सानो छँदा एउटा गीतले मलाई साह्रै विरक्ति जगाउँथ्यो । त्यो गीत सुन्दा एउटी महिलासँग बास बस्नका लागि अनुनय विनय गरिरहेको एक लोग्ने मान्छेको निरीह अनुहार मेरो मस्तिष्कमा घुम्न आउँथ्यो । मलाई त्यसको साह्रै मायाँ लाग्थ्यो । कति टाढादेखि हिँडेर आएको होला । भारी बोकेको होला । भोकै तिर्खै होला, सके बिरामी पनि होला । हिँड्दा हिँड्दा खुट्टामा फोका उठेका होलान् । बास बस्ने ठाउँ अन्त कतै नहोला वा टाढा होला । अर्को ठाउँसम्म पुग्ने उसको हुती नहोला । साँझ परिसकेको होला । नत्र कसैले त्यस्तरी गिडगिडाएर किन बास माग्थ्यो त्यस्तो मुस्किलको अवस्थामा त्यस्तो मिठो स्वरमा गीत गाएर बास माग्दा पनि त्यो छुच्ची आइमाईले किन बास दिन इन्कार गरेकी होली भनेर मेरो चित्त कटक्क हुन्थ्यो । कहीँ टाढा हिँड्नुपर्‍यो, कतै रात परेर बास माग्नुपर्‍यो भने त आपत् पो पर्ने रहेछ नि भनेर चिन्ता लाग्थ्यो ।

घरभेटी नानी हो……….

आँगनमा देऊ न मलाई बास
आँगनमा देऊ न मलाई बास
आँगनमा देऊ न मलाई बास ।

परदेशी दाजु
आँगनमा दिनु हुन्न बास
आँगनमा दिनु हुन्न बास
आँगनमा दिनु हुन्न बास ।
अहिले बाबा आउनेछन्, धत्याङधुतुङ गर्नेछन्,
परदेशी दाजु आँगनमा दिनु हुन्न बास ।

हेर्नू त, यस्तरी बारम्बार अनुनय विनय गर्दा पनि घरभेटी महिलाले बास दिन बारम्बार इन्कार गर्छे । परदेशीले आँगनमा बाबाले धत्याङधुतुङ काम गर्ने भए पिँडीमा देऊ न त भनेर उस्तै मिठो स्वरमा बास माग्छ । एकछिनमा बहिनी आएर ढिँकी जाँतो गर्छिन्, त्यहाँ बास दिन मिल्दैन भनेर घरभेटी महिलाले फेरि पनि बहाना बनाउँछे । तैपनि परदेशीले छाड्दैनन्, उसो भए चोटामा देऊ न त भन्छ तर त्यो निष्ठुरी महिलाले आमा आएर चुलाचौका गर्न थाल्छिन्, त्यहाँ पनि हुँदैन भनेर आफ्ना घरमा बास नदिने हुन्छे ।

कस्तो मायाँ लाग्थ्यो त्यो परदेशीको । गीत दोहोर्‍याएर पटक-पटक सुन्दा अब चाहिँ बास दिन्छु भन्छे कि भनेर म आश गर्थेँ तर अहँ, ऊ कसैगरी पग्लन्नथी । एक रातलाई बास दिएको भए के बिग्रन्थ्यो जस्तो लाग्थ्यो । त्यो मर्मस्पर्शी गीत रहेछ गणेश रसिक र कमला श्रेष्ठले गाएको । पछि थाहा भयो ।

अहिले आएर त्यो गीत किन सम्झेको भनेँ-

भर्खरै केही दिन अगाडि पत्नी गीता जागिरका सिलसिलामा जाँदा बाटाको खराबीले गर्दा काठमाडौँबाट बिहान हिँडेकी बेलुका राति भरतपुर पुगेर त्यहीँ बास बस्नुपर्‍यो । गन्तव्य थियो बुटवल । यसरी गन्तव्यमा नपुगी रात पर्‍यो भने परदेशमा कतै बास बस्नुपर्ने हुन्छ । उनीसँग राति बासका बारेमा गफगाफ भयो । उहिले काठमाडौँबाट झापा गौरादह घर जाँदा घर नपुग्दै साँझ परेपछि बिस मिनेट तलको घर पुग्ने आँट नआएर उनी डिपुचोकमा बास बसेको प्रसङ्ग पनि आयो । अनि मलाई बास बसेका अनेक घटना याद आए र यो विषय धेरैका लागि रमाइलो होला भन्ने लागेर बासका सम्झनाहरू लेख्न कस्सिएको हुँ ।

यसो गहिरिएर विचार गर्दा बास बस्ने भनेको आफ्नो डेरा वा घरबाहेक अन्यत्र जहाँसुकै भए पनि शरिरलाई विश्राम दिने एउटा ओछ्यान वा ओछ्यानजस्तै कुनै ठाउँ होस् । भए ओड्ने-ओछ्याउने होस् । कपासको, काठको वा ढुङ्गाकै भए पनि सिरानी होस् वा त्यो पनि नहोस् । यति बन्दोबस्त गरेर एक वा एकभन्दा बढी रात कटाउने व्यवस्था । यो पाँचतारे होटलदेखि ओडारसम्म जहाँ पनि हुन सक्ने भयो । यही होला बास बस्ने भनेको ।

जे होस्, म अहिले बासको परिभाषा फुराउन वा यसको महत्त्वका बारेमा विज्ञता छाँट्न बसेको होइन । बासको महत्त्व बास हुनेलाई भन्दा नहुनेलाई बढी हुन्छ । संसारमा करोडौँ मान्छेहरू छन् जसको आफ्नो स्थायी बास छैन । छ भने पनि सधैँ धरापमा छ, कुन बेला त्यो बास उठिबास हुन्छ थाहा हुँदैन । खोलाले बगाउँछ, हुरीले उडाउँछ, आगाले डढाउँछ, पहिराले बगाउँछ, आतङ्कारीको आक्रमणमा पर्छ, सरकारले लडाउँछ, जे पनि हुन सक्छ । झुप्रा, कटेराका के कुरा, मान्छेले कङ्क्रिटका बलिया बलिया पिलर लगाएर कैयौँ तले घर बनाएर पनि बास बस्छ । त्यो पनि स्थायी हुँदैन । कृत्रिम वा प्राकृतिक कुनै पनि कारणले त्यस्ता बास तासका घर भएको पनि हामीले देखेकै छौँ । छँदाखाँदाको बासबाट उठिबास भएर कति जना पालमा बास बस्न पुग्छन्, कति कटेरामा, कति ओडारमा, कति रूखमनि, कति पाटीमा, कति सडकमै पुग्छन् । कति आफन्तकोमा बास माग्न पुग्छन्, कति त आफ्नो देशभित्रैबाट उठिबास भएर विदेशमा बास माग्न पुग्छन् । बासको यो अत्यन्त संवेदनशील प्रदेशतिर प्रवेश गर्न चाहन्न म अहिले । कुरामा कुरा आएको मात्र हो । म त आफैँ बास बसेका अनेक रमाइला र साधारण घटनाहरुको सम्झना गर्न पो लागेको छु ।

बाल्यकालमा घर छाडेर अर्काका घरमा बास बस्न जान खुब रहर लाग्थ्यो । त्यस बेला घरबाट लुसुक्क भागेर पालीआमैको घरमा धेरै रात बास बसेको छु म । केही रात गणेश काकाको घरमा बसेको सम्झना छ । अन्त पनि कतैकतै त्यसरी बास बसेँ हुँला । घरबाट अनुमति नहुँदा नहुँदै जबरजस्ती अर्काको घरमा बास बस्न गइन्थ्यो किनभने त्यहाँ ‘बाहुन नानी’ को विशेष मानसम्मान पाइन्थ्यो, घरमा सधैँ खानेभन्दा केही भिन्न खानेकुरा खान पाइन्थ्यो र दौँतरीहरूसँग खेल्न पाइन्थ्यो । त्यसरी अर्काका घरमा बारम्बार बास बस्न जाँदा कतिपटक त आमाले वा दिदीले घिसारेर पनि घर ल्याउनुहुन्थ्यो ।

नौ-दश वर्षको उमेरको कुरा, राजाखर्के न्यौपानेका घर छेउछाउ सायद सुवेदी बाबैका घरमा कसैको बिहेमा गइएको थियो । रातिको बिहे ८-९ बजेसम्म त बिहेको रमझममा हराइयो होला, त्यसपछि त निद्राले छोपिहाल्यो । अर्काका घरमा कहाँ सुत्ने ? कसलाई सोध्ने ? कसले सोधीखोजी गर्ने ? जता पनि मान्छे नै मान्छेको कुँडुलो छ । अनि घरको सम्झना आयो । आमाले नजा दुःख पाइन्छ, खान पाइँदैन, सुत्न पाइँदैन भनेको कुरा याद आयो । एकाध घण्टा रोएर बिताएँ । त्यसपछि कसैले रुँदै गरेको फेला पारेर घरपरतिर खलेगरामा थुपारेको परालमा लगेर परालले नै छोपेर सुताइदियो । अरू पनि केटाहरू र ठूला मान्छेहरू त्यसरी नै सुत्ता रहेछन् । बाल्यकालको त्यो एउटा अविस्मरणीय बासको कथा थियो ।

एकपटक नागको बिटो बोकेर गाउँतिर टाँस्न हिँड्दा घरबाट धेरै टाढा पुगिएछ । फर्किने बेला साँझ पर्‍यो । दिनभरि सँगै हिँडेका साथीले उसकै घरमा बास बसौँ भन्दा घरै पुग्न मन लागेर नमानी हिँडेँ । हिँड्दै जाँदा जङ्गल, झाडी, दुई-दुई ओटा खोला, चिहानघारीको बाटो सम्झिन थालेपछि डर लाग्न थाल्यो । बाटामा मण्डलको घर थियो, त्यतै बास बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । घरछेउमा पुगेर रोकिएँ । कसैले देखेर बोलाइदिए पनि कति जाती हुन्थ्यो नि तर सब सुनसान । कसैलाई बोलाउने, ढोका ढकढक्याउने आँटै भएन । त्यहाँ बास बसाइ हुँदैन भन्ने लागेपछि म न्वारानदेखिको आँट निकालेर, पाइला राख्ने भुईँ मात्र हेरेर दौडेको दौडेकै घर पुगेँ । यो चाहिँ बास नबसेको तर कहिल्यै नबिर्सिने बासको कथा थियो ।

दोरोखामा पौडेल मावालीकोमा केही रात बास बसियो । धुवाँले पहेँला भएर पनि काला भइसकेका टाटेपाटे झुत्रो परेका गनाउने धुसा वा पाखी ओडेर । ओछ्याउनेमा राडी हुन्थ्यो, सिरानेमा काठको पिर्का ।

बाल्यकालमै घरबाट तल सुन्तला बगानका पुछारमा रहेको गोठमा पनि केही रात बास बसेको छु जेड दाजुसँग । बाँसका कप्टेराहरूबाट बनाएको खाटमा । रहरको बास ।

आमासँग डोकोमा बसेर हिँड्दा ओडारमा, गोठमा, पाटीमा, पुलमाथि बसेका बासका कुरा नगरौँ, ती सुनेका बासका कुरा मात्र हुन् ।

कुन संयोगले हो एक रात दोरोखा स्कुलकी तुलसा ढकाल मिसको घरमा बास बसेको झझल्को छ । भुटानको त्यो गाउँमा त्यस्तो सफा बेडरुममा, त्यस्ता सफा ओड्ने ओछ्याउनेमा बास बसेको जीवनको पहिलो घटना थियो । हाम्रो प्रेरणाकी स्रोत ती तुलसा मिस आज हाम्री प्रिय माइली भाउजू हुनुहुन्छ भन्दा गर्वले छाती फराकिलो हुन्छ ।

झापामा बसाइँ सरेर आउँदा म बाह्र वर्षको थिएँ । झापा आएपछि एकवर्ष बडाबाको घर दमकमा बसेर उर्लाबारी पढियो । त्यसरी घरमै बसेको वा आफ्नै डेरामा बसेको कुरालाई यहाँ गफ गर्न खोजेको बाससँग नजोड्दा पनि हुन्छ तर बालक वा किशोर कालमा घर छाडेर डेरै बस्दा पनि सुरु-सुरुका केही समय घरको साह्रै न्यास्रो लाग्थ्यो । त्यस बेला आफ्नै ओछ्यान पनि अनौठो लाग्ने, निद्रा नलाग्ने । त्यस्तो बेलाको बास पनि अन्त गएर बास बसेकै जस्तो लाग्ने ।

गौरादहमा मेरो धेरै बास छिमेकी कान्छी फुपू दिदीका घरमा हुन्थ्यो । भाइ नारायणसँग छुट्टिनै गाह्रो । कि त उनी मेरोमा कि त म उनकोमा बास बसिरहन्थ्यौँ । गौरादह बजारमा जुत्ताचप्पलको व्यापार गर्ने कोइराला दाइले एकरात उनका डेरामा मलाई बास बसाए । खाना खाएपछि रातिसम्म जादू हेर भन्दै क्यारेमको बोर्डमा कप घोप्ट्याएर यता र उता घुमाएर के के गरे, म छक्क परिरहेँ । के गरेका थिए भन्ने चाहिँ अहिले पनि याद छैन । बरु उनको जादू नसकिँदै म निद्राले झ्याप भएर सुतिसकेको थिएँ ।

एकपटक भाइहरू गोविन्द, नारायण र म उट्पट्याङ पारामा घरबाट सात-आठ किलोमिटर टाढा फुपुको घर गयौँ । हामी पुग्दा बेलुका चार बजेको थियो । हामी बास बस्ने गरी नै गएका थियौँ । गाउँघरमा खाना छिटै खाइन्छ । साढे पाँच बजेतिर खाना खान पाइयो । खाना खाएपछि मलाई घर फर्किऊँ फर्किऊँ लाग्न थाल्यो । कारण के पर्‍यो भने एकपटक यही घरमा बास बस्दा ठूला-ठूला दाजुहरूका माझमा सुत्नुपर्दा मलाई ठूलो सकस भएको थियो । आज पनि त्यस्तै होला भन्ने मलाई लाग्यो । ओछ्यानका भित्तामा, मान्छेहरूका माझमा सुत्नुपर्‍यो भने मेरो हालत भइहाल्ने । सुत्नै नसक्ने ।

मैले भनेँ, ‘हिँड केटा हो, घर जाऔँ ।’ भाइहरू पनि हौसिने खालकै थिए, तयार भइहाले । हामीले घर जाने कुरा गर्दा फुपूले हप्काउनुभयो । किन जानुपर्‍यो साँझ परेपछि ? बास बस्ने गरी आएका होइन तिमीहरू ? अँध्यारो रात छ, यस बेला हिँडेर पुगिँदैन । चुप लागेर बस । फुपू कराउँदै हुनुहुन्थ्यो, हामी नटेरी हिँड्यौँ । हिँड्यौँ पनि के भन्नु, दगुरेरै राति ८ बजेतिर गाउँ पुग्यौँ । पुगेर पनि हामी दुई भाइ आफ्ना घर गएनौँ, दुई घरमास्तिर कान्छी फुपुकोमै बास बस्यौँ । बास बस्ने गरी गएर बास बस्दा हुने सम्भावित अप्ठ्याराको अनुमान गरेर बास नबसी फर्केको त्यो नबसेको बासको पनि मलाई याद आइरहन्छ । प्यारी माइली फुपूको स्वर्गवास भएको पनि निकै वर्ष भइसक्यो ।

कतै बास बस्नुपर्दा मलाई एउटा चिन्ताले सधैँ सताउँछ । होटल वा सहरिया घरहरूमा त समस्या हुँदैन तर गाउँघरमा बस्दा यो चिन्ता हुन्छ । मेरो सधैँको बानी भनौँ कि बिमार हो कि के हो, सुत्नुभन्दा ठिक अगाडि शौचालय जानैपर्छ । पाँच-सात मिनेटअगाडि गएको छ भने पनि हुँदैन । त्यत्तिकै सुत्यो भने एकैछिनमा पिसाबले च्यापिहाल्छ । प्रायः राति दुईपटकसम्म शौचालय जानैपर्छ । अन्त कतै गएर बास बस्दा शौचालयका बारेमा मैले जहिले पनि सतर्क हुनुपर्छ । गाउँघरमा शौचालय घरबाहिर, कतै त निकै टाढा बाँसझ्याङका फेदतिर पनि हुन सक्छन् । त्यस्ता ठाउँमा टर्च लाइट, ढोकाको आग्लो, छेस्किन, तलामाथि हो भने सिँडीको घोप्टे, टोक्ने कुकुर, सर्प आदि बारे पनि जानकारी लिइराख्नुपर्छ । गाउँघरमा बास बस्दा, बाहिर निस्कन समस्या भएर रातभरि पिसाब थामेर ननिदाई बसेका धेरै घटना छन् ।

केहीकेही बासहरू कहिल्यै नबिर्सिने हुँदा रहेछन् । म एसएलसी दिएपछि झापाबाट रसुवा जानका लागि हिँडेँ । तलको बाटो खुलेपछि रात्री बसले हेटौँडामा बास बसाएर काठमाडौँ लान छाडिसकेको थियो, नारायणघाट हुँदै काठमाडौँ लैजान्थ्यो । दोस्रोपटक काठमाडौँ आउँदा आफ्नो डेरा थिएन । त्यस बेला भीमसेनस्थानमा डेरा लिई बस्ने अपरिचित दाइ युवराज खरेलको डेरामा बास बस्न पुगेको थिएँ । भोलिपल्ट झन् अपरिचित र दुर्गम ठाउँतिर यात्रा गर्नुपर्ने कुराले नरमाइलो अनुभव भयो । राम्ररी ननिदाई रात काटेँ । काठमाडौँमा अरूकोमा बसेको त्यो पहिलो बास थियो ।

रसुवा पुगेर धुन्चेमा दाजुका डेरामा बास बसियो । त्यो त सामान्य भैहाल्यो तर त्यसपछिका केही बास भने अविस्मरणीय रहे । मलाई आफ्नो मायाँ लाग्ने कुनै घटना वा समय सम्झयो भने त्यो समय पनि टड्कारो भएर आउँछ । ‘विस्तारित खोप आयोजना’ भन्ने सरकारी अफिसमा जागिर पाइयो । एक हप्ताको तालिम लिएपछि काँधमा भ्याक्सिनका सामग्रीको गह्रौँ झोला भिरेर एक जना नौलो दाइ-साथीका साथ लागेर रसुवाका विभिन्न गाउँ पञ्चायतहरूतिर फिल्डमा हिँडियो । अरू अनुभव कतै लेखेको छु तर एउटा बासको त्रास कहिल्यै नभुलिने छ । थुमन कि यस्तै के भन्ने ठाउँमा एक जना गाउँका अध्यक्ष वा वडाध्यक्षको घरमा झोला बिसाइयो । गहुँको मुड्के रोटी, खुर्सानीको पिरो न पिरो अचार र फिक्का चिया खाएर घरको एकतलामाथि सुतियो । राति अचानक निद्राले छाड्यो, पेट हुँडलिएछ । गुडुडुगुडुडु गर्न थाल्यो । घडी हेर्दा बिहानको ३ बजेको रहेछ । आपत् पर्ने स्थिति आइसक्यो । निकै बेर उठेर ओछ्यानमै बसेँ । बाहिर जानैपर्ने स्थिति भयो । साथीलाई एकपटक त भनेँ, ‘आ केही हुँदैन, थाम न बिहान जानू ।’ भनेर झर्किँदै ऊ अर्कापट्टि फर्केर घुर्न थाल्यो । ढोका उघारेर बाहिर बरन्डामा निस्किएँ । तल आँगनमा ठूलो भालुजत्रो भोटे कुकुर घ्वाङघ्वाङ गरेर भुकिरहेको छ । बाहिर निस्कने त कुरै भएन । ज्यान जानुभन्दा बरु लुगै बिग्रनु ठिक छ भनेर भित्र पसेँ र ओछ्यानमा बसेँ । कहिले घोप्टे परेर, कहिले उत्ताने परेर, कहिले भित्तामा खुट्टा ठड्याएर, कहिले बटारिँदै, कहिले धेरै बेरसम्म सास रोक्दै ठूलो कष्टका साथ मैले रात कटाएँ । त्यो बास मेरो जीवनकै कष्टकर बास थियो । त्यही बेला हो, स्याफ्रुबेँसीमा बास बस्दा भोटेकोसी नदीले स्वाँ…. गरेर कराएर रातभरि सुत्न नदिएको । बोलेको पनि राम्ररी नसुनिने गरी खोला कराउने ठाउँमा मानिसहरू कसरी निदाउँछन् होला जस्तो त मलाई अचेल पनि लाग्छ ।

महेन्द्र मोरङ कलेजमा कमर्स पढ्न नाम लेखाएर साथी पुरुषोत्तम र म तीनटोलियामा डेरा लिएर बसेका थियौँ, चालिस सालमा । एक दिन साथीले भने, ‘जाऔँ भोजपुर, घर पुगेर खर्चवर्च लिएर आऔँ ।’ म पनि नयाँ ठाउँ देखिने जाऔँ न त भनेर पछि लागेँ । हामी धरान, चतरा, बराहक्षेत्रको भिरैभिरको बाटो हुँदै बेलुकातिर तीङ्लापुको डाँडोमा एक जना खत्रीको एक्ले घरमा बास बस्न पुग्यौँ । खत्रिनी भाउजूले चामल, नून, तेल, साग, कराही, भाँडा, थाल पनि दिइन् । साथीको चिनजानको ठाउँ भएकाले बाहुन केटाहरूले खत्रीको घरमा आफैँ भात पकाएर खानुपर्‍यो । हामीले भात पकायौँ । अँध्यारामा चामल राम्ररी नहेरी पकाइएछ । आधा भुस, आधा चामल, बिच-बिचमा ढुङ्गा, भोको पेट । सागका झोलसँग नचपाई भातका डल्ला सुलुतसुलुत निलेर राडी ओछ्याएर, काठको पिराको सिराने लगाएर, बर्की ओडेर झयाप्प निदायौँ । त्यस्तो बास पनि बसियो एउटा । फर्किँदा चोर पछि लागेको आशङ्कामा दौडिएको दौडिएकै भएर राति बास बस्न विराटनगरै पुगेको घटना पनि छँदै छ ।

केही वर्ष अघि एउटा रमाइलो बासबसाइ भयो । काठमाडौँबाट पहिलोपटक आफैँले गाडी चलाएर सपरिवार झापा हिँडेको तल्लो बाटो हुँदै । भान्जाको ससुरालीघर गैँडाकोट पुगेर पूर्व लाग्दा बेलुकाको चार बजे भइसकेको थियो । भान्जाकी सासूआमाले रात पर्‍यो नजानू, यतै बसेर भोलि जानू भन्दाभन्दै भान्जाले एघार-बाह्र बजे घरै पुगिन्छ किन याँ बास बस्नु भनेर हुटहुटी लगाएर हिँडाए । यसै पनि नयाँ ड्राइभर त्यसमाथि साँझ परेपछि गाडीको गति घटिहाल्यो । चार किलोमिटर परदेखि आउने गाडीका प्रकाशले बाटै नदेखिँदो रहेछ तर पनि बिस्तारै-बिस्तारै हामी अघि बढिरह्यौँ । जाँदा-जाँदा-जाँदा-जाँदा एउटा अलि अनौठो सडकतिर पुगियो । सडकको दायाँबायाँ पहिला नदेखेको फलामको बार, बोटबिरुवा, हरियाली । गीताले भनिन्, ‘कस्तो राम्रो बनाएछन् यो बाटो, पहिला त यस्तो थिएन ।’ मैले भनेँ, ‘सङ्घीयताको करामत । कति छिटो कति भव्य बनाएछन् ।’ अनौठो मान्दै म अघि बढिरहेँ । एउटा ठूलो गेट आइपुग्यो अगाडि, महेन्द्र राजमार्गमा यात्रा गर्दा कहिल्यै नदेखेको । गाडी रोकेर यसो ध्यानपूर्वक हेरेको एउटा साइनबोर्डमा ‘रामानन्द चोक’ लेखेको देखियो । घडी हेरेको रातको साढे बाह्र बजेको रहेछ ।

गीता एकटक मैले गाडी चलाएको मात्रै हेर्दै थिइन् रातभरि, कता लगेर ठोक्काउँछ कि, पल्टाउँछ कि भन्ने त्रास थियो उनका मनमा, बाटातिर ध्यान थिएन । भान्जा र छोरो निदाएछन् । म पुगेछु जनकपुर । सपना पो देखेँ कि भनेर एक जना मान्छेलाई सोधेको जनकपुरै हो भनेपछि सरक्क फर्केर फेरि उत्तरतिर लागियो । चौबिस कि सत्ताइस किलोमिटर कति हो, फर्केर ढल्केबर आइसकेपछि मैले आँखा देख्न छाडेँ । भान्जालाई गाडी चलाउनू भनेको उनको पनि स्थिति उस्तै भएको रहेछ । सकिँदैन भन्न थाले । अब सुत्नुपर्छ भन्ने सल्लाह भयो । दुई भाइ निस्केर परपरसम्म पुग्दा पनि कतै होटल खुला छैन । अनि फर्केर आएर भान्जा एउटा बन्द दोकान बाहिर काठको बेन्चीमा लम्पसार परे, हामी तीन जना आआफ्ना सिटमै बास बस्यौँ । यसरी ढल्केबरमा गाडीभित्र ढल्किएरै तीन घण्टा बास बसेको कथा कहिल्यै बिर्सिइएला त !

परार साल त्यस्तै भयो । झापाबाट कान्छो भाइ र म बिहान पाँचै बजे हिँड्यौँ, बेलैमा उपत्यका छिरिहाल्नुपर्छ, राति भएपछि गाडी चलाउन मुस्किल हुन्छ भन्दै । दिउँसो साढे बाह्र बजे त हामी सिन्धुलीगढी छेउ पुगिसकेका थियौँ । गढी पुग्न पाँचसय मिटर जति बाँकी हुँदा गाडी हिँड्न छाड्यो । जति प्रयास गर्दा पनि उकालो तान्नै छाड्यो । स्टार्ट हुन्छ तर तान्दैन । उपायहीन भएपछि गाडी फर्काएर ओरालो लाग्यौँ । ओरालामा मजाले चल्छ । अलिअलि उकालामा पुगेपछि ढिलोढिलो हुँदै रोकिन्छ । एउटा भित्तामा गाडी रोकेर चिनजानका साथीभाइसँग गुहार मागेर, सिन्धुलीबाट एउटा पिकअप मगाएर, गाडी तनाएर, सिन्धुली लगेर, बनाएर, त्यहीँ रात परेर, एउटा लज खोजेर बास बस्यौँ । कहिलेकाहीँ त्यसरी नसोचिएको कारणले नसोचिएको ठाउँमा बास बस्नुपर्छ ।

देशभित्र वा विदेशमा यात्रा गर्दा प्रायः साथीभाइकोमा वा साधारण होटलहरूमा धेरै बास बसियो । अमेरिका यात्रामा भाइ नन्दी भट्टराई, नातिनी सुनिता भट्टराई, बहिनी इन्दिरा रेग्मीकोमा बसेका बास सम्झिँदा उडेर जाऊँ र फेरि त्यहीँ बसूँ जस्तो लाग्छ । कति ठूलो स्वागत सत्कार र मरिहत्तेको आतिथ्य पाइयो । त्योभन्दा अचम्म त कहिल्यै नचिनेको, नसुनेको भाइ युवराज लम्सालले तानेर, घिसारेर लगेर हामीलाई ३-४ रात कति राखे न्युयोर्कमा । सिस्नुपानीको देउसी, हाम्रा कविता मन परेकाले हामी पनि मन पराइयौँ । ती र अरू पनि आत्मीयजनका घरमा फेरि पनि बास बस्न जान मन छ । आउला नि त्यो दिन पनि कुनै बेला ।

पहिलोपटक ‘भिआइपी’ बास बसेको मेक्सिकोमा हो । पाँचतारेमा पाँच रात । खलेगराको परालमा पनि बास बसेको मान्छेका लागि त्यो एउटा छलाङ बासबसाइ भएन त ! त्यहाँबाट फर्किँदा पेरिसको बास पनि अलि फरकै थियो । छात्रबासहरूमा दुई तले ओछ्यानहरू देख्ने गरेको थिएँ, बसिएको थिएन । पेरिसमा त्यस्तै दुई तले ओछ्यानवाला ‘होस्टेल’ भनिने सस्तो लजमा बास बसियो । पछि बङ्गलोरमा पनि । ती सामान्य तर स्मरणीय बास थिए ।

साह्रै कष्टकर, त्रासदीय बास त बहत्तर सालको भूकम्पका बेला बसियो नि । कहिले आफ्नै घरको भर्‍याङमुनि, कहिले छिमेकीको एकतले घरको पेटीमा, कहिले बसभित्र, कहिले पालमा । यहीँ छिमेकमै भएर पनि कहिल्यै बास बस्न नजुरेको टङ्क आचार्य भाइको घरमा पनि दुई रात बास बसियो । आफ्नै घरको बास असुरक्षित अनुभव भएर ।

संयोग यस्तो पनि हुँदो रहेछ कहिलेकाहीँ आफ्नै घरमा पनि बास बस्न पुगिने । सिस्नुपानीका कार्यक्रम लिएर देश दौडाहामा हिँड्दा दुईपटक म झापा घरमा बेलुका राति पुगेर बिहान सबेरै उठेर कुदेको छु । भूकम्पकै बेलामा पनि धेरै रात बाहिर-बाहिर बिताएर एकरात, दुईरात आफ्नै घरमा बास मात्रै बस्ने काम पनि गरियो ।

उहिले लामो यात्रामा झापाबाट काठमाडौँ आउँदा रात्रिबसले हेटौँडामा ल्याएर बास बसाउँथ्यो । होटेलमा बास बसेको त्यो पहिलो अनुभव थियो होला, २०३६ सालमा । हात्तीसार क्याम्पसमा भर्नाका लागि फाराम भर्न जाँदा दुई भाइ साथी लजमा बसेर पैसा असुल्नुपर्छ भनेर रातभरि फ्यान चलाएको सम्झना पनि छ चालिस सालतिर ।

सपरिवार पोखरा घुम्न जाँदा होटलमा छिर्नै नदिई जबरजस्ती तानेर घरमा लगेर मिष्टान्न भोजनसहित बास बसाउने भाइ शेषराज भट्टराईको नाम नलिई यो लेख सकेँ भने फेरि कुन मुख लिएर पोखरा जाउँला !

टेलिकममा काम गरेका बखत एकपटक बुटवलमा अफिसको गेस्टरुममा बास बस्दा त्यहाँ फेला परेका सिरक-डसना सम्झँदा अहिले पनि उल्टी आउँछ । नओडौँ जाडोले मरिएला भन्ने डर, ओडौँ गन्धले सास थुनेर मरिएला भन्ने डर । त्यस्तो व्यवस्थापन गरिएको रहेछ सरसफाइको । अचेल राम्रो भयो होला । नेपालगन्जमा क्षेत्रीय कार्यालयको गेस्ट रुममा बस्दा त्यहीँ पहिलोपटक भेट भएका मित्र सदानन्दजीको घुराइले रातभरि अनिँदो भएको र बिहान उठेर त्यही विषयमा झटारो लेखेर नेपाल पत्रिकालाई पठाएको इतिहास पनि कम रमाइलो थिएन ।

बासका अविस्मरणीय कथा त कति हो रहेछन् । बिहेपछि हामी जोडी वीरगन्ज घुम्न गएर होटलमा बास बस्यौँ । अलि पछि जनकपुर घुम्न गएर बास बस्यौँ । हनिमुन यात्रा माने पनि हुने ती यात्राका ती बास साँच्चै प्रिय बासहरू थिए । अस्ति केही महिना अगाडि गीता बुटवलबाट र हामी बाबुछोरा काठमाडौँबाट भरतपुरमा भेला भएर एक जना नव परिचित नातेदारकोमा बास बसेर गफ गर्दागर्दै झन्डै उज्यालो पारेका थियौँ । त्यो पनि बेग्लै आनन्दको बास थियो ।

घरमा बास बस्ने गरी आएका पाहुनासँग रातभरि रमाइला गफ गर्न पाउँदा, मिठोमसिनो खान दिन पाउँदा, धोएर राखेका सुकिला लुगाको ओछ्यान मिलाइदिँदा पाहुना र घरभेटी दुवै थरीमा आउने आत्मीयता र आनन्दको भाव अवणर्नीय हुन्छ । बास बस्ने गरी पाहुना आउने भनेपछि घर सरसफाइ गर्ने, लुगाफाटो मिलाउने, सकभर मिष्टान्न भोजनको बन्दोबस्त गर्ने हाम्रो संस्कृति नै हो ।

लौ, बासका सम्झनामा डुब्दाडुब्दै साँझ डुबेको पनि घण्टौँ भइसकेछ । बागमती किनाराको बाँसझ्याँङमा बास बसेका रुप्पीले एक निद्रा पुर्‍याइसके होलान् । पहाडबाट, मधेशबाट वैदेशिक रोजगारीका लागि हिँडेका हुलका हुल युवाहरू बास बसेका घरवरिपरिका होटल-लजहरू पनि सुनसान भइसके । बिहान सबेरैदेखि राति अबेलासम्म मुटु नै फुट्लाजस्तो गरी चिच्याउँदै खहरेमार्गमा ओहोरदोहोर गरिरहने मानसिक सन्तुलन गुमेको त्यो परदेशी भाइ पनि सधैँ सुत्नेगरेको पेटीमा बास बसिसक्यो । प्रेसर कुकरको खाना पनि बास बसेर बासी हुन लाग्यो होला । अब रोकिन्छु ।

के छ र, म त आफ्नै निवासमा छु । संसारका सबै मानिसको मेरो जतिको बसोबासको बन्दोबस्त भइदिए कति जाती हुन्थ्यो भन्ने सपना देख्दादेख्दै कुन दिन यो धर्तीबाट सदाका लागि बास उठ्ने हो, के थाहा !