‘मेरो भाइ आज गाई चराउन, खत्री बढी बा अनि सेतुसँग जा न । केही गाह्रो हुँदैन । साथी मात्रै जाने हो । अरू गोठालाले हेरी हाल्छन् वस्तु त ।’ मेरो जेठी दिदी धनमायाले धेरै आश लाग्दो गरी भन्नुभयो मलाई । म पाँच सालको थिएँ । गाई हेर्न मलाई के र, खेल्न र जङ्गलमा कुद्न पाए भइल्थ्यो । दिदीको अनुरोधमा मैले नाइँ भन्ने सवाल नै थिएन । म अरू गोठालोसँग वस्तु चराउन गए । गाई चराउने ठाउँलाई हामी डाँडा पल्लापट्टि भन्थ्यौँ । हुन पनि घरबाट चराउने ठाउँ टाढा नै थियो । घरदेखि पाँच सय मिटरमा झिल्किने डाँडो, पसुन होली अनि अग्लो डाँडो काटेर जाँदा गाई चराउने ठाउँ आउथ्यो ।

गाईगोरु त आफैँ चरिहाले । मचाहिँ जङ्गलको सौन्दर्य हेर्दै खेल्नमा व्यस्त थिएँ । अझै पनि मलाई मज्जाले याद छ गोठालाहरूले आराम गर्ने ठाउँ । अग्लो रूखमा चोके उभएको ठामा बला बाँधेर दुई-तीन जना गोठाला बस्ने ‘चाङ’ बनाएको थियो । अग्लो रूखको टुप्पामा बसेर सबै गाई चरेको अनि वरिपरिका सबै डाँडाहरूको पनि मनोरम दृश्य पनि देखिन्थ्यो । सायद त्यहीँ मनोरम दृश्य भएर होला अहिलेसम्म त्यो दृश्य मेरो आँखाका सामु याद गर्दा जस्ताको त्यस्तै नाचिराख्दछ ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

गाईगोरु डम्म अघाए । गोठालाहरू वस्तु भेला पार्न यताउता पाइला सार्न लागेका थिए । म पनि सेतुदाइको पछि-पछि लाग्दै थिएँ । जङ्गलको ठाउँ झार-रूख-पातको ओझेले गर्दा सेतुदाइ मेरो आँखाबाट अदृश्य भए । यताउता हेर्छु, कोही गोठाला देखिनँ । पाँच वर्षको केटाकेटी मान्छे, औधी डर लाग्यो । मुहारको रङ्गरूपको स्थिति नै फेरियो । जाऊँ त कता जाऊँ! एक्छिन पर्खी हेरेँ । कोही आएनन् । डरले मन विचतिल भयो । घरतिर जाने बाटो चैँ देखेँ । डरले बाटो बाहेक अरू केही देखिनँ । डाँडाको बाटो, तीस डिग्री जतिको ओरालो थियो होला । ओरालो बाटामा कता-कता ढुङ्गा थिए त कही ठूला-ठूला रूखका जरा बाटामा तेर्सिएका । मैले न दाहिने हेरेँ न देब्रे हेरेँ । बटटट उदो कुद्न लागेँ । डरले दौडेको गति स्वतः तेज भएको थियो अनि ओरालो कुद्दा त म फिलिलिली उडेको चराको गतिसमान । मलाई बाटो याद थिएन तर जुन बाटामा कुद्दै थिएँ त्यो बाटो नछोडी दौडेँ । लगभग पन्ध्र-बीस मिनटमा झिल्किने डाँडामा आइपुगेँ । लामो सास त्यही झिल्किने डाँडामा आएर फेरेँ । म दौडिएको पाँच मिनटमा कसैले आवाज दिएजस्तो त लाग्यो तर डरको बेला त्यही आवाजले पनि डरमाथि झन् डर थपिदियो । हुन पनि खत्री बढी बाले आवाज दिनुभएको थियो अरे म दौडिएको देखेर । पछि भन्नु भएको थियो । फ्याँ-फ्याँ गर्दै घर आइपुगेँ ।

ठूली दिदीले मलाई गाई अनि सानी दिदी लक्ष्मीलाई बाख्रा हेर्न पठाउनुभएको थियो । सानी दिदी घर आइपुग्नुभएको रहेछ । प्रदीप दादा स्कुलबाट आएर बल्ल कपडा फेरेर बसेको थियो । रमेश भाइ खेल्दै थियो । हेमा बहिनी बिरामी थिई । भर्खर आमाले धामी लगाइसक्नुभएको रहेछ । राजेश दादा यता चारहजारेमा हजुरबाकोमा बसेर पढ्नुहुन्थ्यो । मीना र मधु जन्मिएका थिएनन् । साच्चै! यति लामो दिदी-भाइ-बिहिनीको लहरोमा म साइँलो छोरा थिएँ ।

असोजको बेला तोरी छरेर सबैको बारी हरियोपरियो भएको थियो । साग ठिक्क टिपेर खाने बेला भएको समय तर हाम्रो छर्न अलिक ढिलो भएको हुनाले साग टिप्ने बेला भइसकेका थिएनन् । हप्ता दिनदेखि पानी परेर त्यो दिन चैँ आकाश उघ्रिएको थियो । हाम्रो घरनजिक दुइसय मिटरमा भएको खोला पानी परेकाले बढेर धमिलो भएको थियो । खोलो उर्लिँदै लहर बनेर नाच्न लागेको थियो । मणिपुरमा घाम छिट्टै अस्ताउने गर्छ । म आएका बेला झन्डै घाम घरपछिको डाँडाको टुप्पामा बसेर आधा ज्योति लुकाएर बचेको जति हाम्रो घरको आँगनमा छरिदिएको थियो ।

खोलापारि विष्टको बारीमा लहलाउँदो साग डम्म फलेको थियो । आमालाई ठूली दिदीले त्यही विष्टको बारीमा साग टिप्न जान्छु भनेर जानुभयो । ‘ठूली छोरी नजा, खोलो बढेको छ । बेलुका हुन लाग्यो । भोलि बेलैमा  गएर टिपेर ले ।’ आमाले भन्नुभयो तर दिदीले मान्नु भएन । दिदीले पहेँलो रङ्गको टिसर्ट अनि कालो मेडी लगाउनुभएको थियो । घरपछि गएर हामीले दिदी खोलो तरेको हेरिराख्यौँ  आधी तिघ्रासम्म पानी आएको थियो ।

आमाले भात पकाएर साग कुर्नु स्वाभाविक थियो । डाँडाले घामलाई खाइसकेको थियो । अँध्यारो भएर फलामले बनाएको कुप्पी, बल्न लागेर फेरि केरोसिन हाल्ने बेला भएको थियो । जाडो-जाडो हुने बेला भइसकेको थियो । दिदी किन आइन भनेर खुलदुली हुन लाग्यो । घरपछि गएर आमाले निकैचोटि हेर्नुभयो तर दिदी आउनु भएन । खोलाले बगायो होला घुर्दा भन्ने सबैलाई शङ्का भयो । बाबा अनि गाउँ छिमेकी दाजुहरू भएर विष्टका तिर जानुभयो । खोलैखोला तलसम्म हेर्न जानुभएछ । यता घरमा आमा चिन्तामा, हामी दिदी नआएर डरमा बसेका थियौँ । खोज्नेहरू दुई घण्टमा आए तर दिदीको पुख्ता खबर ल्याएनन् । दिदी विष्टकामा साग टिप्न जानुभएको थिएन अरे । सोध्न जाँदा विष्टले भनेछन् । खोला तलसम्म गएर खोज्दा पनि नभेट्दा बाआमाले भागी होला भन्ने शङ्का गर्न लाग्नुभयो । आमा र सानी दिदी रुन थाल्नुभयो । आमा र दिदी रोएपछि सबै जना रुन लाग्यौँ । अझै याद छ मलाई, म बिस्तारामा घोप्टो परेर रोएको थिएँ ।

भोलिपल्ट खबर आयो । दिदी साइँकुलछेउको राते डाँडामा बस्ने शाह शङ्करको साइँला छोरासँग भाग्नुभएको रहेछ ।

कसरी र के कारणले भागे भनेर पछि दिदीले सुनाउनुभयो । हाम्रो घरभन्दा अलि उता कख्तुन भन्ने बस्थे । उनकी काइँली छोरीले बालाखा चौध वर्षकी दिदीलाई उल्काएर भिनाजुसँग लगाइदिछे । एकदिन कख्तुनकी छोरी काइँलीले दिदीलाई भनेको थिई अरे, ‘बिहे गर साइँलासँग’, जबाफमा दिदीले ‘भयो म त बिहे गर्दिनँ’ भन्नुभएछ ।

त्यो समय देवीदेवताको कसम खानु महत्त्व राख्थ्यो । झन् सोझासाझा मान्छेलाई यसको अधिक महत्त्व हुन्थ्यो । शिव भगवान्‌को लकेट छुवाएर कसम ख्वाइछे दिदीलाई काइँलीले ।

दिदीलाई त्यो दिन भाग्छु भनेर केही थाहा थिएन अरे । झिल्किने डाँडाको छेउ बाटामा भिनाजुले भेट्नुभएछ । ‘आजै भागौँ’ भनेर दिदीलाई भिनाजुले भन्दा दिदीले मना पनि गर्नुभयो तर अस्ति कसम खाएको याद दिलाउँदा दिदी भाग्न राजी हुनुभएछ । पोइला भाग्ने योजनामा ठूली दिदीले सानी दिदीलाई बाख्रा अनि मलाई गाईगोरु हेर्न पठाउनुभयो । आमालाई साग टिप्न जान्छु भनेर भाग्ने बाटो सजिलो बनाउनुभएछ । साग टिप्न जानुअघि कपडाको कुम्लो घरपछिको बारीमा भएको खोरमा लुकाउनुभएछ । दिदी साग त टिप्न जानुभयो तर दिदीले साग लिएर आउनु भएन । आमाले निउटेला र आलु पकाएर ख्वाउनुभयो । अझै पनि हामी दिदीलाई साग लिएर कहिले आउने भन्दै हँसी-ठट्टा गर्छौँ । सायद म गाई हेर्न ‘जान्न’ भन्दिएको भा दिदी साग टिप्न जानु हुन्न थियो होला ।