
२०७८ सालको विजयादशमी हरेक हिन्दू धर्मावलम्बी नेपालीहरूको आँगनबाट बिदा माग्यो र दीपावलीलाई स्वागत गर्न तम्तयार रहेको छ ।
कोराना कहरले विश्व आक्रान्त भएका बेला हाम्रो देश नेपाल पनि कोरोनाबाट अझैसम्म पनि अछुतो रहन सकेको छैन ।
आमूल परिवर्तन र विकासको छलाङ मार्ने कुराहरूलाई ‘कोरोना र राजनीतिक रोना धोना’ ले मूर्तिको स्वरूप दिएको छ, त्यो पनि फिटिक्कै हलचल गर्नै नसक्ने गरी ।
खैर, आज हामी राजनीतिक आग्रह पूर्वाग्रहका कुरा गर्दैनौँ ।

श्री भवानी नेपाल (युएई)
राजनीतिभन्दा एक कदम माथि उठेर सोचेर हरेक नागरिकहरूले आफू असल हुनुको परिचय दिन जरुरी छ ।
ऊ बेलाको दसैँ वा कुनै पनि चाडपर्व आज जस्ता हुँदैन थिए ।
आजको आधुनिक युगमा हरेक चाडपर्वहरू आधुनिकीकरण हुन थालेका छन् ।
-तीज एक महिना अगाडिदेखि मनाउने, दर खानुपर्ने दिन तर (मादक पदार्थ) खाने/पिउने
-रङ्गको पर्व होलीको दिन शरीरभरि पेन्टिङ गर्ने, झैझगडा गर्ने, कपडा च्यात्ने,
-तिहारमा चाहिने भन्दा धेरै तडकभडक गर्ने, दियो बाल्ने परम्परालाई विस्थापित गर्दै बिजुली बत्तीतर्फ लम्कने,
-बडा दसैँमा पनि संस्कृति र परम्पराभन्दा केही परिमार्जन भए गरेका यदाकदा पाइन्छन् ।
यावत् कुराहरू परिवर्तन भए वा कतै गाउँघरमा नभएका पनि छन् तथापि समयको माग र पुस्ता परिवर्तनसँगै हरेक कुराहरूमा परिवर्तन भएका हुन सक्छन् ।
आजको लेखमा म आफैँले भोगेको एउटा इतिहास कोट्याउने प्रयास गर्दै छु ।
करिब २०६० सालतिरको कुरा हो । हरेक दसैँझैँ त्यसपालिको दसैँ पनि हाम्रो लागी खुसी र उमङ्गले भरिएको पर्व हुने नै भयो ।
अझ विशेष त्यसपालि हामी(दाजुभाइ) मिलेर एउटा मोबाइल किन्ने योजना बुन्दै थियौँ ।
हाम्रो ल्याकतले फ्याट्टै मोबाइल किन्ने हिम्मत गरेको थिएन तसर्थ हामीले दसैँमा टीकाग्रहण गरेर पाएको दक्षिणालाई उक्त योजनाको मुख्य उद्देश्य बनाएका थियौँ ।
मेरो मिल्ने साथी बिसन कटुवालले करिब चार हजार रुपियाँमा मोटोरोलाको एउटा श्यामश्वेत मोबाइल छिमेकी मुलुकको जोगबनी (विराटनगर रानीको बोर्डर) बाट किनेर ल्याएको जानकारी भर्खरै मलाई प्राप्त भएको थियो ।
“सदाको दसैँभन्दा यसपालिको दसैँमा मामा माइजूले अलिक धेरै दक्षिणा दिएको भए हुने हो हे भगवान्, यसपालि मोबाइल जसरी नि किन्नु छ ।”
मनमा यस्ता कुराहरू खेल्दै विजयादशमीको दिनको प्रतीक्षाको घडी समाप्त त भयो तर हाम्रो चाहना पूरा होला वा नहोला, त्यो भने हेर्नै बाँकी छ ।
“आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राधवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।१।।”
नवदुर्गा भवानीको आशिष् र यी माथिका श्लोकले मलाई केको ध्यान तान्थ्यो र ?
मलाई ध्यान थियो त केवल “अब मामाले टीका लगाएर कति पैसा दिनुहन्छ ?”
दसैँ सकियो, दाजुभाइको दक्षिणा भेला पार्दा बल्लतल्ल १६०० रुपियाँ पुगेछ ।
बुबाआमासगँ थप पैसा माग्ने हिम्मत गरिएन ।
“विलासिताको सामान किन्न, फजुलको खर्च गर्न तँलाई किन दिन्थेँ र पैसा ।”
यही उत्तर आउँछ भन्ने मनमा डरको आँधीहुरी आएको थियो ।
बिसन कटुवाल, जो साथीले केही हप्ताअघि किनेर ल्याएको श्यामश्वेत मोबाइलपसलमा जाने निर्णय गरियो र लागियो जोगबनी बजार, धेरै बेरको दलालीपश्चात् सामसुङको सेकेन्ड हेन्ड श्यामश्वेत (सादा) मोबाइल किन्ने निधो गरियो त्यो पनि १८०० रुपियाँमा । हामीसँग भएको १६०० रुपियाँमा थप २०० उही साथीसँग सापटी लिइयो र किनियो मोबाइल टाउकोमा २०० को कर्जा थोपारेर ।
एन्टिनावाला सामसुङ मोबाइल त किनेर ल्याइयो तर घरमा बुbaआमाको धेरथोर कडा प्रवचन पनि सुनियो ।
आखिर रहरलाई आत्महत्या गर्न दिन त भएन नि हैन र ?
“मेरो मोबाइल” नामले परिचित हालको “एनसेल” सिम बहुत दु:खले किनियो ।
सिम किनियो मोबाइल पनि छ तर फोन कसैको आउँदैन, पीडामाथि पीडा थपिने क्रम जारी थियो ।
फोन आओस् पनि कसरी र कसको ?
गाउँमा जम्मा दुई जनाको मात्र मोबाइल छ ।
त्यसो त अरूहरूको पनि थियो होला मोबाइल तर हाम्रो सम्पर्कभन्दा पर र टाडा थिए तिनीहरू…।
गाउँभरिका छरछिमेकीहरूलाई आफ्नो नम्बर दिँदै “आफन्तहरूलाई यो नम्बरमा फोन गर्न भन्नू है” भन्ने गर्दथेँ ।
कसैको फोन नआएको बेला ‘मसँग मोबाइल छ’ भनेर गाउँ जगत्लाई देखाउनकै लागि भए पनि साइकल चलाउँदै कतै जाँदा/आउँदा मोबाइलको ‘रिङ्गटोन’ ठुलो आवाजमा बजाएर “फोन पनि कत्ति आएको हौँ, हत्तेरिका ।” भन्दै सुनाउने मेरो चर्तिकला त आज पनि मेरो मानसपटल ताजै छ ।
ऊ बेला अहिले जस्तो जता पायो त्यतै फ्याट्टै नेटवर्क आउँदैन थियो, फोन आएका बेला कुरा गर्न कहिले डाँडा-डाँडा परेको ठाउँमा जानुपर्थ्यो त कहिले रुख नै चढ्नुपर्ने हुन्थ्यो ।
गज्जबको थिए त्यस बेला…ती दिनहरू ।
हजुरबुबाहरूको पालाको कथा/कहानी सुन्नु/पढ्नुको मज्जा नै बेग्लै थियो ।
हाम्रो पुस्ताको यस्तो कथा/कहानी त झन् के हो र!
म स्वयंले १६०० रुपैयाँमा खरिद गरेको श्यामश्वेत मोबाइलको कहानी, अहिले करिब ६० हजार रुपैयाँमा खरिद गरेको स्मार्ट मोबाइलको छातीमा औँलाहरू दौडाएर कोतारिरहेको छु, लेखिरहेको छु ।
समय कहाँबाट कहाँ पुगिसकेछ । देशविदेशमा छरिएर रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई २०७८ सालको विजयादशमी, शुभ दीपावली एवं छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

