिपर्सिपल्ट बिर्सिएँ । फेरि सोधेँ । फेरि जबाफ पाएँ । त्यति सोधपुछपछि आफ्नो दैनिकीमा लागेर दसैँको खासै बातै नगरी १५ दिन बित्यो । काममा आउजाउ चलिरह्यो । छोरीहरू स्कुल गइरहे ।

न बजारमा बम्पर धमाका र बोनान्जा बाढी लिएर दसैँ आएको छ, न गल्ली, चोक, चौतारोमा दसैँको छनक हाजिर छ । न आफ्नो र परिवारको मनमा नै दसैँ आएको उत्साह र प्रफुल्लता देखिन्छ । न त भुराले नै वास्ता गर्छन् दसैँको । स्कुलको जनसङ्ख्या र समुदायले चाडपर्व आएको व्यवहार गरे मात्रै भुराले पनि दसैँ घर लिएर आउने रहेछन् । त्यो नि गाएब छ ।

“दसैँको खसी ल्याउने होइन, के गर्ने यसपालि ?” दसैँको १५ दिन अघि मोरङ लेटाङ शनिश्चरे घर भई यता सरेको साथी शैलेश भण्डारीले सोध्यो ।

“खोइ, ल्याइएन होला हौ यसपालि अस्तिकै शिकार बाँकी छ फ्रिजमा” मैले जबाफ फिराएँ तर उसले जाने कसैगरी खसी लिन भनेपछि एउटा सम्पर्कको खसी किसान जर्जको सम्पर्क फोन नम्बर र ठेगाना उसलाई दिएँ । तेह्रथुम आठराईका टेक खत्रीलाई साथी लिएर गई उसले खसी बनाईतुल्याई लिएर आएछ ।

केही दिनपछि झापा सुरुगाङका हेमन्त शिवाकोटी एवं यहाँका मेरा छिमेकीले नि खसीको कुरा गरेर एउटा नल्याई त हुन्न भनेर जोड दिएपछि म जान तयार भएँ ।

टिको नजिकिँदै छ झन्‌झन् । त्यसपछि नौरथा लागेको फेसबुकबाट थाहा पाइयो । छिमेकी, यारी र जेठान त्रिनाताको  विमल पौडेलले टीकाको भोलिपल्ट मात्रै मेरो जुठो फुक्ने भएकाले मैले जमरा राख्न मिलेन, मेरो नि राखिदेऊ भन्दै गहुँ, जौ र टिनका टपरा लिएर आयो । जमरा राख्ने दिनले छोपिसकेको नि पत्तै भएनछ ।  झन्डै उम्किसकेको रहेछ उसले नभनेको भए त ।

दुई टपरा जमरा राखेँ बारीको माटो खोस्रेर ल्याई । आजै टीकाको दिन हेरेको जमरा लहलह आएछन् ।

अब फूलपाती आयो । फेसबुकले हनुमान् ढोका र मिलिटरीले फूलपातीको के-के विधि गरेको समाचार ल्यायो, गयो । नेपालमा हुँदा बाले बिहानभरि लाएर फूलपातीको दिन बिहान चौरासी नैवेद्य र फूल फलेदो बटुलेर आँगनको सिरानमा लिपीपोती सफा पारेर, कुल, सन्तानसाखा, घर, गोठ, अन्न, भकारी सबैको “रक्षा गर परमेश्वरी” भन्दै महारानी, सगुने बुझाउनुहुन्थ्यो । त्यो सबै चिल्लै हुने नै भयो यता ।

फूलपातीका दिन सधैँजस्तो म बिहान छ बजे उठेँ ।  नुहाइधुवाइ गरेर बेलुका पोको पारेको पाउरोटीका पाप्राबिचको घाँसपात बोकेर निक्लिएँ । एकछिनमा छोरीहरू उठे । आमाले ठिकठाक पारी र बेलुकै ठिक्क पारेका युक्रेनियन ‘परोगी’ को ‘लन्च’ बोकेर आआफ्नो बाटो स्कुल गए । आमाचैँ नौ बजे आफ्नो पोको बोकेर निस्की र बेलुका अबेर घर आई । बेलुका चार बजे बाउछोरी घरमा भेला भयौँ र गैरदसैँ भोजन गरेर आमालाई पर्खेर नौ बजायौँ र सुत्यौँ ।

महाअष्टमी आयो । कामले छोडेन । दसैँले पकडेन । दसैँको राम रमिता हेर्न, गल्ली बजार निक्लूँ, दुई-चार दाउ लङ्गुरबुर्जा खेलूँ, डाँडामा निस्केर एक सर्को पिङ मच्चाऊँ, दसैँको प्रसन्न मनोगति भएका साथीभाइसँग चौतारोमा बसेर गफ लडाऊँ र घरमा दसैँको मिष्ठान्न पाकेको अड्कल भएपछि घर आऊँ र खाऊँ भन्नु परेन ।

महानवमी आयो । नित्य दैनिक उही रह्यो । बेलुका कामबाट आएपछि लौ भएन यसरी त भनेर टिभीमा रिमोटले खोजखाज गरेर मालश्री बजाएँ । त्यो नि पाँच मिनेट नबित्तै छोरीहरूले ‘बाबा, क्यान वि वाच सम्थिङ ? इट्स बोरिङ !” भन्दै हाइ काढेर दिएनन् ।

काममा भएकी श्रीमतीको फोन आयो महानवमीको साँझ सात बजे ।

“महानवमीको पावन अवसरमा केही मिठो त पकाउने होला नि ? छोरीहरू नि हुरुक्क हुन्छन् चिची खान !” उसको ठट्यौलो आग्रह थियो ।

आमा र छोरीहरू दुवैलाई खसीको मासु भुटभाट पारेको खुब मनपर्छ । मालश्री बन्द भएर ‘बेबी सार्क तुतुतु’ सुरु भएको टिभी उनीहरूलाई जिम्मा लाएर म चुल्हा चढेँ ।

महानवमीको भोज उनले भनेबमोजिम बनाई तयार भएपछि आमाचैँ आइपुगी । सबैले खायौँ । खाँदाखाँदै नेपालमा दशमीको बिहान नौ बजिसकेको थियो । कान्छा काका परलोक जानुभएकाले यो वर्ष घरमा बुबा आमाले टीका नउठाउने वर्ष थियो घरमा तर पनि बुबाआमाबाहेकका उताका राता टीका, लर्के जमरा, भाइ, बहिनी, बुहारी, छोराछोरी, भान्जाभान्जी, बुबाआमाको चिल र बिल, होहल्ला, खुसी, अह्लादित मन हेर्न पाइयो ।

आमा अलिक खिन्न देखिनुभो । “यसपालि कसैगरी आओ भनेको टेरेनौ” ,भन्दै अमिलो मुखमण्डल पारेजस्तो देखियो ।

हामी बिदाबारी भएर सुत्यौँ । उता टिको भ्याउन कुदाकुद सुरु भयो ।

आज महादशमी । मलाई स्कुल बोर्डले दसैँको टीका र तिहारको टीकाको दिन तलबी बिदा दिन्छ त्यसैले म आज घरमा बसेर यो दसैँ लेख्दै छु । छोरीहरू स्कुलमा छन् आमा काममा छे । बडादसैँको बडा दिन बिहानै उठेर चियापान गरेर तीनैजनाले घर छोडे। अब बेलुका घर आइपुग्दा दसैँ सकियो । छोरीहरूलाई स्कुल नजाओ, बाबासँग बस न त दसैँको दिन भनेको टेरेनन् ।

“बसौँला घर, याँ कति होमवर्क दिन्छन् भरे, भोलि जाँच छ के-के पढाउँछन्” जेठी छोरीको जबाफ थियो यो विजयादशमीको ।

दसैँ  सकिन के नै बाँकी रह्यो र । भोलिपल्ट एकादशी हुँदै दसैँ ओरालो लागिगयो । टीकाको दिन नेपालको गाउँघर, छिमेक, बन्धुबान्धवको नातागोतामा पक्डेर यहाँका केही घरमा टिकोटालो गर्न गइन्थ्यो । यसपालि त्यो नि नभएपछि त झन् दसैँ त दसैँ भन्नै नसकिने पो भयो ।

दसैँ कि खानपानले, कि टिकोटालोको लहरोले, कि त गाउँ परिवेशले ल्याउने कुरा रहेछ । चालीस काटेपछि खानपानले दसैँ आउने दिन पनि अब रहेनन् । देशबाहिरको देशमा गाउँ, परिवेशको दसैँ  कहिले हुने भएन । अक्षता र जमरा नि गर्न नमिलेपछि यो दसैँ तपाईँको शुभकामनाले कल्पेजस्तो पटक्कै भएन ।

तपाईँको शुभकामनाले चाहेको जस्तो दसैँ त मैले यता आएर मनाएको कै पो छैन है ।

दसैँ यसरी नै आउँछ यता प्रायः र धेरैजसोलाई । कसै-कसैलाई काम र छुट्टीको अलिक होलो होला तर दसैँको रमणीयता र रसरङ्ग भने उस्तै-उस्तै बिरानिँदै गएको नै हो आउने यता ।