“बाबा ! २९ गते आउन कत्ति दिन बाँकी छ ?” हरेक दिन छोरोले सोध्ने प्रश्न हो यो ।

त्यसअघि हरेक पटक बोल्दा “कहिले आउने बाबा ?” भनेर सोध्थ्यो । केही दिन अघि उसैले भन्यो, “बाबा दसैँमा आउनू है ।” मैले भनेँ, “ज्ञानी भएर बस्यो भने मात्रै म आउँछु ।” त्यस दिनदेखि ऊ आफू ज्ञानी भए वा नभएको जाँच गराइरहन्छ । “दसैँ कहिले हो?” भनेर सोध्दासोध्दै उसकी दिदीले “२९ गते हो” भनिन् । त्यसपछि उसको ध्यान २९ गतेमा अडिएको हो ।

छोरीले त बुझ्छिन् कि उनीहरूको बाउ त्यति सजिलै र भन्नासाथ टुप्लुक्क घर पुग्न सक्दैन तर छोरो त्यो उमेरमा पुगेको छैन । मलाई याद छ म सानो हुँदा दसैँ आउन कत्ति धेरै समय लाग्थ्यो । पर्खँदा-पर्खँदा दिक्क लागिसक्थ्यो तर दसैँ आइनपुग्ने । त्यति बेला मीठो खानेकुरा (चामलको भात र मासु नै सबैभन्दा मीठो चिज हुन्थ्यो ।) का लागि दसैँ पर्खनुपर्थ्यो । त्यो सँगसँगै अनेकन् रमाइला चिजहरू हुन्थे । नाचगान, पिङ लगाउने/खेल्ने, हुल बाँधेर रमाइलो गर्ने, मावली जाने इत्यादी तर मलाई त्यस्ता अनेकन् रमाइला चिजहरूले खास आकर्षण सक्दैनथे । बरु दसैँमा अलिकति फुर्सद हुन्थ्यो । बर्खे कामहरू सकिसकेकाले खेतीपातीको कामबाट मुक्त हुने, स्कुल जान नपर्ने भएपछि आफ्नै सुरमा रमाउन पाइने भएर म प्रफुल्लित हुन्थेँ क्यार । यतिखेर सम्झिन्छु, म एक्लै आफैँमा हराएर रमाउँथेँ । साथीभाइसँगको जमघटले कहिल्यै पनि मनैबाट उत्साहित बनाउन सक्दैनथ्यो । दसैँ सकिएको भोलिपल्टदेखि अर्को दसैँको गन्ती सुरु गर्दा ती दुई दसैँको दूरी कत्ति धेरै लामो भएजस्तो लाग्थ्यो तर घरका ठुला मान्छेहरू भने भन्थे, “तिमीहरूको पालो पनि भर्सेलिमा झुन्डिरहेको छ, एकदिन भेट्छौ ।” त्यतिखेर यो गम्भीर वाक्यको दारुण अर्थ कहाँ बुझ्नु र!

दिलिप बान्तावा (दक्षिण कोरिया)

तर त्यो छोटो वाक्यको अर्थ बुझ्न थालेदेखि भने समयको रफ्तार साह्रै छिटो भएको आभास हुन थालेको हो । एउटा दसैँ मनाउँदा लागेको खर्चहरूको हिसाबकिताब व्यवस्थापन गरी नसक्दै अर्को दसैँ आइसक्छ । यस्तो लाग्छ दुई दसैँको दूरी फगत एक निद्राको समय मात्र हो । दसैँ त एउटा उदाहरण मात्रै हो, समय कत्ति चाँडो बित्ने रहेछ भन्ने आभास पाउनका लागि ।

मैले देश छोडेको पाँच वर्ष पुग्नै लाग्यो । छुट्टीमा घर जान्छु भन्न थालेको मात्रै पनि तीन वर्ष भयो । मान्छेलाई परदेशको चक्रले यस्तरी घुमाइदिने रहेछ कि मानौँ, त्यो एउटा भुलभुलैयाको खेल हो, जसको भित्रपट्टि मनग्य खेल्ने ठाउँहरू त छन् तर बाहिर निस्कने उपयुक्त ढोका भेट्न मुस्किल हुन्छ । परदेश पसिसकेपछि घरदेश चाहेर पनि भनेकै समयमा पुग्न सकिन्न । परदेशको बसाइ यति बोझिलो हुन्छ कि परिवार, आफन्त, साथीभाइ सबैको आआफ्नो तहअनुसारको अपेक्षाको भारी बोकेर बस्नुपर्छ । त्यो भारीको तौल घटाउने चक्करमा परदेश बसाइको समय उकालो लागिरहेकै हुने रहेछ । एकपछि अर्को आवश्यकता र इच्छाहरूको बिट मार्दामार्दै समयको फेरो कत्तिखेर घुमिसक्छ पत्तै नपाइने । कहिलेकाहीँ भित्तामा अडेस लागेर सिलिङ हेर्दै सम्झिँदा बितेको समयको हिसाबले पो झस्काइदिन्छ त ।

मलाई आजकल छोराछोरीहरूको अनेकौँ प्रश्नले झस्काइरहन्छ । कहिलेकाहीँ नमज्जाले भत्काइदिन्छ मन । मैले छोड्दा छोरी भर्खर ६ वर्षकी थिइन् । छोरो तीन वर्ष पुगेकै थिएन । त्यति बेला उनीहरूमा धेरै प्रश्न गर्ने चेतना आएको थिएन । छोरी मैसँग लुटुपुटु गरिरहन्थिन् । छोरा भर्खर स्कुल जान सिकिरहेथ्यो । बेला-बेलामा छोराछोरी दुवैलाई लिएर विनाउद्देश्य बरालिन निस्कन्थ्यौँ बाटातिर, नजिकैको चउरतिर, डाँडातिर ।

म उनीहरूको बालसुलभ प्रश्न र जिज्ञासाहरू सुन्थेँ र आवश्यक जबाफ दिन्थेँ । त्यति बेला आफूलाई उनीहरूमा प्रतिस्थापन गरेर आफ्नो बाल्यकाल सम्झिने कोसिस गर्थेँ तर बाल्यकालको मधुरो स्मृतिमा खेतबारी, कान्ला, धुलोमाटो, वनजङ्गल बाहेक अरू आउँदैनथ्यो । अर्थात् मेरो बाल्यकाल मेरो छोराछोरीको बाल्यकालभन्दा कैयौँ गुणा टाढा थियो । बिर्सनलायक थियो । त्यसैले छोराछोरीहरूको बाल्यकाललाई सकेसम्म सुन्दर र अविस्मरणिय बनाउने ध्याउन्न रहन्थ्यो । भोलि गएर आजको समय सम्झँदा पुलकित हुन सकून्, आजको समयप्रति कृतज्ञ बन्न सकून् । यस्तै चाहना रह्यो र त्यसरी बन्ने उनीहरूको हरेक स्मृतिमा म आफूलाई समाहित गर्ने लोभ पनि थियो म मा । अर्थात् सुदूर भविश्यमा आफ्ना छोराछोरीहरूको सुन्दर सम्झनामा आफ्नो उपस्थिति रहोस् भन्ने चाहना । त्यसैले सकेसम्म उनीहरूको बाल्यकाललाई आफ्नै हातले डोर्‍याएर समयको पल्लो टुप्पासम्म पुर्‍याउने रहर थियो ।

तर एउटा भनाई छ, मध्यम परिवारका लागि परिवारसँग समय व्यतीत गर्ने वा आर्थिक मजबुतीका लागि प्रयास गर्ने दुई विकल्पमध्ये कुनै एउटा मात्रै साथमा हुन्छ । अझ हाम्रो जस्तो आर्थिक विकासको पिँधमा रहेको देश, रोजगारीका अवसरहरू पर्याप्त नहुने मात्रै नभई बेथिती र अख्तियारको चरम दुरूपयोग हुने राज्य व्यवस्थामा मध्यम परिवारका लागि आफ्नो प्राण र स्वाभिमान दुवै जोगाउनु निकै चुनौतीपूर्ण छँदै छ । यिनै पृष्ठभूमिमा दैनिक सयौँ युवाहरू वैधानिक, अवैधानिक रूपमा रोजगारको खोजीमा देश छाड्ने गर्दछन् । परिवार, समाज, देशबाट टाढा गएर त्यो ठाउँको दोस्रो दर्जाको नागरिक भई आफ्नो श्रम र पसिना बेच्नु सायद कसैको पनि रहर होइन । खेतबारी बाँझै राखेर सीमित आर्थिक उपार्जनका लागि परदेसिनु नेपाली समाजमा विकसित सामाजिक चिन्तन, नागरिकहरूका प्रति राज्यको उदासीनता, दिगो विकास र पूर्वाधारको योजनाविहीन राज्य संयन्त्र यस्तै-यस्तै कारणहरू हुन् । आफ्नै भूमिमा पौरख गरेर आरामदायी जीवन बिताउन सकिन्छ भन्ने आभास दिलाउने राज्य भइदिएको भए आज बन्जर बन्दै गइरहेका जमिनहरूमा अन्नरूपी सुन फलिरहेको हुन्थ्यो । बिदेसिनका लागि सहर र सदरमुकामतिर लाम लाग्ने युवाहरू आफ्नै खेत, खलियानतिर धुरिएर पसिना रोपिरहेको भेटिन्थे । सहरका गल्लीभरि अटिनअटी आफ्नै परिचय हराउने गरी कुदिरहेकाहरू आफ्नै गाउँलाई समुन्नत बनाई लेकबेँसी धाउनमा रमाइरहेका हुने थिए तर जुनसुकै व्यवस्था बने पनि सत्ताको छिनाझप्टीबाहेक बाहिर निस्कन नसकेको नेपाली राज्यसत्ताले नागरिकहरूलाई सुरक्षित भविश्य दिने सम्भावना कहिल्यै देखिएन । जसले जति गर्न सक्छ त्यति नै हो उसको भाग । सक्नेले कुरुस्तै भारी हालेर बसेको छ, नसक्ने नाङ्गै भुईँमा लडिरहेको छ ।

ती दुईलाई उस्तै र उत्तिकै अधिकार छ यो देशमा बाँच्नका लागि भन्ने उल्लेख गरिएको संविधानको धारामा सायदै कसैको आँखा पुग्ला । बरु निर्धाहरूको हातमा रहेको एक गाँस भए पनि खोसेर आफ्नै पोल्टामा लुकाउने तागतदार मान्छेहरू सुयोग्य ठहरिन्छन् । लाग्छ यो देशमा बाँच्ने अधिकार तिनीहरूलाई मात्र छ, जो सम्पूर्ण रूपमा निर्धा छन् तिनीहरू किचिन, थिचिन, चेप्टिन मात्र लायक छन् । तिनलाई मान्छे भएर बाँच्ने कुनै दरकार छैन । के त्यस्ता तहका नागरिकका लागि राज्यले समतामूलक व्यवहार गरेको कतै हेर्न पाइन्छ र? त्यस कारण जनउत्तरदायी राज्यको कल्पना गर्दै विकासको उच्च गतिमा दौडिरहेका देशहरूको भौतिक विकासको काममा मेसिन जसरी नारिएर श्रम बेच्न पुग्नु नेपाली युवाहरूको नियति बनेको छ ।

यदाकदा झस्काउने गर्छ त्यही तीव्र रफ्तारमा दौडिरहेको समय सङ्केतले । मीठो सपनाको लय भेट्न दौडिरहेको म थुप्रै बिपनाहरू छुटिरहेका छन् आफ्नै आँखाअगाडि । माथि नै भनिसकेँ, मध्यम वर्गका लागि परिवार या आर्थिक व्यवस्थापन मध्ये एउटा मात्रै जुर्छ । यतिखेर म मेरो छोराछोरीहरूको छुटिरहेको बालापन सम्झेर अत्तालिन्छु । सबैभन्दा पहिलो वाक्य ‘बाबा’ बोल्न सिकेकी छोरीको बाल्यकालसँग थुप्रै सम्झनाहरू छन् मसँग । बामे सर्दै तोते बोलीको विकास हुँदै उनले बोल्न सिकेको हरेक शब्दहरूको संरचनाको याद छ मसँग । स्कुल जान थालेपछि उनले लेख्न सिकेको हरेक धर्काहरू सम्झिरहन्छु । उनको त्यो अबोध बाल्यकालको अमिट खुसीलाई सुदूर भविश्यसम्म स्थायी बनाउने सपना थियो मेरो । त्यही सपनाको फेरो समातेर उनको बाँकी बाल्यकाल मेरो काखबाट खुसुक्क निकालेर म परदेसिएँ । मैले छोड्दा छोरो भर्खरै बोल्न सिकिरहेको थियो । कहिलेकाहीँ दिदीभाइ दुवै जनालाई लिएर म त्यत्तिकै डुल्न निस्कन्थ्यौँ बाहिर । जता जान मन लाग्यो त्यतै पुग्थ्यौँ । म पनि उनीहरूजस्तै सानो बच्चा भैसक्थेँ । बाटामा ढुङ्गा टिपेर खेल्थ्यौँ, कमिलाको ताँती भेटे त्यसैको छेउमा तिनै जना बसेर हेर्थ्यौँ । चउरमा बसेर अनेकौँ खेल खेल्थ्यौँ । म उनीहरूसँग हुँदा उनीहरूजस्तै हुन खुब मन पर्थ्यो । छोरो मलाई र दिदीलाई दुईपट्टि राखेर ऊ बिचबाट दुवैको हात समाई हिँड्न मन पराउँथ्यो । सधैँ सँगै बस्न पाएनौँ हामीले । गाउँबाट उनीहरूलाई भेट्न बेला-बेला सहर गएका बेला हामी त्यसरी घुमिहिँड्थ्यौँ । म उनीहरूको त्यो स्वर्णिम बाल्यकाल सुन्दर र सम्झनालायक बनोस भन्ने चाहन्थेँ । उनीहरू जिन्दगीको जुनसुकै मोडमा पुग्दा पनि त्यो बाल्यकाल सम्झेर पुलकित होऊन् जुन समय उनीहरूको बाउसँग बितेको थियो भन्ने चाहन्थेँ ।

तर नियति यस्तो बन्यो कि त्यो मेरो चाहना अधुरै रहने भयो । समय यस्तो तागतदार छ कि एकपटक छुटेको पल त्यो कहिल्यै फर्केर आउँदैन । बितेपछि बित्यो, सकियो । यो पाँच वर्षका बिचमा म छुट्टी लिएर घर जान चाहन्थेँ । छुट्टीको समयसमेत टुङ्गो लागिसकेको थियो । मैले धेरै समय छोराछोरीहरूसँगै बिताउने योजना पनि बनाएको थिएँ । उनीहरूलाई म गाउँ लैजानेछु । गाउँको हरेक गल्ली उनीहरूलाई डुलाउनेछु जहाँ मैले खाली पैताला बर्सौँसम्म हिँडेको छु । मैले घाँस काटेको जङ्गल, गोठालो गरेको बेँसी, माछा मारेको खोला, पढेको स्कुल, गाग्रीबाट पानी ओसारेको पँधेरा, बाँसको पँट्यासमा बसेर सिलिली खेलेको बाँसघारी सबै-सबै ठाउँ उनीहरूलाई डुलाउन चाहन्थेँ मेरो बाल्यकाल सम्झँदै । दुई वर्षअघिको यो सपना पनि पूरा हुन पाएन । कोरोनाको प्रकोपले गर्दा पाएको छुट्टी रद्द गर्नुपर्‍यो र फेरि अनन्त समयको डोरीमा उस्तै पिङ खेलिरहेको छु ।

समय उम्कँदो छ । समयसँगै मान्छेहरूका विचार, सोचाइहरू गतिशील र परिवर्तित भइरहन्छन् । यतिखेरको समयको आँखीझ्यालबाट त्यतिखेरको दृष्य चिहाउँदा अहिलेको दृष्यसँग मेल नखानु स्वाभाविक छ । अब मैले मेरो छोराछोरीहरूको त्यो बाल्यकाल यतिखेरको उनीहरूको उमेरमा खोजेर सम्भव छैन तर मन भने त्यति बेलाकै समयमा स्थिर (Pause) भएर बस्न खोज्दो रहेछ । अब त उनीहरूको उमेरअनुसारको स्वभाव बन्दै जान्छ । क्रमशः बाउआमाको हातबाट आफ्नो हात खुस्काएर स्वतन्त्र ढङ्गले हात हल्लाउँदै हिँड्ने उमेरमा पुग्दैछन् । साँच्चै नै यो अवस्थामा बाउ आमालाई निकै सकस हुने रहेछ आफ्नो हातबाट छुटिरहेका छोराछोरीहरूको हात हेर्न ।

दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवायुवतीहरू हवाइमार्ग र स्थलमार्गको प्रयोग गर्दै देश छोडिरहेका छन् एक थान सुखका लागि तर लाखौँ बालबालिकाहरू भने असल अभिभावकत्व पाउनुपर्ने आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन् । यो चक्रीय प्रणालीले हाम्रो उत्पादकत्व घटाइरहेको छ, खेतीयोग्य ठाउँहरू बन्जर बन्दै गइरहेका छन् । देशभित्रै बसेर मेहनत गर्नुपर्छ भन्ने सोचाइमा स्खलन आइरहेको छ । जसले गर्दा हामी पूर्णतः परनिर्भर बन्नुपर्ने स्थितिको निर्माण भइरहेको छ । यो सबै चिजको व्यवस्थापन गर्नुपर्ने राज्य कहिलेसम्म अनुत्तरदायी बनिरहने हो खै?